उपेन्द्र सर,
म तपाइँका हजारौं शुभचिन्तकमध्ये एक हुँ, जसलाई तपाइँप्रति अगाध विश्वास
अनि श्रद्धा छ। कारण तपाइँको सहृदयी मन अनि खाँटी नेपालीपनले। संसारमा
मानिसले आशीर्वाद कि सरस्वतीको पाउँछन्, कि त लक्ष्मीको। कि त दुवैको
पाउँदैनन्। तपाइँ यस्तो एउटा भाग्यमानी पुरुष हुनुहुन्छ, जसलाई लक्ष्मी र
सरस्वती दुवैको बराबर आशीर्वाद छ।
महतो
मेरो
विचारमा तपाइँले पूर्वजन्ममा निकै पुण्यकर्मको ब्यांक ब्यालेन्स
राख्नुभएको थियो। सायद जीवनको केही क्षण ब्यांकसम्म पुग्न गाह्रो भए पनि
पुन: तपाइँको आफ्नो एकाउन्ट भेटाइहाल्नुभो। मान्छे भनेको स्वभावैले लोभी
हुन्छ। तर तपाइँमा त्यो कुरा रतिभर पनि देखिँदैन, नत्र डा. जुगल भुर्तेल
भन्दै हुनुहुन्थ्यो- वर्षमा पाँचदेखि १० करोड तपाइँ चन्दा बाँड्नुहुन्छ रे !
जो हामी जस्ता सर्वसाधारणका लागि ठूलो रकम हो।
त्यसो त यो देशमा अरू पनि धनी मान्छे छन्। उनीहरूको मन गरिब छ। जो
चानचुन पैसा ट्यांकामा र नोट ब्यांकमा राख्छन्। त्योभन्दा पनि डरलाग्दो
यिनीहरू राजनीतिक साहारा लिएर नक्कली भ्याट बिलले गरिब जनताको ट्याक्स
रगतजसरी चुसिरहेछन्। र, आफूलाई ठूला व्यापारी घरना भनिरहेछन्।
ईश्वरसँग मेरो प्रार्थना छ- तपाइँलाई सधैं ईश्वरको अनुकम्पा रहिरहोस्। किनभने मानवसेवा नै माधव सेवा हो।
मैले यत्रो भूमिका किन बाँधें भनेर तपाइँ दोधारमा पर्नुभयो होला।
दोधारमा पर्नुपर्दैन। यो मेरो एउटा कोरा कल्पना मात्रै हो। आजभन्दा १०
वर्षअगाडि तपाइँले दिनरात नभनी तन, मन, धन खर्च गरेर स्थापना गरेको
एनआरएनलाई नकारात्मक आँखाले हेर्ने हो भने दसैं मनाउन आउने, ठूलाठूला कुरा
गर्ने, करोडौं रुपैयाँ राज्यसँग लिने र भोजभतेर खाने कुम्भ मेला जस्तो
मात्र लाग्छ।
१० वर्षसम्म यसले खासै केही उपलब्धि हासिल गर्न सकेको छैन भन्दा पनि फरक
नपर्ला। अब हुँदाहुँदा दूषित राजनीतिको गिद्देदृष्टि पनि यसमा पर्न
लागिसक्यो। यो देश यस्तो छ, जहाँ हरेक कुरालाई राजनीतिले नछोई
छोड्दै-छोड्दैन, छुन्छ-छुन्छ।
मैले तीनचारवटा एनआरएनको कार्यक्रममा सहभागी हुने मौका पाएको थिएँ र
८।१० वटा युरोपेली देश घुमेको पनि छु। र त्यहाँ भेटिने नेपालीको हालत
नजिकबाट बुझेको पनि छु। बिचरा निर्धन देशबाट गएका ज्यान पाल्नै धौ- धौ छ।
मेसिन जस्तो छ उनीहरूको जीवन। कति त दिनभरि वर्गरसपमा बस्ने बेलुका बढी
भएको बचेकुचेको खाको देखेको छु। चारपाँचजना औंलामा गन्न सक्ने मान्छे छोडेर
बाँकी बाँच्नकै लागि संघर्ष गरिरहेका छन्। तिनले त्यहाँ शरीरमा रगत
हुन्जेल संघर्ष गर्नेछन्, जब रिटायर्ड होलान् तिनको जीवन सम्झेर मलाई कहाली
लाग्छ। ती न घरका हुनेछन् न घाटका।
यहाँनेर मलाई एउटा लोककथा सम्झना आउँछ। एकजना हिन्दु भारतीयले
पाकिस्तानी केटी मन पराउँदोरहेछ। केटी छोड्न नसकेर ऊ पाकिस्तानै पुगेछ।
धर्म परिवर्तन गर्ने भए मात्रै आफ्नी छोरी दिने केटीका अभिभावकको कुरा
सुनेर उसले हुन्छ भन्यो र विवाह गर्यो।
दिन बित्दै गयो। एक दिन दिउँसो सुतिरहेको बेला उसले सपना देखेछ- ठूलो
भीरबाट खस्न लागेछ। ऊ निद्रामै राम ! राम ! भन्दै कराएछ। त्यो सुनेर सबै
मुसलमान जम्मा भएछन् र उसलाई लखेटेछन्। त्यही हालत हुनेछ यी स्वदेशबाट के छ
र भनी भाग्नेहरूको। यो देशमा सबै छ तर एउटा इमानदार मान्छे छैन, जोसित तन,
मन, धन, बुद्धि, विवेक भएको होस्।
मेरो विचारमा यहाँ विभिन्न कालखण्डमा मोदीकेयर, धनीराम उपहार,
गोल्डक्वेष्ट, हर्बो, ट्रिनेटी बिजनेस, युनिटीको नाममा अर्बौं रुपैयाँ
बाहिरिसकेको छ। अझ ढुकुटी र ब्याजमा पैसा लगाउनेको ठूलो जमातै तयार
भइसक्यो, जसको कारण केही वर्षमै धेरैले आत्महत्या गर्नुपर्ने स्थिति आउनेछ।
साथै धेरैको सम्बन्ध-विच्छेद हुनेछ।
विदेशमा दु:ख गरी कमाएको पैसा। विशेषगरी खाडी मुलुकमा कमाएको पैसा।
पतिले पठाइरहेछन्। पति पाँच वर्षपछि फर्केर आउँछ। न पैसा छ न पत्नी छ।
महिलाका हकमा पनि यही समस्या भोगिरहेछन्। विदेशबाट आएको प्राय: सबै रकम
अनुत्पादक चीजमा खर्च भइरहेछ। घर निर्माण र बाँकी सबै विलासिताका सामानमा
खर्च भइरहेछ।
यो अवस्थाले तपाइँले एउटा ब्यांकको स्थापना गर्नुपर्यो पहिलो तप्का
खाडी मुलुकमा पुगेका नेपालीका लागि, दोस्रो युरोपियन नेपालीका लागि र
तेस्रो रैथानेहरूका लागि। जब तपाइँले यो ब्यांक स्थापना गर्नुहुनेछ, जसको
पहिलो काम २० हजार मेगावाटको बिजुली उत्पादनमा लगानी गर्नु हो।
अझ बढी हुँदा छिमेकी राष्ट्रलाई पनि बेच्न सकिन्छ। ५० वटा वाइड बडी भएका
जहाज किनेर युरोप सीधै उडान गर्नु हो। जो सधैं र सबैलाई चाहिन्छ। जसको
लागि तपाइँले निश्चय पनि ठूलो संघर्ष गर्नुपर्ला। ठूलो जनशक्तिको आवश्यकता
पर्ला, जुन तपाइँले सजिलै जुटाउन सक्नुहुनेछ। किनभने तपाइँसँग काम गर्ने मन
छ।
निश्चय पनि आफ्नो कार्यको सद्भाव दूतका निम्ति नेपालीका आँखामा
नबिझाउने, सबैले रुचाएका श्रद्धेय मदनकृष्ण हरिवंश छँदैछन्। जीवा लामिछाने,
शेष घले, डा. जुगल भुर्तेल, आदित्य झा, भवन भट्ट र कुमार पन्त आदिलाई पनि
साथ लिनुभयो भने विदेशमा बसेर रगतपसिना बगाइरहेकाहरूलाई बुढेसकाल बिताउन
सहज होला। उनीहरूले उठाएको नागरिकताको कुराले यस्तै झल्को दिन्छ। तपाइँले
यो कार्य आजै, अझ अहिल्यै गर्न थाल्नुभयो भने तपाइँले जन्माएको एनआरएन त
बाँच्छ, बाँच्छ, तपाइँको जीवन सुगन्धित हुनेछ, अन्यथा मैले सुरुमै
लेखेजस्तो संसारमा यो मात्र एउटा यस्तो देश हो, जहाँ हरेक चीजलाई राजनीतिले
छुन्छ-छुन्छ। तपाइँको एनआरएन भताभुंग हुन समय लाग्ने छैन तासको घरजस्तै।
उही तपाइँकै शुभचिन्तक
उत्तम सञ्जेल