Monday, September 29, 2014

रक्तचाप र मुटुको सम्बन्ध - nagariknews


डा. रमेश ढकाल

मुटु स्वस्थ राख्न यसलाई चाहिने उचित वातावरण आवश्यक पर्छ। त्यस्तै वातावरणमध्ये एक हो– रक्तचाप। यदि रक्तचाप साधारण नभएमा मुटुलाई हानि गर्छ।


त्यसमा पनि उच्च रक्तचाप मुटुका लागि नराम्रो कारक तŒव सावित भइसकेको छ। एक्काइसौं शताब्दीको संघारमा औषधी विज्ञानले जुन सफलता प्राप्त गरेको छ। उत्तिकैरूपमा चुनौती पनि थपिँदै गएको छ। मुटु अस्वस्थ पार्नमा उच्च रक्तचापको भूमिका उपल्लो दर्जामा रहन्छ। नेपालमा दिनानुदिन उच्च रक्तचापका बिरामीको तथ्याङ्क बढ्दो छ । बेलैमा नियन्त्रण नगर्ने हो भने यसको असर चौतर्फीरूपमा देखिने निश्चित छ।

रक्तचाप के हो?
धमनीको भित्तामा बगिरहेको रगतले दिने चापलाई रक्तचाप भनिन्छ। यो औसत १२०/८० ± १० मि.मि अफ पारो ९ : हुन्छ। यो रक्तचाप वयस्क मानिसको हो। नवजात शिशु एवं साना बालबालिकाको रक्तचाप थोरै र उमेरअनुसार अलिअलि रक्तचाप बढदै जान्छ। नवजात शिशुको रक्तचाप ६५/४५ मि.मि. अफ पारो हुन्छ। १ वर्षदेखि ४ वर्षसम्मको बच्चाको ८५ का मुनि ६० हुन्छ। ८ वर्षको बालकको रक्तचाप ९५ का मुनि ६० हुन्छ। १० वर्ष उमेर समूहदेखि माथि १०० का मुनि ८० रक्तचापलाई साधारण मानिन्छ। यदि यी माथिका उमेर समूहको रक्तचाप भन्दा बढता देखिएमा ती उमेर समूहअनुसार रक्तचाप बढी मानिन्छ। यदि मिर्गौला रोग लागेका व्यक्ति वा पिसाबमा प्रोटिन देखिएका बिरामीको रक्तचाप १३० का मुनि ९० भए पनि त्यसलाई उच्च रक्तचाप मानिन्छ र उपचार आवश्यक पर्छ।

कस्तालाई उच्च रक्तचाप हुन सक्छ?
१. चुरोट र सूर्तिजन्य पदार्थ सेवन गर्ने व्यक्तिहरु।
२. उमेर बढ्दै गएका व्यक्तिहरु।
३. शरीरमा कोलेस्ट्रोल भन्ने बोसो धेरै भएका मानिस।
४. अत्यधिक वजन भएका व्यक्ति
५. शारीरिक क्रियाकलाप कम गर्ने (अल्छी)।
६. मधुमेह रोगका बिरामी।
७. खानपानमा गति छाड्नेहरु (धेरै नून खाने, अत्याधिक मासु खाने आदि)
८. मदिरापान अत्यधिक गर्ने व्यक्ति।
९. वंशाणुगतरूपमा उच्च रक्तचाप भएको पारिवारिक पृष्ठभूमिको व्यक्ति।

उच्च रक्तचाप रहिरहे के के हुन सक्छ?
१. हृदयघात
२. मस्तिष्कघात
३. मिर्गौलाघात
४. स्नायुमा समस्या
५. अन्धो हुने समस्या

उच्च रक्तचापले धमनी (रक्तनली ) मा बोसो लाग्न सक्ने र रक्तनलीलाई कमजोर बनाउने गर्छ। कमजोर र साँघुरो रक्तनली सजिलै फुट्न सक्छ र घात गर्न सक्छ। यसरी दिमागमा रक्तनली फुटेमा त्यसलाई मस्तिष्क घात भनिन्छ। यसले मानिसको मुख बांगो हुने, बोल्न नसक्ने, हात खुट्टा लुला हुने र अपाङ्ग बनाउन सक्छ। त्यस्तै मुटुलाई रक्त प्रवाह गर्ने नली फुटेमा त्यसलाई हृदयघात भनिन्छ। मस्तिष्कघात वा हृदयघात भएमा मानिसको तुरुन्तै मृत्यु हुन सक्छ। मृत्यु नभई लुलो लंगडो हुन पनि सक्छ।

रक्तचाप कसरी मापन गर्ने?
रक्तचाप मापन गर्दा मापन गर्न आउने व्यक्तिले रक्तचाप मापन गर्नुभन्दा पाँच मिनेट पहिले आराम गर्नुपर्छ। पाँच मिनेटपछि सुताएर वा बसाएर व्यक्तिको रक्तचाप मापन गरिन्छ। साधारण रक्तचाप भएमा मानिसको रक्तचाप एउटा पाखुरामा नाप्दा हुन्छ तर यदि उच्च रक्तचाप भएका बिरामी वा रक्तचाप घटाउने औषधि सेवन गरेका व्यक्तिको रक्तचाप दुवै पाखुरामा मापन गर्नुपर्छ। कुर्सीमा बसाएर मापन गर्दा बिरामीको ढाडलाई अडेस दिनुपर्छ। नत्र रक्तचाप सही मापन नहुन सक्छ। रक्तचाप मापन गर्दा व्यक्ति आनन्दित हुन आवश्यक हुन्छ।

उच्च रक्तचाप कसरी थाहा पाउने?
रक्तचापको नियमित परीक्षण गरेर रक्तचाप उच्च, कम र साधारण रहेको थाहा पाउन सकिन्छ। रक्तचाप परीक्षण चिकित्सक र चिकित्सा पेशामा संलग्न नर्स, एचए, सिएमए र अनमीले मापन गर्न सक्छन्। रक्तचाप बढी भेटिएमा तुरुन्तै चिकित्सकको परामर्शमा पुग्नु राम्रो हुन्छ। उच्च रक्तचाप भएका बिरामीले निम्न जाँच गर्नुपर्छ।
१. इसिजी– यो जाँचले मुटुको गति तथा चाल, मुटुमा अक्सिजनको अवस्था, मुटु फुलेको छ छैन, आदि पत्ता लगाउन मद्दत गर्छ।
२. छातीको एक्स–रे : स्वस्थ मुटु र बिरामी मुटु छुट्याउन मद्दत गर्छ र सुजन भएको मुटु पत्ता लाग्न सक्छ। यसबाहेक फोक्सोको गतिविधि स्पष्ट झल्काउँछ।
३. इकोकार्डियोग्राफी : मुटुको कोठाको स्थिति, सुन्निएको, खुम्चिने र फुक्ने शक्तिमा ह्रास आए नआएको र मुटुको भल्भको क्षमता आदि पत्ता लगाउन मद्दत मिल्छ।
४. रगतमा बोसोको मात्रा मापन गर्ने : कोलेक्टेरोलको विभिन्न जाँच एचडिएल, एलडिएल, टिजी आदि।
५. मिर्गौला जाँच : रगतमा क्रियटिनिन र पिसाबको जाँचबाट रक्तचाप पत्ता लाग्न सक्छ र मिर्गाैलाको स्थिति थाहा हुन्छ।
६. यीबाहेक अन्य जाँच पनि आवश्यक परेको खण्डमा गर्न सकिन्छ। जसका लागि चिकित्सकीय परामर्श अनिवार्य हुन्छ।

उच्च रक्तचापबाट बचावट कसरी?
१. नियमित व्यायाम।
२. तनावरहित जीवनशैली।
३. मधुमेहका बिरामीले रगतमा चिनीको मात्रा नियमन राख्ने। औषधी सधैँ सेवन गर्नुपर्छ।
४. बोसो कम भएको खाना खाने। नून कम खाने।
५. चुरोट एवं सूर्ति सेवन नगर्ने।
६. मद्यपान नगर्ने।
७. फलफूल धेरै खाने, पानी प्रशस्त पिउने र मासुजन्य पदार्थ धेरै नखाने।
८. नियमित रक्तचाप परीक्षण गर्ने।
९. नियमित मिर्गौला जाँच ( कम्तिमा वर्षमा १ पटक) गर्ने।
निर्देशक, शंकरापुर अस्पताल, जोरपाटी - See more at: http://nagariknews.com/opinion/story/25541.html#sthash.Eo4RLMxb.dpuf