Tuesday, June 3, 2014

विगत बिर्साइपाउँ भन्दै गुगलमा निवेदनकाे ओइरो - onlinekhabar



हरेक ७ सेकेण्डमा एक जना व्यक्तिले आफ्नो विगत बारेको सूचना लुकाइदिन माग गर्दै गुगलमा निवेदन दिने गरेको खुलासा भएको छ । गुगल प्रयोगकर्ताले आफ्नो बारेमा सेन्सर गर्न निवेदन दिन सक्ने व्यवस्था गरेसँगै आफ्नोबारेका सूचना लुकाइदिन यतिविधि मान्छेले गुगललाई गुहारिरहेको खुलासा भएको हो ।



विगतमा अनलाइनमा राखिएका कतिपय सूचनाहरु अब गुगलमा सर्च गर्दा नदेखिउन् र गोप्य रहुन् भन्नका लागि गुगल प्रयोगकर्ताले यस्तो निवेदन दिन सक्ने व्यवस्था गुगलले गरेको छ । युरोपेली अदालतको पछिल्लो फैसला सँगै गुगलले यस्तो निर्णय गरेको थियो । युरोपेली अदालतले हालै कुनैपनि व्यक्तिको बिर्सिन पाउने अधिकारको सम्मान गर्नका लागि आवश्यक कदम चाल्न हालै इन्टरनेट सर्च इन्जिनहरुलाई आदेश जारी गरेको थियो । युरोपेली न्यायालयले अघिल्लो महिला सर्च इन्जिनहरुलाई निर्देशनात्मक आदेश जारी गर्दै आफ्नो बारेको अपर्याप्त, असान्दर्भिक तथा अतिशयोक्तिपूर्ण सामाग्रीलाई हटाउन सर्च इन्जिनलाई आग्रह गर्नसक्ने र सर्च इन्जिनहरुले आग्रह मुताविक गर्नुपर्ने उल्लेख गरेको थियो ।

यस्तो आवेदन शुक्रबार पहिलो पटक खुल्ला गरिएकोमा पहिलो दिनमै युरोपेली युनियनका २८ देशबाट १२ हजार जनाले यस्तो फाराम भरेको गुगलका व्यवस्थापकहरुले बताएका छन् । एक मिनेटमा झण्डै २० वटा सम्म यस्ता निवेदनहरु आउने गरेका छन् । निवेदन दिनेमध्ये धेरै बेलायतका रहेका छन् ।

यद्यपि इन्टरनेट क्षेत्रको अगुवा विकेपिडियाका संस्थापक जिम्मी वेल्सले भने गुगलबाट सूचना लुकाउने युरोपेली प्रयास निरर्थक हुने बताए । इन्टरनेटको विश्वव्यापी संजालका कारण यो सम्भव नहुने उनको तर्क छ । युरोपभित्र यस्तो सेन्सर भएपनि अमेरिकी गुगलको संस्करणमा सूचना लुकाउन नसकिने भन्दै उनले विश्वका कतिपय सर्च इन्जिनहरुको युरोपमा उपस्थिति नै नभएको अवस्थामा त्यस्ता सर्च इन्जिनमा हुने सामाग्रीमा कुनै सेन्सर गर्न नसकिने दाबी गरे । तर यता गुगल अमेरिकी कम्पनी भएपनि यसको सेल्स अफिसहरु युरोपमा भएकाले यसलाई युरोपेली कम्पनी सरह नै व्यवहार गरिने युरोपेली न्यायलयको ठहर छ ।

गुगलमा सूचना सेन्सर गर्ने पछिल्लो प्रयाससँगै आरोपित अपराधीहरुलाई सहज हुने र उनीहरुले आफ्नो विगतका आपराधिक गतिविधि बारेका सूचना गुगलबाट हटाएर आफुलाई स्वच्छ छविको सावित गर्न सफल हुने कतिपय विश्लेषकको भनाइ छ । बेलायतमा आफ्ना सूचना हटाउन निवेदन दिनेमा बाल यौन दूराचारी, भ्रष्टाचारी नेता तथा खराब काम गरेका डाक्टरहरु धेरै रहेको बताइएको छ ।

स्मरण रहोस् गुगल सर्चमा आफ्नो नाम टाइप गरेर खोज्दा डरलाग्दो सामाग्री भएको लिंक आउने गरेपछि त्यसलाई रोक्न माग गर्दै स्पेनका एक व्यक्तिले हालेको मुद्दामा युरोपेली न्यायलयले गुगललाई प्रयोगकर्ताले चाहेको उनीहरुको सूचना लुकाइदिन आदेश दिएको थियो ।