Monday, May 27, 2013

यसरी मारिएका थिए पत्रकार कृष्ण सेन - onlinekhabar

किशोर श्रेष्ठ
०५९ सालको कुरा हो, मंगलबार राति हामीलाई स्रोतले फोन गरेर साउतीको स्वरमा भन्यो- ‘कृष्णलाई त मार्यो नि ।’ को कृष्ण ? उसले सबै भन्न सकेन । संकटकालको बेला थियो, सेना प्रहरी सबैले प्रेसलाई सताइराखेको अवस्था थियो, दरबार हत्याकाण्ड भएर ज्ञानेन्द्रले सत्ता लिएको वर्ष दिन पुग्दै थियो । हामीलाई यसरी सूचना दिने व्यक्ति कृष्ण सेन मारिएको ठाउँका प्रत्यक्षदर्शीमध्येकै प्रहरी अफिसर थिए ।
फोन आएपछि हामीले यस विषयमा छलफल गर्यौं । तर, कम्फ्युजन भयो । मारिएका व्यक्तिको नाम ‘कृष्ण’ मात्रै भनिएको थियो । जबकि पक्राउ परेका कृष्णहरु दुईजना थिए, एउटा कृष्णध्वज खड्का, अर्का कृष्ण सेन । हामीले त्यो हप्ता विस्तृत सूचना पाउन नसकेपछि समाचार लेखेनौं ।
अर्को हप्ताको सोमबार फेरि फोन आयो । स्रोतले भन्यो-’ तपाईहरु समाचार छाप्न डराउनभएछ यार ।’ हामीले भन्यौं-’किन डराउनु र, को कृष्ण भन्ने डिटेलमा भन्नुपर्यो नि ।’ उसले भन्यो-’त्यो पत्रकार कृष्ण के त ।’ यसपछि भने मारिने व्यक्ति कृष्ण सेन नै रहेछन् भन्ने पक्का भयो । उनलाई जेठ ६ गते प्रहरीले पक्रिएको थियो । त्यो घटना थियो जेठ १३ गतेको ।
घटना के हो भनेर सोध्दा स्रोतले भन्यो-’बसेर केरकार गर्दागर्दै ढली गो नि । औषधि नियमित खानुपर्ने उसलाई मुटुको रोग पनि रहेछ । औषधि पनि खान नपाएको, अलिअलि गर्दागर्दै ढल्यो ।’ कृष्ण सेनको हत्या हुँदा त्यहाँ कोको थिए ? यो प्रश्नमा स्रोतले भन्यो-’तत्कालीन भ्याली डीआइजी अमरसिंह शाह, डीएपी विक्रम थापा, ज्याङ्गो ज्यान गरेका इन्स्पेक्टर कमल खाँड थिए । उनीहरुले कुटेर मारे ।’ अनि लास के गरे त ? ‘पिकअप गाडीमा हालेर लगे र विष्णुमतितिर सेलाए । पोल्नुभन्दा पहिले इन्काउन्टरमा मारिएको भन्ने पार्नलाई छातीमा दुईवटा गोली हानेर मुचुल्का बनाए ।’
स्रोतले हामीलाई यस्तो जानकारी दिएपछि हामीले ०५९ असार १२ गतेको जनआस्था साप्ताहिकमा ‘कृष्ण सेन पशुपतिमा खरानी’ शीर्षकमा समाचार लेख्यौं । अलविदा कृष्ण सेन भनेर लेख्यौं । कष्ण सेन मेरा पनि साथी थिए । म पत्रकार महासंघमा महासचिवमा उठ्दाखेरि महेश्वर दाहाल केन्द्रीय सदस्यमा उठेका थिए । हामीवीच संयुक्त प्यानल बनाउँदा कृष्ण सेन पनि सँगै थिए ।
समाचार लेख्ने बेलामा मैले त्त्कालीन भ्याली डिआइजी अमररिंह शाहलाई पनि सोधें । उनले भाइ, लेख्नचाँहि नलेख्नोस्, तर अलिअलि तीतोमीठो गर्दागर्दै गयो क्या भने ।
अर्को हप्ता जनआस्थामा फलोअप स्टोरी गर्नेक्रममा फेरि पुरानो स्रोतलाई फेरि सोधें, ‘आखिर सेनलाई मारियो चाँहि कसरी त ?’ स्रोतले भन्यो- ‘तिनै डिआइजी अमरसिंहले कृष्ण सेनलाई सोधे, ल भन् तँ पनि ठकुरी, म पनि ठकुरी, राजा पनि ठकुरी, तैंले के ठानेको छस् र तैंले के गर्न सक्छस् ? कृष्ण सेन त्यति बोलिराखेका थिएनन् र उनी कमजोर थिए । त्यही क्रममा सानो कोठामा लगेर भाक्कभुक्क हिर्काउँदा हिर्काउँदै मरिहाले ।
सेनको हत्यासम्बन्धी समाचार आएपछि गृहमन्त्रालयले यसबारेमा छानविन गर्न श्रीपुरुष ढकालको नेतृत्वमा आयोग पनि बनाएको थियो । हरिहर वस्तीले पोष्टमार्टम गरेको भन्ने त्यसमा रिपोर्ट पनि छ । मंगोलियन अनुहारको, यति उमेरको मान्छे गोकर्णको जंगलमा इन्काउन्टरमा मारिएको भन्ने त्यसमा रिपोर्ट छ । आयोगमा हामीलाई पनि वयान लिन बोलाएको थियो । तर, हामी गएनौं ।
कृष्ण सेनको समाचार लेखेपछि जनआस्थामाथि चर्को प्रहार भयो । त्यतिबेला देवेन्द्रराज कँडेल गृहराज्यमन्त्री थिए । देउवा प्रधानमन्त्री थिए । हिरासतमा भएको मान्छेलाई मारेको भनिसकेपछि उनीहरुलाई सीपीजेबाट चर्को दबाव आयो । पत्रकार गोपाल बूढाथोकीलाई पनि त्यहीबेला सेनाले अपहरण गरेको स्थिति थियो । म भागीभागी हिँड्नुपरेको थियो । तत्कालीन प्रधानसेनापति प्रज्वलसमशेरको समाचार लेख्दा मलाई पक्राऊ पनि गरियो । तत्कालीन सेनापतिसँग मेरो झगडै भयो, उनले तँलाई शुट गर्छुसम्म भने । पञ्चायतकालमा विमर्श पत्रिकाबाट शासकहरुलाई जस्तो अप्ठ्यारो थियो, त्योबेला जनआस्थाबाट उनीहरु त्यसैगरी आत्तिएको अवस्था थियो । त्यसपछि अकस्मात् श्रीषा प्रकरण आयो ।
श्रीषा कार्की प्रकरणमा ४४ जना मुछिएका छन् । लोकमानसिंह कार्की पनि यसका एउटा पात्र हुन् । कान्तिपुरका साहुहरु पनि हुन् । केशव स्थापित र खुमबहादुर खड्का पनि हुन् । उनीहरु सबै मसँग आगो भैराखेका थिए । प्रदीपसमशेर आइजीपी थिए, राधाकृष्ण मैनालीका सम्धी त्यतिबेला डीआइजी थिए, उनीहरु सबैले भूमिका खेले । उनीहरुले जनआस्था बन्द गराउन खोजे, तर सम्भव भएन । कान्तिपुर पनि मेरा विरुद्ध लाग्यो, युवराज घिमिरे मेरा साथी सम्पादक थिए, तर उनको बसमा थिएन कान्तिपुर । अजय दासले मसँग २२ मिनेटको अन्तरवार्ता लिएका थिए, तर एक सेकेन्ड पनि प्रसारण भएन । उनीहरुले हाम्रो भनाइ कँहि कतै प्रकाशित गरेनन्, एकोहोरो स्टोरी दियो । अहिलेको लोकमान प्रकरणमा पनि उनीहरु यसैगरी परिचालित भए ।
श्रीषा प्रकरणमा मलाई पक्रनका लागि कसलाई खटाइएको थियो ? डीएसपी विक्रम थापा, जसले कृष्ण सेनलाई कुटेर मारेको भनेर हामीले लेखेका थियौं, तिनैलाई अनुसन्धान अधिकृत बनाएर खटाइएको थियो । किशोर श्रेष्ठलाई पक्रेर अनुसन्धान गर्नु भनेर तिनै डीएसपी थापालाई खटाइएको तोक लगाएको कपी हामीसँग सुरक्षित छ । यसैबाट सबै कुरा प्रष्ट हुन्छ, सेनको हत्यासम्बन्धी समाचारको बदला लिनकै लागि हामीलाई ज्यान मुद्दा लगाइएको थियो । यो मुद्दा टुंगिन दुई वर्ष लाग्यो । यसबारे जनआस्थाका पत्रकार विश्वमणि सुवेदीको किताब पनि निस्कँदैछ ।
हामीले जोखिम मोलेर कृष्ण सेनको हत्यासम्बन्धी समाचार बाहिर ल्याए पनि हामीलाई माओवादी नेताहरुले सामान्य धन्यवादसम्म दिएनन् । बरु उल्टै हामीलाई सुराकी, दरबारिया आदि आरोप लगाउने काम गरे । माओवादीहरु आफू भलो त जगत भलो भन्नेखालका मान्छे हुन् । उनीहरुले यसमा हामीलाई जसरी हेरे पनि केही थुनासो छैन । किनभने हामीले व्यक्तिगत लाभका लागि सेनको हत्यासम्बन्धी समाचारमा जोखिम मोलेका थिएनौं । हामीले पत्रकारिताको धर्म निर्वाह गरेका हौं, जोखिम मोलेका हौं । उनीहरुले धन्यवाद देलान् भनेर यो काम गरिएको होइन । स्रोतका अगाडि हामीले आफूहरु काँतर नरहेको देखायौं र उनले दिएको सूचनालाई सलाम गर्यौं । हामीले लेखेको समाचार सही सावित भयो । हामीले यो काम नगरेको भए अहिले पत्रकार कृष्ण सेनलाई माओवादीले बेपत्ताको सूचिमै राखिरहेका हुने थिए ।
कृष्ण सेन मेरा पनि साथी थिए । उनको आस्था र विचार जे भए पनि स्वाभाविकरुपमा एउटा पत्रकार त्यसरी मारिनु जघन्य अपराध हो । मरेको मान्छेलाई छातीमा गोली दागेर इन्काउन्टरमा मारिएको भनेर मुचुल्का तयार पार्नुजस्तो ठूलो अपराध अरु केही हुँदैन ।
(पत्रकार सेनको हत्यासम्बन्धी समाचार ब्रेकिङ गर्ने जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठसँग सेन मारिएको ११ वर्षमा अनलाइनखबरले गरेको कुराकानीमा आधारित )

Sunday, May 26, 2013

अचानो होइन, गजुर बनाउन चाहन्छौं श्रीमान् ! - विजयकुमार - ekantipur

म अदालतको सम्मान गर्छु । यो सम्मान आफूलगायत कान्तिपुर प्रकाशनका केही सहकर्मीविरुद्ध कसैले सर्वोच्च अदालतमा अपहेलनाको मुद्दा दर्ता गरायो भन्दैमा हालै उत्पन्न भएको 'सम्मान' होइन । म न्यायालयको सम्मान गर्छु, किनभने म पत्रकारिताको पेसागत निष्ठामा विश्वास गर्छु । कुनै पनि निष्ठावान पत्रकारको मनमा झैं मेरो मनमा अदालतप्रति सम्मानबाहेक केही हुन सक्दैन ।
तर यसको अर्थ यो कदापि नलागोस् कि कुनै न्यायाधीशविशेष आफ्नो पद प्रतिकूल आचरण गरुन् र म आफ्नो कलमको बिर्को बन्द गरेर बसौं ! न्यायाधीश भनेको अदालत होइन, पुलिस भनेको कानुन होइन र पत्रकार भनेको पत्रकारिता होइन । पत्रकार त्यस बखतसम्म मात्र पत्रकार हो, जुन बखतसम्म उसले पेसागत धर्मको पालन गरिरहेको हुन्छ । न्यायको धर्मबाट च्युत भएको मानिस न्यायालयको कुर्सीमा बस्न त सक्ला तर उसले न्यायमूर्तिको सम्मान नपाउन पनि सक्छ । टोपीमा सत्य, सेवा, सुरक्षा लेख्दैमा सबै मानिस प्रहरी नहुन पनि सक्छन् ।
बडा गहिरो तवरले बुझ्नुपर्ने कुरा के छ भने कुनै पनि पेसा आफैंमा न सम्मानित हो, न त तुच्छ हो । हरेक पेसाका आ-आफ्ना धर्म छन् । न्यायालय त्यसमाथि पनि सर्वोच्च न्यायालयका विषयमा समाजमा सकारात्मक वा नकारात्मक कुनै कुरा सुनियो भने पत्रकारको धर्मअनुसार लेख्नैपर्ने हुन्छ । राष्ट्रिय जीवनका अलग-अलग पक्षहरूको बेग्लाबेग्लै पेसागत धर्म हुन्छ । प्रशासक, पत्रकार, वकिल र न्यामूर्तिहरू अलग-अलग पेसागत धर्मबाट बाँधिएका छन् । तर मातृभूमिप्रति कर्तव्यको विन्दुमा पुगेपछि यी सबै पेसागत धर्महरू एकआपसमा जोडिएका पनि हुन्छन् । जोडिनु पर्छ ।
म सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश माननीय अनुपराज शर्मासित पूरै सहमत छु, जसले अहिले अदालत र प्रेसबीच बिगि्रन थालेको सम्बन्धप्रति सार्वजनिक चिन्ता व्यक्त गरेका छन् । अदालत र प्रेस दुवै निशस्त्र शक्ति हुन् । पेसागत निष्ठा यिनको इन्धन हुनुपर्छ । अदालत र प्रेस सहयात्री हुन् तर समकक्षी होइनन् । राष्ट्रिय जीवनमा सर्वोच्च अदालत विवादको अन्तिम निर्णयकर्ता हो । त्यसैले प्रेसलगायत राज्यको अर्को कुनै पनि अर्को अंगको हैसियत सर्वोच्च अदालतको समकक्षी हुनसक्छ, जस्तो मलाई लाग्दैन । म अदालतलाई प्रेसभन्दा माथिको स्थानमा देख्न चाहन्छु । यसो भनेर म आफ्नो उदारता होइन, पेसागत स्वार्थ प्रकट गर्दैछु । किनभने लोकतन्त्रको अभावमा प्रेस स्वतन्त्रता सम्भव छैन । प्रेस स्वतन्त्रताको लडाइँमा पत्रकारको अन्तिम आशा विन्दु भनेको अदालत हुन्छ । एक यस्तो अदालत, जसले न्यायालयको काम गरोस् ।
तीन दशकभन्दा अघि पदम ठकुराठीको सम्पादनमा प्रकाशन हुने तत्कालीन 'साप्ताहिक मञ्च' मार्फत पत्रकारितामा प्रवेश गरेको थिएँ । सुरु भएको केही समय नबित्दै पत्रिकामा लेखिएका सामग्रीहरूलाई आधार बनाएर राजकाज मुद्दामा ठकुराठीलाई गिरफ्तार गरियो । पत्रिकामा नियमित काम गर्ने हामी मुस्किलले चार-पाँच जना थियौं । ती दिनहरूमा मिडियाको प्रभाव आज जस्तो थिएन । न त पत्रकारको पक्षमा आजजस्तो संगठित राष्ट्रिय, अन्तर्राष्ट्रिय जनमत नै तत्काल सहजरूपमा उपलब्ध थियो । पदम ठकुराठी केही दिन जेल बसे । तर अन्ततः अदालतको आदेशबाट रिहा भए ।
पञ्चायतकालमा सरकारले प्रतिबन्ध लगाएको कयौं पत्रिकाहरू न्यायालयको आदेशबाट खुला भएको देखेको, भोगेको मानिसका हैसियतले देशको सर्वोच्च अदालतप्रति मैले अनादर भाव राख्ने प्रश्नै उठ्दैन । तर यसको अर्थ यो कदापि नलागोस् कि सर्वोच्च अदालतमा कुनै न्यायाधीशलाई पत्रकारले लगाएको टिसर्टको रङ मन परेन भन्दैमा इजलासबाट बाहिर निस्कने आदेश देओस् र हामीचाहिँ अदालतको मानहानि मुद्दा लाग्छ भन्ने भयले कलमको बिर्को बन्द गरेर बसौं । यो हुन सक्दैन श्रीमान् !
 देशको न्यायिक नेतृत्व गर्नुपर्ने मानिसहरूले नै विचाराधीन मुद्दाका झगडियालाई राति-राति भेटेको कुरा समाचारमा आओस् र हामीचाहिँ अदालतको मानहानि मुद्दामा सजायभागी हौलाऊँ भन्ने डरले आफ्नो पेसागत काम नगरौं, यो पनि हुन सक्दैन श्रीमान् । गत स्तम्भमा उल्लिखित 'चियर्स' भन्ने शब्द नेपाली भाषाको होइन । यो शब्दका धेरै अर्थ हुन्छन् । राम्रो अंग्रेजी नजान्ने मदिराप्रेमी विद्वान्हरूले यसको एकमात्र अर्थ देख्छन् भने तिनलाई फुर्सदमा अंग्रेजी ट्युसन पढाउन सकिन्छ ।
सर्वोच्च अदालत न्यायको सबैभन्दा ठूलो मन्दिर हो । हुनै पर्छ । यसभित्र कतै केही कमजोरी देखिए हामीले आंैल्याउनु भनेको त्यसमा सुधारको अपेक्षा राख्नु पनि हो । कामुप्रधानन्यायाधीश माननीय दामोदर शर्माले भन्नुभएको छ, 'अदालतलाई अचानो बनाइनु हँुदैन ।' हामी पनि अदालतलाई अचानो बनाउने मूर्खता गर्न चाहन्नौं । किनभने अदालत अचानो बन्नेबित्तिकै प्रेसको घाँटी पनि धेरैबेर सुरक्षित रहँदैन । कुनै पनि निष्ठावान पत्रकारले न्यायालयलाई अचानो होइन, गजुरको शीर्ष स्थानमा राख्न चाहन्छ । तर गजुर बनाउन चाहिने निर्माण सामग्रीको अलिकति अभाव भएको देख्दादेख्दै विवेक थुनेर बस्न पनि सकिन्न श्रीमान् ।
भन्ने नै हो भने आज कसैले सर्वोच्च अदालतको अपमान गरेको छ भने तिनले गरेका छन्, जसले जन्मकैदको अदालती फैसला पाएका दोषीहरूलाई खुलेआम घुम्ने स्वतन्त्रता दिएका छन् । अदालतको अपमान कसैले गरेको छ भने ती सरकारी निकायहरूले गरेका छन्, जसले सर्वोच्चका अनेक फैसलाहरूलाई तामेली नगरी कागजको खोस्टामा परिणत गरेर डस्टबिनमा फालिदिएका छन् । सर्वोच्च अदालतको मान राख्ने नै हो भने ती सबैखाले फैसलाहरू तामेली भएको देख्न पाए जनताले पनि पत्याउने थिए कि अदालत आफ्नो मानप्रति आफंै सचेत छ भनेर । आफ्नै आदेशको तामेली गराउनु सर्चोच्च अदालतको प्रतिष्ठा मापनको पहिलो अनिवार्यता हो ।
अदालतको अपमान कसैले गरेको छ भने तिनले गरेका छन्, जसले आज देशको अगाडि खडा भएको एउटा जटिल संवैधानिक विषयमा परेको रिट निवेदनको सुनुवाइ पन्ध्रौं पटकसम्म स्थगित
गरेका छन् । संविधानको अन्तिम व्याख्याता मानिएको सर्वोच्च अदालत नै संवैधानिक विषयमा निर्णय लिन पन्छिएपछि त्यहाँनेर अदालतको मान भइरहेको छ वा अपमान ? बेञ्च र बारले आफ्नै विवेकलाई सोधोस् ।  
आज यो देशमा प्रधानन्यायाधीश र मन्त्रिपरिषद्को अध्यक्ष एउटै मानिस भइरहेको अवस्थामा यस सम्बन्धमा थप केही भनिराख्नु पर्लाजस्तो पनि लाग्दैन । प्रमुख कार्यकारीको रूपमा गरिएका कामलाई प्रधानन्यायाधीशको दोहोरो रक्षाकवच पहिरिएर निस्तेज गर्ने सुविधा उहाँलाई पनि दिन सकिँदैन श्रीमान् ।
हो, केही समयअघि एक नितान्त विशिष्ट परिस्थितिमा राष्ट्रको बृहत् हितका निम्ति चुनावी सरकारको नेतृत्व प्रधानन्यायाधीशलाई गर्न दिए पनि हुन्छ भनेर मैले पनि लेखेको थिएँ । निलाम्बर आचार्यजस्ता प्रज्ञावान मानिसले पनि भनेका थिए । तर कानुन दिवसको दिनमा सर्वोच्च अदालत परिसरमा जे जस्ता दृश्य देखिए, यथार्थ मैले आँकलन गरेजस्तो सरल रहेनछ कि भन्ने शंका मेरो मनमा पनि उत्पन्न भएको छ । म चाहन्छु, भविष्यले मेरो शंकालाई गलत प्रमाणित गरोस् ।
म अझै आशा गर्छु, आजको दिनमा बाध्यतावश दोहोरो टोपी लगाएका सम्माननीय  खिलराज रेग्मीज्यू यो अत्यन्तै मुस्किल सन्तुलनको खेलमा पटक-पटक चिप्लनु हुने छैन । अदालतका निर्णयहरूमा उहाँको छाया पनि पर्‍यो वा परेझैं जनतालाई शंकामात्र लाग्यो भने पनि उहाँले लगाएका दुवै टोपीहरूको गरिमा एकैपटक खण्डित हुनेछ । भावी निर्वाचन र न्यायालयको सम्मान दुवैका लागि त्यो अवस्था शुभ हुने छैन ।
प्रेस राज्यको चौथो अंग हो । लोकतन्त्रमा राज्यका भिन्न-भिन्न अंगबीच आ-आफ्नो पेसागत धर्मको विविधता र दृष्टिकोणको पृथकताले यदाकदा घर्षणको स्थिति देखा पर्न पनि सक्छ । तर त्यो घर्षण सैद्धान्तिक र सकारात्मक हुनुपर्छ । यस्तोखाले 'पोजेटिभ पि|mक्सन' बाट उत्पन्न हुने ऊर्जाले समाजलाई सही मार्गमा अघि बढ्न सघाउ पुर्‍याउँछ ।
काम गर्दै जाँदा हामी पत्रकार जगत्बाट गल्ती हुन सक्छन् । अदालतबाट पनि त्रुटि हुन सक्छन् । तर गलत नियत राखेर गल्ती गरिनु क्षम्य हुन सक्दैन । सर्वोच्च अदालतका एक न्यायाधीशले गलत नियत राखेर गरेको फैसला र एक पत्रकारको गलत रिपोर्टिङ दुवैलाई एकै मापदण्डमा राखेर हेर्न कदापि सकिँदैन । प्रेसले आफ्ना गल्ती भोलिपल्ट 'भुलसुधार' गरेर सच्याउन पनि सक्छ । तर कानुनको अन्तिम व्याख्याता निकायका सदस्यहरूलाई त्यो सुविधा कुनै पनि लोकतान्त्रिक समाजले प्रदान गर्न सक्दैन । त्यो पनि एक यस्तो समयमा जब देशमा न्यायाधीशहरूलाई महाअभियोग लगाउनसक्ने निर्वाचित संसद् अस्तित्वमै छैन । समाजले रातदिन श्रीमान्-श्रीमान् भनेर आदर गरेको मानिसले सम्मानको त्यति मूल्य त चुकाउनै पर्छ ।
यसै प्रसंगमा भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीले भर्खरै कर्नाटक निर्वाचनमा आफ्नो पार्टीको नराम्रो पराजयपछि भनेको सम्झन्छु, 'सडकको एउटा आम मानिसले आफ्नो जीविका निर्वाह गर्ने प्रक्रियामा कहिलेकाहीं नैतिकतासित सानातिना सम्झौता गरिहाले पनि उच्च नेतृत्वमा बसेका मानिसहरूको आचरणमा उसले ठूलो नैतिक्तताको अपेक्षा गर्दोरहेछ । कर्नाटकका मतदाताहरूले हाम्रो पार्टीलाई निर्वाचनमा दण्डित गरेर यही शिक्षा दिएका छन् । मतदाताको जनादेश र शिक्षा दुवैप्रति म नतमस्तक छु ।' लालकृष्ण आडवाणीको यो भनाइबाट हामी सबैले केही सिक्न सक्छौं । बुद्धिमानलाई इसारा काफी हुन्छ । न्यायमूर्तिको कुर्सीमा बसेर न्यायबाहेक अरू केही देख्नु अन्यायमात्र होइन, पाप हो ।
जाँदाजाँदै म गत स्तम्भमा प्रकाशित सामग्री पढेर देशभित्र र संसारको कुना-कुनाबाट हामीलाई इमेल लेख्ने हरेकप्रति आभार व्यक्त गर्दछु । कानुनी दाउपेचको दृष्टिबाट मात्र नपढेर समग्रतामा पढिदिनु भएकोमा धन्यवाद । दुई दिन बन्द फिर्ता लिने संस्थाहरूलाई पनि साधुवाद । सम्झँदा पनि भावुक हुन्छु, पदम ठकुराठीमाथि मुद्दा चलाइँदा हामी कति एक्लो महसुस गथ्र्यौं । उनको टाउकोमा गोली प्रहार गरिँदा कति निरीह थियौं हामी । राज्य नै व्यक्तिविरुद्ध लागेपछि कस्तो महसुस हुन्छ भन्ने मलाई राम्रो अनुभव
छ । त्यस दिनको तुलनामा आज पत्रकारिताको प्रभाव कति व्यापक भइसकेको रहेछ । पत्रकारिताको बढ्दो प्रभाव हाम्रो निम्ति फगत जिम्मेवारीको बोझबाहेक केही होइन । यही कुराको अपेक्षा हामीले माननीय न्यायाधीशहरूबाट गर्‍यौं भन्दैमा अन्यथा सोच्न मिल्ला र ?

अक्षर सुधार्दै वीरका डाक्टर - naya patrika

डाक्टरी अक्षर भन्नासाथ सामान्य व्यक्तिले बुझ्न सक्दैनन् भन्ने गरिन्छ । तर, वीर अस्पतालका डाक्टरले भने अक्षर सुधार्दै छन् । सबैले बुझ्ने गरी अंग्रेजी ठूला अक्षरमा औषधिको नाम लेख्न अस्पताल प्रशासनले डाक्टरलाई निर्देशन दिएको छ ।
अस्पताल प्रशासनले बिरामीलाई दिने औषधिका नाम लेख्दा बुझिने गरी लेख्न डाक्टरहरूलाई निर्देशन दिएको हो । बिरामीको रिपोर्टकार्डमा औषधि खाने मात्रा र समय पनि नेपाली अक्षरमा स्पष्ट बुझिने गरी लेख्न डाक्टरलाई निर्देशन दिइएको छ ।
बिरामी र उनीहरूका आफन्तले औषधिको नाम र औषधि कम्पनी स्पष्टसँग बुझ्न सकून् भनेर डाक्टरका अक्षरमा सुधार ल्याउन लागिएको अस्पतालले जनाएको छ । तीन महिनादेखि डाक्टरका अक्षरमा सुधार ल्याउने प्रयास थालिएको वीर अस्पतालका निर्देशक डा. बुलन्द थापाले जानकारी दिए । निर्देशनपछि सुधार हुँदै गएको उनले दाबी गरे ।
डाक्टरहरूले रिपोर्टकार्डमा जेलिएका अंग्रेजी अक्षरमा लेख्ने औषधिको नाम चिन्न अंग्रेजी जान्ने व्यक्तिलाई पनि गाह्रो हुने गरेको छ । औषधिपसलमा बस्ने फर्मासिस्टले समेत उनीहरूका अक्षर नबुझ्दा बिरामीलाई दिइने औषधिसमेत फरक पर्ने गरेको छ ।
निर्देशक थापाले औषधिका नाम र खाने मात्रासँगै सकेसम्म गुणस्तरीय कम्पनीका औषधि सिफारिस गर्नसमेत निर्देशन दिइएको बताए । डाक्टरले लेखेकै नामका बिरामीलाई औषधि उपलब्ध गराउन पनि नजिकका फार्मेसीलाई निर्देशन दिएको उनको भनाइ छ ।
यसअघि डाक्टरका अक्षर नबुझ्दा बिरामी समस्यामा परेको गुनासोपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीको रिपोर्टकार्डमा स्पष्टसँग बुझिने गरी अंग्रेजी ठूला अक्षरमा नाम लेख्न मौखिक निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनपछि उपत्यकाका ठूला भनिएका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेजलगायतका अस्पतालले आफ्ना डाक्टरलाई औषधिका नाम बुझिने गरी लेख्न निर्देशन दिएका थिए ।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. भगवान कोइरालाले डाक्टरहरूलाई बुझिने गरी औषधिका नाम रिपोर्टकार्डमा लेख्न लगाएको बताए । खाने मात्रा भने फार्मेसीबाटै विस्तृत रूपमा जानकारी लिनुपर्ने कोइरालाको भनाइ छ । उनले भने, ‘डाक्टरले फर्मासिस्ट नझुक्किने गरी प्रेस्क्राइब गर्नुपर्छ, फर्मासिस्टले पनि बिरामीलाई तोकिएकै कम्पनीको औषधि दिनुपर्ने र खाने मात्रा पनि राम्ररी बुझाउनुपर्छ ।’
मन्त्रालयका सहप्रवक्ता कविराज खनालले औषधिजस्तो संवेदनशील कुरामा चिकित्सकहरू नै जिम्मेवार हुनुपर्ने बताए । मन्त्रालयले केही महिनाअघि स्वास्थ्य सेवा विभागमार्फत अस्पतालबाट डाक्टरलाई औषधिको नाम बुझिने गरी लेख्ने निर्देशन दिन लगाएको बताए । कम्तीमा औषधिका नाम र खाने मात्रा रिपोर्टकार्डमा बुझिनेसँग लेखे बिरामी गलत औषधिको सिकार हुन नपर्ने उनको भनाइ छ । उता, वीर अस्पतालका निर्देशक थापाले फार्मेसीवालाले कतिपय चिकित्सकको प्रेस्क्रिप्सनभन्दा भिन्न कम्पनीका औषधि बिरामीलाई भिडाउने गरेको भन्दै त्यसको नियन्त्रण गर्न औषधिका नाम बिरामीका आफन्तले नै बुझ्ने गरी लेख्न लगाएको बताए ।

बहुदलवादी भएर मैले अर्थ सचिवबाट राजिनामा दिएको हैन - देवेन्द्रराज पाण्डे - Setopati



मलाई अहिलेका नेताहरु ‘प्रजातान्त्रिक पद्दतीका निरंकुश’ राजा जस्तो लाग्छ । जवकी म राजा विरेन्द्रलाई ‘निरंकुश प्रणालीका प्रजातान्त्रिक नेता’ ठान्थे ।
विदेशका नामीगिरामी कलेजबाट पढाई सकेर युवराजधिराज विरेन्द्र स्वदेश फर्केदेखिनै मैले उनीसँग काम गर्ने मौका पाए ।
 
महेन्द्रले राजकाजको ममिलामा ‘ट्रेन्ड’ गर्ने उद्देश्यले विरेन्द्रलाई जाँचबुझ केन्द्रमा खटाएका थिए । केन्द्रको प्रशासन, विकास र योजना हेर्ने विभागको म पनि एउटा सदस्य थिए ।
मेरो जागिर नाथे उपसचिवको थियो । तैपनि युवराजधिराजसँग छलफलको मौका मिलिरहन्थ्यो । विकास परिषद्, जिल्ला प्रशासन योजना, लोकसेवा आयोगको पर्नुसंरचना लगायतमा हामीले काम गरेका थियौं । अधिनायकवादी राजसंस्थाको प्रतिनिधित्व गर्ने भएपनि उनी प्रायजसो एउटै चासो व्यक्त गर्थे– जनताको विचार के छ । जनता जे चाहन्छन्, त्यहिँ गरौं । 
 
राष्ट्रिय योजनाहरु कसरि तर्जुमा गर्ने भन्ने विषयमा पनि जाँचुबुझ केन्द्रले काम गथ्र्यो । युवराज एउटै मन्त्र दोहो¥याइरहन्थे– जनसहभागिता, जनसहभागिता, जनसहभागिता ।
युवराज विरेन्द्रको नजिक रहेर काम गर्ने मौका पाउँदा मैले उनको माया र स्नेह पनि पाएको थिए ।
 
...
 
राजसंस्था आफैंमा निरंकुश प्रणाली हो । त्यहाँमाथि २०१७ सालको कदमबाट पूर्ण निरंकुश वनेका राजा महेन्द्रको छोरामा किन यो उदारता ?
मानिस कस्तो बन्छ । चेतनाको विकास कसरि हुन्छ । सोचहरु कसरि विकसित हुन्छ– ‘स्कुलिङ्’ ।
 
आलंकारिक प्रजातान्त्रिक मुलुकहरु जापान, वेलायत र अमेरिका पढेर आएका विरेन्द्रको सोच धेरै आधुनिक भएको हामी सुन्थ्यौं । उनकै मातहत काम गर्दा हामीलाई उनी उदारवादी नै हो जस्तो लाग्थ्यो ।
२०२८ माघ १७  गते महेन्दै विते । विरेन्द्रले राज्यारोहण गरे ।
 
‘अब परिवर्तन हुन्छ,’ हाम्रो पहँुच भएका पंचायत ‘सिष्टम’ भित्रका उच्च अधिकारी, मन्त्री र नेताहरुले नै अनुमान गरेका थिए, ‘संसारका उत्कृष्ट प्रजातान्त्रिक मुलुकमा शिक्षा लिएर आएका राजाले अब बहुदल दिन्छन् ।’
राज्यारोहणपछि विरेन्द्रले दिएको संवोधनमा पंचायत भन्ने एक शव्द पनि परेको थिएन । यो पनि राजा उदार थिए भन्ने उदाहरण थियो ।
 
राजाले अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रस्तुत गर्ने कतिपय दस्तावेजको लेखनमा म पनि सरिक हुन्थे । राजाको सचिवालयबाट आउने त्यस्ता दस्तावेजको मस्यौदामै यस्ता वाक्य राखिएके हुन्थ्यो, ‘म र मेरो श्रीमती ।’
राजाले म र मेरो श्रीमती लेख्नु चानचुने कुरो थिएन । दरबारिया, पञ्च र कर्मचारीतन्त्रमा त्यस्ता वाक्यांस प्रयोगबारे हल्लीखल्ली मच्चिएको थियो । ‘राजा निरंकुश हुन खोजेका छैनन्, जनताको अधिकार जनतालाई नै फिर्ता गर्छन्,’ कतिपय ठूलाबडाहरु ठोकुवा नै गर्थे ।
 
...
 
यस्ता उदार देखिएका राजाको व्यवहारबाट पंचायत पक्षधर, दरबारिया र कतिपय उच्च प्रशासक भने सशङ्कित देखिन्थे । पंचायतले ११ वर्षमा एउटा शासक वर्ग जन्माइसकेको थियो । राजा उदार होलान् र आफूले रँजाई गर्न नपाइएला भन्ने डर त्यो वर्गलाई थियो । राजा भन्दा उनीहरुका लागि पंचायत बढि प्यारो थियो ।
 
उनीहरुले राजपरिवारका सदस्य मार्फत् विरेन्द्रको ब्रेन स्टोर्मिङ् गरे । पंचायतकै पक्षमा ।
 
पंचायत राजा महेन्द्रले जन्माएको निरंकुश दर्शन थियो । पंचायतमा समाहित भएर त्यसलाई अघि नबढाउँदा स्वर्गवासी पिताप्रति अपमान गरेको हुन सक्ने व्याख्या त्यस्तो वर्गले ग¥यो ।
राज्यरोहण गर्दा उदारवादी देखिएका राजा १० महिनामा खाँटी पंचायतवादी भइसकेका थिए । २०२९ साल पुष १ गते पंचायत जयन्ती तथा संविधान दिवससम्म आइपुग्दा विरेन्द्र परिवार, दरबार र पञ्चहरुको घेरावन्दीमा परिसकेका थिए ।     
पढाई लेखाईले सैद्वान्तिक ज्ञान भएपनि उनमा विचारको परिपक्वता देखिएन । ‘काँचो उमेरको राजालाई पंचायतले जन्माएका एलिटहरुले कप्र्याक कुप्रुक पारे,’ म विरेन्द्रलाई निर्दोष नै ठान्थे ।
 
...
 
पंचायत बलियो होस् कि कमजोर त्यसले म सामान्य कर्मचारीलाई खासै फरक पार्ने थिएन । राजासँगको दोहोरो चिनाजानीले हो वा के कारणले हो मेरो उन्नती चाँडो चाँडो भइरहेको थियो । म छोटो अवधिमै अर्थ मन्त्रालयको सहसचिव भइसकेको थिए । अर्थ मन्त्री भेषबहादुर थापा, सचिव नरकान्त अधिकारीको स्कुलिङ्मा धेरैथोक सिक्न पाइएको थियो ।
 
सहसचिवै हुँदा पनि म आक्कल झुक्कल राजासँग दर्शनभेटको मौका पाउँथे । व्रिफिङ् वा अरु केहि कामको सिलसिलामा ।
 
२०३४ सालमा गलैचा काण्ड भयो । प्रधानमन्त्री तुलसी गिरी, मेरै मन्त्री थापा, सचिव अधिकारी, मन्त्री हर्क गुरुङ, कुलशेखर शर्मा जस्ता शिखर व्यक्तित्व सबैलाई काण्ड लाग्यो ।
प्रधानमन्त्री किर्तीनीधि विष्ट हुनुभयो । सरकारले मलाई नै कायममुकायम अर्थ सचिव बनायो । उनान्चालिस वर्षकै उमेरमा कायममुकायम सचिव हुन पाउनु । अर्थ जस्तो महत्वपूर्ण मन्त्रालयमा पोष्टिङ् पाउन दरबारले विश्वास गरेको हुनुपथ्र्यो ।  
किर्तीबाबुसँग काम गर्न असाध्यै सजिलो । राजाले नै भनेपनि उहाँले हुनेबाहेक नहुने काम गर्ने हैन । फ्याटफ्याट बोलेर जसलाई पनि मू–तोड जवाफ दिइहाल्ने स्वभाव । हामीले इमान्दारीपूर्वक निर्णय गर्दिनुप¥यो, बस् । ‘माथि’ जहाँ जहाँ भिड्नुपथ्र्यो त्यो उहाँकै जिम्मा ।
 
म अर्थको क्याडेर जस्तै भएपनि फरेन एड (वैदेशिक सहायता) मा मात्र काम गरेको । कर, भन्सार, बजेट पट्टिको मलाई केहि पनि थाहाँ थिएन । भुवनेश्वर खत्री दह्रो सहसचिवमा कहलिनुभएको थियो । उहाँलाई सेकेण्ड म्यान बनाएर ल्याए । उहाँले जे भन्नुभयो त्यहिँ अनुसार कर÷भन्सारका महानिर्देशक र फिल्डका हाकिम खटाइदिए ।   
बजेट वा अरु विभिन्न काममा दरबार गइरहनुपथ्र्यो । प्राय ग्रुपमा गइन्थ्यो । आक्कल झुक्कल एक्लै पनि भेट्न पाइन्थ्यो । राजाको म प्रतिको माया युवराज हुँदा जस्तै पाउँथे । मलाई पुरापुर विश्वास पनि गरेका थिए ।
दरबारका आसेपासेहरुलाई अप्रिय हुने निर्णय गरिरहँदा पनि राजाबाट कहिल्यै कुनै प्रकारको हस्तक्षेप हुँदैनथ्यो ।
...
जुल्फिकर अलि भुट्टोको फासीको निहँुमा सुरु भएको विद्यार्थी आन्दोलन चर्किदै गएको थियो । २०३५ चैतमा सुरु भएको आन्दोलन एक वर्षमा ह्वात्तै बढिसकेको थियो ।
अर्थ सचिवको आन्दोलनसँग खासै लेनादेना हुँदैनथ्यो । गृह सचिवलाई तनाव हुन्थ्यो होला । एउटा सचेत नागरिकले राख्ने चासो बाहेक आन्दोलनसँग साइनो पनि थिएन ।
 
म पनि देश विदेश पढेलेखेको भनेर कहलिएकै थिए । कामै संसारका मुलुक घुमिहिँड्ने । संसारमा प्रजातन्त्र कति लोकप्रिय हुँदै गएको छ मैले बुझेको थिए । ‘विद्यार्थिले सल्काएको आगोले पञ्चायत ढल्छ,’ म मनमनै गम खान्थे, ‘अबको दुनियाँमा निरंकुश व्यवस्था कसरि चल्दो हो र ।’ 
 
भित्ताको पनि कान हुन्छ भनेर हामी कर्मचारी मध्ये कसैले पनि व्यवस्थाविरोधि कुरा गर्ने आँट गर्दैनथ्यौं ।   
मेरो अनुमान सही निक्ल्यो । २०३६ जेठ ९ गते ठूलो मास उर्लियो । गोरखापत्र र आरएनएसीमा आगो लगाए । गोरखापत्रसँगै भूगोलपार्कमा नेपाल वैंक थियो । त्यतिबेलाको सबैभन्दा ठूलो वैंक ।
 
‘नेपाल वैंक पनि जलाउलान, सुरक्षामा विशेष ध्यान पु¥याउनु,’ दरवारबाट मलाई फोन आयो, ‘भोली विहानसम्म राजाबाट जनमत सं्रह घोषणा हुन्छ ।’
जेठ १० गते जनमतसंग्रह घोषणा भयो ।
 
‘बहुदलीय व्यवस्था की सुधारिएको पँचायत’ छान्ने अधिकार मतदाताको । त्यो सँच्चिक प्रजातान्त्रिक प्रक्रिया थियो । आन्दोलनकारीले मागे भन्दा बढि दिएर राजा विरेन्द्रले आफू उदारवादी भएको देखाउन सके । मैले जस्तो राजा सोचेको थिए उनीबाट त्यो भन्दा राम्रो कदम चालियो ।
 
‘राजाबाट घोषणा भएको जनमत संग्रह निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्नु,’ प्रशसनयन्त्रलाई पनि दरवारबाट निर्देशन आएको रहेछ ।
मुख्य सचिवले सचिवहरुको बैठक डाके । जनमतसंग्रह कसरि निष्पक्ष गर्न सकिन्छ भन्नेमा मन्त्रालय र मातहतका निकायहरु कसरि चनाखो रहने भन्ने विषयमा छलफल भयो ।
‘पञ्चै हो यो देश वनाइदेऊ जस्ता गितहरु रेडियोमा अबदेखि बजाउने कि नबनाउने,’ सञ्चार सचिवले जिज्ञासा राखे ।
 
सरकारी संयन्त्रबाट पंचायत वा बहुदलको पक्षधरता देखिनुहुन्न भन्नेमा राजा चिन्तित रहेको जानकारी गराइयो । ‘पञ्चायतको स्तुती गाएको गीत रेडियोबाट बजाउन मिल्दैन, नबजाउने,’ सचिवहरुले निर्णय गरिदिए । संचार सचिवले त्यस्ता गीत पनि बन्द गराए ।
 
विश्वेश्वरप्रसाद कोइरालाले राजाको घोषणा लगत्तै जनमतसंग्रहको स्वागत गरिसक्नुभएको थियो । वरु पञ्चहरु नै राजाको यो कदमबाट खुशी थिएनन् । उनीहरु मध्ये कति हेभिवेट पञ्चहरु जनमसंग्रहको घोषणाले मर्महात नै भएक थिए ।
‘जनमतसंग्रह दिनु भनेको पंचायती दर्शनको विघटन नै हो,’ डा. गिरीले सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । यस्ता अभिव्यक्तिले बहुदलवादीहरु झन् उत्साही भएर त्यो प्रजातान्त्रिक अभ्यासमा समर्पित भइरहेका थिए ।
...
 
जनमतसंग्रह घोषणा भएको केहि दिनमै किर्तीवावुले प्रधानमन्त्रीबाट राजिनामा दिनुभयो । किर्तीवावुले काम गर्ने उपयुक्त वातावरण भएको नदेखेरै हट्नुभएको होला ।
‘यो शुभ संकेत हैन,’ मलाई शंका लाग्यो ।
 
नयाँ प्रधानमन्त्री हुनुभयो सूर्यबहादुर थापा । अर्थ मन्त्रालय पनि प्रधानमन्त्रीले आफै राख्नुभएको थियो ।
 
त्यहिँ विचमा म कन्फर्म सचिव भए । अर्थ मन्त्रालयमै पोष्टिङ भयो । सरकारमा भएको परिवर्तन मलाई फाप्यो नै । कर्मचारीलाई अरु साथिभाई भन्दा चाँडो प्रोमोसन र रोजेको मन्त्रालय पाएपछि के चाहियो !
सूर्यबहादुर थापा शासन प्रशासनको नसनस बुझेको प्रधानमन्त्री । ऐन, कानून, नियम पनि कन्ठस्त । उहाँले निर्णय गर्न चाहे कानूनकै दफा देखाएर तर्क गर्नुसक्नुहुन्थ्यो । त्यहिँ विषयमा निर्णय गर्न नचाहे पनि कानूनकै आडमा अरुलाई चुप लगाइदिन सक्नुहुन्थ्यो । कानूनको दफाको आडमा फाइल घुमाउन सक्ने काइते कर्मचारी भन्दा पनि माहिर ।
 
मेरो विभागिय मन्त्री पनि हुनुभएकाले म रातबिहान प्रधानमन्त्री निवास गइरहनुपथ्र्यो । कुनै एक दिन विहान ६ वज्नुअघि नै मलाई निवासमा बोलाइयो । प्रधानमन्त्रीले मलाई बेडरुममै डाक्नुभयो ।
उहाँ त झुलभित्र फाइल पढिरहनुभएको छ । खाटमा चाङ्का चाङ् फाइल छन् । प्रधानमन्त्री तीनै फाइलहरुसँग रात काटेजस्तो दखिन्थ्यो । यो घटनाले पनि मलाई उहाँ प्रत्येक फाइल पढेर निर्णय गर्नुहुन्थ्यो भन्ने सम्झना हुन्छ ।
मलाई उहाँसँग काम गर्न पनि मज्जा आइरहेको थियो । सधैजसो वैदेशिक सहायतामा मात्र काम गरेकाले नियम, कानूनको त्यति हेक्का नराख्ने मेरो कार्यशैली । उहाँ फाइलको अंग पु¥याउन सिपालु । निर्णय गर्दा कानूनी त्रुटी होला वा फसिएला भनि डर मान्नु नपर्ने ।
 
आफै फोन गर्ने । ठाडो स्वर नगर्ने । उहाँले अह्राएको विषयमा विपरित तर्क गर्दा पनि रातो मुख नलगाउने ।
 
म उहाँसँग आफूलाई लागेको जेसुकै विषयका कुरा खुलस्त राख्न सक्थे । कर्मचारी भएपनि राजनीतिक कुरा गर्ने छुट पनि मैले पाएको थिए ।
‘तुलसी गिरीले पंचायतको साइन बोर्ड मात्र बाँकि छ, बहुदल आइसकेको छ भन्नुभयो,’ मैले थापाज्यूलाई भने, ‘पार्टीहरुसँग सम्झौता गरेर केहि राजनीतिक निकास निकाल्न सकिन्छ की ।’
 
यो सुझावमा मैले उहाँमा अघिपछि जस्तो सौहार्द्रता देखिन । ‘मलाई हटाएर विश्वेश्वरलाई ल्याएर प्रधानमन्त्री वनाउनुस्,’ उहाँ कड्किनुभयो । गोरो अनुहार पनि रातोपिरो भयो । चस्माभित्र पनि आँखा लाल देखिए ।
मैले कुनै प्रतिक्रिया गरिन । राजनीति मेरो प्रत्यक्ष सरोकारको विषय नभएकाले मौन बसे ।     
 
...
 
केहि महिनासम्म मेरो र प्रधानमन्त्रीज्यूको ट्युनिङ खुब मिलेको थियो ।
 
‘दरवारले साम, दान, दण्ड, भेद प्रयोग गरेर पंचायतलाई जिताउन सूर्यबहादुरलाई प्रधानमन्त्री र अर्थमन्त्री वनाएको हो,’ मेरा शुभेच्छुकहरु चिन्ता व्यक्त गर्थे, ‘तिमीलाई काम गर्न अप्ठोरो पार्लान् है ।’
नभन्दै मेरो टेबुलमा बजेट रकमान्तरको फाइलको चाङ लाग्न थाल्यो । शिक्षा, स्वास्थ्य, सडक, पानी, विजुली जस्ता आधारभूत सेवाका वजेट काटेर अन्यत्र लाने प्रयास हुन थाल्यो ।
 
अनुचित लागेका जति फाइल मैले स्विकृत गरिँन । सूर्यबहादुर थापा रकमान्तरको पक्षमा म विपक्षमा । अधिकार मेरै थियो । निर्णय गर्ने अधिकारी मै भएपछि उहाँको मनसुवा सजिलै पुरा भएको थिएन ।
‘अलि अलि आँखा चिम्लिदिनुस् न सचिवज्यू,’ प्रधानमन्त्री अनुरोध गर्नुहुन्थ्यो, ‘जहाँ गरेको खर्चले धेरै प्रतिफल आउँछ त्यतै लैजाऊ भन्ने मात्र हो ।’
 
रकमान्तरमा मैले अवरोधकको काम गरे । कर्तव्यपालन गर्न सकेकोमा दंग परे । रकमान्तरबाट बजेट दुरुपयोग गर्न खोजिएको मेरो शंका थियो ।
‘म सँग पंचायत जिताउन भनेर चन्दा मागिएको छ,’ आरएनएसीका जिएमले डराउँदै मेरो अफिसमा आएर भने, ‘इमान्दारीपूर्वक काम गरेर कसरि लाखौं चन्दा दिन सकिन्छ ।’
 
यो सूचनाले मलाई दुखि बनायो । केहि दिनमा नेशनल ट्रेडिङ्का जिएम भेट्न आए । उनको दुखेसो पनि उस्तै थियो, ‘चन्दा दिएनौं भने देख्लास् भनेर थ्रेट आएको छ ।’
अव मलाई छर्लङ् भइहाल्यो पंचायतका नाममा सरकारले नै चन्दा आतंक सुरु गरेको रहेछ । त्यस्तो चन्दा कसैले आफ्नो घरघरानाबाट दिँदैनथ्यो । जुन सरकारी निकायमा काम गर्छ त्यहिँबाट चोरेर दिने न हो । प्रधानमन्त्रीले नै चन्दा मागेपछि कसलाई के को डर । दिन नचाहने वृहस्पतीहरु म सँग आए ।
 
धेरैलाई त बाँदरलाई लिस्नु हालिदिए जस्तो भयो । फट्याइ गर्न खोज्ने मन्त्री, सचिव, जिएम, हुँदै तलसम्मैकाले जर्ती काटेर आफ्नो भाग राखि पंचायत जिताउने नाममा प्रधानमन्त्रीलाई चन्दा दिने भए ।   
म रकमान्तर रोकेर राज्यको ढुकुटीमा पर्न लागेको दूलो टाले भनेर मख्ख । अन्त भ्वाङ् परिसकेको रहेछ । दुरुपयोगको भेल नै बग्न थालिसकेको थाहाँ हुँदै गयो ।
 
अन्यत्र र अर्थ मन्त्रालयमा पनि कर्मचारी सरुवाको चलखेल हुन थाल्यो । फलानालाई कर, भन्सार ल्याइदिनुप¥यो भने र प्रधानमन्त्री आफैले फोन गर्न थाल्नुभयो । भ्रष्टाचारको गुञ्जायस रहेको अरु मन्त्रालयमा पनि त्यस्तै भएको सुनिन्थ्यो ।
मुलुकको कर्मचारीतन्त्रमा एउटा नया ‘थिती’ वसालियो– कर्मचारीसँग पैसा उठाउने । त्यसभन्दा अघि सरुवा, बढुवा वा अरु निहँुमा कर्मचारीसँग माथिका मानिसले पैसा खान्छन् भन्ने कसैले चिताउन पनि सक्दैनथ्यो । हामी राज्यको सिस्टमभित्रै बसेकाहरुले पनि कर्मचारीसँग माथिका मानिसले पैसा खान्छन् भन्ने कल्पना पनि गर्दैनथ्यौं ।
 
यसले मात्र पुगेन जनमतसंग्रहको नाममा जंगल सखाप पार्ने काम सुरु भयो । तराईमा रातारात स–मिलहरु खडा भए । मेचीदेखि महाकालीसम्म चारकोसे झाँडीको सालको जंगल सखाप पारेर भारत पु¥याइराखिएको हामी पनि सुन्थ्यौं । जनमतसंग्रहको नाममा मुलुकले वन जंगल क्षेत्रमा अपुरणिय क्षती व्योहोर्यो ।
...
 
सरकारले कर फछ्र्यौट आयोग वनायो । त्यसको अध्यक्ष हुनुहुन्थ्यो डा. यादवप्रसाद पन्त । व्यापारीक फर्महरुलाई करोडौं आयकर मिनाहा दिने निर्णय हुनथाल्यो । जनमतसंग्रहमा पंचायतलाई जिताउने नाममा जथाभावी निर्णय भइरहेका थिए । राजस्वमा व्रम्हलुट चलेको थियो ।
 
म पनि आयोगको पदेन सदस्य थिए । म एकातिर अरु सबै एकातिर हुन्थे ।   
 
त्यहिँ विचमा धमाधम बजेटको तयारि गर्ने काम पनि भइरहेको थियो । बजेटको चटारो अर्थ सचिवलाई पनि अत्यधिक हुन्छ । थापाले बजेट पन्तलाई देखाउनु भन्नुभयो ।
 
‘राष्ट्रिय पंचायतमा पेश हुनुभन्दा अघि अर्थ मन्त्री, प्रधानमन्त्री, राजा बाहेक अरु सबैसित बजेट गोप्य राख्नुपर्छ,’ बजेटको मर्यादा मैले स्मरण गराए । बजेटसँगै कर, भन्सारको दररेट पनि तलमाथि हुन्छ । यसको गोप्यता भंग भयो भने करोडौं (त्यतिबेलाको) राजस्व हिनामिना हुन सक्थ्यो ।
 
पन्तलाई म कसरि बजेट देखाउन सक्थे !
 
मैले बजेट थापालाई सुनाए । कतिपय कार्यक्रम र करका दररेट उहाँले तलमाथि गर्न लगाउनुभयो । धेरै मैले आनाकानी गरे ।
कति जोरी खोज्नु !
 
प्रधानमन्त्रीको अनुरोध अनुसार बजेट पनुर्लेखन गरे । पन्तलाई नसुनाउने मेरो अडानकै जीत भयो ।
दरवारमा बजेट व्रिफिङ गर्ने दिन आयो ।
 
म र प्रधानमन्त्री थापा राजदरवार गयौं । राजालाई पढेर सुनाए । प्रधानमन्त्रीको अनुरोधमा राखेका कतिपय बँदा मलाई चित्त बुझेको थिएन । त्यो पनि पढ्नैपर्यो‌ । मलाई कता कता सकस भयो ।    
‘सरकार सेवकलाई यो बँदा चित्त बुझेको छैन,’ मैले विन्ती गरे, ‘प्रधानमन्त्रीज्यूको अनुरोधमा यो व्यवस्था राखेको हुँ ।’
...
 
वजेट आयो । सूर्यबहादुर थापा आफैले अर्थ मन्त्रीको रुपमा भाषण गर्नुभयो । बजेट पास भएपछि अर्थ मन्त्री, सचिव, कर्मचारीको टाउको दुखाइ सकिन्छ । भारी बिसाएजस्तो हलुका हुन्छ ।
बजेटको लठारो सकिँदा पनि मेरो कपाल दुखाइ भने जस्ताको तस्तै थियो । मन्त्री र मेरो तनावको पारो  चढिरहेको थियो ।
 
रकमान्तर, कर्मचारीसँग असुली, राजश्व मारेर व्यापारी मोटाउन दिने÷नदिने भन्ने विषयमा मेरो र प्रधानमन्त्रीको मतान्तर बढ्दै गइरहेको थियो ।
म स्पिड ब्रेकर हुन खोज्थे । प्रधानमन्त्रीको गति तेज थियो । उहाँ भन्नुहुन्थ्यो, ‘पंचायतलाई जिताउनुपरेन ।’
 
मैले जति विमति राख्दा पनि प्रधानमन्त्रीले मसँगको व्यवहार फरक गर्नुभएन । बोलीव्यवहार, आदर, शिष्टाचारमा कुनै फरक परेको छैन ।
 
...
 
दशै तिहारपछि अर्थ मन्त्रालयमा कामको चटारो क्रमश बढ्दै जान्छ । अर्को वर्षको बजेटको गृह सुरु भइहाल्छ । २०३६ मंसिरको एकदिन म विहान १० बजे भन्दा अघि नै अफिस पुगिसकेको थिए, साविक जस्तै ।    
दरवारबाट फोन आयो ।
 
‘तुरुन्त आउनु,’ बुलावट आयो ।
 
‘सरकारबाट हुकुम भएको छ, पिएमको प्रोजेक्टमा बाधा अड्काउ नगर्नु,’ एक सचिवले भने, ‘उहाँको कार्यक्रममा सहयोग पु¥याउनु ।’
 
मैले केहि पनि जवाफ दिँइन । हुन्छ पनि भनिन हुन्न पनि भनिन ।
 
सरक्क फर्किए ।
 
नारायणहिटीबाट वागदरवार आइपुगेको थाँहै पाइन ।
 
अफिस आएर थचक्क कुर्सीमा बसे ।
 
‘प्रधानमन्त्रीले अह्राएको काम मैले सबै मानेकै छु,’ मैले गम खाए, ‘नहुने काम त जसले अह्राएपनि म गर्दिन ।’ म मुलुकलाई घाटा हुने काममा सहीछाप गर्न सक्दिनथे ।  
प्रधानमन्त्रीको के प्रोजेक्ट मैले टेरेको छैन ?
 
दरवारलाई पनि रकमान्तर गरेर बजेट हारलहुरल, कर मिनाहा, कर्मचारी, व्यापारीसँथ असुली गर्नुपरेको रहेछ ।
 
कि म पनि विवेक गुमाएर मतियार वन्नुप¥यो । हैन भने जागिर छाडेर बाटो लाग्नु जाती । मैले दोस्रो बाटो रोज्ने भए । राजिनामा ड्राफ्ट गरे ।
प्रधानमन्त्री, दरवार सबैको कसिंगर भएर कसरि जगिर खान सकिन्छ ?
 
मुलुकका १०१ व्यक्तित्वलाई गलैँचा काण्ड लागेको झलझली सम्झिएँ । दरबार लाग्नु भन्दा नै पहिला नै मैदान खालि गरिदिनु वुद्विमानी, मेरो ठम्याइ थियो ।
दियालो वंगलामा राजपरिवारका सदस्य र नातेदारको मिटिङ बसेको सुनेको थिए । डाङ्राङ, डुङ्रुङ् गरेर भएपनि पंचायतलाई जिताउनुपर्छ भन्ने निर्णय भएको हल्ला पनि आएको थियो ।
 
‘साँच्चै हो रहेछ,’ ती हल्ला साँचो हुन् भन्ने आधार थपिदै थिए ।
 
राजिनामा बुझाउनु भन्दा पहिला कसैसँग त सल्लाह गर्नै प¥यो ।
भुवनेश्वरजीलाई डाके ।
 
‘जागिर खान देलान जस्तो छैनन्,’ सबै कुरा सुनाए । आठ महिनादेखि प्रधानमन्त्रीसँग भइरहेको खटपट उनलाई म बेलाबेलामा सुनाइरहन्थे ।
‘वेला भइसक्यो र हजुर,’ खत्रीजीले सुझाए, ‘दरवार अपार हुन्छ राजाकै मुखबाट नसुनी यस्तो कठोर निर्णय लिने वेला भइसकेको छैन ।’
 
हो त ! राजाको मुख बाट तँ मैले सुनेको छैन नी । दरवारमा धेरैवटा पावर सेन्टर हुन्थ्यो । तीनै मध्ये कुनैले चलखेल गरिरहेको हुन सक्छ । शंकाको सुविधा दिने ठाउँ पनि थियो ।          
विरेन्द्र मातहत काम गरेको दश वर्ष नाघिसकेको थियो । उनले कहिल्यै हस्तक्षेप गरेको मलाई सम्झना थिएन ।
 
एक महिनापछि पेरिसमा नेपाल डभलेपमेन्ट फोरमको वैठक हुँदै थियो । अर्थमन्त्री भेषबहादुर थापासँग धेरैपटक गइसकेको थिए । उनको ठाँट देखेको थिए ।
यसपाला विभागिय मन्त्री प्रधानमन्त्री स्वयं । उहाँलाई चुनावको चटारो छ । मैले संवोधन गर्न पाउँछु । त्यो फोरममा भाषण गर्ने लोभले पनि थियो । त्यसले लेखेको राजिनामा कोटको बगलीमा लुकाउन उत्प्रेरकको काम ग¥यो ।  
...
 
पेरिस गए । फर्केर आए । मनोकामना पुरा भए जस्तो भयो ।
 
प्रधानमन्त्री/अर्थमन्त्रीले पनि आफ्नै शैलीमा काम गरिरहनुभएको थियो । म पनि आफ्नो स्टाइलबाट टसमस भएको थिँइन ।
 
प्रधानमन्त्री देश दौडाहामा हुनुहुन्थ्यो । पंचायतको पक्षमा चुनाव प्रचार गर्न । राज्यको स्रोत साधन खर्चेर देश पंचायतको पक्षमा दौडाहा गर्नुले निष्पक्ष निर्वाचनको संकेत गर्देनथ्यो ।
कहिलेकाँहि हाम्रो भेट हुन्थ्यो । तर सम्वन्ध चिसो हुँदै गएको थियो । उहाँले अह्राएको नहुने काम म टर्दैनथे । पन्छाइदिन्थे ।
 
माघ अन्तिम सातातिर दरवारबाट बोलावट आयो ।
 
‘पिएमको कार्यक्रममा सहयोग गरिदिनुप¥यो,’ दरवारका उच्च अधिकारीले भने, 'सरकारबाट हुकुम भएके छ ।'
 
म छाँगाबाट खसे जस्तो भए । दरवारका सचिवले दुई महिना अघि जे भनेका थिए ।  अहिले त्यहिँ आदेश आयो ।
रकमान्तर, कर्मचारीबाट असुली र कर मिनाहामा सरकारबाट भइरहेको अनियमितताबारे वताए ।
 
‘पिएमले के के गर्छन् दरवारलाई जाहेर गर्नु,’ राजालाई उदृत गर्दै उनले भने, ‘अहिले पिएमलाई सहयोग चाहिएको छ ।’
राजा हैन अरुले नै वदमासी गराइरहेका भन्ने मेरो विश्वास शिशा झै चकनाचुर भयो । राजाले नै पंचायतको पक्षमा धाँधली चाहिरहेको पनि बुझे । प्रधानमन्त्रीले कतिपटक कम्प्लेन गरेपछि मलाई भन्नुपर्ने अवस्था आयो होला भन्ने पनि अनुमान लगाए ।
 
‘अव तेरो खैरियत छैन,’ म अन्तिम निश्कर्षमा पुगे, ‘अव जागिर खाने दिन सकियो ।’
 
माघ मसान्तमा प्रधानमन्त्रीकहाँ लगेर राजिनामा दर्ता गराए । फागुनको २ वा ३ गते प्रधानमन्त्री जिल्ला दौडाहाबाट आउनुभयो ।
‘आउनुस् यहाँ,’ उहाँले नै मलाई वोलाउनुभयो ।
 
‘हजुरले मलाई विदा दिने भए आइहाल्छु,’ मैले जवाफ दिए ।
‘पहिला आउुनस् न,’ उहाँले नरम स्वरमा भन्नुभयो ।
 
म एक घण्टा भित्रै निवास पुगे । त्यहाँका कर्मचारीले तुरुन्त उहाँको वैठक कोठामा लगे ।
उहाँले कफि मगाउनुभयो ।
 
‘के उपद्रो गर्नुभएको यो,’ उहाँ जुरुक्क उठ्नुभयो, ‘के चाहिन्छ । कहाँ जानु हुन्छ जानुस् ।’
अरु मन्त्रालय, एम्वेसडर वा योजना आयोग मागोस् भन्ने उहाँको चाहना रहेछ ।
 
मैले सरल जवाफ दिए, ‘मेरो राजिनामा स्विकृती भए मेरा लागि ठूलो उपलव्धि हुन्थ्यो ।’
‘राजाबाट सम्झाउन हुकुम भएको छ,’ प्रधानमन्त्रीले भन्नुभयो ।
 
म छाड्छु भन्ने उहाँ नछाड । कफि खाएर हामी एक घन्टासम्म अलमलिइरह्यौ । 
म तैपनि पग्लिने कुरा थिएन । प्रधानमन्त्री मेरो राजिनामा स्विकृत गर्न राजी हुनुभयो ।
 
...
 
मेरो राजिनामापछि विभिन्न हल्ला चल्यो । मलाई हिरो बनाएर चलेका ती हल्लाहरु साँचो थिएनन् । म बहुदलवादी भएर जागिर राजिनामा दिएको थिँइन । वहुदलसँग मेरो कुनै प्रकारको लगाव थिएन ।
राजाले ढुकुटीबाट जथाभावी पैसा चलाउन आदेश दिएकाले मैले राजिनामा दिए भन्ने हल्ला पनि साँचो होइन । सूर्यबहादुर थापाले मलाई जागिर छाड्न बाध्य बनानुभयो भन्ने पनि सत्य होइन ।
 
झण्डै दुई दशक जागिर खाँदा मैले जे सिकेको थिए । मेरो मनमा शासनप्रशासनबारे जुन मूल्य मान्यता गढेको थियो । विरेन्द्रलाई म जसरि आदर्श राजा मान्थे । ती सबै विश्वास तासको घर जस्तो गम्रयाङ गुम्रुङ ढलेकाले मैले जागिर छाडेको हुँ ।  
 
अमित ढकाल र किरण भण्डारीले गरेको कुराकानीमा आधारीत ।
तस्विर:प्रकाश लामा / सेतोपाटी

एक वाणिज्य, १६ विकास र १० फाइनान्स घाटामा, घाटा १ अर्ब २४ करोड पुग्यो (तालिकासहित) - bizmandu

चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक वाणिज्य बैंकसहित २७ वित्तीय संस्थाहरु घाटामा गएका छन् । ऋण लगानी नउठेपछि चैतमा २७ वटा संस्थाको कुल घाटा १ अर्ब २४ करोड २१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको चैतमा कुल घाटा ४३ करोड २४ लाख रुपैयाँ थियो ।
अहिले ३२ वटा वाणिज्य बैंक, ९० वटा वित्तीय संस्था र ६८ वटा वित्तीय संस्थाहरु सञ्चालनमा छन् यसमध्ये एउटा वाणिज्य बैंक १६ वटा विकास बैंक र १० वटा फाइनान्स कम्पनी घाटामा गएका हुन् ।
यस पटक घाटामा गएका मध्ये १७ वटा वित्तीय संस्था गत वर्ष नाफामा थिए । घरजग्गा, क्रसर, सेयर र  व्यवसायिक ऋण नउठेका कारण यि संस्थाहरुको घाटा वढेको हो । घाटामा गएका मध्ये अधिकांस बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्रकृयामा गइसकेका छन् ।
घाटामा गएका २७ संस्थामध्ये वाणिज्य बैंकबाट किस्ट नोक्सानमा गएको छ । किस्टसँग मर्जरमा रहेको भिवोर विकास बंैक पनि घाटामा गएको छ । विकास बैंकमध्ये  सोसियल डेभलपमेन्ट, इन्टरनेशनल डेभलपमेन्ट, विजिनेस युनिर्भस, मनकामना, एक्सिस, सिनर्जी, सुभेच्छा, कर्णाली, इन्फ्रास्ट्रक्चर, काष्ठमण्ठप, भार्गव, एनड्इिपी, व्राइट, सिद्धार्थ र सुप्रिम डेभलपमेन्ट बैंक घाटामा छन् ।
फाइनान्सहरु यनियन, जेविल्स, सेन्ट्रल, नेपाल,  सिभिल मर्चेन्ट, इम्पेरियल, पोखरा, एनआइडिसी क्यापिटल, प्रुडेन्सियल र प्रोग्रेसिभ फाइनान्स घाटामा गएका छन् ।


संस्था (RS.000)  चालु वर्ष चैत  गत वर्ष चैत
Social Dev bank -33517 -100471
Internation Dev Bank -202513 -117883
Union Finance -78621 1136
Jebil's Finance -18895 808
Central Finance -32607 10482
Business Universal Fin -18697 64173
Manakamana -76169 -56261
Axis Dev -9816 19344
Synergy Dev -13410 9676
Subhechha Bikas -6674 9029
Karnali Bikash -11600 2631
Nepal Finance -24974 -33950
Kist Bank -55010 -153739
Civil Merchant -3924 6556
Infrastructure Development -22156 26982
Imperial Finance -24000 775
Pokhara Finance -21013 -41652
Vibor Bikash -195393 -54019
Kasthamandap Dev -32772 28034
Bhargav Bikas  -8465 7805
NIDC Capital -85927 2942
NDEP -72781 -54065
Prudential Finance -65263 -85181
Progressive Finance -3020 6936
Bright Development  -30547 6282
Siddhartha Development -68156 21418
Supreme Development -26203 -60219
total -1242123 -532431

पुस्तक मेला- कुन किताब कस्ता छन् ? - onlinekhabar

यही जेठ १० गतेदेखि भृकुटीमण्डपमा पुस्तक मेला सुरु भएको छ । वर्षमा एकपटक (साझाको बाहेक) आयोजना हुने यसप्रकारको मेलामा गएर कसरी पुस्तक छान्ने भनेर तपाईंलाई कन्फ्युज्जड भइरहेको हुन सक्छ । तपाईंहरुको सजिलोका लागि ०६९ भरि निस्केमध्येका किताबहरुबारेको यो जानकारी पस्केका छौं ।
गएको वर्ष निस्केका पुस्तकहरुमध्ये हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ बिक्री र चर्चाका हिसाबले सबैभन्दा अगाडि रह्यो । तर उक्त पुस्तकले आलोचकहरुबाट अपेक्षा गरेजति उत्कृष्ट नभएको, सिलसिला नमिलेको, मूल्य असाध्यै चर्को राखेर हरिवशंले लोकपि्रयतामाथि निकृष्ट व्यापार गरेको लगायतका आरोप पनि खेप्नु पर्‍यो । यद्यपि गुणवत्ताका दृष्टिले चाहिँ मदनमणि दीक्षितको ‘आनन्दमय जीवन’ वर्षभरिकै सबैभन्दा उत्कृष्ट आत्मकथा हो । साझा प्रकाशनले बजारमा ल्याएको यो कृतिले अपेक्षित चर्चा भने पाउन सकेको छैन ।
विनोद चौधरीको ‘आत्मकथा’ पनि चर्चाको बजारमा अब्बलमै गनियो । विश्वका धनीहरुको नाम प्रकाशित गर्ने फोब्स पत्रिकामा सूचिकृति एउटा सफल ब्यापारीको यो आत्मकथाले देशको समसामयिक राजनीति र विगतको राजघरानाका छोपिएका थुप्रै रोचक पाटाहरुलाई उजागर गरेको छ । उक्त पुस्तक प्रकाशनपछि चौधरीले आफ्ना कमीकमजोरी ढाकछोप गरेको, राजस्व छली बारे चोखिन खोजेको लगायतका आरोप पनि नलागेका होइनन् । यद्यपि जीवनमा केही गर्न चाहनेका लागि यो पुस्तक निकै प्रेरणास्पद छ ।
Pustak-mela
किष्ट बैंकका सिइओ कमलप्रसाद ज्ञवालीको ‘कर्म’ र सरिता श्रेष्ठको ‘छुटेको साथ’ गएको वर्ष निस्केमध्येका पठनीय आत्मकथा हुन् । तर विविध कारणले तीनले चर्चा पाउन सकेनन् । बरु आनी छोइङको आत्मकथा ‘फूलको आँखामा’, नारायण सुवेदीको ‘माओवादी कब्जामा सय दिन’ चर्चामा अगाडि रहे ।
शारदा शर्माको ‘ताप’ उपन्यासलाई त ०६९ को मदन पुरस्कारको दावेदार भनिएको छ । यसमा बौद्ध दर्शन र समसामयिक राजनीतिलाई परिवेश बनाइएको छ । यद्यपि यो उपन्यास पूरै पढिसकेँ भन्नेहरु एकदमै कम भेटिएका छन् । जर्मनीको परिवेशमा आधारित कृष्ण धरावासीको महत्वाकांक्षी उपन्यास ‘गेस्टापो’ले पनि बिक्रीमा हावा खायो । बोल्ड नारी उपन्यासकार अनुपम रोशीको उपन्यास ‘नाङ्गो मान्छे’ले ‘कुमारी आमा’को जति पनि स्थान बनाएन । बरु पृथ्वीनारायण शाहकालदेखि वर्तमानसम्मको परिवेश समेटिएको जगदिश घिमिरेको ‘सकस’ले पाठकलाई नयाँ स्वादसँगै बजारमा राम्रै स्थान जमायो ।
नयाँ लेखक सुबिन भट्टराईको ‘समर लभ’ बिक्रीमा बाजी मारेको उपन्यास हो । युवा पुस्ताको प्रेम कथामा आधारित यो उपन्यासले चेतन भखत शैलीको नेपालीकरण गरेको छ । गएको वर्ष चर्चाका हिसाबले राजेन्द्र थापाको खेलौना अगाडि रहे पनि उक्त कृति किनेर पछुताएँ भन्नेहरु धेरै भेटिए । निकै रोचक कथा भएको माधव सयपत्रीको उपन्यास ‘सीमान्त विचलन’ले त प्रकाशकको कमजोरीकै कारण बजारमा पानीसमेत पिउन पाएन । बाहुन क्षेत्रीलाई गाली गर्ने कुन्ठाजन्य नियत राखिएको राजन मुकारुङको ‘दमिनी भीर’ पनि बिक्रीका दृष्टिले भीरैभीर गुल्टियो । देवप्रकाश त्रिपाठीको ‘प्रलय प्रारम्भ’ले पनि पाठकको मनमा नयाँ कुरा आरम्भ गर्न सकेन । स्वागत नेपालको ‘जिगोलो’ पनि पाठक तान्ने सवालमा कच्चा ठहरियो । बरु तारालाल श्रेष्ठको ‘सपनाको समाधि’ र राजवको ‘बेकारीमा उपन्यास’ले राम्रै चर्चा बटुले । ‘सपनाको समाधि’मा भुटानी शरणार्थी समस्या उठाइएको छ भने ‘बेकारीमा उपन्यास’मा जो पनि उपन्यासकार हुने प्रवृत्तिलाई कसिलो कटाक्ष गरिएको छ । यसलाई आहुतिको ‘स्खलन’ पछिको दोस्रो ब्यङ्ग्य उपन्यास भने पनि हुन्छ ।
नयाँ लेखक रमेश पौडेलको ‘द सुपि्रम हृमुमन’ पछिल्लो समयमा बौद्धिक पाठकबाट निकै प्रसंसा पाएको उपन्यास हो । यो उपन्यासमा अति स्वैरकल्पनाको प्रयोग गरिएको छ । अमेरिकाको डोरेन्स पब्लिकेसन्सबाट अंग्रेजी संस्करणसमेत आउने क्रममा रहेको यो उपन्यासलाई कतिपय समीक्षकले विश्वस्तरको नेपाली उपन्याससमेत भनेका छन् ।
पूर्वीय दर्शनलाई वर्तमान परिवेशसँग समन्वय गरेर लेखिएको गोरखापत्रका वरिष्ठ पत्रकार कमल रिजालको उपन्यास ‘सुकर्म’ पनि ०६९ का उत्कृष्ट उपन्यासमध्येको एक हो । तर आँखै बिझाउने अति साना अक्षरका कारण अधिकांश पाठकले पढ्ने आँटै गर्न सक्तैनन् । बरु चलचित्र लेखक ब्रजेशको यौन मनोविज्ञानमा आधारित उपन्यास ‘यायाबर’ले पाठकबाट राम्रै रेस्पोन्स पायो ।
कथामा नयनराज पाण्डेको ‘चकलेट’, माया ठकुरीको ‘पि्रयंवदा’, महेशविक्रम शाहको ‘ज्याक्सन हाइट’, मधुवन पौडेलको ‘अन्त्यहीन परिवेश’, राजुबाबु श्रेष्ठको ‘मृत्युमेला, विद्या सापकोटाको नीलो तृष्णा आदि अब्बलमा दरिए । पछिल्लो समयमा बजारमा आएको नवोदित लेखक मिलन संग्रौलाको ‘च्याट गर्ल’ले पनि राम्रो सम्भावना देखाएको छ ।
निबन्धमा गोविन्द वर्तमानको ‘हरियो साइकल’ गएको वर्षको उत्कृष्ट कृति हो । भूपिनको निबन्ध संग्रह ‘चौबीस रिल’ले त गएको वर्षको उत्तम शान्ति पुरस्कार समेत पाइसकेको छ । रोजगारीको खोजीमा खाडी मुलुकमा भासिएकाहरु र तिनका परिवारका पीडा-समस्याका बारेमा लेखिएको युवराज नयाँघरेको ‘हरियो राहदानी’ पनि निकै रोचक छ । दीपक सापकोटाको ‘लोकेशन’चाहिँ चर्को मूल्यका कारण प्रकाशकको गोदाममा थन्किने लक्षण देखिएको छ । बरु समालोचक डा. ऋषिराज बरालको संस्मरणात्मक निबन्धसंग्रह ‘सलाम रोल्पा’ले राम्रै प्रतिक्रिया बटुल्यो ।
हास्यब्यङ्ग्यात्मक कृतिमा नेपाली साहित्य वृत्त कमजोर नै सावित भयो । लक्ष्मण गाम्नागेको ‘स्वाहा’, रोहिणीविलास लुइँटेलको ‘बुद्धिबंगारो’, माणिकरत्न शाक्यको ‘आफ्नै झ्याइँकुटी’, मिलन तिमिल्सिनाको ‘नेताजीको म्याद’ बाहेक खासै कृति बजारमा आएनन् । लघुकथामा भने रवीन्द्र समीरको ‘अणु र पहाड’लाई उछिन्ने गरी अर्को कृति बजारमा आएन । कवितामा सरस्वती प्रतीक्षाको ‘बागी सारङ्गी’, प्रकाश आङदेम्बेको ‘रुवाई’, शकुन्तला जोशीको ‘आदिम सीमाना’ आदि उत्कृष्ट देखिए ।
विगत वर्षहरुजस्तै यसवर्ष पनि कान्तिपुर पब्लिकेसन्सका पत्रकारहरुका कृति मिडिया-प्रचारमा हाबी रहे । त्यसमध्येमा सरोजराज अधिकारीको अनुसन्धनात्मक कृति ‘चक्रब्युहमा चन्द्रसूर्य’ले वर्षका उत्कृष्ट कृतिको हैसियत बनायो । कान्तिपुरकै हरिबहादुर थापाको ‘दलीय द्वन्द्व’, अखण्ड भण्डारीको ‘समाचारको भाषा’, राजेन्द्र फुयालको ‘संविधानसभा निर्वाचनदेखि अवसानसम्म’, फुलमान वलको ‘महाभारतकी मैच्याङ’, साप्ताहिकका अश्विनी कोइरालाको ‘उनी’ आदिले मिडिया-समीक्षा एकलौटी पारे ।
नागरिक दैनिकका केपी ढुंगानाको ‘ओपन सेक्रेट’, विनोदविक्रम केसीको ‘भोकको क्षेत्रफल’ले पनि मिडिया-प्रचारमा राम्रै स्थान बनाए । युरोपको नेपालीपत्रका अच्युत कोइरालाको ‘टर्गेट बिन लादेन’ र ‘स्टिभ जब्सको जीवनी’ले सुलसुले पाराले बजार जमाए । बिक्रीमा पछि परे पनि जनदिशा दैनिकका दीपेन्द्र रोकायाको ‘नाफाको जिन्दगी’ गुणवत्ताको दृष्टिले निकै उत्कृष्ट मानियो । कतिपय समीक्षकले यसलाई जनयुद्धमाथि लेखिएमध्येकै उत्कृष्ट कृतिसमेत भनेका छन् । वरिष्ठ पत्रकार सौरभका लेखहरुको संग्रह ‘सौरभका पच्चीस वर्ष’ चाहिँ रोचक भइकन पनि उति चर्चा पाउन सकेन । पाका पत्रकार मदनमणि दीक्षितको ‘ऋग्वेदका नारी चरित्र’ले पनि त्यही नियति व्यहोरिरहेको छ ।
समालोचनामा यसवर्ष राम्रै भेल आयो । डा. जगदीश समसेरको ‘उत्तरआधुनिकतावाद र बाहुल्य विष्फोट’, डा. गोविन्दराज भट्टराईको ‘समयबोध र उत्तरआधुनिकता’, डा. रामप्रसाद ज्ञवालीको ‘महाकाब्य सिद्धान्त र नेपाली प्रयोग’, डा. ऋषिराज बरालको ‘आजको साम्राज्यवाद र माओवादी आन्दोलन’ देवी नेपालको ‘काब्य समालोचना’ आदिले यसैवर्ष बजारमा प्रवेश गरे ।
केही प्रकाशकहरुले यही मेलालाई लक्ष्य गरेरसमेत पुस्तकहरु सार्वजनिक गरेका छन् । फाइनपि्रन्टको ‘फस्ट लभ’, ब्रदर बुक्सको विषपुरुष, सांगि्रला बुक्सको ‘परिवन्दमा बितेका १५ वर्ष’, नेपालयको ‘भीषण दिनहरू’ र ‘खलंगामा हमला’, पाँचपोखरी प्रकाशनको ‘स्वामी विवेकानन्दको जीवनी’ केही उदाहरण हुन् । फस्ट लभमा पछिल्लो पुस्ताका सिवानीसिंह थारुदेखि सुबिन भट्टराईसम्मका १० जना कथाकारका पहिलो प्रेमसम्बन्धी रोचक प्रसंग छन् । ‘विषपुरुष’ चाहिँ रक्तकुण्डका लेखक कृष्ण अविरलको यौन विषयक उपन्यास हो । यसमा सहरका वेश्या पुरुषहरुको कथा रोचक पारामा उनिएको छ । पत्रकार देवेन्द्र भट्राई सम्पादित ‘परिवन्दका १५ वर्ष’ चाहिँ जापानी महिलाको हत्याको आरोपमा १५ वर्षसम्म जापानको जेलमा थुनिएका गोविन्द मैनालीको आत्मकथा हो ।

Thursday, May 23, 2013

‘यहाँका न्यायाधीश चिप पपुल्यारिटीका लागि फैसला सुनाउँदा रहेछन्, विदेशमा यस्तो हुँदैन’-विनिता दाहाल - setopati

धेरै माओवादी नेताका छोराछोरी बाबुआमासँगै ‘जनयुद्ध’ मा लागे । उनीहरुको पढाइलेखाइ अलपत्र पर्‍यो । प्रतिकूल अवस्थामा पनि विदेशका विश्वविद्यालयमा पढ्न पाउने भाग्यमानी थिइन्, माओवादी उपाध्यक्ष बाबुराम भट्टराई र नेतृ हिसिला यमीकी पुत्री मानुषी । शान्ति प्रक्रिया सुरु भएर माओवादी खुला भएपछि उनी नेपाल आइन् । माओवादीकै विद्यार्थी राजनीतिमा होमिइन् । त्रिवि कीर्तिपुर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनकी सचिव मानुषी जेठ २३ गते हुने निर्वाचनमा सभापति उम्मेदवार बनेकी छन् । त्यसकै लागि राजनीतिशास्त्र, इतिहास हुँदै उनी अहिले समाजशास्त्रमा भर्ना भएकी छिन् ।
बुवाआमालाई आदर्श मानेर राजनीतिमा होमिएकी उनी अहिलेको राजनीतिबाट खुसी छैनन् । बुवाआमाको कार्यकालप्रति खुसी हुन नसकेकी मानुषीसँग स्ववियु निर्वाचनको सेरोफेरोमा सेतोपाटी सहकर्मी विनिता दाहालले  गरेको कुराकानीः
  • तपाईं फेरि पनि विद्यार्थी राजनीतिमै सक्रिय हुन लाग्नुभयो ?
- हो । म अखिल क्रान्तिकारीबाट पहिला सचिव हुँदा हाम्रो शैक्षिक स्तर उकास्न र विद्यमान समस्या सुल्झाउन केही प्रयास थालेको थिएँ । त्यसलाई पूरा गर्न फेरि चुनावमा उठ्दैछु ।
  • अहिले सभापतिमा उठ्नुभयो होइन ?
- सभापति भन्दा अलि जेन्डरबायस्ड हुने रैछ । अध्यक्ष भन्नुपर्दो रहेछ । हो म अब अध्यक्षमा उठ्दैछु ।
  • तपाईंका चुनावी एजेन्डा केके छन् ?
- उही त हो, हाम्रो शैक्षिक क्षेत्रमा थुप्रै समस्या छन् । तिनीहरुको समाधान गर्न पहल गर्ने । शैक्षिक स्तर सुदृढ गरेर धनी र गरिबबीचको शैक्षिक स्तरमा समानता ल्याउने ।
  • यी एजेन्डा पहिला तपाईं सचिवको उम्मेदवार हुँदा पनि थिए । त्यो बेलाको एजेन्डा तपार्इंको कार्यकालमा के कति सार्थक भयो ?
- धेरै त भएनन् । तर हामीले पहल गर्यौं । त्रिविको सबैभन्दा ठूलो समस्या समयमा कक्षा सञ्चालन, परीक्षा र नजिता प्रकाशित नगर्ने छ । त्यसलाई सुधार गर्न हाम्रै पहलमा त्रिविले क्यालेन्डर निकाल्यो । तर क्यालेन्डर अनुसार काम भएन ।

  • त्यसो भए विद्यार्थी नेताको पहल कागजमा सीमित भयो ?
- हो । सचिव हुँदा कागजमा भए पनि हामीले क्यालेन्डर बनाउन लगायौं । त्यो पनि सानो लडाइँ थिएन । अब त्यो कागजी जितलाई व्यवहारमा गरेर समयमै सबै कुरा लागू गराउन प्रयासरत हुन्छौं।
  • हाम्रा शैक्षिक क्षेत्रका समस्या केके हुन् ?
- सबैभन्दा ठूलो समस्या त प्राध्यापकहरु यहाँ जागिर खाने । हाजिर गर्ने । तलब सुविधा लिने । काम निजी कलेजमा पढाउने रहेछ । उहाँहरु आर्थिक लाभको पछि मात्र कुद्नु हुँदो रहेछ । यस्तो अवस्थामा विद्यार्थीले कसरी शिक्षाबाट लाभ लिन सक्छन् ?
  • तपाईं त विदेशका नामी युनिभर्सिटीमा पढेर आउनुभएको, यहाँ र त्यहाँको पठपाठन पद्धतिमा कस्तो फरक रहेछ ?
- धेरै नै फरक । उहाँ सबथोक क्यालेण्डर अनुसार हुन्छ । कक्षामा प्राध्यापक कहिल्यै नआउने भन्ने हुँदैन । हाम्रोमा प्राध्यापक आउने भन्ने हुँदैन ।
साँच्चै भन्ने हो भने मैले भारतमा ब्याचलर्समा पढेकै भरमा यहाँ (त्रिवि) मास्टर्स पोलिटिकल साइन्समा टप गरेँ । यहाँ त प्राध्यापकसँग प्रश्न गर्दा सुरुसुरुमा उहाँहरु झस्किनु हुन्थ्यो जुनबेला उहाँहरुलाई म कसकी छोरी भन्ने थाहा थिएन । मेरो नाम अस्मिता सिंह भनेर छ । त्यही प्रश्न गर्ने तरिकाले प्राध्यापकहरुले भोलिपल्टदेखि थाहा पाउनुभएछ, म कसको छोरी भनेर अनि अचम्म मान्नुभएन । त्यसपछि त मैले पनि समय दिन पनि भ्याइनँ र नयाँ सिक्ने कुरा पनि पाइनँ ।
  • त्यसो भए तपाईं ज्ञान हासिल गर्न भन्दा पनि विद्यार्थी राजनीतिमा रहिरहन पढिरहनुभएको छ ?
- एक किसिमले विद्यार्थी राजनीतिमै रहन हो । तर मैले राजनीतिशास्त्रपछि, इतिहास र अहिले समाजशास्त्र पढिरहेको चाहिँ आफ्नो समाज र इतिहास बुझ्नकै लागि हो । आफ्नो इतिहासबारे म धेरै बेखबर थिएँ । यहाँ नपढेको भए हाम्रा शैक्षिक क्षेत्रको समस्या हेक्का हुँदैन थियो मलाई ।
  • राजनीतिमा लागेका विद्यार्थीहरु शैक्षिक क्षेत्रमा भन्दा माउ पार्टीको कार्यकर्ता हुन्छन् । पार्टीले गरेको गलत काम जान्दाजान्दै पनि त्यसको विरोध गर्न सक्दैनन् नि ?
- त्यस्तै देखिन्छ । विगत धेरै वर्ष देखि यसैगरी विद्यार्थी नेताहरु अभ्यास गरिरहनु भएको छ । तर यो पूर्ण सत्य होइन । हामीले हाम्रै पार्टीको सरकार चलिरहँदा पनि पेट्रोलियम पदार्थको मुल्यवृद्धिलगायतको विरोध गर्यौ । हाम्रै माग अनुसार विद्यार्थी भाडामा सहुलियत पनि भयो ।

  • सबै विद्यार्थी नेताहरु आफूलाई यसैगरि ओभानो ठान्छन् । तपाईंलाई विद्यार्थी राजनीतिको नाममा आफूबाट कुनै त्रुटि भए जस्तो लाग्दैन ?
त्रुटि नै त नभनौं । तर हाम्रा थुप्रै कमजोरी छन् । जसरी पार्टी नेतृत्वको गलत काममा आवाज उठाउनुपर्ने हौ सधैँ सम्भव हुँदैन । हामी पनि चुकेका छौं ।
  • जस्तै ?
- यही भनेर छुट्याउन सकिन्न तर त्यस्ता धेरै ठाउँ छन् ।
  • यस्ता विषयमा तपाईँको बुवासँग कुरा हुँदैन ?
- हामीलाई समय नै मिल्दैन छलफल गर्न । तर जति समय मिल्छ, त्यसमा उहाँ सधैँ हाम्रो सरकारले गरिरहेको कुरामा विद्यार्थीको धारणा के छ भनेर प्रश्न गरिरहनुहुन्थ्यो । क्रान्ति सफल पार्ने युवापुस्ताले नै हो भनेर उहाँ सधैँ युवा सोच र उनीहरुको बुझाइमा उत्सुक हुनुहुन्छ ।
  • तपाईं सानैदेखि राजनीतिक वातावरणमा हुर्कनुभयो, तपाईँले सानैदेखि बुझ्दै आएको समाज र देश परिवर्तनको कुरा त्यसैगरी हुँदोरहेछ ? बुवा प्रधानमन्त्री, आमा मन्त्री हुँदा कस्तो महसुस गर्नुभयो ?
- राजनीतिमा आदर्श एउटा हुन्छ । त्यो सबै व्यवहारमा लागू नहुने रहेछ । मैले अचेल त्यही बुझेँ । यथार्थ अर्कै हुँदो रहेछ । जुन उद्देश्य लिइन्छ त्यो पूर्ण रुपमा सत्यमा परिणत हुन्छ भन्ने हुँदैन ।
  • त्यसको मतलब तपार्ईंको बुवा राजनीतिमा जुन उद्देश्यले आउनु भएको थियो त्यसमा चुक्नुभयो ?
- हो मलाई दुख लाग्छ । बुवा जुन उद्देश्यले संविधान जसरी पनि जारी गर्छु भनेर प्रधानमन्त्री हुनुभएको थियो । त्यो सफल हुनसकेन । उहाँ प्रधानमन्त्री हुनुभन्दा अगाडि पनि उहाँका सामु चुनौतीका पहाड देखाइएको थियो । उहाँले म त्यसलाई सामना गर्न सक्छु भनेर आउनुभयो । तर समयले साथ दिएन । आफ्नै पार्टीका अर्को समूहले त्यो सफल हुन दिएनन् ।
  • भनेको वैद्य समूह ?
- हो ।
  • तपाईंलाई बुवाकै पालामा संविधान जारी हुन्छ भन्ने लागेको थियो ?
- हामी त अन्तिम समयसम्म पनि हुटिङ गर्न, उल्लास मनाउन बसिरहेका थियौं । भित्र के भइरहेको छ, थाहा भएन । एक्कासी संविधानसभा विघटन भयो भन्दा हामी निकै चकित भयौं ।
  • तपाईंको बुवाले आफ्नो प्रधानमन्त्रीत्वकाल लम्ब्याउन जानिजानी संविधानसभालाई मर्न दिनुभयो भन्ने आरोप थियो नि ?
- त्यो आरोप मात्रै हो । मैले बुझेसम्म त्यो दिन उहाँको जीवनकै सबैभन्दा दुखद दिन हो, त्यसको ग्लानि उहाँलाई बाँचुञ्जेल भइरहनेछ । र, संविधान जारी भएको दिन उहाँ सबैभन्दा बढी खुसी हुनुहुनेछ ।
  • उहाँ सधैँ मलाई अदालतले काम गर्न दिएन भन्नुहुन्थ्यो ?
- त्यो सत्य हो । उहाँले थालेको सबै काम सर्वोच्चमै गएर थन्किए ।

  • उहाँकै सरकारको निर्णयमात्रै किन त्यस्तो भयो होला त ?
- विदेशतिर न्यायाधीशहरुले के काम गरे भन्ने कुराले माने राख्दैन । अदालतले के गर्यो भन्ने मात्रै हुन्छ । यहाँ आफ्नो चिप पपुल्यारिटीको लागि न्यायाधीशहरु निर्णय सुनाउँदा रहेछन् । विदेशमा न्यायाधीशहरु वाहवाह पाउन खोज्दैनन् । त्यसकै उपज उहाँले आँटेका धेरै काम गर्न पाउनुभएन ।

  • आममानिसले बाबुराम भट्टराईले मुस्ताङ म्याक्स चढ्नेदेखि धेरै कुरामा चिप पपुल्यारिटी खोजे भन्छन् नि ?
- त्यस्तो हो जस्तो मलाई लाग्दैन । उहाँ प्रधानमन्त्री भएपछि स्वाभाविक रुपमा कुन गाडी चढ्ने भन्ने कुरा उठ्यो । जुन सस्तो छ, त्यही चढ्छु भन्नुभयो । उहाँले आफ्नो विवेकले जे भन्यो, त्यसैअनुसार भन्नुभएको हो । यसमा चिप पपुल्यारिटी कसरी भयो ?
  • उहाँकै पालामा थुप्रै जघन्य अपराधका अपराधीले संरक्षण पाउने गरी निर्णय भयो । त्यो पनि सही थियो ?
- मानव अधिकारको नाममा उहाँलाई दोषी देखाउन खोजियो । तर यो सबै मुलुकमा हुन्छ । बालकृष्ण ढुंगेलको मुद्दा जनयुद्धकै कारण भएको थियो । डेकेन्द्रको केस पनि कुनै न कुनै किसिमले जनयुद्धसँगै सम्बन्धित थियो ।
  • डेकेन्द्रको मुद्दामा त दोषी आफैँले मैले नै निर्मम तरिकाले मारेको हुँ भनेर कबुल गर्दा पनि सरकारले जोगाउन खोज्यो होइन र ?
- त्यो एकजना दोषीको कुरा मात्रै थिएन । त्यसले थुप्रै मुद्दा तान्छ भन्ने उहाँको चासो थियो । जस्तै बेलायतमा पक्राउ परेका कर्नेल कुमार लामाको पनि ।
  • मुद्दा तानिन्छ भनेर अपराधीलाई संरक्षण दिनु जायज हो त्यसो भए ?
- पक्कै होइन । तर त्यसको छानबिन गर्ने निकाय गठन नै भएको छैन । अहिले नै दोषी संरक्षण भन्न मिल्दैन । सत्य निरुपण तथा मेलमिलाप आयोगले त्यसको निक्र्यौल गरिहाल्छ । अदालतले रोकिरहनै पर्दैन ।
  • अनि उहाँ त सधैँ अदालतले काम गर्न दिएन भन्ने मान्छे, उहाँ आफैँले न्यायमूर्तिलाई नै चुनावी प्रयोजनका लागि मन्त्रिपरिषद् अध्यक्ष बनाउनुभयो ?
- उहाँलाई दोष गएको हो । सहमति र हस्ताक्षर त सबैले गर्नुभएकै हो नि ।
  • तपार्ईं खुसी हुनुहुन्न त्यसो भए ?
- म पहिल्यैदेखि खुसी छैन । जुन व्यक्ति जुन क्षेत्रको हो, उसलाई त्यहीको मात्रै जिम्मेवारी दिनुपर्छ । तर अब हुने कुरा भइसकेपछि सकारात्मक हुन्छ भन्नेमा आशावादी हुनुपर्छ ।
  • तपाईलाई चुनाव मंसिरमै हुन्छ भन्ने विश्वास लाग्छ ?
- अहिलेसम्म मिति तोकिइसकेको छैन । त्यसैले यसै भन्न सकिन्न ।
  • सत्तामा बसिरहेका मान्छेहरु कति लामो समय सत्ताबाहिर बस्नसक्नु होला ?
- धेरै समय सक्नुहुन्न । त्यसैले पनि चुनाव चाँडै भइहाल्नुपर्ने हो । तर अहिलेसम्म मिति नै तय भइसकेको छैन ।
  • अहिले भइरहेका राजनीतिक परिवर्तनको मूल्यांकन कसरी गर्नुभएको छ ?
- हामी भाग्यमानी पुस्ता हौं । हामीले ठूला ठूला राजनीतिक परिवर्तन देख्न पाएका छौं । सबै मुलुक संक्रमणबाट गुज्रिँदा यस्तै हुन्छ । म अहिलेको राजनीतिक परिवर्तनसँग चाहिँ खुसी छैन ।
  • तपाईँ राजनीतिजस्तो कञ्चन हुनुपर्छ भन्ने सोच्नुहुन्थयो, आफ्नो बुवाआमा पदमा पुग्दा राजनीति त्यस्तै भयो भन्ने लाग्छ ?
- लाग्दैन । उहाँहरुसँग आमजनताको चाहना जीवनयापन सहज हुने खालका योजना आउँछन् भन्ने थियो । तर राजनीति स्थिर नहुँदासम्म सम्भव हुँदोरहेनछ । उहाँहरुले मैले सोचेअनुसार काम गर्नै सक्नुभएन ।
तस्विरहरु: सोभा शर्मा