झन्डै दस वर्षअघि मित्र विजयकुमारले पशुपतिनाथ परिसरमा एउटा सामान्यजस्तो लाग्ने फकीरसँग भेटाए। शीष्टाचार प्रदर्शनको औपचारिकतापछि विजयले केही दक्षिणा चढाए ती फकीरलाई।
मेरो मन र मष्तिष्कमा अनेक बहस र सोच चल्न थाले। ती फकीर आफ्नो कोठामा भुस्याहा कुकुरहरुसँग थिए। नजिकै राखेको दूधको भाँडोबाट ‘भोका’लाई खुवाउँदै थिए। घृणाबाट माथि र करुणासँग एकाकार थिए ती फकीर भनी बुझ्न मलाई धेरै समय लागेन।
मेरो मन र मष्तिष्कमा अनेक बहस र सोच चल्न थाले। ती फकीर आफ्नो कोठामा भुस्याहा कुकुरहरुसँग थिए। नजिकै राखेको दूधको भाँडोबाट ‘भोका’लाई खुवाउँदै थिए। घृणाबाट माथि र करुणासँग एकाकार थिए ती फकीर भनी बुझ्न मलाई धेरै समय लागेन।
त्यो उनको कुनै व्यक्तिप्रति विशेष कृपा र आशिर्वाद भएको मान्थे उनलाई चिन्नेहरु।
झन्डै आठ वर्षअघि क्यान्सरबाट ग्रस्त ती अघोरी फकीरलाई घाट राखियो। अन्तिम दिन म र मेरी श्रीमती त्यहाँ पुग्यौं। उनले आशिर्वाद मुद्रामा हात उठाए। अनि केही इसारा गरे, कमजोर वाणी र हातको सहयोगले। मैले बुझिन।
मैले जिन्दगीमा धेरै कुरा बुझेको छैन। तर, अन्तिम समयमा उनले भनेको कुरा नबुझ्दा अत्यन्त कष्टको अनुभूति भइरहेको थियो मलाई। उनका सहायकले बुझे। मलाई उनले फकीरसँगै राखिएको विगुत र प्रसादका रुपमा केही फल दिए।
जिन्दगीभरि आधा नांगो, पाए खाने र भाषाको अभिव्यक्तिबाट बञ्चित पशुहरुलाई भोजन दिने ती फकीरले मृत्यु शय्याबाट पनि ‘दिने’मात्र सोचे। एउटा अजीव जीवन दर्शन हुन्छ सच्चा साधुहरूको।
आखिर धनी को? जसले दिन्छ।
भारतका विद्वान राष्ट्रपति राजेन्द्रप्रसादले ‘पैसा’बारे निबन्ध लेख्दा भनेका थिए रे, ‘पैसा, एउटा राम्रो नोकर र एकदम खराब नोकर हो।’ अर्थात पैसा, आराम, विलासिताप्रतिको समर्पणले मानिसलाई मुक्ति होइन, ‘दासत्व’तिर धकेल्छ। अघोरी चुनचुनबाबाको जीवन त्यही ज्ञान र विवेकको प्रयोग थियो। त्यसरी अरुलाई उपदेश दिँदैन थिए, उनको कर्म नै उनको सन्देश थियो।
क्यान्सर कारक बन्यो, त्यसै दिन उनले देहत्याग गरे, आठ वर्षअघि।
उनका गुरुभाइ ‘पगलानन्द’ले सोमबार आफ्नो केही हितैषीहरुसँग भनेछन्, ‘म भोलि शरीर त्याग्छु, एकजोर नयाँ लंगौटी लगाइदिनू मलाई।’
वर्षमा आधा काशी र आधा पशुपतिमा बस्थे उनी। साँच्चै पागलजस्ता लाग्थे। यदाकदा शराबको नसामा देखिए पनि आफूलाई ‘गड इन्टोक्सिकेटेड’ भन्दै हाँस्थे उनी। अनि आफ्नो घाँटीमा लगाएको एउटा जन्तर मुखसम्म तानेर कहिलेकाहिँ ‘ईश्वरसँग कुरा गर्छु’ भन्ने गर्थे। अनि धर्मको व्यापारमा लिप्त प्रायः नाम चलेका हिन्दू साधुहरुको सत्तोसराप गर्थे, एक्लै भुतभुताउँदै वा आफ्ना केही सहयोगीहरुबीच मुड आउँदा।
अर्को आश्चर्य पक्ष थियो उनको व्यवहारमा, भक्तहरुलाई मन्दिर जान भन्थे। कसैलाई पशुपतिनाथ, कसैलाई दक्षिणकाली या मनकामना। तर, आफू स्वयं जाँदैन थिए दर्शनका लागि।
आत्मसाक्षात्कार या आफैंभित्र ईश्वर फेला पारेका या हरेक प्राणीमा ईश्वर देख्ने साधुलाई मन्दिरको, ईश्वरको मूर्तिको प्रयोजन रहँदैन। पगलाबाबा त ‘रमताराम’ थिए, हरेक कणमा रामलाई देख्थे, त्यसैले सबैसँग समान व्यवहार, तिक्तताविहीन गाली, हाँसो, ठट्टा अनि कसैले मनमा सोचेको कुराको जवाफ। अद्भूत र नियमित व्यवहार थियो उनको।
साधुहरु आफ्नो परिवार र अतीतको कुरा गर्न रुचाउँदैनन्। तर, कुनै न कुनै रुपमा केही कुरा चर्चामा आउँछन् नै। उनी उत्तर प्रदेशको सीमावर्ती क्षेत्रका ‘पाठक’ परिवारमा जन्मेका थिए। सानै उमेरमा वैराग्यप्राप्त उनी सत्यको खोजीमा पशुपतिनाथ आइपुगे, सम्भवतः २०२१ सालतिर।
भारतीय सहयोग निगमबाट खटिएका एकजना इन्जिनियरले पछि अघोरपन्थ ग्रहण गरेपछि उनको नाम रामनाथ अघोरी रह्यो। ती रामनाथ अघोरीसँग तीनजनाले दीक्षा लिएः त्यागीनाथ, चुनचुनबाबा र पगलानन्द।
पगलानन्दले पछि सिद्धबाबासँग पनि दीक्षा लिए, रामनाथ अघोरीसँग कुनै कारणले विरक्तिएपछि। जेठा दाइ त्यागीनाथले सोमबार बिहानै अघोर परम्पराअनुसार श्लेष्मान्तक वनमा गुरुभाइ पगलानन्दलाई समाधिस्थ गराएका थिए, चुनचुननाथ अघोरीको समाधिस्थलनजिकै।
चुनचुन अघोरीको जस्तो विवाद भने भएन पगलानन्दको अन्त्येष्टिमा। चुनचुनबाबाको इच्छाअनुसार ‘उहाँलाई जलाइनुपर्छ’ भन्ने एउटा समूहको अडानल विवाद उब्जेको थियो। पगलानन्द बाबाको एउटै टिप्पणी हुन्थ्यो, ‘ए मुर्खहरु, जोगीलाई जलाइदिन्छौ?’
अन्त्यमा सम्झौता निस्कियो! बाबाको चाहनाअनुसार उनको पार्थिव शरीर जलाउने, अनि अस्तु र राखलाई समाधिस्थ गर्ने।
पगलानन्द बाबा इच्छा र चाहनाभन्दा माथि या मुक्त थिए। मंगलबार ब्रम्हमुहुर्तमा आफ्नो इच्छाको समय र मृत्यु रोजे। अनि साधु परम्पराअनुसार मृत्युपछिको विधि अरुले गरिदिए।
उनका बारे अनेक व्यक्तिका आआफ्ना मान्यता र सम्झना छन्। झन्डै १५ महिनाअघि मेरो आमालाई घाटमा राखेको बेला बागमती पुलमा जम्काभेट भयो उनीसँग।
‘ए तेरो आमा मर्यो?’ उनले हिन्दी टोनमा सोधे। सामान्य अवस्थामा त्यस्तो भाषा र टोन रिस उठ्दो नै हुन्छ तर जीवन र मृत्युको सत्यसँग साक्षात्कार गरेको व्यक्तिको सन्देश दिने शैली पनि त आफ्नै हुन्छ नि। अनि मुस्काउँदै भने, ‘बेला भयो, जान्छ अब।’
त्यसबेला आमाको जीवनलीला १२ घन्टामात्र बाँकी रहेछ।
पगलानन्द बाबाकहाँ आउने हरेक महिलालाई उनी ‘आमा’ या ‘छोरी’ भनेर सम्बोधन गर्थे। पशुपति राम मन्दिरको पगलानन्द बाबाको आश्रममा सधैं भिड हुन्थ्यो। दैनिक भण्डारा चल्थ्यो। पशुपतिका मानवरुप पनि भन्थे कतिपयले पगलाबाबालाई।
त्यो उनलाई नजिकबाट देख्ने, चिन्नेहरु र माया गर्नेहरुको मान्यता थियो। उनी अक्सर बनारसका महान अघोर सन्त भगवान रामले आफ्नो सम्प्रदायको इज्जत धेरै माथि पुर्याएको भन्ने गर्थे। ‘हर मे हरिको देख’ या ‘सबैमा ईश्वर देख्ने गर’ भन्ने उनको व्यवहारबाट देखिन्थ्यो।
पगलाबाबामा त्यही सिद्धि, त्यही महानता थियो।
अध्यात्मजगतका एक महान फकीरको निधनमा श्रद्धाञ्जली!
तस्बिर: निधनपछि मंगलबार बिहान पगलाबाबाको पार्थिव शरीर। तस्बिर: मनोज दाहाल/सेतोपाटी