Monday, September 29, 2014

मुटुमैत्री वातावरणको खाँचो - ekantipur

डा. अवनीभूषण उपाध्याय



काठमाडौ, आश्विन १३ - हामीलाई थाहा छ, विश्वकै एक नम्बरको मृत्युको कारण मुटु सम्बन्धित रोग र पक्षाघात हो, जसलेगर्दा लगभग एक करोड त्रिरहत्तर लाख मानवजातिको मृत्यु हुने गरेको छ । यही कारणले गर्दा वल्र्ड हार्ट फेडेरेसनले हरेक सेप्टेम्बर महिनाको २९ तारिख विश्व मुटु दिवस मनाउँदै आएको छ । यो दिवस कुनै खुसीको चाडवाड मनाएको जस्तो मनाउने हैन, यो मनाउनको कारणचाहिँ संसारभरि यस रोगप्रति जनचेतना बढाउने र यसबारे सकेजति जानकारी दिने हो । यो जानकारी दिनुपर्ने कारण के छ त किन जानकारी दिनुपर्‍यो भन्दा यो मुटुको रोग धेरैजसो रोक्न सकिन्छ, यदि सही तरिका र सही समयमा यसको रोकथामबारे सोच्नसके यो घट्छ । यो रोगबाट बच्न र बचाउन सकिन्छ ।

आँकडामात्रै हेर्दा मुटुसम्बन्धी रोगले क्यान्सर, सरुवा रोगहरू, मलेरिया, एचआईभीलेभन्दा बढी मानवजातिको क्षति पुर्‍याएको छ । २०१२ को मेमा विश्वका नेताहरूको एउटा बैठकले नसर्ने रोगबाट हुने क्षतिलाई २५ प्रतिशत सम्ममा घटाउने भनेर अठोट गरेका छन् । यो नसर्ने रोगकोआधी भागचाहिँ मुटुरोग सम्बन्धी नै पर्छ । तसर्थ मुटुसम्बन्धी रोगलाई घटाउनु नै विश्वमै नसर्ने रोगहरूको ठूलो भारलाई घटाउनु हो ।

मुटुरोग लाग्नुको केही कारक तत्त्वहरूका बारेमा उल्लेख गर्नु सान्दर्भिक हुनेछ । यी कारक तत्त्वहरू हुन्:

धूम्रपान चुरोट र सुर्तीजन्य वस्तुको सेवन, रक्सीको धेरै नै उपयोग गर्नु धेरै पिउनु, नुनको धेरैमात्रामा प्रयोग गर्नु, शारीरिक परिश्रम नगर्नु, मधुमेह र रक्तचापको राम्रो नियन्त्रण नहुनु, खानपिनमा ध्यान नदिनु ।

जन्मदै आफ्नो जीवनमा लिएर आएको कारकतत्त्व बाहेक अरु जति पनि मुटुरोग लाग्ने कारक तत्त्वहरू छन् । ती सबैबाट बच्न सकिन्छ, सबै आफ्नै हातमा छ ।

तसर्थ विश्व मुटु दिवस विश्वमा मनाइने एउटा यस्तो ठूलो पर्व हो, जसमा हरेक व्यक्ति, हरेक परिवार, हरेक समाज, हरेक सरकार लागेर मनाएको हुन्छ, जसको एकमात्र कारण छ, यो भयावह ज्यानमारा रोगबारे जानकारी दिनु, यसबाट बच्ने उपायहरूबारे जानकारी गराउनु र धेरैजसो आफ्ना दाजुभाइ दिदीबहिनीहरूलाई यो रोगको पन्जाबाट बचाउनु । वैज्ञानिक आँकडाले लगभग ८० प्रतिशत समय अगावै मृत्यु हुने हृदयाघातबाट र पक्षाघातबाट बचाउन सकिन्छ । वल्र्ड हार्ट फेडेरेसनले यो दिवस हरेक सेप्टेम्बरको आखिरी आइतबार मनाउने गरेकोमा आजभोलि सेप्टेम्बर २९ तारिखमा मनाउने गरेको छ ।

यसपालि संसारभरिका लाखौं मानिसले यो अभियानमा सम्मिलित हुने अठोट गरिसकेका छन् । संसारभरिका सरकार र समाजका नेताहरू (देश, विदेशमा) लाई यो अभियानमा लाग्न बाध्य तुल्याएकोछ । आजको दिनसम्म हामी कतै एक व्यक्तिलाई मात्र दोष दिइरहेका छौं, चुरोट नखाउ, चिल्लो घटाउ, रक्सी धेरै नखाउ, नुन कम गर, रक्तचाप र मधुमेहलाई नियन्त्रण गर, शारीरिक परिश्रम गर, फलफूल खाउ, तनाव नलिउ, ध्यान गर इत्यादि भनिदिएका हुन्छौं । व्यक्तिगत हिसाबमा यो मानिसहरूले गरिरहेका पनि छन्, तर हामी कहाँ बस्छौं, कहाँ काम गर्छौं, कहाँ खेल्छौं, त्यो कुरामा ध्यान गएको थिएन । तसर्थ यसपालीको विश्व मुटु दिवसको विषय मुटुमैत्री वातावरणमा ज्यादा आकर्षित गरिएको छ ।

हाम्रो यो हक हो । हरेक देशमा, हरेक नागरिकको हक यो हो कि उसको घर, काम गर्ने ठाउँ, बस्नेठाउँ, खेल्ने ठाउँ, उसको सबै वातावरण मुटुमैत्री नै हुनैपर्छ । हामीले आफ्नो अधिकारको लागि लड्नैपर्छ । यो हाम्रो अधिकार हो ।

आज हाम्रो गाउँछिमेकमा हेरौं, न खाना बनाउने वातावरण छ, न बस्ने राम्रो ठाउँ छ । हाम्रो सहरमा हेरौं, न खानाको ठेगान, न राम्रो खाना पाउनुछ, सबैजसो मिसावट, नक्कली विष हालिएको खाना खानुपर्‍या छ, आधुनिकीकरण, सहरीकरणको नाममा अल्छीपन बढ्दो छ, जहाँ पनि गुड्न, पाएसम्म गुड्ने । झुन्डिएर पनि गुड्नैपर्ने, हिँड्ने, घुम्ने, खेल्ने बानी बिर्सिनै सक्यौं । घर स्वच्छ छैन, काम गर्ने ठाउँ ठीक छैन, पढ्ने ठाउँ ठीक छैन । यहाँसम्म कि बिरामी हुँदा औषधी गर्ने ठाउँ पनि ठीक छैन । आज आएर निमुखाहरूले पाएका सहुलियत पनि बन्द हुने अवस्थामा पुगेको छ ।

आज यो रोग बढी गरिब मुलुकमा छ, झन्-झन् बढैछ, गाउँ-गाउँमा छ, सानै उमेरदेखि यो रोगले सताउन थालिसकेको छ । झन् बालकको त जन्मदाभन्दा अगावै आमाको भ्रूणबाट यो रोग सुरु हुन्छ । त्यसैले आजैदेखि यसमा लागौं, खानपानमा ध्यान दिऔं, चुरोट र धेरै रक्सी पिउने बानी छ भने छोडौं, नियमित व्यायाम गरौं, ध्यान गरौं, मधुमेह, रक्तचाप ठीक ठाउँमा राखौं, फलफूल खाऔं, अनावश्यक तनावबाट टाढै बसौं, मुटुलाई माया गर्ने खानामात्र खाऔं । हामीलाई कुनै कठिन काम गर्नु छैन, मुटुलाई माया गर्न निधो गर्नुछ, मुटुमैत्री वातावरण बनाउनुछ । वल्र्ड हार्ट फेडेरेसनले यही कारणले गर्दा सन् २००० देखि विश्व मुटु दिवस घोषणा गर्‍यो र यसले संसारभरिका मुलुकहरूमा यो रोगप्रति जागरुकता बढायो । साथै यो रोगबाट बच्न सकिने भएकोले यसमा बच्ने उपायहरू पनि प्रचार-प्रसार गर्दैछ । हामी पनि यसमा लागौं, आफू पनि बचौं, समाजलाई पनि बचाऔं, राष्ट्र हुँदै संसारबाटै रोगलाई घटाउन थालौं ।