२३ माघ, काठमाडौं । सरकारी अस्पतालमा काम गर्ने चिकित्सकले अब निजी अस्पतालमा ‘प्राक्टिस’ गर्न नपाउने भएका छन् । निजी अस्पतालमा बढी समय दिएर सरकारी अस्पतालमा आएका बिरामीलाई चिकित्सकले समय नदिएको गुनासो बढ्दै गएपछि त्यसलाई रोक्न सरकारले नयाँ व्यवस्था गर्न लागेको हो ।

सरकारले ‘अस्पताल विस्तारित कार्यक्रम तथा ननप्राक्टिस एलाउन्स’ सम्बन्धी कार्यविधि बनाएर चिकित्सकहरुलाई सरकारी अस्पतालमै पूर्ण रुपले काममा लगाउने तयारी गरेको हो ।
स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाका निर्देशक डा. गुणराज लोहनीले चिकित्सकको कार्यक्षमता र कार्यक्षेत्र हेरी निजी अस्पतालमा नजाने चिकित्सकलाई एक सयदेखि दुई सय प्रतिशतसम्म ‘ननप्राक्टिस’ भत्ता उपलब्ध गराउने गरी कार्यविधि तयार गरिएको जानकारी दिए ।