भाइ गणेश थापाको नजरमा दाइ कमल थापा
परिवारका पनि नेता
कमलदाइको
बाल्यकाल कमैमात्र सम्झना छ । उहाँ हामी तीन दाजु–भाइभन्दा अलि फरक
देखिनुहुन्थ्यो । साथीभाइसँग नाटक, फुटबल खेल्ने, गीत लेख्ने, कविता भन्ने,
कलाकारिता

गर्ने र ठट्टा गर्ने बानी उहाँको थियो । सानै उमेरदेखि लिडरसिप गर्ने खुबी थियो ।
उहाँले १३ वर्षको उमेरमै एसएलसी पास गर्नुभयो । १७ वर्षमा उहाँ
युनिभर्सिटीमा ‘ज्वाइन’ हुनुभएको थियो । युनिभर्सिटी प्रवेश गरेकै वर्ष
उहाँ विद्यार्थी मण्डलको सभापति हुनुभयो ।
हाम्रो बुवा आर्मीमा हुनुहुन्थ्यो । एक समय तीनै दाजु–भाइ आर्मीमै
गइसकेका थियौँ । ठूलो दाजु नेत्र मात्र सफल हुनुभयो । अहिले उहाँ आर्मीका
सेकेन्डम्यान हुनुहुन्छ । कमलदाइले उमेरका कारण आर्मीमा निरन्तरता दिन
सक्नुभएन । मेरोचाहिँ के–के भयो । अक्सर बुवाले परिवारमा जहाँ गए पनि
नम्बर–वान भएर निस्किनुपर्छ भन्नुहुन्थ्यो । आज हामी तीन दाजुभाइ आ–आफ्नो
स्थानमा नम्बर एक पोजिसनमै छौँभन्दा फरक नपर्ला ।
तीन दाजुभाइ अलग भइसकेका छौँ । तर, हामीबीचको सम्बन्ध अत्यन्तै सुमधुर छ । कमलदाइलाई अभिभावक भनुँ वा लिडर, मेरो नजरमा एउटै हो ।
सानैदेखि दाइसँग ‘लिडरसिप क्वालिटी’ थियो । आज परिवार बलियो र युनाइटेड
हुनुमा उहाँको भूमिका महत्त्वपूर्ण रहेको मान्छु । अप्ठेरो परेका वेला
हामीसँगै हुन्छौँ । नेत्रदाइ जेठो भए पनि माहिला भाइको कुरा मान्नुहुन्छ ।
तीनजना आ–आफ्नो क्षेत्रमा व्यस्त भएकाले खासै भेट हुँदैन । एकै
कम्पाउन्डभित्र बस्ने भए पनि कमलदाइसँग मेरो त्यति भेट हँुदैन । तर, सँगै
भएको वेला फुटबलदेखि मुलुकको राजनीतिसम्मका गहकिलो गफ हुन्

छ ।
मैदानमा चड्कन खाएँ
दुवैले सँगै फुटबल खेल्यौँ ।
नेपालमा त्यति वेला फुटबलको राष्ट्रिय टिम थिएन । काठमाडौं–११ भन्ने चलन
थियो । यही काठमाडौं–११ को नामबाट मुलुकको प्रतिनिधित्व गरी
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेलेका थियौँ । मैले लामो समय दाइसँग
फुटबल खेल्न अवसर पाइनँ । दाइ डिफेन्समा, म स्ट्राइकरबाट खेल्थेँ । दाइ
डटेर फुटबल खेल्नुहुन्थ्यो ।
डिफेन्सबाट आएर हेड पनि गर्न खप्पिस । त्यस
वेला अभ्यास गर्ने समय नपाइने । एकदम डेडिकेटेड भएर खेल्नुहुन्थ्यो ।
कहिलेकाहीँ मैदानमै मलाई गाली पनि गर्नुहुन्थ्यो ।
ज्ञानेश्वरमा बिहानै फुटबल म्याच थियो । घरबाट टाढा हुने भएकाले साथीको
घरमा रात बिताउन गएँ । म रातमा बाहिर बस्दा घरमा भने ठूलो हंगामा
मच्चिइसकेको रहेछ । घरमा म कहाँ गएँ, के गरेँ भनी खोजी भइरहेको रहेछ ।
नेत्र र कमलदाइ मेरो खोजीमा निस्किएछन् । वास्तवमा कमलदाइलाई थाहा थियो, यो
गणेश ज्ञानेश्वरमै हुन्छ । बिहान सीधै ज्ञानेश्वरको मैदानमा फुटबल
खेलिरहेकै स्थानमा आएर कमलदाइले तारा देख्ने गरी चड्कन दिए । त्यो सानो
वेलामा खाएको चड्कन अहिले पनि याद आउने गर्छ । उहाँले छिटै फुटबल छाड्नुभयो
। सन् १९८१ मा उहाँ फुटबल संघको अध्यक्ष पनि हुनुभयो । २६ वर्षको उमेरमै
एन्फा अध्यक्ष भएकोजस्तो लाग्छ ।
कार्यकर्तालाई चिया पनि नखुवाउने
मैले अक्सर
देख्छु । अन्य राजनीतिक दलका नेताले आफ्नो कार्यकर्तालाई खुसी पार्न र नजिक
राख्न केही न केही गरेकै हुन्छन् । कतिपय दलले जिल्लाबाट काठमाडौंमा
ल्याउँदा बसदेखि होटल खर्चसम्म व्यहोर्ने गरेका छन् । कमलदाइको कुरा भने
फरक छ । अहिलेसम्म दाइले घरमा कुनै पनि कार्यकर्तालाई चिया खुवाएको थाहा
छैन । घरमा आएका कार्यकर्ता पनि काम सकेपछि निस्किहाल्छन् । कमलदाइको घरमा
कार्यकर्ताले एक कप पनि चिया खान पाए भने चर्चाको विषय बन्न सक्छ । त्यो
कार्यकर्ताले आफूलाई भाग्यमानी सम्झे हुन्छ ।
रिसाएपछि आँखा नदेख्ने
नरम र सरल भाषामा
बोल्नुहुन्छ । चित्त नबुझेको अवस्थामा ‘डिप्लोम्याटिक’ तरिकाले ह्यान्डिल
गर्नुहुन्छ । कहिलेकाहीँ त्यस्तो अवस्थामा ‘एभोइड’ पनि गर्नुहुन्छ । तर,
सबैभन्दा नरामो पक्ष भनेको रिस । कहिलेकाहीँ सन्केर रिसाउने बानी असाध्यै
नराम्रो लाग्छ । अलिकति रिसाउँदा त ठीकै हो, तर रिसको सीमा नै हँुदैन । अझ
मुढ खराब हुँदा अब खत्तम भनी हामी सोच्छौँ ।
मन नलागेका वेला र मुढ राम्रो नहुँदा केही मतलब राख्नुहुन्न । अगाडि
जे–जुकै समस्या होस्, चासो नै दिनुहुन्न । रिसाउँदा कसैलाई टाइम पनि
दिनुहुन्न ।
समाजमा बस्दा व्यावहारिक हुनुपर्छ जस्तो लाग्छ, तर उहाँको
रिसाउने बानी अव्यावहारिक छ । म सोच्ने गर्छु दाइ सामाजिक नभएको हो कि ?
कता–कता अहंजस्तो पनि देखिन्छ । तर, अहिले धेरै परिवर्तन आएको छ ।
पहिला–पहिला त व्यापारी भनेपछि भेट्दै नभेट्ने । कतिपय वेला दाइलाई
व्यापारीसँग भेट्दा के हुन्छ भन्ने गर्छु । दाइलाई यस्तो लाग्ने रहेछ, सबै
व्यापारीहरू फटाहा हुन्छन् । त्यस्ता व्यक्तिसँग भेट्दा के फाइदा भन्ने
सोच्नुहुन्छ । यस्तो अवस्थामा उहाँलाई सबै व्यापारी फटाहा हँुदैनन् भनी
सुझाब दिन्छु । अहिले भने उहाँलाई बढी परिपक्व पाएको छु । मिडियामा नराम्रो
कुरा आउँदा पनि ‘रियाक्सन’ गर्नुहुन्न । किन लेखिस् भन्नुहुन्न । त्यसलाई
सहज रूपमा लिने गरेको देख्छु ।
खानाको सोखिन, सामान्य पहिरन
परिवारमा दाइ
खानाको सबैभन्दा सोखिन हुनुहुन्छ । खाना यही र त्यही हुनुपर्छ भन्ने छैन ।
‘इन्जोय’ गरी खानुहुन्छ र त्यसको बयान गर्नुहुन्छ । बरु कहिलेकाहीँ हामी
मीठो छैन भन्छौँ, तर दाइले आज यो मीठो भएन भनेको सुन्नुपरेको छैन ।
परिवारमा उहाँलाई खाना खुवाउन पाउँदा अन्य सदस्य खुसी हुन्छन् । तर, उहाँले
जिन्दगी भर जाँड, रक्सी, चुरोट खाएको थाहा छैन ।
लुगा लगाउनेमा त्यति सोखिन हुनुहुन्न । बढीजसो नेपाली पोसाकमै देख्छु ।
कहिलेकाहीँ बाहिर जाँदा क्याजुएल टिसर्ट पनि लगाउनुहुन्छ । मलाई थाहा
भएअनुसार लुगामा त्यति धेरै खर्च गर्नुहुन्न । सामान्य नै खर्च हुन्छ ।
‘ब्रान्ड कन्सिअस’ देख्दिनँ । कार्यक्रमअनुसार लुगा लगाउनुहुन्छ ।
६:३० बजे घरमै
साँझ कुनै कार्यक्रम नभएको
अवस्थामा उहाँ ९९ प्रतिशत घरमै आउनुहुन्छ । घरमा आउन साँझको ६.३० बजेभन्दा
अबेर गरेको मलाई याद छैन । शान्त स्वभाव भएकाले घर आएपछि पनि उहाँ हो–हल्ला
गर्नुहुन्न । किताब पढ्ने र अध्ययनमा लाग्नुहुन्छ । चाँडै घर आउँदा पनि
अहिलेसम्म ख्यालठट्टा गरेको देखेको छैन । सधैँ गम्भीर गएर बस्नुहुन्छ ।
हुन त जमानाका फुटबल खेलाडी भएर होला, फिटनेसमा ध्यान राख्नुहुन्छ ।
अहिलेका नेतामा दाइजतिको ‘फिटनेस कन्सिअस’ भएको नेता पाउदिनँ । पछिल्लो समय
लन टेनिसमा व्यस्त रहनुहुन्छ । काठमाडौंदेखि नयाँदिल्लीसम्मको टेनिस
प्रतियोगितामा भाग लिनुभएको छ । राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्मको
प्रतियोगितामा उहाँको फिटनेस समान छ । फिटनेसकै कारण एकै दिनमा नेपालका एक
नम्बर खेलाडी र ३५ वर्षमाथिको एक नम्बर खेलाडीलाई पराजित गर्नुभयो । भर्खर
टेनिस खेलको वेला यो कीर्तिमान राख्नुभएको हो । यो सबै फिटनेसकै कारण सम्भव
भएको हो ।
फुटबलको उदाहरण दिएँ
मैले पनि दाइलाई सुझाव
दिने गरेको छु । जस्तो, ०६२–६३ कै उदाहरण लिन सकिन्छ । मानिस उहाँलाई
दरबारनिकट ठान्छन् । तर, मलाई त्यस्तो लाग्दैन । दरबारप्रति आस्थाचाहिँ हो ।
पढ्दा नै यो मुलुकमा राजा भयो भने राष्ट्र रहन्छ नत्र रहँदैन भन्ने
विश्वास थियो । राजा रहे भने नेपालमा एकता हुन्छ भन्ने विश्वास हो । राजा
ज्ञानेन्द्रले ‘टेकओभर’ गर्दा दाइ पहिलो च्वाइसमा हुनुहुन्थेन । दर्शन
भेटसम्म पाउनुभएन । जब लास्टमा ठूलो क्राइसिस भयो, त्यसपछि मात्र दरबारले
दाइलाई सम्झियो । अन्तिम समय मात्र राजा ज्ञानेन्द्रले गृहमन्त्रीको अफर
गर्नुभएको थियो ।
वास्तवमा त्यस वेलाको परिस्थिति अनियन्त्रित नै थियो । मैले त्यस वेला
अब मुलुकको अवस्था दरबार र तपाईंको हातबाट ‘आउट अफ कन्ट्रोल’ भइसक्यो,
यस्तो अवस्थामा राजालाई साथ दिएर केही पनि हँुदैन भनेर सम्झाएको थिएँ । अझ
दाइलाई सम्झाउन मैले फुटबलको उदाहरण पनि दिएको थिएँ । खेलमा ८५ मिनेट
गइसक्यो र टोली ६–० ले हारिराखेको छ । यस्तो दयनीय अवस्थामा अब म्याराडोना,
पेलेजस्ता नामी खेलाडी आए पनि अन्तिम पाँच मिनेटमा ७–६ को नतिजा ल्याउन
सम्भव छैन । प्रावधिक रूपमा पनि त्यो सम्भव हुँदैन । यस्तो जटिल अवस्थामा
मौका पाउँदा दाइले केही गर्न सक्नुहुन्न भनी सुझाव दिएको थिएँ । यो कुरा
सुनेपछि उहाँले ठीकै हो भन्नुभयो । तर, राजासँग हुन्छ भनेर आइसक्नुभएको
रहेछ । राजाले आग्रह गरेपछि नाइँ भन्न सक्नुभएन ।
त्यस वेलासम्म पनि केही बिग्रेको छैन, जान हुन्न भनेको थिएँ । मलाई
अहिले लाग्छ, त्यस वेला उहाँले जुन किसिमको मौका पाउनुभएको थियो, त्यो
वास्तवमा ढिला भइसकेको थियो । उहाँजस्तो मान्छेलाई सुरुमा मौका दिएको भए
आजको दिन नआउन सक्थ्यो । योभन्दा अच्चम होला, दाइ प्रजातन्त्रवादी र
डेमोक्रयाटिक मान्छे । प्रजातन्त्रवादीलाई टाढा जान दिनुहुन्न भन्ने
सिद्धान्त थियो । आन्दोलनका वेला राजा ज्ञानेन्द्रसँग बारम्बार छलफल
गर्नुहुन्थ्यो । जनताको भावनाबारे राजालाई स्पष्ट कुरा राख्नुहुन्थ्यो ।
राजाबाट पनि सोही भावनाका साथ राजसंस्था जनतालाई बुझाइयो ।
दरबारसँग मतान्तर
दाइले आफ्नो सिद्धान्त
अहिलेसम्म त्यागेकोजस्तो लाग्दैन । हिजो शाहीकालमा र पञ्चायती व्यवस्थामा
पनि राजासँग काम गर्नुभयो । धेरैले राजावादी र दरबारको एकदम विश्वासिला
व्यक्ति भन्छन् । तर, शाही कालमा गृहमन्त्री हुँदा धेरै पक्षमा दरबारसँग
उहाँको मतान्तर थियो । त्यस वेला मानवीय क्षति नहोस् भन्ने चिन्ता थियो ।
यस्तै, विषयमा दरबारका मान्छेसँग मतान्तर हुन्थ्यो । उहाँले दरबारका सचिवले
भनेको कुरा मान्नुभएन ।
त्यस वेला दरबारवरिपरिका मान्छे उहाँका विरोधी थिए । दरबारभित्रको खराब र
स्वार्थपूर्ण राजनीति दाइलाई पटक्कै मन पर्दैनथ्यो । आफ्नो काम नगर्ने
भएपछि दरबारका पदाधिकारी विरोधी भए ।
अझ राजाले भनेको कुरा गलत वा अव्यावहारिक लागेमा समेत दोहोरो कुरा
गर्नुहुन्थ्यो । त्यो समयमा राजाले बोलेको कुरा कसैले काट्ने हिम्मत
गर्दैनथे । राजाको भनाइमा वादविवाद गर्नु भनेको दरबारबाट सीधै बाहिरिनुसरह
थियो । तर, दाइले अव्यावहारिक कुरामा राजासँग समेत सम्झौता गर्नुभएन ।
गिरिजाबाबुका लागि भाषण
सानैदेखि दाइ लेखनमा
अति नै पोख्त हुनुहुन्थ्यो । बोल्नमा समेत उहाँलाई कसैले जित्न नसक्ने ।
नेपाली र अंग्रेजी दुवैमा दक्षता थियो । सायद यस्ता क्षमतावान् नेता
नेपालमा कमै होलान् ।
योभन्दा कसैलाई पत्यार लाग्दैन होला । गिरिजाबावु प्रधानमन्त्री हुँदा
उहाँका कतिपय भाषण कमलदाइले नै लेख्नुभएको मलाई थाहा छ । कहिलेकाहीँ
गिरिजाबाबुको भाषणसमेत करेक्सन गर्नुहुन्थ्यो । एकचोटि गिरिजाबाबुले
प्रभावित हुँदै भन्नुभयो, ‘कमलजी गलत पार्टीमा पर्नुभयो, तपाईंजस्तो
व्यक्तित्व भएको मान्छे हामीकहाँ हुनुपर्ने थियो ।’
सतीले सरापेको देश
नेपाली जनताले उहाँलाई चिन्न
नसक्दा भित्रदेखि दु:ख लाग्छ । कहिलेकाहीँ ‘सतीले सरापेको देश’ भन्ने
सोच्छु । सायद राजा र दरबारसँग काम गरेकाले होला, अहिलेसम्म मान–सम्मान
पाउन नसकेको । अन्य पार्टीका नेता भए, उहाँको अवस्था फरक हुन्थ्यो होला ।
शाहीकालमा गृहमन्त्री हुँदा प्रतिगामी भनियो । त्यस वेला परिस्थितिले
गृहमन्त्री बनायो । गृहमन्त्री हुँदैमा प्रतिगामी भन्न मिल्छ ?
इमेज क्रान्तिकारी नभएर पनि होला, सुरुदेखिकै पृष्ठभूमि पञ्चायती रह्यो ।
आन्दोलन गरी राजनीतिमा आएको व्यक्ति होइन उहाँ । तर, एक असल नेतामा
हुनुपर्ने सबै गुण छ । जो व्यक्तिलाई मुलुकले समेत चिन्न सकेन । सही
मूल्यांकन नहुँदा कहिलेकाहीँ हामी भन्ने गर्छौं, ‘बरु तिमी एउटा किताबै
लेखी राष्ट्रवादी भएर बस । राष्ट्र जोगाउनुपर्छ भन्ने मान्यता किताब लेखेरै
प्रचार गर्दा राम्रो हुन्छ ।’
राष्ट्रवादी र देशको चिन्ता गर्ने मान्छेको यस्तै हुने रहेछ ।
राष्ट्रियताको पक्षमा कुनै ‘कम्प्रोमाइज’ गर्नुभएन । राष्ट्रवादी र
इमानदारिता हुनुमा अपराधजस्तो लाग्छ । यहाँ ‘ब्रह्मलुट’ गरेर गएका नेतालाई
पनि राष्ट्रवादी भनेको सुनेको छु । उहाँप्रति मिडिया पनि पूर्वाग्रही
देखिन्छन् । मिडियाले इमानदारितासाथ अनुसन्धान गरे, उहाँजतिको राष्ट्रवादी
नेता पाउनेछैनन् । यो पक्षमा म घमण्ड गर्न सक्छु । उहाँले मुलुक हाँक्ने
अवसर पाएको खण्डमा नेपालको आमूल परिवर्तन हुने देख्छु । मुलुकको कुनै पनि
व्यक्तिसँग यस सम्बन्धमा म टेबल–टक गर्न सक्छु ।
चाँडै सडकमा
यति ठूलो परिवर्तन भइसक्यो ।
मुलुक गणतन्त्रमय बनिसकेको छ । यो संस्थागत रूपमा अगाडि बढ्ने प्रक्रियामा छ
। यस्तो माहोलमा दाइले चाँडै सडकमा आएर भाषण गर्न सक्नुहुन्छ जस्तो लागेको
थिएन । स्पष्ट भिजन र आफ्नो अडानमा अडिग रहने भएकाले छिटै सडकमा
ओर्लिनुभयो । राजतन्त्र पुनस्र्थापनाको एजेन्डाअगाडि बढाउनुभएको छ । राजाले
केही दिन्छन् भनेर होइन । एउटा विश्वास हो उहाँको, राजतन्त्र रहे नेपाल
रहन्छ । राजा ल्याए के–के न हुन्छ भन्ने होइन ।
अक्सर हामीलाई भन्नुहुन्छ, ‘नेपालमा मैले उठाएको एजेन्डा कार्यान्वयन
भए, यहाँ सधैँ शान्ति छाउनेछ, जनजातिबीच झगडा हँुदैन, विदेशी हस्तक्षेप
हुँदैन ।’ आज कतिपय स्थानमा उहाँको आत्मविश्वासको तारिफ पनि भइराखेको छ ।
बिस्तारै सबैले थाहा पाउनेछन्, किन कमल थापा आफ्नो अडानमा सही छन् भनेर ।
अहिले उहाँको भावना र मिसन धेरैलाई चित्त बुझेको छ । उहाँको लक्ष्य हासिल
होला वा नहोला भविष्यले बताउनेछ ।
प्रस्तुति :
श्रीलोचन राजोपाध्यायतस्बिर :
सतिश पोखरेल