Saturday, November 17, 2012

एक तस्वीरले बर्बाद पारेको जीन्दगी - onlinekhabar

सन् २००९ को जूनमा तेहरानमा भएको प्रदर्शनमा एक महिलाको गोली हानी हत्या भयो र निदा आग सुल्तान तेहरानमा प्रदर्शनको मूख्य अनुहार बन्यो । फरक यति मात्र थियो कि जुन अनुहारलाई लिएर आक्रोस र सहानुभूतिको भेल उर्लिएको थियो, त्यो अनुहार निदा आग सुल्तानको नभएर एक विश्व विद्यालयका प्राध्यापक निदा सुल्तानीको थियो ।
एक तस्वीरले बर्बाद पारेको आफ्नो जीन्दगीको कहानी निदा सुल्तानीकै शब्दमा
-२१ जुन २००९ को विहान जब म आफ्नो अफिस पुगे र मेल खालेर हेर्दा मेरो फेसबुक एकाउन्टमा मित्रताका लागि ६७ प्रस्ताव आएका थिए । त्यसको केही घण्टामा त्यो संख्या बढेर ३ सय पुग्यो । त्यसबेलासम्म मलाई थाहा थिएन कि मेरा तस्वीर विश्वभरका टेलिभिजनसहितका सञ्चार माध्यममा पुगिसकेको छ ।मेरो विश्व विद्यालयका छात्र छात्रा प्रदर्शन गरिरहेका थिए र त्यसकै कारण म अबेर रातिसम्म विश्वविद्यालय परिसरमै थिए । त्यसबेला मलाई एक व्यक्तिको इमेल आयो । जसमा निदा आग सुल्तान नामकी एक युवतीको प्रदर्शनको क्रममा हत्या भयो । यस युवतीको बारमा कुनै पनि जानकारी उपलब्ध छैन र उनी यसबारे मसंग केही जान्न चाहन्छन् भन्ने थियो ।
घर पुग्दासम्म मलाई मेरा साथीभाई, आफन्त र मलाई चिन्ने जान्नेहरुले फोन गरे र मेरो तस्वीर सीएनएनसहितका टेलिभिजन च्यानलले देखाएको छ भन्ने सुनाए । मिडियामा मेरो अनुहार, निदा आग सुल्तानको पहिचान र उनको मृत्युलाई मिलाएर मेरो तस्वीरको खबर बनिसकेको थियो । त्यसपछि मैले फेसबुक र इमेलका माध्यमबाट आफूलाई चिन्ने र अन्यलाई प्रदर्शनका क्रममा मृत्यु भएका महिला आफू नभएको र मेरो तस्वीर गलत ठाउँमा प्रयोग भएको बताउन थालेँ । तर, मिडियामा मेरो तस्वीरको प्रयोग हुन छाडेन । मानिसहरुले मलाई सरकारको एजेन्ट भएको अरोप लगाए, जो ‘देशको नायक’ भइसकेकी निदा आग सुल्तानको फेसबुक एकाउन्ट हत्याएर पहिचानको फाइदा उटाउन खोजेको आरोप लगाउँथे ममाथि । निदा आग सुल्तानको परिवारले उनको सही तस्वीर सार्वजनिकमा गल्ती भएकोबारे प्रष्ट पार्न नखोजेका होइनन् । तर, त्यसबेलासम्म ४८ घण्टा वितिसकेको थियो ।
इरानी सरकार प्रदर्शनको दौरान भएको निदा आग सुल्तानको हत्याबाट कुनै हालतमा आफू माथि पर्न चाहन्थ्यो भने हत्याकाण्ड दिनदिनै भूसको आगोझै सल्किँदे गएको थियो ।
त्यसपछि मेरा साथीहरु मबाट टाढिँदै गए, किन की मसँग हुनु उनीहरुका लागि खतरा थियो । मेरो ब्वायफ्रेण्डले पनि मबाट टाढिनु नै सही ठाने । मेरो जीन्दगी यसरी बर्बाद हुनसक्छ भनेर मलाई विश्वास नै लागिरहेको थिएन । अन्तिम पटक जब सरकारका अधिकारीहरु मेरो घरमा आए, उनीहरुले ममाथि सीआईएको जासुस भएको आरोप लगाए र मलाई एक बयानमा हस्ताक्षर गर्न बाध्य पारे । त्यस्तो आरोप लाग्नु भनेको इरानमा मृत्यु दण्डको सजाय पाउनु पक्का थियो ।त्यसपछि म इरानबाट भागेँ र आफ्नो ज्यान बचाउन अमेरिका पुगेँ । यो पुरा घटना १२ दिनमा घटेको थियो । अर्थात २ हप्तानमा म अग्रेजीको एक प्राध्यापकबाट देशबाट भागेकी एक महिला बन्न पुगेँ ।
मलाई बसैभन्दा बढी दुःख तथा खेद अन्तराष्ट्रिय मिडियासँग छ, जसले मेरो तमाम सफाईहरुलाई अस्वीकार गर्दै गलत रुपमा मेरो तस्वीरलाई प्रयोग गर्न छाडेनन् । ममाथि जे भयो शायद म यहाँबाट उम्कने सक्ने छैन । म लामो समयसम्म तनाबमा रहेँ । मैले जीन्दगीमा जे गुमाएँ, अब त्यो पाउृने सक्ने छैन । तर पनि म जीन्दगीसँग आफ्नो लडाई जारी राख्ने छु, किनकी मलाई जीत हासिल गर्नु छ ।
को थिइन निदा आग सुल्तान ?
निदा आग सुल्तान राजनीतिक रुपमा प्रदर्शनमा कहिल्यै सक्रिय भइनन् । २६ वर्षको उमेरमा उनको टाउकोमा गोली हानेर हत्या भयो ।
इन्टरनेटको माध्यमबाट उनको हत्याको खबर फैलियो । टाइम म्यागाजिनका अनुसार यो विश्व इतिहासमा अहिलेसम्मको सबैभन्दा ठूलो मासमा देखिएको हत्या थियो । निदाको परिवारले उनको शव सार्वजनिक रुपमा अन्तिम संस्कार गर्न पाएनन् । उनको शवलाई अपमान गरिएको थियो । उनकी आमाले आमा बन्ने निदाको सपना पूरा हुन नसकेकोमा सबैभन्दा दुःख लागेको बीबीसीलाई बताएकी छिन् ।
अहिले के गर्दैछिन् निदा सुल्तानी ?
निदा सुल्तान अहिले ३५ वर्षकी भइन र अमेरिकाको एक विश्वविद्यालयमा फेलोशिप गर्दैछिन् । इरानबाट भागेर आएपछि अहिलेसम्म उनले आफ्नो परिवारसँग भेट्न पाएकी छैनन् । केही इरानी अधिकारी अहिले पनि उनलाई निदा आग सुल्तान भएको र उनले आफ्नो मृत्युको अफवाह फैलाएको बताउँछन् । उनले आफ्नो कहानीमा ‘माई स्टोलन फेस’ नामको पुस्तक समेत लेखेकी छिन् ।
बीबीसी आउटलुकमा भएको कुराकानीमा आधारित

मोराले सजिलै झुक्यायो - onlinekhabar

लक्ष्मण गाम्नागे
सिस्नुपानी नेपालका हामीहरू हरेक पटक देउसी तयारी गर्ने क्रममा ‘आउँदो वर्ष चाहिँ बेलैमा देउसी तयार गर्ने है’ भन्ने गर्छौ । प्रत्येक आउँदो दसैंमा भने उही पारा दोहोर्‍याइरहन्छौँ । तिहारको मुखमुख आए पछि अत्तालिँदै जुट्न थाल्छौं । जुट्न पनि भ्यागुताको धार्नी जस्तै । पहिला पहिलाका वर्षहरूमा अर्जुन पराजुली सक्रिय हुनुहुन्थ्यो । अलि सजिलो थियो । असाध्यै बटारिएका शब्द र वाक्यहरू फुराएर देउसीलाई साह्रै चोटिलो बनाउनमा मुख्य भूमिका उहाँको रहन्थ्यो । उहाँलाई पलेँटी कसाउन मात्रै मुस्किल । अचेल उहाँ आफ्नै उद्योग व्यवसायमा बढी व्यस्त हुनुहुन्छ । धीरेन्द्र प्रेमषिर्जीलाई पनि अचेल सिस्नुपानीप्रति खासै रुचि छैन । चट्याङ् मास्टर अन्तै लाग्नुभएको निकै वर्ष भइसक्यो ।
पुराना टोलीका हामी बाँकी रह्यौँ मनोज गजुरेल, टंक आचार्य र म । माणिकरत्न, देवी घिमिरे, थरेन्द्र बराल, हरिकला उप्रेतीको सहयोगी भूमिका हुन्थ्यो, यसपालि उहाँहरूले पनि भ्याउनुभएन । पछि थपिएकामा सरोज घिमिरे र कृष्ण अविरलहरूले देउसी माझ्न निकै सघाएका छन् । राजा राजेन्द्र यसैपालि थपिएका हुन् तर उनी पनि निकै व्यस्त कलाकार भइसके । मनोजलाई पछ्याउँदैछन्, व्यस्ततामा र स्तरीयतामा पनि । यसपालिको देउसी तयारीमा सरोज, राजा राजेन्द्र र हामी तीन भाइ लागेका थियौँ । तिहारको अगाडि घटेको एक रमाइलो घटना सुनाउन खोज्दैछु ।
निकै मुस्किलले भ्यागुताको धार्नी पुर्‍याएर हामी एक बसाइ बसेका थियौं । पहिलो बसाइमा हामीले वर्ष भरि घटेका मुख्य मुख्य घटनाको टिपोट मात्रै गरेका थियौं । अब तिनीहरूमा प्राण भर्नु थियो । भाका हाल्नु थियो । दोश्रो बसाईका लागि बानेश्वरको कोलम्वस कलेजमा बिहान ८ बजे जम्मा हुने निर्णय भएको थियो । सबैभन्दा सजिलो र बिकामे म छु, लक्ष्मण गाम्नागे, जहिले जहाँ भन्यो त्यहीँ पुग्छु । साथीहरूको नानीदेखिको बानीबाट चिरपरिचित हुँदाहुँदै पनि म लण्ठु आठै बजे पुगिसकेको थिएँ । मनोज गजुरेल र टंक आचार्य आधा घण्टा वा एक घण्टै ढिलो आउन सक्छन् अथवा मनोज त आउँदै नआउन पनि सक्छन् भन्ने मलाई थाहा थियो । समयको पालनाका विषयमा सिस्नुपानी नेपालमा संस्थापक अध्यक्ष चट्याङ मास्टरले जतिसुकै प्रयत्न गरे पनि व्यक्तिगत रुपमा भने हाम्रा साथीहरूमा त्यसको कुनै प्रभाव परेन । संस्थाले भने ठिक समयमा कार्यक्रम शुरु गर्ने परम्पराको पालना गरिरहेको छ ।
सदाबहार व्यस्त यी दुई भाइहरूलाई यस्ता मिटिङ् बैठकमा तोकिएको समयमा प्राप्त गर्नु भनेको कुनै मन्त्री वा नेतालाई प्रमुख अतिथि बनाएर समयमा कार्यक्रम थाल्छु भन्ने आशा गर्नुभन्दा पनि दुर्लभ आशा हुनसक्छ । म वाध्य थिएँ उनीहरूलाई पर्खिन र पर्खिएर बसिरहेको थिएँ कलेज बाहिर गेट छेऊमा । आठ बजेको मिटिङ् भनेको साढे आठ भइसकेको थियो । मनोजलाई ढिलो हुँदा जाममा परेको उत्तर आउँथ्यो । टंकलाई फोन गर्दा पाँच मिनेटमा आइपुग्छु भन्ने रेडिमेड जवाफ आउँथ्यो । आज पनि त्यही भयो । म रिसले मुर्मुरिँदै सडकको पेटीमा यता र उता गर्दैथिएँ । एकजना मानिस आएर मोटरसाइकल रोक्यो र सोध्यो ‘भाइ कोलम्बस कलेज यही हो ?’
मैले मन नलागी नलागी भनेँ ‘हो’ । मलाई मन नलाग्नुका कारण दुइटा थिए । एक, म आधा घण्टादेखि सडक पेटीमा उभिएर कसैलाई पर्खिरहेको थिएँ । दुई, उसले चिन्नु न जान्नु मलाई भाइ सम्वोधन गरेको थियो । यो मेरो पुरानो खराव बानी हो । अलि बूढै लाग्ने बाहेककाहरूले हेप्ने टाइपले भाइ भने भने झनक्क रिस उठ्छ ।
‘गुल्मेलीहरूको मिटिङ् भनेर आएको, श्रीकृष्ण ज्ञवालीले बोलाउनुभएको मिटिङ् । तपाईं पनि त्यही मिटिङ्मा हो ?’ उसले सोध्यो ।
मैले भनेँ ‘होइन । म अर्कै कामको लागि आएको हो ।’
‘अर्को के काम ?’ ओहो ! कस्तो काम नपाको मान्छे रैछ । मलाई झनै रिस उठ्यो ।
‘मिटिङ् छ ।’ मैले ऊतिर नहेरी अलि झर्किएर भनेँ ।
‘अनि किन बाहिर बस्नुभएको त ?’
‘तँ सालेलाई के मतलव !’ मैले मनमनै भनेँ ।
‘मेरा साथीहरू आइपुगेका छैनन्, यसैले ।’ प्रकटमा भनेँ ।
उसले त्यहीँबाट कसैलाई फोन गरेर हप्कायो । ‘खोई त अहिलेसम्म मिटिङ् शुरु भएको छैन । म आएको आधा घण्टा भइसक्यो । टाइम दिएपछि त आउनुपर्छ नि ! कति महत्वपूर्ण काम छाडेर आएँ ।’
‘…………….।’
‘खोई, यहाँ गेट बाहिर एकजना भाइ बसेको छ, अरु कोही छैन ।’ मतिर छड्के हेर्दै उसले भन्योे र गेटमा गएर ढक्ढक्याउन थाल्यो । गार्डले गेटको प्वालबाट चियाए । गुल्मेली भित्र पस्ने प्रयासमा लाग्यो । बैठक छ भन्यो । पालेले टङ्क सरलाई सोध्छु अनि मात्रै भित्र पसाउँछु भनेछन् । त्यतिकैमा टङ्क आइपुगे । गुल्मेलीले मोटरसाइकल गेटै अगाडि रोकेको थियो । टङ्कको हर्न सुनेर गार्डले ढोका खोले । गुल्मेलीले त्यही मौकामा मोटरसाइकल भित्र हुल्यो । उसले मोटरसाइकल लगेर कार पार्क गर्ने ठाउँमा राख्नै लाग्दा टंकले भने ‘भाइ मोटरसाइकल उता राख्नुस् ल !’
उसले मोटरसाइकल हटाएर मेरो सँगै ल्यायो र राख्यो । मोटरसाइकलबाट ओर्लेर परतिर हेर्दै भन्यो ‘यहाँ त होइन कि क्या हो !’ म बोलिन । ऊ फेरि मोबाइलमा कसैसँग कुरा गर्न थाल्यो । ऊ अर्कैतिर लाग्यो, म टंकजीको अफिसतिर लागेँ । ढिलो गरेकोमा टंकसँग रिसाउँदै हामी देउसीका विषयमा छलफल गर्न थाल्यौं । मनोजको कुनै अत्तोपत्तो थिएन । मनोज कतिपटक आउँछु, भनेर आउँदै नआउने पनि गर्ने भएकोले हामीले उसलाई पर्खिन थालेनौँ । यतिकैमा त्यो गुल्मेली भर्‍याङ्को भित्तातिर झुण्ड्याएका तस्वीरहरू हेर्दै हेर्दै बिस्तारै माथि आयो र आएर टंकसँग गुल्मेली बैठकबारे सोधपुछ गर्न थाल्यो ।
‘यो गुल्मेली समाजको बैठक हो ?’
टंकले भने ‘होइन । सिस्नुपानीको हो ।’
‘सिस्नुपानी ?’ ऊ हाँस्यो । ‘के हो सिस्नुपानी भनेको ? सिस्नुपानीको पनि वैठक हुन्छ ?’
‘संस्थाको नाम हो । हास्यव्यंग्य सम्वन्धी काम गर्ने संस्था ?’ टंकले प्रष्ट पारे ।
‘ ए…तिहारमा देउसी खेल्ने संस्था हो कि क्या हो ? ओहो कस्तो व्यंग्य हान्छ नि ! त्यही हो ?’ ऊ निकै उत्साहित देखियो ।
‘हो, त्यही हो । अब हामी काममा लाग्छौं ल ! तपाईंको मिटिङ् यहाँ होइन जस्तो छ ।’ टंकले त्यसलाई पन्छाउन खोजे ।
उसले सोध्यो ‘नेपाली नाम नै नभए जस्तो के नाम राखेको हो, कोलम्बस !’ गुल्मेलीको व्यवहार र कुरा मलाई शंकास्पद पनि लाग्न थाल्यो । कतै चन्दा सन्दा उठाउन आएको पो हो कि Û उसले फेरि सोध्यो ‘कोलम्बस भन्ने अर्को पनि कलेज छ र ?’
टंकले भने ‘कलेज त छैन, स्कूल हो भने अलि उता छ ।’
‘स्कूल पो भनेको हो कि क्या हो ! लोकेशन त ठ्याक्कै यही भनेका थिए ।’ भन्दै उसले पुनः कतै फोन गर्‍यो । फोनबाट कुरा बुझेर उसले ‘कोलम्बस इन्स्टिच्यूट भन्ने छ यतातिर ?’ भनेर टंकलाई सोध्यो ।
टंकले पारिपट्टछि भनेर बताएपछि बल्ल गुल्मेली बाटो लाग्यो ।
टंकजीले मनोजलाई फोन गरेर आउने कि नआउन सोधे । मनोजले आइपुग्नै लागेको बताएपछि हामीले चिया मगायौं र देउसीकाा बारेमा छलफल थाल्यौं । छलफल शुरु मात्रै गरेका थियौं, गुल्मेली फेरि फर्किएर आयो र सरासर भित्र पसेर सोफामा बस्यो । हामी आश्चर्यचकित र भयभित पनि भयौंँ । टंक रिसाएर केही भन्न मुख तिखार्दै कुर्सीबाट उठ्न खोज्दैथिए, गुल्मेलीले ‘ तपाईंहरूले मलाई किन झुक्याएको ?’ भनेर रिसाउँदै हेल्मेट खोलेर टेबुलमा राख्यो । त्यसपछि मुख छोपेको रुमाल पनि हटायो । हामी अवाक् भयौं । हामी हेर्‍याहेर्‍यै भयौं । निकैबेर जिल्लिएपछि एकैसाथ हाम्रो हाँसोको फोहोरा छुट्यो, हामी हाँसेको हाँसेकै भयौं । हुरुक्कै भयौं । त्यो बज्जे गुल्मेली अरु कोही थिएन, मनोज गजुरेल नै थियो ।
मैले मनोजलाई चिनेको ऊ कक्षा सात वा आठमा पढ्दादेखि हो । ऊ मेरो एकै परिवारको भाइ जस्तै हो । टंकसँग पनि उसको दोस्तीको २० औँ वर्ष चलिरहेको छ । हामी दुवैलाई दिनदहाडै यसरी चक्मा दिन सक्ने यो मनोज गजुरेलको कलालाई मैले मानेँ । टेलिफोनबाट त उसले बेलाबेला झुक्याउँथ्यो । कुनै कार्यक्रममा ज्ञानेन्द्रको नक्कल गर्दा प्रहरीले साँच्चिकै ठानेर स्यालुट हानेको कुरा गथ्र्यो मनोजले । मलाई पत्यार लागेको थिएन । आज मैले पत्याएँ ।
 दुई
 कहिलेकाँही घटनाहरू अचम्मैसँग दोहोरिँदा रहेछन् । माथिको घटना भएको ठीक भोलिपल्ट अर्को एउटा अनौठो घटना मसँग भयो । म आफ्नो घर सिनामंगलबाट निस्किएर अफिस जान लाग्दै थिए । घर छेऊको पहेंलो पुलमा पुग्दा एकजना मानिस बिग्रेको बाइक घँचेटेर अगाडि लाग्यो । पुलमाथि चढाउन उकालो बाटो थियो । त्यसले मोटरसाइकल घँचेटेको देखेपछि ऊ पुलमाथि पुगोस् भन्ने ठानेर म पर्खिन थालेँ । त्यो मानिसले बाइक माथि चढाउन सकेन, हेर्दा हेर्दै पछि सर्न थाल्यो । ल्यायो-ल्यायो-ल्यायो, झ्याप्पै पारेर मेरो मोटरसाइकललाई हिर्काइहाल्यो । मेरो बाइकको अगाडिको साइड लाइट भाँचिदियो । उसको व्याक लाइट चकनाचुर भयो । अब शुरु भयो लफडा । गल्ती उसको थियो । त्यतिकै छाड्न पनि मिलेन । मेरो लाईट भाँचिएको छ । नछाडौं भने ऊ बग्गीखाना जाउँ भन्दै किचकिच गर्न थाल्यो । अफिस पुग्न ढिलो हुन लागि सक्यो ।
‘मेरो गल्ती छैन, उकालोमा बाइक पछि सर्‍यो त मेरो के दोष’ भनेर ऊ उम्किन प्रयास गर्न थाल्यो । त्यतिकैमा एकजना मानिसले हाम्रा छेऊमा बाइक रोकेर के भयो भनेर सोध्यो । मैले बेलिबिस्तार लगाएँ । त्यो मानिसले मेरो पक्षमा वहस गर्न थाल्यो । वहस झन् झन् चर्किन थाल्यो । अफिस जान ढिलो हुन लागेकोले म त मरोस् छाडिदिनुपर्‍यो भन्दै थिए । तेस्रो व्यक्ति जमेरै मेरो पक्षमा लागेर त्यो मानिसलाई थर्काउन थालेपछि म झनै अप्ठ्यारोमा फँसेँ । त्यो नवागन्तुक बाइकबाट ओर्लिएर मेरो पक्षमा कस्सिएरै बाझ्न थाल्यो । उसैले हामी दुवैलाई नजिकको मोटरसाइकल बनाउने ठाउँमा लग्यो । सोधपुछ गर्दा जम्मा डेड सय रुपैयाँमा क्षतिपूर्ति हुने रहेछ । तर त्यो मानिस बग्गीखाना जाउँ उहीँ कुरा गरौँला भनेर ढिप्पी कसेको कसेकै । रमितेहरूको भिड लागिसक्यो । सबैले त्यो मानिसको सरासर गल्ती भएको थाहा पाइसके । सबैले पैसा तिर्न भनिसके । तर ऊ डेग चलेन । मेरो पक्षमा लागेको मानिस रिसायो र मोटरसाइकलको चाबी खोस्यो ।
त्यो मानिसले ‘हामी दुईजना बिचको झगडामा पस्ने तपाईं को हो ?’ भनेर नवप्रवेशीलाई सोध्यो । वास्तवमा म पनि आश्चर्यचकित भएको थिएँ । सोच्दैथिएँ, कहाँ जान लागेको मान्छे चिन्नु न जान्नु मेरो पक्षमा लागेर यसरी किन झगडामा फसेको होला । नदुखेको टाउको किन दुखाएको होला ! नवप्रवेशीले हेल्मेट खोलेर पाखुरा सुर्कँदै त्यो मानिसलाई कुट्ने तरखर गर्न थाल्यो । रमितेहरूले उसलाई छेके । त्यो बेला पो थाहा भयो, मेरो पक्षमा लागेर यत्रोबेर लफडा गर्ने त मेरो आफ्नै सालो रामु पो रहेछन् । एउटै घरबाट निस्किएर उनी मेरा पछि पछि आउँदै रहेछन् । त्यो मासिनसँग झगडा भएको सुरमा मैले हेल्मेटले मुख छोपिएको आफ्नै सालोलाई पनि नचिनेर चकित भइरहेको रहेछु । म सोच्दैथिएँ, यो कुनै मलाई चिन्ने छिमेकी होला वा लक्ष्मण गाम्नागेको कुने प्रशंसक वा पाठक होला । रामुले कुट्न झम्टिएपछि त्यो मान्छेले खुरुक्क पैसा तिर्‍यो, हामी हिँड्यौँ ।

चरित्रहत्या भएको भन्दै दीनबन्धु दुःखी 'प्रमाण भेटिए सजाय भोग्न तयार छु' - onlinekhabar

२ मंसिर, काठमाडौं । परिवारका केही सदस्यहरुले लगाएको आरोप गलत भएको भन्दै वाचन प्रवीण दीनबन्धु पोखरेलले आपत्ति जनाउनुभएको छ । उहाँकै परिवारका एकजना सदस्यले बिभिन्न सञ्चारमाध्यममा दिएको खबर झुटो र चरित्रहत्या गर्ने खालको भएको पोखरेलको दावी छ । केही दिनअघि अनलाइनखबरमा आएको खवरप्रति आपत्ति जनाउँदै दीनबन्धुले प्रमाण भेटिए सजायँ भोग्न तयार रहेको बताउनुभएको छ ।
पहिले पण्डित पोखरेलसँगै पुराणमा सहभागी हुने परिवारका एकजना सदस्यले दीनबन्धु बिग्रन थालेकाले सपार्नुपर्यो भन्दै बिभिन्न सञ्चारमाध्यममा पुगेर हारगुहार गरेका थिए । उनले पोखरेलले श्रीमती र छोरीलाई अलपत्र पारेर अरु महिलासँग लसपस गरेको र आर्थिक घोटाला गरेको आरोप लगाएका थिए । तर पण्डित पोखरेलले यी आरोप सरासर झुटो र कपोलकल्पित भएको भन्दै खण्डन गर्नुभएको छ ।
पण्डित दीनबन्धु पोखरेलले पठाउनुभएको खण्डन जस्ताको तस्तै :
१. मेरो चारित्रिक विषयको उठानः- म, मेरो परिवारसँग खुशी छु । मेरो माता उमा, पत्नी बिमला, छोरी दीविसा पोखरेल मेरो परिवारमा छौँ । अन्य विषयको जिज्ञासाको लागि मेरो निवासमा आउँदा जो कोहीलाई स्वागत छ । कुनै महिला सबुत प्रमाण (फेरि भ्रामक होइन) लिएर आउँछ भने म सजायको भागीदार बन्नेछु । सबैको परिवार हुन्छ व्यक्तिगत जीवन हुन्छ, निर्दोष व्यक्तिहरुको नाम लेखेर चरित्र हत्या गर्ने कार्य गरेको अत्यन्तै पाशविक कार्य प्रति खेद छ । साथै म डेरामा बसेर कसैलाई घर बनाइदिएको भन्ने अप्रामाणिक विषय प्रति पनि क्षोभ प्रकट गर्दछु । कसैले कपोल कल्पित विषय उठाउँछ कसैले भने त्यसलाई समाजले मूल्यांकन गर्नु पर्दछ ।
२. म आध्यात्मिक व्यक्ति ”व्राम्हणले दक्षिणा तोक्नु हुँदैन” भन्ने मान्छे हो । र, अहिलेसम्म काठमाडौंमा भाडा तिरेर डेरामा बसेको सबैलाई थाहा छ । कहिँ कतैबाट प्रमाण सहित कसैले यति प्रतिशत यज्ञबाट माग गरेको भन्ने विषय लाग्यो भने त्यसमा पनि मूल्यांकन गर्ने समाज छ । होइन भने कसैको चरित्र हत्या गर्न कसैलाई छुट छैन । शायद म अर्थकै पछि लागेर सदैव हिँडेको भए म यति धेरै यज्ञमा व्यस्त हुँदैन थिएँ । समाजबाट तिरस्कृत हुने थिएँ, त्यसमा समाजले मूल्यांकन गरेकै छ र गर्ने पनि छ ।
३. म आध्यात्मिक व्यक्ति, सरकारले काठमाडौं रामकोटमा आध्यात्मिक केन्द्र्र निर्माण गर्न जग्गा प्रदान गरेको छ । त्यही आध्यात्मिक केन्द्र निर्माण गर्नका खातिर गत साल टुँडिखेलमा यज्ञ लगाइएको, यज्ञबाट कति उठेको, कति कार्य भएको भन्ने लेखा परीक्षण र प्रतिष्ठानको विवरणले बताउँछ । त्यसमा १ रुपैयाँ हीनामिना भएको प्रमाण दिनको लागि म भ्रामक प्रचार गर्ने व्यक्तिलाई चुनौति दिन चाहन्छु । साथै रामकोटमा ‘आध्यात्मिक केन्द्र’ निर्माणाधीन छ, धेरै दाताहरुले बोलेको रकम दिने क्रम जारी छ ।
त्यसैले समादरणीय व्यक्तित्वहरु, तमाम धार्मिक/आध्यात्मिक, गैर-आवासीय नेपाली जन तथा सबै आम जनमानसमा परेको यो भ्रामक विषयको पछि नलाग्न अनुरोध छ । सञ्चारकर्मी साथीहरुले पनि कुत्सित मनसायले प्रचार गरिएका कुनै पनि नकारात्मक तथा प्रमाणविहीन, असत्य विषयलाई उठान गरी कसैको सामाजिक अवसान गराउने कार्य गर्नु हुँदैन । कसैले गल्ती कमजोरी गरेको भए सजायको भागीदार जो पनि बन्छ, त्यसका कानूनी बाटाहरु होलान कपोल कल्पित विषय उठान गर्ने व्यक्तिको खोजबिन र कारबाही गर्न समाजले साथ दिनु पर्छ भनी अनुरोध गर्दछु ।
”आध्यात्मिकताको माध्यमबाट समाजको वहुआयामिक समुन्नयन” भन्ने मूलभूत मान्यतालाई अंगीकार गर्दै समाजको सम्वृद्धिको अभियानलाई अगाडि बढाएर राष्ट्र सेवामा समर्पित रहेको नेपाली जनमानसमा जगजाहेर छ । पिताजी वाचन शिरोमणि पं. नारायण प्र. पोखरेलको अभियानलाई अझै नवीनतम ढंगबाट समाज सेवामा समर्पित गराएर राष्ट्रको समृद्धि गर्नु आफ्नो महान कर्तव्य ठानेर अहोरात्र समाज विकासमा लागी परेको भन्ने विषयमा सबैको दृष्टिगोचर परेकै छ ।
नेपाली समाजमा भौतिक विकासका हिसाबले भन्ने हो भने झण्डै २०/२२ अरब संकलन गरी एक्लो व्यक्तिको प्रयासले समाजमा कति परिवर्तन भएको छ भन्ने कुरा मैले आम जनमानसमा प्रष्ट्याई रहनु पर्ने विषय होइन । चाहे सुर्खेतको विश्व विद्यालय होस्, चाहे मनमोहन अस्पताल वा जनमैत्री अस्पताल यी सबैले यज्ञको स्मरण गरेकै छन् । झण्डै १८० वटा विद्यालय, ४० वटा अस्पताल, केही धर्मशाला, पुल-पुलेसा, सिँचाई, धाम, मन्दिर निर्माण लगायतका भौतिक उन्नयन तथा विकासको लागि आफू समर्पित रहेको सबैका सामू पानी झैँ छर्लङ्ग छ ।
भौतिकता मात्रै होइन मैले यो अभियान सामाजिक रुपान्तरणका लागि गरेको हो ।
१. छुवाछुत तथा पशुवली जस्ता सामाजिक विकृति विसंगतिको समूल अन्त्यको प्रयास तथा सो अनुरुपको क्रियाकलाप ।
२. वैदिक धर्मको वैज्ञानिक व्याख्या गर्दै युवालाई पनि आध्यात्मिकताको मूलधारमा समाहित गर्दै समाजलाई दीगो शान्तिकामी गर्ने कार्यको थालनी तथा त्यसको कार्यान्वयन ।
३. समाजमा देखिएका तथा लेपन लगाइएका जस्तैः जातीय, धार्मिक, वर्गीय, साम्प्रदायिक, भाषिक आदि सबै खालको विभेदीकरणको अन्त गर्दै मानव मिलन समाजको परिकल्पना तथा समग्र रुपमा मानवको एउटै धर्म र एउटै जात भन्ने मान्यताको समग्र प्रचार तथा विकास गर्दै जनचेतनाको प्रवाह ।
४. पूर्वीय दर्शनका उपादेयता प्रष्ट्याउँदै यसको गहनताको प्रचार तथा प्रवाह ।
५. नेपाली समाजको संभ्रान्त व्यक्तिको पहुँचमा रहेको निस्त्रिmय पूँजीलाई समाज विकासमा दानको माध्यमद्वारा समर्पित गरेर गरीब जनमानसले सेवा प्राप्त गर्ने क्षेत्रमा लगाउने कार्य तथा आर्थिक समानताको सिद्धान्तको विकास ।
यी तथा समाजमा परोक्ष वा अपरोक्ष विकासका निम्ति सदैव आफू समर्पित रहेको सबैले जानेको बुझेको विषय हो ।
यसरी राष्ट्र सेवामा अहोरात्र समर्पित भएर लाग्दा विभिन्न समयमा विभिन्न किसिमका हावा लाग्नुलाई मैले स्वभाविक रुपमा पनि लिएको छु । मलाई थाहा छ ‘ठूलो वृक्षलाई बढी हावा लाग्छ’ तथापि त्यही वृक्षले धेरैलाई शीतलता दिन्छ पनि । यति भनेर म आफैले आफूलाई महान व्यक्ति भन्न खोजेको होइन, म त एउटा सामान्य प्राणी हो तर यो अभियान आफैँमा महान छ, यसले राष्ट्रको वहुमुखी प्रगति तथा उन्नयनमा अत्यन्तै ठूलो भूमिका खेलेको छ । हामी सबैलाई थाहा छ, देशमा विकास निर्माण ठप्प छ, सामाजिक समृद्धिका हरेक पक्षहरु बन्द छन् तर यही एउटा अभियान छ, जसले समाजको विकासका निम्ति जस्तो सुकै अवस्थामा पनि अहोरात्र लागी रहेको छ ।
यसै शिलशिलामा केही समय अगाडि म र मेरो सामाजिक अभियानको विषयमा केही भ्रामक, कपोलकल्पित तथा चरित्र हत्या एवं तेजोबध गराउने कुत्सित मनसायले कुनै एउटा असामाजिक (व्यक्ति हो वा गिरोह) सोचबाट उद्धत भएर केही कुरा उठान तथा प्रवाह भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । कुनै तर्कहीन तथा वेतुकको विषय उठानले मलाई आश्चार्य चकित बनाएको छ । तर म विचलित छैन । यो सामाजिक अभियानको लोकप्रीयतालाई सहन गर्न नसकेर विक्षिप्त मनस्थितिको उपजले त्यस्ता भ्रामक विषयको प्रचार गरिएको म, मेरा शुभ-चिन्तक तथा सम्पूर्ण भक्तजनहरुको ठम्याइ छ ।
वाचन प्रवीण पं. दीनबन्धु पोखरेल

Tuesday, November 13, 2012

खै के भन्ने आमालाई - himalkhabar

यसपालि हिमाल ले 'नेपाली आमा' भन्ने विषय छान्यो रे दशैं अङ्कका लागि। सधैंझै मलाई पनि केही लेख्ने कि? भनेर सोधियो।
ललितादेवी
हिमालमा छाप्न रहर लाग्छ मलाई। त्यसैले म पाएको मौका गुमाउन चाहन्नँ। तर यस पटक समस्या पर्‍यो― नेपाल आमा होइन, नेपाली आमा रे! भनेपछि भौतिक आमा नै चाहियो, सशरीर। शंकर लामिछानेले जस्तो याब्स्ट्र्याक्टको वर्णन गरेर नहुने!
मेरो आफ्नै आमा बाहेक धेरै अरू आमाहरूसँग चिनजान थिएन। उहाँका बारेमा एउटा सानो पुस्तिका नै लेखिहालें २०४१ सालमा, ‘विद्यादेवी दीक्षितः एउटा कथा’ भन्ने। अब कुन नेपाली आमालाई उभ्याउँक म हिमाल मा? कविशिरोमणि लेखनाथलाई सम्झे। उनले गएको शताब्दीमै भनिदिएका रहेछन्―
जननी, गुरुमा, सासू, रानी, मित्रकी पत्निमा,
सम राखनु सम्मान भेद छैन यी पाँचमा।

कुरो बुझियो? कविशिरोमणि बूढाले सजिलो पारिदिएका रहेछन् हामीलाई। भनेपछि, यी पाँचै थरी महिला नेपाली आमा भए नि मेरा लागि पनि! जसका बारेमा लेखिदिए पनि भयो। अरूलाई त सजिलो हुन्थ्यो होला, मलाई भएन। कारण? मेरी आफ्नी जननी स्वर्ग गैहाल्नुभो। गुरुआमा पनि ऐजन ऐजन भन्नुपर्छ होला। त्यसबाहेक मेरै ‘बिर्सेको सम्झेको’ (२०४०) ले भन्छ मेरो जीवनमा गोडा चालीसेक गुरुआमाहरू भए होलान् (मेरा गुरुहरूका पत्नीहरू) कुन चाहिं गुरुआमालाई सम्झेर लेखूँ म? त्यसमा विदेशी (भारतीय) बीस जना जतिलाई छाडे पनि बाँकी बीस जना नेपाली गुरुआमाहरूमा को को अझ् जीवित छन् कसरी पत्तो लगाएर लेखूँ म तिनका बारेमा? समस्या पर्‍यो। गुरुआमा पनि नभएपछि कविशिरोमणिले दिएको अर्को ‘अप्सन’ थियो रानी। राणाकालमा लेखिएको त्यो कुरा ऐले गणतन्त्रमा के होस्! रानीको त अस्तित्व नै लोप भैसक्यो। त्यो विकल्प पनि खेर गयो। अब ‘डिफल्ट्’ मा ‘मित्रकी पत्नी’ मात्र बाँकी भए। अझै जीवित छन् मेरा केही नेपाली मित्र–पत्नीहरू, जीवनको उत्तरार्द्धमा रहेका हजुरआमाहरू। तर वरिष्ठ नागरिक भत्ता खाने तिनीहरूका विषयमा लेखूँ लेखै ‘रिजेक्ट’ हुने डर!
त्यसैले मैले अर्कै चाल चलें। शब्दमा खेल्ने। अचेल नेपालमा ‘आमा’ हरू छैनन्। कि ‘मम्मी’ छन् कि ‘माँ’ कि त ‘मुवाँ’ र ‘मम्’ हरू छन्। नेपाली मुवाँका बारेमा लेखूँ माओवादीले त्यसलाई ‘बुर्जुवा’ भनिदिने! त्यसभन्दा पनि ठूलो कुरा― कहाँ ‘नेपाली आमा’ कहाँ ‘नेपाली मुवाँ’ र ‘नेपाली मम्’? त्यो फ्लेबरै आउँदैन यो शीर्षकमा। ‘नेपाली मम्मी’, ‘नेपाली माँ’ समेत त्यसै गरी रिजेक्ट हुने भएपछि अब मैले केमा लेख्ने?
यस्तैमा मलाई यौटा आइडिया आयो। ऐले त यस्तो छ, आमालाई सम्बोधन गर्ने शब्दका बारेमा यति अन्योल छ भने पैले–पैले कस्तो थियो होला भनी खोजिपसे कसो होला भन्ने लाग्यो। किनभने एकल परिवारमा हुर्केका हालका पुस्तालाई साबिक अर्थात् पुरानो नेपाली समाजको सगोल परिवारका कुरा थाहा नहुन पनि सक्छ भनी त्यही विषय उठाउने अठोट गरें मैले।
पैले ‘सगोल परिवार’ भनेको के? त्यही बुझुँ। कोशले भन्छ― भातभान्छा नछुट्टिएको, अंशबण्डा नभएको एकै छानामुनि बस्ने परिवार। कति ठूलो हुन्थ्यो त्यो? पचास–साठी सम्म हुन्थे सदस्य बाहुनछेत्रीका केही परिवारमा। तर, सुनेको कुरा हो, उपत्यकाका नेवार परिवारमा कुनै कुनै घरमा त सय जनासम्म पनि पुग्थे रे एउटै भान्छामा भात खाने परिवारजन नै। रे र अरेको कुरा नगरेर आफूले जानेबुझेकै र भोगेको कुरा गर्छु। म ‘मणि फेट’ भनिने मणिहरूको ‘ठूलोघर’ नामक सगोल परिवारको सबभन्दा कान्छो भएर जन्मेको हुँ १९८६ सालमा। त्यसबेला नेपालमा चन्द्र शमशेरको राज्य। मणिहरूको ठूलो रोबरवाफ थियो। दबदबा नै थियो भनूँ। त्यस परिवारका मुख्य मान्छे, थकाली, थिए मेरा बराजु काशीनाथ आ.दी., माइलापण्डित। चन्द्रशमशेरका दाहिने हात। उनका सात जना छोरा थिए, त्यहीं सगोलमा बस्थे। छोरा, नाति र पनातिसम्म गर्दा परिवारै पचास नाघ्थे। त्यसमाथि नोकरचाकर, कमारा कमारी समेत थिए। उनको त्यो सगोल घरमा खाने मुखले सयको संख्या समेत छुन्थ्यो भने के अचम्म!
म जन्मेपछि महाराज चन्द्रशमशेर बिते। ‘ठूलोघर’ को फुर्तीफार्ती पनि विलुप्त भो। तर परिवार घटेन। दुई–चार वर्ष त्यत्तिकै रह्यो। त्यस्तो परिवारको कान्छो सदस्य म। मैलेसम्म ‘आमा’ भनिने एकै जना व्यक्ति हुनुहुन्थ्यो माइलापण्डित काशीनाथकी पत्नी ललितादेवी। त्यो ठूलो घरमा सबैका बाबु र आमा थिए उनै दुई जना, सम्मानित ‘बा’, ‘आमा’। जेठा छोरा राममणिको पनि, पनाति कमलमणिको पनि! भएपछि स्वभावतः प्रश्न उठ्छ त्यसो भए राममणिको छोराछोरीले आफ्ना बा–आमालाई के भनेर बोलाउँथे? स्वाभाविक थियो उनका भाइहरूले उनीहरूलाई जे भन्थे त्यही भन्न सिकिहाल्थे यिनले पनि। अर्थात् राममणिका पुत्र, मेरा पिताजी, केदारमणिले आफ्ना बालाई ‘ठूल्दाइ’ र आमालाई ‘ठूलीभाउजू’ भन्न थाल्नुभयो रे! अलिपछि केही जान्ने भएपछि उहाँले आफ्नो आमालाई ‘ठूली भाउजू’ नभनेर ‘भाउजूआमा’ भन्न थाल्नुभएछ।
शीनाथका जेठा छोरा मात्र होइन, सातै जना छोराका सन्तानले पनि त्यस्तै त्यस्तै गरे। छोराले मात्र होइन नातिनातिनाले पनि त्यही सिके। मेरो आमालाई मेरो दाजुले समेत ‘भाउजू’ भन्न थाल्नुभयो किनभने सातै जनाका सन्तानले उहाँलाई ‘भाउजू’ भनेर बोलाउँथे। अनि त मेरा दाजु दिदीहरूले जस्तै मैले पनि आमा भन्न जानिनँ। भाउजू नै भनिरहें आमालाई पचपन्न वर्ष, उहाँ स्वर्गे हुने बखत सम्मै!
यहाँनेर अलिकति व्यतिक्रम भएको पनि जिकिर गरिहालूँ। काशीनाथका सात जना छोरामध्ये साहिंला र ठूलोकान्छा छोराका सन्तान भने आमालाई भाउजू भन्दैनथे। आमा पनि होइन अर्कै–अर्कै सम्बोधन गर्थे। ठूलोकान्छा छोरा नरेन्द्रमणिका छोराछोरीहरू आमालाई ‘दिदी’ भन्थे। त्यसको कारण खोज्न गाह्रो छैन। शुरू शुरूमा कार्यकारणले उहाँ माइतीमा धेरै बस्नुभयो, त्यसै हुँदा माइतीमा उहाँका भाइबहिनीहरूले ‘दिदी’ भनेको सुनेर त्यही सिको गरी उहाँका छोराछोरी कुमारमणि, कल्याणमणिहरूले पनि आमालाई दिदी भन्न थाल्नुभएको हो। यो अर्थ्याउन सकिन्छ तर साहिंला छोरा लक्ष्मणमणिका सन्तान मदनमणि, महेशमणिहरूले आफ्नो आमालाई गर्ने गरेको सम्बोधनको व्युत्पत्ति पत्ता लगाउन या अर्थ्याउन मेरा काका मदनमणिले स्वयं पनि सक्नुभएन रे! उहाँले नै भनेको हो। उहाँका ६–७ जना भाइबैना सबै आफ्नो आमालाई ‘हैंञा’ भन्थे। मदनमणिजीले नसके पनि मैले अन्दाज गरिहेरें त्यो ‘हैंञा’ को व्युत्पत्ति। बिहार, रामनगरकी छोरी उहाँलाई माइतीमा त्यहाँको रिवाज अनुसार काम गर्नेहरू ‘मैञा’ भन्थे। केटाकेटी बेला बनारस पुगेकी मदनमणिजीकी ठूल्दिदी (देवकुसुम अर्याल) को कलिलो कानले ‘मैया’ लाई ‘हैया’ सुन्यो र उहाँले आफ्नो आमालाई ‘हंञा’ भन्न थाल्नुभयो। त्यही सम्बोधन उहाँका भाइ र बैनीहरूले गर्न थाल्नुभयो होला। मेरो अनुमान हो।
यस्तै व्यतिक्रम भयो मेरै बाजे (राममणि) ले दोस्रो विवाह गरेपछि जन्मेका मेरा काका र फुपूहरूको पनि। उहाँहरूले पनि ‘आमा’ भन्नुभएन, ‘सानू’ भन्न थाल्नुभयो! यसलाई मैले अलि अर्थ्याउनुपर्छ। आफूबा (राममणि) ले आफ्नी नयाँ दुलहीलाई ‘सानू’ भनेर बोलाउनुहुन्थ्यो। ‘सानू’ आमाले जन्माएकाहरूले पनि त्यही भन्न थाले आफ्नो आमालाई। कसैले उहाँहरूलाई हप्काएन। त्यसो नभन भनेन, बरु रमाइलो नै मानियो केटाकेटीहरूको मुखबाट ‘सानू’ शब्द निस्कँदा। यो परम्परा चलिरह्यो नब्बेसालमा भैंचालो जाउञ्जेल। अनि काका फुपूहरूले आमा भन्नुभयो, आमाले नै सिकाएर होला! तैपनि मेरा माहिला काका (केशरमणि) ले भने पछिसम्म पनि आमालाई सानू नै भनिरहनुभएको थियो! म सम्झ्न्छु।
अन्त्यमा, ‘हिमाल’ लाई पनि छोएर एउटा व्यंग्य गरुँ र यो लेख टुंग्याऊँ। आमालाई ‘आमा’ नभन्ने रोग हिमाल का प्रकाशकहरूलाई पनि लागेको छ। कुन्द र कनक दीक्षितले आफ्नो जीवनको पहिला तीन–चार वर्षसम्म आफ्ना बाजेबजैको सिको गरेर आफ्नी आमालाई नामै काढेर ‘अञ्जु’ भनी बोलाउँथे। पछि अलि बुद्धि पलाएपछि होला, उनीहरूले आफ्नो बाबुको सिको गरेर ‘देवीजी’ भन्न थाले। र, ऐलेसम्म त्यसै भन्दैछन्!
अब के भन्ने नेपाली आमालाई?
हिमाल खबरपत्रिका (१–३० कार्तिक)बाट

Monday, November 12, 2012

सिस्नुपानीको देउसीमै झटारै झटारो - onlinekhabar



राजनीतिक तथा सामाजिक क्षेत्रमा तीखो व्यंग्य प्रहार गर्दै आएको सिस्नुपानी नेपालले हरेक तिहारमा व्यंग्यात्मक देउसीभैलो गर्दै आएको छ । यसवर्ष पनि वर्षभरीका राजनीतिक घटना क्रमलाई झटारो हान्दै सिस्नुपानीका कलाकार देउसी फलाक्न व्यस्त छन् । तर उनीहरु अरु जस्तो घरघरमा डुल्दैनन् । बिभिन्न सञ्चारमाध्यम मार्फत आफ्ना प्रस्तुति प्रस्तुत गर्छन् ।
सोमबारदेखि नै शुरु भएको सिस्नुपानीको देउसीले सहमति, सरकार, पूर्वसभासद, दलका नेतादेखि अरु सामाजिक घटनाक्रमलाई पनि व्यंग्य गरेको छ ।
जहिले पनि सहमति गर्छौं भन्ने तर नगर्ने नेताहरुको प्रवृत्तिले सहमति शब्द नै मजाक बिषय बनेको छ । त्यही कुरालाई सिस्नुपानीको देउसीमा यसरी उल्लेख गरिएको छः

सागभन्दा सस्तो – सहमति
सुगाले जस्तो – सहमति
भन भन गोपि – सहमति
भन भन कृष्ण – सहमति ।

भन भन भाइ हो- सहमति
मन भन बैनी हो- सहमति
दक्षिणमा एउटा – सहमति
उत्तरमा अर्कै – सहमति
पहाड मधेशमा – सहमति
अनेक प्रदेशमा – सहमति
चोर डाकासँग -सहमति
डन गुण्डासँग – सहमति
काले र कालेको- सहमति
सिध्याउने भाले – सहमति
चिकेनमा चिसो – सहमति
मटनमा मिठो – सहमति
तिघ्रामा तीन बुँदे – सहमति
छोइलामा छ बुँदे – सहमति
साँप्रामा सातबुँदे – सहमति
आन्द्रामा आठ बुँदे – सहमति
भन भन गोपि – सहमति
भन भन कृष्ण – सहमति ।

यस्तै प्रधानमन्त्रीले हरेक महिना गाउँ घुम्ने गरेको प्रसँगलाई पनि सिस्नुपानीको देउसीमा व्यंग्य गरिएको छ ।
हामी त यसै आएनौं बाबुरामले खटाका
अर्को महिना बास बस्ने घर खोज्न पठाका ।
अघि अघि बुल्डोजर पछि पछि बाबुराम
बाबुरामले आँसु झार्दा डोजर जिल्लाराम ।
सुकुम्वासी घर भत्काई पुर्‍याएर घाटमा
गरिबीको प्रमाण पत्र दिन्छन् हातमा ।

 संविधान बनाउन असफल पूर्व सभासदहरुलाई त खेदो नै खनिएको छ ।
बानेश्वरको बाटो हिँड्न मान्छे अचेल डराउँछन्
राति राति सभासद्का भूत कराउँछन् ।
सुत्थे, घुर्थे, बस्थे, उठ्थे, घुम्थे फर्की आउँथे
केको लेख्थे सम्विधान लुतो कनाउँथे ।

सम्विधान नामको – पोकैमा
कुनै बेला बानेश्वर – चोकैमा
सम्मेलन केन्द्रको -ढोकैमा
सभासद् पाइन्थे -थोकैमा
बेलाबेलै सभासद् – हराउँथे
मसाजसेन्टर पुगेर – कराउँथे
डिस्कोमा नाचेर – रमाउँथे
बारुले कम्मर – समाउँथे
तस्करले तिनलाई – चराउँथे
नोटले उठबस् – गराउँथे
लुटेका गाडी -गुडाउँथे
अर्काकी श्रीमती – उडाउँथे
अहिले ता भवन – रित्तो छ
सभासद् छैनन् – भित्तो छ
भनभन साथी हो – के भन्ने ?
तलवभत्ता फिर्ता – ले भन्ने ।

 दल र नेताहरुलाई पनि उसैगरी व्यंग्य गरिएको छ ।
ठिटाठिटी लिई वैद्य जङ्गलतिर जाने रे
वादल चाहिँ यतै प्रधानमन्त्री खाने रे !
जङ्गल हो कि सिंहदरबार कतातिर जाने हो
जता गए नि यिनको नियत टन्न खाने हो ।
मुखले एक मधेश, नेतैपिच्छे प्रदेश
आफैं धामी आफैं झाँक्री कठै मधेश ।
एमालेले पहिले जसलाई नेता मन्त्री बनायो
के सुँघेर आज तिनलाई पार्टी गनायो ।
प्याज बोकी नारानकाजी वैठक बस्न गएछन्
विधानसभा मर्‍यो भन्दै क्वाँक्वाँ रोएछन् ।
प्रचण्डको सत्तामा रोजगारी खूब पाइन्छ
जुँगै कोर्न पनि कर्मचारी चाहिन्छ ।
घुमाई फिराई देशको सत्ता प्रचण्डको फन्दामा
कठैबरा राष्ट्रपति बिलखबन्दमा ।
जेठी भन्छे घाम देऊ कान्छी भन्छे पानी
एक्ला बूढा राष्ट्रपति कतातिर जानी ।

धार्मिक भ्रमण भन्दै देशका ठाउँठाउँमा कुद्ने पूर्व राजा ज्ञानेन्द्रलाई पनि सिस्नुपानीका कलाकारले देउसी गीत मार्फत व्यंग्य गरेका छन् ।
घुम घुम माल्दाजु मठ मन्दिर घुमिरऊ
ढोके छाते चम्चे ओरि परि झुमिरऊ ।
नआए नि राजतन्त्र आउँछ आउँछ भनिदेऊ
नेताहरूलाई निको पार्ने झाँक्री बनिदेऊ ।
तिम्ले माग्ने टेण्डर् अचेल प्रचण्डले माग्दैछन्
प्रधानमन्त्री खान आओ भनी डाक्दैछन् ।
खान्छौ कि त प्रधानमन्त्री हाल्छौ कि त टेण्डर
राम्रै था छ तिम्रो हिष्ट्री तिम्रो जेण्डर ।

सिस्नुपानीको देउसीमा सामाजिक विषयवस्तुलाई पनि जोडिएको छ ।
दुई दिन मात्रै किन सरकार पूरै हप्ता बिदा देऊ
बन्द गर प्राधिकरण हाम्लाई टुकी देऊ ।
हाम्रो देशका थोत्रा पिलेन चराले नै खसाउँछन्
पाइलटलाई दोष देखाई बिमा पचाउँछन् ।
बूढो प्रश्न बनाउने, बूढीलाई उत्तर लेखाउने
लोकसेवा आयोगलाई धोती देखाउने ।

सिस्नुपानीको देउसीमा आशीष दिने तरीका पनि बेग्लै छ ।
ए दिँदैछौं आषिश – गनेर
महंगी घटोस् – भनेर
शेयरको मूल्य – बढ्दो होस्
लोडशेडिङ सधैं – घट्दो होस्
थोत्रा पिलेन – नउडून्
भीरमा गाडी – नगुडून्
पानीमा पहेलो – तर नहोस्
सडकका छेउमा – घर नहोस्
रुपियाँ छुँदा – डलर होस्
आमाभन्दा छोरी – जान्ने होस्
भ्रष्टलाई थाममा – बान्ने होस्
छोराले सगरमाथा – नचढोस्
चढे पनि त्याँबाट – नलढोस्
प्रधानमन्त्री पाहुना – नआउन्
आए पनि कुखुरा – नखाउन्
नेताका मनमा – भय होस्
नेपाली जनताको – जय होस् ।।
सिस्नुपानी नेपालका कलाकारहरुले तयार पारेको यो भिन्नै शैलीको देउसी बिभिन्न रेडियो र टेलिभिजनले प्रसारण गर्न थालिसकेका छन् ।

मधुमेह र आनीबानी - ekantipur

डा. अंशुमाली जोशी

यदि तपाईंलाई मधुमेह छ भने जीवनयापनको शैली परिवर्तन गर्न आवश्यक हुन्छ । सधैं स्वस्थ खानाका साथै नियमित व्यायाम गर्नु जरुरी हुन्छ । रोग नियन्त्रणका लागि औषधी पनि खानुपर्ने हुनसक्छ र कसैलाई इन्सुलिनको इन्जेक्सन लगाउनुपर्ने हुनसक्छ । साथै नियमित रगतमा सुगरको मात्रा जाँच्नुपर्छ ।
खानपिन: मधुमेहका बिरामीका लागि कुनै विशेष खानाको जरुरत पर्दैन । हामीले हरेक दिन खाने खानाबाट नै स्वस्थ खानाको व्यवस्था गर्न सक्छौं । तर निम्न कुरामा ध्यान दिनु जरुरी हुन्छ:
१.    चिल्लो र नुन कम भएको खानेकुरा खानुपर्छ ।
२.    रेसायुक्त खानेकुरा जस्तै: सागसब्जी, फलफूल, गेडागुडी खानुपर्छ ।
३.    दूध तथा दूधबाट बनेका खानेकुरा, बोसोरहित मासु तथा माछा, अन्डाको सेतो भाग मधुमेहका बिरामीका लागि राम्रा खानेकुरा हुन् ।
४.    यदि तपाईंको तौल बढी छ भने तपाईंले खाने दैनिक क्यालोरीमा कमी गर्नुपर्छ ।
डाक्टरले तपाईंलाई पोषण विशेषज्ञकहाँ रिफर गर्न सक्छन्, जसले स्वस्थ र सही खानेकुरा तपाईंको स्वादअनुसार छनौट गर्न मद्दत गर्छन् । नेपालीहरूको खानामा कार्बोहाइडे्रट बढी हुन्छ, जस्तै: भात । मधुमेहका बिरामीहरूले ५०-६० प्रतिशतभन्दा बढी कार्बोहाइडे्रट खानु हुँदैन । भात खान नहुने होइन, तर मात्रा मिलाएर खानुपर्छ । नेपालीहरू धेरै माछा, मासु र अन्डा खाने हुनाले शरीरमा प्रोटिनको मात्रा पुग्छ । तर माछा-मासु नखानेहरुले गेडागुडी, दाल, पनिर आदिबाट प्रोटिनको मात्रा पुर्‍याउनुपर्छ । अब आयो चिल्लोको कुरा । घ्यु पूरै बन्द गर्नुपर्छ । तेलमा सनफ्लावर, तोरी वा ओलिभ तेल प्रयोग
गर्नुपर्छ । तेललाई घरिघरि तताउनु हानिकारक हुन्छ । तेल र बोसो बढी भएको खानेकुरा खानु हुँदैन । अन्डाको पहेँलो भाग खानु हुँदैन, त्यसमा कोलेस्टोरल बढी हुन्छ । अनुसन्धानहरूमा नेपालीहरूको रगतमा एक किसिमको बोसो अर्थात् 'ट्राइग्लिसराइड' बढी देखिएको छ । यदि ट्राइग्लिसराइड ५०० एमजी/डीएलभन्दा बढेको छैन भने यसलाई औषधीभन्दा पनि जीवनशैली परिवर्तन गरेर घटाउनुपर्छ । दिनमा एउटा फल खाने, सागसब्जी बढी खाने र सलाद खानुपर्छ । तौल धेरै छ भने व्यायाम र खानपिनबाट कम गर्नुपर्छ । धेरै नेपालीले खानपिनमा त्यति ध्यान दिंदैनन् । कोही-कोहीचाहिं खाना नै नखाइकन सुगर कन्ट्रोल गर्न खोज्छन्, जुन झन् हानिकारक हुन्छ ।
मदिरापान: यदि तपाईंको सुगर नियन्त्रणमा छ भने तपाईं केही मात्रामा मदिरापान गर्न सक्नुहुन्छ । बियर र वाइन सकेसम्म सेवन नगर्नुस् । हार्ड डि्रंक एक या बढीमा दुई पेगसम्म लिन सक्नुहुन्छ । खाजा खाँदा सलाद या चिल्लोरहित माछा-मासु लिन सक्नुहुन्छ । तर एउटा कुरा सधैं के याद राख्नुपर्छ भने भोको पेटमा मदिरापान गर्नु हुँदैन । यसो गरेमा शरीरमा सुगर कम भएर बिरामी बेहोश हुनसक्छ ।
धूमपान: धूमपानले तपाईंलाई मुटुको रोग र प्यारालाइसिस हुने सम्भावना अत्यधिक मात्रामा बढाउँछ । त्यसैले यदि तपाईं धूमपान गर्नुहुन्छ भने आजैदेखि धूमपान बन्द गर्नुस् ।
व्यायाम: मधुमेहका बिरामीले नियमित व्यायाम गर्नुपर्छ । यसका निम्न फाइदा हुन्छन्: १. रगतमा सुगरको मात्रा ठीक राख्न मद्दत गर्छ ।
२. तौल घटाउँछ ।
३. मुटु, नसा र फोक्सो स्वस्थ राख्छ ।
४. जाँगर बढाउँछ ।
औषधी: समाजमा सुगरका बिरामीहरूमाझ एउटा अनौठो धारणा छ । सकेसम्म किन औषधी खाने, चाहे सुगर जतिसुकै किन नहोस् । औषधी सुरु भैसकेको अवस्थामा नियमित औषधी सेवन गर्नुपर्छ । इन्सुलिन लगाइराखेको हुनुहुन्छ भने एक डोज इन्सुलिन पनि छुटाउनु हुँदैन । औषधी अथवा इन्सुलिनको डोज डाक्टरका सल्लाहबिना आफैं तलमाथि गर्नु हुँदैन । नियमित रूपमा रगतमा सुगरको मात्रा जाँच गराउनुपर्छ ।
मधुमेहसँग सम्बन्धित रोग: मधुमेहका धेरै बिरामीमा उच्च रक्तचाप पनि हुन्छ । त्यसैले नियमित रूपमा रक्तचापको जाँच गराउनुपर्छ । त्यस्तै मधुमेहका कारण आँखा, मिर्गौला, मुटु र नसामा असर पर्न सक्छ । वर्षमा एकचोटी आँखाको जाँच, मिर्गौलाको जाँच र कोलेस्टोरलको जाँच गराउनुपर्छ ।
सुगर कन्ट्रोल: खाली पेटको सुगर एफबीएस १३० एमजी/डीएलभन्दा कम भएमा र खाना खाएको दुई घन्टापछिको सुगर पीपीबीएस १८० एमजी/डीएलभन्दा कम भएमा सुगर कन्ट्रोल भएको मानिन्छ । त्यस्तै  एचबीएवानसी नामको एक किसिमको रगतको जाँच गर्दा ७ प्रतिशत वा त्योभन्दा कम भएमा राम्रो मानिन्छ । यदि यसो गर्न सकिएन भने बिस्तारै आँखाको पर्दा/रेटिनामा असर गर्न सुरु हुन्छ । त्यसबारे बिरामीलाई थाहै हुँदैन र एकैचोटी अन्धो भएपछि मात्र उसलाई थाहा हुन्छ । त्यस्तै शरीरका धमनीहरूमा बोसो जम्मा हुँदै जान्छ र एकदिन अचानक हृदयाघात वा प्यारालाइसिस वा किड्नी फेल भएपछि मात्र बिरामीले पत्तो पाउँछ । यो सबै हुन नदिन सुगरलाई राम्रो कन्ट्रोलमा राख्नुपर्छ । त्यसकारण सुगरका बिरामीले खानपिन र व्यायामबाट एफबीएस र पीपीबीएस कन्ट्रोलमा राख्न नसके औषधी सेवन जरुरी छ । सुगरको औषधीको साइड इफेक्ट धेरै हुन्छ भनेर औषधी नखाँदा झन् धेरै खतरा हुन्छ ।
हरेक मान्छेले ३५ वर्षपछि नियमित रूपमा सुगर जाँच गराउनुपर्छ । यदि सुगर देखियो भने सम्बन्धित डाक्टर (इन्डोक्राइनोलोजिष्ट) लाई देखाउनुपर्छ । खानपिन ठीक राख्ने, नियमित व्यायाम गर्ने र औषधी सेवन गर्नाले सुगर कन्ट्रोलमा रहन्छ, मधुमेहका कारण हुने अरु रोगबाट बच्न सकिन्छ र मधुमेहसँगको जीवन सुखमय रहन्छ । नर्भिक इन्टरन्यासनल हस्पिटलमा कार्यरत डा. जोशीले इन्डोक्राइनोलोजीमा डीएम डिग्री प्राप्त गरेका छन्

Sunday, November 11, 2012

आफ्नै भक्तले डुबाएका देवकोटा - nagariknews

डीपी भण्डारी -कुनै पनि मुलुक र त्यहाँका सार्वजनिक क्षेत्रका व्यक्तिको मूल्यांकन गर्नुपर्दा त्यस समाजको बौद्धिक स्तर पनि हेर्नुपर्छ। यस अवस्थामा हामी हाम्रा महाकवि देवकोटा पनि परेको मान्न सक्छौँ। अर्थात् देवकोटाको मूल्यांकन गर्न उनलाई समग्रमा हेर्न खोज्नेहरूले उनका भक्त र प्रशंसक हुँ भन्नेहरूको भनाइलाई पनि हेर्नुपर्ने हुन्छ। हालसम्म देवकोटाका विषयमा जति पनि कुरा आए तीमध्ये केही सही, वास्तविक र वस्तुनिष्ठ भए पनि कतिपयचाहिँ काल्पनिक र अव्यावहारिक नै छन्।
देवकोटालाई भए, नभएका नानाथरी विशेषण दिएर उनलाई डुबाउनेहरू उनकै भक्तजन हुन्, अरू कोही होइनन्। त्यस्ता भक्तहरूले उनलाई टैगोर, शेली, किट्स वा इलियटसँग तुलना गरेर उनको अवमूल्यन गरेका छन्। उनीहरूमध्येकै कतिपयले उनका बारे मञ्चमा बोलेर र कतिले अनेकथरी पढाएर कक्षा कोठाबाटै नयाँ पुस्तालाई गलत सन्देश दिएका छन्। त्यस्तो जमातले उनी संसारकै सबैभन्दा ठूला कवि हुन् भन्ने गरेको पनि सुनिन्छ। त्यस्तो मूल्यांकन कहिल्यै पनि सही हुँदैन। त्यसैले देवकोटालाई वास्तविकरूपमा चिन्न चाहनेहरूले उनीबारे वस्तुनिष्ठ मूल्यांकन गर्नुपर्छ। कुनै पनि व्यक्ति वा वस्तुको वास्तविक मूल्यांकन गर्न पूर्वाग्रह वा अतिशयोक्तिबाट मुक्त हुनैपर्छ। आग्रह मनमा राखेर सही मूल्यांकन हुन सक्दैन। आफ्नो सम्बन्ध वा नकारात्मक केही कुरा भए त्यसलाई पनि परै राखेर वस्तुनिष्ठ बन्न सक्नुपर्छ। नेपाली साहित्यमा सायद देवकोटामात्र त्यस्ता व्यक्तित्व हुन् जसलाई अनेक थरीले अनेक किसिमले मूल्यांकन वा टिप्पणी गर्छन्। संभवतः धेरै किसिमले र धेरै मात्रामा टिप्पणी गरिएका नेपाली सर्जक पनि उनै हुन्। जताततै बच्चा-बच्चाले हाम्रा महाकवि देवकोटा महान् हुन् भन्ने गरेको सुनिन्छ। सायद पद र कथित सम्मानका पछि नलाग्ने भएकै कारणले होला, उनी महाकवि भएकै कारण पनि यति चर्चामा ल्याइएका। किनभने हाम्रो सामाजिक संस्कार पनि यस्तै छ। हाम्रो मुलुक नेपाल साहित्य नबुझ्ने बज्रस्वाँठ प्राध्यापक र अन्टसन्ट लेख्नेलाई पनि महान् भन्ने समालोचकको बाहुल्य भएको देश हो। उनीहरूजस्तै पत्रु कविहरू आफ्नै कवितालाई महान् भन्दै आफूलाई आफैँ देवकोटासँग तुलना गराउन लागेका हुन्छन्। यस्ताको भिडमा देवकोटाबारे गरिएका, नबुझिएका मूल्यांकन वा अति प्रशंसालाई चिर्दै सही मूल्यांकन गर्नु आजको चेतनशील पुस्ताको दायित्व हो। हामीले देवकोटालाई चिन्न उनको स्वच्छन्दता, उदात्तता, विशालता, दार्शनिक चिन्तन र अन्य सबै पक्ष राम्ररी बुझ्नुपर्छ। उनको असली रूप नचिन्ने हो भने हामीले पनि उही पुरानै शैलीमा उनलाई महान् थिए, गरिब थिए र पागल थिए भन्दै हिँड्नुपर्ने हुन्छ। यो भ्रम नयाँ पुस्तामा सर्दै गए अझ तिनीहरूले पनि यही रटान गरिरहनेछन्। देवकोटाका कविता वा अन्य रचना सरल र जटिल दुवै किसिमका छन्। ती सबै रचनाको उचित मूल्यांकन हुनुपर्छ। सबै रचनाको आयाम बुझेर मात्रै टिप्पणी गरे उनीमाथि अहिलेसम्म भइरहेको अन्याय सच्चिन सक्छ। नत्र उही बज्रस्वाँठहरूले भन्ने गरेको 'देवकोटा संसारका सबैभन्दा ठूला र महान् कवि हुन्' भन्ने कुरामात्रै दोहोरिन्छ।
देवकोटालाई उनको एउटै कविता 'पागल' ले निकै उचाइमा पुर्यारयो। समाजले उनलाई यही कविताकै कारण पागल पनि भन्न थाल्यो। मैले उनलाई २०१६ सालतिर डिल्लीबजारको लप्टनको होटलमा चिया खान पस्दै गरेको देख्दा मलाई चिनाउने मान्छेले परबाट 'ऊ पागल कवि देवकोटा आयो' भन्दै चिनाएको थियो। त्यो बेला सोझै गएर बोल्न मलाई धक लाग्यो, पछि चाहिँ उनीसँग भेट्ने मौकै मिलेन। उडाउनेहरू, नबुझ्नेहरू र माया गर्नेहरू सबैले उनलाई पागल कविता लेखेपछि पागल कवि भन्ने गरेका रहेछन्। उनको छवि नै पागल कविको बनेको थियो।
म देवकोटाको 'मुना-मदन' खण्डकाव्य पनि निकै मन पराउँछु। अझ नारायणगोपालको स्वरमा यस कृतिका गीत सुन्दा त म लठ्ठै पर्छु। यस कृतिले भित्रैदेखि छुन्छ अरु नेपालीलाई जस्तै मलाई पनि। मलाई मन पर्ने देवकोटाको शाकुन्तल महाकाव्य पनि हो। त्यस महाकाव्यको आफ्नै उचाइ र मौलिकता छ। सबै नेपाली पाठक र लेखकका लागि त्यो गर्व गर्नलायक कृति हो भन्ने मलाई लाग्छ। सिंगो नेपाली साहित्यले गर्व गर्न लायक कृति हो त्यो। मेरो आफ्नै ज्ञान सीमित भएका कारण पनि मलाई यस्तो लागेको हुनसक्छ। त्यसमा माफी माग्दै म आफ्ना विचार भने यहाँ राख्न चाहन्छु। मैले पटकपटक पढे पनि त्यो किताब मलाई जहिले पनि मन पर्छ र यसबारे अझै बुझ्न बाँकी छ भन्ने लाग्छ। कतिपय समालोचकले कालिदासको शकुन्तला पढेर त्यसको प्रभावको महाकाव्य भने पनि शकुन्तलाको आफ्नै विशिष्टता छ, शाकुन्तलको आफ्नै। शकुन्तलाबारे त जर्मन कवि गेटेले समेत आफ्ना साथीसँग कुरा गर्दा ऐश्वर्य नै चाहन्छौ भने शकुन्तला पढ भनेका थिए। यसले नै शकुन्तलाको उचाइ र गौरव थाहा हुन्छ। शाकुन्तलचाहिँ नेपालकै सबैभन्दा स्तरीय महाकाव्य हो भन्ने मेरो ठम्याइ हो। यस कृतिको स्तरमा अन्य नेपाली महाकाव्य छैनन् भन्ने मेरो अल्पज्ञानको ठम्याइ हो।
हुन त विश्वमा सबैभन्दा बढी लेखिने, कम पढिने र सही अर्थमा लेख्न गाह्रो कुरा पनि काव्य नै हो। मलाई त यसबारे बोल्न पनि गाह्रो लाग्छ। जसको पायो त्यसको कविताले मलाई छुँदैन पनि। तर, नेपालमा जो पनि कवि छ र कविताबारे जसले पनि बोल्छ। म चाहिँ देवकोटालाई जति पढ्छु त्यति नै उनीबाट प्रभावित हुन्छु। असल कविमा अन्तर्द्वन्द्व, संघर्ष र चेतना हुनुपर्छ। म देवकोटाका रचनामा यिनै कुरा पाउँछु। यीसबै कुराले नै उनलाई उदात्त भावनाको कवि बनाएको हो। उनी विदेशी कवि फलानोजस्तो त म भन्दिनँ, बरु उनी नेपाली साहित्यका उच्च कोटीका महान् कवि हुन् भनेर चाहिँ भन्नै पर्ने हुन्छ। उनी थिएनन् भने कोही कोही फुटकर राम्रो लेख्ने साहित्यकार हुन्थे होला तर समग्रमा त्यस उचाइमा लेख्ने कोही हुँदैनथ्यो। उनी नभएका भए नेपाली साहित्यमा एउटा ठूलो 'भ्याकुम' हुन्थ्यो र नेपाली साहित्य भण्डार रित्तोजस्तै हुन्थ्यो।
देवकोटा आफैँमा मस्त कवि थिए। कविहरू प्राय सबै मस्त हुन्छन् नै। भारतीय कवि निराला, पश्चिमा कवि शेली र किट्स पनि मस्त नै थिए। चित्रकारिता, साहित्य र संगीत क्षेत्रमा लागेकाहरू प्राय मस्त नै हुन्छन्। मस्त हुनु नियोजित नभएर स्वस्फूर्तता थियो उनको व्यवहारमा। उनका हरेक व्यवहार, लेखाइ र सोचमा प्रतिभाको झझल्को देखिन्थ्यो। उनलाई आज पनि गरिब र पागल थिए भनेर पुकारिन्छ। तर, उनी गरिब थिएनन्, बरु मस्त मान्छे थिए। उनलाई बाहिरी संसारका लिनुदिनुसँग खासै वास्ता थिएन। त्यस्ता मान्छेले घुस खाँदैनन् र भएको पैसा पनि जोगाउन चाहँदैनन्। उनी बेपर्वाह पनि थिए। आकाशको तारासँग संवाद गर्ने र सामान्य लोकभन्दा माथिको चिन्तन राख्ने कवि समाजभन्दा फरक त हुन्छ नै। त्यही फरकपनाको आलोकमा, आफ्नै चिन्तनको प्रकाशमा उनी लठ्ठिए। उनी त्यस्तै मस्ती र बेपर्वाह भएका कारण उनलाई गरिब, पागल र त्यस्तै केके भनिएको होला। गरिब भनिदिँदा उनलाई महान् भनेजस्तो हुन्छ भनेर पनि धेरैले उनलाई 'गरिब' को बिल्ला भिराइरहेका होलान्। उनी गरिब होइन, अव्यवस्थित कवि थिए। हरेक जयन्तीमा उनी गरिब थिए, त्यसकारण महान् हुन् भन्ने भट्टयाउने गरिन्छ। यो अर्को दरिद्र र मागिखाने चिन्तन हो।
देवकोटाबारे अर्को नभनी नहुने कुरा र सन्दर्भ चाहिँ के हो भने उनको पारिवारिक अवस्था राम्रो थिएन। तर, त्यो गरिब भएर मात्र होइन जस्तो मलाई लाग्छ। उनको पारिवारिक स्थिति उनकै मस्तीपन र श्रीमतीको भक्तिमार्गको चेपमा परेको थियो भन्ने मलाई लाग्छ। उनकी श्रीमती पहिलादेखि नै धार्मिक काममा मात्र लिप्त थिइन्। देवकोटाचाहिँ जहिले पनि कविताकै चिन्तनमा लाग्थे। यसले गर्दा घर लथालिंग भएको थियो। बाहिरबाट हेर्नेहरूले त्यसलाई गरिबीका कारण भएको भने। गरिब थिए नै भने पनि गरिब हुनु न त गौरवको विषय नै हो, न त लाजमर्दो वा सहानुभूति राख्नुपर्ने विषय नै। उनको स्थिति, मनस्थिति र यथार्थ राम्ररी बुझिएन र उनी गरिब भएकैले महान् थिए भनियो। जीवनको अन्तिम समयसम्म उनी धर्मका नाममा मूर्तिपूजा नगर्ने चिन्तनका व्यक्ति थिए। नास्तिक नभए पनि अस्तित्वमा मात्र विश्वास गर्ने किसिमका थिए उनी। अहिलेको मान्छेको आदर्श उपयोगितावाद र त्यसभन्दा परको आनन्द र मस्तीमा मात्र उनी भेटिन्थे। यस अवस्थामा जीवनको अन्तिम समयमा उनले आखिर श्रीकृष्ण रहेछ एक भनेछन्। यो धर्मकर्म मात्र गरिरहने श्रीमतीलाई खुसी पार्न मात्र आएको पनि हुनसक्छ। अथवा उनले आफ्नै चिन्तनले ईश्वरको अस्तित्व स्वीकार गरेको पनि हुनसक्छ। जे भए पनि यसलाई कम्युनिष्ट हुँ भन्नेहरूले आलोचना गरे। यो आलोचना पनि ठीक होइन।
उनी नेपाली साहित्यका उच्च कोटीका कवि हुन्। उनी नहुँदा हुन् त नेपाली साहित्यमा एउटा ठूलो अभाव वा रित्तोपन हुन्थ्यो भन्ने मलाई लाग्छ। (पदम गौतमसँग वार्तामा आधारित)