Thursday, September 29, 2011

ट्रमा सेन्टरको ट्राजिडी - mysansar

-डा. बद्री चापागाइँ-
भारतले ८१ करोडको लागतमा बनाइदिएको २०० शैय्याको सुविधासम्पन्न इमर्जेन्सी एण्ड ट्रमा सेन्टर (आकस्मिक एवं दुर्घटना सेवा केन्द्र) किन सञ्चालन हुन सकिरहेको छैन ?





मन्त्रीका भ्रमणदेखि कर्मचारीका आन्दोलन, अस्पतालको अस्तव्यस्ततादेखि क्यान्टिनका दुरावस्थाबारे समाचार पत्रिकामा पढ्दापढ्दा मानिसलाई एलर्जी हुन थालिसक्यो जस्तो लाग्छ, वीर अस्पतालका बारेमा। तर यहाँ आज उठान गर्न खोजिएको विषय हो, वीर अस्पतालसँगै रहेको, हेर्दा भव्य लाग्ने तर सुनसान आलिसान भवनको। हो, यो त्यही “ट्रमा सेन्टर” हो, जुन सञ्चालनमा आउन नसकेको बारेमा समाचार लेख्दा लेख्दा पत्रकार साथीहरु पनि थाकिसके। जुनसुकै व्यक्ति मन्त्री हुने बित्तिकै छापामार शैलीमा अस्पतालको निरीक्षणमा जाँदा होस् वा भारतबाट उच्चपदस्थ अधिकारी आउँदा होस् वा अस्पतालमा भइरहने विभिन्न गुट तथा संगठनका आन्दोलनमा; यसको संचालन एउटा अनिवार्य एजेन्डा जस्तै भइसक्यो। तर निर्माण पुरा भएको वर्षौँ बितिसक्दा पनि सञ्चालन हुने छाँटकाँट नदेखिनु र स्वास्थ्य मन्त्रालय वा भारतीय पक्षबाट संचालनमा ल्याउन जतिसुकै दवाव दिँदा पनि काम सुरु गर्नेतर्फ सिन्को पनि नभाँचिनुले यसको हलो कसरी अड्केको रहेछ भनेर अनुमान लगाउन गाह्रो छैन। आउनुस्, यो किन सञ्चालनमा आउन सकिरहेको छैन, म मेरो चक्षुले देखेका र बुझेसम्मका कुराहरु यहाँहरुलाई अवगत गराउँछु। तर, यो मेरो मात्र बुझाई हो र विचारहरु नितान्त व्यक्तिगत !  

के हो ट्रमा सेन्टर?
ट्रमा सेन्टर चोटपटकबाट मृत्युको मुखमा पुगेका घाइतेहरूलाई जीवन दिने ठाउँ हो। चिकित्सकहरूका अनुसार, रोग र चोटपटक फरक कुरा भएकाले यसका उपचार विधि, उपकरण र विशेषज्ञ पनि फरक हुन्छन्। हृदयाघात भएर अस्पताल पुर्‍याएका बिरामीलाई समय लिएर उपचार गरी बचाउन सकिएला, तैपनि पूर्ण रूपमा स्वस्थ नहुन सक्छन्। कतिले जीवनभर अरूमा आश्रित हुनुपर्छ। तर, ट्रमा सेन्टरमा सबै सुविधा र चुस्त व्यवस्थापन भएमा चोटपटकका बिरामीहरू पहिलाकै अवस्थामा फर्किन र काम गर्न सक्छन्।
अमेरिकाको उत्तरी शहर क्युवेकस्थित अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा चोटपटकका धेरै बिरामीको मृत्यु भएको पाइयो। त्यतिबेलासम्म अस्पतालको आकस्मिक कक्षमा सबै किसिमका बिरामीहरू राख्ने चलन थियो। सो अस्पतालमा सन् १९८० मा गरिएको एक अध्ययनले दुर्घटनामा परेका मानिसहरूलाई सबै किसिमका बिरामीको उपचार हुने अस्पतालमा लगेर उपचार गराउँदा ५० प्रतिशत मानिसको मृत्यु हुने गरेकोमा ट्रमा सेन्टरमा राखेर उपचार गराउन थालेपछि ५.७ प्रतिशतमा झ्रेको देखाएको थियो। चोटपटकका बिरामीहरूलाई छुट्टै राखेर विशेषज्ञ डाक्टरहरूबाट गरिएको उपचार विधि प्रभावकारी भएपछि ट्रमाको अवधारणा शुरु भएको हो। (हिमाल)
वीर अस्पताल र न्याम्सको विवादको वारेमा मैले केही पहिले पनि एउटा लेख लेखेको थिएँ। हो, समस्याको जडको यो एउटा प्रमुख कारण हो। ट्रमा सेन्टर कसको मातहतमा सञ्चालन गर्ने भन्ने निर्क्यौल नहुँदा नै यसको कुनै काम अगाडि बढ्न सकेको छैन। वीर अस्तताललाई न्याम्स् अन्तर्गत गाभ्ने निर्णयले यसले न्याम्स्लाई वीर अस्तालमाथि हावी बनाएको छ। यस्तोमा वीर अस्पतालको Annex को रुपमा बिस्तार गरिएको ट्रमा सेन्टर माथि न्याम्स्ले नियन्त्रण राख्न खोज्नु अस्वाभाविक नलाग्न सक्ला। तर चुरो कुरो नियन्त्रणमा मात्र सीमित छैन। भारत सरकारको अर्बौँ पैसा लगानी भएको यो सेन्टर संचालनमा कराडौं रुपैंयाको कारोवार र असीमित अवसरहरु पनि जोडिएर आउने अवस्यंभावी छ।
उता, वीर अस्पतालको एउटा खेमा भने फैलिदैं गएको न्याम्सको प्रभाव र अझ यसैको मातहतमा ट्रमा सेन्टर राख्ने कुरासँग खुसी छैन। १२२ वर्षको इतिहास बोकेको वीर अस्पताल सँगसँगै बनेको हुनाले सेन्टरको चावी आफूसँग हुनुपर्छ भन्ने मनसाय यस खेमाको छ। र अर्को तर्फ यसलाई पनि स्वायत्त निकाय वनाई स्वतन्त्र रुपमा संचालनमा ल्याउनुपर्छ भन्नको विचार भएकाहरुको पनि एउटा छुट्टै जमात छ, अस्पताल भित्रै, वाहिर , सरकारमा अनि भारतीय प्रतिनिधिहरुमा। तर, जुन खेमाका भएपनि माथि उल्लेखित फाइदाहरु देखेर र्‍याल काढ्नेहरुले यसलाई आफ्नो अधिनमा राख्न नखोज्ने त कुरै भएन।
पहिलो विवाद त भयो, स्वामित्वको। अझ त्यसभन्दा पनि चर्को विवाद छ, कर्मचारी भर्नाको। यसमा पनि सबै पक्षले आ—आफ्नै डम्फु बजाइरहेका छन्। सिमित दरबन्दीमात्र खाली रहेका काठमाण्डौका सरकारी अस्पतालहरुमा सबैले मरिहत्ते गरेर छिर्न खोज्नु स्वाभाविक हो। यसमै काम गरेर, जनसम्पर्क बढाएर नाम, दाम कमाउने सपना पालेर बसेका निजी चिकित्सकहरुको काठमाडौंमा ठूलो भीड छ। उता, सरकारी चिकित्सकहरु पनि सरकारी स्वामित्वको यस अस्पतालमा बिना कुनै सर्त स्वतन्त्र आउजाउ हुनुपर्छ भन्दै माग गरिरहेका छन्। त्यस्तै, प्यारामेडिकल स्टाफमा पनि उस्तै चक्रव्युह छ। “भैंसीसँग घोडा डराएजस्तो र घोडासँग भैंसी चम्के जस्तो ” अवस्था छ आन्तरिक रुपमा। देश, दैनिक हजारौं विरामीको उपचारको सरोकार भन्दा पनि सबै पक्ष आफ्नो अस्तित्वलाई सुरक्षित पार्न लागिपरेका छन्, र लागेका छन् आफ्नै दुनो सोझ्याउन। कुरा जे भए पनि त्यसको निहितार्थ चाहिँ “ट्रमा सेन्टर” को कर्मचारीको “ट्याग” झुण्डयाएर आफ्नो “गुडविल” स्थापित गर्नु नै हो।
त्यसैले त, कर्मचारी भर्ना गर्ने भनेर स्थापना गरिएको सेवा आयोग निष्कृयप्राय: भएको छ। स्वामित्वको टुङ्गो नलागी कर्मचारी भर्ना टुङ्गो नलाग्ने, कर्मचारी भर्ना नभएसम्म भारतले प्रतिबद्धता जनाएको स्टाफ ट्रेनिङ सुरु नहुने र स्टाफ ट्रेनिङ नभएसम्म उपकरण किन्न नमिल्ने “दुश्चक्र” मा फसेको छ, यो सेन्टर। सेन्टरमा सम्पुर्ण उपकरण भारत सरकारले जडान गरिदिने सहमति छ। तर सामानको ग्यारेन्टी अबधी जडान गरेको मितीवाट सुरु हुन्छ। चलाउने वातावरणको प्रत्याभुती नहुञ्जेल स्टोरमा थन्क्याएर मात्र राख्न उपकरण किन्न भारत पनि इच्छुक छैन, जुन जायज पनि हो। आफ्नो अर्वौको लगानी यत्तिकै उपयोगविहीन भएको देख्दा, दाताको मन पनि त खाँदो हो नि ! अनि त दुइ देशको हरेक उच्चस्तरिय बैठकमा यसको संचालन गर्न सरकारलाई दवाव सहितको अनुरोध आउछ, अनि स्वास्थ्य मन्त्रालयले पनि पहल गरेजस्तो देखाउन ध्यानाकर्षण गराएको ढवाङ्ग् रच्छ। तर, समस्याको जड पत्ता लगाएर सुल्झाउन खोजेजस्तो कतैबाट देखिएन।

यसो गरे कसो होला ?

१) न्याम्स, वीर अस्पताल र ट्रमा सेन्टर सबैको क्षेत्राधिकार पुन: परिभाषित गरिदिने :
हुनत, चिकित्सा विकास राष्ट्रिय प्रतिष्ठान ऐन अनुसार वीर अस्पताललाई न्याम्स् अन्तगर्त राखिएको छ, तर यसले कयौं अवस्थामा यी दुई संस्थाबीच असमझदारी बढाइदिएको छ। स्वास्थ्य बिश्वबिद्यालयको अवधारणामा स्थापना गरिएको न्याम्स्को आफ्नै छुट्टै शिक्षण अस्पताल नहुञ्जेल कसरी यसलाई बिश्वबिद्यालय मान्न सकिन्छ भन्ने तर्क पनि उठ्न सक्छ। तर के न्याम्स्ले एम. डी/ एम. एस. मा तालिमको लागि सम्बन्धन गरेका १२ वटै अस्पतालको स्वामित्व र व्यवस्थापन न्याम्स्कै अधिनमा छन् त, वीर अस्पतालको बाहेक ?बालरोग, महिला तथा प्रसूति, आँखा रोगमा एम. डी/ एम. एस. अध्ययन गर्ने डाक्टरहरुले त न्याम्स्मा नआए पनि काम चल्छ, सर्टिफिकेट लिनको लागी वाहेक π त्यस्तै, वीर अस्पतालले पनि भवन सँगै बनेको भन्दैमा ट्रमा सेन्टर आफ्नै वीर्ता हो, भनि दावी गर्नु अनुचित हुन सक्छ। ट्रमा सेन्टरलाई स्वतन्त्र रुपमा संचालन गर्दा कसको के बिग्रिन्छ र ? यो सेन्टर, बिरामीको उपचारको निमित्त निर्माण गरिएको हो, न कि कसैको अभिष्ट पुरा गर्न। बरु न्याम्स्ले वीर अस्पतालको व्यवस्थापनमा हस्तक्षेप गर्नुभन्दा शैक्षिक वातावरण सुधार्न आफुलाई केन्द्रित गर्दा राम्रो होला कि π
२) कर्मचारी भर्ना गर्दा सबै क्षेत्रको निश्चित अनुपात तोकी खुला प्रतिश्पर्धाबाट कर्मचारी भर्ना गर्ने
सरकारी कर्मचारी, वीर अस्पतालका हालका कर्मचारी र वाहिरबाट लिने कर्मचारीको अनुपात के कति राख्ने भन्ने छलफल चलाई निश्चित अनुपात पहिल्यै तोकी भर्ना प्रक्रियामा जाँदा कुनै एक पक्ष अर्को पक्षप्रति ससंकित हुनुपर्ने थिएन। टिका लगाएर कसैलाई जागिर खुवाउनु भन्दा पनि प्रत्येक क्षेत्रमा पुर्वनिर्धारित मापदण्ड तोकेर आपसि प्रतिश्पर्धा गराउँदा कुनै पनि पक्षले अस्तित्वको लडाईं लड्नु पर्ने थिएन।
३) अध्ययन— अध्यापनको निम्ति न्याम्स्को सम्बन्धन अन्तर्गत ट्रमा सेन्टर लगायत सबै क्षेत्रीय र अंचल अस्पतालहरुलाई ल्याउने
यसो गर्दा एम. डी/ एम. एस.मा हालभन्दा कम्तिमा दोब्बर चिकित्सकलाई भर्ना लिन सकिनेछ। एम. डी/ एम. एस.मा निकै सिमित कोटा भएकोले अध्ययन गर्न नपाएका चिकित्सहरुले अध्ययनको अवसर पाउनेछन्। मोफसलका अस्पतालमा विरामीको चाप निकै भएकोले उनीहरुले पनि सिक्ने अवसर प्रसस्त पाउने छन्। बिशेशज्ञ चिकित्सकको अभावमा छट्पटाइरहेका मोफसलका अस्पतालले पनि दक्ष जनशक्ति पाउने थिए। कल्पना गर्नुस त, जुम्ला अंचल अस्पतालमा एक जना सर्जरी, एक जना अर्थोपेडिक्स्, एक जना महिला रोग र एक जना एनेस्थेसियाको रेजिडेन्टलाई खटाउँदा जनतालाई कति फाइदा होला ? रेजिडेन्टहरुको तालिम पनि हुने थियो अनि बिरामीले पनि विशेशज्ञको सेवा पाउने थिए।
र अन्त्यमा,
नेपालको हालको अवस्थामा कुनै पनि विषयलाई परम्परागत चस्माले मात्र हेरेर समस्याको समाधान हुन सक्दैन। दशकौं पहिले वनाइएका र हालसालै बनाइएका भएपनि पर्याप्त गृहकार्य बिना बनाइएका नीति नियमले नयाँ नेपाल बन्न गाह्रो छ। “ऐन, नियमावली बनिसक्यो, अब यसलाई परिवर्तन गर्न असम्भव छ” भन्नेलाई म सोध्न चाहन्छु भने तिमीहरुले आफ्नो अनुकूलतामा संविधान १०—१० पटक संसोधन गरिसक्यौ, संविधानसभाको म्याद ३—३ पटक थपिसक्यौ, तर अरु ऐन नियमलाई समय सापेक्ष सुधार गर्न के को महाभारत ? तर, मुरली बजाँउदै रोम जलिरहेको हेर्ने निरो राजा झैँ देशका हरेक निकाय तहसनहस भएको तमासा मानी मानी हेरिरहेका हाम्रा विधायकहरुमा केही गर्ने इच्छाशक्ति र देशप्रेम र अलिकति इख भैदिए कति राम्रो हुन्थ्यो !

जुम्ल्याहा युवा वैज्ञानिक - naya patrika

दीपक सापकोटा


युवा वैज्ञानिक राम-लक्ष्मणले आविष्कार गरेका नयाँ-नयाँ प्रविधिबाट समाज-सुधारका काम हुन थालेपछि काठमाडौंमा उनीहरूले के गरिरहेका छन् भन्नेबारे चासो बढेको छ । यहाँ छ, दाजुभाइको प्रविधि-आविष्कारबारे तयार पारिएको 'जुम्ल्याहा कथा'-

imageबाल्यकालमा उनीहरू साह्रै चकचके थिए । रित्तो हात त बस्नै नसक्ने π घरमा कोही नभएको मौका पारेर रेडियो, फाङ्लाङ-फुङ्लुङ पार्थे- कुनै जिज्ञासाले घेरिएर । नुवाकोटमा जन्मेका शिशु मस्तिष्कहरूलाई रेडियोबारे कुनै जानकारी थिएन । रेडियोका कान निमोठ्दा घरिघरि निस्कने गीतका मीठा लयले पनि जिज्ञासु बनाउँथ्यो । केटाकेटी अलमलमा पर्थे, 'यी अनौठा आवाजमा बोल्नेहरू कहाँका होलान् ? कस्ता होलान् ? के खाँदा हुन् ?' थुप्रै अनुत्तरित प्रश्नलाई मीठो कल्पनासँग साटेर उनीहरू रेडियो फुटाउँथे अनि सपना देख्दैै मस्त निदाउँथे । त्यही पहिलो रेडियो-जिज्ञासाले आज ती जुम्ल्याहा दाजुभाइ राम-लक्ष्मण -रामप्रसाद र लक्ष्मण रिमाल) लाई चर्चित युवा-वैज्ञानिक बनाएको छ । 
उनीहरू पढ्नचाहिँ सिपालु थिए । घाँस काट्न होस् वा बाख्रा चराउन जंगल गएका वेला उनीहरूका हातमा किताब हुन्थ्यो । रूखको आड लागेर दाजुभाइ गणित वा विज्ञानका सूत्र घोक्थे । ३० वर्षअघि नुवाकोट, मदनपुरमा जन्मेका यी जुम्ल्याहाको ख्याति आजभोलि बिस्तारै चुलिँदो छ । काठमाडौंमा यी जुम्ल्याहाको आविष्कार दैनिक जीवनमा प्रयोग गर्ने ७० हजार ग्राहक भएको उनीहरू दाबी गर्छन् । राम-लक्ष्मण सधैं आफ्ना ध्यान नयाँ-नयाँ प्रविधिमै केन्दि्रत गर्छन् र दुई जोडी चम्किला आँखाले प्रत्येकपल नौला सपना देख्छन् । 
र, आफूहरूले देखेको सपना साकार पार्न चौबीसै घन्टा खटिइरहेका हुन्छन् उनीहरू । नयाँ विषयमा खोज-अनुसन्धान गर्दै आएका यी जुम्ल्याहा दाजुभाइ 'वैज्ञानिक उत्पादनका लागि कुनै खास ट्रेनिङ लिएको छैन' भन्छन् । उनीहरू प्रत्येक वर्ष फरक-फरक आविष्कारले चर्चाको शिखरमा हुन्छन् । 
वायरलेस कम्युनिटी सेक्युरिटी साइरन 
कुरा सुरु गरौँ यो जुम्ल्याहा जोडीको पछिल्लो आविष्कारबाट । पछिल्लो समय उनीहरू खस्कँदो सुरक्षा-प्रणालीलाई प्रविधिमार्फत सुधार गर्न जिसिएम प्रविधिमा आधारित ट्रयाकिङ प्रणालीको निर्माण गरेर चर्चामा आएका छन् । वायरलेस कम्युनिटी साइरन निर्माण गरी चर्चामा आएका उनीहरूले डिजिटल प्रविधिमार्फत सवारीसाधन र व्यक्तिबारे सहजै जानकारी पाउन सकिनेगरी जिपिएस -ग्लोबल पोजिसन सिस्टम) निर्माण गरेका हुन् । 'यसको प्रयोग गरी कम्प्युटरमार्फत प्रविधि जडान गरिएको सवारीसाधन र व्यक्ति कहाँ छन् सजिलै पत्ता लाग्नेछ,' राम रिमालले भने, 'व्यक्ति र सवारीसाधन रहेको स्थान पत्ता लगाउन गुगल र माइक्रोसफ्टसँग सहमति गरेका छौँ ।' अर्का भाइ लक्ष्मणका अनुसार ट्रयाकिङका लागि २५ हजार र सवारीसाधनमा जडान गर्न ३० हजारमा राम-लक्ष्मणको कम्पनी 'टेक्नोलोजी सेल्स प्रालि'ले सो सुविधा उपलब्ध गराउँदै आएको छ । 'यो प्रविधिको जडानपछि नेपाल र भारतको समेत सम्पूर्ण म्यापिङ विवरण कम्प्युटरमा उपलब्ध हुनेछ,' लक्ष्मण भन्छन् । महानगरीय प्रहरी अवधारणाअनुसार परिचालित सिआरभी भ्यानको अवस्था, प्रहरी कर्मचारीहरू कहाँ छन् ? भन्ने जानकारी लिन जिपिएस प्रविधिको उपकरण सहयोगी हुने राम रिमाल बताउँछन् । 
यही प्रविधिमा आधारित सुरक्षाको विकासका लागि आयुक्तको कार्यालय रानीपोखरीमा निःशुल्क सेन्टर मनिटरिङ युनिट पनि जडान गरिएको छ । करिब १५ लाख जडान-शुल्क लाग्ने भए पनि आयुक्त कार्यालयमा निःशुल्क जडान गरिएको लक्ष्मणले बताए । 'ताररहित फोन जडान भएका सर्वसाधारणले आफ्नो टेलिफोनमा एक हजार दुई सयको इन्कोडर जडान गरेपछि सेन्टर मनिटरिङ डिभाइसको सुविधा लिन सक्छन्,' लक्ष्मण बताउँछन्, 'टेलिफोनसँगै जडित इन्कोडरमा रहेको स्विच थिच्नासाथ प्रहरी कार्यालयमा रहेको सेन्टर मनिटरिङ युनिटमा बटम दबाउने व्यक्तिको पूरै विवरण आउँछ । यसैको आधारमा आपतमा परेका सर्वसाधारणको घरसम्म पुग्न प्रहरीलाई निकै सजिलो हुन्छ ।' 
तार चोरी नियन्त्रण प्रविधि
प्रविधिको कमाल पनि गजबैको हुँदोरहेछ । ललितपुरको लुभुस्थित ज्यागाठा क्षेत्रमा टेलिफोनको तार चोरी हुन थालेपछि दूरसञ्चार प्राधिकरणले जडान गरेको राम-लक्ष्मण निर्मित 'तार चोरी नियन्त्रण प्रविधि'ले कमाल नै गर्‍यो । उनीहरूकै कम्पनी टेक्नोलोजी 'सेल्स प्रालि'ले जडान गरेको यो स्वचालित साइरन घन्टीले टेलिफोनको तार काट्नेबित्तिकै टेलिकमका कर्मचारी र प्रहरीलाई फोन गरी 'तार चोरी भएको' सूचना दियो । चोरहरूले एउटा तार काट्न सफल भए तर अरू तार काट्न पाएनन् र साइरन बजेपछि भागाभाग भयो । 'यो प्रविधिले तार छुने वा केही वस्तुले काट्नेबित्तिकै प्रविधिमा डबिङ गरेका टेलिफोन नम्बरमा 'अटोमेटिक' फोन गरिदिन्छ,' राम भन्छन्, 'यस प्रविधिमा विभिन्न स्थानको नामसमेत डबिङ गर्न मिल्छ र तार चोरी हुनेबित्तिकै प्रविधिले स्थानसमेत उल्लेख गरिदिन्छ ।' 
हतियार भण्डारणका लागि सुरक्षागार्ड 
हतियार भण्डार गरेको कोठा, ढोकामा जडान गर्न सकिने अर्को प्रविधि 'हतियार भण्डारणका लागि सुरक्षागार्ड' प्रविधिको निर्माणबाट राम-लक्ष्मण निकै उत्साहित छन् । यो सेन्सर प्रविधि जडान गरेपछि हतियार चलाएको कुरा साइरनबाट सजिलै थाहा पाउन सकिने दाजुभाइ वैज्ञानिक बताउँछन् । उनीहरूले हतियार भण्डारका लागि आफ्नै सोचले तयार पारेको यो प्रविधिले भण्डारण गरिएको हतियार चलाएको खण्डमा एकैपटक दुई दर्जनभन्दा बढी फोनमार्फत स्वचालितरूपमा फोन गर्ने र समाचार पठाउने गर्छ । 'सरकार-माओवादीले हतियार व्यवस्थापनका लागि साइरन घन्टीको कुरा उठाएपछि यो प्रविधि तयार पारेका हौँ,' राम भन्छन् । ताररहित यो प्रविधिको प्रयोगले हतियार भण्डारण गरिएको क्षेत्रमा के-कस्ता क्रियाकपाल भइरहेका छन् भन्ने कुरा सरकारी अधिकारी तथा संयुक्त राष्ट्रसंघका पदाधिकारीले काठमाडौंमै बसेर सजिलैसँग सुन्न सक्नेछन् । फोन-लाइन जोडेर प्रयोगमा ल्याउन सकिने यो प्रविधिले फोन गर्ने मात्र होइन, सम्बन्धित व्यक्तिसँग कुरासमेत गर्छ । यो प्रविधि यति सुरक्षित छ कि कोही हतियार भण्डारण गरिएको ढोका र झ्यालबाट मात्र नभएर छतबाट गएको खण्डमा पनि साइरन घन्टी स्वचालित रूपमा बज्ने गर्छ । यो प्रविधि धेरै खर्चिलो छैन र विदेशबाट साइरन झिकाउन आवश्यक पर्दैन । यो प्रविधि निर्माणमा उनीहरूले लामो खर्चेका छन् । 
स्वचालित मोटर अपरेटर
यी दाजुभाइको पूरै समय प्रविधिको विकास र आविष्कारमै बित्छ । हरेक काममा उनीहरू सँगै सहभागी हुन्छन् । यो उमेरसम्म आइपुग्दा कुनै पनि काम छुट्टाछुट्टै गरेको याद छैन उनीहरूलाई । उनीहरूको सुरुवाती आविष्कारचाहिँ 'स्वचालित मोटर अपरेटर' हो जसले उनीहरूलाई यो ठूलोे सपनाको सहरमा छुट्टै परिचय दियो । जतिवेला उनीहरू आर्थिक हिसाबले सबल थिएनन्, केही गर्ने जोस र कालो आँखामा टल्किएको सपना मात्रै थियो, त्यहीवेला यो मेसिनको निर्माण गरेका थिए उनीहरूले । यो मेसिनको जन्मको कथा बेग्लै खालको छ । उनीहरू काठमाडौंको कुनै एउटा गल्लीको घरमा डेरा बस्थे । घरबेटीले 'ट्यांकीमा पानी भर्ने र पानी भरिएपछि बन्द गराउने' जिम्मा यी दाजुभाइलाई दिएका थिए । उनीहरू दिक्क मान्थे । केही समय त घरबेटीको आदेश खुरुखुरु माने उनीहरूले । तर, सधैं मोटर अन/अफ गर्न तल-माथि गरिरहनुपर्ने झन्झटबाट उनीहरू मुक्ति चाहन्थे । त्यही चाहनाको कारण जन्मियो- स्वचालित मोटर अपरेटर । त्यसपछि उनीहरू राति मस्त निदाउन सक्ने भए र उता ट्यांकीमा पानी आफैं भरिन थाल्यो । यसको प्रयोगबाट जुनसुकै वेला धारामा पानी आए पनि अपरेटरले पानी तान्ने मोटर अन गरिदिन्छ र पानी बन्द भए वा ट्यांकी भरिएमा अफ गरिदिन्छ । 
०५५ सालमा यो प्रविधिको निर्माणले कमर्स पढिरहेका यी जुम्ल्याहाको मन पूरै विज्ञान-प्रविधितिर मोडिदियो । र, उनीहरूको तन-मन अनि घुम्ने पृथ्वीको आफ्नो भागमा पर्ने चौबीस घन्टा समय प्रविधि विकासमै केन्दि्रत हुन थाल्यो । उनीहरूले निर्माण गरेको मकै छर्ने मेसिन, बाढी/सुनामी-सूचक यन्त्र, बाइकगार्ड पनि मानिसहरूले निकै रुचाएका प्रविधि हुन् । 'हामी ठूला वैज्ञानिक बन्ने सुरले यो काममा लागेका होइनौँ । मात्र मानिसको जीवनशैलीलाई केही हदसम्म सहज बनाउन सके पुग्छ,' लक्ष्मण भन्छन् । बाढी/सुनामीसूचक यन्त्रले नयाँदिल्लीमा सन् २००४ मा भएको बृहत् विज्ञान प्रदर्शनीमा 'युथ इनिसिएटिभ अवार्ड' जितेको थियो । यो यन्त्रबाट समयमै बाढी/सुनामीबारे सूचना पाउन सकिन्छ । 'विशेषतः तराई क्षेत्रमा यो यन्त्र निकै प्रभावकारी हुनसक्छ,' राम भन्छन्, 'त्यहाँ बाढी बढी आउँछ र यो मेसिनबाट मानवीय र आर्थिक क्ष्ाति कम गर्न सकिन्छ ।' 
राम-लक्ष्मणले लामो समयको मिहिनेतमा निर्माण गरेको 'मकै छर्ने मेसिन' पनि निकै चर्चित बन्यो । यो उपकरणले रोनाष्टबाट 'एमेच्योर साइन्स अवार्ड' पनि प्राप्त गर्‍यो । तर, यो प्रविधि ग्रामीण किसानको क्षमताबाहिर भयो र बिक्री-वितरण हुन सकेन । यसमा सरकारले सहयोग गरोस् भन्ने उनीहरूको चाहना छ र मकै छर्ने मेसिनलाई गाउँ-गाउँ पुर्‍याउन, प्रयोगमा ल्याउन सकियो भने कृषिक्षेत्रले ठूलो फड्को मार्छ भन्ने लाग्छ उनीहरूलाई । 
अहिले काठमाडौं र आसपासका जिल्लामा चोरी र लुटपाट नियन्त्रणमा यी दाजुभाइको ठूलो योगदान छ । चोरी र लुटपाटका घटना नियन्त्रणका लागि उनीहरूले बनाएको 'इलेक्ट्रोनिक सेक्युरिटी सिस्टम' काठमाडौं मात्रै होइन, बाहिरका सहरतिर पनि पुगेको छ । यसले थुप्रै स्थानमा चोरी नियन्त्रणमा सघाउ पुर्‍याएको छ । आफूहरूले विकास गरेको कुनै प्रविधिको प्रयोग भएको देख्दा साह्रै खुसी लाग्छ रे उनीहरूलाई । 'हामी अहिले जनताको हितलाई ध्यानमा राखेरै मात्र अहोरात्र जुटिरहेका छौँ,' उनीहरू भन्छन् । 
जुनैवेला पनि प्रविधि र विज्ञानमै रमाइरहने यी दाजुभाइ बिहान सातै बजे अफिस पुग्छन् र ल्यापटपमा आँखा जुधाउन थाल्छन् । राति ९ बजेमात्रै अफिसबाट निस्कन्छन् । 'अब त हरेक समस्याको प्राविधिक समाधान खोज्ने बानी नै भइसक्यो,' राम भन्छन् । उनीहरूले उपत्यकाको बाइक चोरी नियन्त्रणका लागि 'बाइकगार्ड' नामक यन्त्रको निर्माण गरेका छन् । यो प्रविधिलाई बाइकमा जोडेपछि जुनै ठाउँमा बाइक रोके पनि चोरले चोर्न सक्दैन । बाइकलाई केही मिटर हिँडाउँदा स्वचालित साइरन बज्न थाल्छ र स्टार्ट गरेपछि आफैं बन्द हुन्छ । 
यी दाजुभाइका पिता-पुर्खाले खेती-किसानीमै जीवन गुजारे । तर, परिवारको पेसाबाट फुत्त बाहिर निस्केर उनीहरूले नितान्त नौलो क्षेत्रमा आफूलाई स्थापित गरे । नयाँ-नयाँ प्रविधिबाट समाज-सुधार हुन थालेपछि काठमाडौंमा उनीहरूले के गरिरहेका छन् भन्नेबारे चासो बढेको छ । यो 'जुम्ल्याहा कथा' सुनाउँदा वेला-वेला उनीहरू भावुक पनि हुन्छन् । एउटै प्रविधि आविष्कारका लागि वषर्ाैंसम्म खटेका दिनहरू आँखामा नाच्न थाल्छन् । 
'हाम्रो अफिसमा ढोका खोल्ने आफ्नै सिस्टम छ,' लक्ष्मणले पाइन्टबाट पर्स निकालेर छुस्स ढोकामा छोएपछि ढोका खुल्यो र कोठाको बत्ती पनि आफैं बल्यो । आफैंले निर्माण गरेको 'अटोमेटिक डोर सिस्टम' र 'स्वचालित बत्तीको स्विच'बारे केही शब्द वर्णन गरेपछि छेउको चिया-कपलाई च्याप्प समातेर तम्तम्याइलो चिया सुरुप्प पारेका लक्ष्मण भन्दै थिए, 'नेपालैभरि यो प्रविधि विस्तार गर्न पाए क्या मज्जा हुन्थ्यो π' आफूहरूले आविष्कार गरेका प्रविधि र सामानहरूको लामो समयको बेलिविस्तारपछि लक्ष्मणभन्दा आधी घन्टा मात्रै जेठा राम भन्दै थिए, 'तपाईंलाई कत्तिको मन पर्‍यो कुन्नि ?'

एसपी खरेललाई सरुवा गर्न सर्वदलीय मोर्चा - onlinekhabar

राजनीतिक दलको नभई जनताको नोकर हुँ भन्ने पर्साका प्रहरी प्रमुख एसपी रमेश खरेलको कार्यशैलीप्रति असन्तुष्ट राजनीतिक दलहरु उनलाई सरुवा गराउन सक्रिय भएका छन् । दलहरुका जिल्लास्तरीय नेताले एसपी खरेलले आफ्नो सिफारिस लत्याएर उपेक्षा गरेको आरोप लगाएका छन् ।
खरेलको सरुवाबारे सर्वदलीय सहमति जुटाउन आइतवार माओवादीको अगुवाईमा वैठक बसेको थियो । वैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिले खरेलको कार्यशैली अलोकतान्त्रिक रहेको भन्दै आलोचना गरे । तर सरुवाका बिषयमा सहमति भने जुटन नसकेको आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । राज्यको कानुन कार्यन्वयन मात्र नगरेर केही कुरामा ब्यबहारिक पनि हुनुपर्ने भन्दै उनीहरुले खरेल अब्यबहारिकरुपमा पेश भएको दलहरुले बताएका छन् ।
पछिल्लो समयमा भूमिसुधारमन्त्री प्रभु साहलाई खरेलले पक्राउ पुर्जी जारी गरेपछि उनीबिरुद्धको राजनीतिक आक्रोश चुलिएको छ ।

Wednesday, September 28, 2011

भ्रष्टाचारीलाई किरा परोस्, चेली व्यापारीको टाउको चिरा परोस् - mysansar

भ्रष्टाचारीलाई किरा परोस् भन्ने नाराका सर्जक एक स्तम्भ लेखकलाई अर्का स्तम्भ लेखकले गएको साता यस्ता नयाँ नारा सुझाए-
• ‘चेली बेपारीको टाउको चिरा परोस्,’
• ‘म्यानपावरको मानव तस्कर तातो तावामा पोलिओस्’
• ‘व्यभिचारीलाई बाघले खाओस्,’
• ‘ढाँट जिब्रो कुहेर शेष होस्’
• ‘शोषक सातो गएर सकियोस्’
किरा पर्ने नाराको सहायक हुने गरी चिरा पर्ने नारा उठान गर्दा ती लेखक दङ्ग पर्लान् भनेको त बिच्किए पो। ती नारालाई “असान्दर्भिक र अनावश्यक गालीको उत्पादन” को संज्ञा दिँदै उनले अर्को लेख लेखे।
मलाई भने ती नाराहरु कतै पनि असान्दर्भिक र गाली लागेन। हाम्रो देश भ्रष्टाचारले मात्र पीडित त हैन नि। गाउँका गाउँ सखाप हुने गरी चेलीबेटी बेचिएका छन्, आफन्तले समेत बेच्न लगेका छन्, बेचिएकाहरु नारकीय जीवन बिताउन बाध्य छन्। उनीहरुलाई त्यस्तो जीवन बिताउन बाध्य पार्ने चेली व्यापारीको टाउको चिरा परोस् भन्नु कसरी असान्दर्भिक हुन सक्छ ? कसरी यो गाली हुनसक्छ ?
म्यानपावरका मानवतस्करहरुले सपना देखाएर हाम्रा सोझासाझा दाजुभाइहरुलाई अरबको तातो हावा खान बाध्य बनाएका छन्। दिदीबहिनीहरु घरेलु कामदारका रुपमा गए पनि यौन दासी बनाइन्छन्। घरखेत धितो राखेर लिएको ऋण पच गरिदिन्छन्। त्यस्ता म्यानपावरका मानव तस्करलाई तातो तावामा पोलिओस् भन्नु कसरी असान्दर्भिक हुनसक्छ, कसरी अनावश्यक गाली हुनसक्छ ?
यदि भ्रष्टाचारीलाई किरा परोस् भन्ने शब्द गाली, सराप र असभ्य हैन भने यी नाराहरु मात्र कसरी गाली भए ? कसरी असान्दर्भिक भए ? आखिर दुवैको उद्देश्य त्यही हो। किरा पर्ने नाराका सर्जक रवीन्द्र मिश्रका अनुसार “हामीले घरघरमा भ्रष्टाचार भनेको घृणित, गर्नै नहुने अपराध हो भन्ने भावना र विश्वास जगाउनु परेको छ”। त्यही भएर भ्रष्टाचारीलाई किरा परोस् नारा उचित छ। त्यसो हो भने हामीले घरघरमा चेलीबेटी बेच्ने, मानव तस्करी गर्ने, व्यभिचार गर्नेलाई पनि पनि घृणित, गर्नै नहुने अपराध हो भन्ने भावना र विश्वास जगाउनु परेको छैन र। ती नाराले पनि त भ्रष्टाचार जतिकै गम्भीर ती अपराधहरुलाई गर्नै हुन्न भन्ने भावना र विश्वास जगाउँछ। किरा परोस् भनेर तर्साएरै वा ‘ह्युमिलिएट फिल’ गराएरै भ्रष्टाचारीलाई तह लगाउन सकिन्छ भन्ने भावना पाल्ने हो भने चिरा परोस् भनेर तर्साएर पनि त चेलीबेटी बेचबिखन रोक्न सकिन्छ नि। तातो तावामा पोलिओस् भनेर पनि त मानव तस्करलाई तह लगाउन सकिन्छ नि।
तर हैन, कानुनको राज चाहने र सभ्य समाजमा यस्ता नारा असभ्य र अस्वीकार्य हुन्छन्। यो तथ्य रवीन्द्रजी आफैले ‘चेली बेपारीको टाउको चिरा परोस्,’ ‘म्यानपावरको मानव तस्कर तातो तावामा पोलिओस्’ जस्ता नारालाई “असान्दर्भिक र अनावश्यक गालीको उत्पादन” भनेबाट पुष्टि हुन्छ। नत्र किरा पर्दा चैँ राम्रो हुने चिरा पर्दा चैँ नराम्रो हुने भन्ने पनि कहीँ हुन्छ ?

किराले प्रभाव पार्छ त ?

परोस्, गरोस्, होस् जस्ता शब्दहरु इच्छावाचक हुन्। अर्थात् यस्तो भइदिए हुन्थ्यो भन्ने कामनालाई बुझाउँछ यी शब्दले। राम्रा कामना भए त्यो आशीर्वाद हुन्छ, जस्तै प्रगति होस्, उन्नति गरोस्, राम्रो जागिर परोस्। नराम्रो कामना भए त्यो सराप हुन्छ, जस्तै किरा परोस्, चिरा परोस्, टाउको फुटोस्, महारोगी होस्। भ्रष्टाचारीलाई किरा परोस् भन्ने वाक्य एउटा सराप हो। भ्रष्टाचार नहोस्, सर्वसाधारणले दुःख नपाउन् भन्ने उद्देश्य यसमा निहीत हुन्छ। भ्रष्टाचारको विरोध पक्कै पनि गर्नुपर्छ। भ्रष्टाचारलाई पक्कै पनि हटाउनु पर्छ। तर के यस्ता सरापले भ्रष्टाचार कम हुन्छ त ?
“प्रभाव पर्छ” किरा परोसवालाहरु यस्तो तर्क दिन्छन्। प्रभाव भनेको भ्रष्टाचार गर्नेको दिमागमा पार्ने हो। भ्रष्टाचार गर्नेलाई भ्रष्टाचार गर्नु हुन्न भन्ने कुरा राम्रैसँग थाहा हुन्छ। त्यसैले किरा पर्ने डरले भ्रष्टाचार कम हुन्छ भन्नु वाहियात तर्क हो। यो कुनै पुराणको कथा हैन, जसमा सराप दिएपछि ठ्याक्क ठ्याक्कै लाग्छ। यदि किरा पर्ने डरले भ्रष्टाचार कम हुन्छ भन्ने तर्क गर्ने हो भने हाम्रा अनेकौँ पुराणमा पापीहरुका लागि निकै डरलाग्दा परिणाम उल्लेख गरिएका छन्, त्यसैबाट मान्छे डराउनु पर्ने हो र समाजमा नराम्रा काम केही नभई राम्रैराम्रा काम मात्र हुनुपर्ने हो। गरुड पुराणमा रगत र पीपको कुण्डमा डुब्ने, तातो तेलको कराहीमा उमाल्ने, आरीले काट्ने जस्ता भयावह कामहरुको वर्णन छ फलानो गलत काम गरे फलानो फल भन्दै। यो सुनेपछि त कसैले पनि त्यस्ता काम नगर्नुपर्ने हो। तर गरिरहेका छन्।
अझ यो हाम्रो दुई दिनको चोला हो, लोभ गर्नुहुन्न, क्रोध गर्नुहुन्न भन्ने कुरा पनि सबैलाई थाहा छ। आर्यघाटमा चिनेजानेका वा आफन्तको लाश जलाउँदा सबैभन्दा बढी त्यस्तो महसूस हुन्छ मान्छेलाई। तर गौशाला आइपुग्दानपुग्दै फेरि लोभ र क्रोध सुरु भइहाल्छ। त्यसैले भ्रष्टाचार गर्नु हुन्न भन्ने थाहा पाएकाहरुले गरेको भ्रष्टाचार पनि सरापको डरले कम हुने हैन।
किरा परोस् सरापछाप गन्जीको ब्रान्ड एम्बेसडर बन्दै नेपाल सरकारका सचिवहरु

सरापेर बस्ने कि केही गर्ने ?

भ्रष्टाचारीलाई किरा परोस् भन्ने नारा र ब्यानर सडक र भित्तामा टाँस्दैमा र त्यस्तो सराप छापिएका गञ्जीहरु लगाएर हिँड्दैमा भ्रष्टाचार कम हुन्छ भन्नु र त्यस्तो सोच्नु असहायपनाको चरम रुप हो। अरु केही गर्ने आँट नभएका हुतिहाराहरुले लौ न यस्तो भइदिए हुन्थ्यो भनी अलौकिक शक्तिलाई गर्ने कामना हो। तर विडम्बना, किरा परोस् नाराको पछाडि भ्रष्टाचारबारे छानबिन गरी कारबाही गर्नुपर्ने जिम्मा बोकेको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत लाग्यो। आयोगको काम भ्रष्टाचारको छानबिन र कारबाही हो कि लौ भगवान्, हाम्ले केइ गर्न सकेनौँ, प्रभो किरा पारिदेऊ भनेर भन्ने हो ?
किरा पर्ने सराप पोत्दैमा वा झुण्ड्याउँदैमा वा छातीमा लेखेर हिँड्दैमा भ्रष्टाचार कम हुने भए भारतमा अन्ना हजारेले त्यत्रो सत्याग्रह आन्दोलन गर्नु पर्दैन थियो। ‘किडे पडेँ भ्रष्टाचारियोँको’ भन्दै भारतभर नारा पोत्न लगाए हुन्थ्यो, गञ्जी छापेर लगाउन दिए हुन्थ्यो। आखिर उनको एक इशारामा त्यस्तो गर्नेहरु लाखौँ छँदै थिए। तर उनले नारामा हैन, काममा जोड दिए। भ्रष्टाचारविरुद्ध कडा कानुन बनाउनु पर्ने उनको अडान अझै कायमै छ।
भ्रष्टाचारको विरोधमा जनमत छ। त्यसैले देशका विभिन्न भागमा युवाहरु अरु विकल्पको अभावमा किरा परोस् नाराको समर्थनमा उत्रिए। यसमा उनीहरुको कुनै दोष छैन। मासलाई गाइड गर्ने काम ओपिनियन लिडरको हो। ओपिनियन लिडरले गाइड गरे चिरा परोसका नारा पनि बन्छन्। यहाँ सोच्नुपर्ने ओपिनियन लिडरले हो। भ्रष्टाचारका विरोधमा केही गरी देखाउने कि नेताहरुले नारामा भुलाए जस्तो किरा परोसको नारामा भुलाइराख्ने ?


दोलखाका पत्रकारहरुबीच दोलखान्यूज डटकम शुरु - hamrakura.com

कालिका खड्का । काठमाडौँ ११ असोज। दोलखावाट काठमाडौ आइ क्रियाशिल पत्रकारहरुका विचमा दोलखान्यूज डटकम शुरु गरिएको छ। दोलखाका पत्रकारहरुविच दशैको शुभकामना आदानप्रदान गर्न आयोजना गरिएको कार्यक्रममा दोलखान्यूज डटकमको औपचारीक शुरुवात गरिएको हो।
दोलखाली पत्रकारहरुको सकि्रयतामा दोलखाको गतिविधिलाई समेटेर  दोलखान्युज डटकमको  शुरुवात गरिएको हो। दोलखाली पत्रकार समाजले आज यहाँ आयोजना गरेको दोलखाली पत्रकार भेलामा अनलाईन खबरपत्रिकाको बरिष्ठ पत्रकार गोपाल थपलिया र वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीले सुरुवात गर्नुभएको हो ।
पत्रकार थपलियाले अनलाइन खबरपत्रिका मार्फत दोलखा मात्र नभईकन मुलुककै विकासमा कलम चलाउदै सकारात्मक मार्गनिर्देशन गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय समाचार समितिका प्रेस सल्लाहकार बलराम थापाले योजनावद्ध तरिकाले पत्रकारको हकहितका साथसाथै दोलखाको समग्र विकासमा अनलाईन खबरपत्रिकाले काम गर्नुपर्ने विचार राख्नुभयो ।
प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष गणेश वस्नेतले पत्रकारहरुले दोलखामा लुकेर रहेका पर्यटकीय तथा धार्मिक स्थान प्राकृतिक स्रोतसाधन लगायतको उजागर गर्नुपर्ने उल्लेख गर्दै पत्रकारका सुरक्षाका लागि कल्याणकारी कोषको स्थापना गर्नुपर्ने जरुरी भएको बताउनुभयो ।
दोलखा डटकम अनलाईन खबरपत्रिकाका सम्पादक अजयबाबु शिवाकोटीले दोलखाको धार्मिक एवम् सांस्कृतिक पर्यटन विकास प्राकृतिक स्रोतको विकासका साथसाथै समग्र दोलखाको विकासमा पत्रिका मार्फत उजागर गर्ने बताउनुभयो ।
दोलखाली पत्रकार समाजका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाईन खबरपत्रिका मार्फत दोलखाको विकासका सम्भावनालाई पहित्याउनुका साथसाथै मुलुकको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
दोलखान्युज डटकममा दोलखावाट काठमाडौ आइवसेका क्रियाशिल पत्रकारहरु समावेश रहेका छन् । त्यसैगरि दोलखावाट पनि क्रियाशिल पत्रकारहरु यसमा क्रियाशिल रहेको यसका सम्पादक अजयवावु शिवाकोटीले जनाउनुभएको छ।

विदेशिने र बसाइँ सराइँ बढेका कारण वृद्धिदर घट्यो, काठमाडौँमा अनुमानभन्दा थोरै जनसंख्या - nagarik news


ज्ञान न्यौपाने, काठमाडौं, असोज ११- नेपालको जनसंख्या २ करोड ६६ लाख २० हजार ८ सय ९ पुगेको छ। दस वर्षअघिको तुलनामा करिब ३४ लाख ७० हजार थपिएका छन्। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको जनगणना २०६८ को प्रारम्भिक नतिजाले काठमाडौं उपत्यकामा धेरैको अनुमानभन्दा निकै थोरै जनसंख्या देखाएको छ।
राजधानी काठमाडौं, ललितपुर र भक्तपुरमा जम्मा २५ लाख १० हजार ७ सय ८८ जना बस्छन्। यी तीनै जिल्लाबाट विदेश गएकासमेत जोड्दा पनि साढे २६ लाख नाघ्दैन।
कुल जनसंख्यामा १ करोड २९ लाख २७ हजार ४ सय ३१ (४८.५६ प्रतिशत) पुरुष र १ करोड ३६ लाख ९३ हजार ३ सय ७८ (५१.४४ प्रतिशत) महिला छन्। जनघनत्व १ सय ५७ प्रति वर्गकिलोमिटरबाट १ सय ८१ पुगेको छ। काठमाडौंमा सबभन्दा बढी ४ हजार ४ सय ८ जनघनत्व छ भने मनाङमा सबभन्दा कम ३ छ।
जनसंख्या वृद्धिदर घट्यो
विभागका अनुसार नेपालको जनसंख्या वृद्धिदर ५० वर्षकै सबभन्दा कम १.४० प्रतिशतमा झरेको छ। यो दस वर्षअघिको जनगणनाभन्दा ०.८५ विन्दु कम हो।
२०१८ को जनगणनामा १.३१ प्रतिशत वृद्धिदर थियो। त्यतिखेर कुल जनसंख्या ९४ लाख १३ हजार थियो। त्यसपछि २०५८ सम्म वृद्धिदर लगातार दुई प्रतिशतकै हाराहारी रह्यो।
किन घट्यो?
विभागको जनसंख्या महाशाखा प्रमुख रुद्र सुवालले बसाइसराइ बढ्नु र प्रजनन् दर घट्नुले जनसंख्या वृद्धिदर कम भएको बताए।
'विदेश गएकाहरूको संख्या अत्यधिक वृद्धि हुनु पनि यसको कारण हो,' उनले भने 'यसले स्वदेशमा रहेको जनसंख्या घट्ने, विदेश जानेको बढ्ने भइरहेको छ।'
जनगणनाको तथ्यांकले १९ लाख १७ हजार ९ सय ३ विदेशमा रहेको देखाएको छ। यसअघि ७ लाख ६२ हजार १ सय ८१ विदेशमा थिए। विदेशिएकामध्ये ८६.७ प्रतिशत पुरुष र १३.३ प्रतिशत महिला छन्। त्यस्तै, ग्रामीण क्षेत्रका ८५.३८ र सहरी क्षेत्रका १४.६२ प्रतिशत विदेशिएका छन्।
जनसंख्या विशेषज्ञ सरदकुमार शर्मा विदेशिनेमा प्रजनन् दर बढी हुने उमेर समूहका युवा पुस्ताको बाहुल्य भएकाले समग्र जनसंख्या वृद्धिमा असर परेको बताउँछन्। 'प्रजनन् दर घट्दा स्वाभाविक रूपले जनसंख्या वृद्धिदरमा प्रभाव पर्छ,' उनले नागरिकसँग भने।
कहाँ कति?
काठमाडौंको जनसंख्या कति पुग्यो? धेरैको अनुमान थियो, ४० लाख वा ५० लाख। जनगणना २०६८ ले यो अनुमानलाई गलत साबित गरेको छ। राजधानी काठमाडौंमा सबभन्दा बढी १७ लाख ४० हजार ९ सय ७७ जना बस्छन्। ललितपुरमा ४ लाख ६६ हजार ७ सय ८४ र भक्तपुरमा ३ लाख ३ हजार २७ छन्। काठमाडौंबाट ९७ हजार, ललितपुरबाट २३ हजार र भक्तपुरबाट ९ हजारभन्दा बढी विदेशिएको तथ्यांक पनि जनगणनाले देखाएको छ।
धेरैले सोचेभन्दा कम जनसंख्या देखिए पनि जनसंख्याविद्हरू यसलाई स्वाभाविक भन्छन्। काठमाडौंमा शैक्षिक, प्रशासनिक लगायत विभिन्न कारणले जिल्लाबाट वर्षैभरि आउजाउ भइरहन्छ। तर, तिनीहरू यहाँका स्थायी होइनन्। काम सकेपछि फर्कन्छन्। यस्तो आउनेजाने क्रम वर्षभरि चलिरहन्छ। यसले एकचोटिमा ४०-५० लाखजस्तो भान भए पनि खास जनसंख्या त्यति धेरै हुँदैन।
काठमाडौंपछि दोस्रो बढी जनसंख्या भएकोमा मोरङ छ। यहाँ ९ लाख ६४ हजार बसोबास गर्छन्। तेस्रो स्थानको रुपन्देहीमा ८ लाख ८६ हजार, चौथोमा झापा ८ लाख १० हजार र पाँचौंमा कैलाली ७ लाख ७० हजार छ।
सबभन्दा कम जनसंख्या भएको जिल्ला मनाङमा ६ हजार ५ सय २७ छ भने मुस्ताङमा १४ हजारभन्दा कम। त्यसपछि डोल्पा, रसुवा र हुम्ला पर्छ।
कुल जनसंख्याको आधा तराई क्षेत्रमै छन्। दस वर्षअघि ४८ प्रतिशत तराईमा बसोबास गर्थे। हिमाली क्षेत्रमा ६.७४ र पहाडमा ४३.११ प्रतिशत छ। यसअघि हिमालमा ७ र पहाडमा ४४.३ प्रतिशत थियो।
विकास क्षेत्रका आधारमा सबभन्दा बढी मध्यमाञ्चल (३६.५ प्रतिशत) र सबभन्दा कम सुदूरपश्चिमाञ्चल (९.६ प्रतिशत) छ।
कुल जनसंख्याको १७ प्रतिशत सहरी र बाँकी ८३ प्रतिशत ग्रामीण क्षेत्रमा छन्। सहरी जनसंख्या वृद्धिदर ३.३८ र ग्रामीणमा १.०३ प्रतिशत छ। यसले ग्रामीणबाट सहरी क्षेत्रमा बसाइसराइ तीव्र रहेको देखाउँछ।
जनगणनाअनुसार २३ जिल्लामा जनसंख्या वृद्धिदर अघिल्लोभन्दा घटेको छ। खासगरी द्वन्द्वको चपेटामा परेका जिल्लामा जनसंख्या कम भएको देखिन्छ।
'यो प्रारम्भिक नतिजा हो, पछि घटबढ हुनक्छ,' सुवालले भने, 'कम्प्युटर प्रोसेसिङका बेला
यसमा सामान्य परिवर्तन आउँछ।'
अघिल्लो जनगणनामा पनि प्रारम्भिकभन्दा केही फरक नतिजा आएको विभागले जनायो। महानिर्देशक उत्तमनारायण मल्लका अनुसार त्यतिखेर एक लाखभन्दा कम फरक परेको थियो।
दस वर्षमा १४ लाख परिवार थप
दस वर्षमा कुल १४ लाख ६ हजार ७ सय ६४ परिवार थप भएको गणनाले देखाएको छ। अहिले परिवार संख्या ५६ लाख ५९ हजार ९ सय ८४ छ। नतिजाअनुसार देशभर ४७ लाख ६७ हजार १ सय ९६ घर छन्। घर र परिवारको अनुपातमा प्रत्येक सय घरमा औसत १ सय १९ परिवारको बसोबास रहेको पाइएको छ।
जनगणनाले परिवारको आकार पनि पहिलेभन्दा सानो भएको देखाएको छ। यसअघि ५.४४ सदस्य रहेको एक परिवारमा अहिले ४.७० रहेको विभागले जनाएको छ।

छ दशकदेखिको जनसंख्या
वर्ष/वि.सं. जनसंख्या/हजारमा वार्षिक जनसंख्या वृद्धिदर/प्रतिशतमा
२०१८ ९,४१३ १.३१
२०२८ ११,५५६ २.०५
२०३८ १५,०२३ २.६२
२०४८ १,८४,९१ २.०८
२०५८ २,३१,५१ २.२५
२०६८ २,६६,२१ १.४०

बसोबास बढी भएका ५ जिल्ला
काठमाडौं- १७,४०,९७७
मोरङ - ९६४,७०९
रुपन्देही- ८८६,७०६
झापा- ८१०,६३६
कैलाली- ७७०,२७९

वैद्य समूह रक्षामन्त्रीको राजीनामा माग्दै सडकमा उत्रने - onlinekhabar


११ असोज, काठमाडौँ । एकीकृत नेकपा माओवादीको मोहन वैद्य समूह रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामा माग गर्दै सडक आन्दोलनमा उत्रने भएको छ ।
उक्त समूह निकट भातृ तथा भगिनी संगठनहरुको आज बिहान ललितपुरको कुपण्डोलमा बसेको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको हो । वैद्य निकट दलित संगठनका अध्यक्ष तिलक परियारले मुलुक टुक्रयाउने रक्षामन्त्रीको अभिव्यक्तिविरुद्ध आज अपराहृन ४ बजे जावलाखेलमा जम्मा भएर जुलुससहित शान्तिबाटिकामा पुगेर कोणसभा गर्ने निर्णय भएको अनलाइनखबरलाई जानकारी दिए । परियारले रक्षामन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै बैठकले तत्काल उनलाई बर्खास्त गर्न प्रमानमन्त्री डा.बाबुराम भट्टराईसमक्ष माग गर्ने निर्णय भएको पनि बताए । परियारले मन्त्री भण्डारीको अभिव्यक्ति कुनै नौलो नभई चारबँदे सहमति अनुसारै आएको दाबी गरे । बैठकले सो अभिव्यक्तिविरुद्ध संयुक्त विज्ञप्ति जारी गर्ने निर्णयसमेत गरेको छ । वैद्य समुहले आफ्नै पार्टी र मधेसी मोर्चबीच सत्ता गठबन्धन निर्माणका बेला भएको चारबुँदे सहमतिलाई राष्ट्रघाती भन्दै खारेजीको माग गर्दै आएको छ ।
बैठकमा वैद्य निकट दलित, विद्यार्थी, किसान, मजदुर, बुद्धिजिवी, कर्मचारी, शिक्षक, जनसाँस्कृतिक महासंघ, उद्योग-व्यापार, क्रान्तिकारी पत्रकार संघ र राज्यद्वारा बेपत्ता पारिएका परिवार समाजयलगायत संघ-संगठनका प्रमुख र प्रतिनिधि सहभागी थिए । राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा मन्त्री भण्डारीले कांग्रेस-एमाले र माओवादीको वैद्य समूहले चारबुँदेलाई राष्ट्रघाती भनेकोमा त्यसको खण्डन गर्दै ‘मधेसका २२ जिल्लाले अलग हुने निर्णय गरे कुन ऐन र कानुनले मुलुक बचाउँछ ?’ भन्ने विवादस्पद अभिव्यक्ति दिएका थिए ।