Sunday, March 20, 2011

साला भारतले भन्दैमा 'डेथ पेनाल्टी'?

‘पुर्नजीवन पाइयो, थ्याङ्स फर गड्स मिराकल। टेलिभिजनले नै यो हालत बनायो। टिभी बन्द गर्नु हुँदैन। अप्ठ्यारोका बीच पनि राम्रोसँग चलाउनु होला।’ नर्भिक अस्पतालबाट ढाडमा लागेको गोली झिकेर डिस्चार्ज हुँदै गर्दा नेशनल टेलिभिजनका कार्यकारी अध्यक्ष युनुस अन्सारीले भने। साँच्चै अविश्वसनीय पुर्नजीवन पाएका अन्सारीलाई ‘वेष्ट अफ लक’ भन्नु शिवाय म निरुत्तर थिएँ।
गत फागुन २६ गते ११:३० मा केन्द्रीय कारागारमा उनलाई ताकेर हानिएको तीन फायर विफल भएछन्। चौथो फायरमा छल्लिदा बाचेछन्, भाइ नाइके घले दाइले बचाएछन्। त्यस यताका घटनाक्रम, चर्चा परिचर्चा, विश्लेषण, अनुमान र सम्भावनाहरु नियाल्दै जाँदा उनको जीवनसँग मेल खान्छ एउटा आख्यान ‘जो होचो उसैको मुखमा घोचो’। कागले कान लग्यो भनेपछि कान नछामी कागका पछाडि दगुर्नु थोरबहुत बानी अझै हटेको छैन, अधिकांश नेपालीको ,खास केही हामी पत्रकार वर्गको। पछिल्लो पटक सरकारकै नियन्त्रणमा रहँदा गोली प्रहारका बावजुद जीवन बचाउन सफल अन्सारीलाई अमूक शक्ति केन्द्र र अपराधी करार गर्न भएका कसरतहरु र तिनमा लोलीमा बोली मिलाउने कलमहरु देख्दा लाग्छ– नेपालमा मुस्लिम हुनु नै अपराध हो।
जनताका बीचबाटै उठेको एक वामपन्थी नेता सलिममियाँ अन्सारी, जो मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला र ज्ञानेन्द्र शाह नेतृत्वको सरकारमा ३ पटक मन्त्री भए, उनको छोरा भएकै कारण युनुस अलि फरवार्ड भए। सञ्चारसँग उनको लगाव अलि बढी नै भएका कारण उनी एभिन्यूज टेलिभिजनका संस्थापक लगानीकर्ता रहे। करिब २ वर्ष देखि उनको करिअर वेवी बनेको छ– नेशनल टेलिभिजन।
भन्नेहरुको मुख थुन्न नसकिँदो रैछ। भनिदिन्छन् नेशनल टिभीमा आइएसआइको लगानी छ। दाउदले पैसा पठाउछ। विचराहरुप्रति टिठ लाग्छ। सोध्नु नी केन्द्रका सय बढी, जिल्लाका ७० बढी र बाहिरिएका दर्जनौं पत्रकार कर्मचारीहरुलाई के तिनले आइ.एस.आई वा दाउदको पैसा पाको भए आधा पेट खाएर टिभीमा काम गर्थे? केही पहिले जग्गा किनबेच लगायत काम व्यवसायमा राम्रै फाइदा कमाएका उनले एटिभीमा जति लगानी गरे त्यसलाई नेशनलमा सार्ने बाहेक खै तिनले के गरे त? सरकारकै नियन्त्रणमा छन् १४ महिनादेखि। खुरुक्क तिनको सम्पत्ति छानविन गर्नु, जफत गर्नु नी हिम्मतवालाले? बेकारमा किन अमूक शक्तिसँग जोडेर उनलाई ‘डेथ पेनाल्टी दिइदैछ?
अल्पसंख्यक मुस्लिम समुदायका अगुवा, वामपन्थी रुझान र राक्ष्ट्रवादी अडानका बीच उनले टेलिभिजनलाई राष्ट्रिय स्वार्थका विषयमा बढी केन्द्रीत गरेका छन्। वाह! आफ्नो देशको पक्षमा , जनताको पक्षमा वकालत गर्ने टिभी चलाउनु नै तिनको पाप हो? फेरी मुस्लिम भएकै कारण तिनले आइ एस आई वा दाउद वा कथित डि कम्पनीको सदस्यको पगरी गुथ्नुपर्ने? प्रहरीले शायद तिनको जाचबुझ गर्न अब त केही बाँकी छैन र पनि उनको ति शक्तिसँगको सम्पर्क वा संवन्ध प्रमाणित गर्न सक्या छैन। केवल आफ्नो असफलता, कमजोरी लुकाउन र भारतीय भत्ता पचाउन प्रहरीको एउटा निश्चित हाकिम वर्गले लाञ्छना लाउदैमा युनुस अपराधी हुन्छ त? युनुसको त्यस्ता शक्तिसँगको संवन्ध प्रमाणित गर्न नसक्ने प्रहरीका केही हाकिम सावहरु अन्सारीमाथि मात्रै किन खनिएका छन्? तिनले अन्सारीलाई कारागारमै गोली दाग्ने प्रपञ्च मिलाउदा पनि विफलता हात लागेपछि उनका गोली प्रहार प्रकरणलाई अन्यत्रै मोड्न गोयवल्स शैलीमा मिथ्था प्रचारहरु गराउँदै छन्। कस्तो योजनाकार अमुक पत्रिकाको अमूक संवाददातालाइ मात्रै फोन गरेर हत्या प्रयासको जिम्मा लिन्छ। अनि कस्तो पत्रकार पुलिसका कुरा मात्रै टिपोट गरेर रिपोर्ट गर्छ।
गतवर्ष भारतीय दूवातावासको भाडाको घरमा लगेर बेहोस बनाई हिन्दीमा ३ दिन भारतीयले बयान लिँदा पनि प्रहरीले युनुसलाई उसको वाह्य संवन्धवारे पुष्टि गर्न सकेन। यसवर्ष गोली दाग्दा पनि मार्न सकेन। के युनुस नेपालको त्यस्तो दुश्मन हो जसले राष्ट्रघात गर्‍यो, मानवियता विरुद्धको अपराध गर्‍यो? आफूविरुद्धका अभियोगको न्यायिक सफाईका लागि बन्दी बन्दा पनि युनुस मात्रै असुरक्षित हुनुपर्ने के हो? के बन्दी मार्ने वर्दी हो– पुलिसका केही हाकिम सावको?
युनुसमाथि गोली दागिएको ब्रेकिङ्ग न्यूज भारतीय सञ्चारमाध्यममा पहिले आउनु, हत्यारा जसतीत सिंह भारतीय हुनु, यस मामलामा भारतले ‘चु’ नगर्नु, नेपालभित्रका खास केही भारतीयहरु मात्रै अन्सारी सिध्याऊ खेतीमा लाग्नु के षड्यन्त्रपूर्ण ग्राइण्ड डिजाइन होइन?
युनुस खाँटी नेपाली हो। उसको रगतमा नेपाल छ। उ, पटक पटक कालबाट उम्केको छ। उ मारिने छैन अब। भगवान उसका दाहिना नहुँदा हुन त उसको मुटु यति बलियो हुने थिएन। कमजोर राष्ट्रिय सुरक्षा प्रणाली सुधारको सुरुवात भएको छ उसले थापेको गोली। धन्न मरेको रैनछ नेपालीको स्वाभिमान। सांसद, नेता, मन्त्री, प्रधानमन्त्री, पत्रकार, अधिकारकर्मी र सर्वसाधारणले भारतीय दादागिरीको सामु औला ठड्याउन सके यसै प्रकरणमा। न्याय मरिसकेको छैन– युनुसको दोष वा निर्दोषताबारे फैसला आउछ नै त्यसैबेला चर्चा गरौंला। तर हजुर सरकारले थुनेको एउटा मालिक पत्रकारलाई साला भारतले भन्दैमा ‘डेथ पेनाल्टी’ दिने षड्यन्त्र विरुद्ध एकजुट हुनै पर्छ। युनुुस अपराधी वा आतंकारी होइन, न त उ खतरनाक मान्छे हो, न उसबाट देशलाई घाटा छ, उसलाई जवर्जस्त खतरनाक सावित गराउन भारतले गरिरहेको श्रृङ्खलावद्ध षड्यन्त्र नै नेपाल र नेपालीका लागि घातक हो।
(खड्का अन्सारी कार्यकारी अध्यक्ष भएको नेसनल टेलिभिजनका समाचार प्रमुख हुन्)