Wednesday, September 24, 2014

४० वर्ष पुग्नु भो ? माछामासु खान बन्द गर्नुहोस् ! - onlinekhabar



सुन्दरमणि दीक्षित

८ असोज काठमाडौं । दसैंका बेला मासुको खपत अत्यधीक हुन्छ । तर, डा. सुन्दरमणि दीक्षितको कडा सुझाव छ- ‘मासु नखानोस् । आन्द्राको क्यान्सर मासुबाटै हुन्छ, कोलस्टोर बढ्ने मासुबाटै हो, हार्ट एट्याक कोलस्टोरबाटै बढ्छ, ब्रेनको अट्याक त्यसैबाट हुन्छ । मासुले मान्छेको दिमाग पनि उल्टोपाल्टो पारिदिन्छ ।’


डा. साब, मान्छेको शरीर र रोगको सम्बन्धबारे कुरा गरौं, के ग्याष्ट्रिक नेपालीको राष्ट्रिय रोग हो ? उहिलेका मान्छेलाई पनि यसैगरी ग्याष्ट्रिक हुन्थ्यो कि ?

- ग्याष्ट्राइटिस भन्ने कुरा त जब निमोनिया हुन्छ, निमोनाइटिस भनेजस्तै हो । यो ग्याष्ट्राइटिस भन्ने कुरा त जमानादेखि भएको कुरा हो ।

म सानो थिएँ, हाम्री आमालाई ग्याष्ट्राइटिस भयो । ग्याष्ट्राइटिसबाट अल्सर भयो भनेर आमाले यत्रो डिब्बाको औषधि खाएको त मलाई थाहा छ । डिब्बाका डिब्बा औषधि उहाँले उस जमानामा खानुहुन्थ्यो ।

पछि मैले एमबीबीएस गर्न थालेपछि हामीले त्योबेलामा मेडिकल कलेजमा कतिसम्म गथ्र्यौं भने ग्याष्ट्रिक निको नहुने बिरामी, हामीसँग औषधि थिएन । नाकबाट पाइप हालेर पेटमा दूध तुपुतुपु चुहाएर त्यहाँ रहेको एसिडलाई हामी माथ्र्यौं । त्यसरी हामी निको पाथ्र्यौं ।

अहिले साइन्सले ग्याष्ट्राइटिसको कारण पनि दियो र त्यसको जड पत्ता लगाइदियो । अब हामीलाई थाहा भो, ग्याष्ट्राइज औषधिले गर्छ, नराम्रो खानपानले गर्छ ।

एउटा ब्याक्टेरिया छ, हेलिको ब्याक्टर पाइडोरी भन्ने । त्यो ब्याक्टेरियाले ग्याष्ट्राइज गर्दोरहेछ । गरीब मुलुकमा अधिकांश यो होलिको ब्याक्टर पाइडोरी भन्ने ब्याक्टेरियाले गर्छ । अब हामीलाई हाथा भो । अब हामीलाई औषधि गर्न सजिलो भो । तर, ग्याष्ट्राइटिस हजारौं वर्षदेखि आएको हो ।

उहिलेका मान्छेले ‘गानो गोला’ भनेको यसैलाई हो ?

- त्यो गानो गोला अलि फरक छ । आन्द्रा अलि बढ्ता चलेर अप्ठ्यारो हुँदा त्यहाँ भुक्लुक्क हुनेमात्रै हो । ग्याष्ट्राइटिससँग यसको सम्बन्ध छैन ।


चालीस वर्ष पुगेपछि मान्छेले सकेसम्म शाकाहारी हुनु नै राम्रो हुन्छ । किनभने क्यान्सर मासुबाटै हुन्छ । बोसेआन्द्राको क्यान्सर मासुबाटै हुन्छ ।

के यसो भन्न सकिन्छ- पुराना रोगहरु मासिँदै जान्छन् र नयाँ-नयाँ रोगले जन्म लिँदै जान्छ ?

- एक जमानामा यौनसम्पर्कबाट आउने सिफ्लिस आजकल देखिँदैन । अहिले संसारभरि नै देखिन कम भएको छ । तर, हामीले पढ्दाखेरि के थाहा पाएका थियौं भने हेलम्बु एरियामा सिफ्लिस खुब कम हुन्छ । तर, त्यहाँका मान्छेलाई सिफ्लिसले भए पनि नछुने ।

जस्तो एचआइभी अफ्रिकामा कमन छ । त्यहाँ यसले धेरै असर पार्दैन । एचआइभी छ, एड्स हुँदैन । एड्स भनेको रोग, एचआइभी भनेको संक्रमणको भाइरस हो । त्यस्तै अहिले इबोलाको कुरा छ । इबोला भनेको वेष्ट अफि्रकामा भयंकर चर्को भएको छ । तर, त्यहाँ त पहिल्यैदेखि भइराखेको छ नि । जस्तै हाम्रोमा थारुहरुले मलेरिया पचाउँछन् ।

मानिसको शरीरले ब्याक्टेरियालाई पचाउने क्षमता विकास गर्छ । त्यसैगरी ब्याक्टेरियाले पनि औषधिसँग त्यसलाई पचाइदिने क्षमता विकास गर्छ । यो त हाम्रो लाखौं वर्षदेखिको विकासको नियम हो ।

हामी किन बाँचिराखेका छौं ? मान्छेको ‘रेस’ मरेर गएको छैन । हाम्रो ह्युमन रेसले प्रकृतिको प्रकोपबाट अडान लिन सक्यो । अनेक किसिमका ब्याक्टेरियाको प्रकोपबाट आफूलाई बचाएर मानिस अगाडि बढेको न हो ।

हाम्रो शरीरले धेरै शक्तिहरुसँग लड्ने पनि गर्‍यो । आखिर यो विकास हो । तर, ब्याक्टेरिया पनि त्यत्तिकै बलियो भएर आयो । म जति बलियो हुन्छु, ऊ पनि त्यत्तिकै बलियो हुन्छ । यसले गर्दा रोग रहन्छ । यो निर्मूल हुने चान्सै छैन ।

मलेरियाकै कुरा गरौं न । प्रशस्त डीडीटी छर्केर हामीले लामखुट्टे मार्‍यौं । अब मलेरिया एकदम कम भो भनियो । तर, केही वर्ष बितेपछि मलेरियाले डीडीटी पचाइदियो । अब अहिले डीडीटीले मलेरिया मार्न सकिन्न । भनेपछि यो इभोल्युसन (विकास) हो । भगवानको यो सृष्टि छ नि, यसमा हरेकलाई बाँच्ने अधिकार दिइएको छ । त्यसैले ग्याष्ट्रिक पनि हजारौं वर्षदेखि हामीसँग छ । खाली अहिले आएर यसको कारण पहिचान भएको छ । भोलि अर्को थपिन पनि सक्छ र औषधि अर्कै चाहिन पनि सक्छ ।

उहिलेका मानिस प्राकृतिक खाद्यमा निर्भर थिए, अहिले जंकफुडले गर्दा मानिस कमजोर बन्दै गएको हो ?

- यो त पक्कै हो । रोगको प्रक्रियामा हामी दुईवटा कुराको खुब ख्याल गर्छौं । एउटा हो जेनेटिक्स । मैले बाजे बराजुबाट लिएर आएको एउटा हुन्छ । सबै रोग जेनेटिकले मात्रै गर्दैन, बाँकी वातावरणले गर्छ । वातावरणमा किटाणुदेखि लिएर तपाईको रहन-सहन, जीवनशैली, खानपिन सबै कुराहरु आउँछन् ।



आज संसारको सबैभन्दा ठूलो समस्या दुईवटा छन् । एउटा खान नपाउने ग्रुप छ । अफ्रिकामा हेर्नोस् दशा कस्तो छ । खानै छैन । अर्कातिर यति बढ्ता खाना खान थाले कि दुबैलाई समस्या परेको छ ।

एकातिर खान नपाएर कुपोषण भएर हरेक ब्याक्टेरिया संक्रमण भएर मान्छे भुतुभुतु मरिराखेको छ । अर्कोतिर बढ्ता खाएर ‘मोर्डन’ रोगहरु, डायविटिज, हर्ट एट्याक, हाइपर टेन्सन, प्यारालाइसिस, क्यान्सर यी सबै खराब पोषणका कारण आइराखेका छन् । हाम्रो लाइफ स्टायल छैन । हामी व्यायाम गर्दैनौं ।

पछिल्लो समय नेपालमा क्यान्सर बढेको हो ?

- संसारमा क्यान्सर बढेको छ । यसमा जेनेटिक कारण त छ, नै, यसमा वातावरणको पनि असर छ । पोलुसन हो । ओजनको लेयरको कुरा छ यहाँ । आज वातावरणले कति मान्छेलाई क्यान्सर भएको छ । पोलुसनले कति मान्छेलाई रोग लागिरहेको छ ?

अलिकति व्यक्तिगत प्रशंगतिर जाऔं, तपाई भेजिटेरियन हो कि ननभेजिटेरियन ?

- म पहिले पूरै ननभेजिटेरियन थिएँ । पछि म भयंकर भेजिटेरियन हुँ । पढियो क्रिश्चियन स्कुलमा । बंगालमा पढियो । त्यहाँ त खाने माछा नै हो । पछि मुम्बई आएपछि शुद्ध शाकाहारी डाक्टरसँग पढियो । अहिले म पूरै पूरै शाकाहारी भएको छु । मैले मेरी आमा स्वर्गवास भएपछि सबैलाई भेजिटेरियन हौ भन्ने गरेको छु । आमा स्वर्गे भएको आज ३० वर्ष हुन लाग्यो ।

मासु खाँदाचाँहि के घाटा हुन्छ ?

- चालीस वर्ष पुगेपछि मान्छेले सकेसम्म शाकाहारी हुनु नै राम्रो हुन्छ । किनभने क्यान्सर मासुबाटै हुन्छ । बोसेआन्द्राको क्यान्सर मासुबाटै हुन्छ ।

कोलस्टोर बढ्ने मासुबाटै हो । हार्ट एट्याक कोलस्टोरबाट बढ्छ । ब्रेनको अट्याक त्यसैबाट हुन्छ । त्यसैले मान्छेले सकेसम्म मासु खानै हुँदैन ।

तपाईलाई एउटा कुरा बताऔं । मैले एमबीबीएस पढ्दा किताबमा के लेखिएको थियो भने फस्ट क्लास प्रोटिन भनेको माछामासुमा पाइने प्रोटिन हो र सेकेन्ड क्लास प्रोटिन भेजिटेबल हो । आज त्यो पर्लक्कै फर्किएर संसारभरि के भएको छ भने फस्ट क्लास प्रोटिन भनेको भेजिटेवलबाट पाइने प्रोटिन हो र मासुबाट पाइने प्रोटिन सेकेन्ड र थर्ड क्लास प्रोटिन हो ।

भेजिटेवलको प्रोटिनले क्यान्सर गर्दैन । कोलस्टोर बढाउँदैन । हृदयाघात बढाउँदैन । त्यसले शरीरलाई स्वस्थ्य राख्छ । मासुले युरिक एसिड बढाउँछ । कोलस्टोर बढाउँछ । ब्लड प्रेसर बढाउँछ, हृदयाघात बढाउँछ । मान्छेको दिमाग पनि उल्टोपाल्टो गरिदिन्छ । क्यान्सर बढाउँछ ।

अर्कोतर्फ हेर्न हो भने एउटा जनावरलाई पालेर मासु बनाउनका लागि कति अनाज चाहिन्छ ? यो स्टडी भइसक्यो । मान्छेले जति जति कम मासु खान्छन्, उति हाम्रा लागि उत्पादन बढी हुन्छ । हामी जति शाकाहारी हुँदै गयौं, पृथ्वीको आयु उति लम्बिन्छ ।

त्यो एउटा जन्तु खाएर कतिजनालाई पुग्छ ? त्यो जन्तुले त हामीले पाँच वर्षमा खाने अनाज एकै महिनामा खाइदिन्छ । त्यसैले हामी शाकाहारी हुनैपर्छ । उपाय नै छैन हामीलाई । सुन्छु, समुद्रमा पनि माछाको संख्या धेरै घटिसक्यो ।

हामीले खाने मकै भटमास, रायोको साग र ढिँडो होइन र ? गुन्द्रुक होइन र ? हाज संसारभरि मकै भटमास, फाइबर, गुन्द्रुक यी सबैभन्दा बेस्ट पौष्टिक आहार हुन् भनेर आइसक्यो । अनि हाम विीर गोर्खाली किन नहुने ? अब हामी बर्गर, डोनट, पिज्जा, चाऊचाऊमा गइसक्यौं । अब कसरी हामी वीर हुन सक्छौं ?

मान्छेले खानपान विचार पुर्‍याउनुपर्ने कुरा के-के हुन् डा सा’प ?

अहिले डाक्टरीमा दुई-तीनवटा शब्द खुब महत्वपूर्ण छन् : एउटा हो लाइफ स्टायल म्यानेजमेन्ट अर्थात जीवनशैलीको व्यवस्थापन । अर्को बढी, माइन्ड, मेडिसन ।

बडी, माइन्ड, मेडिसिन भनेको के हो भने शरीरको मात्रै औषधि गरेर नहुँदोरहेछ । स्वस्थ्य शरीर, स्वस्थ्य मन । स्वस्थ्य मन, स्वस्थ्य शरीर । दुईवटै सन्तुलनमा चलेन भने, खराब मन भयो भने शरीर पनि खराब हुन्छ । कमजोर शरीर भयो भने मन पनि कमजोर हुन्छ । जस्तो, अहिले हाम्रो प्रधानमन्त्रीको स्थिति त्यही छ ।


कति डाक्टरले लगानी गरेर आफ्नो हस्पिटल बनाए । अब त्यो पैसा त तिर्नुपर्ने हुन्छ । डाक्टर पाइँदैन, नसै पाइँदैन, दिनभरि टेन्सन हुन्छ

अहिले त्यही बडी, माइन्ड मेडिसिनकै कारण योगको यत्रो प्रचार भएको छ । ध्यानको यत्रो प्रचार भइरहेको छ । हाम्रो हिन्दू र वौद्ध धर्मले पहिल्यैदेखि भनेको कुरा हो नि यो । ध्यान गर । बिहान टाइममा उठ । टाइममा सुत । सन्तुलित भोजन गर । बढ्ता यो नखाऊ, बढता त्यो नखाऊ । भगवानको आरती गर । योग गर । यो त हाम्रो संस्कतिमा आएको कुरा हो । हामीले यो सप्पै मास्यौं । हामी पश्चिमी संस्कारमा गयौं । अब पश्चिमले भनिरहेको छ, ओहो, मेडिटेसन इज गुड । योगा इज गुड भन्न थालिसक्यो उसले । अब हामीले पनि यसलाई राम्रा भनेर आउँछौं क्या । हामीमा अलिकति दास मानसिकता छ । पश्चिमाहरुले भने ठीक, हाम्रा ऋषिमुनिहरुले भनेको बेठीक ।

अर्को कुरा हो लाइफ स्टायल । तपाई डाक्टर, प्रोफेसर, किसान, बस ड्राइभर वा जे हुनुहुन्छ, तपाईको लाइफ स्टायल महत्वपूर्ण छ । कसरी काम गर्नुहुन्छ, कति सुत्नुहुन्छ, कसरी उठ्नुहुन्छ, के खानुहुन्छ । रक्सी बढ्ता खानुहुन्छ कि, चुरोट बढ्ता खानुहुन्छ कि । खैनी सूर्ती खानुहुन्छ कि ? पाँचवटा श्रीमतीहरु राखेर हिँड्नुहुन्छ कि ? तपाई बेश्यालयमा जानुहुन्छ कि ? यो सबै कुरामा आफ्नो लाइफ स्टायललाई म्यानेज गर्नुपर्छ ।

यसभित्र पर्ने अर्को ठूलो कुरा हो टाइम म्यानेजमेन्ट । हाम्रा ऋषिमुनिहरुले ब्रह्म मुहूर्तमा उठ भने । बिहान सूर्य उदाउनुभन्दा डेढघण्टा अगाडि उठ । ब्रह्म मुहूर्त भनेको शान्त वातावरणमा तिमी आफ्नो पाठपूजा सब गर अनि काम गर्न थाल । त्यो समयमा तपाई धेरै काम गर्न सक्नुहुन्छ । दिमाग फ्रेस हुन्छ ।

बेलुका साँझ परेपछि प्रकृतिको नियमै छ, चराचुरुङ्गी गुँडमा जान्छन् । जनावरहरु आफ्नो दुलोमा पस्छन् । मान्छेले पनि दिनभरिको टेन्सन र स्ट्रेसलाई ‘अनवाइन्ड’ गर्ने टाइम हो ।

पहिले घडीमा दम दिने चलन थियो, बढ्ता दम दियो भने टडङ्ग गरेर स्पि्रङ भाँचिन्थ्यो । मान्छेको पनि त्यही हो । मान्छेहरु बिहानदेखि उठेर टाइम म्यानेज गर्दैनन् । अनि यता हतार, उता हतार गर्छन् । तीनवटा मिटिङमा दौडिएको छ, काम केही हुनेवाला छैन । खाने टाइम छैन, सुत्ने टाइम छैन । अनि के हुन्छ ? बेलुका पनि हामी आफ्नो काम बन्द गर्दैनौं ।

दिनभरि त समय खेर फाल्यौं फाल्यौं, राति पनि १२/१ बजेसम्म काम गर्छौं । कत्ति न काम गरेको भन्ठान्छौं, तर काम केही पनि हुँदैन । हाइ हाइ गर्दै, थाकेको मन, थाकेको शरीरले काम गरेपछि मान्छेको स्पि्रङ पनि घडीको जस्तै टुट्छ । अनि उसलाई हाइपर टेन्सन हुन्छ, ब्लड प्रेसर हुन्छ । सुगर हुन्छ । हार्ट एट्याक हुन्छ प्यारालाइसिस हुन्छ अनि फुतुफुतु मर्छ ।

हाम्रा ऋषिमुनिले के भनेका छन् भने साँझको टाइममा ध्यान गर । शायद सूर्यास्तको टाइम तिम्रा लागि ‘अनवाइन्ड’ गर्ने समय हो । दिनभरिको टेन्सनलाई, टाइट भएको स्पि्रङ्गलाई ‘अनवाइन्ड’ गर्ने टाइम हो ।

लाइफ इस्टायल म्यानेजमेन्टमा खानाको म्यानेजमेन्ट, समयको म्यानेजमेन्ट लगायत सबै कुराहरु आउँछ क्या । त्यसैले बडी, माइन्ड, मेडिसिनमा लाइफस्टायल म्यानेजमेन्ट र अन्तिममा आउँछ होलिस्टक हेल्थ ।

के हो यो हेलिस्टिक हेल्थ भनेको ?

अहिले हामीकहाँ मुटु विशेषज्ञ छाती विशेषज्ञ डाक्टरहरु छन् । तपाई मुटुरोग विशेषज्ञकहाँ जानुभयो भने ऊ मुटुमा मात्रै केन्दि्रत हुन्छ, उसले अरु केहीमा पनि वास्ता गर्दैन र जान्दा पनि जान्दैन । तपाईलाई खोकी लाग्यो भने तपाई छाती रोग विशेषज्ञकोमा जाने कि, मुटुको जाने कि ग्याष्ट्रोमा जाने ? तपाईलाई थाहा छैन ।

यसले के भैदियो भने तपाई मुटु, तपाई छाती, तपाई पेट, तपाई ग्याष्ट्रिक, यो हिसाबले मान्छेले हेरिदिन थाले । हेर्न पर्ने के हो भने होलिस्टिकली, बिरामीलाई समग्रमा हेर्नुपर्ने हो । तपाईको शरीरमा के छ, मनमा के छ, सबै हेर्नुपर्छ ।

मकहाँ टेन्सन भएका व्यापारीहरु आउँछन्, उनीहरुलाई ब्लड प्रेसर छ, सुगर छ । म उनीहरुलाई औषधि लेखिदिन्छु । उनीहरुका कुरा सुन्छु, उनीहरु भन्छन्, मेरो लगानी फसेको छ, रातभर निद्रा आउँदैन । रातमा नसुतेपछि त मान्छेलाई ब्लडप्रेसर भइहाल्छ नि ।

त्यसैले हामीले होलिस्टिक हेल्थमा जानुपर्छ । बडी, माइन्ड र स्पिरिट । त्यसमा हामी गएनौं भने बिरामीलाई टेस्टहरु असाध्यै महंगो पर्छ । मैले पाँच मीनेट बढ्ता बिरामीसँग कुरा गर्दिएँ भने उसको आधा रोग खत्तम हुन्छ ।

यसो गर्दा बिरामीलाई खर्च बढी पर्दैन । म मेरा विद्यार्थीलाई पढाउँदा के भन्छु भने तिमीहरु विरामीलाई समय देऊ र उसको पाँच हजार रुपैयाँ बचाइदेऊ । अहिले त १० हजार बचाइदेऊ भने पनि हुन्छ । मेरो भनाइ के हो भने डाक्टरहरुले बिरामीसँग अलि बढ्ता अन्तरक्रिया गरिदेऊ । मैले पढेको जर्नलमा लेखिएको छ, डाक्टरले बिरामीलाई छोइदेऊ ।

अहिले त के सम्म गर्छन्, बिरामीको डाटा हेर्छन् । हामीले बिरामी छुनुपर्छ । जाँच्नुपर्छ । आजको दिनमा संसारभरि ९० प्रतिशत बिरामीहरुले राम्रो उपचार पाएका छैनन् ।

नेपालमा डाक्टरले बिरामीसँग झर्कोफर्को गरेको सुनिन्छ नि ? नर्सले फर्लोरेन्स नाइटिङगेलको आदर्श बिर्सिसके….

- यो समस्या बढेको छ । उही त हो नि लाइफ स्टायल म्यानेजमेन्ट । कुरा के भनेदेखि सबैलाई पैसा चाहिएको छ । कति डाक्टरले लगानी गरेर आफ्नो हस्पिटल बनाए । अब त्यो पैसा त तिर्नुपर्ने हुन्छ । डाक्टर पाइँदैन, नसै पाइँदैन, दिनभरि टेन्सन हुन्छ ।

उपकरणहरु ल्याउनुपर्‍यो, एउटा उपकरणको ७० लाख, ८० लाख, २ करोड, ३ करोडसम्म पर्छ । उपकरण ल्याउँछन् र ग्राण्ड हस्पिटल भन्छन्, सेन्टर अफ एक्सलेन्ट भन्छन्, तर बिरामीको चाप त आउँदैन । नआएपछि के हुन्छ ?

त्यो डाक्टर, जसको दिमाग बिरामीमा जानुपर्ने र स्वच्छ मन हुनुपर्नेमा उसको दिमागमा जुनबेला पनि पैसा कसरी उठाऔं, पैसा तिरौं मात्रै होइन, म आफैं पनि पैसा कसरी कमाऔं भन्नेतिर जान्छ । मेरो घरमा स्विमिङ पुल छ कि छैन, मेरो कतिवडा पजेरो मोटर छ, हेर्नुपर्‍यो । छिमेकीभन्दा म धनी छु कि छैन हेर्नुपर्‍यो । मेरो श्रीमतीको यति गहना छ कि छैन, म विदेशको टि्रप कति लगाउँछु । यो सबै सिको भयो ।

डाक्टरले पनि नेताको देखासिकी गरेका हुन् ?

- पोलिटिसियनले यसै गर्छ । व्यापारीले गर्छ । मैले पनि गर्नुपर्‍यो भन्ने डाक्टरमा पनि आयो । डाक्टरले असाध्यै बढ्ता लागनी गरे । लगानी उठाउनैपर्‍यो । अर्कोतिर उनीहरुभित्र सेवाको भावना धेरै घट्यो र पैसा कमाउनेतिर लागे ।

यसमा डाक्टरको मात्रै दोष छैन । सोसाइटी जस्तो, डाक्टर उस्तै । सोसाइटी जस्तो, पोलिटिसियन उस्तै । र, पोलिटिसियन र डाक्टर जस्तो, सोसाइटी पनि उस्तै । यो त परस्पर कुरा हो ।

तर, म डाक्टर भएर बिरामीलाई राम्रोसँग हेरें, उसको मैले घाँटी रेटिँन र उसलाई मैले धेरै खर्च गराइँन भने सोसाइटी पनि त एक कान, दुई कान राम्रो हुन्छ नि ।

बिरामीचाँहि कस्ता-कस्ता भेटिन्छन् ?

- बिरामीहरु पनि झगडै गर्छन् । उपचार गर्दागर्दै विरामी मर्न सक्छन् । डाक्टरले मार्छु त भन्दैन नि । बिरामी मर्नेवित्तिकै पैसा नतिर्नका लागि ढुंगामुढा गर्दिने । हस्पिटलै ध्वस्त पारिदिने । यो विकृति जुन छ, यो परस्परै छ ।

तर, यति हुँदाहुँदै पनि अज्ञानी जनतालाई नभनौं । डाक्टरहरु पढेलेखेका, सबैभन्दा माथिल्लो वर्गका हुन् । कुनै पनि डाक्टर खान नपाउने छैनन् । उसका बाबुआमाले राम्रोसँग खान लाउन दिएको मान्छे नै डाक्टर बनेको हुन्छ । गरीवको त ठाउँ नै छैन ।

डाक्टर खाए लाएको परिवारबाट आएको छ, झन खाए लाएको बनेको छ । पढेलेख्या छ, ऊ सबैभन्दा सम्वेदनशील हुनुपर्‍यो । सभ्य हुनुपर्‍यो । उसले मैले खाइरहेको छु, मेरो मोटर छ, म सम्पत्ति नभएको भए डाक्टर हुने नै थिइँन भन्ने सोच्नुपर्‍यो । चेपाङले त डाक्टर बन्न सक्दैन नि । डाक्टरले अब समाजलाई के दिऔं भन्ने सोच्नुपर्‍यो । राष्ट्रलाई के दिऔं भन्ने सोच्नुपर्‍यो । आफ्नो मात्रै स्वार्थ हेर्न भएन ।

तपाई डाक्टर नै किन बन्नुभएको ? डाक्टर बन्ने सोचाइ कसरी आयो ?

- सन् १९४५ तिर मेरी आमाको अप्रेसन गर्नुपर्‍यो कोलकातामा । त्यहाँ डक्टर ललितमोहन ब्यानर्जी भन्ने डाक्टर हुनुहुन्थ्यो । त्यसबेला उहाँ भारतको सबभन्दा नामूद सर्जन हुनुहुन्थ्यो । उहाँ नेपाली पनि पोख्त बोल्नुहुन्थ्यो । उहाँ नेपालमा आएर राजपरिवारमा चक्कु पनि चलाएको मान्छे हो । त्यसबेला नेपालका प्रतिष्ठित व्यक्तिहरुले कोलकाता गएर उहाँसँगै अप्रेसन गराउँथे ।


नेपालमा ठुल्ठुला डाक्टरहरु पोलिटिक्समा गए । म त पोलिटिक्समा हैन, समाजसेवामा गएको हुँ । पोलिटिक्समा जानेहरु विस्तारै पत्रु हुँदै आखिर पानीमा बिलाएर गए नि त

मेरा बाबा मदनसमशेर जरसा’बको प्राइभेट सेक्रेटरी हुनुहुन्थ्यो । त्यही नाताबाट चिठी लिएर कोलाकाता गएर आमाको अप्रेसन भयो । म त्यतिबेला सानो रहेंछु । आमालाई एक तलामाथि राखेको थियो वार्डमा । म तल ढोकामा खेलिरहेको रहेंछु । त्यहाँबाट सर्जन डा. ब्यानर्जीले मलाई बोकेर एक तलामाथि जानुहुँदोरहेछ । नेपाली बोल्ने भएपछि माया त बस्दोरहेछ । उहाँले के भन्नुहुँदोरहेछ भने ‘तिमी डाक्टर बन्नुपर्छ ।’ त्यो मेरो दिमागमा घुसेछ ।

तपाई नागरिक आन्दोलनको अगुवा पनि हुनुहुन्छ, डाक्टरी पढाइले कस्तो असर पारेको छ ?

- मलाई पक्का विश्वास छ कि म डाक्टर नभएको भए अर्थोक केही पनि हुन सक्ने थिइँन । शायद म साधु हुन्थें होला । डाक्टर नभएको भए अरु उपाय नै थिएन मसँग । डाक्टरी पेशाबाहेक मेरालागि अरु केही हुनै सक्दैन ।

म तपाईलाई एउटा ठूलो साइन्टिसले भनेको कुरो सुनाउँछु । यो भिरच्युले भनेका हुन्, ‘डाक्टरी पेशा एउटा सोसियल साइन्स हो, राजनीति एउटा विस्तृत अर्थमा डाक्टरीभन्दा अर्थोक केही होइन ।

हामी बिरामीको नजिक पुग्छौं, टेस्टहरु गर्छौं एनालाइसिस गछौर्ं र समसयाको समाधान गर्छौं । राजनीति गर्नेहरुले राष्ट्र अथवा समाजको समस्या के हो भनेर रिसर्च र टेष्ट गर्छन् र समाज वा राष्ट्रलाई स्वस्थ्य राख्छन् । म कुनै पनि मानिसलाई रोगी देख्न सक्दिँन र उपचार गर्छु । राष्ट्रभित्र पनि अन्धकार देखियो भने हाम्रो दायित्व नै बन्छ कि केही गरौं । यस्तो भावना भित्रैबाट उम्लिएर आउँछ ।

रोगी मान्छेजस्तै रोगी समाज र देश देखेपछि तपाईलाई त्यसको पनि सामाजिक उपचार गरौं गरौंजस्तो लाग्दोरहेछ हैन ?

- मकहाँ कति पोलिटिसियनहरु आउनुभएको छ । मेरो पार्टीमा लाग् भन्दै आउनुभएको छ । उहाँहरु कसरी भन्नुहुन्छ थाहा छ ? डा. सा’प तपाईले रोगीहरुलाई धेरै सेवा गुर्न भो । अब देश नै रोगी भएको छ, तपाईले केही गर्नोस्, हाम्रो पार्टीमा आउनोस् भनेर मलाई भन्नुभएको छ ।



जवाफ के दिनुहुन्छ ?

- मेरो स्ट्रेन्थ, मैले पढेको मेरो विद्या, मेरो बुद्धि, मेरो अनुभवले म डाक्टरी मात्रै हुँ । मेरो यो अनुभवबाट केही दिन सक्छु भने म दिन्छु, तर, मेरो स्टाटस मैले छोडेर अन्यत्र गएँ भने मेरो यो शक्ति क्षीण हुन्छ । तान्त्रिक विद्यामा शक्ति प्रयोग गर्दै गएपछि त्यो क्षीण हुन्छ । मेरो पनि समाजमा धेरै लगानी छ । यो लगानी मै खर्चमात्रै गरें भने मान्छेले मलाई दुई दिन सुन्लान्, तीन दिन सुन्लान्, मेरो पछि पनि लाग्लान् । तर, मेरो शक्ति विस्तारै क्षीण भएर जान्छ । अनि मान्छेले के भन्न थाल्छन् भने ए त्यो सुन्दरमणि ? त्यसले एक जमानामा औषधि गथ्र्याे भन्न थाल्छन् ।

त्यसैले मेरो पेशा र जगलाई छाडेर यताउति जानुहुँदैन । म जे गर्छु, त्यही भावनाले अघि बढें भने दिमाग पनि फ्रेस हुन्छ । समाजको पनि के गल्ती भएको छ भने ट्याक्कै भन्न सक्छु र हल पनि दिन सक्छु । तर, मैले सबै छाडेर त्यतातिर गएँ भने म पत्रु हुन्छु ।

नेपालमा ठुल्ठुला डाक्टरहरु पोलिटिक्समा गए । म त पोलिटिक्समा हैन, समाजसेवामा गएको हुँ । पोलिटिक्समा जानेहरु विस्तारै पत्रु हुँदै आखिर पानीमा बिलाएर गए नि त ।

कसलाई भन्न खोज्नुभएको ? डा. उपेन्द्र देवकोटा ?

- उपेन्द्र धेरै तलका भए । उनी हैनन् । डा. तुल्सी गिरी । उनी मेडिकल डाक्टर हुन् । त्यत्रो प्रधानमन्त्रीसम्म भएको, त्यत्रो राजकाज हाँकेको, वीपी कोइरालाको दाहिने हातै भएको मान्छे, तर उनको शक्ति क्षीण हुँदै गएर अब ह्वेर इज तुल्सी गिरी ?

हामीले त रोग पहिचान गर्ने हो, सुझाव दिने हो । हामीजस्तो पेशा गर्ने मान्छेले कुनै पनि पार्टीको अचानोमा आफ्नो टाउको राख्नुहुँदैन । हामी आफ्नो पेशामा बफादार हुनुपर्छ । यसो गर्न सक्यौं भनेमात्रै सही अर्थमा समाज सेवा गरेको ठहर्छ ।

प्रस्तुती-अरुण बराल/सुरेश भुसाल

Wednesday, September 17, 2014

अहिले रोटी पोल्छन्, उहिले इँटा बोक्थे - शोभा शर्मा - setopati

दोहोरी साँझमा हारमोनियम बजाए, कोरियामा बंगुर हेरे, दुख गरे, दुख पाएनन्
दिनभरि सचित्रको फोन अफ थियो। उनी आफूले काम गर्ने ठाउँमा त पक्कै गएको हुनुपर्छ भनेर हामी अनामनगर पुग्यौँ।

अनामनगरको एउटा साँघुरो ढावा। बाहिरपट्टी रोटी बेल्ने टेबल र रोटी सेक्ने भट्टी छ। त्यहीँ तन्दुरमा सचित्र केसीका हात चलिरहेका थिए, घरी रोटी बेल्न, घरी पोल्न र घरी निकाल्न।

सफा पहिरन र छालाका जुत्ता लगाएका उनी मस्तसँग काम गरिरहेका थिए। हात फटाफट चलाएका थिए। अनुहारमा मन्दमन्द मुस्कान।

उनलाई थाहै नदिई हामी ढावाभित्र पस्यौँ। उनी काममा तल्लीन थिए। आधा घण्टा लगातार रोटी पोलेपछि ग्राहक अलि होलो भए। सचित्र भित्रपट्टी सुस्ताउन आए।

एउटा पत्रिकाले भर्खरै उनका बारेमा छापेको थियो– चित्रबहादुरका छोरा रोटी पोल्छन्।

एक हुल ग्राहक आए। उनीसँग हात मिलाए र भने, ‘तपाईँको बारेमा त पत्रिकामा छापिएको छ दाइ, पढ्यौँ। ल आज पनि दाइको हातले पकाएको रोटी खाने।’

सचित्र एकदम खुसी देखिन्छन्। हामीतिर फर्केर सचित्रले भने, ‘आज बिहानैदेखि यस्तै छ, मान्छेहरु अचम्ममा परेका छन्।’
...

नेपालमा कुनै पनि सानाठूला नेताका छोराछोरीले आफ्नै बलबुता अनुसारको काम गरेर गुजारा चलाउनु कति असामान्य मानिँदो रैछ।

‘बुवा नेता÷सभासद हुनुहुन्छ, फाइदा लिनै खोजेको भए, राष्ट्रपतिदेखि व्यापारीसम्मकहाँ गएर हात फैलाउन सक्थेँ,’ उनले भने।

उनी थोरबहुत राजनीतिका कुरा गर्दै थिए, फेरि एकहुल ग्राहक आए। उनी रोटी बनाउन जानुप¥यो।

भोलिपल्ट भेट्ने कुरा भयो।

भोलिपल्ट दिउँसो थाहा भयो, उनको मोबाइल बिग्रेको रैछ।

‘अब पाँच ६ हजारले फेरि बाटो खोज्यो,’ उनी बाग्लुङ गल्याङको किसानको छोराले जस्तै कुरा गरिरहेका थिए।

अनुहारमा र बोलीमा कुनै झुटको गन्ध थिएन।

‘चित्रबहादुर केसीसँग म रगतको साइनोले भन्दा बढी वर्गीय हिसाबले नजिक छु,’ आफ्नो बाबु र आफ्नो सम्बन्धबारे सचित्र केसीले भने।

हुन पनि जीवनको ४० औँ वर्षमा आइपुगेपछि मात्रै उनले आफ्ना बुवासँग अचेल निजी जीवनका व्यवहारिक कुरा गर्न थालेका छन्। यतिका वर्षसम्म बाबु पार्टीका नेता र छोरा कार्यकर्तामात्रै भएर चलेको थियो।

अब उनका छोराछोरी जन्मे हुर्के।

पहिलेपहिले बाबुले जस्तो घरबार र छोराछोरी चटक्कै छोडेर हिँड्ने परिस्थिति देशमा छैन। उनीहरुको पार्टीको काम पनि सजिलो हुँदै गइरहेको छ।

उनको र उनका बाबुको सम्बन्ध किन पनि वर्गीय हो रे भने उनीहरु अहिले पनि कम्युनिष्ट आन्दोलनको मोर्चामै छन्।

सबै कम्युनिष्टले झैँ उनले पनि धनी र गरिबका बीचको खाडल मेटाउने आन्दोलन भनेर कम्युनिष्ट आन्दोलनलाई बुझे।

उलाई कम्युनिष्ट चिनाएको उनका बुवाले होइन, स्कुलमा पढ्ने पार्टीका अरु कमरेडहरुले हो।

पञ्चायती शासकको एक छत्र राज चल्ने स्कुलमा ‘क, ख, ग’सँगै उनले कमरेडहरुको स्कुलिङमा कम्युनिष्ट पढे र त्यही बने।

६ कक्षा पढ्दै गर्दा विद्यार्थीको जिल्ला समितिको सम्मेलनमा बाहिर जानुप¥यो उनलाई।

बाग्लुङकै राङखानीको नाम्दुडाँडामा सम्मेलन थियो। पर्यवेक्षक भएर गएका उनका साथीहरु आधा कार्यक्रमपछि घर फर्के। उनी एक्लैै बस्नुप¥यो।

‘चित्रबहादुरको छोरा भनेर होला, समितिमा नाम राखिदिएछन्, म बाह्रबर्षको मात्रै थिएँ, घर आउन नपाएकोमा मलाई नरमाइलो लागेको थियो, घर छोडेको र कम्युन शैलीमा मेसमा खाएको पनि त्यही बेला पहिलो पटक हो।’

चित्रबहादुरको छोरा भएकै कारणले उनले पहिलोपल्ट राजनीतिमा पदको फाइदा पाएका हुन्।

त्यसपछि राजनीतिमा र जीवनमै उनले केही फाइदा लिएका छैनन् रे।

त्यो दिन समितिमा बस्न पाएको खुसीभन्दा साथीहरुसँग फर्किन नपाएको पीडा उनलाई बढी भएछ।

सानैदेखि उनी नाच्न÷गाउन बढी रुचाउँथे।

दशैँ आउनै लागेको थियो। संगठनले सांस्कृतिक कार्यक्रम राख्यो। उनी पनि नाच्ने भए।

‘फोकल्याण्डको टापुबाट, जंगलको बीचबाट लेखिरहेछु चिठ्ठी तिमीलाई’ बोलको गीतमा उनी नाचे।

यो गीतिनाटक जस्तै हो। बीचमा बन्दुक पड्काउनुपर्ने दृश्य थियो। काकाको भरुवा बन्दुक थियो, त्यही पड्काएर उनी नाचेका थिए। पञ्चायतको जगजगीको बेला। गल्याङमा ‘चित्रबहादुरको छोराले राजारानीको फोटोमै गोली हान्यो रे’ भनेर
‘पञ्चहरु’ले आगोझैँ हल्ला फैलाए।

पुलिस आइपुग्यो, केही कमरेडलाई समातेर लग्यो। उनीहरु भागे।

धेरै दिनपछि उनीहरु जंगलैजंगल भारतको कानपुर गए। भारतमा उनले आफ्ना बुबालाई देखे। सबैले झैँ उनले पनि ‘कमरेड अभिवादन’ भनेर बुवासँग हात मिलाए।

बाबुछोराको वर्गीय नाता त्यहीँबाट सुरु भयो सायद।

आमासँग भने सानैदेखि सुखदुख काटे उनले। छुट्टीको बेला सचित्र माछा मारेर बेच्थे। थोरै पैसा आउँथ्यो र आमालाई दिन्थे। उनी कहिले माछा मार्ने त, कहिले खोलामा भैँसी तारिदिने काम गरेर पैसा कमाउँथे र घर चल्थ्यो।

दिदीको बिहेमा घर आउँदा मात्रै उनलाई बुवा पनि आफ्नैजस्तो लागेको थियो।

बुवाले आमालाई घर र गोठमा सघाएको देखेर उनी मख्ख परेका थिए।

आमा राजनीतिका कुरा केही नजान्ने भए पनि संगठनमा लाग्न उनले रोकिनन् छोराछोरीलाई।

जंगलैजंगल भारत पुगेका सचित्रलाई यता गाउँमा राजकाज मुद्दा लाग्यो। स्कुलबाटै रेस्टिकेट गरिएको खबर आयो।

किशोर उमेरमै लागेको मुद्दाकै कारण उनी फेरि फर्किएर कहिल्यै गाउँ गएनन्। कानपुरबाट फर्केर बुटवलमा पढे, त्यतै काम गरे।

२०४९ सालमा उनको बिहे भयो। उनको रोजाइमा पार्टीले सहमति दियो, बल्ल बिहे भएको थियो।

१ सय ५५ रुपैँयामात्रै खर्च गरेर उनले आफ्नो बिहे गरेका थिए।

‘उनले ढाकाटोपी लगाइदिइन्, मैले चुन्नी लगाइदिएँ, कमरेडहरुले ताली पिट्नुभयो, हाम्रो बिहे सकियो,’ सचित्रले सम्झे, ‘मेरो बिहेको भोज चियाबिस्कुट थियो।’

श्रीमती लिएर उनी काठमाडौँ आए। आफ्नो गुजारा चलाउन ललितपुरको हरिसिद्धिमा इँटा बोके।

संगठनका कमरेडहरुसँग मिलेर उनीहरुले बोर्डिङ स्कुल खोले। श्रीमानश्रीमती दुवैले त्यही बोर्डिङमा पढाउन थाले।

५१ सालतिर लैनचौरको दुग्ध विकास संस्थानमा खरदारको लागि विज्ञापन खुलेको थियो। सचित्रले थाहा पाए। बोर्डिङको कमाइले ठीकठीकै गुजारा चलिरहेको थियो।

सरकारी संस्थानमा जागिर खान पाए घर धानिन्थ्यो भन्ने सोचेर उनी बुवाकहाँ नजिक पुगे। त्यो बेला झलनाथ खनाल कृषिमन्त्री थिए। उनले सिफारिस गरे दुग्ध विकास संस्थानमा सहजै जागिर हुन्थ्यो।

‘बुवा र झलनाथले गल्कोटमा एउटै स्कुल पढाउनुभएको थियो, राम्रै सम्बन्ध थियो हाम्रो, त्यसैले आस लागेको मलाई,’ उनी अहिले हाँस्छन्, आफ्नो आस सम्झेर।

चित्रबहादुरले सचित्रलाई उल्टै शर्त राखिदिएछन्, ‘एमालेले मलाई राष्ट्रिय सभामा सिफारिस गरेको छ, खरदारको भन्दा बढी तलब त त्यहीँ हुन्छ, म जाउँ?’

सचित्रले यसरी सोचेकै थिएनन्।

‘मैले उनीहरुलाई तेरो जागिरका लागि भन्ने हो भने मैले पनि उनीहरुले भनेको मान्नैपर्छ। खरदारका लागि म पार्टीलाई धोका दिन सक्दिन,’ बुवाले उनलाई सम्झाए, ‘नैतिकता र वैचारिक हिसाबले यी दुवै काम गलत हुन्छन्।’

उनले बुवाको कुरा बुझे र आफ्नै स्कुलमा फर्केँ।’

त्यसपछि केही व्यक्तिगत माग लिएर उनी आफ्ना कमरेड बुवाको अघि कहिल्यै गएनन्।

आफ्नै हिसाबले संगठनको काम पनि गरे। उनी साँस्कृतिक विभागमा छन्। किनभने उनलाई नाच्न गाउन अहिले पनि मन पर्छ।

‘आफ्नै बुताको जीवनशैली छ, संगठनमा पनि आफ्नो सैद्धान्तिक राजनीतिक स्तर र रुचिजस्तो छ, त्यस्तै पोजिसनमा छौँ, चित्रबहादुर केसीको प्रभाव कतै पनि छैन,’ उनले सुनाए।

दिउँसो ढावामा ग्राहक त्यति थिएनन्। उनका साथीभाइले काम समालेका थिए।

यहाँ काम गर्न मज्जा छ?

‘काम गर्न त जहाँ पनि मज्जा हुन्छ, काम ठूलो सानो भन्ने हुँदैन, आफूले जानेको जे छ, खुसी भएर गर्छु।’

उनले गुजाराका लागि दोहोरी साँझमा हारमोनियम बजाउनेदेखि इँटा बोक्ने काम समेत गरे।

स्कुलमा पढाएर खर्च धानिन छोडेपछि उनी काम खोज्दै कोरिया पुगे। कोरियामा बंगुर हेर्ने काम पाए।

त्यहाँ पुगेर सचित्रले श्रम भनेको, मेहनत भनेको के हो भन्ने राम्रैसँग बुझे।

‘त्यहाँ मालिकले पनि हामीसँगै बसेर काम गर्न र खान अप्ठेरो मान्दैनथ्यो, श्रमको सम्मान गर्थे उनीहरु। हामी भने श्रम गर्न परे ग्लानि गछौँ।’

आफूहरुले ल्याउन खोजेको व्यवस्थामा श्रमको जस्तो ठाउँ हुन्छ, कोरियामा त्यस्तै छ रे।

उनका भाइ पनि जापानको रेस्टुरेन्टमा रोटी बनाउँछन्, पैसा कमाउन। यसरी उनीहरुले आफ्ना नेता बाबुको घरपरिवार, इमान र इज्जत धानिदिएका छन्।

‘हामीलाई अरुले राम्रो खाएको देखेर कहिल्लै मन हरक्क भएन, इमानको मानो खान पाए हामी खुसी छम् त्यसैमा,’ उनले बाग्लुङे लवजमा भने।

उनका आँखामा कुनै संकोचको भाव थिएन।

समाजको अपेक्षाभन्दा साधारण जीवन बाँच्न पनि गाह्रो हुन्छ। तर अरुका अपेक्षा पूरा गर्न इमानबिनाको जिन्दगी उनीहरुलाई मन्जुर छैन।

राजनीतिमा लागेकाहरुलाई भ्रष्टाचार गरेर, दलाली गरेर घरबार जोड्न केही गाह्रो थिएन।

‘डाँकाले पनि त सम्पत्ति जम्मा गर्छ, चोरेर छलेर चेलीबेटी बेचेर पनि मान्छेहरुले धन थुपार्छन्, चोरबाटोबाट नेता कार्यकर्ता रातारात धनी हुन्छन्,’ उनले भने, ‘त्यस्तो पैसाको अर्थ के हुन्छ, जहाँ नैतिकता भन्ने चिज छैन?’

सबै तस्विरहरूः प्रकाश लामा

Monday, September 8, 2014

जहाँ चिहानबाट लासलाई निकालेर नुहाइधुवाई गरिन्छ र नयाँ पहिरनमा सजाएर गाउँ घुमाइन्छ (फोटोफिचर सहित) - onlinekhabar




चिहान खोतलेर लासलाई बाहिर निकाल्नु, पानीले नुहाइ धुवाइ गरिदिनु र मज्जाले राम्रा राम्रा पहिरन लगाइदिनु । सुन्दैमा कुनै फिल्मी कथाजस्तो लाग्ने यो परम्परा मानव समाजमा अहिले समेत कायम रहेको परम्परा हो । इण्डोनेसियाको दक्षिण सुलावेशी स्थित तोराजाका आदिवासी समुदायमा हरेक वर्ष यस्तो अनौठो संस्कार मान्दै आएका छन् ।


वृद्ध भएर मृत्यु भएका मात्र होइन, बाल्यकालमै मृत्यु भएकाहरुको शवलाई पनि यसैगरी सिँगारिन्छ । अनि त्यसरी सिँगारिएका लासलाई गाउँ घुमाइन्छ, सिधा बाटोमा ।
त्यसपछि बर्षदिनसम्म माटोमुनि रहँदा मक्किएको वा बिगि्रएको कफिनलाई मर्मत गर्ने वा नयाँ फेर्ने गरिन्छ अनि पुनः सिँगारिएकेा लासलाई कफिनमा राखेर चिहानमै राख्ने गरिन्छ । उक्त गाउँको एक भिरमा कलात्मक खुल्ला चिहान समेत निर्माण गरिएको छ, जहाँ सिँगारिएका लासलाई उभ्याएरै राखिएको छ ।


यो पर्वलाई स्थानीय भाषामा मइनिन भनिन्छ जसको अर्थ लास सफाइ पर्व हो ।
परम्परागत तोराजान आस्था प्रणालीमा मृतकको आत्मा व्यक्ति जन्मेकै गाउँमा फर्किनुपर्ने मान्यता छ । त्यसैले सो गाउँका मानिस अरु कुनै ठाउँमा गएर मरे भनेपनि त्यसैगरि लासलाई सिँगारेर र हिँडाएर गाउँमै ल्याइन्छ ।
त्यसैले विगतमा सो गाउँका मानिसहरु टाढाको बाटो हिड्न डराउँथे । यदि कसैगरी आफु टाढा ठाउँमा गएर मरियो र आफ्नो लास गाउँसम्म पूराउन सकिएन भने आफ्नो स्वर्गमा बास नहुने डर उनीहरुमा हुन्थ्यो ।


Friday, September 5, 2014

विश्वकै सबैभन्दा ठूलो हात भएकी महिला, जसका छन् २० किलोका हात (फोटोफिचर सहित) - onlinekhabar




यद्यपि गिनिज बुकमा नाम त लेखिएको छैन, तर सायद यो दुनियामा उनका जत्रा गह्रौँ हात अरु कुनै मनुष्यका छैनन् होला । थाइल्याण्डकी एक महिलाका दुइ हातको तौल झण्डै २० किलो छ ।

थाइल्याण्डको सुरिन प्रान्तकी डुआंगजे समाकसमामका हात एक दुर्लभ रोगका कारण सुन्निएर यति ठूला भएका हुन् ।
५९ वर्षकी डुआंगजे विश्वकी एकमात्र मानिस हुन् जसलाई म्याक्रोडिस्ट्रोफिया लिम्फोमास्टोसा भन्ने रोग छ । यो रोगका कारण उनको हातमा बोसोको थुप्रो जम्मा भएकेा छ, काँध्देखि औँलासम्मै ।



यस्ता भिमकाय तथा असामान्य हातका कारण उनलाई आफ्नो दैनिक जिवनमा गर्नुपर्ने अत्यावश्यक काम गर्न समेत अप्ठेरो हुन्छ । पसल संचालन गरेर बसेकी उनी आफ्नो यस्तो अवस्थाका कारण बच्चामा स्कुल जान पनि पाइनन् र घरभित्रै कोचिएर बसिन् ।

तर बुढा बाउआमालाई पाल्नु परेेपछि उनले २० वर्षको उमेर देखि पसल गनृ थालिन् ।
उनको यस्तो दुर्लभ अवस्था देखेर विश्वभरिके डाक्टरहरु अचम्ममा परे । उनको रोगको उपचार गर्न धेरै कस्सिए र प्रयास पनि गरे । तर कोहीपनि सफल भएनन् ।
यो रोगको समाधान भनेको हात काटेर फ्याँक्नुमात्रै रहेको भनेर अाफुलाई डाक्टरहरुले भनेको तर आफुले आफ्ना हात काट्न नचाहेको उनी बताउँछिन् ।







Tuesday, September 2, 2014

मृगौलाको पत्थरी कसरी रोक्ने ? - onlinekhabar



बदलिँदो खानपान, व्यस्त जिवनशैली, पानीको कम सेवन तथा व्यायामको अभाव जस्ता कारणहरुले गर्दा मृगौलाको पत्थरी पछिल्लो समयमा आम समस्या बन्दै गएको छ । उमेर छिप्पिएका धेरै मानिसहरु यो समस्याबाट ग्रसित छन् हाम्रो देशमा । मृगौलाले रगत छानेर पिसाब बनाउने क्रममा प्रायः विभिन्न यौगिकका मणिभहरु पिसाबसँगै छानिन्छन् र ती मूत्रनली हुँदै पिसाबसँगै बाहिर निष्कासन हुन्छन् । तर जब त्यस्ता विभिन्न लवणका क्रिस्टलहरुको आकार ठूलो बन्दै जान्छ तब त्यस्ता पदार्थलाई मृगौलाले छान्न सक्दैन र ती मृगौलाका कोमल तन्तुहरुमा फस्दछन् र पत्थरीको रुपमा विकाश हुन्छन् ।

यसरी मृगौलामा पत्थरी परिसकेपछि त्यसको उपचार भनेकै त्यसलाई शल्यक्रिया गरेर फ्याँक्नु नै हो । त्यसैले पत्थरीको उपचार गर्नुभन्दा पत्थरी पर्नै नदिनु राम्रो हुन्छ । पत्थरीबाट जोगिनका लागि खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । मृगौलाको पत्थरी रोक्ने ९ काइदा यस्ता छन्-

१. प्रसस्त तरल पदार्थ पिउनुहोस्- दिनमा कम्तिमा पनि ८ गिलास पानी पिउनुहोस् । पानी प्रसस्त पाइने फलहरु जस्तै खरभुजा, सुन्तला र सागपात प्रसस्त सेवन गर्नुहोस् ।

२. कागती पानी वा सुन्तला-मौसमको जुस नियमित रुपमा पिउनुहोस् । यस्ता अमिलो फलफूलको सेवनले पत्थरको निर्माण हुनबाट रोक्दछ । तर अंगुरको अत्यधिक सेवन भने जोखिमपूर्ण हुन्छ र यसले पत्थरीको जोखिम बढाउँछ ।

३. अक्जालेटयुक्त खाद्यपदार्थ कम सेवन गर्नुहोस्- मृगौलाको पत्थरीमा क्याल्सियम अक्जालेट भन्ने यौगिक अत्यधिक हुन्छ । त्यसैले अक्जालिक अम्लयुक्त खाद्यपदार्थ मृगौलाका लागि हानिकारिक हुने विज्ञहरु बताउँछन् । त्यस्ता अक्जालिक खाद्यपदार्थहरुमा पालुंगोको साग, चिया, चकलेट, भटवासजन्य पदार्थ तथा चुकन्दर लगायतका पर्दछन् ।

४. नून कम खानुहोस्- मृगौलाको पत्थरी भएका मानिसहरुलाई सोडियम भएका खाद्यपदार्थ कम खान सल्लाह दिइन्छ । पत्थरी भएकालाई मात्र नभएर पत्थरी हुनबाट जोगिन चाहनेका लागि समेत नुन कम खानु उपयुक्त हुन्छ । नूनको कम सेवनले मुटु तथा रक्तचाप सन्तुलनमा समेत सहयोग गर्छ ।

५. मासुजन्य प्रोटिन कम खानुहोस्- जनावरको मासु तथा अण्डामा पाइने उच्च प्रोटिनले मृगौलाको पत्थर बनाउने क्रिस्टलहरुलाई एकैठाउँमा जम्मा हुन र थिगि्रन मद्धत गर्छ । पिसाबको अम्लपना बढ्ने र युरिक एसिडमा भएका तत्वहरुको खण्डीकरण कम हुने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् । प्रोटिनका लागि मासु तथा अण्डा खानुभन्दा गेडागुडी खानु लाभदायी भएको वैज्ञानिकहरुको मत छ ।

६. क्याल्सियम युक्त खाद्यपदार्थ खानुहोस् तर क्याल्सियम चक्की वा औषधि होइन । हाम्रो खानामा पर्याप्त क्याल्सियमभ एन भने रगतमा अक्जालेटको मात्रा बढ्न जान्छ र त्यसले मृगौलामा पत्थरीको जोखिम बढ्छ । त्यसैले क्याल्सियम युक्त खाद्यपदार्थ जस्तै बदाम, ओखर सागपात जस्ता कुरा खानुहोस् । तर क्याल्सियम पाउनका लागि क्याल्सियम चक्की वा अन्य सप्लिमेन्टको प्रयोग गर्नु मृगौलाका लागि हानिकारक हुन्छ ।

७. कफी कम पिउनुहोस्- कफी तथा चियाको अत्यधिक सेवनले मृगौलाको पत्थरीकेा जोखिम बढाउने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

८. गुलियो पेय पदार्थहरु कम पिउनुहोस् । बढि गुलियो पेय पिउँदा त्यसले मृगौल्ामा पत्थरीको जोखिम बढाउँछ ।

९. बढि अम्लीय खाना नखानुहोस् । अम्लीय तथा क्षारिय गुण भएका खाद्यपदार्थ सन्तुलित मात्रामा खानुपर्छ । खानामा हुने क्षारिय तत्वले पत्थरीको जोखिम घटाउँछ ।

 केयर टू डट कमबाट

सावधान ! यी लक्षण देखिएमा मुटुको रोग हुनसक्छ - onlinekhabar



पहिले पहिले मुटुरोगलाई पाका मान्छेहरुको रोग मानिन्थ्यो । तर पछिल्लो समयमा मुटु रोग किशोर तथा युवाअवस्थाकै मानिसहरुमा समेत डरलाग्दो गरि फैलिएको पाइन्छ । मुटु रोग विश्वमा धेरै मानिसको ज्यान लिने प्रमुख रोग हो । त्यसकारण यसप्रति सावधान हुनैपर्छ ।

प्रायः गम्भीर अवस्थामा पुग्नुभन्दा अगाडि नै आफुलाई मुटुरोग रहेको कुरा थाहा पाउन सकिन्छ, केही लक्षणहरुको आधारमा । यदि त्यस्ता लक्षणहरु देखिए र उपचार तर्फ लागियो भने मुटुरोगबाट ज्यान गुमाउनुपर्ने जोखिम घट्ने विज्ञहरु बताउँछन् ।

तर मुटुरोगको प्रारम्भिक अवस्थामा उपचार नगर्ने र रोग छिप्पिँदै गएपछि भने त्यसको उपचार पनि कठीन र बढि महंगो समेत हुन्छ । त्यसरी कतै आफुलाई पनि मुटुरोग पो छ की ? भनेर सचेत बन्नुपर्छ ।

यी लक्षणहरु देखिएमा सचेत हुनुहोस् की तपाइँलाई पनि मुटुको रोग सुरु भैसकेको हुनसक्छ -

१. छाति दुख्ने, ढक्क फुल्ने वा भारी हुने- छातिमा बेचैनी हुने वा भारीपन महसुस हुनु हृदयाघातको मुख्य सूचकका रुपमा लिइन्छ । त्यसैले यदि तपाइँलाई यस्तो भैरहन्छ भने त्यसलाई हल्का रुपमा नलिनुस् । तत्कालै अस्पतालमा गएर जँचाइहाल्नुस् ।

२.सास फेर्न कठिनाइ हुने- यदि तपाइँलाई स्वास लिन बल लगाउनु पर्छ वा केही बेर हिँड्दैमा अप्ठेरो भएर गल्नुहुन्छ भने पनि त्यो मुटुरोगको लक्षण हुनसक्छ ।

३. धेरै पसिना आउने- गर्मी महिनामा तथा धेरै परिश्रम गर्दा पसिना आउनु स्वभाविकै हो । तर यदि चिसो याममा तथा बसेको बस्इै पनि पसिना तरतरी आउँछ भने त्यो मुटुरोगको लक्षण हुनसक्छ । त्यसैले तुरुन्तै जँचाइहाल्नुस् ।

४. वाकवाक लागिरहने- नियमित रुपमा वाकवाक लाग्नु पनि हृदयरोगको लक्षण हुनसक्छ । मुटुको धमनी अवरुद्ध भएको कारणले यस्तो भएको हुनसक्छ । वाकवाक लाग्ने, निकै थकाइ तथा कमजोरी महसुस हुने र तनाव महसूस हुने जस्ता लक्षण खतराका सूचक हुनसक्छन् ।

५.हात झझमाउने तथा चेतनावीहिन बन्ने- यदि तपाइँको हात बारम्बार झमझमाउँछ वा चिमोटेको समेत थाहा नपाउने गरि सिथिल हुन्छ भने सचेत बन्नुहोस् । यसो हुनु भनेको मुटुरोग तथा प्यारालाइसिस लगायतको लक्षण हुनसक्छ ।

६.सरीरको कुनै अंगले काम गर्न छाड्नु- यदि सरीरको कुनै भाग जस्तै काँध, हात वा गर्धनको पछिल्लो भागले काम गर्न छाड्यो वा छुँदा पनि थाहा हुँदैन भने हेलचेक्राई नगर्नुहोस् । त्यो मुटुरोगको लक्षण हनुसक्छ ।

७. बोल्दा कठिनाइ हुने, जिब्रो लरबरिने- यदि तपाइँलाई बोल्दाखेरि अप्ठेरो महसुस हुन्छ, स्पष्ट उच्चारण गर्न सक्नुहुन्न वा जिब्रो लरबरिन्छ भने त्यो मुटुरोगको लक्षण हुनसक्छ ।

एजेन्सीको सहयोगमा -

जसलाई डाक्टरले भोकै मार्न भनेका थिए आमाले नमान्दा विश्वकै चर्चित भए (फोटोफिचर सहित) - onlinekhabar





जन्मिँदै उनको घाँटी भाँच्चिएको जस्तो गरि टाउको पिठ्युँतर्फ पल्टिएर लत्रिएको थियो । हातखुट्टा पनि कामै नलाग्ने जस्ता थिए । यस्तो बच्चालाई बँचाउनु भन्दा भोकै राखेर मर्न दिनु राम्रो हुन्छ भनेर डाक्टरहरुले उनकी आमालाई सुझाए ।

तर, आफ्नो कोखको सन्तानलाई भोकै मार्न कुन आमाको मनले दिन्छ र ? त्यसैले उनले डाक्टरको त्यस्तो पापी सुझावलाई मानिनन् र आफ्नो अपाङ्ग छोराको पालनपोषण गरिन् ।

अहिले तिनै अपांग व्यक्ति क्लाउडियो भिरा डी ओलिभिरा ३७ वर्षका भएका छन् । ब्राजिलको मोन्टे सान्टोका बासिन्दा क्लाउडियोको अवस्था अहिलेपनि उस्तै छ । अर्थात् उनको टाउको पिठ्यँतिरै पल्टिएको छ र खुट्टाले काम गर्दैनन् ।

तर, उनले आफुलाई भोकै राखेर मार्न सल्लाह दिने डाक्टरलाई मात्र होइन अपाङ्गले केही गर्न सक्दैनन् भनेर हेप्ने जमातलाई गतिलै झापड दिएका छन् । यस्तो अपांगताका बाबजुत उनी अहिले लेखापालको जागिर गर्छन् र निकै उत्प्रेरणादायी सार्वजनिक वक्ता समेत बनेका छन् ।

‘म बच्चादेखि आफुलाई सधै काममा व्यस्त राख्न चाहन्थेँ, मलाई अरु मानिसमा पूरै निर्भर हुन मन पर्दैन’ उनी भन्छन्, ‘मैले केही लेखापालको काम गर्छु, साथै अनुसन्धान र परामर्शको काम पनि गर्छु ।’
‘मैले टेलिभिजन खोल्न, मोबाइल फोन उठाउन, रेडियो खोल्न, इन्टरनेट प्रयोग गर्न आफै सक्छु र यी कामका लागि कसैको सहयोग माग्नुपर्दैन ।’



कम्प्युटरमा केही कुरा टाइप गर्नुपर्दा उनले मुखमा कलम राखेर किबोर्ड दबाउँछन् । आफ्नो ओँठले मोबाइल तथा कम्प्युटरको माउस चलाउँछन् । उनका लागि भनेर बनाइएका विशेष खालका जुत्ताको सहयोगमा यताउति डुल्छन् पनि ।

उनको स्वतन्त्रताकै कारणले उनले विद्यालयमा पनि सफलता हात पारे र फेरिया डी सान्ता स्टेट युनिभर्सिटीमा लेखापालको जागिर पनि पाए ।

उनी जन्मँदै गम्भीर अपांग देखेपछि डाक्टरहरुले उनकी आमालाई यो बच्चा भविष्यमा बाँच्न सक्दैन र काम लाग्दैन भनेका थिए ।

क्लाउडियोकी आमा मारिया जोस भन्छिन्, ‘मानिसहरुले बच्चाले सास फेर्नै सक्दैन त्यसैले मर्दैछ भन्थे । कतिले त यो बच्चालाई कति खुवाउँछ्यौ यो मरिसक्यो पनि भन्थे ।’



तर, जन्मिँदै मरेको ठानिएका तिनै क्लाउडियोले अहिले घरमा खुसी ल्याएका छन् । मारियाका अरु सन्तानजस्तै कामकाजी छन् उनी । घरमा पहिले देखि नै क्लाउडियोलाई उनले चाहेको कुरा गर्न दिइएको, स्वतन्त्र छाडिएको र बन्धनमा नपारिएको बताउँछिन् उनकी आमा । सोही कारणले गर्दा क्लाउडियो आत्मविश्वासी बने । उनी आफु त्यस्तो अपाङ्ग हुनुका बाबजुत पनि सहरमा डुल्न धक मान्दैनन् । गाउँछन् र नाच्छन् पनि ।

आठ वर्षको हुँदादेखि क्लाउडियो आफ्नो घुँडाको सहायताले हिँड्न थाले । त्यसअघि उनलाई बोकेरै यताउति लग्नुपथ्र्योँ । उनी आफै हिड्न थालेपनि लडेर घाइते नहोस् भनेर परिवारले उनलाई अर्को तलामा सार्नुपर्यो । उनका लागि सहज होस् र आफै गर्न सकुन् भनेर बेड, प्लग, लाइट तथा अन्य सामान पनि होँचोमा राखियो । उनको जिउको असाधारण आकारका कारण हि्वलचेयर समेत उनलाई काम लाग्दैनथ्यो । उनले आफ्नो त्यस्तो अवस्था भएपनि आमासँग आफुलाई स्कुल पठाउन भने । उनले स्कुल गएर अरु बच्चाबच्चीसँगै पढ्न सिके ।



क्लाउडियो आखिर कुन रोगका कारण त्यस्तो विकृत शारीरिक अवस्थामा जन्मिएका रहेछन् भन्ने कुरा डाक्टरहरुले हालैमात्र पत्ता लगाएका छन् । उनको त्यो रोगलाई कन्जेनिटल आर्थोगि्रपोसिस भनिएको छ । यो हाडका जोर्नीको रोग हो । जसका कारण उनको खुट्टा तथा हातका जोर्नीमा धेरै खुम्च्याई छ र सोही कारण हातखुट्टा सिधा हुँदैनन् । उनको घाँटीको हड्डीमा पनि त्यस्तै समस्या छ ।

‘मैले आफ्नो जिन्दगीभर आफ्नो सरीरलाई विश्वसँग अनुकुलित गराउन सकेँ । अहिले मैले आफुलाई अरुभन्दा फरक ठान्दिन । म साधारण मान्छे हुँ’, क्लाउडियो भन्छन् ।
‘आफ्नो टाउको उल्टो भएपनि मैले वस्तुहरुलाई उल्टो देख्दिन । सार्वजनिक रुपमा भाषण गर्नुपर्दा मैले भन्ने महत्वपूर्ण कुरा यहीँ हो ।’
आफु व्यवसायिक व्यक्ति बनेको, अन्तराष्ट्रिय सार्वजनिक वक्ता बनेको र विश्व भरबाट निमन्त्रणा पाइरहेको कुरा अरुलाई सुनाउँन पाउँदा उनी गौरवान्वित हुन्छन् ।

-डेलीमेलबाट अनुवादित