Tuesday, September 2, 2014

जसलाई डाक्टरले भोकै मार्न भनेका थिए आमाले नमान्दा विश्वकै चर्चित भए (फोटोफिचर सहित) - onlinekhabar





जन्मिँदै उनको घाँटी भाँच्चिएको जस्तो गरि टाउको पिठ्युँतर्फ पल्टिएर लत्रिएको थियो । हातखुट्टा पनि कामै नलाग्ने जस्ता थिए । यस्तो बच्चालाई बँचाउनु भन्दा भोकै राखेर मर्न दिनु राम्रो हुन्छ भनेर डाक्टरहरुले उनकी आमालाई सुझाए ।

तर, आफ्नो कोखको सन्तानलाई भोकै मार्न कुन आमाको मनले दिन्छ र ? त्यसैले उनले डाक्टरको त्यस्तो पापी सुझावलाई मानिनन् र आफ्नो अपाङ्ग छोराको पालनपोषण गरिन् ।

अहिले तिनै अपांग व्यक्ति क्लाउडियो भिरा डी ओलिभिरा ३७ वर्षका भएका छन् । ब्राजिलको मोन्टे सान्टोका बासिन्दा क्लाउडियोको अवस्था अहिलेपनि उस्तै छ । अर्थात् उनको टाउको पिठ्यँतिरै पल्टिएको छ र खुट्टाले काम गर्दैनन् ।

तर, उनले आफुलाई भोकै राखेर मार्न सल्लाह दिने डाक्टरलाई मात्र होइन अपाङ्गले केही गर्न सक्दैनन् भनेर हेप्ने जमातलाई गतिलै झापड दिएका छन् । यस्तो अपांगताका बाबजुत उनी अहिले लेखापालको जागिर गर्छन् र निकै उत्प्रेरणादायी सार्वजनिक वक्ता समेत बनेका छन् ।

‘म बच्चादेखि आफुलाई सधै काममा व्यस्त राख्न चाहन्थेँ, मलाई अरु मानिसमा पूरै निर्भर हुन मन पर्दैन’ उनी भन्छन्, ‘मैले केही लेखापालको काम गर्छु, साथै अनुसन्धान र परामर्शको काम पनि गर्छु ।’
‘मैले टेलिभिजन खोल्न, मोबाइल फोन उठाउन, रेडियो खोल्न, इन्टरनेट प्रयोग गर्न आफै सक्छु र यी कामका लागि कसैको सहयोग माग्नुपर्दैन ।’



कम्प्युटरमा केही कुरा टाइप गर्नुपर्दा उनले मुखमा कलम राखेर किबोर्ड दबाउँछन् । आफ्नो ओँठले मोबाइल तथा कम्प्युटरको माउस चलाउँछन् । उनका लागि भनेर बनाइएका विशेष खालका जुत्ताको सहयोगमा यताउति डुल्छन् पनि ।

उनको स्वतन्त्रताकै कारणले उनले विद्यालयमा पनि सफलता हात पारे र फेरिया डी सान्ता स्टेट युनिभर्सिटीमा लेखापालको जागिर पनि पाए ।

उनी जन्मँदै गम्भीर अपांग देखेपछि डाक्टरहरुले उनकी आमालाई यो बच्चा भविष्यमा बाँच्न सक्दैन र काम लाग्दैन भनेका थिए ।

क्लाउडियोकी आमा मारिया जोस भन्छिन्, ‘मानिसहरुले बच्चाले सास फेर्नै सक्दैन त्यसैले मर्दैछ भन्थे । कतिले त यो बच्चालाई कति खुवाउँछ्यौ यो मरिसक्यो पनि भन्थे ।’



तर, जन्मिँदै मरेको ठानिएका तिनै क्लाउडियोले अहिले घरमा खुसी ल्याएका छन् । मारियाका अरु सन्तानजस्तै कामकाजी छन् उनी । घरमा पहिले देखि नै क्लाउडियोलाई उनले चाहेको कुरा गर्न दिइएको, स्वतन्त्र छाडिएको र बन्धनमा नपारिएको बताउँछिन् उनकी आमा । सोही कारणले गर्दा क्लाउडियो आत्मविश्वासी बने । उनी आफु त्यस्तो अपाङ्ग हुनुका बाबजुत पनि सहरमा डुल्न धक मान्दैनन् । गाउँछन् र नाच्छन् पनि ।

आठ वर्षको हुँदादेखि क्लाउडियो आफ्नो घुँडाको सहायताले हिँड्न थाले । त्यसअघि उनलाई बोकेरै यताउति लग्नुपथ्र्योँ । उनी आफै हिड्न थालेपनि लडेर घाइते नहोस् भनेर परिवारले उनलाई अर्को तलामा सार्नुपर्यो । उनका लागि सहज होस् र आफै गर्न सकुन् भनेर बेड, प्लग, लाइट तथा अन्य सामान पनि होँचोमा राखियो । उनको जिउको असाधारण आकारका कारण हि्वलचेयर समेत उनलाई काम लाग्दैनथ्यो । उनले आफ्नो त्यस्तो अवस्था भएपनि आमासँग आफुलाई स्कुल पठाउन भने । उनले स्कुल गएर अरु बच्चाबच्चीसँगै पढ्न सिके ।



क्लाउडियो आखिर कुन रोगका कारण त्यस्तो विकृत शारीरिक अवस्थामा जन्मिएका रहेछन् भन्ने कुरा डाक्टरहरुले हालैमात्र पत्ता लगाएका छन् । उनको त्यो रोगलाई कन्जेनिटल आर्थोगि्रपोसिस भनिएको छ । यो हाडका जोर्नीको रोग हो । जसका कारण उनको खुट्टा तथा हातका जोर्नीमा धेरै खुम्च्याई छ र सोही कारण हातखुट्टा सिधा हुँदैनन् । उनको घाँटीको हड्डीमा पनि त्यस्तै समस्या छ ।

‘मैले आफ्नो जिन्दगीभर आफ्नो सरीरलाई विश्वसँग अनुकुलित गराउन सकेँ । अहिले मैले आफुलाई अरुभन्दा फरक ठान्दिन । म साधारण मान्छे हुँ’, क्लाउडियो भन्छन् ।
‘आफ्नो टाउको उल्टो भएपनि मैले वस्तुहरुलाई उल्टो देख्दिन । सार्वजनिक रुपमा भाषण गर्नुपर्दा मैले भन्ने महत्वपूर्ण कुरा यहीँ हो ।’
आफु व्यवसायिक व्यक्ति बनेको, अन्तराष्ट्रिय सार्वजनिक वक्ता बनेको र विश्व भरबाट निमन्त्रणा पाइरहेको कुरा अरुलाई सुनाउँन पाउँदा उनी गौरवान्वित हुन्छन् ।

-डेलीमेलबाट अनुवादित