Friday, August 8, 2014

मोदी सम्मोहनको अर्को पाटो - आनन्दस्वरुप वर्मा - ekantipur

ananda swarup

सायदै कुनै मुलुकको समग्र नेतृत्व यसरी हीनताबोधको सिकार हुन्छ होला, जसरी मोदीको यात्रा क्रममा नेपालमा देख्न पाइयो। संविधानसभा भवनमा मोदीले भाषण गरिरहँदा एक किसिमको जादुयी सम्मोहनमा डुबेका सभासदहरू हतप्रभ देखिन्थे। उनीहरूले कहिल्यै कल्पना पनि गरेका थिएनन्, आफ्नो दबदबाले आक्रान्त राख्ने 'विस्तारवादी' भारतका कुनै पनि प्रधानमन्त्रीले यस्तो माया-ममताको कुरा उनीहरूसँग गर्न सक्छन् भनेर। उनीहरूमध्ये अधिकांशले नरेन्द्र मोदीलाई पहिलोपटक आफ्ना अगाडि प्रत्यक्ष देख्दै थिए र पहिलोपटक नै सुन्दै थिए। त्यो नरेन्द्र मोदी जसका बारे यावत आशंकाहरू व्याप्त थिए: के उनले फेरि नेपाललाई हिन्दु राष्ट्रका रूपमा देख्न चाहन्छन्? के उनको आँखा कर्णाली नदीमा छ? के उनले नेपालमा बढ्दै गरेको चिनियाँ प्रभावबारे चिन्ता व्यक्त गर्छन्? आदि-इत्यादि। मोदीले उनीहरूको आशंका विपरीत त्यस्तो केही गरेनन्, जबकि उनको नेपाल यात्राको मुख्य ध्येय नै नेपालमा बढ्दै गरेको चिनियाँ प्रभावलाई रोक्नु र नदी तथा जलसम्झौताहरूलाई आफ्नो अनुकूल बनाउने बाटो तय गर्नु थियो। उनी जुन संघ सम्प्रदायदेखि आएका हुन्, त्यसको एउटा घटक विश्व हिन्दु परिषद्का नेता अशोक सिंघलले पूर्वराजा ज्ञानेन्द्रलाई 'हिन्दु हृदय सम्राट' भनेका थिए। अरु कुरा त छाड्नुस, मोदीको पार्टी भाजपाको हालैसम्म अध्यक्ष रहेका गृहमन्त्री राजनाथसिंह सहित सबै प्रमुख नेताहरूले कुनै न कुनै समय नेपाल हिन्दु राष्ट्र हुन नसकेकोमा दुःख व्यक्त गर्दै नेपाललाई पुरानो गौरव पुनः प्राप्त होस् भन्ने कामना गरेका छन्। तर मोदीले यस विषयमा केही बोलेनन् र उल्टै 'संघीय लोकतान्त्रिक गणतन्त्र'प्रति पुरै आदरभाव दर्शाउँदै राजावादीहरूलाई निराश पारिदिए।
मोदीले आफ्नो भाषणको लगभग तीन चौथाइ समय नेपालीहरूको गौरवगानमा खर्चिए। उनले भने, 'हिन्दुस्तानले त्यस्तो कुनै पनि लडाइँमा विजय प्राप्त गरेका छैनन्, जुन विजयमा नेपालीहरूको रगत नबगेको होस्।' भाडाका सैनिकहरूको रूपमा नेपाली गोर्खा सैनिकलाई विश्वभरि नै जुन 'कुख्याति' प्राप्त छ, त्यसमा प्रचण्डजस्ता मानिसहरूले थपडी पिटेको देख्दा हैरान परिन्छ। मोदीको दुईदिने भ्रमणलाई समग्रमा हेर्ने हो भने यस्तो लाग्छ- कुनै हिन्दु राष्ट्रको प्रधानमन्त्री अर्को हिन्दु राष्ट्रमा गएको छ। उनको भाषणको सम्पूर्ण 'अन्डरटोन' धार्मिक आग्रहहरूले भरिएको थियो।
एमाले नेता माधव नेपालले तिरुपतिको मन्दिरमा टाउको खुइल्याउनुदेखि लिएर माओवादी नेता अमिक शेरचनले देवीलाई राँगोको बलि दिनेसम्मका घटनाहरूदेखि अनभिज्ञ नरहेका मोदीलाई विश्वास छ कि प्रचण्ड, बाबुराम र यिनीजस्ता केही नेताहरूलाई छोड्ने हो भने यहाँका कम्युनिष्टहरूलाई पनि धर्मको अफिम चटाउनु असाध्यै सजिलो छ। मोदीले यस मानसिकताको पुरापुर लाभ उठाए। उनले आफ्नो भाषणमा सोमनाथको भूमिदेखि हिँडेर काशी विश्वनाथको छत्रछायामा राष्ट्रिय राजनीति थालेको र पशुपतिनाथको चरणमा आइपुगेको बताए। उनले स्मरण गराए कि काशीको प्रतिनिधि हुनुका नाताले नेपालसँग उनको स्वतः नाता जोडिन पुगेको छ। 'किनभने काशीमा एउटा मन्दिर छ, जसमा नेपालका पुजारी हुन्छन् र नेपालको पशुपतिनाथ छ, जसमा हिन्दुस्तानको पुजारी हुन्छ,' मोदीले संसदमा भने।
उनले यो पनि स्मरण गराए कि हिन्दु धर्ममा पूज्य मानिने ५१ शक्तिपीठ हुन्छन्, जसमध्ये दुई नेपालमै पर्छन्। उनले जनकपुरको भूमिलाई स्मरण गरे, जहाँ सीतामाता जन्मेकी थिइन्। सम्पूर्ण दुनियाँमा गणेशको मूर्तिलाई दूध ख्वाउन माहिर संघी प्रचारतन्त्रले बडो सुनियोजित ढंगले भारतमा प्रचार गरिरहेको छ कि मोदीले अबका २०-२५ वर्षसम्म त आरामले राज गर्नेछन् र नेपालजस्तो 'हल्लै-हल्लाको देश'मा यस प्रचारको प्रभावमा डुबेका सभासदहरूबीच मोदीप्रतिको अनुराग भावको कारण सजिलै बुझ्न सकिन्छ। उनीहरू भावविभोर र मन्त्रमुग्ध भएर मोदीको भाषण सुनिरहेका थिए। त्यसले सीमा त्यसबेला नाघ्यो, जब मोदीले भने, 'नेपाल एउटा सार्वभौम राष्ट्र हो।' सदन थपडीहरूको गडगडाहटले भरियो। यस्तो लाग्यो- भारतका प्रधानमन्त्रीको मुखबाट यो मीठो वाणी सुन्न उनीहरूका कान आतुर थिए। के उनीहरूलाई पहिलोचोटी यो कुराको बोध भयो कि नेपाल वास्तवमै एउटा सम्प्रभु राष्ट्र हो?
जतिबेला मोदीको खुट्टा काठमाडौंको धरतीमा पर्‍यो, उनको स्वागत हेर्दा यस्तो अनुभूति हुन्थ्यो, मानौं अंग्रेज शासनकालमा महारानी भिक्टोरिया भारत भ्रमणमा आएकी छन्। स्वयम् प्रधानमन्त्री सुशील कोइराला 'प्रोटोकल'को अवज्ञा गर्दै विमानस्थल जानु, सानदार 'गार्ड अफ अनर', १९ तोपको सलामी, संसदलाई सम्बोधनको अवसर दिइनु आदिले त्यही देखायो। मोदीले आफ्नो वाक्पटुता र भाषणशैलीले यस्तो सङ्गीतमय वातावरण सिर्जना गरिदिएका थिए कि लगभग २० मिनेटको भाषणपछि जब उनको हाउ-भाउ र 'बडी ल्याङग्वेज'मा एउटा उग्र आत्मविश्वासले प्रवेश गर्‍यो, त्यसलाई सभासदहरूले खुट्याउन सकेनन्। त्यसबेला उनी उपदेशको मुद्रामा आइसकेका थिए र भन्दै थिए- संविधान कस्तो हुन्छ र संविधान निर्माणमा कुन-कुन कुरालाई ध्यानमा राख्नुपर्छ।
मोदीले सभासदहरूलाई भन्दै थिए- आफ्नो नेतृत्वको परिचय दिनुस्, भारत तपाइहरूलाई साथ दिन्छ। त्यसपछि उनले 'हिट'को चमत्कारिक मन्त्र दिए- 'एच' अर्थात हाइवे, 'आई' अर्थात आइवे र 'टी' अर्थात् ट्रान्सपोर्टेसन वे। यहाँसम्म पुग्दा उनको शैलीमा यस्तो परिवर्तन आइसकेको थियो कि उनी नागाल्यान्ड अथवा मिजोरमजस्ता कुनै पिछडिएको राज्यको 'असेम्बली'मा गएर भाषण दिइरहेका छन्। यहाँसम्म पुग्दा उनले आफ्नो उपकार र उपहारहरूको झोला खोलिसकेका थिए र त्यसबाट झिक्दै एक-एक गरी बाँडिरहेका थिए। हिमालयमाथि अनुसन्धान गर्नेदेखि फोनको दर कम गर्ने, गरिबी विरुद्ध मिलेर लड्ने, नेपाली छात्रहरूलाई दिइने छात्रवृत्तिको संख्या बढाउने, महाकालीमा पुल बनाउने जस्ता वाचा गर्दागर्दै उनले समापनको रूपमा १० हजार करोड नेपाली रुपियाँ सजिलो दरमा ऋण दिने कुरा गरे।
मोदी वास्तविक मुद्दामा धेरै पछि केन्द्रित भए। तर माथिल्लो कर्णाली परियोजनाको उल्लेखसमेत गरेनन्, जसलाई लिएर नेपालमा निकै तनाव र आशंका छ। ९ सय मेगावाटको यस परियोजनामा जीएमआर नामक कम्पनीसँग २००८ मै 'एमओयु'मा हस्ताक्षर भइसकेको थियो, तर स्थानीय जनताको विरोधका कारण अझैसम्म काम सुरु हुनसकेको छैन। मोदीले त्रिशूली र सेती जलविद्युत परियोजनाको पनि उल्लेख गरेनन्। हाल ती परियोजनाहरूमा भारतलाई पछि पार्दै चीनले हत्याइसकेको छ। मोदीलाई थाहा छ- भारतसँग जोडिएका नेपालको जलविद्युत परियोजनाहरू नेपालका लागि कहिल्यै सन्चो नहुने घाउजस्तै हुन्। विगतमा गण्डकी र कोशी नदीहरूमा भारतसँग भएको सम्झौतापछि नेपाली जनताले ठगिएको महसुस गरेका छन्। सन् १९९७ मा महाकाली नदीसँग सम्बन्धित परियोजनाले त यति गम्भीर रूप लियो कि एमाले पार्टी विभाजनसमेत निम्तियो र कैयौं वर्षपछि मात्र पार्टी फेरि एक हुनसक्यो। निश्चय नै उनले पञ्चेश्वरसँग जोडिएको ५ हजार ६ सय मेगावाटको परियोजनाबारे उल्लेख गरे र १७ वर्षदेखि निर्माणकार्य हुन नसकेको परियोजनालाई एक वर्षभित्र काम थाल्ने वाचा गरे।
मोदी भ्रमणको सबैभन्दा विडम्बनापूर्ण अंश त्यो थियो, जतिबेला उनले हिंसा र अहिंसाको कुरा गरे। उनले सदनमा सहभागी तिनलाई बधाई दिए, जसले 'शस्त्र छाडेर शास्त्रका सहयोगले जीवनलाई फेर्ने' बाटो अपनाएका छन्। उनीहरूको प्रशंसा गरे, जसले युद्ध छाडेर बुद्धको शरणमा जानु नै वेश ठाने र यस सन्दर्भमा उनीहरूको प्रयासलाई सम्राट अशोकसँग जोडे। मोदीको संकेत नेपालका माओवादीतर्फ थियो र यो नै पहिलो क्षण थियो, जब भाषणको यस सन्दर्भमा प्रचण्ड र बाबुराम भट्टराईको हात मेचमा ठोक्किनुको सट्टा एक ठाउँमै अडिएका थिए र मुहारमा मुस्कानको सट्टा तनावले ठाउँ ओगटेको देखिन्थ्यो।
युद्ध र बुद्धका विषयमा मोदीले लामो प्रवचन दिए- पाखण्डपूर्ण प्रवचन। सायद उनले भुले, नेपालका जनतालाई पनि सन् २००२ को गुजरातको उनको अतीत थाहा छ। युद्धदेखि बुद्धतर्फ जाने कुरा गर्ने यिनै व्यक्तिले हालै आफ्नो रक्षा उत्पादनको क्षेत्रमा ४९ देखि ७५ प्रतिशतसम्म प्रत्यक्ष विदेशी निवेशको अनुमति दिएका छन्। यसबाट जुन हातहतियार निर्माण हुन्छ, त्यसले कुन बुद्धको निर्माण गर्छ? रक्षा उत्पादनका क्षेत्रमा पुँजी निवेशका लागि ब्रिटेन, फ्रान्स र इजराइलका जुन कम्पनीहरू आतुर देखिएका छन्, के तिनीहरूले एउटा सीमापछि मुनाफा कमाउन यी हतियारलाई संघर्षरत क्षेत्रहरूमा बेच्ने छैनन्? यो कुरा कसैसँग लुकेको छैन, हतियारका मुनाफाखोर व्यापारीहरू कसरी दुनियाँका विभिन्न संसदहरूमा आफ्ना प्रतिनिधि नियुक्त गर्छन्, जसले संघर्षका नयाँ-नयाँ क्षेत्रहरू बनाउन सकुन, जसले गर्दा तिनका हतियारहरूको खपत बढोस्। त्यस स्थितिमा के भारतले कहिल्यै पनि चाहन्छ होला- यस उपमहाद्विपका मुलुकहरूमा शान्ति कायम होस्? जब तपाई स्वयम् यसलाई बढावा दिँदै हुनुहुन्छ भने युद्ध र बुद्धको यो कस्तो पाखण्ड हो?
नरेन्द्र मोदीले आफ्नो यात्राको मिति धेरै विचार पुर्‍याएर तय गरेका थिए। साउनको त्यो सोमबार, जुन दिन शिवको मूर्तिमा जल चढाउने गरिन्छ। देशको सर्वश्रेष्ठ काँवरियाको हैसियतमा पुगेको धर्मनिरपेक्ष मुलुकको प्रधानमन्त्री जुन भेषभूषामा सोमबार पशुपतिनाथ मन्दिरमा प्रकट भए, त्यसले उनले एक दिनअघि दिएको भाषणको उदारता र उदात्त भावनाको पर्दाफास हुन एकक्षण पनि लागेन। आउने दिनले नै भन्नेछ- प्रधानमन्त्री मोदीका यी मीठा वचन, प्रवचन र सुभाषितहरू तथा नेपालको जलसम्पदामा लोभी आँखाहरूले हेरिरहेका भारतका कर्पोरेट घरानाहरूबीच कस्तो खाले सम्बन्ध कायम हुन गइरहेको छ।
नेपाली मामिलाका जानकार वर्मा भारतीय पत्रकार हुन्।