Sunday, June 1, 2014

'मृत्यु संस्कार तीन दिनमात्र' - annapurnapost

गोपीकृष्ण ढुंगाना |




काठमाडौं : मृत्यु संस्कारमा गरिने १३ दिने काजकिरिया घटीमा तीन दिन र बढीमा सात दिनमा छोट्याउन बहस सुरु भएको छ। निर्णयसिन्धु र धर्मसिन्धुजस्ता शास्त्रको आधारमा मृत्यु संस्कार छोट्याउन सकिने तर्क विज्ञको छ।

प्रकाशोन्मुख पुस्तक 'मृत्यु संस्कारको सरलीकृत अवधारणा' का लेखक शंकरप्रसाद पोखरेलले १३ दिने काजकिरियालाई घटाएर सात, पाँच वा तीन दिनमा गर्न सकिने शास्त्रीय प्रमाण रहेको बताए। उनले भने, 'यो समयको पनि माग हो।' यसबाट आशोच बार्नेलाई राहत हुने, पुरोहितको कार्यक्षमतामा पनि ६२ प्रतिशत वृद्धि हुने, निष्ठा, एकाग्रता र श्रद्धा बढी हुने उनको तर्क छ। उनले काजकिरियाका लागि सरकारी बिदा कटौती भई सेवाग्राहीलाई सहज हुने पनि बताए।

पोखरेलले भने, 'काजकिरिया गर्ने कतिपयले भित्रभित्रै जुठो बार्न छाडेका पनि छन्, आँटिलाले हाकाहाकी संस्कारमा कटौती गर्न थालेका छन्।' मृत्यु संस्कारमा सुधार आवश्यक छ भनी उदाहरण बनेर अगुवाइ गर्नेमा बीपी कोइराला, माधवकुमार नेपाल, पुष्पकमल दहाल, वामदेव गौतम, सीपी गजुरेल, प्रदीप गिरी, ईश्वर पोखरेल, हरिबोल गजुरेल, गोपाल बुढाथोकी, शेखर कोइराला, जीवेन्द्रदेव गिरी, खगेन्द्र संग्रौलालगायत छन्। लेखेर मृत्यु संस्कार सुधार गर्नुपर्ने धारणा व्यक्त गर्नेमा वामदेव गौतम, बालकृष्ण पोखरेल, भिक्टर प्रधान, निनु चापागाईं, कृष्ण पहाडीलगायत छन्।

कानुन व्यवसायी काशीराज घिमिरेले यही जेठ १२ गते बुबाको १३ दिने काम सके। उनलाई पनि यो कर्म तीन दिनमा सक्न पाए हुने रहेछ भन्ने लागेको छ। उनले भने, 'शास्त्रले अनुमति दिने बुझें। व्यवहार नै संस्कृति हुने भएकाले समाज यसमा लचिलो हुनुपर्ने समय आएको छ। १३ दिनपछि बाँचेकालाई पनि रोगतिर धकेल्ने अवस्था बन्दोरहेछ।'

पोखरेलका अनुसार धर्मसिन्धुको पृष्ठ ७३५ मा उल्लेख छ, 'तीन दिनको आशौचमा छ, त्यस्तो पर्णशर दाह आदिमा पहिलो दिन एक पिण्ड, दोस्रो दिन चार पिण्ड, तेस्रो दिन पाँच पिण्ड। यही क्रम जान्नु। यस विधिले दशवटा पिण्ड दानको कार्य सम्पन्न गर्दा शास्त्रअनुसार मृतक व्यक्ति प्रेत बन्ने काम तीन दिनमा पूरा हुन्छ र त्यसपछि सोही दिन ढिकुरो फुटाइन्छ।'

पराशर ऋषिले समेत मृत्यु संस्कार तीन दिनमा सक्न हुने मत राखेको पोखरेलको भनाइ छ। उनका अनुसार परासरस्मृतिमा लेखिएको छ, 'ब्राह्मणहरू जुठोमा तीन दिनमा शुद्ध हुन्छन्, क्षत्रीय १२ दिनमा, वैश्य पन्ध्र दिनमा र शुद्र एक महिनामा शुद्ध हुन्छन्।'

भारतीय योगगुरू स्वामी दयानन्द सरस्वतीद्वारा लिखित संस्कार विधिमा तीन दिनसम्म बिहान र बेलुका होम गरिसकेपछि मृतकका नातेदार स्मशान भूमिमा गएर अस्थी (चितामा नडढेर बाँकी रहेको) उठाएर अर्कै ठाउँमा गाडिदिने बाहेक अरू कुनै कर्म नभएको उल्लेख छ। यजुर्वेदमा पनि मरिसकेपछि दाह कर्म र अस्थी सञ्चयबाहेक अरू कुनै कर्म, कर्तव्य नभएको उल्लेख छ।

पोखरेलले सतीप्रथा बन्द भएका कारण सरकारले चाहेमा मृत्यु संस्कार पनि छोट्याउने सकिने बताए। यसका लागि सरकारले नियम बनाएर लागू गर्नुपर्ने उनको भनाइ छ।

काजकिरिया गर्ने कतिपयले भित्रभित्रै जुठो बार्न छाडेका छन्, आँटिलो हाकाहाँकी कटौती गर्न पनि थालेका छन्।

निर्णयसिन्धुमा लेखिएको छ, 'शौच गर्न नसक्ने बूढो मानिस, वैद्यले औषधि गर्न नसकेको रोगी, पहाडबाट लडेको मानिस, व्रत गर्दैमा मरेको मानिस, पानीमा डुबेर वा आगोमा डढेर मरेको वा भोकभोकै मरेको मानिसको तीन रात आशौच लाग्छ।'

साहित्यकार एवं समालोचक खगेन्द्र संग्रौलाले केही ख्यातिप्राप्त व्यक्तिले जोखिम मोलेर नजिर स्थापित गर्न सके तीन, पाँच वा सात दिनमा काजकिरिया गर्ने परम्परा बस्ने बताए। उनले भने, 'समाजले सहजै स्वीकार त नगर्ला किनकि सत्ता परिवर्तन गर्नेभन्दा कठिन काम हो यो। तर राजनीतिक दल र संघसंस्थासमेत एक भएर अघि बढे असम्भव पनि छैन।'

नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष माधव भट्टराई भने १३ दिने काजकिरिया कुनै हालतमा घटाउन नहुने तर्क गर्छन्। धर्मसभा नेपालका कोषाध्यक्ष एवं ज्योतिषी टेकराज शास्त्रीले बुधबार र आइतबार १३ दिन परे १२ दिनमै क्रिया सक्ने परम्परा रहे पनि त्यो भन्दा छिटो गर्दा शास्त्रीय अपहेलना हुने बताए।