हामीले खाएको खाना आमासयमा पुगेपछि हाइड्रोक्लोरिक अम्ल (hydrochloric acid) र खानलाई छिट्टै गलाउन सक्ने अन्य थुप्रै रासायनतत्त्वहरु (Enzymes) मिलेर गलाउँछन्। गल्नु भनेको खानाका ठुलाठुला अणुहरु मसिना बन्नु हो अथवा ग्लुकोस (Glucose) भन्ने एक प्रकारको मसिनो चिनीमा परिणत हुनु हो। यही प्रक्रियालाई साधारण भाषामा हामीले पच्नु भन्छौं। खाएको खाना आमासयमा मसिनो बनेपछि सानो आन्द्रामा जान्छ। सानो आन्द्राको भित्रपट्टी भिली (Villi) भन्ने मसिना छिद्रहरु र रगत रेसाहरु (blood capillaries) हुन्छन्। तिनीहरुले ग्लुकोस बनेको खानालाई बिस्तारै सोसेर लिन्छन, र त्यो खाना मूल रक्त-प्रवाह क्षेत्र (bloodstream) मा मिसिन्छ।
यसरी रगतमा पुगेको ग्लुकोस यदि शरीरलाई तत्काल शक्तिको अवश्यक छ भने तत्काल शक्तिमा परिणत हुन्छ, तत्काललाई चाहिएको छैन भने पछिको लागी संचित भएर बस्छ। ग्लुकोस संचित हुँदा ग्लीकोगेन (glycogen) भनिने ढिक्का जस्तै बनी मुख्यतया कलेजो (liver) र माम्स्पेसी (muscles) मा संचित हुन्छ।
तर रगतमा प्रवेश गरेको उक्त ग्लुकोस इन्सुलिन (Insulin) भन्ने रासायन (hormone) बिना तत्कालै शक्तिमा परिणत हुन पनि सक्दैन, अनि संचित हुन पनि सक्दैन।
हाम्रो शरीरमा आमासयको तल्लो भागमा सानो-आन्द्रा, कलेजो, फियो, (spleen) पित्त-थैली, आदिले घेरिएर रहेको प्याङक्रीअस (Pancreas) भन्ने करिब ६ इन्च लामो गाजर जस्तैजस्तै आकारको अंग हुन्छ। यसमा बिभिन्न प्रकारका हर्मोन उत्पादन गर्ने islets of Langerhans भन्ने क्षेत्र हुन्छ, जसमा Alpha Cells, Beta Cells लगायतका लाखौँ कोषहरु हुन्छन्। यी islets पत्ता लागाउने जर्मन बौज्ञानिकको नाम Langerhans भएकोले यस्तो नाम रहन गएको हो। Alpha Cells ले मुख्यतया ग्लुकोगन (glucagon) नामक हार्मोन उत्पादन गर्दछन् भने Beta Cells ले इन्सुलिन (insulin) नामक हार्मोन उत्पादन गर्दछन्।
हामीले खाना खाएपछि खानाको प्रकार अनुसार रगतमा चिनीको मात्रा बढ्छ। बढी कार्बोहाइड्रेडयुक्त खानाहरु जस्तै:- भात, रोटी, आलु आदि खाइयो भने रगतमा चिनीको मात्रा प्रसस्तगरी बढ्छ, अन्य प्रकारका खाना खाँदा ठिकैले बढ्छ। रगतमा बढेको चिनीको मात्राको अनुपातमा Beta Cell ले प्याङक्रीअसलाई insulin उत्पादन गर्ने निर्देशन दिन्छन्। त्यसको ठिक बिपरित हामीले लामो समय खाना नखाएर यदि रगतमा चिनीको मात्रा घट्यो भने Alpha Cells ले प्याङक्रीअसलाई ग्लुकागन (glucagon) उत्पादन गर्ने निर्देशन गर्दछन्। glucagon ले कलेजो आदिमा संचित रहेको शक्ति ग्लिकोगन (glycogen) लाई glucose मा बदली रगतमा पठाई चिनीको मात्रा बढाउँछ अथवा परिपूर्ति गर्दछ। यस प्रकार यी दुई प्रकारका कोष (Alpha Cells र Beta Cells) हरुको सतर्कतापूर्बकको नियमित काम गराइले स्वस्थ मानिसको रगतमा चिनीको मात्रा ठिक्क ( Balanced) को बनेको हुन्छ।
प्याङक्रीअसले insulin र glucagon को साथै अन्य खाना पचाउने लगायतका रासायन (Enzyme) हरु उत्पादन गरी आमासय र डुडेनममा पठाउने काम पनि गर्दछ।
हाम्रो शरीरका कोषहरूमा एक प्रकारका ढोका हुन्छन्। जब प्याङक्रीअसबाट इन्सुलिन निस्कन्छ उक्त इन्सुलिन रगतमार्फत गएर हरेक कोषहरुलाई खाना आयो, ढोका खोल भन्छ, अनि कोषहरुले ढोका खोल्छन र ग्लुकोस भित्र जान्छ। यसरी भित्र गएको ग्लुकोस तत्काल शक्ति चाहिनेभए कोषहरुले तत्कालै प्रयोग गर्दछन, नत्र पछि प्रोयोग गर्नको लागी संचय गर्दछन्। रगतमा भएको ग्लुकोस कोषहरूमा गैसकेपछि रगतमा ग्लुकोसको मात्रा स्वतः घट्दछ। यो घटेको कुरा Beta cCells हरुले नै तुरुन्त प्याङक्रीअसलाई खबर गर्दछन, र यसले पनि इन्सुलिन उत्पादन गर्ने गतिलाई घटाउँछ।
रगतमा ग्लुकोसको मात्रा हामीले खाने बस्तुको प्रकार, मात्रा र समयको आधारमा उही दिनमा पनि धेरै पटक घटबढ हुन्छ। साधारण अवस्थामा हाम्रो रगतमा प्रति डेसिलिटर ७०-१२० मिलिग्राम ग्लुकोसको मात्रा हुनु पर्दछ। त्यो भन्दा बढी भए चिनीरोग लाग्दै गरेको वा लागेको मान्नु पर्दछ। रगतमा चिनीको मात्रा जतिजति बढी हुन्छ चिनीरोग (Sugar) को अवस्था पनि त्यति नै जटिल भएको बुझ्नु पर्दछ।
खाना खानेबित्तिकै भने चिनीरोग नै नलागेको व्यक्तिको रगतमा पनि यो मात्रा १८० सम्म पुग्न सक्छ। तर खाना खाएको २ घण्टाभित्रमा भने यो मात्रा घटेर १४० मा ओर्लेको हुनु पर्दछ।
जब रगतमा चिनीकोमात्रा १८० भन्दा बढी हुन्छ, त्यो बढी हुन आएको चिनीको मात्रा मृगौलाले पिसाब मार्फत फालिदिन्छ। खानाबाट प्राप्त हुने चिनीको मात्रा भाँडामा पानी खन्याएझैँ तुरुन्तै जम्मा हुने त होइन, बिस्तारैबिस्तारै घन्टौंको समयमा हुने हो। चिनी बिस्तारै रगतमा प्रबेस गर्दछ, रगतमा यसको मात्रा बढ्छ, अनि मृगौलाले पिसाबमार्फत फालिदिन्छ। त्यही भएर चिनी रोग लागेका व्यक्तिहरुलाई छिनछिनमा पिसाब आउँछ।
चिनी फालिनु भनेको शरीका कोषहरुको बृधि बिकास गराउन, हानीकारक ब्याक्टेरिया, भाइरस, रोगब्याधसंग लड्न, घाउचोट निको गराउन मुख्य भूमिका खेल्ने प्रोटिन तथा शरीरलाई बिभिन्न कार्यको लागी चाहिने अन्य पौष्टिक पदार्थ फालिनु पनि त हो। त्यसैले शरीरले यस्ता पदार्थ नपाउंदा चिनी रोग लागेको व्यक्तिलाई बढी भोक लाग्ने, ऊ दुब्लाउँदै जाने, थकित महसुस गर्ने, आँखा धमिलो देख्ने, घाउ निको नहुने, छाला फुट्ने, महिलाहरुलाई घरीघरी योनी चिलाउने आदि समस्या हुन्छन्।
त्यसको अतिरिक्त रगत मार्फत प्रयाप्त थप खाना प्राप्त नहुँदा कोषहरुले संचित शक्ती खर्च गर्नु पर्दछ। यहाँनेर शरीरमा संचित बोंसोरुपी शक्ति प्रयोग भएको ठिकै होइन र भन्ने प्रश्न उठ्न सक्छ। तर शरीरको संयन्त्र त्यसरी चल्दैन। संचित शक्ती धेरै मात्रामा खर्च भयो भने शरीमा केटोनेस् (ketones) भन्ने बिकार (byproduct) निस्कन्छ। धेरै मात्रामा ketones निस्कने अवस्थालाई Diabetic Ketoacidosis (DKA) भनिन्छ, जसले जीवन नै खतरामा पार्न सक्छ। सामान्यतया Type-1 Diabetes हुने व्यक्तिलाई यस्तो अवस्था आउन सक्छ।
मधुमेह हुने एकएक कारणहरु त अहिलेसम्म पनि पत्ता लागेका छैनन्। तथापि समग्र रुपमा भन्नु पर्दा हामीले खाएको खाना पाचन भई, रगतसंग मिसिएर शरीरका कोषहरूमा पुगी शक्तिमा परिणत हुने प्रक्रिया अन्तर्गत कतै न कतै केही न केही संयन्त्र नमिल्दा वा अस्वाभाविक प्रतिक्रिया हुँदा चिनिरुपी शक्तिबर्द्धक तत्व रगतमै रहनुले मधुमेह हुनजान्छ।
अहिलेसम्ममा मधुमेह हुने मुख्यतया ३ कारण पत्ता लागेका छन्। हामीले खाना खाएपछि रगतमा बढ्ने चिनीको मात्राको अनुपातमा प्याङक्रीअसले इन्सुलिन उत्पादन गर्न नसक्नु, इन्सुलिन उत्पादन गर्ने Beta Cells नै शरीरमा हुने अन्य बिबिध रासायनिक प्रतिक्रिया हुँदा गल्तीले मारिनु, र यस्तै कुनै अन्जान प्रतिक्रियाले गर्दा शरीरका कोषहरुले नै इन्सुलिंलाई नचिन्नु वा इन्सुलिनप्रति सही प्रतिक्रिया नजनाउनु।
मधुमेहका मुख्यतया ३ अवस्था हुन्छन्। शरीरका कोषहरूले इन्सुलिनप्रति पूर्ण प्रतिक्रिया नजनाउनुको कारणले रगतमा चिनीको मात्रा बढ्यो भने त्यसलाई मधुमेहको सुरुआती अवस्था (Pre-diabetes) भनिन्छ। त्यस्तै, रगतमा प्रवेश गर्ने ग्लुकोसको अनुपातमा प्याङक्रीअसले प्रयाप्त इन्सुलिन उत्पादन गर्न नसक्नुको कारणले रगतमा चिनीको मात्रा बढ्यो भने त्यसलाई निम्न कोटीको मधुमेह (Type-2 Diabetes) भनिन्छ, र शरीरमा हुने बिभिन्न रासायन संयन्त्र तथा रासायनिक प्रतिक्रिया हुँदा अस्वाभाविक गल्तिको कारणले प्याङक्रीअसलाई इन्सुलिन उत्पादन गर्न निर्देशन दिने Beta Cells निमिट्यान्न भएर इन्सुलिन नै उत्पादन नभएर रगतमा चिनीको मात्रा बढेर हुने मधुमेहलाई उच्चकोटीको (Yype-1 Diabetes) भनिन्छ।
साथै गर्भ बोकेको अवस्थामा थुप्रै प्रकारका हार्मनहरु निस्किने र तिनीहरुका अनगिन्ति रासायनिक प्रतिक्रियाहरु हुने हुनाले यो अवस्थामा कतिपय महिलाहरुको रगतमा चिनीको मात्रा बढ्छ। यस्तो प्रकारको स्थितिलाई (Gestational Diabetes) भनिन्छ।
अहिलेकै अवस्थामा भन्दा Type-1 Diabetes निको हुने उपाय छैन, इन्सुलिनको सुई नियमित लगाइरहनु पर्छ। Type-2 Diabetes भोजनमा सुधारको साथै शारीरिक अभ्यास गर्दा क्षणिक रुपमा केही मात्रामा सुधार देखिए पनि कालान्तरमा यो पनि Type-1 Diabetes मा नै बदलिन्छ। Pre-diabetes र Gestational Diabetes को अवस्था भने नियमित सन्तुलित भोजन र शारीरिक अभ्यासले नियन्त्रण हुन सक्छ। सामान्यतया Type-1 Diabetes ४० बर्ष भन्दा कम उमेरमा, अझै प्रष्ट्याउनु पर्दा २० बर्ष भन्दा पहिले नै हुन्छ। Type-1 Diabetes लाई वंशाणुगत पनि भनिन्छ।
मधुमेहको प्रमुख संयन्त्र नै खानाको परिकार, त्यसले गर्दा शरीरमा उत्त्पन्न हुने रासायन, र ती रसायनहरुको अन्य थुप्रै रासायनिक प्रतिक्रियासंग सम्बन्धित हुन्छ। मान्छे मोटाउनु पनि यिनै कुराहरुसंग सम्बन्धित छ। त्यसैले आफ्नो आदर्श तौल भन्दा ४ कोलोसम्म बढी तौल हुँदासम्म उक्त बढी तौल नै मधुमेहको कारक बन्ने खासै सम्भावना हुँदैन, तर त्यो भन्दा जति बढी हुन्छ, त्यति नै मधुमेह हुने सम्भावना पनि बढ्दै जान्छ। उमेर छिप्पिंदै जाँदा साबधानी नअपनाए भुँडीको गोलाई पनि बढ्दै जाने भएकोले यो बेलामा Type-2 Diabetes हुने एकदम बढी सम्भावाना हुन्छ। यही कारणले गर्दा मधुमेहका रोगीहरुमध्ये ९०% मा Type-2 Diabetes छ भने १०% मा मात्र Type-1 Diabetes छ। तर यसको अर्थ सबै भोंड़ेहरुलाई मधुमेह हुन्छ अथवा ख्याउटेहरुलाई हुँदैहुँदैन भन्ने लागाउनु हुँदैन।
Imperial College of London का अनुसन्धानकर्ताहरुले पत्ता लगाए अनुसार यदि कसैले दिनको १ क्यान मात्रा कोकाकोला खान्छ भने उसलाई Type-2 Diabetes हुने सम्भाबना २२% ले बढ्छ। यसको अर्थ पनि कोकाकोला खाँदा चिनी रोग लाग्छ भन्नु भन्दा अप्राकृतिक गुलियोयुक्त बस्तु सेवनले चिनी रोगको संयन्त्रमा एकदम बल पुर्याउँछ भन्नु उपयुक्त ठहर्छ।
त्यस्तै Harvard University का अनुसन्धानकर्ताहरुले गर्भवती हुनु भन्दा पहिले जनावरको बोसोयुक्त मासु खाने महिलालाई गर्भवती हुँदा Gestational Diabetes हुन सक्ने बढी सम्भावना भएको कुरा पता लगाएका छन्।
यो रोगले पनि संसारलाई नै गालेको छ। अमेरिकाको ८.५% जनसंख्यालाई मधुमेह छ। कतिपय विख्यात डाक्टरहरुले त सबै अमेरिकनहरुले जचाउने हो भने यो १५% प्रतिशत सम्म उक्लिने अनुमान गरेका छन्। बेलायतको National Health Service अनुसार त्यहाँ पनि करिब ३८ लाख जनसंख्यालाई यो रोग लागेको छ, र २०३५ सम्ममा यो संख्या बढेर ६२ लाख पुग्ने आंकलन छ। एसियामा पनि यसको अवस्था भयाबह छ। नेपालमा पनि शहरीकरणको प्रभावले यो बढ्दो क्रममा छ।
मधुमेह नाप्ने मुख्य ३ एकाइ प्रचलनमा छन्।