यावत् बस्तु नबनाए पनि, तेरोमेरो भनी साँधसीमा नलगाए पनि, सानोठुलोको विभेद नगरे पनि, धन दौलत नथुपारे पनि करोडौं बर्षदेखी मज्जाले चलेको छ मौरीको जीवन ! मौरी मुख्यतया ९ बर्गमा विभाजित छन, झन्डै २० हजार प्रकारका हुन्छन, र संसारका हरेक भागमा पाहिन्छन् | यिनीहरुको खानाको श्रोत मधुरस (Nectar) र पराग (Pollen) हो | तत्काल चाहिने इन्धनको लागी यिनीहरुले मधुरस प्रयोग गर्छन भने प्रोटिनलगायतका अन्य पौष्टिक पदार्थ पुरा गर्न, र बच्चा हुर्काउनको लागी पराग अथवा केसर प्रयोग गर्दछन् |
मौरीका ६ वोटा खुट्टा, टाउकाको दुईपट्टि हजारौं घनाकार लेन्स भएका कम्पाउण्ड आँखा, टाउकोमाथि ३ वोटा साधारण आँखा, २ जोडी पखेटा, लामो सुंड जस्तै जिब्रो, रस राख्ने छुट्टै थैली, बिबिध प्रकारको नाजिकता थाहा पाउने शरीर, र भालेका १३ भागमा र पोथीका १२ भागमा बाडिएका गन्ध र स्वाद थाहा पाउने १७० वोटा रिसेप्टर जडित २ वोटा एन्टिना, हुन्छन् | यस्ता रिसेप्टरहरु झिंगामा ६२ वोटा र लामखुट्टेमा ७९ वोटा मात्र हुन्छन् |
मौरी जाँगरिलो हुने, समूहमा बस्ने, यसले फूलबाट मह र कुट बनाउने, यसको रानी हुने कुरा त हामी सबैलाई नै थाहा छ, तर यसको जीवनचक्र र जीवन यापनलाई अलि बिस्तृतगरि नियाल्ने हो भने औधि रमाइलो र आश्चर्यको छ |
१) साधारण तथ्य (General Facts): खानाको खोजीमा मौरीहरु प्रत्येक दिन १० किलोमिटरसम्म यात्रा गर्दछन भने एक पटक मह जम्मा गर्न यिनीहरुले ५०-१०० वटा फूल चुस्नु पर्दछ | आफ्नो जीवनकालमा एउटा माउरीले एक चिनीचम्चाको १२ भागको १ भागमात्र मह बनाउन सक्छ | मौरी मात्र त्यस्तो किरा हो जसले बनाएको खाना मान्छेले खान मिल्छ | मौरी उड्दा आउने आवाज पखेटाको स्पिडको आवाज हो | यिनीहरुका पखेटा १ सेकेन्डमा २ सय पटकसम्म फटफटाउंछन, र मौरी प्रतिघन्टा बढीमा २५ किलोमिटरसम्मको बेगले उड्न सक्छन् | आफू गएका हरेक फूलमा यिनीहरुले एक प्रकारको गन्ध छाड्छन, जुन कुरा अन्य मौरीले ५ मिटर टाढाबाट थाहा पाई उक्त फूलमा जाँदैनन् | एउटा फूलको बोटबाट अर्को फूलको बोटसम्म पुग्ने सबैभन्दा छोटो बाटो पहिल्याउने गणितीय क्षमता हुन्छ मौरीहरुमा |
एक घार मौरीको समूहमा २०-६० हजार माउरी हुन्छन् | मौरीलेमात्र छुट्याउन सक्ने हरेक घारको फरक किसिमको बास्ना हुन्छ | रानी माउरी बाहेकका अन्य माहुरीहरु देख्दा उस्तै देखिए पनि काम गर्ने, नगर्ने, टोक्ने, नटोक्ने, भाले, बच्चा नै नपाउने पोथी आदि बिभिन्न प्रकारका हुन्छन् | पोथी मौरीले मात्र मह तथा कुट जम्मा गर्छन, टोक्छन, र टोकेपछि प्राय जसो मर्छन् | भाले मौरीहरुले खाना जम्मा गर्दैनन, टोक्दैनन र गर्भाधान गराउने काम मात्र गर्दछन् | सम्भोग गरेपछि भालेहरु मरिहाल्छन् | १,१०० जति मौरीको टोकाइले मान्छे मर्न सक्छ | मौरीको मस्तिष्क तीलको गेडाजत्रै हुन्छ र यसमा ९०० जतिमात्र कोषहरु हुन्छन, तथापि यिनीहरुमा सम्झने, प्रकाशको कोण तथा दुरीको हिसाब गर्ने अनौठो क्षमता हुन्छ | रानी बाहेक अन्य मौरीको आयु करिब ४५ दिनको हुन्छ | यिनीहरुको कुराकानी गन्ध र नाचमा हुन्छ | नाचले उड्ने दुरी र दिशाको साथै फूलको प्रकार र मात्रासमेत बताउँछ |
मौरीको मह संगाल्ने छुट्टै थैली हुन्छ | महमात्र यस्तो बस्तु हो जुन कहिलै सड्दैन, र यसमा जीवन धान्ने सबै तत्वहरु जस्तै:- ग्लुकोस, प्रोटिन, भिटामिन, खनिज, पानी, इन्जाइम आदि हुन्छन् | १ केजी मह बनाउन करिब ११ सय माहुरीले काम गर्नु पर्दछ, र भैपरी आउने कुरालाई दृस्टीगत गरी माहुरीले आफूलाई चाहिने भन्दा ४२% जति बढी खाना जम्मा गर्दछन् | यदि मौरी नभएको भए संसारमा अहिले पाइने आधा जति पनि बोटबिरुवा पाइने थिएनन् | हाल संसारका १ तिहाइ बिरुवाको गर्भाधान मौरी मार्फत हुन्छ | मौरीले मह बनाउंदा फूलबाट रस चुस्छन, र त्यसमा आफ्नो रयाल मिसाउँछन् | चाकाको कोठामा हालेको महमा भएको करिब १७% जति पानीको मात्रा सुकेर बाक्लो भएपछि कोठामा एक प्रकारको ढकनी लगाई नचाहिंदासम्मको लागी त्यही रुपमा संचय गर्दछन् |
२) रानी मौरीको जन्म (Birth of the Queen Bee): रानी मौरीहरु स्वाभाविक रुपले जन्मिन्नन, योजना गरेर जन्माइन्छन् | जब मौरीको घारमा मौरीको संख्या धान्न नसक्ने गरी ठुलो हुन्छ, मौरीहरुले छुट्टिने सल्लाह गर्दछन र २० वोटा ठुल्ठुला कोठा सहितको चाका बनाउँछन् | बर्तमान रानीले ती सबैमा भाले लागेको एक-एकवोटा फुल पार्छे | फुलहरु लार्भा बनेपछि बिशेष प्रकारका मौरीहरुले ती लार्भालाई बिशेष प्रकारको रोयल जेली नामक खाना खुवाई अरु भन्दा एकदम ठूला बनाउँछन् | लार्भा ८ दिनका भएपछि बर्तमान रानी बस्ने कोठालाई मैनको जालोले घेरिन्छ | त्यसपछि एकातर्फ माहुरीको एउटा ठुलो समूह त्यहाँबाट छुटिएर केही समय अन्तै जाने, आउने, फेरि जाने, फेरि आउने गर्छ भने अर्कोतर्फ यो बर्तमान रानीलाई दुब्लाई उड्न सक्ने बनोस भन्ने हेतुले खाना नै नदिएर भोकभोकै टाटासुकाइ बनाएर राखिन्छ |
अर्काथरी केही पाका मौरीहरुले यो रानीलाई यो घार छाडेर उक्त छुट्टिदैगरेको हुलसंग जान मनाउंछन् | बास्तबमा यो हुल बस्ने ठाउँको ठेगानबिना नै निस्केको हुन्छ | हुलमा केहीलाई अगाडि गएर घर खोज्ने जिम्मेवारी दिइएको हुन्छ | राम्रो बस्ने ठाउँ नपाउन्जेल दिनभरि चर्ने साँझ कुनै एक अस्थायी ठाउँमा सबै जम्मा भई बस्ने गर्दछन् | यसरी कयौं दिनसम्म चर्दैचर्दै छोटोछोटो दुरी यात्रा गर्छन् | जब राम्रो बस्ने ठाउँ पाइन्छ, ठाउँ खोज्न जिम्मा पाएकाहरुले खबर गर्छन र सबै मौरी उक्त ठाउँमा स्थायी बसोबासका लागी जान्छन् |
यता घारमा पारिएका २० वोटा फुलमध्येको पहिलो लार्भाको रानी १० दसौं दिनमा निस्कन्छ र यो पनि या त केही हुलसहित उक्त घार छाडेर नयाँ घारको लागी त्यहाँबाट अन्तै जान्छ या त अन्य १९ वोटा आफ्ना बहिनीहरुलाई लार्भामै टोकेर मार्छ, र उक्त घारको आफै रानी बन्छ | रानी बनेपछि यताउति उडेर वोरिपरिको वाताबरण बुझ्दछ र थुप्रै भाले (Drone) संग उड्दाउड्दै शारीरिक सम्पर्क गर्दछ | त्यसको ३ दिनमा उक्त रानीले दिनको करिब २ हजारका दरले फुल पार्न थाल्छ | अचम्मको कुरा के छ भने यी सबै फुलबाट पोथी माउरीमात्र जन्मिन्छन् | अर्को पटक भालेसंग संसर्ग नै नगरी केही थोरै फुल पार्छ | यी फुलहरुमा भाले नै नलागे पनि नयाँ जीवनमा परिणत हुने क्षमता हुन्छ | तर आश्चर्यको कुरा के छ भने यसरी जन्मिने सबै माउरी भाले (Drone) मात्र बन्दछन् | एउटा घारमा केही सयमात्र भाले माउरी हुन्छन् | अन्य माउरीको जीवन करिब ४५ दिनको भए पनि रानी भने ५ बर्षसम्म बच्न सक्छ | रानी मर्ने कुरा अन्य माहुरीले गन्धबाट केही समय अघि नै थाहा पाउँछन र त्यही अनुरुप नयाँ रानी बनाउन सुरु गरिसकेका हुन्छन् |
३) समाज र श्रम बिभाजन (Society and Division of Labor): मौरीको समाजमा पूर्ण न्यायिक श्रम बिभाजनको सिधान्तमा आधारित हुन्छ | १-२ दिनका बच्चाले आफू जन्मेको कोठा सफा गर्नु पर्ने र तातोको लागी आफ्नै छिमलका अन्यसंग टाँसीएर रहनु पर्ने, ३-५ दिनकाले हुर्केका लार्भालाई खुवाउनु पर्ने, ६-११ दिनकाले भर्खरका लार्भालाई खुवाउनु पर्ने, १२-१७ दिनकाले मैन बनाउने, खाना ओसार्ने, घारको सुरक्षा गर्नु पर्ने तथा अन्य भैपरी आउने काम गर्नु पर्ने, र २२-४५ दिनकाले बाँचुन्जेल नै खाना खोजेर ल्याउनु पर्ने नियम हुन्छ | भालेहरुको काम मात्र गर्भ बोकाउने हुन्छ भने रानीको काम मात्र फुल पार्ने | त्यसको अतिरिक्त बयस्क पोथीहरु मध्ये समुहको सल्लाह अनुसार कतिपयले खाना पत्ता लागाउन जानु पर्छ, कतिपयले खाना जम्मा गर्नु पर्छ, कतिपयले घारको रक्षा गर्नु पर्छ, कतिपयले मरेका माउहुरी लगायतका फोहोर सफा गर्नु पर्छ, कतिपयले पखेटाले हम्केर घारको तापक्रम ठिक ३३-३५ डिग्री सेल्सियसको बिचमा कायम राख्नु पर्छ आदिआदि |
४) गणित र इन्जिनिरियंग (Mathematics and Engineering): संपूर्ण प्रकारका माहुरीले आफ्नै शरीरमा मैन उत्पादन गरेर चाका बनाउँछन | बनाउने तरिका पनि संपूर्णको एउटै हुन्छ | हजारौ माहुरीले बिभिन्न दिशाबाट एकैचोटी बनाउंदै ल्याउँदा पनि हरेक कोठा एकै नापको र षट्कोण (HexagonalHexagonal) आकारको हुन्छ | मह नपोखिनको लागी दुई छेउमा १३ डिग्री उठेको, उत्ति मैनको प्रयोग गरेर अलिकति पनि ठाउँ नोक्सान नहुने गरी बनाइएको हुन्छ | आधुनिक इन्जिनियरहरुले यसलाई ठाउँको अधिकतम उपयोग गर्न प्रयोग गरिने सर्बोत्तम यान्त्रिक बिधि (Engineering Principle) मान्दछन् |
गणितिज्ञहरुले यस्तो दुरुस्तै (Exactly Alike) हुनुमा या त मौरीमा बनाउन सुरु गर्नु भन्दा पहिले ठाउँको हिसाब गर्नेसक्ने ज्ञान हुनु पर्छ, या त कुनै प्रबुद्ध मौरीले बनाउने अबधिभरि नै लगातार निरीक्षण र निर्देशन गरिरहेको हुनु पर्छ, अथवा सबै मौरीमा लगातारको संचार सम्पर्क भई ठाउँको उचित समायोजन (Adjust) गर्नसक्ने क्षमता र सलाह भएको हुनुपर्छ भन्ने अनुमान लगाएका छन् |
त्यस्तै मौरीहरूको दिशा पत्ता लगाउने र दिशा बताउने मुख्य आधार नै सूर्यको किरण हो, जसको कोण प्रत्येक ४ मिनेटमा परिवर्तन भैरहेको हुन्छ, अनि चहकिलो पनमा पनि दुरी, बादल आदिले फरक पारिरहेको हुन्छ | तर मौरीले यिनीहरुको आँखामा हुने बिभिन्न दिशामा फर्केका ६ चोसे (cubic) प्रकाश रिसेप्टरसहरुमा पर्ने प्रकाश र त्यसको चहकिलो पनको आधारमा दिशा र कोणलाई समायोजन (Adjust) गरी सजिलै दुरी र दिशा पत्ता लगाउन सक्छन् | मौरीमा प्रकाश ब्याकअप गर्नसक्ने क्षमता हुनु पर्छ भन्नेहरु पनि छन् |
५) बिज्ञान र औषधि (Science and Medicine): मौरीले टोक्दा छाड्ने मेलिटिन (Melittin) नामक बिषको प्रयोग गर्दा HIV Virus लागेका कोषलाई पुरानै स्थितिमा फर्काउन सकिने तथ्यको नजिक पुगेको Washington University का बैज्ञानिकहरुले बताएका छन् | त्यस्तै the University of Sao Paulo का अनुसन्धानकर्ताले बाथ रोगले दुखेको ठाउँमा मौरीलाई टोकाउँदा शरीरमा ग्लुकोकोरटिकोइड (glucocorticoid) नामक दुखाइ निको पार्ने हर्मोन (anti-inflammatory hormone) बढ्न गई पीडा कमहुने कुरा पता पगाएका छन् |
Arizona State University का बैज्ञानिकहरुले पत्ता लगाए अनुसार मौरी बुढो हुँदैजाँदा कुनै एक बिन्दुमा पुगेपछि दिमागको बुढोहुने क्रम उल्टिएर जवान हुन थाल्दछन् | त्यसैले मौरीले मरुन्जेल जवानले जस्तै काम गर्न सक्छन् | यो जैविक संयन्त्र राम्रोसंग अनुसन्धान गरिएमा मान्छे बुढो हुँदैजाँदा लाग्ने बिर्सिंदैजाने (Dementia) रोगको उपचार पत्तालाग्ने कुरामा उनीहरुको बिश्वास छ |
चिया, कफी आदिमा पाइने क्याफिन (Caffeine) ले पिउने मान्छेलाई सजक बनाउँछ | सजक रहनु भनेको एक प्रकारको नबिर्सिने प्रक्रिया हो | कतिपय बिरुवा र फूलको परागमा पनि क्याफिन पाइन्छ | बास्तबमा अस्थित्व बचाउको सिद्धान्त (Struggle for Survival) अनुसार कतिपय बिरुवाहरुले हानिकारक किटाणुबाट आफ्नो प्रतिरक्षा गर्न, र पराग सेचन गर्नेलाई आकर्षण गर्न क्याफिनको उत्पादन गर्ने गरी बिकसित (Evolve) भएका हुन, तर जीव बिकासको क्रम यहाँसम्म आइपुग्दा क्याफिन माहुरीको स्मरणशक्ति बढाउने तत्व बन्न पुगेको छ | क्याफिन हुने फूललाई मौरीले कहिलै बिर्सिंदैनन् |
मौरीले प्रपोलिस (Propolis) भन्ने बाह्रै महिना हरियो हुने रुखको चोप बटुलेर आफ्ना सम्पूर्ण चाकाहरुमा दल्दछन् | हामीले पनि ब्याक्टेरिया, भाइरस, ढुसीबाट बच्नको लागी यही रुखको चोपमा पाइने जस्तै तत्व प्रयोग गर्दछौं | तसर्थ मौरीको चाकाको कुनै किसिमको प्रयोगले हिउँले खाएको घाउ, अन्य घाउखटिरा, छालाको एलर्जी, घाँटी दुखेको, र बिरुवाको रोग आदिको उपचार सम्भब हुन सक्ने कुरामा बैज्ञानिकहरुको बिश्वास छ |