Monday, May 12, 2014

जण्डिस राेग हो भन्ने भ्रममा नपरौँ - setopati

डा‍. सुधांशु केसी

 जण्डिसमा उसिनेको खानेकुरा, गाँजर, मुला, काँक्रो, उखुको रस, ग्लुकोज, मेवा खानु पर्दैन, मासु खाए पनि हुन्छ
अचेल प्रत्येकजस्तो दैनिक पत्रिकामा दिनहुँ विराटनगर र जण्डिसबारे केही न केही छापिएकै हुन्छ। जण्डिस रोगले यति जना पीडित भए, यति जनाको मृत्यु भयो भन्ने खबर दैनिक पढ्न पाइन्छ। तर समाचार लेख्ने, सम्पादन गर्ने र छाप्नेले जण्डिस भन्ने रोग हुँदैन, यो त रोगको लक्षण मात्र हो भन्ने नबुझेर यसलाई भयंकर रोगको रुपमा चित्रण गरेको पाइन्छ। जनमानसमा जण्डिस भन्ने बित्तिकै डर र त्रास छाउने गर्छ।

हुन त कोही न कोही बेला हाम्रो घरपरिवार अथवा छिमेकीमा कसै न कसैलाई जण्डिस भइरहेको हुन्छ। यो स्वभाविक हो, किनभने अनेक रोगमा जण्डिस हुने गर्छ। तर हाम्रो समाजमा जण्डिस भन्ने बित्तिकै यो एउटा छुट्टै रोग र यसको उपचार एलोप्याथिक पद्धतिमा नभई आयुर्वेदमा मात्र छ भन्ने मान्यता रहेको पाइन्छ। कसैलाई जण्डिस भएको थाहा पाउने बित्तिकै घर वरिपरि कम्तीमा पनि ५० जना डाक्टर देखिन्छन्। उपचार गर्ने तरिका, उपचार गर्ने ठाउँ, गर्न हुने र नहुने कुरा, खान हुने र नहुने कुरा आदिको लामो लिस्ट बन्ने गर्दछ। उसिनेको खानेकुरा, गाँजर, मुला, काँक्रो, उखुको रस, ग्लुकोज, मेवालाई जण्डिसको राष्ट्रिय खानेकुराको रुपमा चित्रण गरिन्छ।

चिल्लो, पिरो, अमिलो छुनै हुँदैन र मासु खायो भने त ठहरै मरिन्छ भन्ने मानसिकता अधिकांश नेपालीमा रहेको पाइन्छ। मैले बिरामीलाई मासु खानुपर्छ भन्दा कोही फिस्स हास्छन, कोही अचम्म मानेर आँखा ठूलोठूलो पार्छन, कोही कोही त नजिस्किनुस् न डाक्टर साब् पनि भन्छन्। कसैले त यत्रो टाढाबाट बिरामी देखाउन आयो, यस्तो कुरा सुन्नलाई हो त पनि भन्छन्। यस्तो चर्चाको विषय, यस्तो गलत अवधारणा भएको जण्डिसबारे केही जानकारी दिन जरुरी सम्झिएर यो लेख लेख्ने जमर्को गरेको छु।

जण्डिस भनेको के हो?
रगतमा विलिरुविनको मात्रा बढी भएर आँखा, छाला र मुखभित्र पहेँलो हुनुलाई जण्डिस भनिन्छ। यो कुनै रोग नभएर विभिन्न रोगमा देखिने लक्षणमात्र हो। साधारण अवस्थामा रगतमा बिलिरुबिनको मात्रा १ मिलिग्रामभन्दा कम हुन्छ। बिलिरुबिनको मात्रा ३ मिलिग्रामभन्दा बढी भएमामात्र आँखा पहेँलो देखिन्छ। रगतमा विलिरुविनको मात्रा अत्याधिक भएमा यो पहेँलोबाट हरियोमिश्रित पहेँलो हुन्छ।

जण्डिस किन हुन्छ?
जण्डिसको कारक तत्व विलिरुविन रगतको रातो कणबाट आउँछ। रातो कणको १२० दिनको उमेर पुगेपछि यो फियोमा गएर नष्ट हुन्छ। विभिन्न प्रकृया पूरा भएपछि यसबाट विलिरुविन निस्कन्छ र रगतमा जान्छ। रगतमा भएको विलिरुविनलाई कलेजोको कोषहरुले लिएर पित्तमा फ्यालिदिन्छ। पित्तको थैलीबाट निक्लेको पित्तमा मिश्रित विलिरुविन पित्तको नली हुँदै सानो आन्द्रामा जान्छ। सो आन्द्राबाट फेरि सोसिएर ८० प्रतिशत जति पुनः रगतमा जान्छ। यसरी रगतमा विलिरुविन सधैँ रहिरहन्छ। कलेजोमा जानुअघिको विलिरुविन कन्जुगेटेड विलिरुविन भनिन्छ। सामान्य अवस्थामा यी दुवै विलिरुविन मिलाएर १ मिलिग्राम रगतमा भन्दा कम हुन्छ। कुनै कारणले यो मात्रा बढी भएमा यस अवस्थालाई जण्डिस भनिन्छ। आँखामा देखिनलाई यो मात्रा ३ पुग्नुपर्दछ।

विलिरुविन विभिन्न अवस्थामा बढ्न सक्छ र जण्डिस देखा पर्ने तीन विशेष अवस्थाहरु छन्।

१) रगतको रातो कण अध्याधिक नष्ट भएर अध्यायिक विलिरुविन निस्केर कलेजोले त्यसलाई लिन नसक्नु।

२) कलेजोको रोग लागेर रगतबाट विलिरुविन लिएर पित्तमा फ्याक्ननसक्नु।

३) पित्तको नली कुनै कारणले अवरुद्ध भएर पित्त आन्द्रामा जान नसक्नु।

जण्डिसले के असर गर्दछ?

साधारण जण्डिस आफैँले नवजात शिशुबाहेक अरुलाई असर गर्दैन। नवजात शिशुमा १० भन्दा बढी विलिरुविन वढेमा यसले मगजमा पसेर विभिन्न नशासम्बन्धी समस्या गर्न सक्दछ। वयस्कमा १ हुनु र १० हुनुमा कुनै फरक पर्दैन। २५ भन्दा माथि पुगेमा, मृगौलाको समस्या भएमा व्यक्तिहरुमा मृगौला खराब हुन सक्दछ। नत्र विलिरुविनले आँखा र छाला पहेँलो हुने, पिसाब गाढा हुने, दिशाको रङ हलुका पहेँलो। कहिलेकाहिँ माटोजस्तो हुने गर्दछ। यसबाहेक विलिरुविनको कारणले सारा शरीर चिलाउन सक्दछ। तसर्थ जण्डिस आफैँले कुनै खास समस्या गर्दैन भने बुझ्न जरुरी छ। कुन कारणले जण्डिस भएको हो, उक्त कारणले गर्दा हुने लक्षणहरु भने छुट्टाछुट्टै हुन्छ। त्यसैले कोही मानिसको मृत्यु जण्डिसले भयो भन्दा गलत हुन जान्छ।

जण्डिसका कारणहरु

जण्डिसका कारणहरुलाई ३ भागमा विभाजन गर्न सकिन्छ।

१) अध्याधिक विलिरुविन उत्पादन हुनु

शरिरमा अध्याधिक मात्रामा विलिरुविन उत्पादन भएर त्यसलाई कलेजोले पित्तमा फ्याँल्न नसक्दा जण्डिस हुन सक्छ। यस किसिमको जण्डिसमा विलिरुविन ५ मिग्राभन्दा बढी हुँदैन र यसको मात्रा बढ्नेघटने भइरहन्छ। निम्नलिखित अवस्थामा यस किसिमको जण्डिस हुनसक्दछ।

(क) रगतको रातो कण अध्याधिक मात्रामा नष्ट हुनु (हेमोलाइटिक जण्डिस)। यस अवस्थामा रातो कणको बनावटमा फरक पर्नाले फियोमा अध्याधिक मात्रामा नष्ट हुन जान्छ र विलिरुविनको मात्र बढ्न जान्छ।

(ख) असामान्य अवस्थाको रातो कण बन्नु (इनइफेक्टिभ इरिथ्रोपोइसिस) । विभिन्न कारणले गर्दा रातो कणभन्दा असामान्य अवस्थाको रातो कण बन्दछ जसको आयु सामान्य रक्तकणको १२० दिनभन्दा कम हुन जान्छ। फियोमा नष्ट हुने क्रम बढ्छ र विलिरुविनको मात्रा बढ्न जान्छ।

(ग) शरीरको कुनै ठाउँमा अत्याधिक रक्तश्राव पछि जमेको रगत विस्तारै सोसिँदै जान्छ। यदि त्यसको मात्रा बढी छ र सोसिने क्रम चाँडै हुन जान्छ भने त्यस अवस्थामा पनि जण्डिस हुन सक्दछ।

२) कलेजोको रोगहरु

कुनै पनि कलोजोको रोगमा जण्डिस हुन सक्दछ। कलेजेको कारणले हुने जण्डिसलाई ३ भागमा विभक्त गर्न सकिन्छ।

(क) जन्मजात रोग

रगतमा भएको विलिरुविनलाई कलेजोमा लिएर पित्तमा फ्याक्नलाई चाहिने इन्जाइमको कमीले गर्दा विलिरुविनको मात्रा बढेर जण्डिस हुन सक्दछ। गिलवर्ट सिण्ड्रोम, क्रिगलर नाजार सिण्ड्रोम, रोटोर सिण्ड्रोम र डुविन जोनशन सिण्ड्रोममा जण्डिस देखा पर्दछ। साधारणतया विलिरुविन ५ मिग्रा र विशेष अवस्थामा १० मिग्रा पुग्न सक्दछ।

(ख) एक्युट हेपाटाइटिस

कलेजोको अल्पकालीन रोगलाई एक्युट हिपाटाइटिस भनिन्छ। यसमा कलेजो सुन्निने र कलेजोले काम गर्न नसक्ने हुनाले जण्डिस देखा पर्दछ। पानीबाट सर्ने हिपाटाइटिस इ र ए यसका प्रमुख कारणहरु हुन्। यसबाहेक कम मात्रामा भए पनि रगत र अन्य शारिरीक रसबाट सर्नै हिपाटाइटिस बी र सीबाट पनि हुन सक्दछ। विभिन्न औषधीहरु सेवन गर्नेमा पनि यो देखिन सक्छ। जस्तै टिवी रोगका केही औषधीहरु, साइड इफेक्ट्स नहुने भनिएका केही आयुर्वेदिक औषधीले पनि जण्डिस गर्न सक्दछ। अत्याधिक मात्रामा रक्सी र रक्सिजन्यपदार्थ सेवन गर्नाले पनि जण्डिस हुन सक्दछ।
अहिले विराटनगरमा महामारीको रुपमा देखिएको जण्डिस हेपाटाइटिस ईको कारणले गर्दा लागेको एक्युट हेपाटाइटिस ईले गर्दा हो। साधारण अवस्थामा यसले रोगीलाई मार्दैन तर केही प्रतिशतमा एक्युट लिभर फेल्युर भएर त्यसको कारणले गर्दा मृत्यु हुन सक्दछ। विराटनगरमा भएको मृत्युाको अर्को कारण एक्युट भाइरल हेपाटाइटिस सँगै रगतमा ब्याक्टेरियाद्वारा संक्रमण देखिन्छ। ढलमिस्रित पानी पिउनाले त्यसमा हेपाटाइटिस ईसँगै कोलिफर्म ब्याक्टेरियाको संक्रमण भएर लिभर फेल्युरको अवस्थाले ज्यान लिएको हुन सक्दछ।

(ग) क्रोनिक हेपाटाइटिस

कलेजोको दीर्घकालिन रोगलाई क्रोनिक हेपाटाइटिस भनिन्छ। हेपाटाइटिस वि र सीले गरेको एक्युट हेपाटाइटिस ६ महिनाभित्र आफै ठीक नभएमा क्रोनिक हेपाटाइटिस गर्न सक्दछ र कालान्तरमा जण्डिस हुन्छ। यसबाहेक अन्य रोगहरु जस्तै अटोइम्युन हेपाटाइटिस, प्राइमरी विलियरी सिरोसिस, विलसन डिजिज, बड चियारी सिण्ड्रोम आदिहरुमा जण्डिस देखा पर्न सक्दछ। तर हाम्रो देशमा रक्सी र रक्सीजन्य पदार्थ अध्याधिक र लामो समयसम्म प्रयोग गर्नाले कुनै समयमा जण्डिस देखा पर्दछ। रक्सी धेरै खाने मान्छेमा जण्डिस देखा परेमा अवस्था निकै गम्भीर भएको बुझ्नु पर्दछ।

(घ) कलेजोको क्यान्सर

कलेजोमा हुने क्यान्सर (कलेजोको क्यान्सर अथवा अंगअंगबाट आएको क्यान्सर) ले गर्दा पनि जण्डिस हुन सक्दछ। यस अवस्थामा हुने जण्डिस कलेजोले काम गर्न नसकेर भन्दा पनि कलेजो पित्तनली बन्द भएर हुने गर्दछ।

३) पित्तको नली बन्द हुनु

कुनै कारणले पित्तको नली बन्द भएमा पित्त आन्द्रामा जान नसकेर रगतमा विलिरुविन बढ्न सक्छ। यस किसिमको जण्डिसलाई सर्जिकल जण्डिस अब्सट्रक्टिभ जण्डिस भनिन्छ। यस किसिमबाट हुने जण्डिसमा विलिरुविनको मात्रा बढ्ने, घट्ने हुने, पेटको दुखाइ हुने र धेरै जसोमा ज्वरो आउने हुन्छ। सारा शरीर चिलाउने, सेतो, गन्हाउने दिशा हुन सक्दछ। यस किसिमको जण्डिसको कारणहरुमा पित्तको नलीमा ढुङ्गा हुनु, पित्तको नलीको क्यान्सर, पित्तको नली खोलिने ठाउ र प्यान्क्रियाजको क्यान्सरमा यस किसिमको जण्डिस हुन्छ। कहिलेकाहिँ जुका पित्तको नलीमा गएर बसिदिनाले पनि जण्डिस देखा पर्दछ।

जण्डिसको उपचार

जण्डिस कुनै रोग नभएर रोगको लक्षण मात्र भएकाले यसको कुनै उपचार गर्नु पर्दैन। विलिरुविनको मात्रा १ मिग्रा.हुनु र ५ मिग्रा हुनुमा शरीरमा कुनै फरक पर्दैन। बढ्दै गएमा रोग बढ्दै गइइरहेको हुन सक्दछ। त्यसैले एकचोटी जण्डिस भएपछि त्यो कुन कारणले भएको हो थाहा पाउन जरुरी हुन्छ र त्यसको उपचार गर्नुपर्ने हुन सक्दछ।

कतिपय रोगहरुले जण्डिस गरे पनि त्यस रोगको अथवा रोगको कारणको कुनै उपचार गर्नु पर्दैन। जस्तै हानिरहित जन्मजात रोग गिलवर्ट सिण्ड्रोम आदिको उपचार नगर्दा विरामीको आयु घट्दैन। हेपाटाइटिस इ, ए र हेपाटाइटिस बीले गर्ने एक्युट हेपाटाइटिसमा भइसकेको कुनै उपचार गर्न पर्दैन। जण्डिसको कारण अनुसार त्यसको उपचार गर्ने तरिकाहरु पनि फरक हुने गर्दछ।

अन्त्यमा

हामी नेपाली बिलिरुबिन र जण्डिसबाट धेरै नै डराउने गर्दछौँ। यसको नाजायज फाइदा धेरै जनाले उठाइरहेका छन्। जण्डिस भन्ने बित्तिकै डाक्टरभन्दा बढी घर वरिपरिका छरछिमेकीको कुरा सुन्ने गर्दछौँ। डाक्टरले जण्डिस बुझ्दैन भन्ने मान्यता धेरैको छ। जण्डिसलाई रोग भनेर भ्रमको खेती गरेर जनताहरुलाई उल्लु बनाउनेहरुको प्रतिकार गर्नु जरुरी छ। रगतमा बिलिरुबिन बढी देखिएमा वा जन्डिस देखिएमा तुरुन्तै यसको कारण पत्ता लगाउनु जरुरी हुन्छ। अनि मात्र त्यसको उपचार गर्नतिर लाग्नु पर्दछ।