Thursday, February 13, 2014

सभासद दूर्गा भन्छिन्- उमेर ‘ग्याप’ले यौन असन्तुष्टि हुँदैन यस्तो छ कम्युनिष्ट नेता मोहनविक्रम र दूर्गाको प्रेमकहानी - onlinekhabar

Durga-paudel
सभासद दुर्गा पौडेललाई ‘भेट्रान’ कम्युनिष्ट नेता मोहनविक्रम सिंहकी श्रीमती मात्रै भन्दा उनीमाथि अन्याय हुन्छ । विद्यार्थी, महिला हुँदै पार्टी राजनीतिमा अढाई दशकभन्दा बढी काम गरेर खारिएकी दुर्गा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्षका साथै अहिले संविधानसभा सदस्यसमेत छिन् ।


मोहनविक्रमलाई कार्यकर्ताका रुपमा सघाउँदै जाँदा दुर्गाको उनीसित माया बस्यो । उनीहरुको प्रेमकथा रोचक छ । ‘म तिमीलाई माया गर्छु’ भनेर भन्नुपर्ने नै रहेनछ क्या, माया, आफैं बस्दोरहेछ ! दुर्गा भन्छिन् ।


सभासद पौडेलको आफ्नै शब्दमा यस्तो छ कम्युनिष्ट नेता मोहनविक्रम सिंहसँगको प्रेम कहानी -


मेरा बुबाआमाको पुख्र्यौली घर प्युठान हो । जागिरको सिलसिलामा बुबा भारतको कोलकाता जानुभयो । आसनसोनमा बुबाको जागिर थियो । ०२९ सालमा म त्यहीँ जन्मिएँ । मेरा अरू दिदीबहिनी र दाजुभाइको जन्म पनि त्यहीँ भएको हो । हामी १० जना भाइबहिनी (पाँच दाजुभाइ र पाँच दिदीबहिनी) । मचाहिँ काइँली छोरी । पछि बुबाले कपिलवस्तुमा जग्गा लिनुभयो र हामी यतै बस्न थाल्यौँ । चारदेखि दस कक्षासम्म कपिलवस्तुमै पढेँ ।


पाँच कक्षा पढ्दै राजनीति


मैले पाँच कक्षा पढ्दापढ्दै राजनीति थालेकी हुँ, अनेरास्ववियु (छैठौँ) मा आवद्ध भएर । सँगसँगै रक्तिम (पार्टीको सांगीतिक मोर्चा)मा पनि काम गरेँ । नाच्न-गाउन खुबै मन पथ्र्यो । त्यही टिमबाटै कार्यक्रमहरू लिएर अलइन्डिया टुरमा पनि गएँ । ०४५ सालमा गोरखपुरमा सम्पन्न अखिल नेपाल महिला संघको दोस्रो राष्ट्रिय सम्मेलनले केन्द्रीय सदस्यमा चयन गर्‍यो ।


पार्टीको आवश्यकताअनुसार ०४७ सालमा संघले मलाई कोषाध्यक्षको जिम्मेवारी दियो । त्यसपछि ०५१ सालमा उपाध्यक्ष भएँ । बीचमा कार्यवाहक अध्यक्ष भएर पनि काम गरेँ । चौथो राष्ट्रिय सम्मेलनले मलाई महिला संघको केन्द्रीय अध्यक्ष चयन गर्‍यो । त्यसपछि मैले लगभग एक दशक महिला संघको नेतृत्वमा रहेर काम गरेँ ।


पार्टीका साथीहरूकै श्रीमतीले पनि शंका गर्थे
Mirrer-news

मैले राजनीति थाल्दा महिलालाई घरबाट बाहिर निस्कनै गाह्रो थियो । केटी मान्छेले राजनीति गर्नु एक किसिमको सपनाजस्तै थियो । केटीहरू कोही पनि सक्रिय हुँदैनथे । म एक्लै केटाहरूसँग मिलेर राजनीति गर्न हिँड्थेँ । केटी साथीहरूलाई जाउँ भन्दा पनि घरबाट निस्कन अभिभावक र समाजको डर मान्थे । अनि, इच्छा हुँदाहुँदै पनि उनीहरू जान्न भन्थे । पञ्चायतको समयमा त राजनीति गर्न झन् गाह्रो थियो । रातिराति कार्यक्रम गर्न जान्नुपथ्र्यो । घरबाट पनि सहयोग हुँदैनथ्यो । ‘वारेन्ट हुन्छ’, ‘पुलिसले पक्डेर लग्छ’ भनेर डराउँथे । संगठनमा काम गर्दा कम्ति अप्ठेराहरू झेलिएन । मेरो जिल्लामा त केटी मान्छे म एक्लै हिँडेको हो । मलाई घरबाट सहयोग थियो, त्यसैले गाह्रो महसुस भएन । तर, बाहिर समाजले त भन्थ्यो नि ‘राति-राति केटाहरूसँग हिँड्छे’ भनेर । ‘कता जान्छे-जान्छे यो’, ‘यो त बिग्री कि क्या हो’ भन्थे । मलाई राजनीतिमा प्रवेश गराउने श्रेय दाजु शिव पौडेललाई जान्छ, उहाँले नै मलाई प्रेरित गर्नुभएको हो । अहिले दाजु किसान संघको अध्यक्ष हुनुहुन्छ ।


दिनभर प्रशिक्षण लिएँ, तर मोहनविक्रमलाई चिनिनँ


मोहनविक्रम (एमबी)सँग मेरो पहिलो भेट ०४५ सालमा भारतको सोरतगढमा भयो । त्यहाँ प्रशिक्षण कार्यक्रम थियो । हामी विद्यार्थी कार्यक्रम लिएर गएका थियौँ । उहाँ प्रशिक्षक भएर आउनुभएको थियो । त्यतिवेला म विद्यार्थी राजनीति गर्थेँ, उहाँ पार्टीको । दिनभरि प्रशिक्षण कार्यक्रममा बसेँ । तैपनि उहाँ को हो भन्ने नै थाहा थिएन । कार्यक्रममा बसेँ, कुराहरू सुन्दा राम्रो लाग्यो । कार्यक्रम सकेपछि जानुभयो । हामी पनि आफ्नो कोठातिर लाग्यौँ । कार्यक्रमको समीक्षा गर्दैगर्दा एकजना साथीले भन्यो उहाँको नाम । त्यसपछि मात्रै थाहा पाए- उहाँ मोहनविक्रम हो भन्ने ।


हाम्रो दोस्रो भेट गोरखपुरमा भयो । त्यतिवेला एकमहिने महिला कार्यकर्ता प्रशिक्षण कार्यक्रम थियो । त्यहाँ पनि एमबी प्रशिक्षक भएर आउनुभएको थियो । म महिलाहरूको नेतृत्व गर्दै गएकी थिएँ त्यतिवेला । त्यसपछि त हाम्रो भेट पटक-पटक भइरहन्थ्यो ।


मोहनविक्रमको संसार नै झोला !


प्रायः हाम्रो भेट भारतमै हुन्थ्यो । उतै कार्यक्रम पर्थे । त्यतिबेला नेपालमा पार्टी प्रतिबन्धित थियो । कार्यक्रमका योजना पनि उतै बनाउँथ्यौँ । पार्टीको काम गर्ने सिलसिलामा हामी धेरैपटक इन्डिया पनि सँगै गएका छौँ । एकपटक फागुन २४ गते नाटकको तयारी भइरहेको थियो । ‘विजयको बिहानी’ र ‘१२ मे’ नाटकको तयारी गनुपर्ने थियो । ‘१२ मे’ नाटकमा मैले उजेलीको भूमिका गरेकी थिएँ । त्यसको सम्पूर्ण तयारी भारतको कानपुरमा भएको थियो । त्यो नाटक निर्माण गर्न लगभग एकडेढ महिना नै लागेको थियो । हामी थुप्रै साथीहरू थियौँ । त्यो अवधिमा हामी सबैजना एक/डेढ महिनाजति भारतमा बस्यौँ । नाटकको व्यवस्थापन र गाइड गर्ने सम्पूर्ण जिम्मा उहाँ -एमबी)कै थियो । म नाटकी पात्र थिएँ ।


मैले जहिले देख्दा पनि एमबीसँग एउटा झोला हुन्थ्यो । त्यो झोला किताबले भरिभराऊ हुन्थ्यो । उहाँको सारा संसार नै त्यो झोला थियो । सधैँ बिहान उठेर लेख्न थालिहाल्नुहुन्थ्यो । लेख्दै गर्दा पानाहरू पनि हराउँथे । हामी नजिक भएको वेलामा पानाहरू खोजेर एकै ठाउँमा मिलाएर जम्मा गरेर सहयोग गथ्र्यौँ । मलगायत अन्य कार्यकर्ताले पनि सहयोग गर्थे ।


सहयोग गर्दागर्दै माया बस्यो


मोहनविक्रम एक्लै हुनुहुन्थ्यो, सहयोगी पनि कोही थिएन । त्यो देखेर किन हो किन, मलाई भित्रैबाट उहाँलाई एकदमै सहयोग गर्न मन लाग्थ्यो । त्यतिबेला म उहाँलाई दाइ भन्थेँ । उहाँ सधैँ एक्लै हुने मान्छे हो । हाम्रो अफिस गोरखरपुरमा थियो, एउटा सानो टायल लगाएको घरमा । एकपटक दसैँ आउने वेलामा त्यहाँ भएका सबै साथीहरू दसैँ मनाउन भनेर खुसी हुँदै आ-आफ्नो घरतिर लागे । तर, उहाँ भने झोलाबाट एउटा किताब निकालेर पढ्न थाल्नुभयो ।


त्यो देखेर मलाई अचम्म लाग्यो । दसैँजस्तो महान् चाडमा पनि उहाँ घर जान आत्तिनुभएको छैन । बरु, किताब निकालेर पढ्न पो थाल्नुभयो । त्यो देखेर मैले उहाँलाई ‘दाइ, जाउँ कपिलवस्तु दसैँ मनाउन’ भनेँ । तर, उहाँ जान मान्नुभएन, मलाई नमज्जा लाग्यो । ‘मैले धेरै काम गर्नु छ, म जाँदिनँ, तिमीहरू जाओ’ भन्नुभयो । उहाँको कुरा सुनेर मनमा नरमाइलो लाग्यो । तैपनि, म घर आएँ । घर पुगेपछि पनि उहाँको त्यो कुराले मलाई नरमाइलो लागिरहृयो ।


मलाई भित्रैदेखि उहाँलाई सहयोग गर्न मन लाग्थ्यो । जहिले पनि सोच्थेँ ‘केही सहयोग गर्न पाए हुन्थ्यो’ भनेर । उहाँका धेरै अप्ठेराहरू पनि थिए । एक्लो मान्छे, घर छैन, आफ्नो कोही छैन, कहाँ जाने ? कोही सहयोगी भइदिए पनि राम्रो हुन्थ्योजस्तो लाग्थ्यो । उहाँलाई अप्ठेरो पर्दा सहयोग गर्न मन लाग्थ्यो र गर्थेँ पनि । पछि उहाँले पनि ‘मलाई सहयोग गर’ भन्नुहुन्थ्यो । उहाँलाई सहयोग गदागर्दै हामी नजिक हुन पुग्यौँ । उहाँको लगनशीलता, इमानदारिता र त्याग, अनुशासित जीवनशैलीलगायत कुराहरूले म प्रभावित भएकी थिएँ । सहयोग गर्ने भावना जाग्दाजाग्दै ‘राम्रैसँग सहयोग गर्न’ मन लाग्न थाल्यो ।


अहिले आएर यही समयमा हाम्रो माया बस्यो भनेर भन्न ठ्याक्कै गाह्रो छ । खासमा सहयोगीको भावनाले मायाको रूप लिएको हो । कतिबेला माया बस्यो थाहै भएन । तर, मायाचाहिँ बस्यो । उहाँले पनि मलाई राम्रै मान्नुहुन्थ्योजस्तो लाग्थ्यो । किनभने उहाँले अरूलाई भन्दा मलाई गर्ने व्यवहार अलि फरक पाउँथे । अरूभन्दा मसँग बढी नजिक पनि हुनुहुन्थ्यो । लाग्थ्यो, उहाँले पनि मलाई माया गर्नुहुन्छ ।


प्रेम प्रस्ताव राखेनौँ, एक घन्टामा बिहेको निर्णय लिएँ


हामीले एकअर्कासित औपचारिकरूपमा प्रेम प्रस्ताव नै राखेनौँ । उहाँले पनि राख्नुभएन र मैले पनि केही भनिनँ । व्यक्त गर्नुपर्ने नै भएन । बरु, पार्टीबाटै हामीहरूको विवाहको प्रस्ताव आयो । ०५७ सालको कुरा हो, पार्टीकै साथी युवराज पन्थीजीले मलाई आएर भन्नुभयो- ‘हामीले त तपाईंहरूको विवाह गर्ने सल्लाह गरेका छौँ, तपार्इको विचार के छ ? तपाईं दुईजनाले विवाह गर्दा दुवैका भविष्यका लागि राम्रो हुन्छ, एमबीलाई सहयोग पनि हुन्थ्यो, ठूलो योगदान पनि हुन्छ ।’


बिहेको प्रस्ताव आउँदा के गर्दा ठीक र के नगर्दा ठीक हुने हो मलाई केही पनि थाहा थिएन । तैपनि मैले केही समय मागेँ । उहाँले ‘कति समय लाग्छ’ भनेर सोध्दा मैले ‘एक घन्टाजति लाग्छ’ भनेँ । त्यतिवेला बुबा बितिसक्नुभएको थियो । आमा, दाइ, दिदी र सानीआमासित सल्लाह गरे । उहाँहरूले ‘निर्णय तिम्रो हातमा छ, जीवन बिताउने पनि तिमीले नै हो । तिमीलाई यत्तिको साथी भयो भने जीवन सजिलैसँग काट्न सकिन्छजस्तो लाग्छ भने हाम्रोतर्फबाट अवरोध छैन’ भन्नुभयो । त्यसपछि मैले पार्टीका केही साथीहरूलाई सोधेँ । साथीहरूबाट पनि ‘विवाह गर्दा राम्रो’ भन्ने जवाफ पाएँ । म आफैँले सोच्दा पनि ‘बिहे गर्दा ठीकै हुन्छ’ भन्ने लाग्यो । एक घन्टापछि ‘हुन्छ’ भनिदिएँ ।


त्यतिवेला बाहिर गएर ठूलो विवाह गर्ने वातावरण पनि थिएन । मोहनविक्रमको सानीआमा हुनुहुन्थ्यो, काठमाडौंमा । उहाँले ‘बिहे काठमाडौंबाटै गर्नुपर्छ’ भन्नुभएको थियो । विवाहको सम्पूर्ण व्यवस्था उहाँले नै मिलाइदिनुभयो । पार्टीका केही साथी, अनि हामी आएर फूलमाला लगाएर विवाह गर्‍यौँ ।


बिहेपछि एमबीले राजीनामा दिए


पार्टीबाट विवाहका लागि प्रस्ताव आएपछि मिटिङ नै बसेर हाम्रो बिहे फिक्स भएको थियो । तर, पछि हाम्रो विवाहबारे केही विवाद पैदा भयो । मिटिङमा सबै साथीहरू उपस्थित हुनुहुन्थेन । उहाँहरूले ‘हामीले पनि विचार राख्न पाउनुपर्छ’ भनेर भन्न थाल्नुभयो । यही विषयमा पार्टीभित्र दुई पक्ष देखियो । विरोध पनि आयो, समर्थन पनि ।


हाम्रो विवाहबारे पार्टीमा गम्भीर छलफल भयो । कतिपय साथीहरूले ‘यसरी विवाह गर्नु ठीक होइन’ भने । कसैले ‘उमेर धेरै फरक भयो, अलमेल विवाह भयो’ भने । कतिले ‘बालिगको अधिकार हो, उसले बिहे गर्न चाहन्छ भने केही फरक पर्दैन’ भने ।


छलफलमा ‘हामीले बिहे गर्नुहुन्थेन’ भन्ने पक्षको बहुमत देखियो । त्यसपछि मोहनविक्रमले नैतिकताको हिसाबले महामन्त्री पदबाट राजीनामा दिनुभएको हो । उहाँसित पार्टीले राजीनामा मागेको होइन । ‘पार्टीमा कुरा आइसकेपछि नैतिकताको हिसाबले मैले छाड्नुपर्छ’ भनेर उहाँ आफैँले राजीनामा दिनुभएको हो ।


माया त आफैँ बस्दो रहेछ


मायाप्रेमका कुरा गर्न हामीसँग कहिले पनि समय भएन । हामीले छुट्टै भेटेर मायाको कुरा पनि कहिल्यै गरेनौँ । त्यस्तो वातावरण पनि कहिल्यै भएन र हामीले आवश्यक पनि ठानेनौँ । पार्टी कामकै सिलसिलामा हाम्रो भेटघाट भइरहन्थ्यो । यसको मतलब हामीबीच माया नभएको भन्नेचाहिँ होइन । ‘म तिमीलाई माया गर्छु’ भनेर भन्नुपर्ने नै रहेनछ क्या मायामा । आफैँ माया बस्दोरहेछ । हामीले कहिले पनि एक-अर्कालाई ‘तिमीलाई माया गर्छु’ भनेर भनेनौँ । त्यो त व्यवहारमा देखिँदोरहेछ ।


हाम्रो व्यवहारले नै एक-अर्कालाई माया गर्छन् भन्ने देखाउँदो रहेछ । हामीबीचको व्यवहार देखेर नै पार्टीका साथीहरूबाट विवाहका लागि प्रस्ताव आएको रहेछ । यो कुरा साथीहरूबाटै थाहा भयो । नजानिँदो पाराले हामीबीच प्रेम भएको रहेछ । उहाँलाई पनि ‘मैले माया गर्छु होला’जस्तो लाग्दैनथ्यो । मलाई पनि उहाँलाई सहयोग गर्न पाए मात्र हुन्थ्योजस्तो लाग्थ्यो । उहाँसित नै प्रेम होला भनेर कहिले पनि सोचेको थिइनँ ।


उमेर ‘ग्याप’ले यौन सन्तुष्टिमा फरक आउँदैन


धेरै उमेर ‘ग्याप’ले यौन सन्तुष्टि प्राप्त हुँदैन भनेर मैले सुनेकी थिएँ । धेरैले मलाई त्यसो भनेका थिए । तर, एमबीसँग विवाह गरेपछि मैले त्यस्तो अनुभव कहिल्यै गरिनँ । हामीबीच करिब ३८ वर्षको ‘ग्याप’ छ । एमबी ७९ वर्ष पुग्नुभयो, म भने ४१ वर्षकी भएँ । तर, हामीबीच कहिले पनि ‘यौन असन्तुष्टि’ पैदा भएन । म उहाँसँग खुसी नै छु, उहाँ पनि मसित खुसी हुनुहुन्छ ।


कहिलेकाहीँ एमबीले भन्नुहुन्छ- ‘म मरेँ भने तिमी एक्लै के गर्छौ ? तिमीलाई छोराबुहारीले दुःख देलान् ।’ त्यतिबेला मैले उहाँलाई भन्छु- ‘तपाईंलाई कोठामा समातेर राख्छु, अनि कसैले दुःख दिए भने आएर तपाईंसित भन्छु ।’ एमबी अगाडि बिते पनि मलाई उहाँ मसँगै हुनुहुन्छजस्तो लाग्नेछ । उहाँलाई म यति धेरै माया गर्छु, आफूले माया गरेको मान्छे आफ्नै आँखाअगाडि भइरहन्छ सधैँ ।


एमबीका सबै बानी राम्रा


एमबीको नराम्रो बानी भेट्टाउन गाह्रो छ । अहिलेसम्म पनि मैले उहाँको नराम्रो बानी भेट्टाउन सकेकी छैन । भन्नै सक्दिनँ कुनचाहिँ बानी नराम्रो भनेर । उहाँ अलि हक्की स्वभावको हुनुहुन्छ । उहाँ जे गर्न चाहनुहुन्छ र आँट्नुहुन्छ, त्यो गरेरै छाड्नुहुन्छ । यो बानी राम्रो हो कि नराम्रो, म आफैँ पनि ‘कन्फ्युज’ छु ।


उहाँका सबै बानी राम्रा छन् । सबैभन्दा राम्रो बानी त उहाँले मलाई कहिले पनि ‘महिला हो, कमजोर छ’ भन्ने दृष्टिकोणबाट हेर्नुभएन । मैले भनेका कुरामा पनि कहिल्यै नाइँनास्ती गर्नुहुन्न । केही गल्ती हुँदा पनि ‘यो त्यस्तो होइन, यस्तो हो’ भनेर मायाले सम्झाउनुहुन्छ । कहिल्यै रिसाउनुहुन्न । त्यसैले अहिलेसम्म हाम्रो झगडा पनि परेको छैन ।


हरेक कुरामा उहाँ एकदमै सहयोग गर्नुहुन्छ । छोराहरूको हेरचाहमा पनि उत्तिकै समय दिनुहुन्छ । कार्यक्रमहरूमा जाँदा पनि कहिल्यै ‘नजाऊ तिमी, घरमै छोराहरू हेरेर बस्नुपर्छ’ भन्नुभएन । बरु, ‘तिमीले गर्नुपर्छ, जाऊ’ भनेर आफैँ समय मिलाइदिनुहुन्छ । हरेक काम हामी सहकार्य र अपसी समझदारीमा गर्छौँ । दुई छोरा छन्, जीवन रमाइलोसँग चलिरहेको छ हाम्रो ।


योगदान, क्षमता र मिहिनेतले सभासद् भएकी हुँ


म एमबीका कारणले सभासद् भएको होइन । पार्टीमा मेरो योगदान, क्षमता र मिहिनेतको मूल्यांकन गर्दै राष्ट्रिय जनमोर्चाले मलाई समानुपातिक सभासद्मा छनोट गरेको हो । एमबी आफैँमा प्रतिभाशाली र अन्तर्राष्ट्रियस्तरमै परिचित व्यक्ति हुनुहुन्छ । उहाँ एउटा त्यागी नेता हो । उहाँलाई कहिल्यै पनि पदको लोभ भएन ।


मलाई राजनीति गर्न एमबीको सपोर्ट छ । म सभासद् भएपछि पनि उहाँले गर्ने व्यवहारमा परिवर्तन आएको छैन । र, कहिल्यै पनि आउँदैन । सभासद् भए भनेर मैले पनि घमण्ड गर्ने कुरा आउँदैन । हामीबीच राम्रै सम्बन्ध छ । उहाँको साथ सधैँ मलाई रहिरहनेछ र मेरो पनि रहिरहन्छ । हामी ‘एक रथका दुई पांग्रा’ भएर बस्छौँ ।


शान्ता दिदीसँग मेरो नराम्रो सम्बन्ध छैन


उहाँ (एमबी)को पहिले नै शान्ता जिसीसँग विवाह भइसकेको थियो । त्यो कुरा मलाई थाहा थियो । उहाँहरूका दुईजना छोराछोरी छन् भन्ने पनि थाहा थियो । र, यो पनि थाहा थियो कि उहाँहरूको ०३६ सालमै सम्बन्धविच्छेद भइसकेको हो भन्ने । म उहाँ (शान्ता)लाई आदर गर्छु, दिदी भन्छु । एमबीसँग विवाह नहँुदै पनि शान्ता दिदीसँग मेरो भेट भइसकेको थियो । अहिले पनि विभिन्न कार्यक्रममा भेट हुने गर्छ । बिरामी परेका बेला जान्छौँ, भेटघाट गर्छौँ । कार्यक्रममा भेट भएका वेला उहाँ (शान्ता)ले बोलाउनुहुन्छ, मैले पनि बोलाउँछु । सम्बन्ध नराम्रो छैन । भेटघाट भएका वेला दुःखसुखका कुराकानी पनि हुन्छन् ।


जलजला जिउँदी भए एमबी मेरो आदरणीय मात्रै हुनुहुन्थ्यो


एमबीले आफ्नी पूर्वप्रेमिका जलजलाबारे उपन्यास लेख्दै हुनुहुन्छ । यसमा मलाई गर्व लाग्छ । म उहाँ (जलजला)लाई आदर गर्छु । मसँग भेट नहुँदै एमबी र उहाँबीच प्रेम थियो । दुर्भाग्य दिदी (जलजला) यो संसारमा हुनुहुन्न । अझै पनि उहाँले दिदीबारे कुरा गर्नुहुन्छ । मलाई पनि त्यस्तो केही नराम्रो लाग्दैन । झन्, आदरभाव बढेर आउँछ ।


दिदी (जलजला) हुनुभएको भए म यसरी एमबीसँग नजिक पनि हुँदैन थिएँ होला, प्रेम पनि गर्ने थिइनँ होला । एमबीलाई एउटा आदरणीय नेताका रूपमा मान्थेँ होला । एमबीको एक्लो जीवन देखेर नै म उहाँसँग नजिक भएकी हुँ । सहयोग गर्ने भावना पैदा हुँदाहुँदै माया बसेको हो ।


(फागुन १ देखि बजारमा आउने मिरर न्यूज मासिकबाट)