Tuesday, May 31, 2011

कसरी जोगियो संविधान सभा? - mysansar

संविधान सभा जेठ १४ को मध्यरातसम्म जोगिने कुनै छाँटकाँट थिएन, जेठ १५ को बिहान ४ बजे दलहरुबीच सहमति भएपछि बल्ल जोगिएको थियो। तर यसबीच पर्दा पछाडि भएका कुराहरु सञ्चारमाध्यममा खासै आएनन्। के-के भएको थियो त पर्दापछाडि ?
पर्दापछाडिको कुरा गर्दा गएको मार्च महिनामा तीन मधेसी दलका नेताहरु भारतको निमन्त्रणामा दिल्ली गएको समाचारलाई  कसरी भुल्न सकिन्छ र। त्यहाँबाट फर्कने बित्तिकै विजयकुमार गच्छदारले भनेका थिए- ‘भारत संविधानसभाको अर्को अवधि थप गर्नुपर्छ भन्ने पक्षमा छैन’। भारतले आफ्नो इच्छा त्यतिबेला नै उनीहरुमार्फत् बकाइसकेको थियो। यसका लागि भारतले यस पटक खुला रुपमा दूत पठाएर हैन, गोप्य रुपमा जासुसी एजेन्सीमार्फत् गरेको लबिङ अन्ततः जेठ १५ को बिहानीसँगै असफल भयो। र, एक पटक पुनः भारतीय षड्यन्त्र असफल साबित भयो। आफ्नो इच्छा पूरा गराउन के के गरेको थियो त भारतले ?

गोप्य मिसन

अरु बेला भए भारतले प्रधानमन्त्रीका विशेष दूत, भारतको विशेष दूत भन्दै कुनै मान्छे नेपालमा पठाउँथ्यो। तर यस पटक त्यसो गर्दा नेपालमा भारतको हस्तक्षेप प्रत्यक्ष रुपमा देखिने र नेपालमा भारतविरोधी भावना अझै बढ्न सक्ने भयले उसले यस पटक बाहिर देखिने गरी त्यस्तो प्रतिनिधि पठाउन चाहने। त्यसको सट्टा पठाए भारतीय गुप्तचर संस्था ‘र’का उच्च अधिकारीहरु। ‘र’ का डेपुटी चिफ एबी माथुर र दक्षिण एसियाली मामिलाका प्रमुख आलोक जोशी भारतको यस मिसनमा खटिएका थिए। उनीहरु काठमाडौँ आएको भोलिपल्टै उपेन्द्र यादवको मधेसी जनअधिकार फोरम फुटेको थियो।
उपेन्द्र यादव आफैले आफ्नो पार्टी विदेशी पैसाका भरमा फुटाइएको दावी गरेका थिए। सरकारले दुई तिहाई बहुमत पुर्‍याएर संविधान सभाको म्याद थप्ने देखिएपछि म्याद थपको विपक्षमा रहेको भारतका लागि त्यसो हुन नदिन फोरम फुटाउन जरुरी थियो। त्यसैले अकस्मात् कसैले सोच्दै नसोचेको दिनमा फोरम फुटाइयो।
कांग्रेस, एमाले, राप्रपा, राजपाका नेताहरुलाई गोप्य रुपमा यी ‘र’का अधिकारीहरुले भेटेका थिए। ‘र’का अधिकारीहरु काठमाडौँमा रहेको खबर ठूला मिडियामा खासै आएन। तर मुखैमुखबाट यति प्रचार भइसकेको थियो याक एन्ड यति होटलमा बसेका ‘र’ डेपुटी चिफ एबी माथुर आफ्नो वासस्थान परिवर्तन गर्न बाध्य भए। जेठ १४ सम्म उनीहरुले कम्तिमा पाँच वटा वासस्थान बदलेका थिए।

पूर्वराजा ज्ञानेन्द्रसितको भेट

माथुर र जोशी शुक्रबार साँझ पूर्व राजा ज्ञानेन्द्र बसिरहेको  निर्मल निवास छिरेका थिए। पूर्व भारतीय राजदूत केभी राजन र ज्ञानेन्द्रका व्यापारिक साझेदार प्रभाकर राणाले यो भेटघाटको चाँजोपाँजो मिलाएका थिए। भेटमा ज्ञानेन्द्रलाई सक्रिय भूमिका खेल्न उनीहरुले सुझाएका थिए। यसअघि पनि ज्ञानेन्द्र पटक पटक भारत भ्रमणमा गइसकेका छन्। पछिल्लो पटक पूर्व युवराज पारस भारतमा जाँदा दिल्लीमा राजतन्त्र समर्थकहरुले प्रदर्शन पनि गरेका थिए। यो भेटपछि शुक्रबार रात निर्मल निवासमा रात्री भोजसमेत भएको थियो। संविधान सभाको पहिलो बैठकले देशमा राजतन्त्रको अन्त्यको घोषणा गरेको र संविधान सभा भंग भइसकेपछि त्यो घोषणाको  पनि अर्थ नरहने हुनाले ज्ञानेन्द्र पनि हौसिएका थिए। संविधान सभा भंग भए जारी गर्नका लागि उनको नामबाट जारी गर्न एउटा वक्तव्य पनि तयार पारिसकिएको थियो। त्यसमा मैले दलहरुलाई जनताको नासो दिएको तर उनीहरुले त्यसको सदुपयोग गर्न नसकेकोमा दुःखी छु खालको व्यहोरा थियो भनिएको छ। १५ गते बिहान सहमति भएर संविधान सभा जोगिएपछि उनको वक्तव्य पनि खेर गएको थियो। ज्ञानेन्द्र र ‘र’का अधिकारीहरु बीच भएको भेटको समाचार कान्तिपुर एफएमले समेत प्रसारण गरेको थियो।

मधेसवादी दलमार्फत् भारत

तीन दलबीच भइरहेको सहमति प्रयासको वार्तामा मधेसवादी दल प्रवेश गरेपछि एकाएक वार्ताको गति अर्कैतिर मोडिएको थियो। १० हजार मधेसी अहिल्यै र पछि ५० हजार मधेसी सेनामा भर्ना गर्नुपर्ने लगायतका माग पूरा नभए एक मधेस घोषणा गरेर वीरगञ्जलाई राजधानी घोषणा गर्ने चेतावनी उनीहरुले दिएका थिए। आफ्ना माग पूरा नभए संविधान सभाबाट बाहिरिने अर्थात् राजीनामा दिने चेतावनी त गुप्ताले मिडियासामु खुल्लै रुपमा दिएका थिए। शान्ति प्रक्रियातर्फ केन्द्रित तीन दलको वार्ता मधेसवादी दलहरुको प्रवेशपछि प्रधानमन्त्रीको राजीनामा तर्फ मोडिएको थियो। भारतले संविधान सभा नजोगिए पनि कम्तिमा आफ्नो इच्छाविपरीत बनेको सरकारको प्रधानमन्त्रीलाई हटाउन अन्तिम प्रयास मधेसवादी दलमार्फत् गरेको यसबाट देखिन्छ। तर मधेसवादी दलका सभासदहरु पनि संविधान सभा भंगको पक्षमा हुने थिएनन् र भोट क्रसको खतरा थियो। त्यसैले अन्तिममा उनीहरुले तटस्थ बस्ने निर्णय गरे र संविधान सभाको म्याद थपको स्वागत गरे।

कांग्रेसभित्रै आरोप-प्रत्यारोप

यथास्थितिमा म्याद थप कुनै हालतमा पनि नगर्ने अडान लिएको सिंगो कांग्रेस अन्तिम समयमा विभाजित हुन पुग्यो। कांग्रेसको अडानमा सभापति सुशील कोइराला र महामन्त्री कृष्णप्रसाद सिटौला मात्रै रहन पुगे। रामशरण महत लगायतका केही देउवापक्षीय नेताले त सिटौलालाई पहिले चाहिँ माओवादीलाई टाउकोमा बोकेर जथाभावी सम्झौता गर्ने, अहिले चाहिँ ‘र’को एजेन्ट भएर संविधान सभा भंग गराउन खोज्ने भनेर गाली गरेका थिए। सिटौलाले पनि देउवापक्षलाई माओवादीले देखाएको प्रधानमन्त्रीको कुर्सीको लोभमा फँसेको भनी गाली गरेका थिए।  सिटौलाले उनीहरु पार्टीको अडानबाट पछि हटेको भन्दै कांग्रेसको १० बूँदे माग प्रति अडान व्यक्त गर्न केन्द्रीय समितिको बैठक डाक्ने चेतावनी दिँदा महत लगायतका नेताले पनि संसदीय दलको बैठक डाक्ने चेतावनी दिएका थिए। संसदीय दलमा अधिकांश सभासद म्याद थपको पक्षमा हुन्थे।
कांग्रेस समर्थित साप्ताहिक पत्रिका ‘तरुण’ले भारतले माओवादीलाई बुझेको हुँदा माओवादीलाई साइजमा ल्याउन दबाब दिएको तर युरोपेली मुलुकहरुको संस्था इयु चाहिँ माओवादीलाई शान्ति प्रक्रिया मार्फत् नै ठाउँमा ल्याउन खोज्ने गरेको र कांग्रेसमा भारतभन्दा इयु हावी भएको विश्लेषण हिजोको अंकमा गरेको थियो (किन हो कुन्नि त्यो समाचार छापा संस्करणमा भए पनि अनलाइनमा भने छैन)

भारत चुप !

संविधान सभाको म्याद थपिएकोमा युरोपेली युनियन, नर्वे, स्विटजरल्यान्डले स्वागत गरी वक्तव्य निकाले। अमेरिकाले पनि स्वागत गर्‍यो। राष्ट्रसंघका महासचिवले पनि स्वागत गरे। तर नेपालको बारेमा सबैभन्दा चासो लिने दक्षिणी छिमेकी भारत भने रहस्यमय हिसाबले यी शब्द लेख्दासम्म चुप छ। कारण प्रष्ट छ- ऊ ‘सक’ भएको छ। संविधान सभा भंग गराउन भएभरको प्रयास गर्दा पनि असफल भएपछि नेपाल मामिलामा असफलताको यो अर्को शृङ्खलालाई कसरी हेर्ने भनी भारतले कुनै निर्णय गर्न सकेको छैन।

र, सकारात्मक सोच

नेपाली दलहरुले मिलेर विदेशी षड्यन्त्रलाई निस्तेज त बनाए तर माओवादी शान्ति प्रक्रियामा अघि नबढ्ने हो भने तीन महिनापछि फेरि यस्तै स्थिति निम्तन बेर लाग्दैन। अबको तीन महिनामा दलहरु केही नगरी यत्तिकै बस्न सक्दै सक्दैनन्। उनीहरुलाई यो तीन महिनाको समयले पक्कै पनि दबाब दिनेछ। तीन महिनामा संविधान नबन्ने त निश्चित प्राय नै हो। तर यो तीन महिनाभित्र सेना समायोजन र माओवादीको हतियारसँगको सम्बन्ध विच्छेद गर्ने प्रक्रियालाई पूरा गर्न दबाब पर्नेछ। संविधानको पनि पहिलो मस्यौदा यो अवधिमा गर्नै पर्ने दबाब उनीहरुमा पर्नेछ। यो भयो हाम्रो सकारात्मक सोच, हुने के हो, हेर्न बाँकी छ।


Sunday, May 29, 2011

पूर्वराजाका तस्बिरअंकित नोट खिच्न प्रक्रिया सुरु - nagariknews

काठमाडौं, जेठ १५ (नागरिक)- राष्ट्र बैंकले पूर्वराजका तस्बिर अंकित नोट बजारबाट विस्थापन गर्न पुनः प्रकृया सुरु गरेको छ। यसका लागि राष्ट्र बैंकले नोट खिच्नका लागि राजपत्रमा सूचना प्रकाशित गर्न सरकारलाई पत्र पठाइसकेको छ।
  बजारमा करिब ८ अर्ब रुपैयाँ बराबरको पूर्वराजाका तस्बिर अंकित नोट छन्। ‘राजपत्रमा सुचना प्रकाशित भएलगत्तै कारवाही सुरु गर्छौ,' राष्ट्र बैंक नोट विभागका एक अधिकारीले शनिबार नागरिकसँग भने, ‘पहिलेजस्तो विवाद नहुने गरी नोट खिँच्छौं। यो काम लगभग ६ महिनाभित्र सक्ने योजना छ।' राष्ट्र बैंकले गत फागुनमा पूर्वराजाको तस्बिर अंकित नोट बजारबाट हटाउन सुरु गरिसकेको थियो। तर जनदवाव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि चैत २ गते नोट फिर्ता लिने निर्णय बदलेर कारवाही स्थगित गरेको थियो।
राष्ट्र बैंकले जेठ पहिलो साता नोट विस्थापनका लागि राजपत्रमा सुचना निकाल्न सरकारलाई पत्रचार गरेको हो। पत्रचार भएको एक महिनामा सुचना प्रकासित हुने गरेको प्रचलन छ।
राष्ट्र बैंक स्रोतका अनुसार, सर्वसाधारण जनतालाई कुनै पनि किसिमको असुविधा नहुने गरि बजारबाट पूर्वराजाको तस्बिर अंकित नोट हटाइने छ। यसका लागि कस्तो प्रकृया अवलम्वन गर्दा राम्रो हुन्छ भनेर छलफल भइरहेको ती अधिकारीले जानकारी दिए।
फागुनमा नोट विस्थापन गर्दा राष्ट्र बैंकले सर्वसाधारणलाई पर्याप्त सुचना दिएको थिएन। यसले गर्दा अशिक्षित तथा दुर्गमका जनताले भविस्यमा पैसा नचल्ने भन्दै १ हजारको नोट पाँच सयमा विक्री गरेका थिए। ‘दुर्गमका जनतालाई केही पनि मुस्किल नहुने गरी नोट खिँच्छौं,' ती अधिकारीले भने, ‘विगतमा अन्जानवस जनतामा त्रास फैलिएको थियो। यसपाली त्यस्तो कमजोरी हुँदैन।' उनले यसपाली पनि विभिन्न ठाउँमा नोट संकलन केन्द्र राखेर पूर्वराजाका तस्विर अंकित नोट हटाइने जानकारी दिए।
राष्ट्र बैंकका अधिकारीहरुका अनुसार, नोट साट्नका लागि समय तोकिएपछि संकलन केन्द्रवाहेक अन्यत्र भने पूर्वराजाको पैसा चल्दैन। तर सवैलाई सजिलो होस् भनेर संकलन केन्द्रको संख्या वढाइने छ। ‘बैंक तथा वित्तीय संस्थाको समेत सहयोग लिएर तस्विर अंकित नोट साटिने छ,' एक अधिकारीले भने, ‘यसपाली नोट साट्नका लागि पर्याप्त सुचना पनि दिइने छ।'
राष्ट्र बैंकले चार वर्षअघि मन्त्री परिषद्ले गरेको राजाको फोटो अंकित नोट हटाउने निर्णयलाई कार्यान्वयन गर्ने क्रममा नयाँ नोट नीति लिएको थियो। तर बजारबाट नोट खिच्न सरकारले मात्र सक्ने अवस्थामा त्यो प्रकृया पुरा नगरी राष्ट्र बैंकले आफुखुसी गरेको थियो। अख्तियारले राजाको फोटो अंकित नोट नचल्ने व्यवस्था कानुन संगत नभएको भन्दै यसलाई पूर्ववत चल्न दिन निर्देशन दिएपछि राष्ट्र बैंक पछाडि फर्किएको थियो। राष्ट्र बैंक ऐनमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी जुनसुकै दरको बैंक नोट कुनै तोकिएको ठाउँ वा अड्डामा वाहेक अन्यत्र नचल्ने गराउन सक्ने व्यवस्था छ।
राजाको नोट फिर्ता गराएर राष्ट्र बैंकले त्यसको वद्लामा नयाँ छापेर कमिसन खान खोजेको भन्दै नारायण दाहालले उजुरी दिएपछि अख्तियारले केन्द्रीय बैंकका अधिकारीलाई स्पष्टिकरण सोधेको थियो। राष्ट्र बैंकको निर्देशनका कारण बैंकले नोट नसाट्ने त्रासले सरकारी तथा निजी संस्था, पसल, सार्वजनिक यातायातमा यदाकदा मात्र राजाको फोटो अंकित नोट कारोबार भएको थियो।
चैतमा नोट विस्थापन सुरु गर्दा राष्ट्र बैंकले दुई दिनमा नै २ अर्ब रुपैयाँ बराबरको पूर्वराजका तस्बिर अंकित नोट बजारबाट संकलन गरेको थियो। त्यतिखेर बजारमा करिव १० अर्ब २६ करोड रुपैयाँ राजाको फोटो अंकित नोट थियो।

Saturday, May 28, 2011

अब विदेशबाट नेपाल आउनेले सुटुक्क सामान ल्याउन नपाउने - mysansar

विदेशबाट नेपाल फर्किनेहरुले पहिले टन्नै सामान घरायासी प्रयोगका लागि भन्दै ब्यागमा कोचेर लान पाउँथे। तर अब त्यसो गर्न नपाइने भएको छ। आइतबारदेखि भन्सार विभागले सबै स्थल नाकामा र हवाई नाकामा समेत सय रुपैयाँभन्दा बढीका सामान ल्याउने सबैलाई कर तिर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरेको छ। विदेशमा बसेर आउनेले सय रुपैयाँभन्दा माथिका कुनै न कुनै सामान ल्याइहाल्छन् भनेर एयरपोर्टमा नेपाल भित्रिने सबै यात्रुलाई संक्षिप्त प्रज्ञापनपत्र भर्न अनिवार्य गरिएको छ। तपाईँ सामान ल्याउनु्स् वा नल्याउनुस्, फाराम भर्नैपर्छ, भर्दिन भन्न पाइन्न। कस्तो हुन्छ त यो फाराम ? हेर्न भित्र आउनुस्-

संक्षिप्त प्रज्ञापन पत्रको नमूना। ठूलो पारेर हेर्न फोटोमा क्लिक गरे हुन्छ


अनि त्यसो भए के सबै सामानको कर तिर्नुपर्छ त ?
हैन, सबैको तिर्नुपर्दैन। भन्सार विभागका महानिर्देशक टंकमणि शर्माका अनुसार निजी गुन्टा झिटी भारीको सुविधा खारेज गरिएको छैन। त्यो भनेको के भनेर अचम्ममा पर्नु भो ? एक सय ८० दिन विदेशमा बस्ने नेपालीले आफूले प्रयोग गरेको एकसरो सामान कर नतिरी ल्याउन पाउँछन्। के कस्ता सामान ल्याउन पाउने हुन् त ? हेर्नुस् सूचि-
बिदेशबाट फर्केका नेपाली यात्रुका सम्वन्धमाः (१) नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका देहायमा उल्लिखित सबै वा कुनै मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुनेछः
(क) लुगाफाटा, बरबिर्छ्यौना, घर गृहस्थीका पुराना सामानहरु,
(ख) औषधी उपचार गराई फर्केका विरामीले ल्याएका औषधीहरु,
(ग) शारीरिक अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,
(घ) सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय ग्रामसम्म र तीस हजार रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरिया,
(ङ) घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ एक एक थान,
(च) बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान,
(छ) पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थान
(जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, बैडमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु)।
(ज) चार किलोग्रामसम्म खाद्य परिकार।
(झ) मदिरा १.१५ लिटरसम्मको बोतल एक।
तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका खण्ड (झ) मा उल्लिखित सामान बाहेक यस उपदफामा उल्लिखित अन्य सामानहरु कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति दिन सक्नेछ। खण्ड (झ) मा उल्लिखित मदिरा तोकिएभन्दा वढी परिमाणमा ल्याएमा वढी परिमाण जति जफत हुनेछ।
व्यक्तिगत प्रयोजनका लागि ल्याउने कुन कुन सामानका भन्सार (कर) लाग्छ ?
नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोजनका देहायमा उल्लिखित सबै वा कुनै मालसामान प्रचलित आर्थिक ऐन बमोजिम समदरमा लाग्ने महसुल तिरी ल्याउन पाउने छन्। यस्ता मालसामान आफू आउनु अघि वा पछि चलान गरेको भएमा आफू नेपाल प्रवेश गरेको मितिले तीन महिनाभित्र भन्सार गोदाममा दाखिल भैसकेको हुनु पर्नेछ।
(क) टेलिभिजन, म्यूजिक सिष्टम, रेफ्रिजरेटर, वासिङ्ग मेशिन, पंखा, रेडियो, सि.डि. प्लेयर, भि.सि.डि. प्लेयर, डि.भि.डी. प्लेयर, भिडियो क्यामरा र कम्प्युटर एक एक सेट।
(ख) शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कष्मेटिक्स आदि बढीमा पन्ध्र थान।
(ग) घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुसर, सिलाइ मेशिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर जस्ता) दुई/दुई थान।
(घ) दश किलोग्राम सम्म खाद्य परिकार।
(ङ) व्यवसायिक पेशामा लागेका (डाक्टर, इन्जिनियर जस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई/दुई थान।
(च) खण्ड (क) देखि (ङ) सम्मका सामान बाहेक नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई दुई थान।
तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका यस उपदफामा उल्लिखित सामानहरु कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी लाग्ने समदरको महसुल लिई जाँचपास गर्ने स्वीकृति दिन सक्नेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशमा छ महिनाभन्दा बढी अवधि बिताई फर्केका यात्रुले आफू पुगेको ठाउँबाट उपदफा (२) बमोजिमका सामान आफूसाथ ल्याएमा वा आफू आउनुभन्दा अघि वा पछि पठाएमा निम्न बमोजिमको मूल्यसम्ममा लाग्ने भन्सार महसुल पूर्ण रुपमा छुट दिइनेछ र त्यस्तो मालसामानको प्रज्ञापनपत्र नभराई छुट्टै अभिलेख राखी जाँचपास गर्न सकिनेछ। छुट सीमाभन्दा बढी मूल्यको सामान भएमा बढी मूल्यमा प्रचलित आर्थिक ऐन बमोजिम समदरमा भन्सार महसुल लाग्नेछ।
(क) छ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्केमा पाँच हजार रुपैयाँसम्म,
(ख) एक वर्षभन्दा बढी जतिसुकै अवधि विदेशमा बसी फर्केमा दश हजार रुपैयाँसम्म,
(४) सोह्र वर्षभन्दा कम उमेरका यात्रुले उपदफा (३) बमोजिमको छुट सीमाको पचास प्रतिशत मात्र सुविधा पाउनेछ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि देहायको कुरामा देहाय वमोजिम हुनेछः
(क) भारत तथा चीनको स्वशासित क्षेत्र तिव्वत वाहेक अन्य विदेशी मुलुकमा छ महिनाभन्दा बढी अवधि व्यतित गरी फर्केका नेपाली यात्रुले आफ्नो साथमा ल्याएको एक सेट कम्प्युटरमा भन्सार महसुल छुट हुनेछ।
(ख) विदेशमा बसेका नेपाली यात्रुहरुले आफूले प्रयोग गरेका लत्ता कपडाहरु हुलाक पुलिन्दाबाट पठाउँदा त्यस्तो लत्ता कपडामा भन्सार महसुल छुट हुनेछ।
(ग) विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई उपदफा (२) बमोजिमका सामानमध्ये अमेरिकी डलर दुईसय पचाससम्मको सामान पठाएमा प्रमाण हेरी लाग्ने समदरमा भन्सार महसुल लगाई जाँचपास गर्न सकिनेछ।
(घ) विदेशमा छ महिना वा सोभन्दा बढी समय बसी फर्किने नेपाली यात्रुलाई तीनसय पचास ग्रामसम्म सुन र एक किलोग्रामसम्म चाँदी (गरगहना समेत) लाग्ने महसुल लिई साथमा ल्याउन दिइनेछ।
(ङ) चुरोट दुइसय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म दरवन्दी बमोजिम लाग्ने महसुल लिई पैठारी गर्न दिइनेछ। यसमा तोकिएको परिमाणभन्दा बढी चुरोट वा सिगार ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार महसुलमा शतप्रतिशत थप भन्सार महसुल समेत असुल गरी जाँचपास गर्न सकिनेछ।
(च) कुनै नेपाली नागरिकको विदेशको बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भएमा निज र निजको परिवारको निजी प्रयोगका पुराना सबै किसिमका सामानहरु (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल छुट हुनेछ।
(छ) भारतीय सेना वा प्रहरीबाट सेवानिवृत्त भई निवृत्तभरण पाउने गरी स्वदेश फर्कंदा निवृत्त भएको कागजात पेश गरेमा एक पटकको लागि तीस हजाररुपैंयासम्मको निजी प्रयोगका घरायसी सामानहरु (सवारी साधन, हात हतियार, खरखजाना एवं अन्य प्रतिवन्धित सामानहरु बाहेक) ल्याएमा सम्पूर्ण महसुल छुट हुनेछ।
(ज) सेमिनार, अध्ययन, अनुसन्धान तथा शोधकार्यको लागि विदेश ओहोरदोहोर गर्ने नेपाली नागरिकले आफ्नो साथमा ल्याउने लैजाने एक थान कम्प्यूटर आवश्यक प्रमाण हेरी कुनै महसुल नलिई ल्याउन लैजान दिइनेछ।
(झ) वाणिज्य मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी व्यक्तिगत प्रयोजनको लागि पैठारी गर्न पाउने भनी तोकेको तर यस सूचनामा उल्लेख नभएका मालसामानहरु कुनै यात्रुले पैठारी गरेमा लाग्ने महसुल लिई त्यस्तो सामान जाँचपास गरिनेछ। तर त्यस्तो सामानका हकमा दफा १ को उपदफा (३) बमोजिम मूल्य छुट सुविधा दिइने छैन।
(ञ) विदेशबाट फर्केका यात्रुले ल्याएको सामान अन्य व्यक्तिको नाममा जम्मा गर्न वा नामसारी गरी छुटाउन पाइने छैन।
(ट) यो सूचनामा भएको व्यवस्थाका सम्बन्धमा कुनै द्विविधा परेमा भन्सार विभागका महानिर्देशकको निर्णय अन्तिम हुनेछ ।
(नेपाल सरकारले भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी कुनै यात्रुले आफ्नो निजी गुण्टा, झिटी भारीमा आफूसँग ल्याएको वा लगेको (एकम्पनिड) वा आफू आउनुभन्दा अघि वा पछि ल्याएको वा पठाएको (अनएकम्पनिड) माल सामानमा लाग्ने भन्सार महसुल सम्वन्धमा मिति २०६५ साल कार्तिक १ गतेदेखि लागू हुने गरी प्रकाशित “निजी गुण्टा, झिटी भारी” सम्बन्धी सूचनाबाट। यो व्यवस्था आइतबारदेखि कडाइका साथ लागू गरिएको हो। कुनै यात्रुले भन्सारमा घोषणा नगरी
कुनै सामान लुकाई छिपाई ल्याएमा वा ल्याउने लैजाने प्रयत्न गरेमा त्यस्ता सामान जफत गरी प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ।)

भदौ १४ सम्म थपिने भो म्याद - mysansar

अन्ततः दिनभर र रातभरको प्रयासपछि उज्यालो हुन थालेपछि बल्ल संविधान सभाको म्याद भदौ १४ गतेसम्म अर्थात् तीन महिनासम्म थपिने भएको छ। दलहरुबीच एकाबिहानै झिसमिसेमा पाँच बूँदे सहमति भएपछि तीन महिनाका लागि म्याद थप्ने टुंगो लागेको हो। पाँच बूँदे सहमतिमा प्रमले राजनीतिक सहमतिका लागि राजीनामा दिने, संविधान सभाको म्याद तीन महिना थप्ने,तीन महिनाभित्र संविधानको प्रारम्भिक मस्यौदा तयार गर्ने र शान्ति प्रक्रिया र सेना समायोजन ३ महिनामा सक्ने र नेपाली सेनालाई समावेशी बनाउन मधेसवादी दलसँग पहिले भएका सम्झौताको कार्यान्वयन रहेका छन्। तीन महिनामा त्यो सब भएपछि भदौ १४ मा फेरि तीन महिना म्याद थपिने भनिएको छ संविधान लेखन र घोषणाका लागि। स‍ंसदले म्याद थपको विधेयकमा भएको मतदानको घोषणा हुँदै गर्दा बिहान साढे पाँच बजे पूरै उज्यालो भइसकेको थियो। ५०८ कूल मत खसेकोमा राप्रपाका चार जनाले मात्रै म्याद थप गर्न नहुनेमा मतदान गरेका थिए।



अन्ततः रातिराति सहमति गर्ने भनी भएको आलोचनालाई पचाउँदै यसपालि बिहान झिसमिसेमा सहमति त भयो तर स‍ंविधान सभाको म्याद भन्दा पनि यो त विवादका टार्ने अवधि जस्तो देखिएको छ। त्यो सहमतिको भाषा हेर्नुस् त- शान्ति प्रक्रियाका मूलभूत काम सम्पन्न गर्ने रे। अब यो मूलभूत भनेको के के हो, ककसले के के अर्थ लाउने हुन्। ३ महिनामा के होला हेर्न बाँकी छ। अर्को बूँदामा तीन महिनाभित्र संविधानको पहिलो मस्यौदा बनाउने भनेका छन्। प्रधानमन्त्रीको राजीनामा माग्दै र सरकार बनाउँदै मन्त्री बनाउँदै त्यसका लागि बार्गेनिङ गर्दै समय नहुने होला, के बनाउँथे होला र मस्यौदा तीन महिना भित्रै। तीन महिनामा त मस्यौदा मात्रै त्यो बनाइसकेपछि पूरा बनाउन फेरि म्याद त थप्नुपर्छ नै। तेस्रो बूँदामा त मधेसीले अघि नै असन्तुष्टि जनाएर मतदानमा सहभागी नै भएन। चौथोमा प्रमको राजीनामाको कुरा छ तर कहिलेसम्म भन्ने छैन। कहिले बन्ने त सहमतिको सरकार ? भनेपछि फेरि भदौ १४ गते यसरी नै दिनभर, रातभर र बिहानसम्म दुःख गर्नुपर्ने भो त ? आशा गरौँ त्यस्तो नहोस्।





Thursday, May 26, 2011

अमेरिकाले भिसा दिएन राजेशपायललाई - onlinekhabar

विश्व सांगितिक यात्रामा रहेका नेपाली गायक राजेश पायल राईलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । आफ्नो नयाँ एल्बम राई इज किङको प्रचार प्रसारका लागि युरोपसहित अमेरिकाका बिभिन्न स्थानमा कन्र्सट आयोजना गर्ने तयारीमा रहेका राईलाई काठमाण्डौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको हो ।
यसअघि कन्र्सट देखाउने भन्दै अमेरिका पुगेका अधिकांश नेपाली गायक-गायिकाहरु उतै लुकेर बसेकाले राईमाथि पनि शंका गर्दै दूतावासले भिसा दिन अस्वीकार गरेको हो । राईलाई भिसा दिन नसकिएको भन्दै दूतावासका एक अधिकारीले भने-’नेपाली गायकप्रति बिश्वास घटेकाले यसको असर राईमा पनि पर्‍यो, राईप्रति पूर्वाग्रही भएको हैन् ।’
राई सेप्टेम्बर १५ देखि अमेकिकाका बिभिन्न नेपाली बहुल क्षेत्रमा सांगीतिक कार्यक्रम देखाउने तयारीमा थिए । अमेरिकाले भिसा नदिएपछि उनको अमेरिकामा कार्यक्रम देखाउने योजना स्थगित भएको छ । उनी हालैमात्र हङकङमा सांगीतिक कार्यक्रम देखाई मंगलबार नेपाल फर्किएका थिए ।
बिश्वका बिभिन्न मुलुकमा सांगीति कार्यक्रम देखाइसकेका राजेश अहिलेसम्म अमेरिका भने पुगेका थिएनन् । उनको टोलीमा धेरै सदस्य भएकाले पनि राईलाई भिसा दिन अस्वीकार गरिएको बताइएको छ । पछिल्लो समयमा गायक यम बराल लगायत संगीतकर्मीहरु कार्यक्रम देखाउने भन्दै अमेरिका पुगेर उतै लुकेर बसेका छन् । हाल नेपालका महाबाणिज्यदूत प्रेमराजा महतदेखि, पुजा चन्द, करिश्मा मानन्धर, यम बराल, भगवान भण्डारी र रञ्जना शर्मासम्म पनि कार्यक्रमकै बहानामा अमेरिका पुगेर लुकेका हुन् ।

पूर्व अर्थसचिव खनाल हेल्प नेपाल नेटवर्कमा आवद्ध - onlinekhabar

१२ जेठ, काठमाण्डौ । अर्थमन्त्री भरतमोहन अधिकारीसँग मतभेद भएपछि हालै अर्थसचिवबाट राजीनामा दिएका रामेश्वर खनाल हेल्प नेपाल नेटवर्क नामक गैरसरकारी संस्थामा कार्यकारी सदस्यकारुपमा आबद्ध भएका छन् ।
हेल्प नेपाल नेटवर्क विश्वका विभिन्न देशमा बसिरहेका नेपालीहरूको सबभन्दा ठूलो कल्याणकारी संस्थाका रुपमा रहेको हेल्प नेपाल नेटवर्कमा आबद्ध भएपछि खनालले संस्थाका कल्याणकारी काममा समय खर्च गर्नेछन् ।
राजिनामा पश्चात खनालले भविष्यमा आफू कुनैपनि सरकारी वा तलवी जागिर नखाने र सम्पूर्ण समय कल्याणकारी काममा ब्यतित गर्ने बताएका थिए । हेल्प नेपाल नेटवर्क-नेपालका अध्यक्ष अरुण सिँह बस्नेत भन्छन्, ‘खनाल जस्ता ब्यक्तिले हेल्प नेपाल नेटवर्ककको आदर्शको प्रवर्धन गर्न हामीलाई साथ दिएकोमा हामी अत्यन्त प्रोत्साहित र गर्वित छौं।’
नेपाल, अमेरिका, बेलायत र अस्ट्रेलिया लगायत हेल्प नेपालका चौधवटा देशहरुमा शाखाहरू छन्। अन्तराष्ट्रीय दाताहरूको सहयोग खोज्नुभन्दा हेल्प नेपालले कमसेकम महिनाको एक बोटल बियर कम पिएर या केही प्लेट मम कम खाएर नेपालीहरूलाई नै नेपालका लागि योगदान पुर्याउन प्रेरित गर्दछ।
हेल्प नेपालले दर्जनौं परम्परागत र इलेक्ट्रोनिक पुस्तकालयहरू, दर्जनौं विद्यालयहरू निर्माण गरिसकेको छ। त्यसैगरी संस्थाले कयौं स्वास्थ्य शिविरहरू संचालन गर्नुका साथै विकट मुगु जिल्लामा स्वास्थ्य चौकी संचालन गरिरहेको छ। संस्थाले धुलिखेलमा झण्डै एक करोडको लागतमा निर्माण गर्न लागेको बाल आश्रय लगभग पुरा हुन लागेको छ।
‘नेपालमा परोपकारलाई प्रवर्धन गर्न नेपालीहरूलाई नै प्रोत्साहित गर्ने मेरो सोच थियो।’- हेल्प नेपालसँग आबद्ध भएपछि पूर्वसचिव खनालले भने -’हेल्प नेपालले अत्यन्त विश्वाशिलो र प्रभावकारी ढँगबाट त्यही काम गरिरहेको छ,यो पवित्र अभियानमा सम्मिलित हुन पाएकोमा साह्रै खुशी छु।’

त्रिविले पालेका ज्वाइँहरुलाई ठीक पार्ने बेला भो - mysansar -दीपक बस्याल

मातृभूमिलाई सेवा गर्ने झुटो वाचा बाँधेर विदेशमा अलप भएका डाक्टर साबहरुको कथा माइसंसारमा पढिसकेपछि लाग्यो कि यसरी मातृभूमिप्रति झुटो वाचा गर्ने ती सुई घोच्ने डाक्टरहरु मात्र होइनन्, अर्का थरि सुई नघोच्ने खालका डाक्टरहरु पनि प्रशस्तै छन्। भन्नाले विद्यावारिधी (पीएचडी) गर्न भनेर परदेश छिरेका डाक्टर साबहरु। कथा त यिनको पनि भनि सक्नुको छ , भलै तिनै सुइ घोच्ने डाक्टर साबहरुले जत्ति नै चाहिँ रकम यिनले निलेका चाहिँ नहोलान्। तर पनि मातृभूमिप्रति झुटा कसम खाने यी फरक बेइमान डाक्टरहरुको कर्तुतको कथा पनि सार्वजनिक गर्न जरुरी छ।
चलनचल्तीको भाषामा यिनलाई त्रिविले पालेका ज्वाईँ भनिन्छ। यी ज्वाईँ सापहरु ससुरालीले दिएको दक्षिणा यसरी क्वाप्प पारिरहेका छन् कि मानौँ यो उनीहरुको पुर्ख्यौली सम्पति हो। देशमा भस्टाचार, लुटतन्त्र र अराजकता भएको कुराको वकालत गर्ने दिग्गजहरुमा यिनै डाक्टरसाबहरु पहिलो सूचीमा पर्दछन्। शुक्रबारे जाँड पार्टी होस् या शनिबारे बैठक, यिनकै भस्टाचारविरोधी विद्वता व्याप्त हुन्छ जताततै। तर, त्यो लुटतन्त्र भन्ने चलचित्रको सह-खलनायकहरुको भीडमा एक आफू पनि पर्छु भन्ने कुरा हाम्रा कथित बौद्धिक जमातहरु या त पर्वाह गर्दैनन् या त ठूला-ठूला चोरहरुको माझमा आफूले गरेको सानो चोरी नगन्य देखेका पनि हुन सक्छन्। तर सियो चोरे पनि चोर, सय चोरे पनि चोर, आखिर चोर त चोर नै हो नि!
माइसंसारमा “तिम्ले पराई ठानेपछि” भन्ने ब्लग पढिसकेपछि मैले पन्ध्र वर्षदेखि अमेरिका बस्दै आएका प्रोफेसर पोख्रेल (थर परिवर्तन) लाई फोन गरेर ठट्टयौली पारामा सोधेँ, “प्रोफेसर काका, दिन त हजुरका पनि सकिए जस्तो छ है , अब लिस्टमा नाम अनि घैँटोमा घाम लाग्ने दिन हजुरको पनि आए जस्तो छ। भोलि हाम्रो काकालाई पनि पत्रिकामा तीन पुस्तेसहित देख्ने दिन कस्तो होला? ”
सँधै रमाइलो पारामा गफ हाँक्ने प्रोफेसर काकाले आज मलिन स्वरमा बोले-
“उ बेलामा फितलो कानुनको उपहास गर्दै क्वाप्प पारियो पाउने जति सबै, अब पो समस्या पर्ला जस्तो छ त बाब्बै। अरु भन्दा पनि यदि सरकारी स्तरबाटै अहिले काम गरिरहेको विश्वविद्यालयमा मेरो त्यो कर्तुतको रिपोर्ट गरियो भने जागिरबाट पनि हात धुने स्थिति बन्न सक्छ, बरु कानुन अनुसार सबै क्षतिपूर्ति तिर्न परे जति पनि तयार छु, तर फोटो छाप्ने काम चाहिँ नगरे हुन्थ्यो। ”
प्रोफेसर काका निकै बहकिए भावनामा। लाग्दैथ्यो पर्नु पीर यिनलाई परेको छ आज।
सुरुवात मै यो भन्न चाहन्छु कि तिनै प्रोफेसर पोख्रेलसँग भएको त्यो डेढ घन्टे संवाद र मेरो त्रिवि सेवाको आफ्नै अनुभव घोलेर यो ब्लग तयार पारिएको हो।
कसरी ठगेका छन् विश्वविद्यालयलाई ?
त्रिभुवन विश्वविद्यालयमा उप-प्राध्यापकको रुपमा अथवा कुनै स्तरको स्थायी अध्यापकको रुपमा नियुक्ति भैसकेपछि मास्टरसाबहरुलाई अनुसन्धान गर्न सहयोग पुगोस् भनेर त्रिविले हप्तामा निकै कम समय अध्यापनको लागि छुट्टयाइ दिएको हुन्छ (१२-१५ घण्टा)।
विद्यार्थी गाह्रोसाह्रो पर्दा कक्षाकोठा बाहिर नै प्रश्न सोध्न वातावरण बनोस् (अफिस आवर भन्छ क्यारे) भनेर पनि प्राध्यापनको समय कम गरिएको हुन्छ। वर्ष दिनमा विदाकै हिसाब गर्ने हो भने माड्साबहरुले वास्तवमा काम गर्ने भनेको पुग नपुग साढे तीन महिना होला। दशैँ बिदा, बर्खे बिदा, जाडो बिदा अनि तिहार बिदा, यो दिवस बिदा, त्यो दिवस बिदा, अनि ह्यान् बिदा अनि त्यान् बिदा , बिदैबिदाको लामो लर्को हुन्छ। आकस्मिक रुपमा आउने बन्द हड्तालबाट पर्ने बिदाको चिट्ठाको त के हिसाब गराइ भो र।
त्यसो त हाम्रा विद्यार्थीलाई प्रश्न सोध्नु पनि पर्दैन अथवा सोध्नको लागि उपयुक्त वातावरण हुँदैन, त्यो अर्कै पाटो हो, यो कथा पनि कही नसक्नुकै छ। त्यसको बारेमा कुनै दिन कुनै अर्को ब्लगमा लेखौँला। तर यहाँ कुरा हाम्रा प्राध्यापकहरुको अनुसन्धानको लागि छुट्टयाएको समय र सम्पतिको गर्न जरुरी छ।
देशका विभिन्न समस्याले गर्दा अथवा श्रोत र साधनको अभावले गर्दा, आपतकालीन परिस्थितिले गर्दा अनुसन्धान गर्न सकिएन होला, त्यो पनि मान्न सकिन्छ। तर त्यो अनुसन्धानको लागि छुट्याएको भनिएको समयलाई प्लस टु मा लगानी गरेर व्यापारी बन्नु भनेर चाहिँ पक्कै पनि छुट्टयाएको हुँदै होइन, । तर हुन चै त्यही नै भइराखेको छ।
खैर, स्वास्नी छोराछोरी पाल्नै पर्‍यो, त्यो पुग नपुग १५ हजारले के हुन्छ र बाबै भन्लान् हाम्रा गुरुबाहरु, त्यो कुरामा पनि दम छ, जाबो १५ हजारले गतिलो घरमा महिनाको भाडा तिर्न त पुग्दैन। अनि खाने के ले, लाउने केले भन्लान्, त्यो कुरा पनि नाजायज मानी नहालौँ। लु ठीकै छ देशमा अरुले त ब्रम्हलुट गरेर भएकै छ भने बडो दुःख गरेर लामो लर्कोमा आठ घण्टा बिताएर बल्ल तल्ल भरेको पेट्रोलले भटभटे हुत्याउँदै दसतिर दौडधुप गरेर विसुद्ध सामाजिक सेवा अथवा उत्तम मानवीय धर्म अध्यापन गरिखान पनि किन नपाउनु भनेर भन्लान्, त्यो कुरा पनि मनासिब नै मान्नु नै पर्ला। गुणस्तरीय शिक्षा सरकारी विश्वविद्यालयले दिन सक्दैनन्, त्यसैले शिक्षाको गुणस्तरको लागि निजी विद्यालयमा लागेको भन्लान्, लु त्यो पनि ठिकै छ नि त, अहिलेलाई त्यो पनि मानिलिउँ।
अवसरवादी गद्दार भगौडाहरुको कर्तुत-
यस्ता धेरै अमान्य कुराहरु मानिरहँदा यो कुरा चाहिँ मेरो ब्रह्मले पटक्कै मान्न सकिरहेको छैन, हर हालतमा मान्न तयार छैन। त्यो कुन चाहिँ कुरा हो भन्नुभन्दा पहिले मातृभूमिको सेवामा मातृभूमि मै रगत र पसिना बगाउन तल्लीन ती साहसी गुरुहरुलाई साधुबाद टक्र्याउनु जरुरी छ। हाम्रा ती गुरुहरुप्रति जति नै सम्मानका भाषा बोले पनि कमै हुन्छ। भोलिको नयाँ नेपालको गोरेटो कोर्ने अनि गोरेटोमा सबैलाई मार्गनिर्देश गर्ने पात्रहरु तिनै हुन्।
तर ती अवसरवादी, गद्दार भगौडाहरुको कथा सार्वजनिक गर्नुपर्दा आफैलाई ग्लानीको महसुस हुँदैछ। ‘मेरो ज्ञान भण्डारलाई बढाउन लगानी गरिदेऊ, यो मुलुकमा मलाई पुग्ने ज्ञान आर्जन गर्न सकिनँ, म मेरो अध्ययनपछि आएर मुलुकको सेवा गर्नेछु’ भनेर झुटा कसम खाने तथाकथित गुरुहरुको लाम अब पररास्ट्रमा एमआरपीको लागि लाग्ने लाम भन्दा छोटो छैन, बरु लामै होला। सरकारी पैसा हजम गरेर विदेशी भूमिमा डकार्दै हिँड्ने माड्साबहरुको कथा अब सार्वजनिक हुन जरुरी छ।
गरेकै वाचा अनुसार फर्कने पनि छन्, तर एकदमै नगन्य, अर्को साधुवाद छ ती गुरुहरुलाई, जो मातृभूमि फर्केर देशको सेवामा मरिमेटेर लागिरहनु भएको छ। तर तलबी होस् या बेतलबी, अमेरिका होस् या क्यानाडा, भारत होस् या युरोप को कुनै अन्य मुलुकमा लुकेर बसेका हाम्रा भगौडा तथाकथित गुरुहरु आजको देशको अराजक स्थितिको धेरथोर भागीदार चाहिँ पक्कै हुन्। त्यसैले यी भगुवाहरुको कथा यसकारण पनि भन्न जरुरी छ कि मातृभूमिप्रति झुटा कसम खाएका सुविधाभोगी हरुले परदेशमै फेरि अर्को तानाबाना बुनेर अरुलाई जालझेल गर्न नसकुन्। यहाँनिर यो भन्नै पर्छ प्रवासमा खुलेका अधिकांस नेपाली संस्थाहरुमा प्रमुख पदीय जिम्मेवारी पनि यिनै भगौडाहरुको पोल्टामा पर्ने गरेको छ।
कान्छा ज्वाइँहरु यस्ता हुन्छन्-
तलबी बिदामा बसेर ससुरालीको दक्षिणासरी खुरुखुरु त्रिविको पैसा हजम गर्नेहरु त अस्ति कै डाक्टर साब हरु जस्तै पत्रिकामा तीन पुस्ते निकाल्नु पर्ने समूहमा पर्दछन्। बेतलबी बिदामा बस्ने गुरुबाहरुलाई चाहिँ कान्छा ज्वाईँ भनौँ होला। कान्छा ज्वाईँहरु पनि ठूलो अपराधी नै नभए पनि सानोतिनो भ्रस्टाचारीमै पर्दछन्। वर्षौवर्षसम्म हुँदाखाँदाको स्थान ओगट्ने अनि ‘लास्टमा त्यही’ भन्या जस्तो काममा नफर्किनेहरुको पनि अपराध सानो पक्कै छैन। वर्षौसम्म आफ्नो भविष्य सुरक्षा खातिर स्थान ओगट्दा एउटा नेपाली युवालाई बेरोजगार हुन बाध्य पारिएको यिनीहरुको कर्म पक्कै पनि सत्कर्म हुन सक्दैन। यी कान्छा ज्वाईँहरुलाई पनि सजायको भागीदार त बनाउनै पर्छ। उनीहरुको अनुपस्थितिमा त्रिविलाई पर्न गएको घाटाको हिसाब किताब गरिनु पर्छ ताकि भविष्यमा त्यही किसिमको काइते काम गर्नु अगाडि अर्को पात्रले कम्तिमा दस पटक सोचोस्।

ठूला ज्वाइँसापहरुको कर्तुत यस्तो हुन्छ-

अर्काथरी ठूला ज्वाईँसापहरु जो छन् उनीहरु त्रिविको तलबलाई ससुराको श्राद्धपछि फोकटमा आउने दक्षिणा सम्झन्छन्। तलब आउँदासम्म कुकुरले बिस्टॉ हाम पारे जस्तो पारी नै रहन्छन्, तलब आउन बन्द भएसी चाहिँ म फर्केर आउन सक्दिनँ भनेर भन्नु पनि नैतिक दायित्वसम्म पनि ठान्दैनन्। हदै सम्मको गैर जिम्मेवार काम गर्नेहरु यता गफ चाहिँ त्रिविका आंगिक क्याम्पसहरुमा यस्तो पढाएँ अनि उस्तो पढाएँ भनेर भाको नभाको खोकेर बायोडाटा बनाएर राम्रो ठाउँमा जागिर हत्याउने कर्म चाहिँ गरि नै रहन्छन, र हत्याएका पनि छन।
प्रशासन पनि दोषी-
दोषी माड्साबहरु मात्रै पनि होइनन्, त्रिवि प्रशासन पनि पक्कै छ। अनि देशमा ब्याप्त फितलो कानुन पनि उत्तिकै सहयोगी छ पलायनवादीहरुको लागि। त्रिवि कर्मचारीकै मिलेमतोमा यी ज्वाईँसापहरुले सुविधाको भोग गरेका पनि सुन्न टन्नै पाइएका छन्। त्रिवि प्रशासनले कुरा मात्रै अगाडि ल्याउनु पर्छ, त्यस्ता भगुवाहरुको खोजी गर्ने जिम्मा हाम्रो भयो, तीन पुस्ते त के सात पुस्ते निकाल्न सकिन्छ। यो कुरा त त्रिविलाई हामीलाई भन्दा धेरै नै थाहा छ। उसले कुन-कुन मितिमा कहाँ-कहाँ कुन-कुन ज्वाईँलाई पठाएको छ अनि कति कति सुविधाले पोसेको छ भन्ने कुराको लगत त धमिरा लागेर कुनै कुनामा मिल्किएको ठेलीमा त्रिविसँग छ नै होला। त्रिविले चाहने हो भने आजको यो सूचनाको युगमा यी भगुवाहरुको खोजी गर्नु ठूलो कुरा पक्कै पनि होइन। त्यसो त देशमा विद्यमान कस्ता-कस्ता समस्याहरु समाधान गर्न सकिएको छैन कता ती माड्साबको पछि लाग्नु भन्ने कुरा पनि होला।
तर यदि त्रिविले आफ्ना हिसाब किताब चाहन्न भने पनि हामीले हाम्रो मातृभूमिलाई लात हान्ने भगुवाहरुलाई छोड्नु चाहिँ पक्कै हुँदैन। सुको-सुको हिसाब गरेर उठाउनु पर्छ र त्यो सम्भव पनि छ। धेरै टाढा जानु पर्दैन, अमेरिका र क्यानाडा मै प्रशस्तै ज्वाईँसाब हरु भेट्न सकिन्छ, भौतिक शास्त्र कै मात्रै कुरा गर्ने हो भने पनि दर्जनौ पुर्‍याउन सकिने बताउँछन् अमेरिकामा साउथ फ्लोरिडा स्टेट युनिभर्सिटी मा भौतिक शास्त्र मा विद्यावारिधि गर्दै गरेका जगन्नाथ देवकोटा। रसायन शास्त्र, जीव विज्ञान, गणितशास्त्रमा पनि यस्ता व्यक्ति दर्जनौँ छन्।
विदेशतिर भने नियम कडा छ-
जबसम्म नेपाल सरकारले जोर्डनी, भियतनामी र चाइनिज सरकारको जस्तो कडा कानुन लागू गर्दैन, तबसम्म त्रिविले यस्ता थुप्रै ज्वाईँहरुलाई बिना टिकाको दक्षिणा दिँदै गर्नुपर्ने छ। एउटा चाइनिज अथवा भियतनामी यदि सरकारी धन मा पढ्न आएको छ भने ऊ हर हालत मा देश फर्कनै पर्छ, र फर्कन्छन् पनि, अथवा सरकारी धनमा आएको होइन भने पनि गर्मी विदाको पूरै तीन महिना स्वदेश फर्केर अनुसन्धान तथा अध्यापनमा लागेका चाइनिजहरु प्रशस्तै छन्।
जोर्डनका विद्यार्थी सोझै देश फर्कन्छन् नत्र सरकार बाबुआमाकै उठिबास लगाउन पछि पर्दैन। देशप्रेम होस् या कडा कारबाहीको त्रास , जोर्डनीहरु देश फर्कन्छन्। तर हाम्रा सुविधाभोगी पलायनवादी हरु फर्कन चाहन्नन्। नफर्कने हो भने नफर्कुन् त्यो पनि ठीकै छ, सुरक्षित भविष्यको चाहना गर्नु मानवीय स्वभाव हो भनेर त्यो पनि मानौँला तर ऋण खाएपछि साँवा ब्याजसहित तिर्नुपर्ने सामाजिक मूल्यमान्यता भए जस्तै मातृभूमिले उसलाई त्यो अवस्थासम्म पुर्‍याउन गरेको त्यो लगानीलाई चुक्ता गर्नु जरुरी छ एउटा असल मानवले। फोकटमा हाम् पारेको हाम्रो हरहिसाबको कुरा त बेग्लै छँदैछ।
आउनुस् कर्तुत सार्वजनिक गरौँ-
आउनुस यी ठगहरुको कर्तुतको सार्वजनिक गरौ ताकी कम्तिमा भावी पिढीले यहि किसिमको ठगी गर्ने दुस्साहस नगरोस्।
मलाई लागेका केही सुझावहरु :
१. अहिलेसम्मको फितलो कानुनको उपहास गर्दै घर फर्किन अटेर गरिरहेकाहरुलाई एक पटक मौका दिएर स-सम्मान घर फर्किनको लागि अनुरोध गर्ने।
२. ग्रीष्मकालीन विदा अथवा हिउँदे विदामै भए पनि देशको सेवा गर्छु भन्नेहरुलाई त्यो किसिमको वातावरण बनाई ससम्मान काममा पुनर्नियुक्ति अथवा कुनै त्यस्तै मिल्दो किसिमको व्यवस्था गर्ने।
३. बुँदा १ र २ को ताकेताले काम नगरेमा खाईपाई आएको तलबको पाँच गुणा र उसको अनुपस्थितिमा त्रिविलाई पर्न गएको हिसाबको एक मुस्ठ रकम जरिवानाको ताकेता गर्ने, यदि ताकेता गर्दा पनि सो सम्भव नभएमा नेपालमा भएको उसको चल-अचल सम्पतिको छानबिन गरी लिलाम गरेर असुल उपर गरिलिने।
४. नेपालमा उसको सम्पति नभएको खण्डमा विदेश मै ताकेता गर्ने (अहिले त सजिलो छ, यस्ता माडसापहरुको गुगलले नाम, थर, घर ठेगाना र काम गर्ने संस्थासहितको विवरण उपलब्ध गराइदिन्छ)
५. यो समस्या आउनै नदिन माड्साबहरुलाई फर्किने/नफर्किने कुराको पहिले नै फैसला गर्न लगाउने। बेतलबी बिदामा बस्नेलाई फर्किएर नआएमा त्यसबाट त्रिविलाई मार पर्ने हरहिसाब यति हुनेछ छ, त्यति तिर्नेछु भनेर कबुलियतनामा सही गराउने र त्यसको लागि केही बिगो राख्ने व्यवस्था गर्ने।
६. तलबी बिदामा बस्नेलाई बिदामा बसेको दिनदेखि नै तलब बन्द गरिदिने र ऊ फर्किएको भोलिपल्टदेखि नै महिनावारी तीन गुणा तलब दिने (तलबी विदामा बस्दाको र अहिले काम गर्दाको र ब्याज र साँवा र सम्मान कूल मिलाएर, र यो प्रक्रिया तलबी बिदा बस्दाको समय बराबरसम्म जारी राख्ने)
७. माथि उल्लेखित सबै कुराहरुले काम नगर्दाको दिनमा माइसंसार वा नेपालीलिक्स जस्ता वेबसाइटमा यस्ता व्यक्तिका काम गर्ने ठाउँ, ठेगाना, इमेल, आदि-आदि सहित उपलब्ध गराउने, सम्बधित निकायबाट माड्सापहरुले काम गर्ने थलोमा प्रत्यक्ष सम्पर्क गर्ने (फोन, इमेल अनि स्क्याइप बाट अनि उसका कर्तु को जानकारी सम्बन्धित संस्थालाई गराई अप्ठेरो स्थितिको सृजना गर्ने)। र उक्त रकम त्रिविमा अथवा सम्बन्धित निकायमा पुगेको जानकारी नहुँदासम्म त्यो लिस्ट वेबसाइटमा राखिरहने र बारम्बार सार्वजनिक गरिरहने।