Thursday, October 3, 2013

किराना पसल खोल्न पनि तीन लाख चाहिने - onlinekhabar

सानो तिनो व्यापार पनि कहीं दर्ता नगरी मनपरी सञ्चालन गरिरहनु भएको छ भने अब तपाईं व्यवस्थित हुनुपर्ने छ । कानुनअनुसार, जुनसुकै व्यापार गर्दा पनि सम्बन्धित सरकारी निकायमा दर्ता गर्नुपर्ने व्यवस्था सरकारले कडाइका साथ लागू गर्दैछ ।
company minimum capital
आफूखुसी लगानी गरेर पसल खोल्ने सोच बनाउनु भएको छ भने तपाईं रोकिनपर्ने हुन सक्छ । सरकारले व्यापार गर्नको लागि लगानी गर्नुपर्ने न्यूनतम रकम तोकिदिएको छ । यसअघि नै रहेको उक्त व्यवस्था सरकारले न्यूनतम लगानी रकमको सीमा पनि बढाएर कडाइका साथ लागू गर्न लागेको हो । अब कम्पनी खोल्दा न्यूनतम २ लाखदेखि ४० लाख रुपैयाँसम्म चुक्ता पुँजी अनिवार्य गर्ने तयार वाणिज्य मन्त्रालयले गरेको छ ।
गाविस इलाकाभित्र ग्रोसरी, स्टेशनरी र तरकारी पसल सञ्चालन गर्न ६ सय रुपैयाँ दर्ता शुल्क र २ लाख न्यूनतम चुक्ता पुँजी हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । नगर क्षेत्रमा यस्ता व्यवसाय गर्न कम्तीमा चुक्तापुँजी ३ लाख रुपैयाँ हुनुपर्नेछ ।
त्यस्तै, पेट्रोल पम्प, गहना पसल, मेसिनरी, ट्रान्सफरमर र अटोमोबाइल व्यवसायले ४० लाख पुँजी राख्नुपर्ने व्यवस्था गरिने छ । कम्पनी स्थापना गरेर कारोबार नगर्ने, कम्पनीको नाम दुरुपयोग गर्ने, कम्पनीको नाममा नक्कली कारोबार देखाउने जस्ता विकृति बढेपछि सरकारले नियन्त्रण गर्न लागेको हो ।