Wednesday, September 12, 2012

रामराजाः मृत्युदण्डको फैसलादेखि राष्ट्रपतिको उम्मेद्वारसम्म - onlinekhabar

काठमाडौं । नाममा राजा झुण्डिएपनि उहाँ कहिल्यै राजतन्त्रको पक्षमा लाग्नुभएन । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री या अरु कुनै ठूलो ओहोदामा नपुगेपनि उहाँले मुलुकलाई गरेको योगदान अरुको भन्दा सानो छैन । ऊबेला पञ्चायती शासनकालको बेला घोर अपराधीको संज्ञा पाएपनि गणतन्त्रवादीको नजरमा सबैभन्दा महान, आदर्श र आँटिलो मान्छे । हो, नेपालका पहिलो गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह ।
आफूलाई सबैभन्दा क्रान्तिकारी भन्ने माओवादीदेखि अहिलेका सबै पार्टीले उदाहरणीय व्यक्तित्व मान्ने सिंहको बुधबार बिहान निधन भएको छ ।
सिंहको ७७ वर्षअघि सप्तरीको एक धनाढ्य परिवारमा जन्म भएको थियो । उहाँका पिता जयमंगलप्रसाद सिंह पहिलेदेखि नै क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो । रामराजामा पनि बाबुको त्यो स्वभाव सानैदेखि झल्कियो । पञ्चायतको जगजगी रहेको बेला समेत उहाँमा क्रान्तिकारी जोश थियो । ऊबेला कसैले मुख खोलेर भन्न नसक्ने गणतन्त्रको उद्घोष पहिलोपटक उहाँले नै गर्नुभयो । यिनै साहासी नेताको जीवनगाथा बुनेर पत्रकार सिताराम बरालले ‘गणतन्त्रको लागि संघर्ष’ नामक पुस्तक निकाल्नुभएको छ । पुस्तकका लेखक बरालसित कुराकानी गरेर हामीले रामराजाप्रसाद सिंहसित जोडिएका महत्वपूर्ण घटना उल्लेख गरेका छौं ।
९ वर्षकै उमेरमा जेल
वि.सं. २००० सालमा उहाँ ९ वर्षको हुनुहुन्थ्यो । त्योबेला बुबाको साथमा जेल पर्नुभएको थियो । भारतीय स्वतन्त्रताप्रेमी नेताहरु बुबाको साथमा घर आउँदा पक्राउ परे । उनीहरुलाई हनुमाननगर जेलमा राखिएको थियो । पक्राउ परेका भारतीय स्वतन्त्राप्रेमी नेताहरुलाई छुटाउन सिंहका बुबा र गाउँलेहरु मिलेर जेल आक्रमण गरे । त्यसक्रममा सिंहका बुबा जेल पर्नुभयो । बुबालाई भेट्न रामराजाप्रसाद सिंह जेलमा पुग्नुभएको थियो । प्रशासनले उहाँलाई पनि जेलमा हालिदियो । पितालाई भेट्ने र छुटाउन खोज्ने क्रममा उहाँ पनि सानै उमेरमा जेल पर्नुभयो । यी वातावरण र परिवेशले उहाँलाई बाल्यअवस्थामै क्रान्तिकारी बनाउन मद्दत गर्यो ।
०१७ सालमा पर्चा
२०१७ सालमा राजा महेन्द्रले जब पञ्चायती व्यवस्था लादे, त्यतिबेला सबै पार्टीहरु पञ्चायत व्यवस्था बिरुद्ध संघर्ष गर्न थाले । त्यतिबेला रामराजाप्रसाद सिंह भर्खरको २५, २६ वर्षको लक्का जवान हुनुहुन्थ्यो । उहाँ कुनै पार्टीमा हुनुहुन्नथियो । तर पञ्चायती व्यवस्थाको बिरुद्ध कसरी आन्दोलन गर्ने भन्ने जोश उहाँमा थियो । उहाँ नै पहिलो व्यक्ति हो, जसले राजा र राजतन्त्र भनेको पातहरुको प्रतीक हो, त्यसैले राजतन्त्र नै फाल्नुपर्छ त्यसपछि पात नै सकिन्छ भनेर प्रचा निकाल्नुभयो । पुष्पलाल र सुवर्ण शमशेरहरुलाई उहाँले अब सशस्त्र संघर्ष गर्नुपर्छ, राजतन्त्र फाल्नुपर्छ भनेर त्यतिबेलै भन्नुभएको थियो ।
चे ग्वेभारासितको भेट
रामराजा भारतको दिल्ली विश्वविद्यालयमा जब अंग्रेजी साहित्य बढ्दै हुनुहुन्थ्यो, त्यतिबेला चे ग्वेभारा विश्व क्रान्तिका लागि बिभिन्न देशमा आफ्ना प्रतिनिधिहरु पठाएर माहोल बनाउन लागिरहनुभएको थियो । एकजना क्लारा नाम गरेकी युवती दिल्ली विश्वविद्यालय पुगेकी थिइन् । उनकै संयोजनमा रामराजाप्रसाद सिंहले चे ग्वेभारालाई भेट्ने अवसर पाउनुभयो, बर्मा पुगेर । भेटमा चे ग्वेभाराले नेपालमा पनि क्रान्ति गर्न सकिन्छ कि भन्ने एउटा योजना सुनाउनुभयो । तर रामराजाको पनि संगठन थिएन । त्यतिबेला कांग्रेस पनि पञ्चायती व्यवस्था बिरुद्धको आन्दोलनमा थिए । त्यसैले चे ग्वेभाराले कांग्रेसका सुवर्ण शमशेरलाई सन्देश पठाएर नेपालमा संघर्षको योजना सुनाउनुभयो । जब यो सन्देश लिएर रामराजा सुवर्ण शमशेरकहाँ जानुभयो, तब सुवर्णले कम्युनिष्टहरुसँग मिलेर हामी कुनै संघर्ष गर्दैनौं भन्नुभयो । त्यसपछि रामराजा चुप लागेर बस्नुभयो ।
राष्ट्रिय पञ्चायतको सदस्य
२०२८ सालमा रामराजाले स्नातक चुनाव लड्नुभयो । यो भनेको बीए पास गरेकाहरुले मात्र भोट हाल्न पाउने चुनाव थियो । राष्ट्रिय पञ्चायतमा चारजना त्यसबाट चुनिन्थे । त्यसमा चुनाव लड्ने मध्ये उहाँ पनि एक हुनुहुन्थ्यो । ०१९ सालमा राजा महेन्द्रमाथि बम हानेको अभियोगमा फाँसी पाएका दुर्गानन्द झाको बलिदानमाथि सम्मान र त्यसको प्रशंसा गर्दै उहाँले चुनावको घोषणापत्र तयार पार्नुभयो । राजतन्त्रको बिरोध र गणतन्त्रको समर्थनमा उहाँले प्रचा निकालेर चुनाव लड्नुभयो । राजा महेन्द्रको उत्कर्ष शासनकालमा समेत यसरी चुनाव लडेर उहाँले जित्नुभयो । उहाँले मधेसबाट भोट पाउनुभएन । काठमाडौं र पश्चिमी पहाडबाट मात्र भोट पाउनुभयो । चुनाव जितेपछि प्रहरीले उहाँलाई पक्रन लाग्यो । दुई तीन महिना भूमिगत पनि हुनुभयो । राष्ट्रिय पञ्चायतको सदस्यलाई शपथ खुवाउने कि नखुवाउने भनेर त्यतिबेला निकै विवाद भयो । पञ्चहरुबीच नै यसबारे मतभेद थियो । विवादकैबीच पञ्चहरुले नै उहाँको शपथग्रहण गराए । त्यसपछि लगत्तै उहाँलाई निलम्बन गरेर जेलमा हालियो ।
महेन्द्रबाट प्रधानमन्त्रीको प्रस्ताव
रामराजा डरलाग्दा मान्छे हुन् भन्ने कुरा त्यतिबेलाका राजा महेन्द्र र पञ्चहरुलाई परिसकेको थियो । फकाउन सकियो भने रामराजाले आफूहरु बिरुद्ध कुनै कदम चल्दैनन् र सुरक्षित भइन्छ भन्ने उनीहरुलाई लाग्यो । त्यसैले रामराजा जेलमा रहेकै बेला राजा महेन्द्रले उहाँलाई दुई दिनपटक दरबारमा ल्याएर प्रधानमन्त्रीको लागि अफर गरे । तर रामराजाप्रसाद सिंहले भन्नुभयो कि पैसा हरियो होस् या निलो होस् या डलर होस् या अरु कुनै होस् त्यसको कुनै मतलब छैन । यसको लागि हुरुक्कै हुने मान्छे हो भनेर मलाई नसोच्नुस् भनेर रामराजाले महेन्द्रलाई भन्नुभयो । यस्तो जवाफ दिएपछि रामराजालाई फेरि जेलमा कोच्ने काम गरियो ।
२०४२ सालको बमकाण्ड
रामराजा लोकपि्रय त हुनुहुन्थ्यो, तर उहाँको संगठन थिएन । बीपीले केही गर्छन् कि भन्ने उहाँलाई आशा थियो । तर बीपी पनि राजासित मिल्न आएपछि उहाँले जनवादी मोर्चा बनाएर सशस्त्र संघर्षको तयारी गर्नुभयो । उहाँकै योजनामा २०४२ सालमा बमकाण्ड भयो । काठमाडौं सहित झापा, बिराटनगर, जनकपुर, वीरगंज, भैरहवा, कञ्चनपुर लगायत ठाउँमा बम बिष्फोटका घटना भए । गणतन्त्रको लागि सशस्त्र संघर्ष भन्दै गराएको बमकाण्डमा राष्ट्रिय पञ्चायतका सदस्य सहित ३ जनाको मृत्यु भयो । अरु कयौं घाइते भए । उहाँ बिरुद्ध छुट्टै अदालत बनाएर मुद्दा दर्ता गरियो । उहाँलाई मृत्युदण्डको सजाय भयो । त्यतिबेला उहाँ भारतमै हुनुहुन्थ्यो । त्योबेला कांग्रेसहरुले बमकाण्ड दरबारले गराएको भने । किनकी कांग्रेस पनि त्योबेला संघर्षमै थियो । पञ्चहरु च्ाहिं भारतले गरायो बमकाण्ड भन्थे । फेरि त्यही भारतले दरबारसँग कुनै सम्झौता गरेर होला रामराजालाई पक्राउ गर्यो र बंगलादेशको कुनै टापुमा लगेर छोडियो । कतिले उहाँलाई भारतबाट परिचालिन मान्छे पनि भन्थे । तर होइन । किनकी भारतले नै उहाँलाई पक्रने काम गरेको थियो ।
०४६ सालको आन्दोलन
२०४६ सालमा पनि उहाँले पर्चा निकालेर राजनीतिक दलहरुको आन्दोलनमा सहयोग गर्नुभयो । त्योबेला कांग्रेस र संयुक्त बाममोर्चाले शान्तिपूर्ण आन्दोलन गरेका थिए । रामराजाले भने सशस्त्र आन्दोलनमै जोड दिनुभयो । उहाँले बम, बारुद चाहिन्छ भने हामी सहयोग गर्न तयार छौं, हाम्रा सयौं कार्यकर्ता बम पड्काउन खप्पीस छन् समेत भन्नुभएको थियो । तर दलहरुले यसलाई अस्वीकार गरे । २०४८ सालको चुनावपछि सबै साँसदहरुलाई उहाँले गणतन्त्रमा जानुपर्छ भनेर आहृवान पनि गर्नुभएको थियो ।
मृत्युदण्डको फैसला फिर्ता गर्न ढिलाई
२०४६ सालको राजनीतिक परिवर्तनपछि पनि उहाँको मृत्युदण्डको सजाय छँदै थियो । त्योबेला मधेशमा कांग्रेस बलियो थियो । तर रामराजा लोकपि्रय हुनुहुन्थ्यो । त्योबेला रामराजा चुनाव लडेको भए उहाँले जित्नुहुन्थ्यो । कांग्रेस पराजित हुन्थ्यो । ०४२ सालको बमकाण्डपछि उहाँमाथि लगाइएको मृत्युदण्डको फैसला बाँकी रहेकाले उहाँले चुनाव लड्न पाउनुभएन । फिर्ता गर्ने बित्तिकै चुनाव लड्ने र जित्ने सम्भावना भएकाले कांग्रेसले नै मुद्दा फिर्ता लिन आलटाल गरेको थियो । २०४८ सालमा कांग्रेसले चुनाव जित्यो । त्यसपछि रामराजाको मुद्दा फिर्ता लिन दबाब पनि पर्यो । बल्ल गिरिजाबाबु आएर सिंहको मुद्दा फिर्ता लिनुभयो ।
गणतन्त्रका लागि यति धेरै योगदान गरेका कारण एकीकृत नेकपा माओवादीले उहाँलाई राष्ट्रपतिको उम्मेद्वार बनायो । तर, वर्तमान राष्ट्रपति डा. रामवरण यादवसित उहाँ पराजित हुनुभयो ।