खण्डन विज्ञप्तिलाई एनसेलले पनि आफ्नो वेबसाइटमा शुक्रबार बिहान ११ बजेर २८ मिनेटमा राखिसकेको थियो। साथमा टेलिकम बिट भएका पत्रकारहरुलाई पनि इमेलबाट पठाइसकेको थियो। तर एनसेलको सिइओको ब्लग छाप्ने पत्रिकासहित प्रमुख कुनै पनि ठूला दैनिकहरुले यसबारे केही लेखेका छैनन्।
यो खण्डन विज्ञप्ति आएपछि Veckans Affärer ले पनि अर्को फलोअप छाप्दै तीन महत्त्वपूर्ण प्रश्नको जवाफ दिन चुनौति दिएको छ।
स्विडिश भाषामा छापिएको रिपोर्ट भएकोले गुगल ट्रान्सलेटको आधारमा कनिकुथी यसको नेपालीमा भावअनुवाद गर्ने प्रयास गरेको छु। स्विडिश बुझ्नेले मौलिक लेख यहाँ पढेर यसमा सुधार गर्ने काम गरिदिनुहोला। पत्रिकाले उठाएका तीन प्रश्न यस्ता छन्-
एक- एनसेल अफेयरबाट वास्तविक फाइदा कसलाई भयो ?
टेलियासोनेराले एनसेलको मालिक भिसोर ग्रुप भएको दावी गरेको छ। तर फाइदा कसलाई भएको हो त ? राजबहादुर सिंहलाई। फाइदा पाउने उनी भएको शंका मात्र पनि टेलियासोनेरा नेपालमा भ्रष्टाचारमा दोषी हुनसक्ने विषयमा अनुसन्धान थाल्ने कारण बन्न सक्छ।हाम्रो अनुसन्धानले देखाएको छ कि उनीहरुले आफ्नो उज्बेकिस्तानमा रहेको व्यापार बढाउन एनसेल, राजबहादुर सिंह र राज ग्रुपलाई समावेश गर्नुपर्ने प्रतिवेदन बनाएका थिए।
यसबाहेक एनसेलको शेयर लिने अरु कम्पनीहरुको बारेमा पनि प्रश्नहरु उठ्छन्। टेलियासोनेराले भिसोर ग्रुपसँग डिल गर्नु केही अघिसम्म स्वामित्वको सूचिमा ती कम्पनीहरु थिए, तर पछि रहस्यमय ढंगले गायब भए। साइप्रसको दाल्टोट्रेड लिमिटेड पछाडि को थियो ? स्पाइस नेपाल/एनसेलको शेयर किनेसँगै टेलियासोनेराले व्यापार गरेको ब्रिटिस भर्जिन आइल्यान्डमा दर्ता भएको झोदर इन्भेस्टमेन्टका मालिकहरु को हुन् ? ती कम्पनीका पछाडि वास्तवमा को छन् र क्यारेबियनको झोदर इन्भेस्टमेन्ट र साइप्रसको दाल्टोट्रेडसित किन कारोबार गर्यो भन्ने जवाफ दिन टेलियासोनेराले चाहेको छैन।
दोस्रो- राजबहादुर सिंहले स्पाइस नेपालको ८० प्रतिशत शेयर कसरी पाए ?
हाम्रो अनुसन्धानले देखाएको छ कि राजबहादुर सिंहको राज ग्रुपले पुराना दुई लगानीकर्ताबाट स्पाइस नेपाल (अहिलेको एनसेलको लाइसेन्स पाएको कम्पनी) सिज गरेका थिए र त्यसपछि स्विडिस-फिनिश टेलिकम जायन्टलाई बेचेका थिए। यो तथ्यलाई टेलियासोनेराले पनि इन्कार गरेको छैन।यो जानाजानी गरिएको कानुनी र आर्थिक जटिल कारोबार थियो। स्पाइस नेपाल- अहिलेको एनसेलको स्वामित्व फ्रड तरिकाबाट नियन्त्रणमा लिएको मालिकबाट टेलियासोनेराले हात पारेको हो, उसले यो तथ्यलाई पूर्ण रुपमा उपेक्षा गरेको छ। यही तथ्यमात्रै पनि उसले गरेको अपराधबारे छानबिन थाल्ने पर्याप्त कारण हुनसक्छ।
तेस्रो- टेलियासोनेराबारे नेपालमा छानबिन हुँदैछ ? भ्रष्टाचार र घुसखोरीको अभियोग लागेको छ ?
टेलियासोनेराका सिइओ लार्स नाइबर्गले उज्बेकिस्तानकै कुरामा जस्तै तर्क गर्दै भनेका छन् कि नेपालमा भइरहेका छानबिन बारे आफूलाई केही जानकारी छैन।वास्तवमा नेपालमा भइरहेका कानुनी प्रक्रिया एनसेलको दैनिक कामको भाग हो। टेलियासोनेरालाई यसबारे जानकारी छैन भन्नु निकै अचम्मको कुरा हो। थाहा नभएको भन्दै उसले कुरा लुकाउन खोजेको छ।
यो पनि पढ्नुस्
एनसेलले झेल गरी भन्सार छलेको प्रमाणित,५५ लाख जरिवाना
स्विडेनको पत्रिकामा एनसेल भ्रष्टाचारको पर्दाफास