११ जेठ, काठमाडौं । संविधान बनाउने म्यान्डेट लिएर संविधानसभा भवन पुगेका सभासद्हरु संविधान बनाउनेभन्दा पनि सत्ताको खिचातानी र कमाउधन्दा लागेका छन् ।
नयाँ संबिधानका बिबादित बिषयहरुको चाङ छ, त्यसलाई घटाउने, बिबाद समाधान गर्ने र जनताले चाहेको जस्तो संविधान बनाउनेमा सभासद्को ध्यान छैन् । धेरैजसो सभासद्हरु आइएनजीओको पैसामा ल्यापटप बोकेर, गाडी चढेर, तारे होटलमा सेमिनारमा भुलेर र महिनैपिच्छे बिदेश सयर गरेर समय काटेका छन् । दोस्रोपटक थपिएको एक बर्षे म्यादमा संविधानसभाको जम्मा ९१ मिनेटमात्र बैठक वस्यो । संविधान बनाउन भन्दा पनि सत्ताको गणितमा अल्भिmएका सभासद्ले जनतालाई धोका दिएर सत्ताको वरिपरि रमाइरहेका छन् । अहिले म्याद थपका लागि अनेक बहाना बनाएर उनीहरुनै याचना गरिरहेका छन् । यसै मेलोमा हामीले केही मुख्य दलका सभासदहरुलाई सोधेका छौं, तीन बर्षसम्म संविधान नबन्नुमा तपाई दोषी हो कि हैन ? संविधान नबनेकोमा तपाईलाई जनताले सजायँ किन नदिने ? तपाईहरुका तमात कर्तुतलाई टुलुटुलु हेरेर, माफी दिएर फेरि किन म्याद थप्ने ?
एकराज भण्डारी, एकीकृत नेकपा माओवादी
सशस्त्र विद्रोहबाट आएको शक्ति र संवैधानिक राजतन्त्र मान्दै आएको शक्तिबीच सहमति हुन नसक्दा शान्ति प्रकृया टुंगिन सकेन र संविधान बन्न ढिलो भयो । संविधानसभाको म्याद दुई वर्षको नभएर चारवर्षको राखेको भए अहिले भएका जति पनि काम हुन सक्दैन थियो । दुई वर्षको राखेर हामीले धेरै ठीक गर्यौं । अब पनि थोरै अवधिको लागि संविधानसभाको म्याद जानुपर्छ । तब मात्र जनताको खबरदारी र दबाब बढ्छ । अनि छोटो समयमा नै संविधान बन्छ ।
गगन थापा, नेपाली कांग्रेस
माफी दिने भन्दा पनि संविधानसभालाई अब नैतिक बल प्रदान गर्नको लागि सबै सभासदले थपिएको म्यादमा कुनैपनि तलब सुविधा नलिने प्रण गर्नुपर्छ । शान्ति प्रकृया र संविधान निर्माणको कार्यतालिका बनाएर सबै विषयमा सँगसँगै काम अगाडि बढाउनुपर्छ । शक्ति बाँडफाँडको पनि त्यसै अनुसार कार्यसूची बनाउनुपर्छ । यसरी काम गर्ने गरी बढीमा ६ महिनाको लागि संविधानसभाको म्याद थप्न सकिन्छ ।
रविन्द्र अधिकारी, नेकपा एमाले
संविधानसँगै शान्ति प्रकृयालाई पनि सँगसँगै लैजानुपर्ने बाध्यता छ । शान्ति प्रकृया र संविधान निर्माणको कामलाई अघि बढाउन अझै राजनीतिक सहमतिको खाँचो छ ।
सहमति बनाएर शान्ति प्रकृया पूरा गर्न र संविधान बनाउन हामीलाई अझै केही समय आवश्यकता छ । यो वास्ताविकता बुझेर हामीलाई क्षमा दिंदै केही समय दिनुपर्छ भन्ने मेरो अनुरोध छ ।
अभिशेकप्रताप शाह, मधेसी जनअधिकार फोरम
मुख्य राजनीतिक दलहरुले संविधान निर्माण र शान्ति प्रकृयाको लागि साझा अवधारणा र प्रतिबद्धता ल्याउनुपर्छ । नियत पनि सफा हुनुपर्छ । आवश्यकता पर्यो भने हामी पनि दबाबमुलक कार्यक्रम गर्छौं ।
रामजनम चौधरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक
यसको लागि हामीले विशेष गरी ठूला पार्टीहरुलाई दबाब दिईरहेका छौं । जनताको हकअधिकार सुरक्षित र सुनिश्चित गर्नको लागि पनि संविधानसभाबाटै संविधान बन्नुपर्छ ।
जितेन्द्र सोनार, तराई मधेस लोकतान्त्रिक पार्टी
अब एउटा श्वेतपत्र जारी गरेर यति काम सक्यौं, यति बाँकी छ र बाँकी काम अब यति समयमा सक्छौं भनेर हामीले प्रतिबद्धता जनाउनैपर्छ । दलहरुको सहमतिको आधारमा शान्ति प्रकृया र संविधान निर्माणको खाका बनाएर संविधानसभाको म्याद थप्नुपर्छ । थपिएको म्यादमा हामी संविधान बनाउन सक्छौं भनेर सबैले प्रतिबद्धता जनाउनुपर्छ । संविधानसभाबाटै संविधान बनाउन हामी अग्रसर भएकाले जनताले हामीलाई एकपटक माफी दिनुपर्छ ।
लक्ष्मणलाल कर्ण, नेपाल सद्भावना पार्टी
ऊबेलाको बिद्रोही पक्ष अहिले सरकारमा छ । ऊ लगायत अरु मुख्य दुई ठूला दल जिम्मेवार नभएकै कारण समयमा संविधान बन्न सकेन । त्यसैले अब जनतामाझ जानुपर्छ । फैसला जनताले नै गर्छन् ।
लिला न्याईच्याईं, नेपाल मजदूर किसान पार्टी
संविधानसभाबाटै संविधान बनाउने कल्पना गरिएकाले यो भन्दा अर्को विकल्प छैन । एकमात्र वैधानिक निकाय विघटन भयो भने यसले झन् मुलुकमा ठूलो समस्या निम्त्याउँछ । त्यसैले संविधानसभालाई सकृय बनाएर संविधान निर्माणको कामलाई अघि बढाउनुपर्छ र जनतालाई खबरदारी गर्ने मौका पनि दिनुपर्छ । जनताको पक्षमा संविधान बनाउने काम संविधानसभाको हो ।
कल्पना राणा, नेकपा संयुक्त
जनआन्दोलनको म्यान्डेट पूरा गर्न तथा जनआन्दोलनका घाईते र शहीदका सपना साकार पार्न पनि संविधानसभाबाट संविधान बन्नुपर्छ । संविधानसभाको म्याद थप्नु बाहेक अरु कुनै विकल्प छैन । त्यसैले एकपटक माफी दिएर हामीलाई संविधान बन्ने मौका दिनुपर्छ ।
चन्द्रबहादुर गुरुङ, राप्रपा नेपाल
यस्तो अवस्थामा संविधानसभाको अवधि अनन्तकालको रुपमा परिकल्पना गर्नु असंवैधानिक, अप्रजातान्त्रिक र अनैतिक कुरा हो । कुनै पनि बहानामा संविधानसभाको म्याद थप्न पाईंदैन । प्रजातन्त्रको आत्मा भनेको चुनाव हो । चुनाव भनेको निश्चित अवधिको लागि मात्रै जानदेश हो । त्यसैले अब म्याद थप होईन, नयाँ जनादेशको लागि चुनावमा जानुपर्छ । जनताले माफी दिने ठाउँ नै छैन ।