Thursday, September 20, 2012

रामराजा र राष्ट्रिय गौरव - nagariknews

 नारायण वाग्ले

अघिल्लो बुधबार दरवारमार्गस्थित राजा महेन्द्रको सालिकछेउ पंक्तिकारले रामराजाप्रसाद सिंहको पार्थिव शरीर पहेंलो बस्त्रले छोपिएको देख्यो। गणतन्त्रका पिता भनिएका वरिष्ठ राजनीतिकर्मीको मलामी भने खासै थिएनन्। सैनिकहरु बढी थिए, त्यो बाहनमा। केही बेरअघि टुँडिखेलमा प्रधानमन्त्रीदेखि धेरै नेताले फूलमाला चढाएका थिए। १३ तोप पड्काइएको थियो। अपराह्न आर्यघाटमा उनका समर्थक र परिवारजन तथा तिनै नेताले सैनिकहरुको हुलमा बसेर अन्तिम बिदाइ गरे।
मन्त्रिपरिषद्ले त्यही दिन राष्ट्रिय गौरव घोषणा गर्न कञ्जुस्याइँ गरेन। तत्काल बैठक गर्योत र नागरिकलाई दिइने सर्वोच्च सम्मान अर्पण गर्ने हतार गर्योर। खासमा त्यो रामराजाप्रति सम्मानभन्दा बढी माओवादीको आफ्नै हिंसा राजनीतिको अनुमोदन थियो। प्रधानमन्त्री बाबुराम भट्टराईले विशेष व्यक्तिगत सम्बन्ध र प्रेरणावापत् त्यसरी बकस प्रदान गर्ने आतुरी देखाएका थिए।
माओवादीको सशस्त्र संघर्षको सुरुदेखिकै समर्थक राजनीतिकर्मीलाई सम्मान गर्दा एक दशक लामो आफ्नो हिंसात्मक राजनीतिलाई राष्ट्रिय गौरवका रुपमा चरितार्थ गर्न खोजिएको थियो। गिरिजाप्रसाद कोइरालाविरुद्ध राष्ट्रपति उम्मेदवार बनाइएका नेतालाई कोइरालाकै चलाखीवशः जिताउन नसकेकामा खिन्न भएका माओवादीले त्यसको साटो फेर्ने अवसरका रुपमा पनि यसलाई बनायो।
नेपाली राजनीतिमा रामराजा कुनैबेला आशा र कुनैबेला त्रासको नाम थिए। उनको जीवनकालको ज्वाजल्यमान चरण पञ्चायतको अँध्यारोमा थियो, जतिखेर राजा महेन्द्रले राष्ट्रिय पञ्चायतमा चार सीट स्नातक उत्तीर्णहरुका तर्फबाट निर्वाचित गर्ने प्रथा थालेका थिए। अधिवक्ताका रुपमा कानुनी अभ्यास गरिरहेका तन्नेरी रामराजाले निर्दलीय व्यवस्था विरोधी छवि उजिल्याउन उम्मेदवारी दिए। प्रजातन्त्रको आशा देख्ने स्नातकहरुले उनलाई समर्थन गरे। तर, उनलाई निर्वाचित सदस्यको शपथ लिन दिइएन। गिरफ्तारीको 'वारेन्ट' काटिएको थियो। भूमिगत बसे। दोस्रोपल्ट पनि उनले जिते तर उनको विरोधी छविबाट त्रसित सत्ताले उनको खुला अभिव्यक्तिवापत् उल्टै लगेर जेलमा राख्यो।
नख्खु जेलमा सँगै बस्दाका अनुभव नेपाली कांग्रेसका नेता रामशरण महतले यही साता रिपब्लिका दैनिकमा रोचक वर्णन गरेका छन्। सप्तरीका खानदानी राजपुतले अंग्रेजी साहित्यको गहिरो रसपान गर्ने गरेको र शेक्सपियरका नाटकसमेत जेलभित्रै गर्ने गरेको सम्झना महतले गरेका छन्। त्यो उनको आकर्षक प्रतिपक्षी राजनीतिकर्मीको जीवन त्यसपछि भने क्रमशः अपत्यारिलो हुँदै गयो।
समीक्षा साप्ताहिकमार्फत् पञ्चायतकालभर उतारचढावपूर्ण पत्रकारिता गरेका वयोवृद्ध मदनमणि दीक्षितले राजधानी दैनिकमा लेखेअनुसार ०३६ सालको जनमत संग्रहमा निर्दलले जित्यो भने पनि राजनीतिक सुधार गर्ने राजा वीरेन्द्रको घोषणाप्रति रामराजाले टुँडिखेलमा सभा गरी विरोध जनाए। व्यक्तिगत सानिध्य भएका ती राजनीतिकर्मीलाई सम्झँदै दीक्षितले लेखेका छन्- 'बीपी कोइराला र केशरजंग रायमाझीले दुई खेमाबाट बहुदलको प्रचार गर्दा रामराजाले राजाको सुधारको घोषणालाई विरोध गर्नु स्वाभाविक थिएन।' त्यसप्रति असहमति जनाउँदा रामराजाले दीक्षितलाई भनेछन्- म त गान्धीवादी भइसकें, अब केही दिनमा नेपाल छाडेर भारतको गान्धी आश्रममा जान्छु।
रामराजा पटना फर्किए। कुनै गान्धी आश्रममा बसे होलान् भन्ने दीक्षितले ठाने। किनभने उनले रामराजालाई शिर मुण्डन गरेको, सादा खद्दरको धोती कुममा राखेको, सेतो कपडाले सिएको गन्जी र काठको खराउसमेत लगाएको देखिसकेका थिए। तर, उनलाई स्तब्ध पार्नेगरी ०४२ सालमा सिलसिलेवर बम बिष्फोट गराएको जिम्मेवारी गान्धीवादी भएँ भनेर गएका रामराजाले पटनाबाट लिए। राजदरवार र राष्ट्रिय पञ्चायत गेटसहित विभिन्न छ ठाउँमा भएका बिष्फोटमा निहत्था निर्दोषहरु मारिएका थिए। दरवारमार्गस्थित अन्नपूर्ण होटलमा दुईटी रिसेप्सनिष्ट सामुन्ने बिष्फोट गर्न लगाएर निर्दोष नारीको ज्यान लिएकामा दीक्षितले बढी क्षोभ प्रकट गरेका छन्।
त्यो खासमा गान्धीवादी कृष्णप्रसाद भट्टराई नेतृत्वको पञ्चायतविरुद्ध सत्याग्रही आन्दोलनलाई भाँड्न गरिएको बिष्फोट थियो भन्ने धेरैको धारणासँग मिल्दो टिप्पणी दीक्षितले पनि गरेका छन्। सत्याग्रह मत्थर भइसकेपछि बिष्फोट गराएको भनेर रामराजाले पछि व्याख्या गरे पनि त्यो पञ्चायत विरुद्धभन्दा सत्याग्रहविरुद्ध थियो भन्दै दीक्षितले थपेका छन्- त्यस घटनाबाट रामराजाको पञ्चायत विरोधमाथि नै गम्भीर चोट लाग्यो। गान्धीवादी भनिएका उनले पछिल्ला दिनमा गणतन्त्रको माग प्रखर पारेका हुन्। तर, त्यसबाहेक राजनीतिक दर्शन, सिद्धान्तबारे जनतामा उनको कहिल्यै कुनै अपील थिएन। 'मधेस टुक्र्याउनु हुँदैन' भन्ने राष्ट्रवादी विचार भने उनी प्रकट गर्थे। पटनामा बसेरै उनले माओवादीलाई ०५२ सालबाटै समर्थनमात्र दिएनन्, सहयोग पनि दिए। बाबुराम र हिसिलालाई गोलाबारुदबारे प्रशिक्षण पनि दिएका थिए।
०४७ सालको अन्तरिमकालका प्रधानमन्त्री बनेका सत्याग्राही नेता कृष्णप्रसाद भट्टराईले रामराजाको फाँसी सजायको मुद्दा फिर्ता गर्न मानेनन्, उनको सर्त थियो- हिंसा गर्नेले माफी माग्नुपर्छ। तर, उनले मागेनन्। पछि अर्को सरकारले फिर्ता लिइदिएपछि पहिलो मध्यावधि निर्वाचनमा आफ्नो नवजनवादी पार्टीलाई चुनावमा उभ्याए तर एउटै सीट हासिल गर्न सकेनन्। राजनीतिमा हिंसाको प्रयोगका कारण उनी बढी चर्चित भएका हुन्। माओवादीसँग उनको सम्बन्धको आधार त्यही हो। नत्र उनी न माओवादी हुन्, न मार्क्सवादी नै। गणतन्त्रका लागि माओवादी भन्ने उनको बचावटी तर्कमात्र थियो। जनमत संग्रहअघि राष्ट्रिय पञ्चायत निर्वाचनमा दलविहीनताका प्रखर विरोधीको छवि र आकर्षण आफैंले धुमिल पारे। गान्धीवादी, लोकतन्त्रवादी भन्ने उनको पहिचान कहिल्यै स्थापित भएन। बरु हिंसावादी र माओवादीका हिमायती दरिन पुगे।
प्रश्न उठ्छ- तब के उनी राष्ट्रिय गौरवका हकदार हुन्? नेपाल चिनाउन, नेपालीको जीवनस्तर उठाउन, लोकतान्त्रिक खुला परिपाटीको नेपाल बनाउन उनको योगदान के हो? राष्ट्रिय गौरव भनेकै के हो? नेपाली जनताले गर्व मान्नुपर्ने रहष्य के हो? यस्तो सर्वोच्च सम्मान प्रदान गर्ने आधार के हो? यसले भविष्यका पुस्तामाथि कस्तो असर पार्नेछ? निहत्था र निर्दोष नागरिकको हत्यालाई स्वीकार गर्ने हो भने हामी कस्तो चेतनाले निर्देशित राज्य व्यवस्थामा छौं र कस्तो व्यवस्था स्थापित गर्न खोज्दैछौं?
यो सरकारले त हिंसाको आफ्नो राजनीति अनुमोदन गराउँदा भविष्यमा पनि यही माध्यम बढी सम्मानित हुने, प्रोत्साहित हुने नजीर बसाउन खोजेको छ। कुनै पनि राजनीतिकर्मीको योगदान वा कुनै पनि नागरिकको पहिचानको सही परीक्षण गरिएन भने इतिहास गलत जानेमात्र होइन, नागरिकमा बेग्लै मनोवैज्ञानिक धरातल निर्माण हुन पुग्नेछ। माओवादी सरकार र प्रधानमन्त्री भट्टराईले मन्त्रिपरिषद्बाट गरेको मनलागी निर्णयले राष्ट्रिय मान्यता पाउन सक्छ? त्यसले जनताको स्तरबाट सम्मान पाउन सम्भव छ? बमकाण्डका पीडित परिवारजनले त सरकारी निर्णयको विरोध गरिसकेका छन्। उनीहरुले बिर्सिसकेको घटनालाई रामराजाको निधनसँगै सम्झाउन र बल्झाउन पुगेको छ सरकार। उनीहरुले आफू अपमानित भएको, आफ्नो आँसु अपहेलित भएको र असहाय महसुस गर्न बाध्य भएको बताएका छन्। नागरिकको आँसु र भावनामाथि खेलवाड गरेर सरकारले दिने राष्ट्रिय सम्मान स्थापित हुन सक्दैन। यसले उल्टै परलोक भएका व्यक्तिप्रति असम्मान भएको छ। उनकै कदर गर्न खोज्दा अतिशयोक्तिपूर्ण सम्मानका कारण सरकारले उल्टै नागरिकहरुको आँसु खोसेको छ र शोकमा पनि विरोध निम्त्याएको छ। अनि रामराजाकै आत्मामा आघात पुर्याोएको छ।
रामराजाको श्रेष्ठ सम्मान भनेकै जनमत संग्रहअघिसम्म प्रजातन्त्रका लागि मशाल बाल्ने उनको चमत्कारी राजनीतिक जीवनको सम्झना गर्नु हो। त्यो बन्द समाजमा, पञ्चायतविरुद्ध औंला उठाउन नसकिने समयमा, दलहरु प्रतिबन्धित हुँदा र प्रजातान्त्रिक नेताहरु जेल र प्रवासमा पुर्यााइँदा उनले देखाएको साहसको मात्र सम्झना पनि ठूलो सम्मान हो। त्यो आफैंमा पर्याप्त छ। तर उनको शवमाथि राष्ट्रिय गौरव घोषणा गर्नु माओवादी सरकारको आफ्नो दुनो सोझ्याउने चालमात्र हो। यो रामराजाको निहुँमा आफैंलाई सम्मानित गर्ने चेष्टामात्र हो। रामराजालाई राष्ट्रिय गौरव दिए, आफूलाई त कालान्तरको सरकारले राष्ट्रिय महागौरवको सम्मान देला भन्ने व्यक्तिवादी अहम् र स्वार्थको चेतनामात्र हो।
हृदयदेखि सम्मान चढाउन खोजेको भए माओवादीले आफ्नो पार्टी कार्यालयमा उनको तस्बिर राखेर श्रद्धाञ्जली अर्पण गर्ने थियो, सभा गर्ने थियो। कार्यकर्तालाई मलामीका लागि आह्वान गर्ने थियो। उसले त सत्ताको डाडुपन्यु फेला पारेको मौका छोप्दै सैनिक सलामी अर्पण गराउने र तोप पड्काएर सैनिक ट्रकमा आर्यघाट पुर्याेउने राजकीय दम्भमात्र प्रकट गर्यो ।