चर्चित लेखक तथा विश्लेषक सीके लालले मंगलबारको चुनावी परिणामपछि एमाओवादीले सरकार बनाउन खोज्ने र नेपाली कांग्रेसले कुनै पनि हालतमा एमाओवादीलाई सरकारमा जानबाट रोक्ने खेल खेल्न सक्ने बताउनुभएको छ । उहाँको विश्लेषणमा यो चुनावमा मिश्रति निर्वाचन प्रणाली अपनाइएकाले कसैको पनि बहुमत आउँदैन । मंसिर ४ चुनावपछिको नेपाली राजनीतिमा देखिन सक्ने सम्भावित परिदृश्यहरु कस्ता होलान् भन्ने विषयमा बरिष्ठ लेखक सीके लालको विश्लेषण उहाँकै शब्दमा : अमेरिकामा चुनावी परिणामको आँकलन गर्न सजिलो हुन्छ । हरेक व्यक्ति पार्टीमा आवद्ध भएका हुन्छन् र खुला हुन्छन् । म त रिपब्लिकन, म त डेमोक्र्याट । मलाई त्यो मन परेन र मैले छाडेँ भनेर घोषणा नै गर्छन् । तर, हामीकहाँ यस्तो लोकाचार छ कि जसलाई दिने भए पनि म त दाजुभाइजस्तो हो भन्छ । अर्को आएपछि तपाई त फुपुको खलक, तपाई त अझ ससुराली पर्नु भो, कष्ट गर्नु नपर्ने, मलाई नै बोलाउनुभए हुन्थ्यो भन्ने चलन छ । कतिसम्म भने दिनभरि नेताको पछि लागेर हिँड्ने प्रचारकसमेत बेलुका तपाई चाहिँ आफै विचार गर्नुस् भन्ने गरेको मैले देखेको छु । त्यसैले हाम्रा देशमा चुनावको परिणामबारे पूर्वानुमान गर्न कठिन हुन्छ । बहुमत नआउने निर्वाचन प्रणाली हामीले जुन किसिमको निर्वाचन प्रणाली अपनाएका छौं, कि त पूर्ण समानुपातिक भइदिए एउटाको बहुमत सम्भव कि पूर्ण प्रत्यक्ष भइदिएपनि एउटाको बहुमत आउन सम्भव हुन्छ । तर, हामीले मिश्रति लिएका छौं । ३ सय ३५ समानुपातिक, २ सय ४० प्रत्यक्ष, यो दुईवटामा कस्तो हुन्छ भने प्रत्यक्षमा बहुमत आए पनि त्यही समानुपातिकमा हुन्छ भन्ने छैन । समानुपातिकमा धेरै सिट आए पनि त्यही अनुकुल प्रत्यक्षमा आउँछ भन्ने छैन । यो दुइवटा प्रणालीले गर्दा एउटै दलको बहुमत आउने सम्भावना कम हुन्छ । पूर्ण प्रत्यक्ष प्रणाली भइदिएको भए मान्छे स्वतन्त्र उम्मेदवार हुन्थे । अहिले समानुपातिकमा धेरै सिट भएकाले स्वतन्त्र उम्मेदवार बन्न चाहने पनि एउटा पार्टी खोल्ने र २० जना उम्मेदवार राख्न सक्ने क्षमता भएका पार्टी खोलेका छन् । स्वभावतः पार्टीहरुको संख्या त धेरै हुने नै भयो । गएको संविधानसभामा ३०/३२ वटा दल थिए, अहिले त्योभन्दा बढ्न सक्छ । हामीले अपनाएको निर्वाचन प्रणालीमा बहुमत आउनलाई कि त ठूलो जनलहर हुनुपर्यो, जुन अहिले देखिँदैन । त्यसैले फेरि पनि विभाजित मतादेश हुन्छ । पुरानै संविधानसभाको जस्तो गठवन्धन हुन्छ कि अर्कै भन्ने भोलिको कुरा भयो । तर, फेरि पनि विभाजित मत आउनेमा शंका रहेन । सरकारमा कांग्रेस र एमाओवादीवीच हानाथाप हुन्छ माओवादी र मधेसी वा कांग्रेस र एमालेको गठवन्धन हुन्छ हुँदैन भन्न अहिले गाह्रो छ । किनभने गएको संविधानसभामा जुन गठवन्धन थियो, त्यही गठवन्धन अहिले कायम रहन्छ कि रहँदैन भन्ने निर्वाचनको परिणाममा भर पर्छ । तर, एउटा कुरा चाँही के सत्य हो भने माओवादी जुनसुकै हालतमा सरकारमा जान खोज्छ, किनभने नेपालको सबैभन्दा ठूलो दल भएको नाताले पनि र सबै हाम्रो एजेण्डाअनुसार नेपालको राजनीति चलिरहेको भन्ने लागेकाले पनि जुनसुकै हालतमा माओवादीले सरकार बनाउन खोज्छ । माओवादीले सरकार बनाउनका लागि कोसँग गठवन्धन गर्दा बहुमत पुग्छ, त्योअनुसार गठवन्धनको एउटा सम्भावना भयो । अर्को भनेको माओवादीलाई जसरी पनि सरकार बनाउन नदिने भनेर अर्को पक्ष नेपाली कांग्रेसको नेतृत्वमा हुने भयो । नेपाली कांग्रेसले पनि कोसँग गठवन्धन गरेर माओवादीलाई रोक्न सकिन्छ, त्यो किसिमको गठवन्धनका लागि प्रतिस्पर्धा संविधानसभाको परिणाम घोषणा भएको भोलिपल्टबाटै सुरु हुन्छ । को आउँछ भनेर चाँही परिणाम घोषणा नहुँदासम्म भन्न गाह्रो हुने भयो । सरकार सहजै बन्ने सम्भावना सरकार बनाउन योपटक दलहरु लामो समय अलमल गर्दैनन् जस्तो लाग्छ । किनभने सबैलाई सरकारमा जान हतार छ । यो भन्दा अगाडि के भएको थियो भने खोज्दै हिड्नु परेको थियो, सरकारमा मसँग को जाने भनेर । अहिले चाँही मसँग यति जना छ है, मलाई सरकारमा राख भनेर खोज्न जाने अवस्था छ । त्यसैले समय लाग्दैन । योपटक संविधान बन्ने सम्भावना धेरै छ । किनभने राजनीतिकर्मीहरुले आप\mनै लागि हाम्रा लागि हैन, तिनलाई आफ्नै करियर जोगाउनु छ । अब संविधान बनेन भने त तिनको राजनीति समाप्त भयो । क-कसले के पेसा रोज्ने हो तिनले बाटो खोज्न थाले भयो । बाँकी जेल जान तयार हुने भयो । त्यसले गर्दा संविधान बन्छ । सम्झौता गरेर भए पनि संविधान बनाउँछन्, यसमा बरु जेजे पर्ला चुनावपछि गरौंला भनेर गर्छन् । तर, संविधान त एउटा बनाउँछन् । बहुमत आएकै राम्रो मेरो विचारमा सरकारको दृष्टिकोणले बहुमत आएकै राम्रो हो । त्यसले के हुन्छ भने अरु साना दलहरुले ए यसको छ भनेर त्यसका पछाडि लाम लाग्छन् । नभए त चारवटा सभासद भएको दलका नेता पनि म के कम भन्न थाल्छन् । कमल थापाको भूमिका सरकार गठनमा कमल थापालाई कुनै पनि गठवन्धनले लिन गाह्रो मान्छ जस्तो लाग्छ मलाई । धेरै नै सिट ल्यायो भने बेग्लै कुरा, जुन कि सम्भव देखिँदैन । नभए एमाओवादी धर्म निरपेक्षता बोकेको, संघीयता बोकेको, गणतन्त्र बोकेको दल हो, त्यसले कमल थापासँग गठवन्धन गर्न गाह्रो हुने भयो । नेपाली कांग्रेसलाई पनि के हुन्छ भने उसै पनि दक्षिणपन्थीको आरोप खेपिराखेको, झन् कमल थापासँग मिल्न गयो भने त चुनाव त भोलि पनि हुन्छ, मतदाता माझ फेरि पनि जानु पर्ने हुन्छ । स्थानीय चुनाव होला, संसदीय चुनाव होला, त्यसैले कांग्रेसलाई पनि कमल थापासँग मिरेर सरकारमा जान गाह्रो हुन्छ । यसका लागि कमल थापाको कि धेरै नै सिट आउनु पर्यो, कि संविधानसभामा कमल थापाविना कसैको कामै नचल्ने हुनुपर्यो, जुन सम्भावना देखिँदैन । नभए कमल थापालाई बोक्न सक्ने भनेको एमालेले मात्र हो । एमाले बाहेक अरु कुनै पनि दलले कमल थापासँग सहजै सहकार्य गर्छ जस्तो लाग्दैन । अर्कार्तिर कमल थापाले लामो दुरीको राजनीति गर्ने हो भने उनका लागि पनि प्रतिपक्षमै बस्न असल हुन्छ । सरकारमा जाने हो भने आफ्नो केही न केही कार्यसूची परित्याग गर्नुपर्ने हुन्छ । किनभने अन्तरिम संविधानअनुसार सरकार बन्ने हो । अन्तरिम संविधानले नेपाललाई धर्म निरपेक्ष भनेको छ, संघीय पनि भन्या छ, गणतन्त्र पनि भन्या छ । जुन कि कुनै पनि उनको कार्यसूची होइन । सरकारमा जानका लागि उनले आफ्नो कार्यसूची थाती राख्नुपर्नेहुन्छ, यो भनेको उनका लागि साथै राजनीतिक आत्महत्याजस्तो हुन्छ । त्यसैले उनी लामो कालखण्डको राजनीति गर्ने हो भने उनले पनि प्रतिपक्षमा बस्नु राम्रो हुन्छ । राजनीतिक मुद्दा भनेको तत्काल भैहाल्ने कुरा होइन, त्यो त आस्था हो । जस्तो कि माओवादीको आस्था र आदर्श भनेको जनगणतन्त्र हो । त्यस्तै कमल थापाको पनि संवैधानिक राजतन्त्र भई नै हाल्छ भन्ने होइन । थापाले बडो सावधानीपूर्वक के भनेका छन् भने यो राजनीतिक दिशा हो । यसका लागि नेपालको राजनीतिमा एउटा सानो ठाउँ छ, त्योसँग मिल्दोजुल्दो हिन्दु राज्य, सामन्त संस्कारको निरन्तरताको कुरा होला, त्यो सबै जोडिएर आउँछ र त्यसको ठाउँ त नेपालको राजनीतिमा रहन्छ । त्यो ठाउँ ओगटेका हुन्, बढाउने खोजेका हुन्, कुनै दिन बहुमत आयो भने ठिकै छ आलंकारिक राजा होला, अथवा संवैधानिक राजा होला नभए पनि त्यो राजनीतिको ठाउँ ओगटेर बस्न त सयकडौं वर्षसम्म सम्भव हुन्छ । तर, कमल थापाले कति सिट जित्छ भनेर आंकलन गर्न गाह्रो छ । किनकि प्रत्यक्षमा उनका चुनौती दिने उम्मेदवारहरु देखिएका छैनन् । पूरा समानुपातिक हो । फेरि नेपाली मतदाता पढेलेखेका बाहेक जसलाई प्रत्यक्षमा जसलाई दिन्छ, समानुपातिकमा पनि त्यसलाई नै दिन्छ । दललाई भोट दिने हाम्रो बानी छ । पढेलेखेकाले त छुट्याएर एउटा भोट दाइलाई अर्को भोट गाईलाई के के गर्लान् । तर, जसले बुझेका छैनन्, त्यसले त एउटा मात्रै छाप सम्झने हो । यसले गर्दा समानुपातिकमा उनले पाउने मत शहरी क्षेत्रमा उल्लेख्य होला तर, ग्रामीण क्षेत्रमा खासै फरक पार्ला जस्तो लाग्दैन । कमल थापाले चुनावमा आफ्नो ठाउँ ओगेटेका हुन् । मोहन बैद्य समूह चाहीँ चुनावमा नगएर नेपालको राजनीतिमा एउटा वामपन्थी खेलमा छ, जसले संसदीय व्यवस्थालाई बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल भन्छन्, त्यो त छ नि नेपालको राजनीतिमा । मेरो विचारमा मोहन बैद्य समूहले त्यो ठाउँ ओगट्ने हो र ऊ बाँचिरहन्छ । तर, त्यो धेरै विस्तार हुने अहिलेको भूराजनीतिक परिस्थितिमा सम्भवना एक दम कम छ । २६ जनाको सिटमा वा बाधा अड्काउ फुकाउर ल्याउने सम्भावना माओवादीको कति सिट आउँछ भन्नेमा भरपर्छ । किनभने अरु दलले त्यस्तो कुराको त विरोध गर्छन् । चार सिट ल्याउनेले पनि विरोध गर्ने भयो । हामीले ज्यान माया मारेर, चुनाव लडेर चार सिट ल्याउने, यो वैद्य चाहिँ बसीबसी हामीलाई मार्ने गरेकोलाई यत्रो सिट दिने भनेर त विरोध गर्छन नि । तर, त्यो रिसलाई सहन सक्ने गरी अलि धेरै नै माओवादीको सिट आउँछ भने सम्भव वैद्यलाई २६ सीटमा ल्याउन सम्भव हुन्छ । मधेसवादी दलको सीट बढ्न सक्छ प्रत्यक्षतर्फ मधेस केन्दि्रत दलहरुको सिट केही घट्न सक्छ । तर, प्रत्यक्षतर्फ जति घट्न सक्छ, त्योभन्दा सायद केही बढी समानुपातिकमा आउँदा जम्मामा चाहीँ बढ्नेजस्तो सम्भावना छ । किनभने प्रत्यक्षतर्फ गएको संविधानसभा निर्वाचनमा जुन प्रकारको सिट थियो, त्यो अनुपातमा समानुपातिकमा त आएन । अहिले चाहीँ के हुन्छ भने प्रत्यक्षतर्फ दलहरु विभाजित भएकाले केही घट्न सक्छ, तर समानुपातिकमा के हुन्छ भने जति नयाँ दल बनेका छन्, तिनको उम्मेदवारले पनि समानुपातिकमा मत त बढाउने हो । जसरी सँगैसँगै पसल खोलेपछि सबै पसलको व्यापार बढ्छ । अर्कोको घट्ने होइन नि, समानुपातिक भनेको त्यो हो । उनीहरुले मेहनत छुट्टै गरेका छन्, वडासम्म संगठन छ, तिनका मान्छे छन्, परिवारका मान्छे छन्, मतदान केन्द्रमा बस्ने प्रतिनिधिहरु हुनेछन्, समर्थकहरु छन् र त्यो समानुपातिकमा जम्मै प्राप्त मत जोडिने भएकाले बढ्छ र जम्मामम्मीमा हेर्ने हो भने बढ्छ जस्तो लाग्छ मलाई त, सय नाघ्छजस्तो लाग्छ । त्यसैले योपटक कणर्ालीमा समेत मधेसवादी दलहरुले उम्मेदवारी दिएका छन् । तर, मधेसका पनि कुन दल ठूलो हुन्छ भन्न गाह्रो छ । सबैको आ आफ्नो पकेट क्षेत्र छ । कुन प्रभाव क्षेत्रमा कति धेरै मतदान हुन्छ भन्नेमा भर कुरा भयो । जस्तो कि महोत्तरी र धनुषा क्षेत्रमा धेरै मतदान भयो भने तमलोपा अगाडि आउँछ । सप्तरी, सुनसरीमा धेरै मतदान भयो भने उपेन्द्र यादवजी अगाडि जानुहोला । त्यस्तै बर्दिया, बाँके, कञ्चनपुरतिर धेरै मतदान भयो भने विजय गच्छदारको पार्टी अगाडि जाला । रौतहट सर्लाहीतिर धेरै मतदान भयो भने राजेन्द्र महतो अगाडि हुनुहोला ।