Sunday, December 8, 2013

ओरालो लागेकै हुन् प्रचण्ड ? - Nepal - भोजराज भाट, माधव बस्नेत


  • एमाओवादी अध्यक्ष प्रचण्डको उत्थानमा क्रमभंग


'संविधानसभाको सबैभन्दा ठूलो दल भएको नाताले, शान्ति प्रक्रियाको मुख्य हिस्सेदार भएको नाताले म यो कुरा भन्न चाहन्छु कि...'

गत पाँच वर्षयता एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिने हरेक भाषणमा यी शब्दावली थेगोझैँ बनिसकेका थिए। नभनून् पनि किन, १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामार्फत स्थानान्तरण गर्दै पहिलो संविधानसभामा उनको पार्टी सबैभन्दा ठूलो दल भयो। कतिसम्म ठूलो भने, प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले प्राप्त गरेको कुल सिट संख्या जोड्दा पनि एमाओवादीबराबरको हैसियत पुग्दैनथ्यो। यस्तो जनमतले पनि सत्तामा रहँदा होस् या बाहिर, पाँच वर्षयता नेपाली राजनीतिमा एमाओवादी अध्यक्ष प्रचण्डको प्रमुख भूमिका रह्यो।

तर, दोस्रो संविधानसभाको परिणाम आइपुग्दा प्रचण्ड नेतृत्वको एमाओवादी पार्टी तेस्रो स्थानमा खुम्चिन पुग्यो। चुनावको चार महिनाअघि प्रचण्डबाहेक अरू सबै नेताहरूको पद घटुवा हुनु, केन्द्रीय समितिले चुनाव परचिालनको सर्वोच्च कमान्डर अध्यक्षलाई नै बनाउनु तर चुनावमा सोचेविपरीत हार बेहोर्नुले पार्टीभित्र र बाहिर प्रचण्डको साख निकै खस्किइसकेको रहेछ भन्ने बुझ्न कठिन थिएन। नतिजा यस्तो आएको छ कि, जुन 'स्पेस'मा न उनी सरकार बनाउने हैसियत राख्छन्, न त संविधान निर्माणमा हस्तक्षेपकारी भूमिका खेल्न नै सक्छन्। किनभने, यसपटक संविधानसभामा कांग्रेस-एमाले र केही साना पार्टी सम्मिलित हुनासाथ सजिलै दुईतिहाइ पुग्ने अवस्था छ।

एमाओवादी पार्टीले पहिलो र दोस्रो संविधानसभाको चुनावी घोषणापत्रमा जसरी प्रचण्डलाई भावी कार्यकारी राष्ट्रपतिका रूपमा उभ्याएको थियो, त्यो दुवैपटक पूरा हुन सकेन। सामान्य अवस्थामा राष्ट्रपति त परै जाओस्, उनी प्रधानमन्त्रीसमेत बन्न सक्दैनन्। अबको संविधानसभामा प्रचण्डका बार्गेनिङ् कार्डहरू कमै मात्र बाँकी रहनेछन्।

त्यसो त प्रचण्ड नेतृत्वको पार्टीमा यतिखेर नीतिगत संकट देखा परेको छ। गत माघमा सम्पन्न एमाओवादीको सातौँ महाधिवेशनले संविधानसभाबाटै संविधान बनाउने कार्यदिशा पारति गरेको थियो तर अहिले सोही पार्टीले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै निष्पक्ष छानबिन नभए संविधानसभा प्रक्रियाबाट बाहिरनिे धम्की दिएको छ। प्रचण्डको संयोजकत्वमा बनेको १३ दलीय मोर्चामा नामै नसुनिएका लोक दल, नेपाली जनता दलजस्ता पार्टीहरूसमेत समावेश छन्। त्यस्ता पार्टीले समानुपातिकमा १० हजारभन्दा बढी मत पनि ल्याएका छैनन्। उनी त्यस्ता दललाई लिएर तत्काल सडक संघर्षमा उत्रिने सम्भावना पनि देखिँदैन। यसैबाट प्रस्टिन्छ, प्रचण्ड अहिले कति रक्षात्मक अवस्थामा छन् भनेर।

यद्यपि, प्रचण्डले आफूहरू विगतमा भएको १२ बुँदे सहमति र बृहत् शान्ति सम्झौताको प्रक्रियाभन्दा बाहिर नजाने प्रतिबद्धता जनाएका छन्। त्यसो भन्नुको पनि खास अर्थ छ। १० वर्षे द्वन्द्वको बेला होस् या बृहत् शान्ति प्रक्रिया सम्झौताको अवस्था, यी दुवै बेला नेपाली राजनीतिको मियो उनकै वरपिर िघुमिरह्यो। पहिलो संविधानसभापछि दोस्रो संविधानसभासम्मको नेपाली राजनीतिकोे केन्द्रमा प्रचण्ड नै रहे। सत्ताबाट बाहिरएिपछि उनी राजनीतिको 'किङ्मेकर' बन्न खोजिरहे। निर्वाचनको परण्िाामपछि प्रचण्डको त्यो साखमा गिरावट आएको छ। अझै पनि उनी आफूलाई १२ बुँदे र बृहत् शान्ति सम्झौताको हिस्सेदार ठानिरहेका छन्।

राजनीतिशास्त्री कृष्ण हाछेथुका विश्लेषणमा प्रचण्ड राजनीतिमा स्थापित हुनुमा तीनवटा कारण उल्लेख्य छ। पहिलो हो, एक्स्िट्रमिस्ट अपोजिसन अर्थात् आक्रामक विपक्षी। प्रचण्ड विपरीत धु्रवको राजनीतिबाट चाँडो स्थापित भएको नाम हो। प्रचण्डको राजनीतिक कद बढ्नुमा भने माओवादी सशस्त्र विद्रोह एउटा महत्त्वपूर्ण कारक थियो।

दोस्रो, रहस्य -नदेखेका मान्छे)का कारण थियो। १० वर्षे विद्रोहमा प्रचण्ड रहस्यमय पात्र बने। प्रचण्डलाई चिन्नका लागि धेरैले कल्पना गर्नुपथ्र्यो। विद्रोहले कम समयमा छिटो विस्तार गर्नु पनि प्रचण्डलाई थप लाभको कुरा थियो। त्यो उन्नति र प्रगतिलाई १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौतालाई राज्यले पनि मान्यता दियो। त्यसबाट उनलाई स्थापित हुन सहज भयो।

र तेस्रो, चुनावी सफलता। ०६४ सालको पहिलो संविधानसभा चुनावपछि माओवादी ठूलो पार्टीका रूपमा स्थापित भयो। जसबाट गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्ने सौभाग्य पनि प्रचण्डले पाए।

यी यावत् कारणले बनेको प्रचण्डको छवि चुनावका बेला ठूलठूला ब्यानर र पोस्टरमा भावी राष्ट्रपति भन्दै प्रचार गरयिो। २ असार ०६३  मा पहिलोपटक बालुवाटारमा सार्वजनिक हुँदा प्रचण्डको प्रस्तुति आफैँमा 'करिस्म्याटिक' थियो। उनको कुरा सुनेर मान्छेले 'ओहो, यो मान्छे त चामत्कारकि पो रहेछ' भन्ने धारणा बनाए। यो धारणाले चुनावको परण्िाामसम्म निरन्तरता पायो। त्यो अद्भुत 'इमेज'को पारो धेरै चाँडो तल खस्यो पनि। सार्वजनिक रूपमा बोल्ने शैलीमा प्रचण्डको स्थिरता देखिएन। बाहुन/क्ष्ात्रीहरू भेट्न पुग्दा उनले त्यो समुदायलाई आदिवासी भन्न भ्याए। जनजातिको समूह आउँदा उनीहरूलाई 'सडकमा जानूस्' भनेर निर्देशनसमेत दिए। उनको यस्तो विरोधाभास शैली सञ्चारमाध्यममार्फत जनतासामु उदांगिँदै गयो। अन्य राजनीतिक दलका नेताहरूले पनि उनको दोहोरो पटकपटक 'एक्सपोज' गरििदए।

प्रचण्डका कतिपय निर्णय बुमर्‍याङ भए। जस्तो, प्रधानसेनापतिको कार्यकाल चार महिनापछि नै सकिने थियो। त्यति समय पनि कुर्न नसक्नु उनको ठूलै कमजोरी रह्यो। उनले एकको विरुद्ध दोस्रोलाई खेलाएर सधैँ आफूलाई केन्द्रमा राख्ने रणनीति अवलम्बन गररिहे, जुन सधँै काम लागेन। राष्ट्रिय नेताले आफूलाई मन नपरेको कुरामा असहमति त राख्छ तर सम्झौताचाहिँ गर्दैन। त्यो बेला प्रचण्डले नेतृत्व गरेको पार्टीमा बल्भिmएको विवाद आकाश-जमिनको फरक थियो। एउटा सहरी विद्रोहबाट सत्ता कब्जा गर्ने, अर्को संविधानसभाको लाइनबाट जाने। त्यसमा एकले अर्कोलाई खेलाएर प्रचण्ड आफू सधैँ केन्द्रमा रहिरहन चाहे। त्यो भनेको कुनै समयको रणनीतिक खेल मात्रै हो। लामो समयसम्म त्यो चल्न सक्दैनथ्यो। अन्ततः पार्टी फुट्यो।

पार्टीभित्र पनि उनका कुरा विवादरहित थिएनन्। त्यसको अतिवादी गठबन्धनको रूपमा धोबीघाट बैठकलाई लिन सकिन्छ। त्यो प्रचण्डविरोधी विचारको समूह थियो। पार्टीभित्र उनको विचार सबैलाई मान्य भएन र त्यसबाट विभाजित भई नेकपा-माओवादीको जन्म भयो। उनको नेतृत्वकालमा पार्टी फुट्यो। र, पार्टी फुट नै त्यस्तो महत्त्वपूर्ण कारण बन्न पुग्यो, जसले निर्वाचनमा सर्मनाक हार बेहोर्न बाध्य हुनुपर्‍यो।

घटनाक्रमले के देखाउँछन् भने एमाओवादी अध्यक्ष प्रचण्ड आगामी दिनमा दोहोरो मारमा पर्दै छन्। एमाओवादी एजेन्डाविहीन राजनीतिक पार्टी बन्दै गइरहेको छ। उसको क्रान्तिकारी नारा वैद्य माओवादीले हरण गरसिकेको छ। निर्वाचनको परण्िाामले पहिचानसहितको संघीयताको नारा पनि अस्वीकार गरििदएको छ। आफूलाई सुधारवादी शक्तिका रूपमा स्थापित गराउन खोजेमा कांग्रेस, एमालेले नै त्यो स्थान ओगटिसकेका छन्। एमाओवादीका अधिकांश नेता-कार्यकर्ताको जीवनशैली, कार्यशैली नियाल्दा उनीहरूको वर्गीय चरत्रि क्रमशः स्खलित हुँदै गइरहेको छ। आफूलाई कसरी पहिचान दिने र स्थापित गराउने भन्ने समस्या एमाओवादीमा चुलिँदो छ।

सामान्य किसानका छोरा हुन् प्रचण्ड। उनलाई नजिकबाट नियालिरहेका एमाओवादीका एक केन्द्रीय सदस्यका भनाइमा प्रचण्डले सशस्त्र युद्ध थाल्नुअघि नै मीठो खाने, राम्रो लगाउने, चुरोट खाइरहनुपर्ने, छाती फुलाएर हिँड्ने गर्थे। उनी छालाको कालो सुटकेस बोक्थे। त्यस बेला प्रचण्डसँग पैसा थिएन। तर, जनयुद्धमा हेडक्वार्टरमा पैसा आउन थाल्यो, उनका अतृप्त चाहनाहरू पूरा हुन थाले। भारतमा हुँदा होस् या रोल्पामा, ब्रान्डेड रक्सी खान थाले। उनको त्यो चाहना हेडक्वार्टरमार्फत झन्झन् पूरा हुन थाल्यो। हुँदाहुँदा सबैभन्दा राम्रो घडी होस् या ल्यापटप वा मोबाइल नै किन नहोस्, ती सबै राम्रा वस्तु उनीकहाँ पुग्न थाले। त्यो रोग अन्य नेतामा पनि सल्कियो। अन्ततः त्यो विकृति राम्रा मोटरसाइकल, राम्रा गाडी हुँदै राम्रा महलमा बस्नेसम्म फैलियो, जसलाई उनले चाहेर पनि रोक्नै सकेनन्। कारबाही नै गर्नुपर्दा आफूबाट सुरुवात गर्नुपर्ने अवस्था सिर्जना हुन थाल्यो। जीवनशैलीमा यहीँनेर चुके प्रचण्ड।

प्रचण्डका कतिपय यस्ता कुरा छन्, जसमा उनको प्रतिबद्धता वा सैद्धान्तिक आवरण एउटा छ तर व्यवहार अर्को देखिन्छ। नेकपा -मशाल)को पृष्ठभूमिबाट राजनीतिमा उदाएका प्रचण्डको कुनै बेलाको धोको हो, समकालीन विश्वको कम्युनिस्ट आन्दोलनको नेता बन्ने। द्वन्द्वकालमा सबैतिर उनकै तस्बिर मात्र छापिन्थे। उनकै तस्बिरको स्टीकरसमेत बनाइएको थियो, जसलाई कार्यकर्ताले छातीमा सजाएर राखेका हुन्थे। सशस्त्र विद्रोहले उचाइ लिँदै गर्दा उनले बढो चलाखीपूर्वक ०५७ सालमा पार्टीको पथप्रदर्शक सिद्धान्तका रूपमा आफ्नै नामबाट प्रचण्डपथ पारति गराए। आफूलाई अन्तर्राष्ट्रिय कम्युनिस्ट नेताका रूपमा चिनाउन त्यसो गराएका थिए। शान्ति प्रक्रियापछि विभिन्न कम्युनिस्ट घटकबीच एकता हुँदा त्यो प्रचण्डपथ एकाएक मेटाइयो। युद्धको समयमा प्रचण्डपथका नाममा दुई दर्जनभन्दा बढी किताब लेखिएका छन् तर शान्ति प्रक्रियापछि प्रचण्ड स्वयंले त्यसलाई सजिलै हटाइदिए। यसबाट के बुझिन्छ भने उनी कुनै सिद्धान्त अनुसार आफू चल्दैनन्, बरू सिद्धान्तलाई आफू अनुकूलमा ढाल्न खोज्छन्।

प्रचण्डको राजनीतिक यात्रा ओरालो लाग्नुमा राष्ट्रियताको नारा आफू अनुकूल उठाउनु र बेवारसि छाड्नुमा पनि छ। एकातिर उनले राष्ट्रियताको मुद्दा उठाइरहेका थिए, अर्कातिर सिंगापुरदेखि सिलिगुडीसम्म अनेकन संदिग्ध भ्रमण गररिहेका थिए। यस्तो द्वैध चरत्रिले पनि उनको शाख दिनानुदिन घट्दै गइरहेको थियो।

प्रचण्डलाई विगतमा स्थापित गर्ने मोहन वैद्य, रामबहादुर थापा, देव गुरुङ सैद्धान्तिक आधारमा धेरै पर पुगिसकेका छन्। फरक पार्टीको जिम्मेवारीमा रहँदैदेखि उनलाई सहयोग गर्दै आएका नारायणकाजी श्रेष्ठसँग त्यति हिमचिम छैन, उनको। बाबुराम भट्टराईको साथ छाडेर ०५४/५५ सालदेखि नै प्रचण्डलाई सहयोग गर्दै आएका हरबिोल गजुरेलसमेत निर्वाचनअघिको जिम्मेवारी बाँडफाँटबाट निकै असन्तुष्ट बनेका छन्। स्रोतका अनुसार गजुरेलले आफू पुरानो र पूर्वाञ्चलको स्थायी बासिन्दा भएका नाताले पूर्वी कमान्ड इन्चार्ज भएर निर्वाचनको रथ हाँक्न चाहेका थिए। तर, गजुरेलभन्दा निकै कनिष्ठ रोल्पाली नेता वर्षमान पुनलाई प्रचण्डले पूर्वमा निर्वाचनको कमान्डर बनाएर पठाए। त्यसपछि गजुरेलको सम्बन्ध प्रचण्डसँग झन्झन् टाढिँदै गएको स्रोतको दाबी छ। गजुरेलको साथ छोडाइ प्रचण्ड पार्टीभित्र झन् कमजोर बन्दै जानुको संकेत हो।

एमाओवादीनिकट पत्रकार खिलबहादुर भण्डारीको भनाइमा आगामी दिनमा प्रचण्डको उचाइ कायम राख्न एमाओवादी नेतादेखि कार्यकर्तासम्मको जीवनशैली, कार्यशैली, कार्यदिशा सबैमा मलमपट्टी लगाएर मात्र पुग्नेवाला छैन, शल्यक्रिया नै जरुरत छ। "संविधानसभाको दोस्रो निर्वाचनबाट एमाओवादी तेस्रो पार्टी भए पनि गिरजिाप्रसाद कोइरालाको निधनपछि प्रचण्डबाहेक त्यो उचाइको अर्को नेता छैनन्," भण्डारी भन्छन्, "आफ्नो विगतको उचाइलाई कायम राख्न प्रचण्डले अवसरवादीको घेरा तोडेर जनतासँग सम्बन्ध विकास गर्दै कार्यशैली बदल्न जरुरी छ।"

सशस्त्र विद्रोहको करबि चार वर्षसम्म गुमनाम नाम हो, प्रचण्ड। कतिसम्म भने ०५५ मा तत्कालीन उपप्रधानमन्त्री तथा कांग्रेस नेता रामचन्द्र पौडेलले प्रचण्ड नामको व्यक्ति नै नभएको र सशस्त्र युद्ध निर्मल निवासबाट सञ्चालित भइरहेको अभिव्यक्ति दिएका थिए। भलै, त्यसको केही समयअघि (भदौ ०५५)मा भारतको फरदिावादमा सम्पन्न चौथो विस्तारति बैठकबाट प्रचण्डले आपmनो तस्बिर सार्वजनिक, नेतृत्वको केन्द्रीकरण र आपmनो भनाइ उद्धरण गर्नुपर्ने निर्णय गराएका थिए। त्यसपछिका केही वर्षसम्म उनी पार्टीभित्र झन् शक्तिशाली देखिए। माघ ०५७ सालमा भारतकै भटिन्डामा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट नेपाली क्रान्तिको मार्गदर्शन सिद्धान्त 'प्रचण्डपथ' पारति भयो। नेतृत्व केन्द्रीकरणपछि उनी महामन्त्रीबाट अध्यक्षमा पदोन्नति भए। प्रचण्डपथबारे मोहन वैद्य, बाबुराम भट्टराई र रामबहादुर थापालगायत माओवादी नेताहरूले स्तुति गाएर लेखे।

आफ्नो नामबाट पार्टीको मार्गनिर्देशक सिद्धान्तमा नाम जोडिनेमा जीवित नेतामा पेरुका गोन्जालोपछि प्रचण्ड मात्र हुन्। दोस्रो राष्ट्रिय सम्मेलनपछि भएको बहुचर्चित चुनबाङ बैठकले पनि अध्यक्ष प्रचण्डलाई असीमित अधिकार दियो। दोस्रो संविधानसभा निर्वाचनको घोषणापत्रमा पनि प्रचण्डबारे 'जसको नीति उसको नेतृत्व, राष्ट्रका नेता अध्यक्ष प्रचण्ड' उल्लेख छ। पार्टीभित्र र बाहिर 'चमत्कार' गर्दै आएका प्रचण्डको अबको भूमिका के ? विगतमा प्रत्येक शब्दमा गह्रौँ अर्थ बोक्ने गरेका प्रचण्डका पछिल्ला अभिव्यक्ति 'म आगामी राष्ट्रपति, कार्यकारी प्रधानमन्त्री'जस्ता अभिव्यक्तिप्रति अहिले खिसिट्युरी हुन थालेको छ।

के प्रचण्डको राजनीतिक यात्रा ओरालो लागेकै हो त ? एमाओवादी प्रवक्ता तथा सिन्धुपाल्चोक-२ बाट निर्वाचित सभासद् अग्निप्रसाद सापकोटाका शब्दमा एमाओवादीको उदारता र केही प्राविधिक कमजोरीका कारण मात्र निर्वाचनमा प्रतिधक्का खप्नुपरेको हो। उनको दाबीमा धक्का खानुपरे पनि पार्टीलाई प्रथम शक्ति बनाएरै छाड्ने ऊर्जा र इच्छाशक्ति प्रचण्डमा छ। "विज्ञानलाई केही समय भ्रमित पार्न सकिएला। तर, प्रचण्डको नेतृत्वलाई कसैले ओरालो लगाउन सक्तैन," प्रवक्ता सापकोटा भन्छन्, "तपाईंहरू लेखेर राख्नूस्, आगामी दिनमा प्रचण्डकै नेतृत्वमा हाम्रो पार्टीले चमत्कार गरेर देखाइदिनेछ। त्यस दिन एमाओवादी र प्रचण्डको ओरालो यात्रा देख्नेहरू शिर झुकाएर हिँड्नेछन्।"

राजनीतिशास्त्री कृष्ण हाछेथुका बुझाइमा, पछिल्लो समयमा प्रचण्डको छविसँग असफलता जोडिएको छ। "लोकतन्त्रको फाइदा भनेको आवधिक निर्वाचन हो। अर्को निर्वाचन आउने बेलासम्म आफ्नो पार्टीलाई बलियो बनाउन प्रचण्डले के के गर्छन्, त्यसमै उनको छवि निर्धारण हुन्छ," हाछेथु भन्छन्, "पहिलो संविधानसभा निर्वाचनका बेलासम्म उनको छवि एउटा उचाइमा पुगेको थियो, अहिले त्यो केही खस्कियो। आगामी दिनका व्यवहारका आधारमा उनको छवि माथि र तल जता पनि जान सक्छ।"

निर्वाचनको परिणामलाई अस्वीकार गरेर अर्कै राजनीतिक बाटोमा जाने विकल्प पनि प्रचण्डका अगाडि सीमित छ। हेटौँडा महाधिवेशनको दस्तावेज अनुसार उनी पार्टीलाई जनयुद्धमा फर्काउन सक्दैनन्। निर्वाचन धाँधलीपूर्ण भयो भनेर सडक राजनीतिमा आउनु भनेकै उनी हास्यपात्र हुनु हो। अब प्रचण्डका लागि एउटै बाटो भनेको 'रुल अफ दी गेम'लाई स्वीकार्नु हो, यसपटक एउटाले जित्यो भने अर्कोपटक अर्कोले जित्न सक्छ। प्रचण्डले पनि आफ्नो पार्टीको पक्षमा परण्िााम ल्याउन नसक्ने होइनन्, त्यो उनको भावी कार्यशैलीमा निर्भर रहनेछ।

"कम्युनिस्ट राजनीतिको रंगमञ्चमा यस्ता घटना निकै कम छन्, जो एकपटक शक्तिको शानबाट कमजोर भएपछि पुनः उत्तिकै शक्तिका साथ उदाएका हुन्। प्रचण्ड पनि सम्भवतः यसै कोटीमा दर्ज हँुदै छन्," राजनीतिक विश्लेषक टीका ढकाल भन्छन्, "प्रचण्ड उचाइबाट तल झररिहेका छन्। संसारको इतिहासलाई नियाल्दा उनी पूर्ण शक्तिका साथ पुनः सत्तामा फर्किने सम्भावना क्षीण छ।"

सिमाना निर्धारण गर्न जनमतसंग्रह गर्नुपर्ने प्रचण्डको अभिव्यक्तिले उनको दृष्टिकोणमा रहेको अबुझपन देखाउँछ। "वाम राजनीतिबाट दीक्षित व्यक्तिले व्यावहारकि राजनीतिको सैद्धान्तिकरण गर्न सिक्छ। तर, प्रचण्डले सिकेनन्," विश्लेषक ढकाल भन्छन्, " नेपालमा पुँजीवादी प्रजातन्त्रको मध्यमार्गको नेतृत्व कांग्रेसले गर्छ। वाम प्रजातान्त्रिक मध्यमार्गको नेतृत्व एमालेले गर्छ।  यसर्थ, नेपाली राजनीतिको सत्तामा प्रचण्डको पुनःउत्थान सम्भव देखिन्न।"



'परिवर्तनकारी नेता म्यानेजरियल भइदिए'

- कृष्ण हाछेथु

राजनीतिशास्त्री

निर्वाचन परिणामको असफलतालाई बाहिर राखेर हेर्ने हो भने प्रचण्ड पछिल्लो समय परिवर्तनकारी नेता नभएर 'म्यानेजरियल' नेता भए। व्यवस्थापनतिर मात्रै उनको समय बित्यो । कांग्रेसलाई मिलाउनुपर्ने, एमालेलाई मिलाउनुपर्ने र मधेसीलाई मिलाउनुपर्ने । रूपान्तरणकारी नेताले व्यवस्थापकीय कुरामा हात हालेपछि अपजशको भारी बोक्नुपर्ने हुन्छ । यो तेस्रो वा चौथो तहका नेतालाई दिनुपथ्र्यो । बीपीले यस्तो व्यवस्थापकीय काम गर्नुपर्दा सूर्यप्रसाद उपाध्यायलाई अगाडि सार्थे । मदन भण्डारीले माधव नेपाललाई संविधान निर्माणमा किन पठाए ? मदन भण्डारीले आफू मन्त्री नभईकन झलनाथ खनाललाई किन पठाए ? पहिलो संसदीय निर्वाचनपछि संसदीय दलको नेता मनमोहन अधिकारीलाई बनाए । व्यवस्थापकीय क्षेत्रभन्दा पर बस्ने नेतालाई यसले समाजमा परिवर्तन ल्याउन सक्छ भनेर हेरिन्छ । तर, माओवादीले जहिले पनि कांग्रेस, मधेसी र एमालेसँग 'डिल' गर्दा त्यो काम बाबुराम, मोहन वैद्य वा नारायणकाजीलाई दिएको भए उनको चामत्कारिक नेतृत्व यति चाँडै भुत्ते हुँदैनथ्यो ।





'माओवादी जनवाद मौलिक विचार होइन'

- टीका ढकाल

राजनीतिक विश्लेषक

नेपालको माओवादी आन्दोलनको उद्भव, विकास र सुरु भएको ओरालो यात्रा दक्षिण अमेरिकी उग्र वामपन्थी आन्दोलनसँग तुलनीय छ । जेठ ०६० मा तत्कालीन माओवादीले अघि सारेको २१औँ शताब्दीको जनवाद पनि मौलिक विचार होइन । यो चिलीका समाजवादी राष्ट्रपति साल्भाडोर एलेन्डेले '७० को दशकमा नै उच्चारण गरेको वामपन्थी राजनीतिक मार्गचित्र थियो । त्यसैको बलमा निकारागुवा, भियतनाम, होन्डुरस र पेरुको कम्युनिस्ट आन्दोलनको विकास भएको थियो । ती सबै आन्दोलन उग्र वाम नारामा उठेका थिए, त्यसैको परिणाम सत्तामा पुगे र आफूले उठाएको नारा 'डेलिभर' गर्न नसकेपछि निर्वाचनबाटै पत्तासाफ भए । अहिले नेपालको माओवादी परिणति पनि त्यस्तै देखिन्छ ।



(आवरण तस्बिर: संजोग मानन्धर)

तीन पत्नीका नजरमा नेल्सन मन्डेला - nayapatrika



दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति तथा रंगभेदविरुद्धको आन्दोलनका अभियन्ता नेल्सन मन्डेला राजनीतिक रूपमा सफल व्यक्तित्व मानिए पनि पारिवारिक रूपमा उनलाई असफल मानिन्छ । मन्डेलाले जीवनमा तीनवटा बिहे गरे । मन्डेलाको आकर्षक व्यक्तित्व तथा पहिरनका कारण उनका धेरै महिला प्रशंसक थिए । उनको जीवनी लेखेका एन्थोनी साम्पसन्सले एकपटक भनेका थिए, ‘मन्डेला महिलाको नजरमा पर्ने पुरुष हुन् र उनलाई यस विषयमा गर्व छ ।’ ९५ वर्षको उमेरमा निधन भएका मन्डेलालाई ६ दशक कुनै न कुनै महिलाले साथ दिएका थिए । जीवनसाथीका रूपमा उनीहरूको सहयोगले मन्डेलालाई सफल बनायो । तीन पत्नीले मण्डेलालाई कस्तो सहयोग गरे, अनि उनीहरू मन्डेलालाई कसरी हेर्छन् त ? एजेन्सीको सहयोगमा तयार पारिएको आलेख :

पहिलो नजरमा नै माया बस्यो
–एवलिन मेस (पहिली पत्नी)
नेल्सन मन्डेलाको पहिलो विवाह उनका राजनीतिक संरक्षक वाल्टर सिसुलुकी भतिजीसँग भएको थियो । मन्डेलाको यो पहिलो विवाह हुनुभन्दा तीन वर्षपहिले नै उनी जोहानेसबर्ग आएका थिए । यो विवाह मन्डेलाले परिवारले खोजेकी एक युवतीसँग विवाह गर्न इन्कार गरेकाले रचिएको थियो । परिवारले खोजेकी गाउँले युवतीलाई विवाह गर्न इन्कार गरेका मन्डेलाले एवलिनसँग विवाह गर्ने
निर्णय लिए ।

विवाहको समयमा मन्डेलाको उमेर २६ वर्षको थियो भने एवलिन २२ वर्षकी थिइन् । मन्डेलाको जीवनी ‘हाइयर देन होप’मा एवलिनले भनेकी छिन्, ‘मलाई लाग्थ्यो, पहिलो नजरमा नै मैले उनलाई माया गर्न थालिसकेकी थिएँ ।’ यो जीवनी मन्डेला जेलबाट रिहा भएपछि सन् १९९० मा छापिएको थियो ।

उनले सो पुस्तकमा भनेकी छिन्, ‘पहिलो भेटघाटमा नै हामी एक–अर्कालाई विश्वास गर्न थाल्यौँ, माया पलायो र त्यसको एक महिनापछि उनी विवाहको प्रस्ताव लिएर आए ।’

विवाह भएपछि मन्डेलाले आफ्नो पढाइ जारी राखे । एलविन नर्स थिइन् । उनको आम्दानीले नै मन्डेला परिवारको खर्च चल्न थाल्यो । एलविन र मन्डेलाका चार बच्चा भए । दोस्रो बच्चाको नौ महिनामा भएको निधनलाई उनीहरूले जीवनको सबैभन्दा दुखद क्षण भनेका छन् । बच्चाको निधनका कारण एलविन धर्ममा झुकाव राख्न थालिन् । उता, मन्डेला धेरै समय राजनीतिमा दिन थाले । एलविनलाई भने राजनीतिबारे कुनै चासो थिएन ।

दु:खद अन्त्य
तर, मन्डेला र एलविनको वैवाहिक जीवन लामो समय चलेन । १३ वर्षपछि उनीहरू छुट्टिए । मन्डेलाको आत्मकथा ‘लङ वाक टु फ्रिडम’मा मन्डेलाले लेखेका छन्, ‘म आफ्नो जीवनमा संघर्ष छोड्न सक्दिनथेँ, मलाई स्वतन्त्र दक्षिण अफ्रिका हेर्नु थियो । तर, उनी मेरो पूरै समर्पण परिवारमा नभएसम्म मसँग बसिरहन सक्ने स्थितिमा थिइनन् ।’

पहिलो विवाहको दुखद अन्त्य भयो । देशद्रोहको अभियोगमा मन्डेलालाई गिरफ्तार गरियो । केही समयपछि उनी जमानतमा रिहा भएर आउँदा घरमा एलविन थिइनन् ।  मन्डेलालाई सन् १९६४ मा आजीवन कारावासको सजाय सुनाइयो । त्यसको पाँच वर्षपछि उनका जेठा छोराको एक कार दुर्घटनामा मृत्यु भयो । सन् १९९० मा रिहा भएपछि मन्डेलालाई पत्रकारले दोस्रो क्राइस्टको संज्ञा दिए । एवलिनलाई उनीहरूले सोधे, ‘दोस्रो जिससको जन्म भएको छ, तपाईंलाई के लाग्छ ?’

जवाफमा उनले भनिन्, ‘मन्डेला एक मानिसमात्र हुन्, किन उनलाई मानिसहरू धेरै उपमा दिइरहेका छन् ? आफ्नी पत्नी तथा बालबालिका छाडेर हिँड्ने मानिस कसरी भगवान् हुन सक्छ ? उनले कैयौँ व्यभिचार गरेका छन्, त्यस्तो मानिसलाई किन भगवान्सँग तुलना गरिएको छ ?’

तर, केही समयपछि उनी मन्डेलाको धेरै तारिफ गर्न थालिन् । पहिलो आमनिर्वाचनबाट पहिलो काला राष्ट्रपति निर्वाचित भएपछि एवलिनले मन्डेलालाई मानिसले धेरै माया गर्ने बताइन् । तर, मन्डेला रिहा भएपछि उनले एकपटक पनि मन्डेलालाई भेट्न चाहिनन् ।

उनले भनेकी थिइन्, ‘जब म मानिसहरूको घरमा धार्मिक विषयमा कुरा गर्न जान्छु, तब मन्डेलाको फोटो उनीहरूको मूल ढोकामा राखेको पाउँछु । यस्तो शक्ति भगवान्बाट मात्रै मिल्छ । भगवान्ले पनि यस्ता मानिसलाई चुन्छन् ।’

मन्डेलासँग छुट्टिएको ४० वर्षपछि एवलिनले सन् १९९८ मा साइमन राकिपिले नामक एक धार्मिक व्यक्तिसँग दोस्रो विवाह गरिन् । उनको निधन सन् २००४ मा भएको थियो ।

विवाहको प्रस्ताव सहजै स्विकारेँ
– विनी माडिकिजेला मन्डेला (दोस्री पत्नी)
विनी र नेल्सनको भेट त्यतिवेला भयो जब नेल्सनलाई देशद्रोहको अभियोग लागेको थियो भने विनी सामाजिक कार्यकर्ताका रूपमा कार्यरत थिइन् । त्यतिवेला विनीको उमेर २२ लागेको थियो । मन्डेला ४४ वर्षका थिए ।

मन्डेलाले आफ्नो आत्मकथामा लेखेका छन्, ‘म उसको प्रेममा पनि परिरहेको छु र उसलाई राजनीतिमा पनि तानिरहेको छु ।’

विनीले उनको र नेल्सनको सम्बन्धबारे भनेकी छिन्, ‘मन्डेलाले कहिल्यै पनि औपचारिक रूपमा प्रेम प्रस्ताव गरेनन् ।’

विनीले भनेकी छिन्, ‘एक दिन नेल्सनसँग बाटोमा हिँडिरहेकी थिएँ । उनले अचानक प्रस्ताव गरे– तिमी एक ड्रेस डिजाइनरकहाँ जाऊँ । उनी तिमीलाई विवाहका लागि सुहाउने पहिरन बनाउँदै छिन् । तिमी आफ्नातर्फबाट कति मानिसलाई हाम्रो विवाहमा आमन्त्रित गर्न चाहन्छौँ ?’

विनीलाई भने अचानक आएको विवाहको प्रस्तावले अचम्म बनायो । तर, उनले विवाहको विरोध गर्न सकिनन् । उनले भनेकी छिन्, ‘मैले कहिले भनेर मात्र सोधेँ ।’

सन् १९८३ मा फिल्म निर्माता केभिन हैरिसले विनीसँगको एक साक्षात्कारमा विनीले आफू कैदीसँग विवाह गर्न गएकोबारे बताएको भनेका छन् । उनले त्यतिवेला मन्डेलाबारे भनेकी थिइनन् । उनले मन्डेलालाई प्रतिबन्ध लगाएकाले नै सरकारसँग विवाहको अनुमति लिनुपर्ने भयो । उनलाई सरकारले चार दिनको समय दियो र ट्रान्सकेईमा गएर विवाह गर्न भन्यो ।

मन्डेला र विनीको विवाह भयो । उनीहरूका दुई छोरी भए । तर, उनीहरूले लामो समय साथ–साथ बिताउन पाएनन् ।

विनीले आफ्नो संस्मरणमा लेखेकी छिन्, ‘मलाई उनीसँग बिताएका सम्झनैपर्ने र सम्झनामा आउने कुनै पनि पारिवारिक क्षण छैनन् । एक युवतीका लागि आफ्नो लोग्नेको समय नपाउनु कति कष्टप्रद हुन्छ भन्ने मैले बुझेकी छु । उनका लागि भने संघर्ष नै जीवन थियो र देश नै पहिलो रोजाइ थियो ।’


संघर्षकी साथी
विनीसँगको विवाहको तीन वर्षपछि मन्डेला भूमिगत भए । उनलाई केही समयमा नै प्रहरीले पक्रियो र सन् १९६२ मा पाँच वर्षका लागि जेल पठायो । त्यही वेला मन्डेलाविरुद्ध देशद्रोहको अभियोग लाग्यो र उनलाई आजीवन कारावासको समय सुनाइयो ।

तर, विनीले मन्डेलाको कदमलाई समर्थन गरिन् । आन्दोलनलाई अगाडि बढाइन् । उनलाई पनि सरकारले प्रतिबन्ध लगायो, कारावासको सजाय सुनायो, र निर्वासनमा समेत पठायो । सन् १९९१ मा विनीलाई एक विद्यालयका छात्रको हत्याको अभियोग लगाइयो । सो आरोपबारे बहसमा मन्डेलाले सधैँ उनलाई सहयोग गरिरहे ।

सन् २०१० मा गार्जियन पत्रिकालाई दिएको एक अन्तर्वार्तामा विनीले भनेकी छिन्, ‘उनी पनि एक मानिस हुन् । उनलाई पनि कहिलेकाहीँ डर लागेको होला । रिहा भएर आएपछि उनले समाजमा धेरै दिनुपर्नेछ भन्ने सोचेका थिए होलान् । त्यसैले मसँग छुट्टिने निर्णय गरे ।’

खासमा विनीलाई लागेको आरोपबारे अदालतले फैसला सुनाइसकेपछि मन्डेलाले उनीसँग छुट्टिने योजना बनाइसकेका थिए । मन्डेला राष्ट्रपति हुनुपहिले नै यी दुई छुट्टिए ।

धेरैपछि मन्डेलाले भने, ‘विनी कहिल्यै पनि मेरो ओच्छ्यानमा म जागै हुँदा आइनन् ।’ तर, पनि विनीले सधैँ मन्डेलाको प्रशंसा गर्दै आएकी छिन् ।

आकर्षक रूपमा बूढो भएको देख्न पाएँ
– ग्रासा मासेल : तेस्री पत्नी
राष्ट्रपति कार्यकालको अन्त्यमा मन्डेलाले ग्रासा मासेलसँग विवाह गरे ।

मासेल मोजाम्बिकका पूर्वराष्ट्रपति समोरा मासेलकी विधवा थिइन् । सन् १९८६ मा एक विमान दुर्घटनामा समोराको निधन भएको थियो । मन्डेलाका जीवनीकार एन्थोली साम्पसनले लेखेका छन्, ‘विवाहको दुई वर्षपहिले नै मासेलले अब मन्डेलासँग आफ्नो जीवन बित्ने भएकाले अत्यन्तै खुसी लागेको बताएकी थिइन् ।’

उनले भनेकी थिइन्, ‘मन्डेला मलाई बहुत माया गर्छन्, तर सार्वजनिक रूपमा त्यो कुरालाई बढो सम्हालेर राखेका छन् ।’ उनले भनेकी थिइन्, ‘मन्डेलाले मानिसहरूलाई आफू दु:खी भएको महसुस गर्न कहिल्यै दिएनन् । उनी सबैलाई आफू खुसी भएको देखाउन चाहन्थे । उनी अत्यन्तै साधरण मानिस हुन्, जमिनसँग जोडिएका ।’

ग्रासा मन्डेलाभन्दा २७ वर्षले कान्छी थिइन् । उनले मोजाम्बिकका मानिसले मन्डेलालाई गर्ने सद्भावका कारण आफूले उनीसँग विवाह गरेको बताएकी छिन् ।

तर, विवाहको सुरुका केही दिन ग्रासालाई अत्यन्तै निरस लागे । कारण थियो– मन्डेलाको दैनिकी । मन्डेला बिहान निश्चित समयमा उठ्थे, राति निश्चित समयमा सुत्न जान्थे । मन्डेलाले आफ्नो ८०औँ जन्मदिनको अवसरमा सन् १९९८ मा ग्रासासँग विवाह गरेका थिए ।

मन्डेलाका पहिले नै ६ सौतेनी र २ आफ्नै बच्चा थिए । तर, उनीहरूले मिलिजुली दुवै परिवार चलाएका थिए ।

ग्रासाले सन् २०१० मा बिबिसीसँगको अन्तर्वार्तामा भनेकी थिइन्, ‘मैले मन्डेलालाई आकर्षक रूपमा बूढो भएको देख्न पाएँ ।’

- शिखर घिमिरे

को–को हुन् सेयर बजारका ठूला खेलाडी ? ‘बा’ देखि ‘बाबा’सम्म सक्रिय ! - bizmandu

विजयराज खनाल/बिजमाण्डू
विजयराज खनाल/बिजमाण्डू
काठमाडौं । नेपाली सेयर बजारमा निर्मल प्रधान मात्र त्यस्ता व्यक्ति हुन्, जसले आफुलाई बजारको ठुलो सेयर खेलाडी नै घोषणा गर्दै आएका छन । तर बजारमा प्रधान मात्र होइन उनीसरह वा उनीभन्दा ठूला खेलाडीहरु पनि छन् । विभिन्न कम्पनीका वित्तीय प्रतिवेदन, नेप्से बजारमा सक्रिया कारोवारी, स्टक ब्रोकर कम्पनीका अधिकारीसँगको कुराकानीमा प्राप्त सूचनालाई आधार मानेर बिजमाण्डूले देशका ठूला लगानीकर्ताको सूची तयार गरेको हो ।

१. निर्मल प्रधान
आफु सेयर बजारको ठुलो खेलाडी भएको भन्न निर्मल प्रधान हिच्किचाउँदैनन् । कतिपय लगानीकर्ता उनलाई एक धर्म गुरुसंग दाज्दै नेपाली सेयर बजारका ‘निर्मल बाबा’ को समेत उपमा दिन्छन । केही अघि बजार बियरिश प्रवृत्तिमा रहँदा केही हदसम्म निष्क्रिय रहेका उनी अहिले फेरी सक्रिय हुन थालेको स्रोतहरु बताउँछन ।
उनी अहिले नेपाल बैंकको सेयर बिक्रीको क्रममा निकै सक्रिय भएको बताइन्छ । हालै मात्र उनले बजारमा नेपाल बैंकको मात्र करीब ५० करोडभन्दा बढि रकमको सेयर बिक्री गरेको स्रोतहरुको दावी छ । उनले बैंकमा अगाडीदेखि नै लगानी गर्दै आएको भएपनि कतिपय सेयर भने बैंक नेप्सेमा पुनः सूचीकरण पछि मूल्य एक सय ५० रुपैयाँ हुँदा किनेको स्रोतहरु बताउँछन ।
निमल प्रधान नेशनल हाइड्रो पावर, एभरेष्ट बैंक, पश्चिमाञ्चल बिकास बैंक, एनसीसी बैंकका ठुला लगानीकर्ता हुन् । उनको पनि सेयरमा भएको लगानीको आकार अर्बाै रहेको स्रोतहरु बताउँछन । एभरेष्ट बैंकमा उनको कम्पनी राजधानी इन्भेष्टमेन्ट फण्डको ०.६८ प्रतिशत सेयर रहेको सन् २०११/१२ को बार्षिक वित्तीय प्रतिवेदनले देखाउँछ । त्यसपछि उनले ठुलै परिणाममा सेयर बेचेका छन् । तर पनि अहिलेको बजार मूल्यको आधारमा पनि प्रधानसंग बैंकको मात्रै एक अर्बभन्दा निकै बढि रकमको सेयर रहेको छ ।

२) निरञ्जनकुमार टिवरेवाला

स्टक बजारमा सक्रिय व्याक्तिहरु भन्छन्, निरञ्जनकुमार टिवरेवाला निर्मल प्रधानका पनि ‘बा’ हुन् । उनीहरु टिवरेवालालाई बजारमा सक्रिय सबैभन्दा ठुला सेयर खेलाडी भएको दाबी गर्छन् । टिवरेवालाको लगानीको आकार यत्ति नै छ भन्न नसकिए पनि अर्बौ रुपैयाँमा रहेको, स्रोतहरुको दावी छ । हुनतः टिवरेवाला सेयर बिश्लेषक समेत हुन् । नेपाली सेयर बजारबारे माहरथ हासिल गरेका उनी आफूलाई ‘सेयर खेलाडी’का रुपमा पहिचान दिलाउन रुचाउदैनन् ।
उनी नेपाल एसबीआई बैंक,  एभरेष्ट इन्स्योरेन्समा सञ्चालक छन् । उनले सोल्टि होटेलको सञ्चालक समितिमा समेत छन् । यी कम्पनीबाहेक टिवरेवालाको बिभिन्न कम्पनीमा सेयर रहेको स्रोतहरु बताउँछन ।  उनी इन्भेष्टमेन्ट म्यानेजमेन्ट मर्चेन्ट बैंकरमा पनि सञ्चालक छन् ।
एभरेष्ट इन्सुरेन्समा टिवरेवालासँग १२.६७ प्रतिशत सेयर छ, त्यसैगरी उनको समूहसँग थप पाँच प्रतिशत सेयर पनि एभरेष्टमा छ । नेपाल एसबीआईमा उनी बोर्ड डाइरेक्टर भए पनि वित्तिय प्रतिवेदनमा ठूलो सेयर हिस्सा भने देखिंदैन् । टिवरेवाला नेपाल इन्डोस्वेज बैंक हुँदैदेखि सेयर बजारमा सक्रिय हुन्, उनले स्ट्याण्डर्ड चार्टड बैंकमा पनि लगानी छ । उनी विशेष गरेर मायाराम भोलाराम कम्पनीमार्फत पेट्रोलियम पदार्थको व्यापारमा सक्रिय छन् । तर टिवरेवाला आफूलाई भने फरक ढंगले चिनाउँछन्, म तपाईंले भनेजस्तै गरी सेयर बजारमा सक्रिय र ठूलो खेलाडी होइन्, म खाली यो बजार राम्रोसँग विकास हुनुपर्दछ, संस्थागत हुनुपर्दछ, यो बजारमा आउने कम्पनीमा सुशासन हुनुपर्दछ भनेर सक्रिय छु, उनले बिजमाण्डूसँग भने ।

३. शंकरलाल अग्रवाल
शंकर अग्रवाल पनि अहिलेका बजारका ठूला तथा सक्रिय सेयर खेलाडी भएको स्रोतहरु बताउँछन । बजारमा खुलेर देखिन नचहाने बताइने उनको लगानीको आकार पनि एक अर्बभन्दा कम छैन । शंकरलालको पनि अनेक कम्पनीमा लगानी छ । उनको किष्ट बैंक र नेपाल स्ट्यार्डर्ड चार्टर्ड बैंकमा ठुलो लगानी रहेको भेटिन्छ । किष्ट बैंकले आफ्नो बार्षिक वित्तीय विवरणमा उनलाई संस्थापक सेयर लगानीकर्तामध्ये एकको रुपमा उल्लेख गरेको छ । त्यस्तै, उनको स्ट्याण्र्डर्ड चार्टर्ड बैंकमा पनि ९८ हजार एक सय ९७ कित्ता सेयर रहेको बैंकको सन् २०१२/१३ को बार्षिक वित्तीय प्रतिवेदनमा उल्लेख छ । चार्टड बैंकको यो सेयर अहिलेको बजार मूल्यअनुसार १८ करोड रुपैयाँ बराबरको हो ।

४. रमेश अग्रवाल
रमेश अग्रवालका निकट स्रोत भन्छन, ‘स्टक बजारमा अग्रवालको अर्बौं रुपैयाँको पुँजी छ’ स्रोतकाअनुसार बजारमा उनको लगानी नभएको सायदै कुनै बैंक तथा वित्तीय संस्था होला । उनकाअनुसार रमेश अग्रवालको प्रत्येक बैंक तथा वित्तीय संस्थामा एक लाख कित्ताभन्दा कम सेयर छैन् । ती स्रोतका अनुसार रमेशको बैंक अफ काठमाडौंमा चार देखि पाँच लाख कित्ता, एनआइसी एसियामा एक लाख कित्ता, माछापूच्छे« बैंकमा एक लाख कित्ता, आइएलएफसी फाइनान्समा दुई लाख कित्ता, एभरेष्ट फाइनान्स र सानिमा बैंकमा एक/एक लाख कित्ता सेयर रहेको छ । ती स्रोतले भने, ‘उनको लगानी भएको कम्पनी सबैको नाम म नै सम्झिन सक्दिन ।’ बजारका अन्य स्रोतहरु पनि रमेश अग्रवाल ठूला र सक्रिय लगानीकर्ता भएको बताउँछन । उनी निकट स्रोतअनुसार भने अग्रवाल सञ्चार माध्यममा आउन रुचाउँदैन र खुलेर ठुलो लगानीकर्ता भएको देखाउँन पनि चहादैनन् ।

५. ज्ञानेन्द्रलाल प्रधान
ठुलो मात्रामा जलविद्युत् कम्पनीहरुको सेयरमा लगानी गर्ने स्वभावका ज्ञानेन्द्रलाल प्रधान पनि पछिल्लो समय बजारले चिन्ने सक्रिय र ठुलो सेयर लगानीकर्ता हुन् ।  नेशनल हाइड्रो पावर, चिलिमे जलविद्युत् र बुटवल पावर प्रधानको मूख्य लगानी रहेका कम्पनी हुन् । नेशनल हाइड्रोपावरमा निर्मल  प्रधानसंगै उनी पनि यो कम्पनीको सञ्चालक समितिमा प्रवेश गर्ने रणनीति एक बर्ष अघि सार्वजनिक गरिसकेका थिए । तर विवादित यो कम्पनीको साधारण सभा लगायतमा मतान्तरले गर्दा यो सम्भव भएन ।
त्यतिखेर निर्मल र ज्ञानेन्द्रले आफुहरुसंग कम्पनीको ३० लाखभन्दा बढि कित्ता सेयर रहेको खुलासा गरेका थिए । यी दुवै आफ्नो लगानी रहेको कम्पनीको सेयर चलखेल गरिरहने खेलाडीको रुपमा समेत बजारमा चिनिन्छन । ज्ञानेन्द्र चिलिमेका दोस्रो र व्यक्तिगत आधारमा भने पहिलो ठुलो लगानीकर्ता हुन् । चिलिमेमा उनको दुई लाख ५६ हजार कित्ता सेयर छोराका नाममा छ । त्यस्तै, बुटवल पावरमा समेत ज्ञानेन्द्रको लगानी छ ।


६.राजाराम जोशी
सेयर बजारका अर्का ठुला खेलाडीको रुपमा चिनिन्छन्, राजाराम जोशी । राजाराम जोशी गुडबिल फाइनान्सका सञ्चालक समितिमा समेत छन् । उनको गुडविलमा एक लाख २३ हजार ६१ कित्ता रहेको कम्पनीको सन् २०११/१२ बार्षिक प्रतिवेदनमा उल्लेख छ । उनको पनि बिभिन्न कम्पनीहरुमा लगानी रहेको र व्यक्तिगत रुपमै एक अर्बभन्दा ठुलो लगानीको आकार रहेको स्रोतहरु बताउँछन् । यसबाहेक बिशाल ग्रुप, सांघाइ गु्रप लगायतका समूहहरु पनि अहिले बजारमा सक्रिय रहेको स्रोतहरु बताउँछन । कतिपय पुराना ब्रोकरहरु पनि बजारका सक्रिय र ठुला सेयर खेलाडीहरु भएको दावी गर्छन ।
ठूला खेलाडीहरु आफ्नोभन्दा पनि नजिकका नातेदार, इष्ट मित्रको नामबाट कारोबार गर्ने गरेको स्रोतहरु बताउँछन । हुनतः ठुला सेयर लगानीकर्ताको सूचीमा बिनोद चौधरी, राजेन्द्र खेतान लगायतको नाम पनि आउँछ । तर यिनीहरु बजारमा सक्रिय छैनन् । कुनै बेला चर्चाको शिखरमा रहेका राकेश अडुकिया अहिले बजारबाट बाहिर छन् । गोर्खा विकास बैंक काण्डपछि उनी सेयर बजारको ठूलो खेलाडीका रुपमा विस्थापित भएका छन् ।

Friday, December 6, 2013

ट्विटर प्रयोगकर्तालाई खुशीको खबर, युटोपियासँगको साझेदारीमा इन्टरनेट बिना नै ट्विटर चलाउन मिल् - bizmandu


काठमाडौं । एशियाका लाखौ मानिसलाई ट्विटको सेवा दिन ट्विटरले इन्टरनेटबिना नै आफ्नो सेवा लिन सकिने व्यवस्था गर्न लागेको छ । सिंगापुरस्थित युटोपियासंग मिलेर यस्तो सेवा दिन लागिएको युटोपियाका कार्यकारी प्रमुख सुमेश मेननले बताए । यो सेवाबाट विश्वमा एकसय ४० अक्षरको माइक्रो ब्लगिङ सेवा दिदै आएको ट्विटर इन्टरनेट नचल्ने मोबाइलबाट पनि ट्विट गर्न सक्ने छन् । उनीहरुले केवल एउटा कोड डायल गर्नु पर्ने हुन्छ, त्यसले ट्विटरको नेटवर्कसँग सम्वन्ध स्थापित गर्ने छ, रोयटर्सले लेखेको छ ।
यस्तै सेवा गुगलको जिटक र फेसबुकले दिइरहेका छन् । एशियाका करिव एककरोड १० लाख मानिसले यस्तो सेवा लिएका छन् । गत महिना सेयर सार्वजनिक गरेको ट्विटरका दुई करोड ३० लाख प्रयोगकर्ता छन् । कम्पनीको मुल्यांकन करिव २५ अर्ब अमेरिकी डलर पुगेको छ । युटोपियाले टेलिकमको युएसएसडि अर्थात अनस्टक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटासँग सम्वन्ध स्थापित गर्छ तर त्यसमा तस्बिर र भिडियो हेर्न सकिदैन । ‘ट्विटरका लागि युएसएसडि राम्रो माध्यम हुन सक्छ किनकीः यसको निर्माण सिमित टेक्स्ट (अक्षर) का लागि भएको छ,’ मेननले भने । एशियाका उदयमान अर्थतन्त्रमा प्रत्येक दशमा आठजनाले आज पनि डाटा सेवा लिएका छैनन् ।
विश्वका ३० देशमा उपस्थिती रहेको युटोपियाले ट्विटरको अक्षरलाई स्थानिय भाषा समेत ग्रहण गर्न सक्ने बनाउने छ । ‘स्थानिय भाषामा भएपछि यसलाई बेंङलोर वा मुम्बई जहा बस्ने भएपनि प्रयोग गर्न सक्ने छन्,’ उनले भने । युटोपियाले अहिले टेलिनोर, भोडाफोन, भारती एहरटेल जस्ता कम्पनीसँग मिलेर काम गरिहेको छ । इन्टरनेट सहित सेवाबाट युटोपियाले कुल बिलको ३० देखि ४० प्रतिशतसम्म प्राप्त गर्दछ

Thursday, December 5, 2013

सावधान ! पोखरामा पनि यस्तो हुनसक्छ - mysansar

 सावधान ! पोखरामा पनि यस्तो हुनसक्छ
माथिको फोटो ग्वाटेमालाको हो। आजभन्दा तीन वर्षअगाडि अर्थात् सन् २०१० को मे महिनामा ग्वाटेमाला सहरमा अकस्मात् यस्तो ठूलो खाल्डो देखिएको थियो। नापेरै बनाएको जस्तो ठ्याक्कै गोलो आकारको यो सिङ्कहोल (जसलाई नेपाली भूगर्भविद्हरु 'भुवान' भन्ने गर्छन्) ६६ फिट फराकिलो र १०० फिट गहिरो थियो। यो सिङ्कहोलले एउटा तीन तले बिल्डिङ र अर्को एउटा सानो घर निलेको थियो। ग्वाटेमालाको राष्ट्रपति कार्यालयबाट आधिकारिक रुपमा जारी गरिएको यो फोटोलाई अमेरिकी सञ्चार संस्था एपीले विश्वभर फैलाएको थियो। आज पनि विश्वका विभिन्न ठाउँमा मानव बस्ती भएको ठाउँमा वा त्यस वरपर मान्छेको चासोको क्षेत्रमा सिङ्कहोल बन्दा यही फोटोलाई उदाहरणको रुपमा देखाउने गरिन्छ। त्यहाँका अधिकारीहरुले आँधीका कारण लगातार परेको पानीले जमिनमुनिको पानीको सतह बढेर त्यहाँको पातलो माटोको तह पगालेका कारण माथिको जमिनसमेत भासिएर यति ठूलो सिङ्कहोल बनेको बताएका थिए। पोखरा उपत्यकामा रहेको अर्मला गाविसमा अहिले बनिरहेका सिङ्कहोलले भविष्यमा यस्तै विपत्ति सहरी क्षेत्रमा समेत आउनसक्नेतर्फ सचेत गराएको छ। भूगर्भविद्हरुले १५ वर्षअघि नै यस्तो चेतावनी दिइसकेका छन्। 
 यस्तो देखिन्छ अहिले अर्मलामा
संविधान सभाको निर्वाचन सकिएर देशभर मतगणना जारी रहँदा न्युजरुममा एउटा बेग्लै समाचार 
आइपुगेको थियो। साथी रविराज बराल पोखराको बासिन्दा हुनाले उसलाई त्यो समाचारले छोएको 
थियो र तत्काल उसले समाचार अनलाइनमा फोटोसहित राख्यो पनि। हामी भने मतगणनाको 
अपडेटमै व्यस्त थियौँ। मतपरिणाम आउने क्रम सकिँदै जाँदा बल्ल फूर्सदमा त्यहाँका फोटो र 
समाचार हेरेँ। अहो, अचम्मै भएको रहेछ। पोखरा नै गएर नजिकबाट बुझेर यसबारे एउटा विशेष 
सामाग्री तयार पार्नुपर्ला भन्ने प्रस्ताव अहिले म कार्यरत अन्नपूर्ण पोस्टको डिजिटल टिममा राखेँ। 
डिजिटल सम्पादक उज्ज्वल आचार्यसहित अरु साथीहरुले पनि हौस्याएपछि यसै साताको सुरुमा 
पोखरा पुगेँ। अन्नपूर्ण पोस्टको पत्रिका र अनलाइनमा आज यसबारे विशेष सामाग्री छापिएको छ।
जताततै ठूल्ठूलो प्वालैप्वाल देख्दा जता टेक्यो उतै भासिएला कि भन्ने डर 
                                                                                 फोटोः मिलन मगर 
महेन्द्र गुफाबाट अलि अगाडि बढेपछि जोगिमणा जाने कालामुडा कृषि सडकको पिच बाटोलाई टाढै प्रहरीले रोकेको 
छ। पोखराबाट आउने रमितेहरु त्यहाँबाट पैदलै हिँड्नुपर्छ। पाँच मिनेट जति हिँडेपछि बाटो वरपर नै जताततै प्वालै
प्वाल देखिन्छ। एकदम गोलो आकारको। लाग्छ आकाशबाट एलियनहरुको यान वा त्यसले केही यहाँ खसाएको हो।   
यो साताको सुरुमा म त्यहाँ पुग्दा ५० वटा जति सानाठूला सिङ्कहोल
बनेको देखेँ। त्यसमध्ये एउटाले मात्रै घरका सामान निलेको रहेछ। 
३ वटा घर नजिकै परेका छन्।  अरु भने समथर खेतको बीचबीचमा
परेका छन्। अहिले गाविसले त्यहाँ नयाँ संरचना बनाउन रोक लगाउनुका
साथै त्यस क्षेत्रमा गाडी पनि चल्न दिएको छैन। हुन पनि पिच सडकै
चर्किएको समेत देखिएको छ। 
यो फोटो खिचेको ठाउँमा नजिकै चार वटा सिङ्कहोल बनेका थिए। 
कात्तिक २६ गतेबाटै अर्मलाको ठूलीबेसी फाँटमा ससाना खाल्डाहरू पर्न थालेको रहेछ। तर कसैले वास्तै गरेका
रहेनछन्। चुनावको भोलिपल्ट अलि ठूलै सिङ्कहोल बनेपछि बल्ल मानिसहरु झसङ्ग भए। मंसिर ७ गते 
शुक्रबार दिउँसै एउटा कच्ची घरको सामानै निल्ने गरी प्वाल परेपछि भने यहाँ आतंक मच्चिन सुरु गरेको थियो।
अहिले दिनदिनै जसो त्यहाँ सिङ्कहोलहरु बन्ने क्रम जारी छ। साना प्वालहरु अझ ठूला र नयाँ नयाँ ठाउँमा
सिङ्कहोल देखिएका छन्। 
 किन भयो यस्तो?
कालीखोला पश्चिम अर्मला गाविस वडा नम्बर १ क्षेत्र भौगर्भिक हिसावले अत्यन्त कमजोर अवस्थामा रहेको सिल्ट (Silt) र ग्राभेल (Gravel) जम्मा भई बनेको भूभाग हो। यस क्षेत्रको जमिनको माथिल्लो भागमा पातलो ग्राभेलको तह (५ मिटर सम्म) र तल्लो भागमा राम्रोसँग नजमिसकेको कमेरे माटोको तह (Silt Layer)  रहेको छ। कमेरे माटोमा लगातार पानीको प्रभावको कारण सो तह कमजोर भई केही मात्रा पानीमा घुल्छ र पानीसँगै बगेर जान्छ। खहरे खोलाको प्राकृतिक प्रवाहमा अवरोध पुगेपछि पानीको भूमिगत सतह बढ्यो। त्यसले कमेरे माटोलाई पगाल्यो। जसले गर्दा तलको भाग खोक्रो हुन गयो। तलको भाग
खोक्रो भइसकेपछि माथिबाट जमिन भासिन गयो र यस्ता प्वाल देखियो। कमेरे माटो पगालेर भूमिगत पानी निस्किएको तलको फोटोबाट पनि देखिन्छ। एकातिर कालीखोला सफा बगेको छ भने भूमिगत पानी कमेरे माटो गाल्दै सेतो भएर खोलामा मिसिएको छ। 
१५ वर्षअघि नै सचेत गराइएको थियो
हिजो म खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् लीलानाथ रिमाललाई
भेट्न गएको थिएँ। उनी अस्ति भर्खरै अर्मला गएर स्थलगत अध्ययन गरी 
फर्किएका थिए। १५ वर्षअघि जर्मन सरकारको सहयोगमा विभाग र विदेशी विज्ञ
सहितको टोलीले पोखरा उपत्यकाकै एउटा पूर्ण नक्साङ्कन गरेको थियो, जसमा 
कुन ठाउँको माटो कस्तो छ, कहाँ सिङ्कहोल बन्नसक्छ, कुन ठाउँ भास्सिन 
सक्छ, सबै उल्लेख थियो। त्यसमा पनि सहभागी रिमालले भने, "हामीले उतिबेलै कार्यक्रम गरेर नगरपालिका, जिविस, पत्रकार सबैलाई सचेत गराएका थियौँ। नक्सामा जोखिम देखिएका ठाउँहरुमा निर्माण कार्य गर्दा विस्तृत अध्ययनपछि मात्रै स्वीकृति दिनभनेका थियौँ।" उनी कसैलाई दोष दिन चाहँदैनन्। "हामी सबैको दोष हो, हामीलेनक्सा बनायौँ, दियौँ। कसैले बुझ्न नपाएर वा नबुझेर त्यस्ता ठाउँमा अध्ययनै नगरी घर बनिरहेका छन्।" 
पोखराको कहाँ कहाँ खतरा?
 न्युरोड आसपास
 चिप्लेढुंगा आसपास
लाचोक
घाचोक
हेम्जाबेसी
छोरेपाटन
कुनै पनि निर्माणका कार्य गर्दा माथि उल्लेख गरिएका लगायत भौगर्भिक नक्सामा तोकिएका जोखिमका स्थानहरूमा गरिँदैछ भने विशेष सावधानीका साथ त्यस क्षेत्रको भौगर्भिक अध्ययन गरेर त्यसको नतिजाका आधारमा मात्र त्यहाँ बन्ने संरचनाको डिजाइन हुनुपर्छ। त्यो आधारमा निर्माणकार्य गर्ने हो भने यस्ता समस्या धेरै नै न्यूनीकरण गर्न सकिने रिमालको भनाई छ। हैन, त्यस्ता ठाउँमा पनि उपमहानगरपालिकाको मापदण्डविपरीत घरहरु बनाइन्छन्, घुस खुवाएर नक्साविपरीत घर बनाउँछन् भने उनीहरु आफै आफ्नो खुट्टामा बञ्चरो हान्दैछन्। अहिले अर्मलाको सिङ्कहोलले त  पूरै घरै निलिसकेको छैन। भविष्यमा यसप्रति सचेत नहुने हो भने विश्वका विभिन्न देशमा देखिएका यहाँ छेउमा राखिएका जस्तै सिङ्कहोलको दृश्य पोखराको सहरी भागमा समेत हुन सक्नेछ। अर्मलाले यसप्रति सबैलाई सचेत बनाए वेश हुने थियो।  
न्युजिल्यान्डमा सन् २००१ को डिसेम्बरमा ५० मिटर फराकिलो र १५ मिटर गहिरो यस्तो 
सिङ्कहोल बन्दा एउटा घर त्यसमा पर्‍यो भने पाँच जनाको परिवार घाइते भए।  
 जर्मनीमा सन् २०१० को नोभेम्बरमा बनेको सिङ्कहोल
चीनको ग्वाङझाउमा यसै वर्षको जनवरीमा। एउटा घरै भासिएको थियो यहाँ। यो चाहिँ मेट्रो
रेल बनाउँदाको परिणाम थियो। 

वैदेशिक रोजगारमा को-को परे अख्तियारको फन्दामा ? २५ अधिकृत, १७ नासु, ३ खरिदार, ७ व्यवसायी र १२ बिचौलिया (नामावलीसहित) - onlinekhabar

पुष्प दुलाल
२० मंसिर, काठमाडौं । बैदेशिक रोजगारमा जाने कामदारलाई ठगी गर्न सक्रिय ६४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विषेश अदालतमा मुद्दा दायर गरेको छ । जसमा बैदेशिक रोजगार विभागका ४५ जना कर्मचारी, ७ जना बैदेशिक रोजगार व्यवसायी र १२ जना बिचौलिया छन् ।विभागका ४५ जना कर्मचारीमध्ये २५ जना अधिकृत, १७ जना नायब सुब्बा र ३ जना खरिदार छन् । बिचौलियासहित अख्तियारले अदालतमा मुद्दा हालेको यो पहिलो पटक हो ।
Akhtiyar Durupayog
बैदेशिक रोजगारको क्षेत्रमा चरम भ्रष्टाचार हुने गरेको गुनासोका आधारमा अख्तियारले अनुसन्धान गरी ६४ जनाविरुद्ध कारवाही चलाएको हो । आयोगले लिएको बयानमा उनीहरुले भ्रष्टाचार गरेको पुष्टि भएपछि ३४ लाख विगोसहित अदालतमा मुद्दा दायर गरिएको हो ।
अख्तियारले मुद्दा दायर गरेका अधिकृतहरु
बैदेशिक रोजगार विभाग अन्तिम श्रम स्वीकृति शाखाका शाखा अधिकृतहरु रमेशप्रसाद मैनाली, अजिता शर्मा, निर्मला न्यौपाने, मञ्जु शर्मा सुवेदी, दिपक प्रसाद खतिवडा, बैदेशिक रोजगार विभागका कम्यूटर अधिकृत हिराध्वज कार्की, त्रिभूवन अन्तराष्ट्रिय बिमानस्थल श्रम कक्षमा कार्यतर बैदेशिक रोजगार विभागका अधिृकतहरु ज्ञानेन्द्र शर्मा, पवित्र कुँवर, मुक्ति खनाल, गंगाबहादुर भुजेल, अध्यागमन कार्यालय अधिकृतहरु डिल्लीराज भट्टराई, गोपी प्रसाद पौडेल, रामचन्द्र खतिवडा, कमलबहादुर कार्की, बिजयबहादुर समैमगर, दिवाकर शर्मा, रामकृष्ण परारजुली, नरबहादुर बि.क., बाबुहरी पन्थी, कार्गोग्राफर अधिकृत रामचन्द्र कार्की,, भोजबहादुर ए.डी., बैदेशिक रोजगार विभाग श्रम कक्ष एयरपोर्टका अधिकृतहरु रिद्धिप्रकाश सिटौला, डिल्लीराम पौडेल, कृष्णप्रसादल सिग्देल ।
नायब सुब्बाहरु
बैदेशिक रोजगार विभागका नायब सुब्बा तप्तकुमार शाह-कम्पूटर अपरेटर), रामप्रसाद पोखरेल, सन्तोस सुवेदी, चन्द्रहरी लुईटेल, अरबीक भाषा अनुवादक अब्दुल्लाह मस्तुत, रजाह उल्लाह, रमेशकुमार अधिकारी, योगेन्द्रकुमार अधिकारी, शंकर कार्की, बरिष्ठ अध्यागमन सहायक रामकुमार ओझा, जयबहादुर सिंह, चिरञ्जीबी अधिकारी, नबराज कोइराला, सञ्जय नेपाल, रुद्र मरासैनी, कोषराज भट्टराई, अध्यागम विभाग कालिकास्थानका नासू प्रहृलाद लामिछाने । त्यसैगरी अध्यागमन विभागका खरिदारहरु केशब बञ्जरा, कृष्ण प्रसाद र माधव भट्टराई विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
बैदेशिक रोजगार व्यवसायीहरु
साम्ना इन्टरनेसनल सर्भिसका सञ्चालक मो. मुस्ताफिया, श्रम प्रतिनिधि सुवास कुमार मैनाली, प्रोग्रेसिभ प्लेसमेट सर्भिसका सञ्चालक श्याम प्रसाद श्रेष्ठ, एड्भान्स रिक्यूमेन्ट सर्भिसका मार्केटिक म्यानेजर हर्कबहादुर लिम्बू, जेएचपी ओभरसिज इम्प्लोइमेन्टका सञ्चालक बुद्धिबहादुर तिवारी, आकृति रिक्वीटिङ्ग प्रा.लि.का सञ्चालक टलबहादुर पौडेल, श्रमिक ओरेन्टेसनका सञ्चालक सरोजकुमार मैनाली ।
बिचौलीयाहरु
बैदेशिक रोजगार परामर्श सेवा केन्द्र प्रा.लि. सिनामंगलका सञ्चालक नारायणप्रसाद पौडेल, याकुक टुर्स एण्ड ट्राभल्सका सञ्चालक शेख जफेर अलाम, गोरेटो टुर्स एण्ड ट्राभल्सका प्रतिनिधि राजीबकुमार पञ्जीया, टुर्स एण्ड ट्राभल्सकी सञ्चालीका सोभिता रानाभाट, अभिसेक ट्राभल्स एण्ड टुर्सका सञ्चालक अशोककुमार श्रेष्ठ, सुरेस ट्राभल्स एण्ड टुर्सका सञ्चालक सुरेस कुमार महतो, आयुस ट्राभल्स एण्ड टुर्सका सञ्चालक शिवसंकर शाह, एलपी ट्राभल्स एण्ड टुर्सका सञ्चालक लालबाबु पाण्डे । त्यसैगरी बैदेशिक रोजगार विभागमा लेखापढी गर्ने शिवप्रसाद रेग्मी, कोटेश्वर बस्ने खासा व्यापार गर्ने सुरेसकुमार श्रेष्ठ, अनामनगर बस्ने महावौद्ध पसल गर्ने सुमन दाहाल, ललितपुर थसिखेल बस्ने अरुणकुमार कायस्थ ।

यसरी गए एउटा महान फकीर - युवराज घिमिरे - setopati

झन्डै दस वर्षअघि मित्र विजयकुमारले पशुपतिनाथ परिसरमा एउटा सामान्यजस्तो लाग्ने फकीरसँग भेटाए। शीष्टाचार प्रदर्शनको औपचारिकतापछि विजयले केही दक्षिणा चढाए ती फकीरलाई।
मेरो मन र मष्तिष्कमा अनेक बहस र सोच चल्न थाले। ती फकीर आफ्नो कोठामा भुस्याहा कुकुरहरुसँग थिए। नजिकै राखेको दूधको भाँडोबाट ‘भोका’लाई खुवाउँदै थिए। घृणाबाट माथि र करुणासँग एकाकार थिए ती फकीर भनी बुझ्न मलाई धेरै समय लागेन।
त्यसपछिका केही वर्ष मलाई अंग्रेजी र नेपाली मिश्रित बोलीचालीमा रमाउने त्यो फकीरको चुम्बकीय व्यक्तित्वले आकर्षित गरिरह्यो। एकदुईपल्ट उनले अगाडिको पसलबाट ‘चारा’ किन्न लगाए मलाई। उनको आश्रमअघि नियमित जम्मा हुने कुकुर र गाईगोरुलाई खुवाउन। अरुले किन्न खोज्दा ‘हैन, उसले किन्छ’ समेत भने।
त्यो उनको कुनै व्यक्तिप्रति विशेष कृपा र आशिर्वाद भएको मान्थे उनलाई चिन्नेहरु।
झन्डै आठ वर्षअघि क्यान्सरबाट ग्रस्त ती अघोरी फकीरलाई घाट राखियो। अन्तिम दिन म र मेरी श्रीमती त्यहाँ पुग्यौं। उनले आशिर्वाद मुद्रामा हात उठाए। अनि केही इसारा गरे, कमजोर वाणी र हातको सहयोगले। मैले बुझिन।
मैले जिन्दगीमा धेरै कुरा बुझेको छैन। तर, अन्तिम समयमा उनले भनेको कुरा नबुझ्दा अत्यन्त कष्टको अनुभूति भइरहेको थियो मलाई। उनका सहायकले बुझे। मलाई उनले फकीरसँगै राखिएको विगुत र प्रसादका रुपमा केही फल दिए।
जिन्दगीभरि आधा नांगो, पाए खाने र भाषाको अभिव्यक्तिबाट बञ्चित पशुहरुलाई भोजन दिने ती फकीरले मृत्यु शय्याबाट पनि ‘दिने’मात्र सोचे। एउटा अजीव जीवन दर्शन हुन्छ सच्चा साधुहरूको।
आखिर धनी को? जसले दिन्छ।
भारतका विद्वान राष्ट्रपति राजेन्द्रप्रसादले ‘पैसा’बारे निबन्ध लेख्दा भनेका थिए रे, ‘पैसा, एउटा राम्रो नोकर र एकदम खराब नोकर हो।’ अर्थात पैसा, आराम, विलासिताप्रतिको समर्पणले मानिसलाई मुक्ति होइन, ‘दासत्व’तिर धकेल्छ। अघोरी चुनचुनबाबाको जीवन त्यही ज्ञान र विवेकको प्रयोग थियो। त्यसरी अरुलाई उपदेश दिँदैन थिए, उनको कर्म नै उनको सन्देश थियो।
क्यान्सर कारक बन्यो, त्यसै दिन उनले देहत्याग गरे, आठ वर्षअघि।
उनका गुरुभाइ ‘पगलानन्द’ले सोमबार आफ्नो केही हितैषीहरुसँग भनेछन्, ‘म भोलि शरीर त्याग्छु, एकजोर नयाँ लंगौटी लगाइदिनू मलाई।’
वर्षमा आधा काशी र आधा पशुपतिमा बस्थे उनी। साँच्चै पागलजस्ता लाग्थे। यदाकदा शराबको नसामा देखिए पनि आफूलाई ‘गड इन्टोक्सिकेटेड’ भन्दै हाँस्थे उनी। अनि आफ्नो घाँटीमा लगाएको एउटा जन्तर मुखसम्म तानेर कहिलेकाहिँ ‘ईश्वरसँग कुरा गर्छु’ भन्ने गर्थे। अनि धर्मको व्यापारमा लिप्त प्रायः नाम चलेका हिन्दू साधुहरुको सत्तोसराप गर्थे, एक्लै भुतभुताउँदै वा आफ्ना केही सहयोगीहरुबीच मुड आउँदा।
अर्को आश्चर्य पक्ष थियो उनको व्यवहारमा, भक्तहरुलाई मन्दिर जान भन्थे। कसैलाई पशुपतिनाथ, कसैलाई दक्षिणकाली या मनकामना। तर, आफू स्वयं जाँदैन थिए दर्शनका लागि।
आत्मसाक्षात्कार या आफैंभित्र ईश्वर फेला पारेका या हरेक प्राणीमा ईश्वर देख्ने साधुलाई मन्दिरको, ईश्वरको मूर्तिको प्रयोजन रहँदैन। पगलाबाबा त ‘रमताराम’ थिए, हरेक कणमा रामलाई देख्थे, त्यसैले सबैसँग समान व्यवहार, तिक्तताविहीन गाली, हाँसो, ठट्टा अनि कसैले मनमा सोचेको कुराको जवाफ। अद्भूत र नियमित व्यवहार थियो उनको।
साधुहरु आफ्नो परिवार र अतीतको कुरा गर्न रुचाउँदैनन्। तर, कुनै न कुनै रुपमा केही कुरा चर्चामा आउँछन् नै। उनी उत्तर प्रदेशको सीमावर्ती क्षेत्रका ‘पाठक’ परिवारमा जन्मेका थिए। सानै उमेरमा वैराग्यप्राप्त उनी सत्यको खोजीमा पशुपतिनाथ आइपुगे, सम्भवतः २०२१ सालतिर।
भारतीय सहयोग निगमबाट खटिएका एकजना इन्जिनियरले पछि अघोरपन्थ ग्रहण गरेपछि उनको नाम रामनाथ अघोरी रह्यो। ती रामनाथ अघोरीसँग तीनजनाले दीक्षा लिएः त्यागीनाथ, चुनचुनबाबा र पगलानन्द।
पगलानन्दले पछि सिद्धबाबासँग पनि दीक्षा लिए, रामनाथ अघोरीसँग कुनै कारणले विरक्तिएपछि। जेठा दाइ त्यागीनाथले सोमबार बिहानै अघोर परम्पराअनुसार श्लेष्मान्तक वनमा गुरुभाइ पगलानन्दलाई समाधिस्थ गराएका थिए, चुनचुननाथ अघोरीको समाधिस्थलनजिकै।
चुनचुन अघोरीको जस्तो विवाद भने भएन पगलानन्दको अन्त्येष्टिमा। चुनचुनबाबाको इच्छाअनुसार ‘उहाँलाई जलाइनुपर्छ’ भन्ने एउटा समूहको अडानल विवाद उब्जेको थियो। पगलानन्द बाबाको एउटै टिप्पणी हुन्थ्यो, ‘ए मुर्खहरु, जोगीलाई जलाइदिन्छौ?’
अन्त्यमा सम्झौता निस्कियो! बाबाको चाहनाअनुसार उनको पार्थिव शरीर जलाउने, अनि अस्तु र राखलाई समाधिस्थ गर्ने।
पगलानन्द बाबा इच्छा र चाहनाभन्दा माथि या मुक्त थिए। मंगलबार ब्रम्हमुहुर्तमा आफ्नो इच्छाको समय र मृत्यु रोजे। अनि साधु परम्पराअनुसार मृत्युपछिको विधि अरुले गरिदिए।
उनका बारे अनेक व्यक्तिका आआफ्ना मान्यता र सम्झना छन्। झन्डै १५ महिनाअघि मेरो आमालाई घाटमा राखेको बेला बागमती पुलमा जम्काभेट भयो उनीसँग।
‘ए तेरो आमा मर्‍यो?’ उनले हिन्दी टोनमा सोधे। सामान्य अवस्थामा त्यस्तो भाषा र टोन रिस उठ्दो नै हुन्छ तर जीवन र मृत्युको सत्यसँग साक्षात्कार गरेको व्यक्तिको सन्देश दिने शैली पनि त आफ्नै हुन्छ नि। अनि मुस्काउँदै भने, ‘बेला भयो, जान्छ अब।’
त्यसबेला आमाको जीवनलीला १२ घन्टामात्र बाँकी रहेछ।
पगलानन्द बाबाकहाँ आउने हरेक महिलालाई उनी ‘आमा’ या ‘छोरी’ भनेर सम्बोधन गर्थे। पशुपति राम मन्दिरको पगलानन्द बाबाको आश्रममा सधैं भिड हुन्थ्यो। दैनिक भण्डारा चल्थ्यो। पशुपतिका मानवरुप पनि भन्थे कतिपयले पगलाबाबालाई।
त्यो उनलाई नजिकबाट देख्ने, चिन्नेहरु र माया गर्नेहरुको मान्यता थियो। उनी अक्सर बनारसका महान अघोर सन्त भगवान रामले आफ्नो सम्प्रदायको इज्जत धेरै माथि पुर्‍याएको भन्ने गर्थे। ‘हर मे हरिको देख’ या ‘सबैमा ईश्वर देख्ने गर’ भन्ने उनको व्यवहारबाट देखिन्थ्यो।
पगलाबाबामा त्यही सिद्धि, त्यही महानता थियो।
अध्यात्मजगतका एक महान फकीरको निधनमा श्रद्धाञ्जली! 
तस्बिर: निधनपछि मंगलबार बिहान पगलाबाबाको पार्थिव शरीर। तस्बिर: मनोज दाहाल/सेतोपाटी