Sunday, December 8, 2013

को–को हुन् सेयर बजारका ठूला खेलाडी ? ‘बा’ देखि ‘बाबा’सम्म सक्रिय ! - bizmandu

विजयराज खनाल/बिजमाण्डू
विजयराज खनाल/बिजमाण्डू
काठमाडौं । नेपाली सेयर बजारमा निर्मल प्रधान मात्र त्यस्ता व्यक्ति हुन्, जसले आफुलाई बजारको ठुलो सेयर खेलाडी नै घोषणा गर्दै आएका छन । तर बजारमा प्रधान मात्र होइन उनीसरह वा उनीभन्दा ठूला खेलाडीहरु पनि छन् । विभिन्न कम्पनीका वित्तीय प्रतिवेदन, नेप्से बजारमा सक्रिया कारोवारी, स्टक ब्रोकर कम्पनीका अधिकारीसँगको कुराकानीमा प्राप्त सूचनालाई आधार मानेर बिजमाण्डूले देशका ठूला लगानीकर्ताको सूची तयार गरेको हो ।

१. निर्मल प्रधान
आफु सेयर बजारको ठुलो खेलाडी भएको भन्न निर्मल प्रधान हिच्किचाउँदैनन् । कतिपय लगानीकर्ता उनलाई एक धर्म गुरुसंग दाज्दै नेपाली सेयर बजारका ‘निर्मल बाबा’ को समेत उपमा दिन्छन । केही अघि बजार बियरिश प्रवृत्तिमा रहँदा केही हदसम्म निष्क्रिय रहेका उनी अहिले फेरी सक्रिय हुन थालेको स्रोतहरु बताउँछन ।
उनी अहिले नेपाल बैंकको सेयर बिक्रीको क्रममा निकै सक्रिय भएको बताइन्छ । हालै मात्र उनले बजारमा नेपाल बैंकको मात्र करीब ५० करोडभन्दा बढि रकमको सेयर बिक्री गरेको स्रोतहरुको दावी छ । उनले बैंकमा अगाडीदेखि नै लगानी गर्दै आएको भएपनि कतिपय सेयर भने बैंक नेप्सेमा पुनः सूचीकरण पछि मूल्य एक सय ५० रुपैयाँ हुँदा किनेको स्रोतहरु बताउँछन ।
निमल प्रधान नेशनल हाइड्रो पावर, एभरेष्ट बैंक, पश्चिमाञ्चल बिकास बैंक, एनसीसी बैंकका ठुला लगानीकर्ता हुन् । उनको पनि सेयरमा भएको लगानीको आकार अर्बाै रहेको स्रोतहरु बताउँछन । एभरेष्ट बैंकमा उनको कम्पनी राजधानी इन्भेष्टमेन्ट फण्डको ०.६८ प्रतिशत सेयर रहेको सन् २०११/१२ को बार्षिक वित्तीय प्रतिवेदनले देखाउँछ । त्यसपछि उनले ठुलै परिणाममा सेयर बेचेका छन् । तर पनि अहिलेको बजार मूल्यको आधारमा पनि प्रधानसंग बैंकको मात्रै एक अर्बभन्दा निकै बढि रकमको सेयर रहेको छ ।

२) निरञ्जनकुमार टिवरेवाला

स्टक बजारमा सक्रिय व्याक्तिहरु भन्छन्, निरञ्जनकुमार टिवरेवाला निर्मल प्रधानका पनि ‘बा’ हुन् । उनीहरु टिवरेवालालाई बजारमा सक्रिय सबैभन्दा ठुला सेयर खेलाडी भएको दाबी गर्छन् । टिवरेवालाको लगानीको आकार यत्ति नै छ भन्न नसकिए पनि अर्बौ रुपैयाँमा रहेको, स्रोतहरुको दावी छ । हुनतः टिवरेवाला सेयर बिश्लेषक समेत हुन् । नेपाली सेयर बजारबारे माहरथ हासिल गरेका उनी आफूलाई ‘सेयर खेलाडी’का रुपमा पहिचान दिलाउन रुचाउदैनन् ।
उनी नेपाल एसबीआई बैंक,  एभरेष्ट इन्स्योरेन्समा सञ्चालक छन् । उनले सोल्टि होटेलको सञ्चालक समितिमा समेत छन् । यी कम्पनीबाहेक टिवरेवालाको बिभिन्न कम्पनीमा सेयर रहेको स्रोतहरु बताउँछन ।  उनी इन्भेष्टमेन्ट म्यानेजमेन्ट मर्चेन्ट बैंकरमा पनि सञ्चालक छन् ।
एभरेष्ट इन्सुरेन्समा टिवरेवालासँग १२.६७ प्रतिशत सेयर छ, त्यसैगरी उनको समूहसँग थप पाँच प्रतिशत सेयर पनि एभरेष्टमा छ । नेपाल एसबीआईमा उनी बोर्ड डाइरेक्टर भए पनि वित्तिय प्रतिवेदनमा ठूलो सेयर हिस्सा भने देखिंदैन् । टिवरेवाला नेपाल इन्डोस्वेज बैंक हुँदैदेखि सेयर बजारमा सक्रिय हुन्, उनले स्ट्याण्डर्ड चार्टड बैंकमा पनि लगानी छ । उनी विशेष गरेर मायाराम भोलाराम कम्पनीमार्फत पेट्रोलियम पदार्थको व्यापारमा सक्रिय छन् । तर टिवरेवाला आफूलाई भने फरक ढंगले चिनाउँछन्, म तपाईंले भनेजस्तै गरी सेयर बजारमा सक्रिय र ठूलो खेलाडी होइन्, म खाली यो बजार राम्रोसँग विकास हुनुपर्दछ, संस्थागत हुनुपर्दछ, यो बजारमा आउने कम्पनीमा सुशासन हुनुपर्दछ भनेर सक्रिय छु, उनले बिजमाण्डूसँग भने ।

३. शंकरलाल अग्रवाल
शंकर अग्रवाल पनि अहिलेका बजारका ठूला तथा सक्रिय सेयर खेलाडी भएको स्रोतहरु बताउँछन । बजारमा खुलेर देखिन नचहाने बताइने उनको लगानीको आकार पनि एक अर्बभन्दा कम छैन । शंकरलालको पनि अनेक कम्पनीमा लगानी छ । उनको किष्ट बैंक र नेपाल स्ट्यार्डर्ड चार्टर्ड बैंकमा ठुलो लगानी रहेको भेटिन्छ । किष्ट बैंकले आफ्नो बार्षिक वित्तीय विवरणमा उनलाई संस्थापक सेयर लगानीकर्तामध्ये एकको रुपमा उल्लेख गरेको छ । त्यस्तै, उनको स्ट्याण्र्डर्ड चार्टर्ड बैंकमा पनि ९८ हजार एक सय ९७ कित्ता सेयर रहेको बैंकको सन् २०१२/१३ को बार्षिक वित्तीय प्रतिवेदनमा उल्लेख छ । चार्टड बैंकको यो सेयर अहिलेको बजार मूल्यअनुसार १८ करोड रुपैयाँ बराबरको हो ।

४. रमेश अग्रवाल
रमेश अग्रवालका निकट स्रोत भन्छन, ‘स्टक बजारमा अग्रवालको अर्बौं रुपैयाँको पुँजी छ’ स्रोतकाअनुसार बजारमा उनको लगानी नभएको सायदै कुनै बैंक तथा वित्तीय संस्था होला । उनकाअनुसार रमेश अग्रवालको प्रत्येक बैंक तथा वित्तीय संस्थामा एक लाख कित्ताभन्दा कम सेयर छैन् । ती स्रोतका अनुसार रमेशको बैंक अफ काठमाडौंमा चार देखि पाँच लाख कित्ता, एनआइसी एसियामा एक लाख कित्ता, माछापूच्छे« बैंकमा एक लाख कित्ता, आइएलएफसी फाइनान्समा दुई लाख कित्ता, एभरेष्ट फाइनान्स र सानिमा बैंकमा एक/एक लाख कित्ता सेयर रहेको छ । ती स्रोतले भने, ‘उनको लगानी भएको कम्पनी सबैको नाम म नै सम्झिन सक्दिन ।’ बजारका अन्य स्रोतहरु पनि रमेश अग्रवाल ठूला र सक्रिय लगानीकर्ता भएको बताउँछन । उनी निकट स्रोतअनुसार भने अग्रवाल सञ्चार माध्यममा आउन रुचाउँदैन र खुलेर ठुलो लगानीकर्ता भएको देखाउँन पनि चहादैनन् ।

५. ज्ञानेन्द्रलाल प्रधान
ठुलो मात्रामा जलविद्युत् कम्पनीहरुको सेयरमा लगानी गर्ने स्वभावका ज्ञानेन्द्रलाल प्रधान पनि पछिल्लो समय बजारले चिन्ने सक्रिय र ठुलो सेयर लगानीकर्ता हुन् ।  नेशनल हाइड्रो पावर, चिलिमे जलविद्युत् र बुटवल पावर प्रधानको मूख्य लगानी रहेका कम्पनी हुन् । नेशनल हाइड्रोपावरमा निर्मल  प्रधानसंगै उनी पनि यो कम्पनीको सञ्चालक समितिमा प्रवेश गर्ने रणनीति एक बर्ष अघि सार्वजनिक गरिसकेका थिए । तर विवादित यो कम्पनीको साधारण सभा लगायतमा मतान्तरले गर्दा यो सम्भव भएन ।
त्यतिखेर निर्मल र ज्ञानेन्द्रले आफुहरुसंग कम्पनीको ३० लाखभन्दा बढि कित्ता सेयर रहेको खुलासा गरेका थिए । यी दुवै आफ्नो लगानी रहेको कम्पनीको सेयर चलखेल गरिरहने खेलाडीको रुपमा समेत बजारमा चिनिन्छन । ज्ञानेन्द्र चिलिमेका दोस्रो र व्यक्तिगत आधारमा भने पहिलो ठुलो लगानीकर्ता हुन् । चिलिमेमा उनको दुई लाख ५६ हजार कित्ता सेयर छोराका नाममा छ । त्यस्तै, बुटवल पावरमा समेत ज्ञानेन्द्रको लगानी छ ।


६.राजाराम जोशी
सेयर बजारका अर्का ठुला खेलाडीको रुपमा चिनिन्छन्, राजाराम जोशी । राजाराम जोशी गुडबिल फाइनान्सका सञ्चालक समितिमा समेत छन् । उनको गुडविलमा एक लाख २३ हजार ६१ कित्ता रहेको कम्पनीको सन् २०११/१२ बार्षिक प्रतिवेदनमा उल्लेख छ । उनको पनि बिभिन्न कम्पनीहरुमा लगानी रहेको र व्यक्तिगत रुपमै एक अर्बभन्दा ठुलो लगानीको आकार रहेको स्रोतहरु बताउँछन् । यसबाहेक बिशाल ग्रुप, सांघाइ गु्रप लगायतका समूहहरु पनि अहिले बजारमा सक्रिय रहेको स्रोतहरु बताउँछन । कतिपय पुराना ब्रोकरहरु पनि बजारका सक्रिय र ठुला सेयर खेलाडीहरु भएको दावी गर्छन ।
ठूला खेलाडीहरु आफ्नोभन्दा पनि नजिकका नातेदार, इष्ट मित्रको नामबाट कारोबार गर्ने गरेको स्रोतहरु बताउँछन । हुनतः ठुला सेयर लगानीकर्ताको सूचीमा बिनोद चौधरी, राजेन्द्र खेतान लगायतको नाम पनि आउँछ । तर यिनीहरु बजारमा सक्रिय छैनन् । कुनै बेला चर्चाको शिखरमा रहेका राकेश अडुकिया अहिले बजारबाट बाहिर छन् । गोर्खा विकास बैंक काण्डपछि उनी सेयर बजारको ठूलो खेलाडीका रुपमा विस्थापित भएका छन् ।

Friday, December 6, 2013

ट्विटर प्रयोगकर्तालाई खुशीको खबर, युटोपियासँगको साझेदारीमा इन्टरनेट बिना नै ट्विटर चलाउन मिल् - bizmandu


काठमाडौं । एशियाका लाखौ मानिसलाई ट्विटको सेवा दिन ट्विटरले इन्टरनेटबिना नै आफ्नो सेवा लिन सकिने व्यवस्था गर्न लागेको छ । सिंगापुरस्थित युटोपियासंग मिलेर यस्तो सेवा दिन लागिएको युटोपियाका कार्यकारी प्रमुख सुमेश मेननले बताए । यो सेवाबाट विश्वमा एकसय ४० अक्षरको माइक्रो ब्लगिङ सेवा दिदै आएको ट्विटर इन्टरनेट नचल्ने मोबाइलबाट पनि ट्विट गर्न सक्ने छन् । उनीहरुले केवल एउटा कोड डायल गर्नु पर्ने हुन्छ, त्यसले ट्विटरको नेटवर्कसँग सम्वन्ध स्थापित गर्ने छ, रोयटर्सले लेखेको छ ।
यस्तै सेवा गुगलको जिटक र फेसबुकले दिइरहेका छन् । एशियाका करिव एककरोड १० लाख मानिसले यस्तो सेवा लिएका छन् । गत महिना सेयर सार्वजनिक गरेको ट्विटरका दुई करोड ३० लाख प्रयोगकर्ता छन् । कम्पनीको मुल्यांकन करिव २५ अर्ब अमेरिकी डलर पुगेको छ । युटोपियाले टेलिकमको युएसएसडि अर्थात अनस्टक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटासँग सम्वन्ध स्थापित गर्छ तर त्यसमा तस्बिर र भिडियो हेर्न सकिदैन । ‘ट्विटरका लागि युएसएसडि राम्रो माध्यम हुन सक्छ किनकीः यसको निर्माण सिमित टेक्स्ट (अक्षर) का लागि भएको छ,’ मेननले भने । एशियाका उदयमान अर्थतन्त्रमा प्रत्येक दशमा आठजनाले आज पनि डाटा सेवा लिएका छैनन् ।
विश्वका ३० देशमा उपस्थिती रहेको युटोपियाले ट्विटरको अक्षरलाई स्थानिय भाषा समेत ग्रहण गर्न सक्ने बनाउने छ । ‘स्थानिय भाषामा भएपछि यसलाई बेंङलोर वा मुम्बई जहा बस्ने भएपनि प्रयोग गर्न सक्ने छन्,’ उनले भने । युटोपियाले अहिले टेलिनोर, भोडाफोन, भारती एहरटेल जस्ता कम्पनीसँग मिलेर काम गरिहेको छ । इन्टरनेट सहित सेवाबाट युटोपियाले कुल बिलको ३० देखि ४० प्रतिशतसम्म प्राप्त गर्दछ

Thursday, December 5, 2013

सावधान ! पोखरामा पनि यस्तो हुनसक्छ - mysansar

 सावधान ! पोखरामा पनि यस्तो हुनसक्छ
माथिको फोटो ग्वाटेमालाको हो। आजभन्दा तीन वर्षअगाडि अर्थात् सन् २०१० को मे महिनामा ग्वाटेमाला सहरमा अकस्मात् यस्तो ठूलो खाल्डो देखिएको थियो। नापेरै बनाएको जस्तो ठ्याक्कै गोलो आकारको यो सिङ्कहोल (जसलाई नेपाली भूगर्भविद्हरु 'भुवान' भन्ने गर्छन्) ६६ फिट फराकिलो र १०० फिट गहिरो थियो। यो सिङ्कहोलले एउटा तीन तले बिल्डिङ र अर्को एउटा सानो घर निलेको थियो। ग्वाटेमालाको राष्ट्रपति कार्यालयबाट आधिकारिक रुपमा जारी गरिएको यो फोटोलाई अमेरिकी सञ्चार संस्था एपीले विश्वभर फैलाएको थियो। आज पनि विश्वका विभिन्न ठाउँमा मानव बस्ती भएको ठाउँमा वा त्यस वरपर मान्छेको चासोको क्षेत्रमा सिङ्कहोल बन्दा यही फोटोलाई उदाहरणको रुपमा देखाउने गरिन्छ। त्यहाँका अधिकारीहरुले आँधीका कारण लगातार परेको पानीले जमिनमुनिको पानीको सतह बढेर त्यहाँको पातलो माटोको तह पगालेका कारण माथिको जमिनसमेत भासिएर यति ठूलो सिङ्कहोल बनेको बताएका थिए। पोखरा उपत्यकामा रहेको अर्मला गाविसमा अहिले बनिरहेका सिङ्कहोलले भविष्यमा यस्तै विपत्ति सहरी क्षेत्रमा समेत आउनसक्नेतर्फ सचेत गराएको छ। भूगर्भविद्हरुले १५ वर्षअघि नै यस्तो चेतावनी दिइसकेका छन्। 
 यस्तो देखिन्छ अहिले अर्मलामा
संविधान सभाको निर्वाचन सकिएर देशभर मतगणना जारी रहँदा न्युजरुममा एउटा बेग्लै समाचार 
आइपुगेको थियो। साथी रविराज बराल पोखराको बासिन्दा हुनाले उसलाई त्यो समाचारले छोएको 
थियो र तत्काल उसले समाचार अनलाइनमा फोटोसहित राख्यो पनि। हामी भने मतगणनाको 
अपडेटमै व्यस्त थियौँ। मतपरिणाम आउने क्रम सकिँदै जाँदा बल्ल फूर्सदमा त्यहाँका फोटो र 
समाचार हेरेँ। अहो, अचम्मै भएको रहेछ। पोखरा नै गएर नजिकबाट बुझेर यसबारे एउटा विशेष 
सामाग्री तयार पार्नुपर्ला भन्ने प्रस्ताव अहिले म कार्यरत अन्नपूर्ण पोस्टको डिजिटल टिममा राखेँ। 
डिजिटल सम्पादक उज्ज्वल आचार्यसहित अरु साथीहरुले पनि हौस्याएपछि यसै साताको सुरुमा 
पोखरा पुगेँ। अन्नपूर्ण पोस्टको पत्रिका र अनलाइनमा आज यसबारे विशेष सामाग्री छापिएको छ।
जताततै ठूल्ठूलो प्वालैप्वाल देख्दा जता टेक्यो उतै भासिएला कि भन्ने डर 
                                                                                 फोटोः मिलन मगर 
महेन्द्र गुफाबाट अलि अगाडि बढेपछि जोगिमणा जाने कालामुडा कृषि सडकको पिच बाटोलाई टाढै प्रहरीले रोकेको 
छ। पोखराबाट आउने रमितेहरु त्यहाँबाट पैदलै हिँड्नुपर्छ। पाँच मिनेट जति हिँडेपछि बाटो वरपर नै जताततै प्वालै
प्वाल देखिन्छ। एकदम गोलो आकारको। लाग्छ आकाशबाट एलियनहरुको यान वा त्यसले केही यहाँ खसाएको हो।   
यो साताको सुरुमा म त्यहाँ पुग्दा ५० वटा जति सानाठूला सिङ्कहोल
बनेको देखेँ। त्यसमध्ये एउटाले मात्रै घरका सामान निलेको रहेछ। 
३ वटा घर नजिकै परेका छन्।  अरु भने समथर खेतको बीचबीचमा
परेका छन्। अहिले गाविसले त्यहाँ नयाँ संरचना बनाउन रोक लगाउनुका
साथै त्यस क्षेत्रमा गाडी पनि चल्न दिएको छैन। हुन पनि पिच सडकै
चर्किएको समेत देखिएको छ। 
यो फोटो खिचेको ठाउँमा नजिकै चार वटा सिङ्कहोल बनेका थिए। 
कात्तिक २६ गतेबाटै अर्मलाको ठूलीबेसी फाँटमा ससाना खाल्डाहरू पर्न थालेको रहेछ। तर कसैले वास्तै गरेका
रहेनछन्। चुनावको भोलिपल्ट अलि ठूलै सिङ्कहोल बनेपछि बल्ल मानिसहरु झसङ्ग भए। मंसिर ७ गते 
शुक्रबार दिउँसै एउटा कच्ची घरको सामानै निल्ने गरी प्वाल परेपछि भने यहाँ आतंक मच्चिन सुरु गरेको थियो।
अहिले दिनदिनै जसो त्यहाँ सिङ्कहोलहरु बन्ने क्रम जारी छ। साना प्वालहरु अझ ठूला र नयाँ नयाँ ठाउँमा
सिङ्कहोल देखिएका छन्। 
 किन भयो यस्तो?
कालीखोला पश्चिम अर्मला गाविस वडा नम्बर १ क्षेत्र भौगर्भिक हिसावले अत्यन्त कमजोर अवस्थामा रहेको सिल्ट (Silt) र ग्राभेल (Gravel) जम्मा भई बनेको भूभाग हो। यस क्षेत्रको जमिनको माथिल्लो भागमा पातलो ग्राभेलको तह (५ मिटर सम्म) र तल्लो भागमा राम्रोसँग नजमिसकेको कमेरे माटोको तह (Silt Layer)  रहेको छ। कमेरे माटोमा लगातार पानीको प्रभावको कारण सो तह कमजोर भई केही मात्रा पानीमा घुल्छ र पानीसँगै बगेर जान्छ। खहरे खोलाको प्राकृतिक प्रवाहमा अवरोध पुगेपछि पानीको भूमिगत सतह बढ्यो। त्यसले कमेरे माटोलाई पगाल्यो। जसले गर्दा तलको भाग खोक्रो हुन गयो। तलको भाग
खोक्रो भइसकेपछि माथिबाट जमिन भासिन गयो र यस्ता प्वाल देखियो। कमेरे माटो पगालेर भूमिगत पानी निस्किएको तलको फोटोबाट पनि देखिन्छ। एकातिर कालीखोला सफा बगेको छ भने भूमिगत पानी कमेरे माटो गाल्दै सेतो भएर खोलामा मिसिएको छ। 
१५ वर्षअघि नै सचेत गराइएको थियो
हिजो म खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् लीलानाथ रिमाललाई
भेट्न गएको थिएँ। उनी अस्ति भर्खरै अर्मला गएर स्थलगत अध्ययन गरी 
फर्किएका थिए। १५ वर्षअघि जर्मन सरकारको सहयोगमा विभाग र विदेशी विज्ञ
सहितको टोलीले पोखरा उपत्यकाकै एउटा पूर्ण नक्साङ्कन गरेको थियो, जसमा 
कुन ठाउँको माटो कस्तो छ, कहाँ सिङ्कहोल बन्नसक्छ, कुन ठाउँ भास्सिन 
सक्छ, सबै उल्लेख थियो। त्यसमा पनि सहभागी रिमालले भने, "हामीले उतिबेलै कार्यक्रम गरेर नगरपालिका, जिविस, पत्रकार सबैलाई सचेत गराएका थियौँ। नक्सामा जोखिम देखिएका ठाउँहरुमा निर्माण कार्य गर्दा विस्तृत अध्ययनपछि मात्रै स्वीकृति दिनभनेका थियौँ।" उनी कसैलाई दोष दिन चाहँदैनन्। "हामी सबैको दोष हो, हामीलेनक्सा बनायौँ, दियौँ। कसैले बुझ्न नपाएर वा नबुझेर त्यस्ता ठाउँमा अध्ययनै नगरी घर बनिरहेका छन्।" 
पोखराको कहाँ कहाँ खतरा?
 न्युरोड आसपास
 चिप्लेढुंगा आसपास
लाचोक
घाचोक
हेम्जाबेसी
छोरेपाटन
कुनै पनि निर्माणका कार्य गर्दा माथि उल्लेख गरिएका लगायत भौगर्भिक नक्सामा तोकिएका जोखिमका स्थानहरूमा गरिँदैछ भने विशेष सावधानीका साथ त्यस क्षेत्रको भौगर्भिक अध्ययन गरेर त्यसको नतिजाका आधारमा मात्र त्यहाँ बन्ने संरचनाको डिजाइन हुनुपर्छ। त्यो आधारमा निर्माणकार्य गर्ने हो भने यस्ता समस्या धेरै नै न्यूनीकरण गर्न सकिने रिमालको भनाई छ। हैन, त्यस्ता ठाउँमा पनि उपमहानगरपालिकाको मापदण्डविपरीत घरहरु बनाइन्छन्, घुस खुवाएर नक्साविपरीत घर बनाउँछन् भने उनीहरु आफै आफ्नो खुट्टामा बञ्चरो हान्दैछन्। अहिले अर्मलाको सिङ्कहोलले त  पूरै घरै निलिसकेको छैन। भविष्यमा यसप्रति सचेत नहुने हो भने विश्वका विभिन्न देशमा देखिएका यहाँ छेउमा राखिएका जस्तै सिङ्कहोलको दृश्य पोखराको सहरी भागमा समेत हुन सक्नेछ। अर्मलाले यसप्रति सबैलाई सचेत बनाए वेश हुने थियो।  
न्युजिल्यान्डमा सन् २००१ को डिसेम्बरमा ५० मिटर फराकिलो र १५ मिटर गहिरो यस्तो 
सिङ्कहोल बन्दा एउटा घर त्यसमा पर्‍यो भने पाँच जनाको परिवार घाइते भए।  
 जर्मनीमा सन् २०१० को नोभेम्बरमा बनेको सिङ्कहोल
चीनको ग्वाङझाउमा यसै वर्षको जनवरीमा। एउटा घरै भासिएको थियो यहाँ। यो चाहिँ मेट्रो
रेल बनाउँदाको परिणाम थियो। 

वैदेशिक रोजगारमा को-को परे अख्तियारको फन्दामा ? २५ अधिकृत, १७ नासु, ३ खरिदार, ७ व्यवसायी र १२ बिचौलिया (नामावलीसहित) - onlinekhabar

पुष्प दुलाल
२० मंसिर, काठमाडौं । बैदेशिक रोजगारमा जाने कामदारलाई ठगी गर्न सक्रिय ६४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विषेश अदालतमा मुद्दा दायर गरेको छ । जसमा बैदेशिक रोजगार विभागका ४५ जना कर्मचारी, ७ जना बैदेशिक रोजगार व्यवसायी र १२ जना बिचौलिया छन् ।विभागका ४५ जना कर्मचारीमध्ये २५ जना अधिकृत, १७ जना नायब सुब्बा र ३ जना खरिदार छन् । बिचौलियासहित अख्तियारले अदालतमा मुद्दा हालेको यो पहिलो पटक हो ।
Akhtiyar Durupayog
बैदेशिक रोजगारको क्षेत्रमा चरम भ्रष्टाचार हुने गरेको गुनासोका आधारमा अख्तियारले अनुसन्धान गरी ६४ जनाविरुद्ध कारवाही चलाएको हो । आयोगले लिएको बयानमा उनीहरुले भ्रष्टाचार गरेको पुष्टि भएपछि ३४ लाख विगोसहित अदालतमा मुद्दा दायर गरिएको हो ।
अख्तियारले मुद्दा दायर गरेका अधिकृतहरु
बैदेशिक रोजगार विभाग अन्तिम श्रम स्वीकृति शाखाका शाखा अधिकृतहरु रमेशप्रसाद मैनाली, अजिता शर्मा, निर्मला न्यौपाने, मञ्जु शर्मा सुवेदी, दिपक प्रसाद खतिवडा, बैदेशिक रोजगार विभागका कम्यूटर अधिकृत हिराध्वज कार्की, त्रिभूवन अन्तराष्ट्रिय बिमानस्थल श्रम कक्षमा कार्यतर बैदेशिक रोजगार विभागका अधिृकतहरु ज्ञानेन्द्र शर्मा, पवित्र कुँवर, मुक्ति खनाल, गंगाबहादुर भुजेल, अध्यागमन कार्यालय अधिकृतहरु डिल्लीराज भट्टराई, गोपी प्रसाद पौडेल, रामचन्द्र खतिवडा, कमलबहादुर कार्की, बिजयबहादुर समैमगर, दिवाकर शर्मा, रामकृष्ण परारजुली, नरबहादुर बि.क., बाबुहरी पन्थी, कार्गोग्राफर अधिकृत रामचन्द्र कार्की,, भोजबहादुर ए.डी., बैदेशिक रोजगार विभाग श्रम कक्ष एयरपोर्टका अधिकृतहरु रिद्धिप्रकाश सिटौला, डिल्लीराम पौडेल, कृष्णप्रसादल सिग्देल ।
नायब सुब्बाहरु
बैदेशिक रोजगार विभागका नायब सुब्बा तप्तकुमार शाह-कम्पूटर अपरेटर), रामप्रसाद पोखरेल, सन्तोस सुवेदी, चन्द्रहरी लुईटेल, अरबीक भाषा अनुवादक अब्दुल्लाह मस्तुत, रजाह उल्लाह, रमेशकुमार अधिकारी, योगेन्द्रकुमार अधिकारी, शंकर कार्की, बरिष्ठ अध्यागमन सहायक रामकुमार ओझा, जयबहादुर सिंह, चिरञ्जीबी अधिकारी, नबराज कोइराला, सञ्जय नेपाल, रुद्र मरासैनी, कोषराज भट्टराई, अध्यागम विभाग कालिकास्थानका नासू प्रहृलाद लामिछाने । त्यसैगरी अध्यागमन विभागका खरिदारहरु केशब बञ्जरा, कृष्ण प्रसाद र माधव भट्टराई विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
बैदेशिक रोजगार व्यवसायीहरु
साम्ना इन्टरनेसनल सर्भिसका सञ्चालक मो. मुस्ताफिया, श्रम प्रतिनिधि सुवास कुमार मैनाली, प्रोग्रेसिभ प्लेसमेट सर्भिसका सञ्चालक श्याम प्रसाद श्रेष्ठ, एड्भान्स रिक्यूमेन्ट सर्भिसका मार्केटिक म्यानेजर हर्कबहादुर लिम्बू, जेएचपी ओभरसिज इम्प्लोइमेन्टका सञ्चालक बुद्धिबहादुर तिवारी, आकृति रिक्वीटिङ्ग प्रा.लि.का सञ्चालक टलबहादुर पौडेल, श्रमिक ओरेन्टेसनका सञ्चालक सरोजकुमार मैनाली ।
बिचौलीयाहरु
बैदेशिक रोजगार परामर्श सेवा केन्द्र प्रा.लि. सिनामंगलका सञ्चालक नारायणप्रसाद पौडेल, याकुक टुर्स एण्ड ट्राभल्सका सञ्चालक शेख जफेर अलाम, गोरेटो टुर्स एण्ड ट्राभल्सका प्रतिनिधि राजीबकुमार पञ्जीया, टुर्स एण्ड ट्राभल्सकी सञ्चालीका सोभिता रानाभाट, अभिसेक ट्राभल्स एण्ड टुर्सका सञ्चालक अशोककुमार श्रेष्ठ, सुरेस ट्राभल्स एण्ड टुर्सका सञ्चालक सुरेस कुमार महतो, आयुस ट्राभल्स एण्ड टुर्सका सञ्चालक शिवसंकर शाह, एलपी ट्राभल्स एण्ड टुर्सका सञ्चालक लालबाबु पाण्डे । त्यसैगरी बैदेशिक रोजगार विभागमा लेखापढी गर्ने शिवप्रसाद रेग्मी, कोटेश्वर बस्ने खासा व्यापार गर्ने सुरेसकुमार श्रेष्ठ, अनामनगर बस्ने महावौद्ध पसल गर्ने सुमन दाहाल, ललितपुर थसिखेल बस्ने अरुणकुमार कायस्थ ।

यसरी गए एउटा महान फकीर - युवराज घिमिरे - setopati

झन्डै दस वर्षअघि मित्र विजयकुमारले पशुपतिनाथ परिसरमा एउटा सामान्यजस्तो लाग्ने फकीरसँग भेटाए। शीष्टाचार प्रदर्शनको औपचारिकतापछि विजयले केही दक्षिणा चढाए ती फकीरलाई।
मेरो मन र मष्तिष्कमा अनेक बहस र सोच चल्न थाले। ती फकीर आफ्नो कोठामा भुस्याहा कुकुरहरुसँग थिए। नजिकै राखेको दूधको भाँडोबाट ‘भोका’लाई खुवाउँदै थिए। घृणाबाट माथि र करुणासँग एकाकार थिए ती फकीर भनी बुझ्न मलाई धेरै समय लागेन।
त्यसपछिका केही वर्ष मलाई अंग्रेजी र नेपाली मिश्रित बोलीचालीमा रमाउने त्यो फकीरको चुम्बकीय व्यक्तित्वले आकर्षित गरिरह्यो। एकदुईपल्ट उनले अगाडिको पसलबाट ‘चारा’ किन्न लगाए मलाई। उनको आश्रमअघि नियमित जम्मा हुने कुकुर र गाईगोरुलाई खुवाउन। अरुले किन्न खोज्दा ‘हैन, उसले किन्छ’ समेत भने।
त्यो उनको कुनै व्यक्तिप्रति विशेष कृपा र आशिर्वाद भएको मान्थे उनलाई चिन्नेहरु।
झन्डै आठ वर्षअघि क्यान्सरबाट ग्रस्त ती अघोरी फकीरलाई घाट राखियो। अन्तिम दिन म र मेरी श्रीमती त्यहाँ पुग्यौं। उनले आशिर्वाद मुद्रामा हात उठाए। अनि केही इसारा गरे, कमजोर वाणी र हातको सहयोगले। मैले बुझिन।
मैले जिन्दगीमा धेरै कुरा बुझेको छैन। तर, अन्तिम समयमा उनले भनेको कुरा नबुझ्दा अत्यन्त कष्टको अनुभूति भइरहेको थियो मलाई। उनका सहायकले बुझे। मलाई उनले फकीरसँगै राखिएको विगुत र प्रसादका रुपमा केही फल दिए।
जिन्दगीभरि आधा नांगो, पाए खाने र भाषाको अभिव्यक्तिबाट बञ्चित पशुहरुलाई भोजन दिने ती फकीरले मृत्यु शय्याबाट पनि ‘दिने’मात्र सोचे। एउटा अजीव जीवन दर्शन हुन्छ सच्चा साधुहरूको।
आखिर धनी को? जसले दिन्छ।
भारतका विद्वान राष्ट्रपति राजेन्द्रप्रसादले ‘पैसा’बारे निबन्ध लेख्दा भनेका थिए रे, ‘पैसा, एउटा राम्रो नोकर र एकदम खराब नोकर हो।’ अर्थात पैसा, आराम, विलासिताप्रतिको समर्पणले मानिसलाई मुक्ति होइन, ‘दासत्व’तिर धकेल्छ। अघोरी चुनचुनबाबाको जीवन त्यही ज्ञान र विवेकको प्रयोग थियो। त्यसरी अरुलाई उपदेश दिँदैन थिए, उनको कर्म नै उनको सन्देश थियो।
क्यान्सर कारक बन्यो, त्यसै दिन उनले देहत्याग गरे, आठ वर्षअघि।
उनका गुरुभाइ ‘पगलानन्द’ले सोमबार आफ्नो केही हितैषीहरुसँग भनेछन्, ‘म भोलि शरीर त्याग्छु, एकजोर नयाँ लंगौटी लगाइदिनू मलाई।’
वर्षमा आधा काशी र आधा पशुपतिमा बस्थे उनी। साँच्चै पागलजस्ता लाग्थे। यदाकदा शराबको नसामा देखिए पनि आफूलाई ‘गड इन्टोक्सिकेटेड’ भन्दै हाँस्थे उनी। अनि आफ्नो घाँटीमा लगाएको एउटा जन्तर मुखसम्म तानेर कहिलेकाहिँ ‘ईश्वरसँग कुरा गर्छु’ भन्ने गर्थे। अनि धर्मको व्यापारमा लिप्त प्रायः नाम चलेका हिन्दू साधुहरुको सत्तोसराप गर्थे, एक्लै भुतभुताउँदै वा आफ्ना केही सहयोगीहरुबीच मुड आउँदा।
अर्को आश्चर्य पक्ष थियो उनको व्यवहारमा, भक्तहरुलाई मन्दिर जान भन्थे। कसैलाई पशुपतिनाथ, कसैलाई दक्षिणकाली या मनकामना। तर, आफू स्वयं जाँदैन थिए दर्शनका लागि।
आत्मसाक्षात्कार या आफैंभित्र ईश्वर फेला पारेका या हरेक प्राणीमा ईश्वर देख्ने साधुलाई मन्दिरको, ईश्वरको मूर्तिको प्रयोजन रहँदैन। पगलाबाबा त ‘रमताराम’ थिए, हरेक कणमा रामलाई देख्थे, त्यसैले सबैसँग समान व्यवहार, तिक्तताविहीन गाली, हाँसो, ठट्टा अनि कसैले मनमा सोचेको कुराको जवाफ। अद्भूत र नियमित व्यवहार थियो उनको।
साधुहरु आफ्नो परिवार र अतीतको कुरा गर्न रुचाउँदैनन्। तर, कुनै न कुनै रुपमा केही कुरा चर्चामा आउँछन् नै। उनी उत्तर प्रदेशको सीमावर्ती क्षेत्रका ‘पाठक’ परिवारमा जन्मेका थिए। सानै उमेरमा वैराग्यप्राप्त उनी सत्यको खोजीमा पशुपतिनाथ आइपुगे, सम्भवतः २०२१ सालतिर।
भारतीय सहयोग निगमबाट खटिएका एकजना इन्जिनियरले पछि अघोरपन्थ ग्रहण गरेपछि उनको नाम रामनाथ अघोरी रह्यो। ती रामनाथ अघोरीसँग तीनजनाले दीक्षा लिएः त्यागीनाथ, चुनचुनबाबा र पगलानन्द।
पगलानन्दले पछि सिद्धबाबासँग पनि दीक्षा लिए, रामनाथ अघोरीसँग कुनै कारणले विरक्तिएपछि। जेठा दाइ त्यागीनाथले सोमबार बिहानै अघोर परम्पराअनुसार श्लेष्मान्तक वनमा गुरुभाइ पगलानन्दलाई समाधिस्थ गराएका थिए, चुनचुननाथ अघोरीको समाधिस्थलनजिकै।
चुनचुन अघोरीको जस्तो विवाद भने भएन पगलानन्दको अन्त्येष्टिमा। चुनचुनबाबाको इच्छाअनुसार ‘उहाँलाई जलाइनुपर्छ’ भन्ने एउटा समूहको अडानल विवाद उब्जेको थियो। पगलानन्द बाबाको एउटै टिप्पणी हुन्थ्यो, ‘ए मुर्खहरु, जोगीलाई जलाइदिन्छौ?’
अन्त्यमा सम्झौता निस्कियो! बाबाको चाहनाअनुसार उनको पार्थिव शरीर जलाउने, अनि अस्तु र राखलाई समाधिस्थ गर्ने।
पगलानन्द बाबा इच्छा र चाहनाभन्दा माथि या मुक्त थिए। मंगलबार ब्रम्हमुहुर्तमा आफ्नो इच्छाको समय र मृत्यु रोजे। अनि साधु परम्पराअनुसार मृत्युपछिको विधि अरुले गरिदिए।
उनका बारे अनेक व्यक्तिका आआफ्ना मान्यता र सम्झना छन्। झन्डै १५ महिनाअघि मेरो आमालाई घाटमा राखेको बेला बागमती पुलमा जम्काभेट भयो उनीसँग।
‘ए तेरो आमा मर्‍यो?’ उनले हिन्दी टोनमा सोधे। सामान्य अवस्थामा त्यस्तो भाषा र टोन रिस उठ्दो नै हुन्छ तर जीवन र मृत्युको सत्यसँग साक्षात्कार गरेको व्यक्तिको सन्देश दिने शैली पनि त आफ्नै हुन्छ नि। अनि मुस्काउँदै भने, ‘बेला भयो, जान्छ अब।’
त्यसबेला आमाको जीवनलीला १२ घन्टामात्र बाँकी रहेछ।
पगलानन्द बाबाकहाँ आउने हरेक महिलालाई उनी ‘आमा’ या ‘छोरी’ भनेर सम्बोधन गर्थे। पशुपति राम मन्दिरको पगलानन्द बाबाको आश्रममा सधैं भिड हुन्थ्यो। दैनिक भण्डारा चल्थ्यो। पशुपतिका मानवरुप पनि भन्थे कतिपयले पगलाबाबालाई।
त्यो उनलाई नजिकबाट देख्ने, चिन्नेहरु र माया गर्नेहरुको मान्यता थियो। उनी अक्सर बनारसका महान अघोर सन्त भगवान रामले आफ्नो सम्प्रदायको इज्जत धेरै माथि पुर्‍याएको भन्ने गर्थे। ‘हर मे हरिको देख’ या ‘सबैमा ईश्वर देख्ने गर’ भन्ने उनको व्यवहारबाट देखिन्थ्यो।
पगलाबाबामा त्यही सिद्धि, त्यही महानता थियो।
अध्यात्मजगतका एक महान फकीरको निधनमा श्रद्धाञ्जली! 
तस्बिर: निधनपछि मंगलबार बिहान पगलाबाबाको पार्थिव शरीर। तस्बिर: मनोज दाहाल/सेतोपाटी

Thursday, November 28, 2013

मृत्युपूर्व हेर्नै पर्ने विश्वका १७ अदभुत पर्यटकिय स्थल (फोटो फिचर) - bizmandu

विश्वमा अनौठा स्थल र घटनाको कमी छैन । प्राचीन विश्वका सात आश्चर्यमा पर्ने इजिप्टको पिरामिड अझ पनि लाखौ पर्यटकको आर्कषणको केन्द्र छ । ऐतिहासिक ताज महल आज पनि प्रेमको प्रतिकका रुपमा उभिएको छ । यस्तै अदभुत १७ पर्यटकिय स्थलको विवरण बजफिड ट्राभलले तयार गरेको छ । 
बजफिडको अदभुत स्थलको सुचीमा पहिलो स्थानमा चीनको गान्सुस्थित झाङगे डान्झिया भौगोलिक संरचना परेको छ । रातो पर्वतमालामा दुई करोड ४० लाख वर्षपहिलेदेखि सतहमा देखा परेका खजिकपदार्थका कारण यहाँका पर्वत सप्तरंगी इन्द्रेणी जस्तो देखिन्छन् ।

इक्वाडरको इन्ड अफ दि वल्र्ड पिङ दोस्रो स्थानमा परेको छ । घना जंगलको ठूलोरुखमाथिको टि हाउसमा रहेको पिङ खेल्दा नजिकै सक्रिय ज्वालामुखी देख्न सकिन्छ । बजफिडका अनुसार, यो पिङमा मच्चिन ठुलो साहश आवश्यक पर्छ ।

बेलिज द्वीपको समुद्रितटमा रहेको ग्रेट ब्लु होल स्कुबा डाइभिङका लागि प्रख्यात सवमरिन सिंक होल हो । यसको गहिराई चारसय सात फिट छ ।

नेदरल्याण्डको टुलिप खेती गरिने क्षेत्रपनि अदभुत दृष्यका लागि विश्वमै प्रख्यात छ । यहाँ लहरै खेती गरिएका टुलिप देख्दा मन प्रसन्न हुन्छ ।

Ads not by this site
भियतनामको बिन्ह प्रान्तमा रहेको हाङ सोङ दोङ गुफा पर्यटकिय आर्कषणको राम्रो केन्द्र हो । विश्वकै ठुलो यो गुफा २० देखि ५० लाख वर्ष पहिले निर्माण भएको अनुमान गरिन्छ । यो गुफा भीत्र करिव आधा माइल लामो ५० तले घर अटाउन सक्छ ।

जापानको इबाराकीस्थित हिताची सि साइड पार्क रंगिचंगी फुल र समुद्रको संगमका कारण प्रख्यात छ । शरद ऋतुमा बेबी ब्लु आईज फुल फुल्दा यहाँ ४५ लाख पर्यटक ओइरिन्छन् ।

अमेरिकीका अलस्कास्थित मेन्डेनहल आईस केभ (गुफा) अनौठो चरित्रका कारण प्रख्यात छ । हिउले बनेको यो गुफा मान्छे हिडदै अगाडि बढदा पग्लदै जान्छ साथसाथै गुफा पनि बन्दै जान्छ ।

Ads not by this site
भेनेजुयला, ब्राजिल र गुयनाको सिमा क्षेत्रमा पर्ने माउन्ट रोराईमालाई विश्वकै सबैभन्दा पुरानो भौगोलिक बनावट मानिन्छ । टेबल आकारको यो श्रृंखला करिव दुई अर्ब वर्ष अगाडि बनेको अनुमान छ ।

टर्कीको एन्टोलिया क्षेत्र नागबेली र रंगिचंगी ससाना पर्वतका कारण राम्रो पर्यटकिय क्षेत्र बनेको छ । यो विश्वकै प्रख्यात हट एअर बेलुन उडाइने क्षेत्र हो । 


मालद्विपको बाधु द्विप समुन्द्रमा देखिने ताराका कारण रोमान्चक छ । राती समुद्रमा डुंगा चल्दा तिनले उठाएको फोका र ताराको छाया मिसिदाँको दृश्य साच्चै मनमोहक हुन्छ ।

जिम्वावे र जाम्वियाको सिमामा रहेको भिक्टोरिया फल अफ्रिकाको सबैभन्दा फराकिलो झरना हो । यही झरना क्षेत्रमा जिम्वावे तिर डेभिल पुल रहेको छ । यहाँ सहाशी पर्यटक तैराकीको मजा लिन्छन ।


नर्वेको टोर्लटुंगा हिंउ जम्ने दुई हजार फिट अग्लो जिब्रो आकारको ढुंगामा हाईकिङ गर्ने युवाको ठुलो जमात हुने गर्छ । यहाँ घुम्ने उपयुक्त समय मध्य जुनदेखि मध्य सेप्टेम्बर हो ।

Ads not by this site
समुद्रको छालले लाखौ वर्षदेखि बढार्दै ल्याएको सातो बालुवा बाट बनेको अस्ट्रेलियाको ह्वाइट हेभन बीच बनेको हो । सेतो भएको कारण यो तात्दैन, नाङ्रगा खुट्टाले हिडन समेत उपयुक्त छ ।

एरिजोनाको ग्रयाण्ड केन्योन विश्वका सात प्राकृतिक आश्चर्यमा समावेस छ । यो अद्धितिय भौगोलिक क्षेत्र दुईसय २७ माइल लामो र १८ माईल चौडा छ । 


अर्जेटिना र चिलीको सिमानामा पर्ने पटागोनिया मार्बल केभ (गुफा) भीत्र मार्बल चपेल र मार्बल क्याथाड्रेल रहेको छ । यो भौगोलिक बनोट छ हजार वर्ष अगाडिदेखि बन्न सुरु गरेको हो ।
यस्तै अन्य आर्कषणमा युक्रेनको टनेल अफ लभ, बोलिभियाको सलार डि युनी, ब्राजिलको बाहियास्थित इन्च्यान्डीड वेल (कुवा) पर्दछन् । यिनी सम्पदाको आर्कषणबाट बर्षेनी हजारौ पर्यटक लोभिने गरेका छन् ।
 

स्मार्ट टेलिकममा किन भिड्दै छन् महतो र राजबहादुर, कहाँबाट सुरु भयो विवाद - बिजमाण्डू

स्मार्ट टेलिकमका दुई मुख्य साझेदार पूर्व राजाका ज्वाईं राजबहादुर सिंह र गैरआवासिय नेपाली उपेन्द्र महतोवीचको विवाद उत्कर्षमा पुगेको छ । कम्पनीको बहुमत स्वामित्व आफ्ना पक्षमा लिन यी दुई समूहवीच भएको तिव्र विवाद अहिले कम्पनी रजिष्ट्रार, नियमन निकाय दूरसञ्चार प्राधिकरण र अख्तियारमा पुगेको छ ।

विवादको केन्द्रविन्दु, राजबहादुर सिंह र उपेन्द्र महतो

स्मार्ट टेलिकमको स्वामित्वसम्वन्धी विवादको सतहमा राजबहादुर सिंहका तर्फबाट दीपक तिम्लिसिना र महतोको तर्फबाट सतिशलाल आचार्य र सचिनलाल आचार्य देखिएका छन् । तर विवादको केन्द्रमा भने सिंह र महतो रहेको एक्सक्लुसिभ स्रोतले बिजमाण्डूलाई जानकारी दिएको छ । 
विवाद के हो ? 
दर्ता गर्दा स्मार्ट टेलिकममा तीन कम्पनीको स्वामित्व थियो, सिंगापुरको कम्पनी लालसाहु डिष्ट्रिव्युटर, इजरायलको स्याटेलाइट उपकरण बेच्ने कम्पनी जिलाट नेटवर्क र आचार्यबन्धुको स्क्वायर नेटवर्क । केही वर्ष अघि जिलाटले आफ्नो दश प्रतिशत स्वामित्व सिंगापुरमा दर्ता भएको लालसाहु डिष्ट्रिव्युटरलाई विक्री गरेपछि कम्पनीमा दुई साझेदार लालसाहु र स्क्वायर नेटवर्क मात्रै छन् ।
स्क्वायर नेटवर्क नेपाली कम्पनी हो, यसको सेयर स्वामित्व प्रसिद्ध चिकित्सक आइएल आचार्यका दुई छोरा सतिशलाल आचार्य र सचिनलाल आचार्यसँग छ । सतिशलाल १९९६ सम्म जावलाखेलको सेन्टजेभियर्स स्कुलमा पढ्थे र सन् २००० मा कम्प्याक, डेल लगायतका कम्प्युटर विक्री गर्न नेपालमा वल्र्ड डिष्ट्रिव्युटर कम्पनी स्थापना गरेका बसेका थिए । 
उनै आचार्य अहिले स्मार्ट टेलिकमको नेपाली साझेदार बनेका छन् भने सिंगापुरको हिण्डहेडी रोड साउथहेभन २ मा दर्ता भएको कम्पनी लालसाहुको मुख्य प्रवद्र्धकका रुपमा आफूलाई चिनाउँछन् । तर स्रोत भन्छ, लालसाहु डिष्ट्रिव्युटर आचार्यको नभई एनसेलका दुई संस्थापक महतो र सिंहको कम्पनी हो ।
लालुसाहुमा सिंहको कम्पनी रिभर रोड र महतोका ‘अफसोर’ कम्पनीहरुको लगानी छ । जस्तो लालसाहुको एउटा साझेदार सिंगापुरकै कम्पनी बिटम्याप प्रा.ली पनि हो । यो कम्पनीको तार महतोका कम्बोडियास्थित स्मार्ट टेलिकमको प्रवद्र्धक लाटेल्ज, अफ्रिकाको इगोटेल, सेयरालिओनको इन्टरग्रुप टेलिकम र कंगोको योज्मा टाइमटर्नसँग पनि जोडिएको छ ।

उपेन्द्र महतोले आचार्यलाई केन्द्रविन्दुमा राखेर बनाएको लगानी जालो
 
महतोको कम्पनीले मलावीको टेलिकम कम्पनीमा पनि लगानी गरिरहेको छ, स्मार्ट टेलिकमका यसअघिका प्रमुख कार्यकारी अधिकृत सुवास बज्राचार्य अहिले त्यही मलावीको कम्पनीको प्रमुख कार्यकारी अधिकृत छन् । नेपालको स्मार्ट टेलिकममा भने विदेशी व्याक्तिलाई प्रमुख कार्यकारी अधिकृत बनाइएको छ । 
किन भैरहेको छ विवाद ?
ग्रामिण दूरसञ्चार सेवा सञ्चालन गर्दै आएको स्मार्ट टेलिकमले सेवा विस्तारका लागि एकीकृत लाइसेन्स पाएको छ । लाइसेन्स पाएपछि नेटवर्क विस्तारका लागि अर्बौं रुपैयाँको पुँजी लगानी हुँदैछ । स्मार्ट आफैले यसअघि दश अर्ब रुपैयाँ लगानी विस्तार हुने जानकारी दिएको थियो । बैंशाखबाट सेवा विस्तार गर्न लागेको कम्पनीले छ अर्ब रुपैयाँको ‘इन्भेष्टमेन्ट प्लान’ समेत बनाएको छ । यो पैसाको झण्डै आधा इक्वीटीबाट जुटाउने तयारी भैरहेको स्रोतले जानकारी दियो । 
लगानीका लागि पुँजी जुटाउने क्रममा महतो र सिंहवीचको विवाद सुरु भएको हो । महतो स्मार्ट टेलिकममा आफै पुँजी जुटाउन सक्ने अवस्थामा छन भने राजबहादुरलाई पुँजी जुटाउन कठिन छ । पुँजी जुटाउन कठिन भएपछि दुई साझेदारवीच विवाद सुरु भएको हो । यही विवादका बीच कम्पनी खरिद विक्रीको प्रसङ्ग आएको हो ।
महतो थप पुँजी जुटाएर राजबहादुरलाई सकेसम्म निकाल्ने नभए माइनोरोटीमा राख्ने प्रयासमा छन्, तर राजबहादुर आफ्नो स्वामित्व गुम्ने भएपछि कम्पनी आफ्नो पक्षमा पार्न हरप्रयास गरिरहेका छन् । त्यसका लागि उनले बागलुङ्गका सामान्य पारिवारिक पृष्ठभूमि भएका दीपक तिमिल्सनालाई कम्पनीको अध्यक्षका रुपमा अघि सारेका छन् ।
कसरी भयो यो साझेदारी
अहिलेको एनसेल सुरुमा राजेन्द्र खेतानले स्पाइश नेपालका नाममा स्थापना गरेका थिए, उनले भारतीय साझेदार भित्र्याएर नेपालमा मोवाइल सेवा सञ्चालनको प्रयास सफल हुन नसकेपछि विक्री गर्ने योजना बनाए । देशमा राजा ज्ञानेन्द्रको शासन व्यवस्थामा भरखर गैरआवासिय नेपाली अभियानको सरुवात हुँदै थियो । यही बेला महतोले सिंहको साथ लिएर स्पाइस नेपाल खरिद गरे । त्यसको प्रमुख कार्यकारी अधिृकत सिंहका विश्वासपात्र अजय सुमार्गीलाई बनाइयो । 
स्माइस नेपालको सेयरपछि कजाख कम्पनी भाइजरलाई विक्री गरियो, थप सेयर विक्री गर्दा फिनल्याण्ड र नर्वेको मुख्य लगानी भएको टेलियासोनेरा भित्रियो । राजा फालेर देश गणतन्त्रमा गएपछि सुमार्गी एमाओवादी नेतृत्वसँग नजिक पुगे । उनैलाई प्रयोग गरेर महतोले नेपाल स्याटेलाईट स्थापना गरे, ग्रामिण दूरसञ्चार कम्पनी ग्रामिण टेलको स्थापना गरे । ग्रामिण टेल अहिले स्मार्ट टेलिकममा रुपान्तरण भएको छ । भाइजर र टेलियासोनेरालाई अर्बौं रुपैयाँ रकम लिएर सेयर विक्री गर्दा प्राप्त रकमबाटै अहिलेको स्मार्ट टेलिकम स्थापना भएको हो । जुन कम्पनीमा अहिले व्यवस्थापन कसको भन्ने विवाद चलिरहेको छ ।
अहिलेसम्म के भयो ?
महतोका तर्फबाट सचिनलाल र राजबहादुरकातर्फबाट प्रस्तावित अध्यक्ष दीपक , सचिनको तस्वीर इसिएस मिडियाको वेभसाइटबाट लिइएको हो । 

आइतवार रियाज एफएमबाट एउटा प्रेस विज्ञप्ति आयो, त्यो प्रेस विज्ञप्तिमा स्मार्ट टेलिकमको छैठौं साधारणसभाले दीपक तिमिल्सिनालाई अध्यक्ष चयन गरेको जानकारी दिइएको थियो । तिमिल्सनाले रिभर रोड इन्टरनेशनललाई प्रतिनिधित्व गर्ने पनि विज्ञप्तिमा बताइएको थियो ।
त्यसको भोलिपल्ट स्मार्ट टेलिकमका अध्यक्ष सचिनलाल जोशीका नामबाट अर्को प्रेस विज्ञप्ति जारी गरी रिभर रोड इन्टरनेशनलले कम्पनीको ५४ प्रतिशत स्वामित्व खरिद नगरेको बताइएको थियो । साथै आचार्यले के कसरी त्यस्तो सेयर हस्तान्त्रण हुन गयो भन्दै सम्बन्धित निकायमा बुझ्ने काम भैरहेको पनि बताएका थिए । जोशीले सेयर स्वामित्व हस्तान्त्रण गर्दा किर्ते भएको र छानविनका लागि अख्तियारमा उजुरी समेत गरेका छन् ।
उता तिम्लिसिनाले भने कम्पनीको सेयर प्रतिकित्ता एक डलरमा खरिद गरिएको दावी गरेका छन् । उनको समूहले यस विषयमा बुधवार पनि दुई समूहवीच छलफल भएको जानकारी दिएका छन् । उनको समूहले आगामी केही दिनमा यो विषय टुङ्गिने जानकारी समेत दिएको छ ।
लगानी हाम्रो मात्रै हो 
स्मार्ट टेलिकमका अध्यक्ष सचिनलाल आचार्यले भने कम्पनीमा आफ्नो र दाजुको मात्रै लगानी भएको बताए । राजबहादुरसँग हाम्रो राम्रै चिनजान हो, सुरमा लगानीको कुरा पनि भएको हो तर अहिले भने सबै लगानी हाम्रो हो, उनीहरुले ल्याएका कागजात किर्ते हुन्, उनले बिजमाण्डूसँग भने । हामीले कानूनी उपचारको बाटो खोजिसकेका छौं । आचार्यले आफ्ना दाजु सतिश डेढ दशकदेखि सिंगापुरमा बसेर कमाई रहेको र त्यही पैसा यहाँ लगानी गरिएको समेत बताए । हामीले अहिलेसम्म चार अर्ब रुपैयाँ लगानी गरिसकेका छौं, त्यसको ठूलो हिस्सा ऋण पनि हो, उनले बिजमाण्डूलाई बताए । आचार्यले भने, स्मार्ट टेलिकम हामीले दुःख गरेर बनाएको कम्पनी हो । 
कार्यालयमा कब्जा जमाउने प्रयास
स्मार्ट टेलिकमको कुमारीपाटीस्थित कार्यालय दुवै पक्षले कब्जा जमाउने प्रयास थालेका छन् । आचार्यले भने कार्यालयमा गुण्डा राखेर हामीलाई प्रवेश गर्न दिइएको छैन् । उनले प्रहरीले एक पटक कार्यालयमा गस्ती गरिसकेको जानकारी पनि दिए । अहिले कार्यालयबाट व्यवस्थापनको काम हुन सकेको छैन्, सबै लिंगरिङ्ग भैरहेको छ ।