Friday, February 6, 2015

सद्दामलाई फाँसी दिएको डोरीको मूल्य ७० करोड, खरीद गर्न तछाडमछाड - onlinekhabar




इराकी पूर्व शासक सद्दाम हुसेनलाई फाँसी दिँदाका बखत प्रयोग गरिएको डोरी प्रति मानिसहरुको ठूलो लगाव देखिएको छ । उक्त डोरी खरीद गर्नका लागि मानिसहरु तछाडमछाड गरेका छन् ।

सद्दामलाई फाँसी दिएको ऐतिहासिक डोरीलाई किन्नका लागि इरान, इजरायल तथा कुवेत लगायतका देशका खरीदकर्ताहरु लालायित देखिएका छन् ।
सद्दामलाई झुण्डाइएको डोरी अहिले इराकका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहाकार मोवाफाक अल रुबेइसँग रहेको छ । आफ्नो कोठामा सद्दाम हुसेनको कास्यमूर्तिको घाँटीमा उक्त डोरी लट्काउँदै सन् २०१३ मा उनले आफ्नो तस्वीर खिचेर सार्वजनिक गरेपछि त्यसले ठूलै तहल्का मच्चाएको थियो । अहिले उक्त डोरी किन्न धेरैले प्रस्ताव गरेको बीबीसीले जनाएको छ ।

उक्त चर्चित डोरीलाई महंगो मूल्यमा किन्ने प्रस्ताव गर्नेहरुमा दुइजना कुवेती व्यवसायी, एउटा इरानी धार्मिक संगठन तथा एउटा इजरायली परिवार समेत रहेका छन् । उनीहरुले उक्त डोरीलाई ७० लाख अमेरिकी डलर सम्ममा किन्ने प्रस्ताव गरेका छन् । तर उक्त डोरी आफुसँग राखेका अल रुबेइले भने यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

तर सद्दामलाई झुण्डाइएको डोरीलाई लिलाम बिक्रि गर्ने कामको मानव अधिकारवादीहरुले विरोध गरेका छन् । यदि यसरी बिक्रि गरिएमा पनि त्यसरी प्राप्त रकम कुनै व्यक्तिको गोजीमा नभै इराकी सरकारको ढुकुटीमा जानुपर्ने माग कतिपयको छ ।

दुइ वर्षअघि एक बेलायती पत्रिकालाई दिएको अन्तरवार्तामा अल रुबेइले सद्दाम हुसेन संग्राहलय नबनुन्जेल सम्मका लागि आफुले सद्दामलाई फाँसी दिएको डोरीको टुक्रा र सद्दामको मूर्ति आफ्नो कोठामा राखेको बताएका थिए ।

सद्दामलाई सन् २००६ मा फाँसी दिएर डोरी काटिएसँगै आफुले त्यहीँ बेला उक्त डोरीको एक टुक्रा आफ्नो साथमै ल्याएको उनले बताएका छन् । उक्त डोरीलाई सद्दामको मूर्तिको घाँटीमा बेर्नु उपयुक्त हुने ठानेर आफुले त्यसै गरेको उनको भनाइ छ ।