Wednesday, July 30, 2014

अब बिहेमा डेढ सय जन्ती र भोजमा ३ सय ५० लाई बोलाउन पाइने - Pahilopost







मनोज सत्याल/पहिलोपोस्ट-



काठमाडौं : सरकारले मंगलबार संसदमा पेश गरेको सामाजिक व्यवहार सुधार ऐन विधेयक पास भए बिहे गर्दा १ सय ५० जना जन्ति लान पाइनेछ। यसअघिको सामाजिक सुधार ऐनले तोकेको ५१ जना मात्र जन्ती लान पाउने व्यवस्थालाई परिमार्जन गर्दै विधेयकले १ सय ५० जनाको संख्या तोकेको छ।

त्यस्तै विधेयकले बिहे भोजमा ३ सय ५० जनासम्मको संख्या तोकेको छ। १ सय ५० भन्दा बढी जन्ती लगे वा ३ सय ५० भन्दा बढीलाई भोजमा बोलाए ५० हजार रुपैयाँ जरीवानाको व्यवस्था ऐनले गरेको छ। तर विवाहबाहेका भोजमा भने सयजनाभन्दा बढीलाई बोलाउन पाइने छैन।

त्यसैगरी विवाह छिन्न (टिकोटालो) जाँदा २५ जनासम्मको संख्या तोकिएको छ। ऐनमा २५ भन्दा बढी मान्छे लिएर विवाहको कुरो छिन्न गएमा ३५ हजार जरीवाना गर्ने उल्लेख छ।

२०३३ सालमा सरकारले ल्याएको सामाजिक सुधार ऐनमा ५१ जनाभन्दा धेरै जन्ती लैजान नपाउने व्यवस्था थियो। तर ऐनको मन्त्री, न्यायधिश र सेनाका हाकिमहरुले नै धज्जी उडाए पछि कार्यान्वयन गर्न समस्या परेको संविधानविद् काशिराज दाहाल बताउँछन्। सामाजिक व्यवहार सुधार ऐन कार्यान्वयन गर्न सर्वोच्च अदालतले सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेपनि ऐन समय अनुकल नभएपछि कार्यान्वयन हुन सकेन।

सरकारले सामाजिक व्यवहारलाई मितव्ययी एवं मर्यादित बनाउने सम्बन्धमा समयानुकूल कानून बनाउन वाञ्छनिय भएकोले नयाँ विधेयक ल्याउनु परेको बताएको छ। नेपालीहरुको रीतिरिवाजको अभ्यास गर्ने तरीकामा आएको परिवर्तन, पूर्वाधार एवं सूचना प्रविधिको क्षेत्रमा भएको द्रूत विकासको कारण सम्पर्क र सम्बन्धमा विस्तार र प्रतिव्यक्ति आयमा भएको वृद्धि र उपभोगको संस्कृतिको बढोत्तरीका कारण २०३३ सालको ऐन कार्यन्वयन गर्न समस्या भएकोले नयाँ ऐन ल्याइएको जनाइएको छ।

ऐनको दफा १० मा भनिएको छ, ‘विवाहमा बाजावाला र भरिया सहित एक सय पचास जनाभन्दा बढी जन्ती वा बरियात लैजान हुँदैन।‘ सो दफा उल्लंघन गर्नेलाई पचास हजारसम्म जरीवाना हुने उल्लेख छ।

त्यस्तै दफा ११ को १ (क) मा विवाहको भोजमा तीन सय पचास जना मात्र लैजान पाउने व्यवस्था गरिएको छ। सोही दफामा विवाह बाहेकको भोजमा एक सय जना मात्र बोलाउन पाउने प्रतिबन्धात्मक व्यवस्था छ। तर विशुद्द धार्मिक, सामाजिक कार्य वा कल्याणकारी कामको निमित्त खर्च जुटाउने उद्देश्यले सामूहिक रुपमा आयोजना गरिने कार्यको हकमा यो बन्देज लागु हुने छैन।

ऐनको दफा ११ को २ मा भोजमा तीन सय ५० भन्दा धेरैलाई बोलाइए ५० हजार र अन्य भोजमा तोकेकोभन्दा बढी मानिस बोलाइए २५ हजार रुपैयाँ जरीवानाको व्यवस्था गरेको छ।

के भन्छन् कानुनविद्
कानुनविद् काशीराज दाहाल सरकारले समाज र जनस्तरको आवश्यकता अध्ययन गरेर अहिलको विधेयक ल्याएको भए सहज रुपमा कार्यन्वयन हुने बताउँछन्। तर, राज्यले नै समाज परिवर्तन गर्न कानुन बनाएको हो भने विधेयकलाई कडाइका साथ कार्यान्वयन गनुपर्ने उनको तर्क छ।

नेपालमा कानुन बनाउनु अघि अध्ययन अनुसन्धान गर्ने निकायको रुपमा नेपाल कानुन आयोग रहे पनि त्यसलाई निष्क्रिय बनाएर मन्त्रालय आफैँले कानुन बनाउँदा कार्यन्वयनमा कठिनाई उत्पन्न हुने गरेको दाहालले बताए।

अर्का कानुनविद् डा. विपिन अधिकारी यदि सरकारले सामाजिक व्यवहार सुधार विधेयक कार्यान्वयन गर्ने भए गाउँ तथा वडास्तरमा जिम्मा दिनुपर्ने बताए। सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यलयबाट मात्र यसलाई कार्यान्वयन गर्न नसक्ने उनको तर्क छ।

विगतको ऐन राज्यले कसैप्रति बदला लिने उद्देश्यले प्रयोग गर्नु बाहेक कार्यन्वयनमा नआएको उल्लेख गर्दै उनले मूल समस्या कार्यान्वयन पक्षमा रहेको बताए। संविधानविद् दाहाल र अधिकारी विधेयकको सन्दर्भमा राज्यले आवश्यक मात्रामा चर्चा गर्नुपर्ने र विधयेक अनुकल संस्कृति निमार्ण गर्न भने चुकेको विचारमा सहमत छन्।

Tuesday, July 29, 2014

डिभी र पिआर लिने सरकारी कर्मचारीको जागिर चट हुने कानुन संसद् पुग्यो, निवेदन दिनेलाई पनि नछाडिने - mysansar


bidheyak
केही अघिको कुरा हो, विदेशमा एक जना नेपालीको मृत्यु भएछ। शव नेपाल ल्याउन प्रक्रिया चलाउने क्रममा पो थाहा भयो, ती त सरकारी कर्मचारी पो रहेछन्। सबै अचम्ममा परे। खासमा उनी घरविदा लिएर बसेका रहेछन्। यता नेपालमा रोजगारदाता चाहिँ विदा लिएर घर बसिरहेका होलान् भन्ने सोच्दै थियो। उता उनी विदेशमा डिभी लिएर काम गर्दै थिए। यता नेपालमा जागिर जारी थियो, तलब पनि पाक्दै थियो।
यही घटनापछि सरकारी कर्मचारी भएर डिभी र पिआर लिई दोहोरो सुविधा लिनेहरुलाई केही न केही कारबाही गर्नुपर्छ भन्ने सोचले जन्म लियो। ठूलै संघर्ष गर्नुपर्‍यो यस क्रममा मुख्य सचिव लीलामणि पौड्यालले। उनलाई दह्रो साथ दिए स्थानीय प्रशासन मन्त्री लालबाबु पण्डितले। मन्त्रिपरिषद्‍मा मन्त्रीहरुले नै अड्को थापे। अन्ततः विधेयक बनेर संसदमा प्रस्तुत भएको छ। अब त्यहाँबाट थपघटसहित पारित भएपछि यो ऐन बन्नेछ। ऐनमा लेखिएको छ- ‘विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएमा वा सोको निवेदन दिएमा निजामती कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिनेछ’
DV-PR
संसद्‍ले पारित गरेपछि यो ऐन लागू हुनेछ। ऐन लागू भएपछि कर्मचारीलाई ३० दिनभित्र डिभी, पिआर वा निजामती सेवा मध्ये एक रोज्न समय दिइनेछ। अर्को ३० दिनमा त्यागेको जानकारी गराउन समय दिइनेछ। त्यसो नगरे बाँकी ३० दिनमा कारबाही हुने मन्त्री पण्डितले संसदमा बताएका छन्।
सुरुमा यो विधेयक तयार पार्दा सरकारी कर्मचारीका पति/पत्नीले पनि विदेशी नागरिकता, पिआर, ग्रीनकार्ड लिन नपाउने गरी बनाइएको थियो। तर मन्त्रीहरु नै विरोधमा उत्रिएपछि कर्मचारीकी पत्नीले समेत डिभी, पिआर लगायतका विदेशी आवासीय परिचय पत्र लिन पाउने गरी विधेयक बनाएर संसद्‍मा पठाइएको छ।
विधेयक संसद्‍मा प्रस्तुत हुँदा माओवादी सभासद् रामनारायण बिडारीले त कर्मचारीको श्रीमान् श्रीमतीले डिभि पिआर लिन नपाउने ब्यवस्था ऐनमा गर्नबाट सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित डराएको समेत बताउन चुकेनन्। ‘श्रीमतीहरु विदेशमा बस्ने, श्रीमानहरु त्यहीँको सुविधा लिने, यहाँ भ्रष्टाचार गर्ने, पैसा थुपार्ने र पदको दुरुपयोग गर्ने गर्छन्,’ बिडारीले भने– ‘त्यस्ता डिभि पिआर लिने कर्मचारीलाई कारवाही गर्न मन्त्रीज्यूले हिम्मत गर्नु भएन सदनले गरोस्।’ संसदमा भएको बहस र मन्त्रीको जवाफ अनि कसरी विधेयकमा पहिलेको व्यवस्था कस्तो थियो पढ्न यहाँ क्लिक गर्नुस्।
के छ त विधेयकमा ? पढ्नुस्-
Nijamati1
Nijamati2
Nijamati3
Nijamati4
Nijamati5
Nijamati6
Nijamati7
Nijamati8
Nijamati9

Wednesday, July 23, 2014

यी हुन बुद्धि बढाउने फलफूल - ओम बानियाँ - annapurnapost


प्रकृतिले प्राणीहरूलाई प्रशस्त मात्रामा अनमोल खाद्यान्‍न तथा फलफूलहरू उत्पादन गरिदिएको छ। तर, सबै अन्न तथा फलफूलका आआफ्ना विशेषता छन्। कुनै प्रोटिनप्रधान छन् त कुनै भिटामन, कार्बोहाइडे्रट वा बोसोप्रधान छन्। त्यस्तै कुनै सात्विक छन् त कुनै राजसिक वा तामसिक छन्। चामल, गहुँ, मुँग, मकै आदि अन्न; लौका, फर्सी, करेला, लसुन, टमाटर, काँक्रो, आलु, मूला आदि तरकारी; सिमी, बोडी, भटमास, केराउ आदि गेडागुडी तथा हरियो सागपात र फलफूल सात्विक भोजनका साथै सन्तुलित भोजन पनि हुन्। यिनमा प्रोटिन, कार्बोहाइडे्रट, फ्याट, भिटामिन तथा मिनरल्स उपलब्ध हुन्छन्।

बालबालिकादेखि वृद्धसम्मलाई चाहिने भोजन पनि यिनै हुन्। तर, यी भोजनमध्ये केही यस्ता अन्न तथा फलफूलहरू छन् जसले मानिसको शरीर तथा मस्तिष्कलाई ताकत दिन्छन्, स्मरणशक्ति बढाउँछन्। यस्ता मस्तिष्कमैत्री अन्न तथा फलफूल गाउँघरका बगैंचा, करेसाबारी तथा वरपरका जंगलमै उपलब्ध हुन्छन्। त्यसैले यहाँ यस्ता खाद्यपदार्थका बारेमा उल्लेख गरिएको छ।

जमुना






जमुना त सबैले देखेको तथा खाएको फल हो। तर, जमुना मस्तिष्कवर्द्धक फल हो भन्ने कुरा धेरै कम मानिसलाई थाहा छ। वास्तवमा वर्षा ऋतुमा नेपालमा पनि प्रशस्त पाइने जमुना मानिसका लागि ज्यादै उत्तम फल हो। जमुनाले रक्तशोधन गरी चेहरालाई चमकदार बनाउँछ, चिडचिडापन हटाउँछ। यसले पेटको विकार हटाउँछ, मेमोरी बढाउँछ, बुद्धिलाई तीव्र बनाउँछ।

बिहान र साँझ खाजाका रूपमा जमुना खानु ज्यादै उत्तम हुन्छ।

पालुंगो






बुद्धि तीव्र पार्ने तथा दिमागलाई दुरुस्त राख्ने खाद्यान्नका रूपमा पालुंगो त प्रकृतिको वरदान नै हो। मस्तिष्कका लागि योभन्दा उपयुक्त अर्को हरियो सागतपात छैन। पालुंगोमा भिटामिन ए, बी, सी, क्लोरोफिल, बिटा कैटोरिन, राइवोफ्लेबिन तथा सोडियम आदि हुन्छन्। माछामासुमा झैं प्रोटिन हुन्छ।

कतिपय बालबालिकालाई पालुंगो त्यत्ति स्वादिलो लाग्दैन तर यसको सेवनले मनलाई ताजा बनाउँछ, मस्तिष्कलाई ताकत दिन्छ। यो एउटा महत्त्वपूर्ण ब्रेन टनिक हो भन्‍ने कुरा पोषणविद्हरूले हालसालै प्रमाणित गरिदिएका छन्। त्यसैले हिजोआज विदेशमा पालुंगोको सेवन ह्वात्तै बढेको छ।

पालुंगोलाई विभिन्न तरिकाले सेवन गर्न सकिन्छ। सलादका रूपमा, तरकारी र सुप बनाएर पनि यसलाई खान सकिन्छ। बेलाबेलामा पालुंगोको तरकारी वा सुप बनाएर खानु निकै उत्तम हुन्छ। तर, अक्जेलिक एसिड हुने भएकाले किड्नीका रोगी तथा किड्नीमा पत्थरी जम्ने समस्या भएकाहरूले पालुंगो खान हुँदैन।

अमला






फलहरूमा अमला एक सर्वोत्तम फल हो। यो भिटामिन सीको भण्डार हो। यसले हाड, दाँत र गिजा बलियो बनाउँछ। अनुहारको कान्ति बढाई कपाल फुल्न दिँदैन। नेत्रज्योति बढाउँछ, मस्तिष्कलाई ऊर्जा दिन्छ। मस्तिष्कशक्ति तथा स्मरणशक्ति बढाउँछ। बुद्धि तीव्र बनाई शरीरमा बल-वीर्य वृद्धि गराउँछ। यसले हाई ब्लड प्रेसर, हृदयरोग, क्यान्सर, नपुंसकता, मन्दाग्नि, स्नायु रोग, चर्म रोग, कलेजो तथा मिर्गौलाको रोग, रक्त रोग, जन्डिस, टीबी, पिसाब तथा हड्डीका रोगहरू ठीक पार्न सहयोग गर्छ।

अमला त्रिदोषनाशक फल हो, अर्को बे्रन टनिक। अमलामा पाइने एन्टी अक्सिडेन्ट इन्जाइमले बूढोपन रोक्छ। अमलामा जति रोगप्रतिरोधक, रक्तशोधक तथा बल-वीर्यवद्र्धक तत्त्वहरू पाइन्छ, त्यति तत्त्व संसारका कुनै पदार्थ तथा औषधिमा पाइँदैन।

प्रतिदिन कुनै न कुनै रूपमा दुईचारवटा अमला खानु निकै राम्रो हुन्छ। अमलालाई अनेकौं तरिकाले प्रयोग गर्न सकिन्छ। जस्तै: काटेर सलादका रूपमा, अचार तथा मुरब्बाको रूपमा वा त्यसै पनि खान सकिन्छ। तर, बिहानको खाजामा दुईचारवटा अमलाको मुरब्बा (जाम) सेवन गर्नु सर्वोत्तम हुन्छ।

स्ट्रबरी






अमलाजस्तै स्ट्रबरी अर्को महत्त्वपर्ण फल हो। रातो तथा मीठो यो फलले मस्तिष्कलाई चुस्तदुरुस्त राख्छ। सम्भव भएसम्म बेलाबेलामा स्ट्रबरी खानु राम्रो हुन्छ।

बदाम






बदाम (आलमन्ड) ब्रेन फुडको राजा हो। यसमा शरीरलाई आवश्यक सबै पोषक तत्त्व हुन्छन्। यो मस्तिष्कका लागि निकै लाभदायक छ। बदाम दुई प्रकारका हुन्छन्, मीठो र अलि तीतो। मीठो कागजी बदाम नै स्वास्थ्यवद्र्धक हुन्छ। बदाम बालक, जवान तथा वृद्ध सबैका लागि उत्तिकै उपयोगी हुन्छ। बदामलाई पानीमा भिजाएर, बोक्रा हटाई पिसेर लेप बनाई दूधसँग खानु उत्तम हुन्छ। बदामको दूध तथा बदामको तेलले स्मरणशक्ति तथा नेत्रज्योति बढाउँछ। बदाम आई टनिक पनि हो।

ओखर






बदामजस्तै ओखर पनि बे्रन टनिक हो। ओखरको त रूपरंग नै ब्रेनजस्तै हुन्छ। तर, बदाम र ओखर नेपालमा उत्पादन हुँदैन। सम्भव भएसम्म नास्ताका रूपमा बदाम तथा ओखर खाने गर्नुपर्छ।

अंकुरित गेडागुडी






अंकुरित गेडागुडी त अमृत भोजन नै हो। शरीरशास्त्री भन्छन्, जबसम्म शरीरका कोषहरूको निर्माण तथा पुनर्निर्माण ठीकठीक रूपमा भइरहन्छ तबसम्म बुढ्यौली आउँदैन, शरीर स्वस्थ र बलियो बनिरहन्छ। तर, जब कोषहरूको निर्माण तथा पुनर्निर्माणको प्रक्रियामा विघ्नबाधा पर्छ तब कोषहरूको निर्माण र पुनर्निर्माणको गति मन्द हुन्छ। यसो भएपछि शरीर बूढो तथा कमजोर हुन थाल्छ। तर, भिटामिन ई, भिटामिन सी र कोलिनको पर्याप्त मात्रा प्रत्येक दिनको भोजनमा समावेश गरियो भने शरीरमा कोषहरूको निर्माण तथा पुनर्निर्माण प्रक्रिया ठीक ढंगबाट हुन्छ। जबसम्म यो प्रक्रिया ठीकसँग चल्छ, तबसम्म बुढ्यौली आउँदैन। प्रकृतिको नियमअनुसार बुढ्यौली आउँछ तर यी भिटामिन सेवन गर्ने हो भने ढिलो आउँछ। जस्तो कि ६० वर्षको बूढो पनि ४० वर्षको जवानजस्तो देखिन्छ। यस्ता भिटामिन अंकुरित गेडागुडीमा पाइन्छ। त्यसैले बिहानको खाजामा अंकुरित गेडागडी खानु सुनमा सुगन्ध नै हुन्छ।

अन्य ब्रेन फुड्स







स्याउ, लसुन, कालो अंगुर, कुरिलो, किसमिस, गाजर तथा बन्दागोभी आदिले पनि मस्तिष्कलाई पोषण तथा ताकत प्रदान गर्छ। पीपलको फल पनि मस्तिष्कका लागि निकै उपयोगी हुन्छ। पीपलको मौसममा पीपलको फल खानु निकै राम्रो हुन्छ। यसका साथै काँक्रो, लौका, फर्सी तथा खरभुजाको बीउ पनि ' ब्रेन फुड मानिन्छ। आयुर्वेदका अनुसार लसुन तामसिक पदार्थ हो तर यसको औषधीय गुण धेरै छ। लसुन खाँदा ब्लड प्रेसर घटाउँछ। रगत सफा गरी कोलोस्ट्रोल घटाउँछ। कग्निटिभ क्रिया प्रभावकारी बनाउन सहयोग गर्छ।

Sunday, July 20, 2014

अचम्मका मौरी : तपाईंलाई कुन तथ्य अचम्मको लाग्ला! - गौतम उदय - mysansar



यावत् बस्तु नबनाए पनि, तेरोमेरो भनी साँधसीमा नलगाए पनि, सानोठुलोको विभेद नगरे पनि, धन दौलत नथुपारे पनि करोडौं बर्षदेखी मज्जाले चलेको छ मौरीको जीवन ! मौरी मुख्यतया ९ बर्गमा विभाजित छन, झन्डै २० हजार प्रकारका हुन्छन, र संसारका हरेक भागमा पाहिन्छन् | यिनीहरुको खानाको श्रोत मधुरस (Nectar) र पराग (Pollen) हो | तत्काल चाहिने इन्धनको लागी यिनीहरुले मधुरस प्रयोग गर्छन भने प्रोटिनलगायतका अन्य पौष्टिक पदार्थ पुरा गर्न, र बच्चा हुर्काउनको लागी पराग अथवा केसर प्रयोग गर्दछन् |


मौरीका ६ वोटा खुट्टा, टाउकाको दुईपट्टि हजारौं घनाकार लेन्स भएका कम्पाउण्ड आँखा, टाउकोमाथि ३ वोटा साधारण आँखा, २ जोडी पखेटा, लामो सुंड जस्तै जिब्रो, रस राख्ने छुट्टै थैली, बिबिध प्रकारको नाजिकता थाहा पाउने शरीर, र भालेका १३ भागमा र पोथीका १२ भागमा बाडिएका गन्ध र स्वाद थाहा पाउने १७० वोटा रिसेप्टर जडित २ वोटा एन्टिना, हुन्छन् | यस्ता रिसेप्टरहरु झिंगामा ६२ वोटा र लामखुट्टेमा ७९ वोटा मात्र हुन्छन् |

मौरी जाँगरिलो हुने, समूहमा बस्ने, यसले फूलबाट मह र कुट बनाउने, यसको रानी हुने कुरा त हामी सबैलाई नै थाहा छ, तर यसको जीवनचक्र र जीवन यापनलाई अलि बिस्तृतगरि नियाल्ने हो भने औधि रमाइलो र आश्चर्यको छ |


१) साधारण तथ्य (General Facts): खानाको खोजीमा मौरीहरु प्रत्येक दिन १० किलोमिटरसम्म यात्रा गर्दछन भने एक पटक मह जम्मा गर्न यिनीहरुले ५०-१०० वटा फूल चुस्नु पर्दछ | आफ्नो जीवनकालमा एउटा माउरीले एक चिनीचम्चाको १२ भागको १ भागमात्र मह बनाउन सक्छ | मौरी मात्र त्यस्तो किरा हो जसले बनाएको खाना मान्छेले खान मिल्छ | मौरी उड्दा आउने आवाज पखेटाको स्पिडको आवाज हो | यिनीहरुका पखेटा १ सेकेन्डमा २ सय पटकसम्म फटफटाउंछन, र मौरी प्रतिघन्टा बढीमा २५ किलोमिटरसम्मको बेगले उड्न सक्छन् | आफू गएका हरेक फूलमा यिनीहरुले एक प्रकारको गन्ध छाड्छन, जुन कुरा अन्य मौरीले ५ मिटर टाढाबाट थाहा पाई उक्त फूलमा जाँदैनन् | एउटा फूलको बोटबाट अर्को फूलको बोटसम्म पुग्ने सबैभन्दा छोटो बाटो पहिल्याउने गणितीय क्षमता हुन्छ मौरीहरुमा |


एक घार मौरीको समूहमा २०-६० हजार माउरी हुन्छन् | मौरीलेमात्र छुट्याउन सक्ने हरेक घारको फरक किसिमको बास्ना हुन्छ | रानी माउरी बाहेकका अन्य माहुरीहरु देख्दा उस्तै देखिए पनि काम गर्ने, नगर्ने, टोक्ने, नटोक्ने, भाले, बच्चा नै नपाउने पोथी आदि बिभिन्न प्रकारका हुन्छन् | पोथी मौरीले मात्र मह तथा कुट जम्मा गर्छन, टोक्छन, र टोकेपछि प्राय जसो मर्छन् | भाले मौरीहरुले खाना जम्मा गर्दैनन, टोक्दैनन र गर्भाधान गराउने काम मात्र गर्दछन् | सम्भोग गरेपछि भालेहरु मरिहाल्छन् | १,१०० जति मौरीको टोकाइले मान्छे मर्न सक्छ | मौरीको मस्तिष्क तीलको गेडाजत्रै हुन्छ र यसमा ९०० जतिमात्र कोषहरु हुन्छन, तथापि यिनीहरुमा सम्झने, प्रकाशको कोण तथा दुरीको हिसाब गर्ने अनौठो क्षमता हुन्छ | रानी बाहेक अन्य मौरीको आयु करिब ४५ दिनको हुन्छ | यिनीहरुको कुराकानी गन्ध र नाचमा हुन्छ | नाचले उड्ने दुरी र दिशाको साथै फूलको प्रकार र मात्रासमेत बताउँछ |


मौरीको मह संगाल्ने छुट्टै थैली हुन्छ | महमात्र यस्तो बस्तु हो जुन कहिलै सड्दैन, र यसमा जीवन धान्ने सबै तत्वहरु जस्तै:- ग्लुकोस, प्रोटिन, भिटामिन, खनिज, पानी, इन्जाइम आदि हुन्छन् | १ केजी मह बनाउन करिब ११ सय माहुरीले काम गर्नु पर्दछ, र भैपरी आउने कुरालाई दृस्टीगत गरी माहुरीले आफूलाई चाहिने भन्दा ४२% जति बढी खाना जम्मा गर्दछन् | यदि मौरी नभएको भए संसारमा अहिले पाइने आधा जति पनि बोटबिरुवा पाइने थिएनन् | हाल संसारका १ तिहाइ बिरुवाको गर्भाधान मौरी मार्फत हुन्छ | मौरीले मह बनाउंदा फूलबाट रस चुस्छन, र त्यसमा आफ्नो रयाल मिसाउँछन् | चाकाको कोठामा हालेको महमा भएको करिब १७% जति पानीको मात्रा सुकेर बाक्लो भएपछि कोठामा एक प्रकारको ढकनी लगाई नचाहिंदासम्मको लागी त्यही रुपमा संचय गर्दछन् |


२) रानी मौरीको जन्म (Birth of the Queen Bee): रानी मौरीहरु स्वाभाविक रुपले जन्मिन्नन, योजना गरेर जन्माइन्छन् | जब मौरीको घारमा मौरीको संख्या धान्न नसक्ने गरी ठुलो हुन्छ, मौरीहरुले छुट्टिने सल्लाह गर्दछन र २० वोटा ठुल्ठुला कोठा सहितको चाका बनाउँछन् | बर्तमान रानीले ती सबैमा भाले लागेको एक-एकवोटा फुल पार्छे | फुलहरु लार्भा बनेपछि बिशेष प्रकारका मौरीहरुले ती लार्भालाई बिशेष प्रकारको रोयल जेली नामक खाना खुवाई अरु भन्दा एकदम ठूला बनाउँछन् | लार्भा ८ दिनका भएपछि बर्तमान रानी बस्ने कोठालाई मैनको जालोले घेरिन्छ | त्यसपछि एकातर्फ माहुरीको एउटा ठुलो समूह त्यहाँबाट छुटिएर केही समय अन्तै जाने, आउने, फेरि जाने, फेरि आउने गर्छ भने अर्कोतर्फ यो बर्तमान रानीलाई दुब्लाई उड्न सक्ने बनोस भन्ने हेतुले खाना नै नदिएर भोकभोकै टाटासुकाइ बनाएर राखिन्छ |


अर्काथरी केही पाका मौरीहरुले यो रानीलाई यो घार छाडेर उक्त छुट्टिदैगरेको हुलसंग जान मनाउंछन् | बास्तबमा यो हुल बस्ने ठाउँको ठेगानबिना नै निस्केको हुन्छ | हुलमा केहीलाई अगाडि गएर घर खोज्ने जिम्मेवारी दिइएको हुन्छ | राम्रो बस्ने ठाउँ नपाउन्जेल दिनभरि चर्ने साँझ कुनै एक अस्थायी ठाउँमा सबै जम्मा भई बस्ने गर्दछन् | यसरी कयौं दिनसम्म चर्दैचर्दै छोटोछोटो दुरी यात्रा गर्छन् | जब राम्रो बस्ने ठाउँ पाइन्छ, ठाउँ खोज्न जिम्मा पाएकाहरुले खबर गर्छन र सबै मौरी उक्त ठाउँमा स्थायी बसोबासका लागी जान्छन् |


यता घारमा पारिएका २० वोटा फुलमध्येको पहिलो लार्भाको रानी १० दसौं दिनमा निस्कन्छ र यो पनि या त केही हुलसहित उक्त घार छाडेर नयाँ घारको लागी त्यहाँबाट अन्तै जान्छ या त अन्य १९ वोटा आफ्ना बहिनीहरुलाई लार्भामै टोकेर मार्छ, र उक्त घारको आफै रानी बन्छ | रानी बनेपछि यताउति उडेर वोरिपरिको वाताबरण बुझ्दछ र थुप्रै भाले (Drone) संग उड्दाउड्दै शारीरिक सम्पर्क गर्दछ | त्यसको ३ दिनमा उक्त रानीले दिनको करिब २ हजारका दरले फुल पार्न थाल्छ | अचम्मको कुरा के छ भने यी सबै फुलबाट पोथी माउरीमात्र जन्मिन्छन् | अर्को पटक भालेसंग संसर्ग नै नगरी केही थोरै फुल पार्छ | यी फुलहरुमा भाले नै नलागे पनि नयाँ जीवनमा परिणत हुने क्षमता हुन्छ | तर आश्चर्यको कुरा के छ भने यसरी जन्मिने सबै माउरी भाले (Drone) मात्र बन्दछन् | एउटा घारमा केही सयमात्र भाले माउरी हुन्छन् | अन्य माउरीको जीवन करिब ४५ दिनको भए पनि रानी भने ५ बर्षसम्म बच्न सक्छ | रानी मर्ने कुरा अन्य माहुरीले गन्धबाट केही समय अघि नै थाहा पाउँछन र त्यही अनुरुप नयाँ रानी बनाउन सुरु गरिसकेका हुन्छन् |


३) समाज र श्रम बिभाजन (Society and Division of Labor): मौरीको समाजमा पूर्ण न्यायिक श्रम बिभाजनको सिधान्तमा आधारित हुन्छ | १-२ दिनका बच्चाले आफू जन्मेको कोठा सफा गर्नु पर्ने र तातोको लागी आफ्नै छिमलका अन्यसंग टाँसीएर रहनु पर्ने, ३-५ दिनकाले हुर्केका लार्भालाई खुवाउनु पर्ने, ६-११ दिनकाले भर्खरका लार्भालाई खुवाउनु पर्ने, १२-१७ दिनकाले मैन बनाउने, खाना ओसार्ने, घारको सुरक्षा गर्नु पर्ने तथा अन्य भैपरी आउने काम गर्नु पर्ने, र २२-४५ दिनकाले बाँचुन्जेल नै खाना खोजेर ल्याउनु पर्ने नियम हुन्छ | भालेहरुको काम मात्र गर्भ बोकाउने हुन्छ भने रानीको काम मात्र फुल पार्ने | त्यसको अतिरिक्त बयस्क पोथीहरु मध्ये समुहको सल्लाह अनुसार कतिपयले खाना पत्ता लागाउन जानु पर्छ, कतिपयले खाना जम्मा गर्नु पर्छ, कतिपयले घारको रक्षा गर्नु पर्छ, कतिपयले मरेका माउहुरी लगायतका फोहोर सफा गर्नु पर्छ, कतिपयले पखेटाले हम्केर घारको तापक्रम ठिक ३३-३५ डिग्री सेल्सियसको बिचमा कायम राख्नु पर्छ आदिआदि |


४) गणित र इन्जिनिरियंग (Mathematics and Engineering): संपूर्ण प्रकारका माहुरीले आफ्नै शरीरमा मैन उत्पादन गरेर चाका बनाउँछन | बनाउने तरिका पनि संपूर्णको एउटै हुन्छ | हजारौ माहुरीले बिभिन्न दिशाबाट एकैचोटी बनाउंदै ल्याउँदा पनि हरेक कोठा एकै नापको र षट्कोण (HexagonalHexagonal) आकारको हुन्छ | मह नपोखिनको लागी दुई छेउमा १३ डिग्री उठेको, उत्ति मैनको प्रयोग गरेर अलिकति पनि ठाउँ नोक्सान नहुने गरी बनाइएको हुन्छ | आधुनिक इन्जिनियरहरुले यसलाई ठाउँको अधिकतम उपयोग गर्न प्रयोग गरिने सर्बोत्तम यान्त्रिक बिधि (Engineering Principle) मान्दछन् |


गणितिज्ञहरुले यस्तो दुरुस्तै (Exactly Alike) हुनुमा या त मौरीमा बनाउन सुरु गर्नु भन्दा पहिले ठाउँको हिसाब गर्नेसक्ने ज्ञान हुनु पर्छ, या त कुनै प्रबुद्ध मौरीले बनाउने अबधिभरि नै लगातार निरीक्षण र निर्देशन गरिरहेको हुनु पर्छ, अथवा सबै मौरीमा लगातारको संचार सम्पर्क भई ठाउँको उचित समायोजन (Adjust) गर्नसक्ने क्षमता र सलाह भएको हुनुपर्छ भन्ने अनुमान लगाएका छन् |


त्यस्तै मौरीहरूको दिशा पत्ता लगाउने र दिशा बताउने मुख्य आधार नै सूर्यको किरण हो, जसको कोण प्रत्येक ४ मिनेटमा परिवर्तन भैरहेको हुन्छ, अनि चहकिलो पनमा पनि दुरी, बादल आदिले फरक पारिरहेको हुन्छ | तर मौरीले यिनीहरुको आँखामा हुने बिभिन्न दिशामा फर्केका ६ चोसे (cubic) प्रकाश रिसेप्टरसहरुमा पर्ने प्रकाश र त्यसको चहकिलो पनको आधारमा दिशा र कोणलाई समायोजन (Adjust) गरी सजिलै दुरी र दिशा पत्ता लगाउन सक्छन् | मौरीमा प्रकाश ब्याकअप गर्नसक्ने क्षमता हुनु पर्छ भन्नेहरु पनि छन् |


५) बिज्ञान र औषधि (Science and Medicine): मौरीले टोक्दा छाड्ने मेलिटिन (Melittin) नामक बिषको प्रयोग गर्दा HIV Virus लागेका कोषलाई पुरानै स्थितिमा फर्काउन सकिने तथ्यको नजिक पुगेको Washington University का बैज्ञानिकहरुले बताएका छन् | त्यस्तै the University of Sao Paulo का अनुसन्धानकर्ताले बाथ रोगले दुखेको ठाउँमा मौरीलाई टोकाउँदा शरीरमा ग्लुकोकोरटिकोइड (glucocorticoid) नामक दुखाइ निको पार्ने हर्मोन (anti-inflammatory hormone) बढ्न गई पीडा कमहुने कुरा पता पगाएका छन् |


Arizona State University का बैज्ञानिकहरुले पत्ता लगाए अनुसार मौरी बुढो हुँदैजाँदा कुनै एक बिन्दुमा पुगेपछि दिमागको बुढोहुने क्रम उल्टिएर जवान हुन थाल्दछन् | त्यसैले मौरीले मरुन्जेल जवानले जस्तै काम गर्न सक्छन् | यो जैविक संयन्त्र राम्रोसंग अनुसन्धान गरिएमा मान्छे बुढो हुँदैजाँदा लाग्ने बिर्सिंदैजाने (Dementia) रोगको उपचार पत्तालाग्ने कुरामा उनीहरुको बिश्वास छ |


चिया, कफी आदिमा पाइने क्याफिन (Caffeine) ले पिउने मान्छेलाई सजक बनाउँछ | सजक रहनु भनेको एक प्रकारको नबिर्सिने प्रक्रिया हो | कतिपय बिरुवा र फूलको परागमा पनि क्याफिन पाइन्छ | बास्तबमा अस्थित्व बचाउको सिद्धान्त (Struggle for Survival) अनुसार कतिपय बिरुवाहरुले हानिकारक किटाणुबाट आफ्नो प्रतिरक्षा गर्न, र पराग सेचन गर्नेलाई आकर्षण गर्न क्याफिनको उत्पादन गर्ने गरी बिकसित (Evolve) भएका हुन, तर जीव बिकासको क्रम यहाँसम्म आइपुग्दा क्याफिन माहुरीको स्मरणशक्ति बढाउने तत्व बन्न पुगेको छ | क्याफिन हुने फूललाई मौरीले कहिलै बिर्सिंदैनन् |


मौरीले प्रपोलिस (Propolis) भन्ने बाह्रै महिना हरियो हुने रुखको चोप बटुलेर आफ्ना सम्पूर्ण चाकाहरुमा दल्दछन् | हामीले पनि ब्याक्टेरिया, भाइरस, ढुसीबाट बच्नको लागी यही रुखको चोपमा पाइने जस्तै तत्व प्रयोग गर्दछौं | तसर्थ मौरीको चाकाको कुनै किसिमको प्रयोगले हिउँले खाएको घाउ, अन्य घाउखटिरा, छालाको एलर्जी, घाँटी दुखेको, र बिरुवाको रोग आदिको उपचार सम्भब हुन सक्ने कुरामा बैज्ञानिकहरुको बिश्वास छ |

Monday, July 14, 2014

चिनी रोग, प्याङक्रिअस, र इन्सुलिन - गौतम "उदय" - mysansar


हामीले खाएको खाना आमासयमा पुगेपछि हाइड्रोक्लोरिक अम्ल (hydrochloric acid) र खानलाई छिट्टै गलाउन सक्ने अन्य थुप्रै रासायनतत्त्वहरु (Enzymes) मिलेर गलाउँछन्। गल्नु भनेको खानाका ठुलाठुला अणुहरु मसिना बन्नु हो अथवा ग्लुकोस (Glucose) भन्ने एक प्रकारको मसिनो चिनीमा परिणत हुनु हो। यही प्रक्रियालाई साधारण भाषामा हामीले पच्नु भन्छौं। खाएको खाना आमासयमा मसिनो बनेपछि सानो आन्द्रामा जान्छ। सानो आन्द्राको भित्रपट्टी भिली (Villi) भन्ने मसिना छिद्रहरु र रगत रेसाहरु (blood capillaries) हुन्छन्। तिनीहरुले ग्लुकोस बनेको खानालाई बिस्तारै सोसेर लिन्छन, र त्यो खाना मूल रक्त-प्रवाह क्षेत्र (bloodstream) मा मिसिन्छ।

यसरी रगतमा पुगेको ग्लुकोस यदि शरीरलाई तत्काल शक्तिको अवश्यक छ भने तत्काल शक्तिमा परिणत हुन्छ, तत्काललाई चाहिएको छैन भने पछिको लागी संचित भएर बस्छ। ग्लुकोस संचित हुँदा ग्लीकोगेन (glycogen) भनिने ढिक्का जस्तै बनी मुख्यतया कलेजो (liver) र माम्स्पेसी (muscles) मा संचित हुन्छ।

तर रगतमा प्रवेश गरेको उक्त ग्लुकोस इन्सुलिन (Insulin) भन्ने रासायन (hormone) बिना तत्कालै शक्तिमा परिणत हुन पनि सक्दैन, अनि संचित हुन पनि सक्दैन।

हाम्रो शरीरमा आमासयको तल्लो भागमा सानो-आन्द्रा, कलेजो, फियो, (spleen) पित्त-थैली, आदिले घेरिएर रहेको प्याङक्रीअस (Pancreas) भन्ने करिब ६ इन्च लामो गाजर जस्तैजस्तै आकारको अंग हुन्छ। यसमा बिभिन्न प्रकारका हर्मोन उत्पादन गर्ने islets of Langerhans भन्ने क्षेत्र हुन्छ, जसमा Alpha Cells, Beta Cells लगायतका लाखौँ कोषहरु हुन्छन्। यी islets पत्ता लागाउने जर्मन बौज्ञानिकको नाम Langerhans भएकोले यस्तो नाम रहन गएको हो। Alpha Cells ले मुख्यतया ग्लुकोगन (glucagon) नामक हार्मोन उत्पादन गर्दछन् भने Beta Cells ले इन्सुलिन (insulin) नामक हार्मोन उत्पादन गर्दछन्।

हामीले खाना खाएपछि खानाको प्रकार अनुसार रगतमा चिनीको मात्रा बढ्छ। बढी कार्बोहाइड्रेडयुक्त खानाहरु जस्तै:- भात, रोटी, आलु आदि खाइयो भने रगतमा चिनीको मात्रा प्रसस्तगरी बढ्छ, अन्य प्रकारका खाना खाँदा ठिकैले बढ्छ। रगतमा बढेको चिनीको मात्राको अनुपातमा Beta Cell ले प्याङक्रीअसलाई insulin उत्पादन गर्ने निर्देशन दिन्छन्। त्यसको ठिक बिपरित हामीले लामो समय खाना नखाएर यदि रगतमा चिनीको मात्रा घट्यो भने Alpha Cells ले प्याङक्रीअसलाई ग्लुकागन (glucagon) उत्पादन गर्ने निर्देशन गर्दछन्। glucagon ले कलेजो आदिमा संचित रहेको शक्ति ग्लिकोगन (glycogen) लाई glucose मा बदली रगतमा पठाई चिनीको मात्रा बढाउँछ अथवा परिपूर्ति गर्दछ। यस प्रकार यी दुई प्रकारका कोष (Alpha Cells र Beta Cells) हरुको सतर्कतापूर्बकको नियमित काम गराइले स्वस्थ मानिसको रगतमा चिनीको मात्रा ठिक्क ( Balanced) को बनेको हुन्छ।
प्याङक्रीअसले insulin र glucagon को साथै अन्य खाना पचाउने लगायतका रासायन (Enzyme) हरु उत्पादन गरी आमासय र डुडेनममा पठाउने काम पनि गर्दछ।

हाम्रो शरीरका कोषहरूमा एक प्रकारका ढोका हुन्छन्। जब प्याङक्रीअसबाट इन्सुलिन निस्कन्छ उक्त इन्सुलिन रगतमार्फत गएर हरेक कोषहरुलाई खाना आयो, ढोका खोल भन्छ, अनि कोषहरुले ढोका खोल्छन र ग्लुकोस भित्र जान्छ। यसरी भित्र गएको ग्लुकोस तत्काल शक्ति चाहिनेभए कोषहरुले तत्कालै प्रयोग गर्दछन, नत्र पछि प्रोयोग गर्नको लागी संचय गर्दछन्। रगतमा भएको ग्लुकोस कोषहरूमा गैसकेपछि रगतमा ग्लुकोसको मात्रा स्वतः घट्दछ। यो घटेको कुरा Beta cCells हरुले नै तुरुन्त प्याङक्रीअसलाई खबर गर्दछन, र यसले पनि इन्सुलिन उत्पादन गर्ने गतिलाई घटाउँछ।

रगतमा ग्लुकोसको मात्रा हामीले खाने बस्तुको प्रकार, मात्रा र समयको आधारमा उही दिनमा पनि धेरै पटक घटबढ हुन्छ। साधारण अवस्थामा हाम्रो रगतमा प्रति डेसिलिटर ७०-१२० मिलिग्राम ग्लुकोसको मात्रा हुनु पर्दछ। त्यो भन्दा बढी भए चिनीरोग लाग्दै गरेको वा लागेको मान्नु पर्दछ। रगतमा चिनीको मात्रा जतिजति बढी हुन्छ चिनीरोग (Sugar) को अवस्था पनि त्यति नै जटिल भएको बुझ्नु पर्दछ।

खाना खानेबित्तिकै भने चिनीरोग नै नलागेको व्यक्तिको रगतमा पनि यो मात्रा १८० सम्म पुग्न सक्छ। तर खाना खाएको २ घण्टाभित्रमा भने यो मात्रा घटेर १४० मा ओर्लेको हुनु पर्दछ।

जब रगतमा चिनीकोमात्रा १८० भन्दा बढी हुन्छ, त्यो बढी हुन आएको चिनीको मात्रा मृगौलाले पिसाब मार्फत फालिदिन्छ। खानाबाट प्राप्त हुने चिनीको मात्रा भाँडामा पानी खन्याएझैँ तुरुन्तै जम्मा हुने त होइन, बिस्तारैबिस्तारै घन्टौंको समयमा हुने हो। चिनी बिस्तारै रगतमा प्रबेस गर्दछ, रगतमा यसको मात्रा बढ्छ, अनि मृगौलाले पिसाबमार्फत फालिदिन्छ। त्यही भएर चिनी रोग लागेका व्यक्तिहरुलाई छिनछिनमा पिसाब आउँछ।
चिनी फालिनु भनेको शरीका कोषहरुको बृधि बिकास गराउन, हानीकारक ब्याक्टेरिया, भाइरस, रोगब्याधसंग लड्न, घाउचोट निको गराउन मुख्य भूमिका खेल्ने प्रोटिन तथा शरीरलाई बिभिन्न कार्यको लागी चाहिने अन्य पौष्टिक पदार्थ फालिनु पनि त हो। त्यसैले शरीरले यस्ता पदार्थ नपाउंदा चिनी रोग लागेको व्यक्तिलाई बढी भोक लाग्ने, ऊ दुब्लाउँदै जाने, थकित महसुस गर्ने, आँखा धमिलो देख्ने, घाउ निको नहुने, छाला फुट्ने, महिलाहरुलाई घरीघरी योनी चिलाउने आदि समस्या हुन्छन्।

त्यसको अतिरिक्त रगत मार्फत प्रयाप्त थप खाना प्राप्त नहुँदा कोषहरुले संचित शक्ती खर्च गर्नु पर्दछ। यहाँनेर शरीरमा संचित बोंसोरुपी शक्ति प्रयोग भएको ठिकै होइन र भन्ने प्रश्न उठ्न सक्छ। तर शरीरको संयन्त्र त्यसरी चल्दैन। संचित शक्ती धेरै मात्रामा खर्च भयो भने शरीमा केटोनेस् (ketones) भन्ने बिकार (byproduct) निस्कन्छ। धेरै मात्रामा ketones निस्कने अवस्थालाई Diabetic Ketoacidosis (DKA) भनिन्छ, जसले जीवन नै खतरामा पार्न सक्छ। सामान्यतया Type-1 Diabetes हुने व्यक्तिलाई यस्तो अवस्था आउन सक्छ।

मधुमेह हुने एकएक कारणहरु त अहिलेसम्म पनि पत्ता लागेका छैनन्। तथापि समग्र रुपमा भन्नु पर्दा हामीले खाएको खाना पाचन भई, रगतसंग मिसिएर शरीरका कोषहरूमा पुगी शक्तिमा परिणत हुने प्रक्रिया अन्तर्गत कतै न कतै केही न केही संयन्त्र नमिल्दा वा अस्वाभाविक प्रतिक्रिया हुँदा चिनिरुपी शक्तिबर्द्धक तत्व रगतमै रहनुले मधुमेह हुनजान्छ।
अहिलेसम्ममा मधुमेह हुने मुख्यतया ३ कारण पत्ता लागेका छन्। हामीले खाना खाएपछि रगतमा बढ्ने चिनीको मात्राको अनुपातमा प्याङक्रीअसले इन्सुलिन उत्पादन गर्न नसक्नु, इन्सुलिन उत्पादन गर्ने Beta Cells नै शरीरमा हुने अन्य बिबिध रासायनिक प्रतिक्रिया हुँदा गल्तीले मारिनु, र यस्तै कुनै अन्जान प्रतिक्रियाले गर्दा शरीरका कोषहरुले नै इन्सुलिंलाई नचिन्नु वा इन्सुलिनप्रति सही प्रतिक्रिया नजनाउनु।

मधुमेहका मुख्यतया ३ अवस्था हुन्छन्। शरीरका कोषहरूले इन्सुलिनप्रति पूर्ण प्रतिक्रिया नजनाउनुको कारणले रगतमा चिनीको मात्रा बढ्यो भने त्यसलाई मधुमेहको सुरुआती अवस्था (Pre-diabetes) भनिन्छ। त्यस्तै, रगतमा प्रवेश गर्ने ग्लुकोसको अनुपातमा प्याङक्रीअसले प्रयाप्त इन्सुलिन उत्पादन गर्न नसक्नुको कारणले रगतमा चिनीको मात्रा बढ्यो भने त्यसलाई निम्न कोटीको मधुमेह (Type-2 Diabetes) भनिन्छ, र शरीरमा हुने बिभिन्न रासायन संयन्त्र तथा रासायनिक प्रतिक्रिया हुँदा अस्वाभाविक गल्तिको कारणले प्याङक्रीअसलाई इन्सुलिन उत्पादन गर्न निर्देशन दिने Beta Cells निमिट्यान्न भएर इन्सुलिन नै उत्पादन नभएर रगतमा चिनीको मात्रा बढेर हुने मधुमेहलाई उच्चकोटीको (Yype-1 Diabetes) भनिन्छ।

साथै गर्भ बोकेको अवस्थामा थुप्रै प्रकारका हार्मनहरु निस्किने र तिनीहरुका अनगिन्ति रासायनिक प्रतिक्रियाहरु हुने हुनाले यो अवस्थामा कतिपय महिलाहरुको रगतमा चिनीको मात्रा बढ्छ। यस्तो प्रकारको स्थितिलाई (Gestational Diabetes) भनिन्छ।

अहिलेकै अवस्थामा भन्दा Type-1 Diabetes निको हुने उपाय छैन, इन्सुलिनको सुई नियमित लगाइरहनु पर्छ। Type-2 Diabetes भोजनमा सुधारको साथै शारीरिक अभ्यास गर्दा क्षणिक रुपमा केही मात्रामा सुधार देखिए पनि कालान्तरमा यो पनि Type-1 Diabetes मा नै बदलिन्छ। Pre-diabetes र Gestational Diabetes को अवस्था भने नियमित सन्तुलित भोजन र शारीरिक अभ्यासले नियन्त्रण हुन सक्छ। सामान्यतया Type-1 Diabetes ४० बर्ष भन्दा कम उमेरमा, अझै प्रष्ट्याउनु पर्दा २० बर्ष भन्दा पहिले नै हुन्छ। Type-1 Diabetes लाई वंशाणुगत पनि भनिन्छ।

मधुमेहको प्रमुख संयन्त्र नै खानाको परिकार, त्यसले गर्दा शरीरमा उत्त्पन्न हुने रासायन, र ती रसायनहरुको अन्य थुप्रै रासायनिक प्रतिक्रियासंग सम्बन्धित हुन्छ। मान्छे मोटाउनु पनि यिनै कुराहरुसंग सम्बन्धित छ। त्यसैले आफ्नो आदर्श तौल भन्दा ४ कोलोसम्म बढी तौल हुँदासम्म उक्त बढी तौल नै मधुमेहको कारक बन्ने खासै सम्भावना हुँदैन, तर त्यो भन्दा जति बढी हुन्छ, त्यति नै मधुमेह हुने सम्भावना पनि बढ्दै जान्छ। उमेर छिप्पिंदै जाँदा साबधानी नअपनाए भुँडीको गोलाई पनि बढ्दै जाने भएकोले यो बेलामा Type-2 Diabetes हुने एकदम बढी सम्भावाना हुन्छ। यही कारणले गर्दा मधुमेहका रोगीहरुमध्ये ९०% मा Type-2 Diabetes छ भने १०% मा मात्र Type-1 Diabetes छ। तर यसको अर्थ सबै भोंड़ेहरुलाई मधुमेह हुन्छ अथवा ख्याउटेहरुलाई हुँदैहुँदैन भन्ने लागाउनु हुँदैन।

Imperial College of London का अनुसन्धानकर्ताहरुले पत्ता लगाए अनुसार यदि कसैले दिनको १ क्यान मात्रा कोकाकोला खान्छ भने उसलाई Type-2 Diabetes हुने सम्भाबना २२% ले बढ्छ। यसको अर्थ पनि कोकाकोला खाँदा चिनी रोग लाग्छ भन्नु भन्दा अप्राकृतिक गुलियोयुक्त बस्तु सेवनले चिनी रोगको संयन्त्रमा एकदम बल पुर्याउँछ भन्नु उपयुक्त ठहर्छ।

त्यस्तै Harvard University का अनुसन्धानकर्ताहरुले गर्भवती हुनु भन्दा पहिले जनावरको बोसोयुक्त मासु खाने महिलालाई गर्भवती हुँदा Gestational Diabetes हुन सक्ने बढी सम्भावना भएको कुरा पता लगाएका छन्।
यो रोगले पनि संसारलाई नै गालेको छ। अमेरिकाको ८.५% जनसंख्यालाई मधुमेह छ। कतिपय विख्यात डाक्टरहरुले त सबै अमेरिकनहरुले जचाउने हो भने यो १५% प्रतिशत सम्म उक्लिने अनुमान गरेका छन्। बेलायतको National Health Service अनुसार त्यहाँ पनि करिब ३८ लाख जनसंख्यालाई यो रोग लागेको छ, र २०३५ सम्ममा यो संख्या बढेर ६२ लाख पुग्ने आंकलन छ। एसियामा पनि यसको अवस्था भयाबह छ। नेपालमा पनि शहरीकरणको प्रभावले यो बढ्दो क्रममा छ।

मधुमेह नाप्ने मुख्य ३ एकाइ प्रचलनमा छन्।

Wednesday, June 25, 2014

‘बार्इ’ ‘होल्ड’ र ‘सेल’ समयमा गरे नाफा हुन्छ, विश्लेषक जीवन बस्नेतको अन्तर्वार्ता - bizmandu



किन्दा आधारभुत पक्ष हेरेर किन्ने, कुन कम्पनीको सेयर मूल्य तीन हजार बढि जाने सम्भावना छ ती किनेर छोड्दा बजार बढ्दा कम्पनीको मूल्य बढ्दै जान्छ । बजारमा तीन कुराले काम गर्छ, एउटा ‘बाइ एट अ राइट टाइम’, ‘होल्ड फर सब्ट्यान्सियल पिरियड’ र ‘सेल एट अ राइट टाइम’ । यति अनुशरण गर्न सके पूँजी बजारबाट कमाउन सकिन्छ
---
जारले निश्चित अवधिमा आफ्नो बुलिश र बियरिश चक्रहरु पूरा गर्छ, मात्र यति हो कि यो पटक यो चक्रमा बुल हिट बैंकिङ क्षेत्रमा भएको छैन । बुल हिटको प्यार्टन फरक फरक सेक्टरमा पर्न सक्ला तर समग्र सूचकको बुलिश र वियरिश प्रवृत्तिमा फरक पर्दैन । बजार बुलिश हुँदा बजारले सधै नयाँ रेकर्ड बनाउने भएकोले थप माथि जान्छ
---
एनएलआइसीकै सेयर मूल्य पाँच हजार सात सय रुपैयाँ हुँदा कम्पनीको मूल्य आम्दानी अनुपात एक सय ३२ थियो । अहिले कम्पनीको सेयर मूल्य तीन हजार पाँचसयको हाराहारीमा छ भने यस्तो अनुपात ७० माथि नै छ । त्यसकारण तुलनात्मक रुपमा हेर्दा केही राम्रा बैंक अण्डरभ्यालु भएको मान्न सकिन्छ । तर जब बजारमा ‘डस्ट सेटल’ हुन्छ तब भने धेरै कम्पनी अण्डर भ्यालु हुन्छ
---
सेयर बजार बुलिस ट्रेण्डमा छ । नेप्से परिसूचक नौं सय २० भन्दा माथि छ, केही कम्पनीको सेयर मुल्य ओभर भ्यालुड भयो पनि भनिन्छ । लगानीकर्ताहरु थप सेयर किन्ने वा अब बेच्ने दोधारमा पनि छन् । बजारलाई निकै लामो समयदेखि सुक्ष्म रुपमा हेरिरहेका प्राविधिक र सैद्धान्तिक पक्षलाई समेत केलाउने विश्लेषक तथा लगानीकर्ता जीवन बस्नेतलाई बिजमाण्डू संवाददाता विजयराज खनालले सोधे, दीर्घकालिन लगानी गर्ने कम्पनी कसरी छान्ने ?

नेप्से परिसूचक अहिले नौं सय अकंभन्दा माथि छ, बजार बढेको पनि छ । तर लगानीकर्तालाई यतिबेला सेयर बेच्ने वा किन्ने कुन समय हो भनेर छुट्याउयन कठिन भइरहेको छ । तपाँईको सुझाव के हो ?
अहिले बेच्ने बेला होइन र किन्ने पनि होइन, होल्ड गर्ने समय हो । नेप्सेको रेखाचित्र हेर्ने हो भने अहिलेसम्म बनाएको रेखा आधिकारिक भयो, त्यसपछि भनेको भविष्य हो, जुन आधिकारिक होइन । हामी सबैले भन्छौ नि, बजार यहाँ पुग्छ वा त्यहाँ पुग्छ, त्यो भनेको गेसवर्क हो । उपलब्ध पुराना तथ्यांकको आधारमा नै गेस गरिएको हुन्छ र त्यो मोटामोटी मिल्छ पनि । जहाँसम्म तपाईको प्रश्न छ, हाम्रो बजार माथि जाने छ, किन्नको निम्ति राम्रा कम्पनीको सेयर निकै महंगो भइसकेको छ । त्यसैले भएको सेयर होल्ड गर्ने हो । तर बजार माथि जान्छ भने किन्न त भयो नि । किन्ने ठाउ पनि छ, जस्तो कि मध्यम किसिमका बैंकहरु जसको मूल्य हजार रुपैयाँभन्दा कम छ । यी कम्पनीहरुमा धेरै पूँजी पनि लगाउनु पर्दैन, तर यी कम्पनीमा नाफाको दर कम हुन्छ ।
अब यहाँ पनि सोच्नु पर्ने के छ भने मूल्य उच्च भइसकेका कम्पनीहरु नागरिक लगानी कोषलगायतको खरिद गर्ने हो भने त्यति नाफा लिन्छु भन्नु पनि काल्पिनिक हुन सक्छ । हामी भने अहिलेको समयमा बजारमा पस्दैनौं । बजारमा पसेर कम्तिमा पाँच गुणा आम्दानी हुने अवस्था छैन भने हामी इच्छुक हुँदैनौं । हामी न्युनतम बिन्दुमा नै बजारमा प्रवेश गरेका हौं । अब केही समय होल्ड गर्छाै ।

अहिले बजारमा कुनै अण्डर भ्यालु भएका कम्पनी छैन त लगानी गर्नको लागि ?
प्राविधिक विश्लेषण गर्दा चिलिमे जलविद्युत कम्पनीको सेयरको भ्यालु वास्तवमा एक हजार एक सय छ । अहिले कम्पनीको सेयर मूल्य दुई हजार दुई सय रुपैयाँ भन्दा बढी छ । अहिले कम्पनीको सेयर ओभर भ्यालु छ । तर विगतमा धेरै लामो समयसम्म यही कम्पनीको सेयर मूल्य आठ सयमा रह्यो । त्यतिखेर पनि चिलिमेको वास्तविक भ्यालु नौं सय थियो, त्यो अण्डर भ्यालु थियो । एभरेष्ट बैंक कै उदाहरण हेर्ने हो भने, दुई हजार माथि छ । तर कुनै बेला आठ सय नौं सय थियो । त्यतिखेर बैंक अण्डर भ्यालु थियो, अहिले मूल्य ओभर भ्यालु भइसकेको छ । अहिले कुनै पनि कम्पनी अण्डर भ्यालु भएका छैनन् ।

तर अहिलेसम्म पनि कतिपय कम्पनी अझै अण्डर भ्यालु भएका छन भन्ने विश्लेषण आउने गरेको छ त ?
अहिले केहीले नेपाल बैंक, प्राइम कमर्सियल बैंक लगायतलाई अण्डर भ्यालु भयो भनेका छन् । तर त्यसो होइन । अहिले कुनै पनि कम्पनीको सेयर मूल्य अण्डर भ्यालु भएको मलाई लाग्दैन, तर के हो भने बैंकहरुको सेयरको मूल्य आम्दानी अनुपात २२ देखि २५ रहेको छ । अन्य कम्पनीहरु जस्तो एनएलआइसीकै सेयर मूल्य पाँच हजार सात सय रुपैयाँ हुँदा कम्पनीको मूल्य आम्दानी अनुपात एक सय ३२ थियो । अहिले कम्पनीको सेयर मूल्य तीन हजार पाँचसयको हाराहारीमा छ भने यस्तो अनुपात ७० माथि नै छ । त्यसकारण तुलनात्मक रुपमा हेर्दा केही राम्रा बैंक अण्डरभ्यालु भएको मान्न सकिन्छ । तर जब बजारमा ‘डस्ट सेटल’ हुन्छ तब भने धेरै कम्पनी अण्डर भ्यालु हुन्छ ।

मूल्य आम्दानी अनुपातलाई मात्र आधार लिएर सेयर मूल्य अण्डर भ्यालु वा ओभर भ्यालु भयो भन्न मिल्छ ?
मिल्दैन । हामीहरु दुई तीन किसिमबाट हेर्छौ । जस्तो सोल्टी होटेलको मुल्यांकन गर्दा हामी एसेट बेस्ड भ्यालु (सम्पतीको आधार) लाई लिन्छौं, त्यसमा अन्य कुरा लागु हुदैन । बैंक तथा बीमा कम्पनीहरुको मुल्यांकन गर्दा पीइजी (प्राइस अर्निङ एण्ड ग्रोथ÷मूल्य आम्दानी र वृद्धि अनुपात) को आधारमा पनि हेर्छाै । यो अनुपात तीन भयो भने अति राम्रो, २.५ भयो भने राम्रो र दुई मुनि भयो भने ठिकै खालको हुन्छ ।

बजार बढेको बेला प्राविधिक विश्लेषणले काम गर्दैन भन्ने तर्क पनि छ, तपाई प्रावधिक पक्षलाई निकै जोड दिदै हुनुहुन्छ, वास्तविकता के हो ?
हामीले सेयर किन्दा सबै आधारभुत तयार पार्छाै, त्यसपछि त्यो प्राविधिक रुपमा माथि जान्छ कि जादैन भनेर हेर्छाै । यसलाई हामी दुई तरिकाबाट हेर्छाै, एउटा मार्केट डायनामिक्स अर्थात् बजार कहाँ छ भन्ने अध्ययन । अझै माथि जाने सम्भावना छ कि छैन, छ भने हाम्रो त्यहाँ सम्भावना भयो । दोस्रो त्यो क्षेत्रमा बुल हिट भएको छ कि छैन । बुल हिट हुँदा सेयर मूल्य पाँच हजार माथि पनि जाँदो रहेछ । नबिल त्यति राम्रो बैंक छ, तर सेयर मुल्य दुई हजारमा थन्किएको छ ।
नबिल र एभरेष्ट बैंकको तुलनामा बीमा कम्पनी त केही होइनन्, तर त्यो क्षेत्रमा बुल हिट भयो सेयरको मूल्य बैंकहरुको भन्दा बढ्यो । त्यसैले किन्दा आधारभुत पक्ष हेरेर किन्ने, कुन कम्पनीको सेयर मूल्य तीन हजार बढि जाने सम्भावना छ ती किनेर छोड्दा बजार बढ्दा कम्पनीको मूल्य बढ्दै जान्छ । बजारमा तीन कुराले काम गर्छ, एउटा ‘बाइ एट अ राइट टाइम’, ‘होल्ड फर सब्ट्यान्सियल पिरियड’ र ‘सेल एट अ राइट टाइम’ । यति अनुशरण गर्न सक्यो भने पूँजी बजारबाट कमाउन सकिन्छ ।






प्राविधिक विश्लेषण गर्दा चिलिमे जलविद्युत कम्पनीको सेयरको भ्यालु वास्तवमा एक हजार एक सय छ । अहिले कम्पनीको सेयर मूल्य दुई हजार दुई सय रुपैयाँ भन्दा बढी छ । अहिले कम्पनीको सेयर ओभर भ्यालु छ । तर विगतमा धेरै लामो समयसम्म यही कम्पनीको सेयर मूल्य आठ सयमा रह्यो । त्यतिखेर पनि चिलिमेको वास्तविक भ्यालु नौं सय थियो, त्यो अण्डर भ्यालु थियो । एभरेष्ट बैंक कै उदाहरण हेर्ने हो भने, दुई हजार माथि छ । तर कुनै बेला आठ सय नौं सय थियो । त्यतिखेर बैंक अण्डर भ्यालु थियो, अहिले मूल्य ओभर भ्यालु भइसकेको छ । अहिले कुनै पनि कम्पनी अण्डर भ्यालु भएका छैनन्
---




यस्तो अध्ययन त केही लगानीकर्ताले मात्रै गर्लान जो सँग प्राविधिक र सैद्धान्तिक ज्ञान छ । यस्ता ज्ञान नहुने सर्वसाधारण लगानी कर्ताले ‘बुल हिट’ कुन समूहमा हुन्छ भनेर कसरी हेर्न सक्छन ?
हेर्नुस्, सेयर बजारमा कतिपय प्रश्न अनुत्तरित छ । यो पनि त्यस्तै किसिमको प्रश्न हो । अमेरिकामै हेर्नु भयो भने त्यहाँ ११ किसिमका समूह छन्, अहिले त्यहाँ हेल्थ केयर सेक्टरमा छ । पहिलेको सम्रग बुलमा यो क्षेत्रमा थिएन तर अहिले त्यसमा देखियो । अब नेपालको सन्दर्भमा के भन्न सकिन्छ भने बजार बढ्नु पनि छ, अरु सेक्टरमा बुल हिट भइसक्यो, ती क्षेत्रभन्दा राम्रो कम्पनी बैंकिङमा छ ।
त्यसैगरि बजार पनि अब तीन सय देखि तीन सय ५० माथि जानु छ, यही कारण बैंकिङ सेक्टरमा अब हिट गर्छ भन्ने हो । तर आधार भने कुनै पनि छैन । खोज्नु हुन्छ भने त्यस्तो केही छैन । ओरियण्टल होटेल बढ्नु पर्ने कारण के छ ल भन्नुस । न त कम्पनीले ऋण तिर्छ न लाभांश दिन्छ । अब कारण के हो त सेयर मूल्य बढेको भन्दा त्यो क्षेत्रमा नै बुल हिट भएको हो । बजार घटेपछि हेर्नुस, त्यस्ता कम्पनीको अवस्था के हुनेछ । बजारले निश्चित अवधिमा आफ्नो बुलिश र बियरिश चक्रहरु पूरा गर्छ, मात्र यति हो कि यो पटक यो चक्रमा बुल हिट बैंकिङ क्षेत्रमा भएको छैन । बुल हिटको प्यार्टन फरक फरक सेक्टरमा पर्न सक्ला तर समग्र सूचकको बुलिश र वियरिश प्रवृत्तिमा फरक पर्दैन । बजार बुलिश हुँदा बजारले सधै नयाँ रेकर्ड बनाउने भएकोले थप माथि जान्छ ।

हामीले प्राविधिक पक्षबाट बजारलाई हेर्यौं, के आधारभुत पक्ष हेर्न आवश्यक छैन् ?
अहँ, अहिले हामीले बजारलाई आधारभुत पक्षबाट हेर्नुपर्ने समय सकिसकेको छ । अब फेरी बुल फर्किएर बजार तल आउँछ र डस्ट क्लियर हुन्छ, तब हेर्नुपर्छ । हामीले जहिले पनि आधारभुत पक्ष हेरेर सेयर किन्नु पर्छ, हाम्रो आधारमा सेयर किन्ने समय गइसकेको छ । आधारभुत पक्ष हेरेर सेयर किन्ने, प्राविधिक पक्ष हेरेर होल्ड तथा बिक्री गर्ने गर्नुपर्छ । अहिले बजारमा आधारभुत पक्ष पुरै वेवास्ता गर्दा हुन्छ । ब्याक अफ दि माइण्डमा यो कम्पनी राम्रो भनेर अलिकति सेयर बिक्री नगरि राख्छु भन्न सकिन्छ । तर अहिले नयाँ इन्ट्रि गर्न आधारभुत पक्ष मुल्यांकन गरौं भने त्यसरी खरिद गर्नुपर्ने सेयर नै भेटिदैन ।

अहिले बैंकमा चुक्तापूँजी बढ्छ भन्ने आधारले मात्र लगानीकर्ताहरुले लगानी बढाएको देखियो । तर चुक्तापूँजी बढाउन अनिवार्य नभएको समाचार सार्वजनिक भएपछि लगानीकर्ता केही विचलित पनि देखिए, अब उनीहरुले के गर्ने ?
यो जुन हल्ला आयो र राष्ट्र बैंकले स्पष्ट पार्यो नि, यो कस्तो हो भने हामी नेपालमा छौं र यस्ता भित्रि सुचना पाउँछौ वा कुनै स्रोतबाट नियामक निकायसँग पनि केही पहुँच राख्छौं । तर अमेरिकामा लगानी गर्नुपर्यो भने कसरी गर्छौ त, यस्ता सूचना त पक्कै पाउँदैनौं । त्यसैले यस्ता हल्ला, इन्साइडर इन्फरमेसन, राजनीतिक कारण, होप (आशा), यी सबैलाई तपाईले निकाल्नु पर्छ । यस्ता पक्षलाई आइसोलेसनमा राखेर बजारको अलग्गै विश्लेषण गरेर लगानी गर्नुपर्छ । यस्तो गर्दा तपाईलाई धेरै नाफा नहोला तर मर्कामा पर्नुहुन्न । अहिलेकै स्ट्याण्डर्ड चार्टर्ड बैंककै उदाहरण हेर्ने हो भने पनि हल्लाको भरमा मूल्य बढ्दा सेयर किनेका लगानीकर्तालाई केही घाटा भयो नि ।

तर हाम्रो बजार तपाईले भनेको जस्तो मात्रै छैन, सरकारले बजेट ल्याउँदा, सानातिना राजनीतिक सहमति हँुदा तलमाथि हुन्छ ?
बजेटले सकारात्मक केही कुरा दियो भने मानौं एक सय अंक बढ्ला र अहिलेको अवस्थामा नेप्से एक हजार माथि जाला । तर हामीलाई त अहिले नै थहा छ बजार एक हजार एक सय ७५ बिन्दु वरिपरि पुग्छ भन्ने । त्यो एक सय अंकको वृद्धि त कन्जुम भइगयो नि । तत्काल देखिनका लागि त केही असर देखिएला । तपाईहरु जुन कुरा भन्नुहुनछ नि राजनितिक कारण सुध्रियो, अर्थतन्त्र सुध्रियो तर त्यो यसैमा मिसिएको हुन्छ । एउटा उदहारण हेर्नुस्, नेप्से एक हजार एक सय ७५ पुग्न २०५७ सालको दुई सय पाँच बिन्दुबाट उकालो लागेको हो नि । यो २०५७ साल देखि २०६५ सालसम्ममा के सुधार भएको थियो र ? तर बजार त माथि गयो । हामीले जतिसुकै कुरा गरौं न, यो तर्क मात्र हो । बजारको ‘बेस्ट जजमेन्ट इज मार्केट इटसेल्फ’ ।

तर अहिलेको बुलिश ट्रेण्ड सुरु हुनु अघि नेप्से तीन सय बिन्दु आसपास हुँदा माओवादी शान्ति प्रक्रियामा प्रतिवद्ध छ भनेर विश्वस्त हुने आधार बन्यो, त्यसपछि अन्य राजनीतिक कारण जस्तो संविधान सभाको निर्वाचन पनि भयो, मधेसमा ससस्त्र विद्रोह गर्नेहरु सकिए, यस्ता कारणले पनि बजार बढाउन सहयोग गरेको होइन र ?
त्यसो होइन, म तपाईलाई बुझाउन सक्छु कि सक्दिन । तर कुरा के हो भने बजारलाई समग्रमा हेर्नु पर्छ । बजारको डायनामिक्सि हेर्नुपर्छ, बजार कसरी चल्छ भन्ने हेर्नुपर्छ । बजारमा जम्मा ‘फाइभ वेभ’ हुन्छ, बजार बढ्दा वा घट्दा दुवै समय त्यही पाँच छाललाई अनुसरण गर्छ । तपाईले यसपटकको बुलिश टे«न्ड शुरु भएको बिन्दुमा हेर्नुभयो भने त्यहाँ बजार घट्ने क्रममा फाइभ बेभ पुरा गरिसकेको देख्न सक्नु हुन्छ । अहिले बढ्ने क्रममा पनि अब फोर वेभ पुरा हुँदैछ । त्यसैले यस्तो कुरा हुने भएकोले त्यो शान्ति प्रक्रिया जस्ता राजनितिक कुरालाई अलग्गै लिइरहनु परेन । हो त्यसको प्रभाव हुन्छ, तर यही वेभमा समाहित भएर आउने हो, त्यो वेभ पुरा गर्न सहयोग पुर्याएको मात्रै हो । बजार निश्चित ट्रेण्डमा बग्ने भएकोले अन्य कुरा छोडेर बजारको ट्रेण्ड न्युनतम बिन्दु हुँदा प्रवेश गर्नुस् । कस्तो समयमा बजारमा यस्तो ट्रेण्डमा असर पर्छ भने युद्धको समयमा । मुख्यतया अन्तरदेशीय वा अन्तर्राष्ट्रिय स्तरमा युद्धहुँदा त्यसमा संलग्न वा असर पर्ने राष्ट्रको बजार प्रभावित हुन्छ ।

तपाई दीर्घकालिन उद्देश्यले लगानी गर्ने व्यक्ति, तर बजारमा अल्पकालमा लगानी गर्दा पनि फाइदा हुन्छ भने किन लामो समय पर्खने भन्ने सोच पनि छ ?
अल्पकालमा थोरै पैसा बन्छ र जोखिम पनि बढि हुन्छ । मानिसको स्वभाव निकै चञ्चल हुन्छ, त्यसैले घाटामा गएमा अन्य र्खच धान्न पनि समस्या पर्न सक्छ । जहिले पनि बजारमा ठूलो पैसा बनाउन दिर्घकाललाई नै हेर्नुपर्छ ।

दीर्घकालका लागि लगानी गर्दा तपाईको बजार रणनीति के के हुन्, अरु लगानीकर्तालाई पनि भनिदिनुस ?
कुन सेयर तीन हजार पुग्छ बुल हुँदा हेर्नुपर्छ । यतिको कुरा गर्ने मान्छेले तीन हजार माथि पुगेको सबै कम्पनीको सेयर खरिद गरेको होला नि भन्ने लाग्ला । तर बजार न्युनतम बिन्दुमा हुँदा कुन कम्पनीको तीन हजार सेयर मूल्य पुग्छ भन्न सकिदैन । मेरो कोर पोर्टफोलियोमा नागरिक लगानी कोष, एभरेष्ट बैंक, चिलिमे र सगरमाथा इन्स्योरेन्स गरेर चार कम्पनी छन् । तर कोषको मात्र सेयर मूल्य तीन हजार माथि पुग्यो । एभरेष्टमा पनि पाँच गुणा बढि कमाएको छु ।
मैले लगानी गर्दा लाइफ इन्स्योरेन्स, सोल्टी होटलको सेयर किन्न खोजेको थिएँ । सस्तोमा किनेर महंगोमा बेच्ने र कुन सेयर तीन हजार क्रस गरेर जान्छ खोज्ने यी दुई रणनीति लिनुपर्छ । सेयर किन्दा आधारभुत पक्षलाई हेरेकै थिएँ, सोल्टी होटेलकै कुरामा पनि मैले बिश्लेषण गर्दा कम्पनीको भ्यालुएसन दुई सय ३४ निस्किएको थियो, त्यसमा स्पेकुलेटिभ पोर्सन १० प्रतिशत राख्दा पनि भ्यालुएसन दुई सय ६० हाराहारीमा देखियो । कम्पनीको मूल्य दुई सय ६० भएमा किन्न भने, तर मूल्य तल आएन । मैले फेरी दुई सय ७० सम्म हल्न तयार भएँ तर मूल्य तल आएन र म छुटे । अंकित मूल्य १० रहेको यो कम्पनीको सेयर मूल्य छ सय रुपैयाँ हुनु भनेको छ हजार हो । त्यसैले यो कम्पनी मेरो रोजाईमा थियो ।

त्यसो भए लगानी गल्ती कहाँ कहाँ हुन्छ ?
सबैभन्दा ठुलो कुरा के हो भने, यो एउटा विद्याको साथसाथै व्यवसाय पनि हो । व्यवसायमा गल्ति पनि गरिन्छ । अहिले नै मैले बताएँ, सोल्टीको सेयर लिंदा दुई सय ७० मा च्याँखे थाप्नु भन्दा दुई ८० हालेको भए मैले पाउँथे । त्यस्तै, बजार बुलको टपमा पुग्दा पनि कसैले बजार अझै माथि जान्छ भनेर बसिरह्यो भने बेचेर ‘एक्जिट’ लिन सकेन वा बजार न्युन्तम हुँदा पनि ‘इन्ट्रि’ गरिएन भने गल्ति हुन्छ ।

तपाईले बजारबाट कमाउँदा कतिसम्म प्रतिफल पाउनु भएको छ र गुमाउदा कतिसम्म ?
मैले बजारबाट १० गुणासम्म कमाएको छु । लस भएको छैन । मूल्य पाँच गुणा बढि नपुगेकोका लागि म त्यसलाई ‘लस’ कै रुपमा लिन्छु । तर, मोनेटरी भ्यालुको आधारमा म घाटामा छैन । एक्कुमुलेटेड आधारमा मात्र होइन, कम्पनीहरुलाई अलग अलग गर्दा पनि मैले नोक्सान व्यहोरेको छैन । स्वतन्त्र छलफल गर्न समस्या छैन । गण्डकी बिकास बैंकको सेयर मैले सुरुमा लिदा कम्पनी सात, आठ करोडको थियो तर कम्पनीमा असी करोड जति पैसा थियो ।
मैले कम्पनीको सेयर एक सय ८० रुपैयाँमा लिएको थिएँ । कम्पनीले लाभांश दिन्छ, बोनस दिन्छ, हकप्रद पनि दियो तर प्राइस ज्याक अप हुँदैन । अहिले कम्पनी ३२ करोडको भएको छ भने कम्पनीको सेयर मूल्य करिब दुई सय २० छ । मलाई मोनिटरीवाइज लस छैन । तर पाँच गुणा बढि कमाइ हुनुपर्छ भनेर सोच राख्ने भएकोले मैले लसको रुपमा लिएको छु ।

Thursday, June 19, 2014

पानी पिउनुका फाइदै फाइदा - onlinekhabar


पानी जिवनको आधार हो । पानी विना कुनैपनि जिवको अस्तित्व सम्भव छैन । हाम्रो सरीरको अधिकांस हिस्सा पानीले नै ओगटेको हुन्छ । एक वयस्क पुरुषको सरीरको कुल तौलको झण्डै ६५ प्रतिशत हिस्सा पानी भने महिलाको सरीरको तौलको ५२ प्रतिशत ।

दुब्लो पातलो मानिसको सरीरमा मोटो मानिसमा भन्दा पानीको मात्रा बढि हुन्छ । यसको मुख्य कारण के हो भने बोसोको तुलनामा मांशपेशीमा पानी संचय गर्ने क्षमता बढि हुन्छ । यसबाट पनि के पुष्टि हुन्छ भने मोटोपनाबाट ग्रसित मानिसको सरीरमा पानीको हाहाकार हुने हुनाले विभिन्न खाले रक्तविकार तथा अन्य रोगको जोखिम बढ्छ ।

दिनभर स्वास प्रस्वासमा झण्डै २-३ कप पानी खर्च हुन्छ । पसिना तथा पिसाबको रुपमा निस्कने पानीले सरीरमा रहेका हानिकारक तत्वहरुलाई बाहिर निकाल्ने काम गर्छ । सरीरमा १० प्रतिशत तरल पदार्थ कम हुने हो भने पनि डिहाइड्रेसनको खतरा उत्पन्न हुन्छ । त्यसैले मृगौलाको स्वास्थ्यका लागि समेत पानी पिइरहनु पर्दछ ।

सरीरमा पानी कम हुनाले टाउको दुख्ने, मांशपेशीमा कमजोरी उत्पन्न हुने, थकान, स्मरण शक्तिमा ह्रास जस्ता समस्या उत्पन्न हुन्छन् ।

पर्याप्त पानी पिउनाले सरीरको छाला चम्किलो हुने, अनुहार उज्यालो हुनका साथै चाउरीपन समेत कम गर्छ । विज्ञहरुका अनुसार पानी छालाको लागि प्राकृतिक पोषक हो ।

खाना खानुभन्दा ३० मिनेट पहिले २ गिलास पानी पिउनाले पाचन शक्ति बढ्दछ । बिहान उठेसँगै १ गिलास पानी पिएर मात्र अन्य भोजन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

सुत्नुभन्दा पहिले पानी पिउनु मुटुका लागि लाभदायी हुन्छ । नुहाएपछि पानी पिउने बानीले रक्तचाप कम हुने जोखिमबाट बचाउन मद्दत गर्दछ ।

पर्याप्त पानी पिउनाले सरीरबाट हानिकारक तत्वको निष्कासन सहज हुन्छ, जसका कारण पत्थरी जस्ता समस्या दूर हुन्छन् ।

भोजनलाई पचाउनका लागि पेटमा इन्जाइम तथा अम्ल समेतको उत्पादन हुन्छ । यस्तो अम्ललाई निस्कृय बनाउनका लागि पर्याप्त पानी पिउनु आवश्यक हुन्छ । यदि पानी कम पिउने हो भने त्यसले ग्यास्टि्रक, अपच जस्ता समस्या निम्ताउँछ ।