Sunday, March 20, 2011

राष्ट्रघात गर्दैछु म

नकुल गौतम
म एउटा ग्रामीण नेपाली ठिटो, आफ्नै पेशा र कर्मले आफैबाट राष्ट्रघातको महसुस गरिएला भनेर सोचेको पनि थिइनँ। दुई छाक खाना कै लागि आफ्नै छाति पोल्ने कृयाकलाप गर्नु पर्नेछ भनेर सोच्नु टाढाको कुरा थियो।
गुल्मीको ग्रामीण परिवेशमा हुर्केर राष्ट्र र राष्ट्रिय भावनाले प्रेरित थिएँ म। चिकित्सा शास्त्र अध्ययन संस्थानको मध्यमस्तरीय चिकित्सा विज्ञानको अध्ययन पूरा गरी नेपालको सरकारी सेवामा प्रवेश गरेको थिएँ आजभन्दा करिब २३ वर्ष अगाडि। तर हाम्रोमा पहुँच नहुनेले जागीर खान अप्ठ्यारो रहेछ। सरकारी जागीरको १५ वर्षमा चार विकास क्षेत्र, दर्जन भन्दा बढी जिल्ला र बीसौं स्वास्थ्य संस्थामा धपाइनुको पीडाले अन्तिममा राजीनामा दिएर स्वतन्त्र रहन नै उचित लागेर छोडिदिएँ सरकारी जागीर। तर दुर्भाग्य, केही त गर्नै पर्ने रहेछ।

अनि लागियो कन्सल्टेन्सीका नाममा विभिन्न क्षेत्रको अध्ययन, अनुसन्धान, सूचना संकलन र देशभित्रका महत्वपूर्ण सूचनाहरु दुई छाक खान कै लागि, पैसाकै लागि प्रतिबेदनको रुपमा विभिन्न दातृ निकाय (डोनर एजेन्सी) मा पेश गर्नु पर्ने अनौठो राष्ट्रिय अस्मिताको बिक्री वितरणको खेलमा।
आज हाम्रो देशका बौद्धिक भनाउँदाहरु, सरकारका उच्च ओहोदाका अवकाशप्राप्त विद्वान कर्मचारीहरु र विभिन्न विधामा पीएचडी गरेका विशेषज्ञहरुको प्यारो पेसा हो कन्सल्टेन्सी। पैसाकै लागि देशका कुनाकन्दरामा पुगेर अनुसन्धानको नाममा ग्रामीण क्षेत्रको कृषि प्रणाली, प्राकृतिक सम्पदा, धर्म, संस्कृति ,परम्परागत चालचलन, ब्यवहार, भेषभुषा, रहनसहन, लैंगिक भावना, भौगोलिक अवस्था, श्रोत साधन, यातायातको पहुँच, व्यक्तिगत आय, आम्दानीको श्रोत, बसाई सराइ ,शैक्षिक अवस्था (साक्षर/ निरक्षर) ,माटोको अवस्था, स्वास्थ्य, हावापानी, तापक्रम , वर्षा, प्राकृतिक विपत्ति, मानवीय हिंसा, अपराधका घटना, जिल्ला र केन्द्र स्तरीय सरकारी कार्यालयका कृयाकलाप, क्षमता, कार्ययोजना, रणनीति लगायत विभिन्न पक्षमा अध्ययन प्रतिवेदन तयार गरी विभिन्न दातृ निकाय र अन्तर्राष्ट्रिय समुदायलाई बुझाइँदैछ। राष्ट्रका सूचना बेचेर कमाएको पैसा हाम्रा विद्धानहरुका लागि शान र मानको विषय बनेको छ।. तर दुई छाक खानाकै लागि म आफै पनि बौद्धिक राष्ट्रघातको अभियानमा संलग्न हुनु पर्दा कता कता लागिरहेछ- राष्ट्रघात गर्दैछु म।
हाम्रा बिद्धानहरुलाई बिनम्र आग्रह छ राष्ट्रिय सूचना बेचेर डलर कमाऊन होइन आफ्नै बुद्धि बिबेकबाट देश बनाउनतिर लागे ४०/४५ वर्ष अगाडि गुन्डाराज रहेको सिंगापुर आज प्रति ब्यक्ति आय चालीस हजार डलरमा पुगे जस्तै हामी पनि केही अगाडि बढ्न सक्थ्यौं कि ?
मलाई लाग्छ जसरी राजनीतीमा नैतिकता र कर्मचारीमा ब्याबसायिकता अत्यन्त आवश्यक छ, त्यसैगरी हाम्रा बौद्धिकहरुमा राष्ट्रियता अनिवार्य शर्त हुन पर्ने वा नपर्ने प्रश्न गर्ने बेला आएको छ। आज देशका पचासौं लाख युवा तथा उर्बरा जनशक्ति अदक्ष कामदारको रुपमा बिदेशी भूमिमा रगत र पसिना बगाउँदै छन् तिनै नेपाली आमाका निरपराध सपुतले विदेशी भूमिमा बगाएको रगत र पसिनाबाट प्राप्त पैसामा लाजै नमानी गर्व गर्दैछन् हाम्रा आर्थिक नीति निर्माताहरू। के हाम्रा राजनैतिक र बौद्धिक वर्गलाई देशका युवा तथा उर्बरा जनशक्तिले बिदेशी भूमिमा बगाउन बाध्य भएको रगत र पसिनाले पोल्दैन? यी युवा नेपाली आमाका निरपराध सपुत देशका उर्बरा जनशक्तिलाई आफ्नै देशमा परिचालन गराउनतर्फ बौद्धिक वर्गको भूमिका के?
आज हाम्रा बौद्धिक वर्ग,राजनैतिक ब्यक्ती तथा सरकारका उच्च ओहोदाका बिद्धान कर्मचारी हरु र विभिन्न विधामा विशेषज्ञता प्राप्त गरेकाहरुको सबैभन्दा प्यारो वस्तु नगद भएको छ।
सरकारका उच्च ओहोदाका बिद्धान कर्मचारीहरु र राष्ट्रिय सूचनाको डकुमेन्टरी खेतीलाई नगदमा परिणत गर्ने बिभिन्न बिधामा विशेषज्ञता प्राप्त गरेकाहरुको कलाले हामीलाई कहाँ पुर्‍याउने होला, एकपटक सबैले घोरिएर सोच्ने बेला आएको छ।
अन्तमा,हाम्रो देशका बौद्धिक बर्ग,राजनैतिक ब्यक्ती तथा उच्च ओहोदाका बिद्धान कर्मचारी महानुभावहरु मेरो बिनम्र आग्रह छ- राष्ट्र र राष्ट्रियता नारामा होइन, ब्यबहारमा प्रयोग गरौँ र बौद्धिक राष्ट्रघातबाट देशलाई बचाऊँ।