Sunday, June 9, 2013

नेपाली पश्मिना बेचेर अर्बपती बनेका राज कुन्द्रा विवादमा, १८ वर्षको उमेरबाट यसरी कमाए पैसा ? - bizmandu

आईपिएल फिक्सिङ्ग विवादको घेरामा रहेका राज कुन्द्राको जीवनकहानी कुनै परिको कथाभन्दा कम छैन्, जम्मा १८ वर्षको उमेरमा व्यापारमा प्रवेश गरेका कुन्द्रा अहिले अर्बपती छन्, बेलायत, दुवई, भारत, अफ्रिकासम्म व्यापार विस्तार गरेका छन्, तिनै कुन्द्राको व्यवसायिक जीवन भने नेपालबाट सुरु भएको थियो । कुन्द्राका पिता लण्डनमा बसका सहचालक थिए, उनले एउटा सानो पसलको सुरुवात गरे, आमाले त्यही पसलमा सहायकको रुपमा काम गरिन् । कुन्द्रा आफैले १२ कक्षाभन्दा बढी पढ्ेनन् । कक्षाबाट ‘ड्रपआउट’ भएपछि सन् १९९० मा उनी दुवई र नेपालको यात्रामा आए ।


उनको वेवसाइटलाई आधार मान्ने हो भने, कुन्द्राले नेपालमा पश्मिना सलको ‘डिस्कभरी’ गरे, उनले केही थान पश्मिना लिएर लण्डन गए, त्यहाँका ठूला स्टोरमा पश्मिनाको स्याम्पल देखाए । ठूला स्टोरबाट पश्मिनाको माग बढ्न थाल्यो, उनको लण्डन–नेपाल यात्रा अब व्यवसायिक बन्यो ।
ठीक त्यही बेला बेलायतको राजपरिवारमा पश्मिनाको क्रेज देखिन थाल्यो, पश्मिना सल ओडेका बेलयाती राजपरिवारको तस्वीरहरु स्थानीय पत्रिकामा छापिन थाल्यो । नेपाली पश्मिना हाते तानबाट मेशिनरी उत्पादन बन्न थाले । युरोपमा बढ्दो क्रेजले नेपालमा पश्मिनाको व्यापार दिन दुई गुणा, रात चार गुणा हुन थाल्यो ।
स्याम्पलका लागि केही पिस पश्मिना लगेका राजले अब नेपालबाट कन्टेनरका कन्टेनर पश्मिना मगाउन थाले, उनले लाख होइन्, करोड होइन, अर्बौं रुपैयाँ कमाए । कुन्द्रा पश्मिनाको व्यापारसँगै हिराको व्यापारमा जोडिए, उनको कारोवार बेल्जियम पुग्यो, रुसमा विस्तार भयो ।
नेपालबाट पश्मिना खरिद गरेर बेलायतमा विक्री गर्ने कुन्द्रा एउटा यस्ता प्रवासी भारतीय बने जसले १८ वर्षको उमेरमा व्यापारमा प्रवेश गरेर र अर्को एक दशकमा भारतबाट लण्डन पुग्ने दुई सय धनीको सूचीमा नाम बनाए । सन् २००४मा बेलायतको ‘सक्सेस’ पत्रिकाले एसियाली मूलका सबैभन्दा धनीको १ सय ९८ औं स्थानमा उनको नाम राखेको थियो, त्यतिवेला २९ वर्षका राज धनीको सूचीमा सबैभन्दा युवा थिए ।
अहिले उनी दर्जन ठूला कम्पनीका मालिक बनेका छन्, उनको घरजग्गा कारोवार गर्ने गु्रपको डेभलपर्स कम्पनी छ, यो कम्पनी भारतका आठ ठूला शहरमा कारोवार गर्छ, उनको अर्को कम्पनी अश्विनी स्टिलले कवाडी सामानबाट स्टिल बनाउँछ । टिएमटि ग्लोबल कम्पनी सेयर बजारको मूल्य प्रक्षेपण गर्दछ ।
इसेन्सियल स्पोर्टस एण्ड मिडिया खेलसम्वन्धि वस्तुको उत्पादन र विक्रीमा संलग्न छ, आइकोनिक इन्भेष्टमेन्टले इक्विटी बजारमा निजी फण्ड ट्रेडिङ्गको काम गर्दछ । गोल्ड गेट ट्रेडिङ्ग दुवईमा आधारित व्यापार र लगानीसम्वन्धी कुन्द्राको कम्पनी हो । कुन्द्रा राजस्थान रोयल्स मात्र होइन सुपर फाइट लिगका समेत मालिक हुन् । यसबाहेक उनको दुवईस्थि बु्रज खालिफामा सम्पत्ती छ । लण्डन र मुम्बईमा बंगलाहरु छन्, उनी पछिल्लो तीन वर्षदेखि फिल्मकार अमिताभ बच्चनको छिमेकी बनेर समुद्री तटमा फर्किएको बंगलामा बस्छन् । कुनै बेला कुन्द्राको घरको इन्टेरियर सुसाने रोशनले गरेकी थिइन्, अहिले उनले त्यसका लागि कुन्द्रा एण्ड कुन्द्रा फर्म खोलेका छन् । तिव्र गतिका कारका सौखिन राजसँग लम्र्बोगिनी गाडी समेत छ ।

मैले यसरी नेपालबाट कमाएँ पैसाः राजको वेवसाइटबाट राखिएको जानकारी

तर तिनै कुन्द्रा अहिले इन्डियन प्रिमियर लिग(आइपिएल)मा सट्टा लगाएपछि विवादमा तानिउका छन् । कुन्द्रा बलिउड नायिका शिल्पा सेठ्ठीका पति हुन्, प्रहरीले उनको पासपोर्ट समेत जफत गरिसकेको छ । दिल्ली पुलिस प्रमुख निरज कुमारले कुन्द्रा र सेठ्ठी मिलेर आफ्नो टिमलाई नै सट्टेवाजीमा प्रयोग गरेको जानकारी दिएका छन् तर उनीहरु दुवैले यो आरोपको खण्डन गरिरहेका छन् ।
राजस्थान रोयल्सले कुन्द्रा दोषी भए उनको सेयर जफत गरेर उनीहरुलाई निष्कासन गरिने जानकारी दिइसकेको छ ।  सन् २००७ मा उनले पहिलो पत्नी कवितासँग डिभोर्स गरे, बेलायतको टेलिभिजन शो विगबद्ररमा भाग लिन गएकी सिल्पासँग कुन्द्राको त्यति वेलै भेट भयो । यो भेटले उनीहरुको सम्वन्धलाई जोड्यो । सन् २००९मा शिल्पा र कुन्द्रावीच विवाह भयो र उनीहरुले राजस्थान रोयल्सको ११ दशमलब ७ प्रतिशत हिस्सा किने । कुन्द्राको एक छोरा छन् भने उनले शिल्पा सेठ्ठी फाउन्डेसनबाट सामाजिक काम पनि गर्दै आएका छन् ।
कुन्द्राको वेभसाइट र अन्य अनलाईनको सहयोगमा

Friday, June 7, 2013

पूर्व सभासद्को हत्या यसरी भयो: - setopati

पूर्वसभासद् सदरुल मियाँ हकको हत्यामा संलग्न रहेको आरोपमा आज हककी पत्नी नुरजहाँलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष टोलीले कल्याणपुर गाविस–२ स्थित हकको घरबाट ५० वर्षीया नुरजहाँलाई पक्राउ गरेको हो।
 
यसअघि हिजो मात्र प्रहरीले हककी छोरी १९ वर्षीया रुवेदा खातुनलाई कल्याणपुर गाविस–२ स्थित घरबाट र हत्यामा प्रत्यक्ष संलग्न सिरहाको चतरी गाविस–६ घर भई लहान नगरपालिका–५ पानीट्याङ्की बस्ने ४० वर्षीय अब्दुल रउफलाई लहानबाट पक्राउ गरेको थियो।
 
सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजमा आज आयोजित पत्रकारसम्मेलनमा पूर्वसभासद् हकको हत्याको मुख्य योजनकारहरु पत्नी नुरजहाँ, छोरी रुवेदा र प्रत्यक्ष संलग्न रउफलाई पक्राउ गरी अनुसन्धान थालिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रहरीनायब महानिरीक्षक परशुराम खत्रीले जानकारी दिए ।
 
 हत्यामा संलग्न रुवेदाका प्रेमी लहान–५ का ३७ वर्षीय जमिरुल शेख र सिरहा चतरी गाविस–२ का ३२ वर्षीय एनुल शेख भने फरार रहेका छन्। 
 
रुवेदा र जमिरको प्रेमसम्बन्धमा आमा नुरजहाँको सहमति रहे पनि बुबा हकको सहमति नभएपछि प्रेममा बाधक बनेको ठानेर दुवैले मिली हकको हत्या गरेको अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ।
 
प्रहरीले बरामद गरेको पूर्वसभासद् हकको मोबाइल, सिमकार्ड र पकेट चक्कुका आधारमा हत्यामा संलग्न व्यक्तिको पहिचान गर्न प्रहरी सफल भएको बताइएको छ। अभियुक्तहरुले पाँच महिनाअघि हकको हत्या गर्ने योजना बनाएको र घटनाभन्दा १५ दिनअघि योजनालाई तीव्रता दिएका थिए। योजनाअनुरुप छोरी रुवेदाले बुबाको हरेक गतिविधिबारे पे्रमी जमिरुललाई खबर गर्ने गरेको अनुसन्धानले देखाएको छ। 
 
अनुसन्धानका क्रममा जेठ ५ गते बिहान ६ बजे सिरहाको भगवानपुरको गम्हरियास्थित एनुलको ससुराली घरमा बनेको योजनअनुरुप जमिरुल, एनुल र रउफ अपराह्न कल्याणपुर आए पनि अनुकूलता नमिलेपछि राति १ बजे लहान फर्केका थिए। 
 
जेठ ६ गते राति पूर्वसभासद् हक पेट्रोलपम्पमा एक्लै सुतेको खबर छोरी रुवेदाबाट उनीहरुले पाएपछि राति ९ः३० बजे लहानबाट मोटरसाइकलमा आई पेट्रोलपम्पमा उनीहरुले हकको हत्या गरेको प्रहरीनायब महानिरीक्षक खत्रीले बताए ।
 
प्रहरीले आज कर्तव्यज्यान मुद्दा दर्ता गर्दै अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्ने जनाएको छ। 
 
संबिधान सभा  पूर्व सभासद सदरुल मिया हकको मिति २०७०/०२/०६ गते रातको समयमा कल्याणपुर २ स्थित निजको पेट्रोलपम्प हुमा आयल स्टोरको घरको माथिल्लो तलाको कोठामा धारिलो हतियार प्रयोग गरि हत्या गरिएको घटनाको अनुसन्धानको क्रममा केन्द्रिय अनुसन्धान ब्युरो, पुर्व क्षेत्रीय प्रहरी कार्यालय बिशेष टोली तथा जिल्ला प्रहरी कार्यालय सप्‍तरीबाट संयुक्त रुपमा टोलिले फेला पारेको घटनाको विवरण जस्ताको तस्तै ।
  • -   अन्दाजि १ बर्ष पहिला मोहम्मद जमिरुल शेख  मृतकको जेठी छोरीको उपचारको लागि मृतकको घरमा आए पश्चात माहिली छोरी  रुबेदा खातुनसँग सम्पर्कमा रहेको ।
  • -   मोहम्मद जमिरुल शेखसँग रुबेदा खातुनले घर परिवारको जानकारीबिना २०६९ फाल्गुण महिनामा रौतहटमा गइ निकाह गरेको ।
  • -   मृतक शदरुल हक उक्त कुरामा सहमत नभई रुबेदा खातुनको अन्य ब्यक्तिसँग बिवाह गर्ने कुरा गर्नुको साथै निज छोरीलाई गाली गर्ने गरेको ।
  • -   मृतकको श्रीमती नुरजहांसँग पनि आर्थिक कुरामा पनि बेला बेलामा झगडा हुने गरेको ।
  • -   करिब ५ महिना अगाडि देखि रुबेदा खातुन, नुरजहां र मोहम्मद जमिरुल शेख  मिलेर शदरुल मिया हक को हत्या गर्ने योजना बनाएको ।
  • -   हत्या योजना कार्बान्यन गर्नको लागि भारतबाट पेशेवर अपराधि ल्याउने जिम्मा मोहम्मद जमिरुल शेखले लिएको ।
  • -   करिब १५ दिन अगाडि श्रीमती नुरजहांसंग झगडा पश्चात मृतक घरमा नसुति नजिकै रहेको पेट्रोल पम्पमा सुत्ने गरेको ।
  • -   मृतकको गतिबिधि सम्बन्धमा रुबेदा खातुनले मोहम्मद जमिरुल शेख लाई जानकारी दिने गरेको ।
  • -   हत्याको करिब १५ दिन अगाडि देखि मोहम्मद जमिरुल शेखले एनुल शेख र अब्दुल रउफलाई सम्पर्क गरि हत्याको लागि सहमत गरेको ।
  • -   हत्याको करिब ५ दिन अगाडि देखि लगातार मोहम्मद जमिरुल शेख, एनुल शेख र अब्दुल रउफ कल्याणपुरमा आई निजको घर, पेट्रोल पम्प तथा इट्टा भट्टाको भौगोलिक अवस्थाको जानकारी लिएको ।
  • -   मिति २०६९/०२/०५ गते बिहान सिराहाको भगवानपुर गमरिया स्थित एनुल शेख बस्ने गरेको निजको ससुरालिको घरमा गै सोहि राति शदरुल मिया हकको हत्या गर्ने योजना गरेको ।
  • -   योजना मुताविक मोहम्मद जमिरुल शेख, एनुल शेख र अब्दुल रउफ बेलुकिको अन्दाजि ६ बजे कल्याणपुरमा आई बसेकोमा अनुकुल समय नमिलेपछि रातको अन्दाजि १ बजे लहान तर्फ फिर्ता भएको ।
  • -   पुन भोलिपल्ट मिति २०७०/०२/०६ गते शदरुल हक पेट्रोल पम्पमा सुत्नको लागि गएपछि रुबेदा खातुनले मोहम्मद जमिरुल शेखलाइ रातको अन्दाजि २१.१० बजे जानकारि दिएपश्चात निजहरु २१.३० बजे लहान बाट मोटरसाइकलमा कल्याणपुरमा आएको
  • -   रातको अन्दाजि २२.३० बजे निजहरु पेट्रोल पम्पमा प्रबेश गरि अन्दाजि ००.३० सम्ममा निज शदरुल मिया हकको हत्या गरेको
  • -   हत्या पश्चात शदरुल मिया हकको दुईवटै मोबाईल फोन लिएर निजहरु अन्दाजि ०१.४५ बजे लहान तर्फ फर्केको
  • -   अनुसन्धान पश्चात मिति २०७०/०२/२३ गते अब्दुल रउफलाई पक्राउ गरि निजको घरबाट मृतकको रातो रंगको Nokia c2 00 mobile बरामद गरिएको ।
  • -   मिति २०७०/०२/२३ गते नै मृतकको छोरी रुबेदा खातुनलाई पक्राउ गरिएको ।
  • -   मिति २०७०/०२/२४ गते मृतकको श्रीमती नुरजहांलाई पक्राउ गरिएको ।
 





कुकुर मरेपछि अब को सँग खेल्लान् अमिताभ ? - onlinekhabar

मानिस मानिससँग मात्र होइन जनावरसँग पनि खुबै रमाउँछ । बलिउड नायक अमिताभ बच्चनको साथी पनि मानिस नभई कुकुर थियो । घरमा रहदा अमिताभ कुकुरसँग धेरै पल बिताउँथे । घर भित्र अमिताभ उक्त कुकुरको खुबै स्याहार पनि गर्थे ।तर अब उनका लागि यो विगत भएको छ । भारतिय संचारमाध्यहरुका अनुसार अमिताभ बच्चनको निक्कै नजिकको साथी कुकुरको निधन भएपछि उनी चिन्तित छन् । आफ्नो ब्लगमा अमिताभले कुकरसँग रमाएका थुप्रै क्षणका तस्बिहरु प्रकाशित गर्दै आएका छन् । सात बर्षको यो कुकुरको नाम पिराना डेन ब्रीड के शेनाँक हो । शेनाँक बलिउडका थुप्रै कलाकारका लागि पनि पि्रय थियो ।
शेनाँकको निधन भएपछि अमिताभ स्तब्ध भएका छन् । अहिले बलिउडमा शेनाँकको निधनले चर्चा पाएको छ । अमिताभ बच्चनले छोरा अभिषेक बच्चनलाई सन् २००६ मा शेनाँक गिफ्ट दिएका थिए ।

Monday, June 3, 2013

गडबडी भएको छ भने छानविन गर्नुहोस : भट्टराई - अमित ढकाल - setopati

ग्लोबल टेन्डरमा पनि परम्परागत ठेक्कापट्टा (आइटमवाइज कन्ट्रयाक्ट) बाट काम गराउँदा कालीगण्डकी र मध्यमस्र्याङ्दीमा विद्युत प्राधिकरणले झण्डैं १० अर्ब रुपैयाँ भेरिएसन वापत भुक्तानी गर्नुपर्यो ।
त्यस्तो भुक्तानीबाट छुटकारा पाउन प्राधिकरण व्यवस्थापनले २०६४ सालमा उपाय निकाल्यो इपिसी (इञ्जिनियररिङ, प्रक्योरमेन्ट, कन्स्ट्रक्सन) मोडेलबाट आयोजना बनाउने । यसमा नक्साङ्कन, इस्टिमेट, खरिद, निर्माण सवै काम ठेकेदारकै हुन्थ्यो । भेरिएसनको गुञ्जायस रहँदैनथ्यो । समयसीमामा काम नसके ठकेदारले चर्को हर्जाना तिर्नुपथ्र्यो । 
 
इपिसी अनुसार नेपाल विद्युत प्राधिकरणले पहिलो काम थाल्यो, त्रिशुली थ्रि–ए आयोजनामा । चिनियाँ कम्पनी गेजुवाले ठेक्का पायो । ३५ महिनाको समय दिइयो । कम्पनीले दुई वर्ष नाघिसक्दापनि एक चौथाई पनि काम गर्न सकेन । अर्व भन्दा बढि हर्जाना तिर्नुपर्ने निश्चित जस्तै भयो । 
 
गेजुवाको प्रस्तावमा सरकार÷प्राधिकरणले भेरिएसन भन्दा एक कदम अघि बढेर आयोजना कार्यक्षेत्र ६० बाट ९० मेगावाटमा बढोत्तरी गरियो । गेजुवाले बिना टेन्डर काम पायो । पहिले १० अर्व रुपैयाँ कबोल गर्दा नपाएको ठेक्का अहिले १२ अर्वमा उसैले पायो ।
 
प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक अर्जुनकुमार कार्कीका अनुसार इपिसी ठेक्कमा संसारभरि परिकल्पना नै नगरिने स्कोप भेरिएसन भएको छ । सार्वजनिक खरिदको सर्वमान्य मापदण्ड, कानून, नियम अनुसार यस्तो काम सरासर अवैधानिक भएको उनको दावी छ ।   
 
पूर्व प्रधानमन्त्री वावुराम भट्टराईले ठेक्का तलमाथि गर्न सुरु गरेको अभियान वर्तमान ऊर्जा मन्त्री एवं प्राधिकरण सञ्चालक समिति अध्यक्ष उमाकान्त झाले पुरा गरिदिएका छन् । तिव्र विरोध र विवादबीच प्राधिकरण व्यवस्थापनले ६० मेगावाट बाट ९० मेगावाट पुर्याउने अन्तिम निर्णय गरेको छ, शुक्रबार ।
 
सबै पूर्व ऊर्जा र अर्थ मन्त्रीहरु तथा प्राधिकरणको विरोध रहँदा रहँदै भट्टराईले मन्त्रिपरिषद्बाट क्षमता विस्तारको नीतिगत निर्णय गरेरे बाटो खोलिदिएका थिए् । 
 
प्राधिकरणको उक्त निर्णय गैर कानुनी मात्र हैन नेपालको विकास इतिहासमा सम्भवतः सबैभन्दा ठुलो संस्थागत भ्रष्टाचार भएको दावी गर्नेहरु धेरै छन् । यसमा मुछिएका पूर्व प्रधानमन्त्री एवं ऊर्जा मन्त्री भट्टराईसँग सेतापाटीका लागि अमित ढकालले गरेको कुराकानी ।  
  
 
  • त्रिशुली थ्रि–ए क्षमता विस्तारमा तँपाइ पनि मुछिनुभयो नी ?

 
– आयोजनाको क्षमता बढाए पनि फरक पर्दैन । पर युनिट कस्ट सबैभन्दा सस्तो पर्छ । सबै योजनाहरुभन्दा सस्तो हुन्छ । १३ महिना ढिलो हुने मात्र हो । त्यसले खासै परक पर्दैन । अर्को पाँच वर्ष हामी विद्युत अभावमै हुन्छौं । फेरि यो आयोजना काठमाडौंबाट एकदमै नजिक भएकाले पनि राम्रो छ । यो देशको हितमा नै हुन्छ भन्ने ठानेर मैले हात हालेको हुँ । 
 
  • तपाई इञ्जिनियर पनि हुनुहुन्छ ६० मेगावाटको टेन्डर पाएकै भरमा उसलाई ९० मेगावाट दिन मिल्छ ? 

 
–  टेक्निकल्ली फिजिवल हुन्छ भनेर विज्ञहरुले भने । टेक्निकल एक्स्पर्टहरुले त्यो कुरा बढाए । मैले भने– राष्ट्रहितमा छैन भने त्यो गर्नै हुँदैन । 
उनीहरुले बताए– राष्ट्रहितमा छ । भार केन्द्रबाट नजिक छ । पाँच वर्षसम्म लोडसेडिङको अन्त्य नहुने स्थिती छ । खाली प्रक्रियागत हिसावले पहिले नै ९० नगरी ६० गरेकाले आशंका हुन सक्छ ।
 
  • आशंका हुँदाहँदै के आधारमा क्षमता विस्तारमा लाग्नुभयो त ?

 
– मुख्य कुरा पहिला ६० मेगावाटको जुन ठेक्का दिइसकेको छ त्यो परिवर्तन गर्दा त्यहाँ ह्याङकी प्याङकी हुन्छ कि भन्ने विषय थियो ।  त्यसमा सतर्क हुनुप¥यो । मैले भनिसकेको थिए । त्यो निर्णय त प्राधिकरणले गर्ने कुरा हो । सरकारले डिल गर्ने विषय हैन । 
 
त्यसलाई डिल गर्दा राष्ट्रलाई नोक्सान नपर्नेगरि गर्नु । कुनै पनि अपारदर्शी खालका हर्कत, लेनदेन नहुनेगरि सैद्वान्तिक स्विकृती मात्र हामीले दिएको हो । 
 
  • प्राधिकरण, ऊर्जा मन्त्रालयका धेरैजसो विज्ञहरुले अहिले भएको निर्णय राष्ट्रहितमा छैन भनिरहेका छन् ?

 
– विज्ञहरुले टेक्निकल्ली ठिक छैन भनेको भए मैले मान्ने कुरै आउँदैनथ्यो । म पनि अलिकति अडान लिने खालकै मान्छे हुँ । अहिलेपनि मानिसहरुले भन्दाखेरि ठेकेदारलाई जुन अलिकति समय दिइयो त्यसमा लेनदेन गरियो कि भन्ने हो भने कतिमा दिइयो मलाई केहि पनि थाहाँ छैन । ठेक्का कतिमा दिने भन्ने उतै (प्राधिकरण) बाट नेगोसिएट गरेर टुङ्याउने विषय हो ।
 
हामीले मन्त्रिपरिषद्मा निर्णय गरेर उतै (प्राधिकरण) पठाइदिएको । त्यो भन्दा बढि मेरो केहि पनि संलग्नता छैन । मैले प्रष्ट रुपमा नै टेक्निकल्ली राष्ट्रहितमा छ भनेर ओके गरेको हो । अहिले के कसो भयो । अस्तीमात्र त्यसलाई स्विकृती दिइयो (प्राधिकरण व्यवस्थापनले) भन्नेकुरा आयो । 
 
  • तपाई नै भन्नुहुन्छ यो मूलतः प्राधिकरणको सरोकार हो । त्यहाँ भएका दुईवटै अध्ययनले बढाउनुहुन्न भनेको  छ । प्राधिकरण बोर्डले पनि सोधेको छैन । मन्त्रिपरिषद्ले एकैपटक समिति बनाएर क्षमता बढाउनुपर्ने स्थिती कहाँबाट आयो ?

 
– त्यो गलत आरोप हो । टेक्निकल कमिटी बनेको छ । त्यसले प्रतिवेदन दिएको छ । दुईवटै बिकल्प दिएको छ । ६० पनि हुन्छ । ९० पनि हुन्छ भनेको छ । ९० गर्न हुन्न भनेको छैन । मैले भाषा नै हेरेको छु । 
 
  • त्यो कमिटी प्राधिकरण हैन तपाईको मन्त्रिपरिषद्ले बनाएको हो ?

 
त्यै त । जे होस् उसले हुन्छ भनेको छ । मैले व्यक्तिगत रूपमा बुझ्दा पनि एक्स्पर्टले त्यहिँ कुरा भन्थे । रिपोर्टले पनि टेक्निकल्ली मिल्छ भनेको छ । 
 
  • यहाँको कुरा बाझिएको छ । हामीले सबै प्रतिवेदन हेर्यो । प्राधिकरणको दुईवटै कमिटीले हुन्न भनेपछि यहाँले नै कमिटि बनाएर अघि बढाउन खोज्नुभएको देखिन्छ ? 

 
–प्राधिकरण वा मन्त्रालय जे भनेपनि  गर्ने त सरकार अन्तर्गतको निकायले नै हो । टेक्निकल्ली फिजिवल छ र हुन्छ भन्नेमा म आश्वस्त थिए । खाली ठेक्काको रकम कति हो भन्नेमा हेर्ने हो भनेर हामीले समिति बनायौं । त्यसमा के भयो मलाई थाहाँ भएन । उनीहरुले गरेको ठेक्काको रकममा तलमाथि पार्न सक्छन् । हेर्ने त्यहाँ नेर हो । लेनदेन त्यहाँ नेर हुन्छ ।  ह्याङ्की प्याङ्की डिलिङ हुने त्यस्तो बेलामा हो । अहिले आएर कसरि निर्णय भयो मलाई थाहाँ छैन । 
 
  • तपाईले मोतीबहादुर कुँवरको संयोजकत्वमा बनाएको समितिको प्रतिवेदनले पहिलो विकल्प ६० मेगावाट र दोस्रो विकलप ९० मेगावाट सुझाएको छ नी ?

 
– सोही प्रतिवेदन अनुसार मन्त्रिपरिषद्ले सैद्वान्तिक स्विकृती मात्र दियो । मन्त्रिपरिषद्मा लागत नेगोसिएसनको कुरा उठेको थियो । हाम्रो कार्यक्षेत्रभित्र पर्दैन । बेठिक हुन्छ भनेर हामीले नगरेको हो । टेक्निकल्ली हामीले सैद्वान्तिक स्विकृती दिने हो । अरु सब नेगोसिएसनै काम उसले (प्राधिकरण) आफै गरोस् भनेर छाडिदिएको हो । 
 
  •  गेजुवाले ६० मेगावाट ८९ मिलियन डलरमा पाएको । त्यतिखेरै २५ प्रतिशत थप गर्ने हो भने ९० मेगावाट र ४० प्रतिशत थप्ने हो भने १२० मेगावाट बनाउँछु भनेको थियो । अहिले १ सय ३२ मिलियन डलरमा सम्भौता भएको छ । यो अचाक्ली महँगो भएन र ? 

 
–मैले स्पष्ट निर्देशन नै राष्ट्रहित विपरित जानुहुँदैन भनेको थिएँ । यो कार्यक्षेत्र ऊर्जा मन्त्रालयको होइन, प्राधिकरणकै हो । 
 
  • प्राधिकरणको दुईवटा आयोगले हुन्न भनिसकेकोमा तपाईले बाटो बनाइदिएकाले अहिले ठाउँ मिलेको हो भन्ने आरोप लागेका छ ?

 
– मन्त्रिपरिषद्ले गरेको निर्णयमा टेकेर कसैले गडबडी ग¥यो भने म कसरि दोषी हुन सक्छु । म  छिटो भन्दा छिटो विजुली उत्पादन होस् भन्ने पक्षको मान्छे किनकी नेपालमा हामीले वैदेशिक व्यापार घाटा कम गर्न सक्ने एउटै माध्यम भनेकै जलस्रोत हो । इण्डिया सँगकै जुन व्यापार घाटा छ त्यसलाई सम्बोधन गर्न हामीले ८३ हजार मेगावाट नै जलविद्युत उत्पादन ग¥यौ भने पनि खेर जाँदैन भन्ने मान्यता राख्ने मानिस हुँ म । 
 
  • तर सुख्खा याममा ३० मेगावाट थपिन्न नी डाक्टरसाप ?

 
– वर्षायाम नै सहि । हामीलाई अहिलेपनि बिजुली पुगिरहेको छैन नी । अहिले कहाँ बिजुली खेर गइरहेको छ र । खाली त्यसमा ठेक्का पट्टा गर्दा गडबडी हुनुहुँदैन । जसले गल्ती गरेको छ त्यसलाई रोक्ने पक्षमा म छु । जहिले पनि रहन्छु । बिजुली थप्नैहुन्न भन्ने पक्षमा म छैन, रहन्न । 
 
  • उत्पादन बढि गर्नुपरेको छ । एकवर्षभित्र ३० मेगावाट विजुली उत्पादन त हुँदैन नी । 

 
– नयाँ ३० मेगावाटको विजुली बनाउन थलेपनि ४÷५ वर्ष त लाग्छ । थ्रि–ए डेढ वर्ष ढिलै भएरपछि ३० मेगावाट बढि आयो भने फाइदै भयो भन्ने मेरो तर्क हो । 
 
  • गेजुवाले ६० मेगावाट  प्रोजेक्ट अबको नौ महिनामा सक्नुपथ्र्यो । तँपाइले बनाएको आयोगकै प्रतिवेदनमा १७ महिना सकिदा जम्मा २० प्रतिशत काम भएको लेखेको छ । जबकि ३५ महिनामा आयोजना नै हस्तान्तरण गर्नुपर्ने थियो । उसले हर्जाना तिर्नुपर्ने वेला पुरस्कृत गरियो भन्ने छ ?

 
– त्यो हुन सक्छ । अन्यत्र पनि हाम्रो हाल त्यहिँ छ । मस्र्याङ्दीमा त्यहिँ भयो चमेलियाको त्यहिँ गति भइरहेको छ ।
 
  • ६० मेगावाट पनि अर्को तीन वर्ष धकेलिने भयो । त्यसले चाहिने बेला बिजुली पनि नहुने र दुई÷तीन वर्षको महशुल पनि घाटा हुने भयो नी ?

 
– यसमा एउटा तर्क के थियो भने १५ अर्ब (अर्वौ) घाटा हुने भयो । त्यो प्रक्षेपण सही होइन । त्यसले पहिल्यै यति उत्पादन गथ्र्यो । रेभिन्यु जेनेरेट गथ्र्यो  । नजन्मेको छोराले यति कमाइ गथ्र्यो भने जस्तै हो । बाबुलाई यति कमाएर दिन्थ्यो भन्ने हाइपोथेटिकल हिसाव हो । 
 
  • त्यो भए केहि पनि गडबडी भएको छैन ?

 
– मलाई आशङ्का कहाँनेर छ भने यो कम्पनीले पहिला ८९ मिलियनमा ‘लो विडिङ्’मा लियो । उसले अवको बढि रकममा आँखा लाएको हुन सक्छ । गेजुवालाई ६० मेगावाटको ‘लो विडिङ्’मा नाफा छैन । 
 
थपिएका प्रोजेक्टबाट कभर गर्ने हिसावले बढि लिन खोजेको हुन सक्छ । मैले ‘कमन सेन्स’ले भनेको । वित्तिय विष्लेशणले हैन । गडबडी भएको छ भने त्यहाँ भएको होला भन्ने सोचौं अन्यथा छोटो अवधिमा विजुली उत्पादन हुन्छ भने बर्बाद भयो । त्यसलाई गर्नै हुँदैनथ्यो भन्ने पक्षमा म छैन ।
 
  • थपिएको ३० मेगावाट पनि सुख्खायाममा आउँदैन । बन्न नै कम्तीमा तीन वर्ष लाग्छ । तीन वर्ष विचमा प्राधिकरणका ४÷५ वटा परियोजना आइसक्छ । त्यतिबेला बिजुली बचत हुन्छ । २०७० मा आउनुपर्नेमा २०७३ मा आएर तीन वर्ष अभाव बढाउन मात्र योगदान हुने भयो, हैन ? 

 
– त्यो लजिक पनि मलाई त्यति उपयुक्त लाग्दैन । यसमा म त्यति कन्भिन्स छैन । यो आयोजना आउञ्जेल एकथरि साथिहरुले जुन ३० मेगावाट खेर जाने बिजुली भन्छन् मलाई चित्त बुझ्दैन । कसरि खेर जान्छ भननुस् त (हाँस्दै) भोलि गएर हाम्रो आफ्नै १०-१५ हजार माग हुन्छ ।  भोली फेरि बढि नै भएछ भने खेर जाने चिज त हैन । निकासी गर्न सकिहालिन्छ ।
अथवा त्यतिञ्जेल हाम्रो डिमान्ड नै बढ्छ । उत्पादन बढि हुन्छ भन्ने ठूलो कुरा भएन । 
 
‘नेगोसियट’ गर्दा त्यसमा ध्यान दिनुस् भनेर मैले भनेको हो । अहिले के भयो मलाई थाहा छैन । त्यसैले मलाई यसमा तान्नुको म अर्थ र औचित्य देख्दिन ।
खाली के हो भने लो बिडिङ् गर्ने र पछि बढाउने जुन एउटा प्रवृत्ति छ । चेक गर्नुपर्ने त्यहाँ हो । लो बिड गर्ने र बिचमा मिलेर खाने प्रवृत्ति यसमा मात्र हैन आम रुपमै छ । 
 
  • तपाइँको जुन डर थियो त्यहिँ भयो । गेजुवाले २५ प्रतिशत थपे ९० बनाउँछु भन्थ्यो । अहिले ५० प्रतिशत बढिमा सही हुन लाग्यो ?

 
– त्यसमा छानविन गर्नुस् । यो ठेक्कापट्टाको जुन पद्दती छ यो बेठिक छ बदल्न लगाउनुपर्छ । क्वालिटी पनि भएन । सानो सानो गाउँका योजनामा पनि त्यस्तै हुन्छ अचेल । एक्चुएल कष्ट ३०–४० प्रतिशत कममा ठेक्का लिने अनि पछि गडबडी गर्ने । 
 
  • ऊर्जा मन्त्रालयको कमिटी प्राधिकरणको अनुरोधमा बनेको कि तपाईँहरुले आफै गरेको ? त्यो कमिटि कसरि बन्यो भन्ने नै रहस्यमय छ । किनकी प्राधिकरणको प्रोजेक्ट हो उसले माग गरेकै थिएन ? 

 
– त्यो मलाई थाहाँ भएन । जे होस् टेक्निकल मानिसहरुसँग मैले पटक पटक बुझ्दाखेरि । इञ्जिनियरहरुलाई आत्मासाक्षि राखेर भन्नुस् भन्दाखेरि । तपाईँ इञ्जिनियर हो म पनि इञ्जिनियर हुँ राष्ट्रहितमा छ कि छैन ? छैन भने छैन भन्नुस् । अनि गर्दिन । गर्नुहुँदैन भने ।  सबैले मलाई भने, ‘छ हजुर’ । ल त्यसो हो भने अघि बढ्नुस् भनेको हुँ । 
 
  • कसरि सबैले हुन्छ भने र प्राधिकरणकै पूर्व एमडी र ऊर्जाका सहसचिव अर्जुन कार्कीले प्रधानमन्त्रीज्यू यो नगर्नुस् । गर्नुभयो भने यहाँको जीवनपर्यन्त बज्रिरहन्छ भन्नुभयो रे । आँधा घन्टा व्रिफिङ गर्नु भयो रे ? 

 
– कर्मचारीको पनि आ–आफ्नो लवी छन् क्या । त्यहिँ अनुसार सुझाव आउँछ । एउटा गर्नैपर्छ भन्ने एउटा हुँदैहुँदैन भन्ने । मैले अलि न्युट्रल टाइपकाहरुसँग बुझे । तिनीहरुका कुरालाई आधार बनाएको हो ।
 
  • कर्मचारी मात्र हैन गेजुवाले तीन वर्षदेखि प्रकाशशरण महत, गोकर्ण विष्ट माओवादीकै पोष्टबहादुर बोगटी सबै मन्त्रीलाई मनाउन कोशिस ग¥यो, सबैले हुन्न भने । तँपाईलाई कसरि गज्जव लाग्यो ? 

– हाम्रो बोगटी जी सोझो मान्छे, ‘हुन्न’ भन्नेले तर्क दिए हुन्न भन्नेमा लाग्न हुन्छ । ‘हुन्छ’ भन्नेले तर्क दिए हुन्छ भन्नेमा लाग्नु हुन्छ ।  
मैले पछि सोधेको थिए । 'फ्र्याङकली' भन्नुभयो, ‘हुने रहेछ भने ल्याउनुस् न । साथीहरुको फरक मत थियो त्यसैले मैले उतिबेला ल्याइन ।’ पछिल्लोचोटी उहाँले पनि गर्नुहुन्छ भनिसक्नु भएको थियो । 
 
  • बोगटीले मन्त्री हुँदा त नमान्नुभएकै हो नी ?

 
- कमिशन खानु थियो । बोगटीजी नै ऊर्जा मन्त्री रहँदा मलाई गराउनै थियो भने त जवरजस्ती गराउँथे नी । मलाई त बरु यस्तो लाग्छ की मेरो जिन्दगीको पूँजी भन्नु नै इमेज हो । त्यसमा म सतर्क छु । त्यो इमेज गयो भने के रह्यो । मलाई आजकाल बरु दुख लाग्छ । सबै उत्तिकै चोर हुन् भन्ने दृष्टिले हेरिन्छ । 
 
कहाँ खाए त मैले । म सँग केहि छ भने लैजानुस् । म सँग भएको मैले घोषणा नै गरेको छु । सभासद्, अर्थमन्त्री, प्रधानमन्त्री हुँदा विदेश भ्रमण गए । बचेखुचेको बैंकमै राखेको छु । खाता नै देखाएको छु । त्यत्ति हो । त्यो भन्दा बढी कहिँ छ भने छानविन गर्नुस् लैजानुस् भनेकै छु । म यस विषयमा अलि ‘कन्सस’ भएकाले खुला रुपमा नै भनिरहेको छु ।
 
त्रिशुली थ्रि–ए कुनै किसिमको गडबडी भएको छ भने छानविन गरेर एक्स्पोज गर्नूस् । मेरो कुनै किसिमको संलग्नता हुनै सक्दैन । म कसैसँग काम गराएवापत एक पैसा कमिशन लिनुहुन्न भन्ने पक्षको मानिस हुँ। कतिपय मानिसहरु अरुलाई बोकेर आउथे यो काम गर्दिनुपर्यो भनेर । मलाई पहिल्यै शंका लागि हाल्थ्यो । कतै यो मानिस पनि भागवण्डामा त छैन । नत्र  किन मानिस बोकेर आएको छ भनेर । तँपाईँहरु एउटा कुरा बुझ्नसु यी ठेकेदार वा विभिन्न किसिमका मानिस म कहाँ आउँदैनन् पार्टीभित्रका विभिन्न शक्ति केन्द्र धाउँछन् । 
 
म प्रधानमन्त्री हुँदा म कहाँ नआइ अरु–अरुतिर चाहारे । म कहाँ आउन अप्ठेरो मान्छन् ।      
 
  • अर्को आरोप के छ भने त्यो ठेक्का दिनकै लागि बोगटीलाई पर्यटनमा सारेर तपाईले आफै ऊर्जा मन्त्रालय राख्नुभयो ?

 
– त्यसको केहि जवाफ छैन । त्यसै गर्न यस्तोमा लाग्नुपर्ने भयो भने त्यो बडा दुर्भाग्यपूर्ण सोचाई हो । 
 
  • तपाईँहरुले बनाएको मन्त्रालयको कमिटि संयोजक इञ्जिनियरलाई पनि नबनाएर जियोलोजिष्टलाई बनाउनुभयो, किन ?

 
– त्यहिँ होला । मैले त मेरो टेक्निकल एक्स्पर्टहरुसँगको छलफल र मेरो ‘कमन सेन्स’ले पनि ३० मेगावाट थपिँदा ठिकै छ भनेको हो । थपिँदा ठिकै छ । के नोक्सान हुन्छ त भन्ने मेरो धारणा हो । देशलाई हित नै हुन्छ । अलिकति ढिला त होला तर कभर गरिहाल्छ भनेर मैले निर्णय गरिदिएको हो । मलाई यसमा जिब्रो चपाएर कुरा गर्नु छैन । ‘ठेक्कापट्टाको रकम चाँहि हेर्नुस् है,’ मैले सिँधै भनेकै हो ।
मुख्य सचिवलाई पनि सोध्न सक्नुहुन्छ । ‘हजुर हुन्न कि’ मुख्य सचिवको चाँहि भनेका थिए त्यतिबेला । 
 
  • मुख्य सचिव यो निर्णय गर्ने मन्त्रिपरिषद् बैठकमै नआआउनुभएको हैन र ? 

 
– त्यस्तो हैन । मानिसले अर्थको अनर्थ लाइदिन्छन् । म प्रचण्ड चीन जाँदा एयरपोर्ट गइन भनेजस्तै हो । रामेछापमा थिएँ, कसरि जानु । 
माधव घिमिरे मुख्य सचिव हुँदा एकदिन लीलामणि पौडेल मन्त्रिपरिषद्मा आउनुभयो । त्यसको पनि अनेक अर्थ लगाएका थिए । त्यस्तै हो । 
 
  • प्राधिकरणको अध्यक्ष हैसियतमा पनि त पौडेलले ६० बाट ९० मेगावाटको निर्णय लिनुभएन नी ? चार महिना त्यसै राखिदिनुभयो । 

 
– लिलामणिलाई प्राधिकरणको अध्यक्ष त मैले बनाएको हुँ नी । वहस र विवाद हो तर समर्थन नरहेको भन्ने होइन । म चाँहि जसरी भए पनि बिजुली उत्पादन बढाउँ भन्ने सोचमा छु ।

Sunday, June 2, 2013

यस्तो थियो दरबार हत्याकाण्डपछिको दृश्य - onlinekhabar

बाह्र वर्षअघि ०५८ साल जेठ १९ गते राति नारायणहिटीमा भएको राजा वीरेन्द्रको वंश विनासको घटना अहिले पनि रहरस्यमय रहेको बताइने गरेको छ । घटनामा तत्कालीन युवराज दीपेन्द्रको संलग्नता रहेको चश्मदीतहरुले बताए पनि जनस्तरबाट अनेकन शंका गरिँदै आएको छ । त्यतिबेलाको घटनाबारे अन्य सत्यतथ्य फेला नपरे पनि तत्कालीन प्रधानन्यायधीश केदारनाथ उपाध्याय र तत्कालीन सभामुख तारानाथ रानाभाटको छानविन समितिले धेरै तथ्यहरु संकलन गरेको थियो । तीमध्ये  घटनास्थलमा खिचिएका तस्वीर पनि उल्लेखनीय छन् ।King Birendra hatya photo (13)
घटनामा तत्कालीन युवराज दीपेन्द्रले प्रयोग गरेको भनिएका हतियार, उनले आत्महत्या गरी पोखरीमा फालेको भनिएको पेस्तोल, सिँढीमा रानी ऐश्वर्यको रगत, वीरेन्द्रको चश्मा, टोपी र कपडा लगायत विभिन्न सामाग्रीहरुको तस्वीर छानविन समितिले लिएको थियो । त्यसैगरी घटनाबारे तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सेनापति, प्रहरी प्रमुख, दीपेन्द्रकी प्रेमिका देवयानीका पिता पशुपति समशेर समेतको छानविन समितिले वयान लिएको थियो । दरबार हत्याकाण्डबारे छानविन समितिले खिचेका केही दृश्य यस्ता छन् :King Birendra hatya photo (6)
दीपेन्द्रले फालेको भनिएको हतियार पोखरीबाट निकालिँदै
King Birendra hatya photo (8)
घटनामा प्रयोग भएको स्वचालित हतियार
King Birendra hatya photo (12)
King Birendra hatya photo (15)
घटनाबारे ज्ञानेन्द्रपत्नी कोमलसँग अस्पतालमै बयान लिंदै समिति सदस्य तारानाथ रानाभाट
King Birendra hatya photo (1)
समितिलाई बयान दिंदै तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला
King Birendra hatya photo (2)
समितिलाई बयान दिंदै देवयानीका बुबाआमा
King Birendra hatya photo (3)
समितिलाई बयान दिंदै तत्कालिन प्रधानसेनापति प्रज्वलसमशेर जबरा
King Birendra hatya photo (11)
King Birendra hatya photo (4)
समितिलाई बयान दिंदै तत्कालिन राजपरिषद् स्थायी समिति सभापति केशरजंग रायमाझी
King Birendra hatya photo (5)
King Birendra hatya photo (9)
तस्वीर सौजन्य : श्रीप्रसाद पण्डित/ उच्चस्तरीय छानविन समिति

दरबार हत्याकाण्डबारे पारस शाहको वयान यसका पछाडिको कारण बिवाहकै हो - onlinekhabar

हामी त्यहाँ त्यस्तै अन्दाजी ७ : ४० तिर पुग्यौं । सबैजना आइसकेका थिए । मुमा, म, बहिनी, हिमानी र हामी अलि ढीलो पुग्यौं । पुग्दाखेरि युवराजाधिराज (दीपेन्द्र) अलिकति ककटेल ज्यूनार भैसक्या जस्तो थियो । अनि के खाने-मैले कोक मात्र खाने विचार गरें । ए कोकमात्र खाने ! म त हि्वस्की खाएर बसेको छु हुकुम भयो । त्यो बेलासम्म ठिक्कै होइबक्सन्थ्यो, एकदमै लागेको जस्तो गरिबक्सी राखेकोथ्यो ।
के भो भन्दाखेरि, हैन यही विवाहको कुरा भइराखेको छ, मेरो, मुमासँग पनि कुरा गरें । आफूमुमासँग पनि कुरा गरें अनि, दुबैजनाले हुन्न भन्नुभयो । अब आइतवार बुबासँग कुरा गर्छु हुकुम भयो । त्यति कुरा भइराखेको थियो, त्यत्ति हुँदाहुँदै आठ बज्यो । सबै जनालाई डि्रंक्स सिंक्स टक्राइबक्स्यो । आठ बज्यो । आफूमुमा, मुमा बडामहारानी सवारी होइबक्स्यो, फेरि सरकारबाटै सवारी चलाइबक्सेका, फेरि …… डि्रंक्स दिइबक्स्यो, अनि यस्तै साढे आठतिर महाराजाधिराज सवारी होइबक्स्यो । अफिस सक्याएर सवारी होइबक्स्यो, त्यो बेलामा दाइ हामीसँग भित्र होइबक्सन्थ्यो । जहाँ घटना भयो त्यही कोठामा होइबक्सन्थ्यो ।darbar-hattya-kanda-1
एकदमै लागेको जस्तो ढलिबक्स्यो, बेहोसै होइबक्सेको जस्तो सुकला नै भयो, त्यही भुइँमा नै सुकला भयो । म, गोरख, निराजन र राजीव भएर उठाएर लगेर सरकार यहाँ त मिलेन ठूलोबुबा सवारी होइबक्स्यो, अब यसो यस्तो कति छ …… छ ।
माथि सवारी चलाउँछौं भनेर हामी चारजना भएर माथि खोपीमा सवारी चलायौं । त्यो खोपीमा लगेर गद्दीमा त सुकला गराउन पाइँन । गद्दीको मुन्तिर सानो ओछ्यान छ नि, त्यहीं नै सुताएर गयौं हामीले । करीव साढे आठजस्तो भाथ्यो । साढे आठ, त्यस्तै ३१ होला । हामी तल आयौं । बत्तिसत्ति निभाएर तल आयौं । तल आएपछि अब महाराजाधिराजको भित्रै, मुमाबडामहारानी सरकार, जहाँ राज होइबक्सेकोथ्यो, त्यहीं नै हेलेन शाहसँग मिटिङ्ग भइराखेको थियो । हामीले दर्शन गर्न पनि पाएको थिएन, बाहिर कुरेर बसिराखेको थिएँ । त्यहाँभित्रको मिटिङ्ग आधा घण्टाजति चल्यो होला ।
त्यसपछि हामी दर्शन गरेर यता आयौं । महाराजाधिराज सरकार र मुमा बडामहारानी सरकार पनि यतै सवारी भयो । त्यही कोठामा जहाँ यो घटना भयो, त्यही कोठामा सवारी भयो । भर्खर डि्रंक्स लिइबक्सेको थियो, महाराजाधिराज सरकारले । हामीेले चियर्स पनि गरेको छैनौं, भर्खर डि्रक्स लिई बक्सेको थियो । यसै बीचमा अब हामीचाँहि एतापट्टी कुनामा थियौं । हजुर, देखिएन युवराजधिराज सवारी भएको । अँ….. हामीले युवराजधिराज सवारी भएको देखेनौं, हामी कुनामा थियौं । मैले त यो ….. …….. ……………….
बारको पछाडि, हामी बस्ने कुना त्यही हो । हामी योंगहरुको, अब त्यहाँ उताबाट चुरोट सुरोट समाएको नदेखियोस् भनेर त्यो कुनामा हामी धेरैजस्तो बस्ने त्यही कुनामा हो । अनि त्यहाँ मैले सवारी भएको कोही देखेको थिइँन, मैले सवारी भएको थाहा पाएको पहिलो बन्दुक पड्केपछि थाहा पाएँ । गड्याङ्ग गर्‍यो, त्यत्ति ३ राउण्ड जति फायर भएको छ । पहिले सवारी हुनेवित्तिकै ३ फायर भएको छ । एउटा माथि छ, एउटा सिधा छ । त्यसरी दागिबक्सदाखेरि एउटा सिधै गएको छ, एउटा माथि गएको छ । ३ राउण्ड जस्तो मलाई जहाँसम्म लाग्छ । अब त्यस्तो हुँदाखेरि ३ राउण्डजस्तो लाग्छ शुरुमै त्यो पनि आवाज । महाराजाधिराजले के गरेको मात्र हुकुम भएको थियो, ड्याङ्ग-ड्याङ्ग । महाराजाधिराज ढलिबक्स्यो । म र डाक्टर राजीव सँगसँगै दुईजना कुदेर गयौं । डा. राजीव चाँहि महाराजाधिराज भएको ठाउँमा कुद्न भ्यायो हजुर, मलाई चाहीं अधिराजकुमारी शोभाले जानै दिन बक्सेन, तिमी त्यहीं बस हिँड्ने होइन, हुकुम भयो । त्यहीँ नै मैले पछाडि फर्केर बहिनीहरु सबैजनालाई ढल्नलाई सुत तिमीहरु यहाँ भने । यहाँ वाङ्ग वाङ्ग पड्कन थालिसक्यो सबै जना सुत भनेर त्यो लाइन क्रोसियरमा सबैजनालाई राखें । उता दुई जना सिनियर मेम्बरहरु पनि महेशकुमार र रवीसमशेर दुबैजना पनि मेरै छेउमा थिए । दुबैजनालाई पनि मैले लाइन क्रोसियरमा राखें । यत्ति हुँदाहुँदै युवराजधिराज सरकार, फेरि फर्केर सवारी भयो । मैले देखेको चाहीं हजुर, महाराजाधिराजलाई हानिबक्सेको देखें । धीरेन्द्र सरकारलाई हानी बक्सेको देखें, बाबा इनफ, यु डु इनफ भनेर सेकेन्ड टाइम फर्केर जाँदाखेरि, धीरेन्द्र सरकारले यु डन ड्यामेज हुकुम भयो । त्यति हुकुम हुँदाखेरि ड्याङ्ग ड्याङ्ग अर्को एउटा यस्तोमा लागेको छ । एउटा होकी दुईटा, त्यो पनि धीरेन्द्र सरकारलाई । राम्रोसँग सम्झन सकेको छैन । धीरेन्द्र सरकार ढलिबक्स्यो । ढलिबक्से बित्तिकै त त्यसपछि त अरु मान्छेहरु एकपछि अर्को को ढल्यो, को ढल्यो त्यसपछि राम्रोसँग भन्न सक्दिँन । म पछाडि फर्केर बहिनीहरु सुताउन थालिसकेको थिएँ । अं…… मैले ढलिबक्सेको देखेको महाराजाधिराज ढलिबक्सेको देखें यता, कुमार खड्ग ढलिबक्सेको थियो, उता कुमार गोरख ढलेको देखें । त्यो चाही शुरुमै ठूलोबुबा सँगसँगै ३ जना ढलेको छ । त्यो फस्ट अटोमेटिक हतियार एमपी ५ । को फायरले ३ जना ढलेको छ । बाहिर सवारी भयो । फेरि फर्केर सवारी भयो । त्यसपछि त्यो सानो हतियार फालिबक्स्यो । त्यो हतियार महाराजाधिराज सरकारले टिपिबक्स्यो । त्यो हतियार टिपिबक्सेको थियो । अधिराजकुमारी शोभा सवारी भएर त्यो हतियार लिइबक्स्यो । म्यागजिन पनि झिकिबक्स्यो । त्यही भुइँमा राख्दिबक्स्यो त्यो । अब के भन्ठानिबक्स्यो भने त्यही एउटा मात्र होला भन्ठानिबक्सेछ । दाइले चाँहि अरु पनि बोकिबक्सेको मैले पनि देखेको हो । अरु तीनवटा बोकिबक्सेको थियो । चारवटा थियो हतियार । एउटा चाहिने बन्दुक देब्रे साइडमा थियो । ह्याण्ड गन, ह्याण्ड गन, चाहिँ देब्रे साइडमा थियो । दाहिने बगलीमा एम-५ थियो । भिरिबक्सेको शटगन र एम-१६, त्यो अटोमेटिक हो । भ्यार्रर गरेर ठूलो बुबालाई हानिबक्स्यो, कान्छोबुबालाई पनि हानी बक्स्यो, यता खड्गविक्रम ढलिबक्स्यो उता गोरख ढल्यो । त्यो फस्ट एट्याकमै कता कता दागेर बाहिर सवारी भयो । त्यसपछि हामी त कुनैमा थियौं । बाहिरपट्टी के भयो, मैले त देखिँन फेरि भित्र सवारी भयो । सवारी भएर ठूलोबुबालाई ………………
समयको त्यस्तो कुनै लामो ग्याप छैन । एक मिनेट पनि छैन । ३० सेकेण्ड होला म्याक्सिमम् । ३० सेकेण्ड, भित्र-बाहिर, भित्र-बाहिर गरिबक्स्यो । सवारी भयो, ठूलो चाहिँ बन्दुक एम-१६ ले पहिले नै ठूलोबुबाको माथमा हानिबक्स्यो । त्यसपछि यता सवारी भयो । खड्ग फुपाजु ढलिबक्स्यो । कुमार खड्ग त्यो बारको ठ्याक्कै तल ढलिबक्स्यो । उतापट्ट िगोरख, ठूलोबुबा बीचमा स्नुकर बोर्डको तल गोरख ढलिराखेको थियो । श्रुती, आएको देखिँन, गोरखलाई गएर बाबा तिमीलाई पनि लाग्यो भनेको देखें । त्यो गएको बेलामा उताबाट फर्किबस्क्यो । युवराजाधिराज सवारी भयो । यतापट्टी ढलिराखेको थियो, कुमार खड्ग ढलेकोमा अधिराजकुमारी शारदा सवारी भो । तिमीलाई के भयो, तिमीलाई के भयो भनेर सवारी भई माथिपट्टी सुतिबक्स्यो । खड्ग फुपाज्यूको माथि ढलेर कभर गरिबक्स्यो । युवराजधिराज सवारी भयो, ड्याङ्ग-ड्याङ्ग, ड्याङ्ग ड्याङ्ग ड्याङ्ग यस्तो घारीबाट देखेको त्यही देखेको । त्यो घटना भएको म यताको कुनाको मेचमा, त्यो बारको मूनिबाट त्यो चाही राम्रोसँग देखेको हो मैले । ड्याङ्ग हानी बक्स्यो । त्यो गोली आएर यतापट्टी कार्पेटमा लागेछ । आएर मेचको यतापट्टी काठमा लागेर मेरो साइडमा महेश कुमारलाई राखेको थिएँ मैले, त्यो गोली उछिट्टएिर गएर लागेको उसलाई । अब त्यसपछि फेरि बाहिर सवारी भएको हो कि मैले राम्रोसँग सम्झन सकिँन । बाहिर सवारी भएको जस्तो लाग्दछ, दुईतीनचोटि गरिबक्स्यो भित्र-बाहिर । थर्ड टाइम सवारी हुँदा चाहिँ यता शाहज्यादी जयन्ती दिदी, केतकी श्रुति ३ जनालाई हानीबक्स्यो । श्रुती थर्ड टाइम । अनि बाहिर सवारी भयो युवराज सरकारचाँहि । त्यसपछि, यता कुनामा सवारी भयो । त्यसपछि डाइरेक्ट नजरमा हामी पर्‍यांै ……. के गरिबक्स्या हजुर ….. हामी ….. के गरिबक्स्या प्लिज … गइबक्स्योस् भनेर त्यो विन्ती जाहेर गरें मैले । नत्र भए सबै जनालाई हानेको भए म थिएँ, महेश मेरो पछाडि थियो, रवी उतापट्टी ठ्याक्कै बारको मुनि रवि थियो । अँ…… महेशको पछाडि मेरो बहिनी छ । पछाडि मेरो वाइफ थियो, मेरो वाइफ पछाडि मेरो ३ जना बहिनीहरु मैले राखेको थिएँ । लुकाएर राखेको थिएँ । एउटा बहिनी चाँही त्यो सोफा जस्तो छ, त्यसको पछाडि राखेको थिएँ । एकदमै कभर गरेर राखेको थिएँ मैले । मैले चाँहि दाइसँग के गरिबक्स्या, हामी यस्तो यहाँ त हामी मात्र छौं प्लिज । वन बाइ वन सबैलाई हेरेर छोडेर बाहिर लागिबक्स्यो । त्यसपछि थाहा भयो हामीलाई हानी बक्सेन भनेर । म उठेर गएँ । त्यहाँ अरु मान्छे ढलिराखेको थियो । के के भा’छ भनेर म कान्छोबुवाकहाँ गएँ । पारस मेरो खुट्टा चलाउन, मैले खुट्टै चलेन, मेरो खुट्टा खुम्च्याउन सक्दिँन खुट्टा चलाइदेउ । अलिकति चलाएँ, फिल गर्न सकिबक्सेन । त्यसपछि यता केटाकेटीलाई हेर भन्नुभयो, मैले त मेरो मुमा ढलेको पनि देखेको छैन । मुमा पनि देखेको छैन, यता अधिराजकुमारी शान्ति पनि देखेको छैन, उता उता …… वडामहारानी सरकार र निराजनको त बाहिरै कुरा भयो । मैले त्यति देखेकै छैन । अनि त्योबेलामा हेर्दाखेरि मुमा भर्खर उठिबक्सिराथ्यो । ढली बक्सेको । मूमा तल होइसिन्थ्यो । अधिराजकुमारी शान्तिमाथि होइसिन्थ्यो । मुमाले चाहिँ घँचडेर उठिबक्सेको देखें । मैले हेल्प गरेर उठाएँ मुमालाई । …… म ठीक छैन, म ठिक छैन, भन्नुभयो, माथबाट पनि रगत आइराखेको, यस्तो समातेर बसिबक्स्याथ्यो । माथको रगत चाहिँ अधिराजकुमारी शान्तिको रगत रहेछ । मैले त माथमा लागेछ भन्ठानेको थिएँ पहिला । अधिराजकुमारीको रगत रहेछ । त्यति गरेपछि कहाँ लागेको छ भन्दा यहाँ लागेको छ हुकुम भयो, माथ पनि चेक गरें मैले, केही पनि छैन ।
त्यसपछि म दौडेर गएर यता मुमा वडामहारानी सरकारकहाँ गएँ । बाहिर पनि मैले त फायरिङ्ग सुनेको थिएँ । मैले त उता भन्ठानेँ, मूमा वडामहारानी सरकरको खोपीमा भन्ठानें । दौडेर त्यहाँ गएँ । त्यहाँ त केही पनि भएको छैन । त्यहाँ यस्तो यस्तो भयो भनेर जाहेर गरें, त्यो बेलासम्म फायरिङ्ग सकिसकेको थियो, म जाँदा मुमा वडामहारानी सरकार उता सानो बैठक बाहिर पट्टकिोमा होइबक्सन्थ्यो । त्यहाँ जाँदासम्म फाइरिङ बन्द भएको थियो । जब म मान्छेहरुलाई हेर्न गएको थिएँ त्यो वेलासम्म कोही फायरिङ्ग भइराखेको थियो । बाहिर ….. त्यो चौरमा फायरिङ्ग भइराखको थियो । लाष्ट भएकै चौरमा हो । त्यसमा पनि के भयो म केही भन्न सक्दिँन । मैले देखेको होइन । कसलाई हानिबक्स्यो, त्यहाँ कसरी घटना भयो, त्यो पहिला कसलाई हानिबक्स्यो, पछि कसलाई हानीबक्स्यो मलाई थाहा छैन । मैले त मुमालाई लागेको देखेको होइन, अहिले कुरा सुन्दाखेरि बाहिरबाट हानिबक्सेको मुमालाई, पछाडि दुइटा बाहिरबाट हानिबक्सेको मात्र सुनें । त्यो मलाई थाहा छैन । मैले नदेखेको कुरा म भन्न सक्दिँन । मैले देखेको कुराचाँहि यति हो । त्यसपछि मान्छेहरुलाई हेरें, सबैजना ढलिराखेका छन् । खुट्टा चलाइदेउ भन्नु भयो । पाउ चलाएँ, सिधै हेर्न सकिँदैन । यता केतकी फुपूलाई हेर भन्नुभयो, कान्छोबुबाले । म खुट्टा पनि चलाउन सक्दिँन । हेल्प भन्दा धेरै त्यो जाहेर गरें । दौडेर आफूमुमा कहाँ गएँ, मुमावडामहारानी सरकारकहाँ ३ जना होइबक्सन्थ्यो, त्यहाँ केही पनि भएको छैन । बाहिर दौडेर एडीसीहरुलाई भित्र ल्याएँ । त्यो एडीसीहरु बाहिर गयो, वाहिर जाँदाखेरि ….. हरु ठ्याक्क आइराखेको थियो । म बाहिर पुग्नु र एडीसीहरु आइपुग्नु सेम टाइम थियो । अनि त्यहाँ बाहिर गएर के भने यो भित्र मरेको मान्छे पनि छ घाइते मान्छेहरु पनि छ । मरेको मान्छेहरुलाई छाडदेउ । घाइते मान्छेहरुलाई दौडाइहाल । पहिला, भित्र लगें घाइते मान्छेहरु सबैजना पहिला उठाएर वन बाइ वन सबैजनालाई जो-जो पहिला गए, जो-जो हाल्न सकें, पठाएथें । ५-६ मर्डरहरु थिए । जो-जो आए, हाल्दै पठाउँदै थिएँ । अब दाइ, बडामहारानी सरकार र भाइलाई भेटाउन, गएको तिमीहरु खोज भनेर ३ जना । दाइको एडीसी दौडेर आयो हि शट हिमसेल्फ हि शट हिमसेल्फ भन्दै आयो । त्यसपछि भाइ कहाँभन्दा भाइलाई पनि हानिबक्स्यो । ठूलोमुमा खोइ, ठूलो मुमालाई पनि डाउन, सबैजना डाउन । ठूलोमुमाको चान्स नै छैन भनेर उनीहरुले मलाई भन्यो । मैले देखेको होइन, ठूलोमुमाको चान्स छैन, दाइचाहिँ ऐया ऐया गरेर लडीबक्स्याथ्यो, माथमा लागेको थियो । ल हाल भनेर दाइ र भाइलाई चाही मैले सँगै हालेर दाइको एडीसीले हाल्यो, म अगाडि बसें, पछाडि एकजना ड्राइभरले दाइलाई समाइराथ्यो र भाइलाई समातेको थियो पछाडि अर्को एकजना थियो । दुईजना चाँही म र दुईजना एडीसी, अर्को एकजना ड्राइभर भएर अस्पताल पुर्‍याको । त्यतिवेला महाराजाधिराज सरकारको सवारी चलाइसकेको थियो । ………. सबैभन्दा पहिला त सुन्दर भन्ने एडिसी छ, त्यो गर्दा ऊ आयो, उता उताबाट घुमेर आयो । त्यहाँ त फायरिङ्ग भइराखेको थियो । उसले अरु मान्छे ल्याउन सकेन, उताबाट बाहिर घुमेर फायरिङ्ग भइ राखेको थियो, उता ढोकाको शिशा फुटाएर मैले आउ भन्दिए । यो फुटाएर भित्र आएर ठूलोबुबा महाराजाधिराज सरकारलाई लग्यो, महाराजाधिराज सरकारलाई पहिला लगेको हो ।
यो राजीव कहाँथ्यो के थ्यो, राजीव गएको पनि देखेको छैन। म पछाडि गर्दै थिएँ यता मान्छेहरु हेर्दै थिएँ, राजीव गएको मैले देखेको होइन । सबभन्दा पहिला चाँही महाराजाधिराज सरकारलाई लिएर गएको । त्यसपछि चाहीँ म गएर मान्छेहरुलाई हेर्न गएको । एडीसीहरुलाई मैले नै बोलाएर त्यो शिशाको ढोका फुटालेर महाराजाधिराज सरकारको सवारी चलाएँ । मैले देखेको त यत्ति नै हो ।
कतिवटा हतियार युज भएको छ भन्दा मलाई जहाँसम्म लाग्दछ, एउटा एम १६ यूज भएको छ । ग्लक यूज भएको छ, चारवटा यूज भएको छ । मैले त्यो १२ बोर फायर गरेको देखेको छैन । त्यसको फाएर देखेको होइन मैले । अरुचाहिँ फायर भएको देखेको छु मैले । यो एम-१६ फायर भएको देखेको हुँ ।
मैले सुने अनुसार दाइले आफूलाई हानिवक्स्यो, बि्रजमा हानिबक्सेको । यसका पछाडिको कारण विवाहकै हो । मलाई जहाँसम्म लाग्छ, विवाहकै हो । यो शुरु भएको पोहोर जन्मोत्सवमा शुरु भएको कुरा हो । पार्टी भएको त्यही ठाउँमै त्यही ठाउँमा भएको कुरा हो । त्यहीं नै हामी आएर कुरा गर्दाखेरि जो-जो विपक्षी अघि जो जोसँग अब भाइ र मसँग जहिले पनि सँगै । दाइको त हामी जे-जे हुकुम हुन्छ, त्यही गर्ने मान्छे । भाइ र मसँगै थियौं । अब राजीव त डा. सँग भयो । श्रुती, गोरखहरु र अरु बहिनीहरु विरोधी थियो विवाहको । मेन कुरा यही नै जस्तो लाग्दछ ।
त्यो दिन मसंग कुरा गरिबक्स्या छैन । मैले अघि तपाईलाई भनेको जस्तो म जानेबित्तिकै के मर्जी भयो भने मलाई मूमासंग पनि कुरा गरें, आफुमुमासंग पनि कुरा गरें, नहुने भयो । अब म बुबासंग आइतबार दर्शन पाउँछु, त्योबेला कुरा गर्छु, त्यत्ति मात्र हुकुम भाथ्यो मलाई ।
लागेको जस्तो भएको थियो । एकदमै राम्रो मूढ थियो । त्यस्तो होला भन्ने केही सोचेकै थिएनौं हामीले । एकदमै जोक गरी बक्सेको जस्तो सबैलाई हँसाइबक्सेको थियो, त्यहाँ तल होइबक्सँदासम्म त । सरकार माथि हामी चार जनाले पुर्‍याएको । हामी चारजना । एकजनाले कहाँ सक्नु ! दुईजना साइडमा, म पछाडि उचालेर गोरख र भाइले, राजीव र भाइले दुईजना साइडमा मैले पछाडि समाएर माथि लग्यौं । गोरख होइन, गोरख पछि पछि आउँदै थियो । माथि मेन गद्दीमा त सुताएनौं । तल सुतायौं । मैले भाइलाई भनेको, काठाबाट हतियारहरु झिक लैजाऊ, अप्ठ्यारो हुन्छ झिक । ….. पर्दैन होला … जुन मेन गद्दी थियो, त्यो गद्दीभन्दा तल अर्को एउटा बेड ..ग्राउण्ड बेड जस्तो त्यहाँ सुताएर हामी तल आएको । हतियारहरु त बोकिबक्सेको छैन । एमपी ५ । मैले देखेको छैन कहाँ
थियो । अँ, …… अनि एम १६ चाहिँ जानेबित्तिकै तख्ताहरु जस्तो छ, त्यहाँ थियो । बट्टाभित्रै बक्सभित्र नै थियो । त्यो तख्तामा नै देखेको थिएँ मैले त्यो एम १६ चाहि म चिन्छु, जहिले पनि चलाइबक्सिराखेको हो । अब यस्तो हुन्छ भनेर कसले भन्न सक्ला र ?
त्यो यस्तो छिटो भैद्याथ्यो कि सबै कुरा मैले गर्न सकेको काम गरेको हो । सक्नेजति गरेको हो । बचाउन खोजेको हो, मान्छेलाई । त्यही पनि अरु पनि बचाउन सक्थें कि जस्तो लाग्छ । आफूलाई अहिले, सोच्दाखेरि जे जति गरें, त्यो कम भयो जस्तो लाग्छ ।

(दरबार हत्याकाण्डबारे छानविन समितिलाई पारसले दिएको वयानको सम्पादित अंश)

वीरेन्द्रको पेस्तोल शोभाले नखोसेको भए इतिहास बदलिन सक्थ्यो - setopati

२०५८ जेठ १९ गते शुक्रबार राति ।
करिब पौनै नौ बजे ।
त्रिभुवन सदनस्थित खोपीबाट सैनिक कम्ब्याट लगाएर तत्कालीन युवराज दीपेन्द्र सोही भवनमै रहेको बिलियार्ड हल छिरे र अन्धाधुन्ध फाइरिङ सुरु गरे ।
सुरुमा सिलिङ र पश्चिम भित्तामा ।
केही सेकेन्डभित्रै बिलियार्ड टेबलको पूर्व छेउमा उभिएर शाही नातेदारसँग कुरा गर्दै आफ्ना बुबा तत्कालीन राजा वीरेन्द्रलाई फायर गरे।
वीरेन्द्र लडे । उनलाई बहिनी शोभाले समातिन् । शाही नातेदार राजीव शाही पनि दौडँदै आए र वीरेन्द्रलाई उठाए ।
अचानक वीरेन्द्रले पेस्तोल झिके । शोभाले ‘यो छाडिबक्स्योस्’ भन्दै ट्याप्प थुतिन् ।
शोभाको हातमा म्याग्जिन आयो ।
फ्याँकिदिइन् ।
त्यसपछि करिब पौने नौदेखि नौबजेभित्र १५ मिनेटमा दीपेन्द्रले नारायणहिटी राजदरबारमा जुन वितन्डा मच्चाए, त्यसले बाह्र वर्षअघिको त्यो कालो रातलाई नेपाली इतिहासका सर्वाधिक भयानक दिनमध्ये एक बनाइदिएको छ ।
त्यो दिनको घटना सम्झिँदा अहिले पनि शरीर थरर्र काँप्छ ।
त्यो पन्ध्र मिनेटको त्रासदीमा तत्कालीन राजा वीरेन्द्र, युवराज दीपेन्द्र, रानी ऐश्वर्या, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतीसहित दस जनाको ज्यान गएको थियो ।
त्यो रात दीपेन्द्रको पहिलो फायरिङपछि नै वीरेन्द्रले हातमा निकालेको पेस्तोल शोभाले नखोसिदिएको भए के हुन्थ्यो ?
फेमस ग्राउजका केही निट पेग, गाँजा र अन्य लागू पदार्थ खाएर होसहवास गुमाइसकेका दीपेन्द्रको मस्तिष्कमा प्रेमिका देवयानी राणासँग सम्बन्ध गाँस्न परिवारले गरेको आनाकानीले झनै आगो बालिदिएको थियो ।
होसहवास गुमाएर जथाभावी फाइरिङ गर्दै हिँडेका दीपेन्द्रलाई नै आफूलाई गोली लागिसकेपछि वीरेन्द्रले गोली प्रहार गर्थे वा गर्थेनन् ?
दीपेन्द्रसँग त्यो रात चारवटा हतियार थिए, दुइटा राइफल, अर्को बाह्र बोरको बन्दुक र ह्यान्डगन ।
सैनिक कम्ब्याटमा चारवटा हतियार लिएर अचानक बिलियार्ड हल छिरेका दीपेन्द्रले गोली बर्साउन थालेपछि अरु कसैलाई हतियार निकाल्ने होस नै भएन ।
वीरेन्द्रले भने पेस्तोल निकालिसकेका थिए । तर, शोभाले ट्याप्प समाइन् र म्याग्जिन थुतिदिइन् ।
वीरेन्द्रको हातबाट शोभाले म्याग्जिन नथुतिदिएको भए सम्भवतः नेपाली राजतन्त्रको इतिहास नै बदलिन्थ्यो !
...
त्यतिबेला नारायणहिटी राजदरबारमा हरेक महिना तेस्रो शुक्रबार पारिवारिक जमघट हुन्थ्यो । तत्कालीन युवराज दीपेन्द्रको खोपी रहेको त्रिभुवन सदनमा हुन्थ्यो त्यो पारिवारिक जमघट ।
त्यो दिन निम्त्याइएका २४ जनामध्ये तीन जना आएनन्– प्रेक्षा, मोहनबहादुर शाही र विमला सिंह । अरु २१ जना साँझ आठ बजे आसपास त्रिभुवन सदन पुगिसकेका थिए ।
साँझ साढे सात बज्नुअघि नै दीपेन्द्रले बिलियार्ड हलमा बसेर फेमस ग्राउज ह्विस्कीको दुई पेग मारिसकेका थिए । एक्लै बिलियार्ड खेल्दै ।
साढे सात बजे बोलाइएका शाही नातेदार बिस्तारै आउन थालेका थिए । आमा कोमल, बहिनी प्रेरणा, पत्नी हिमानीसहित पारस ७:४० मा निर्मल निवासबाट नारायणहिटीमा रहेको बिलियार्ड हल आइपुगे । त्यो दिन ज्ञानेन्द्र भने पोखरामा थिए ।
पारसले सुरुमै आउँदा दीपेन्द्रलाई मातिसकेको देखेका थिए । मातेका दीपेन्द्रले देवयानीलाई संकेत गर्दै पारसलाई भने, ‘बिहेको कुरा भएको छ, मुमाले हुँदैन भन्नुभयो । अब पर्सि बुबासँग कुरा गर्छु ।’
दीपेन्द्र–देवयानी सम्बन्धको गहनता र जटिलता दुवै नारायणहिटीको चौघेराबाट आम जनताको कानसम्म पुगिसकेको बेला थियो ।
तत्कालीन मुमा बडामहारानी रत्न त्रिभुवन सदन नजिकैको महेन्द्र मञ्जिलमा बस्थिन् । आठ बजे दीपेन्द्र बिलियार्ड हलबाट बाहिर निस्के र आफैं मोटर चलाउँदै महेन्द्र मन्जिलबाट रत्नलाई लिएर त्रिभुवन सदन फर्के ।
रत्न मुख्य जमघटस्थल बिलियार्ड हल पस्दिनथिइन् ।
त्यो दिन पनि उनी अधिराजकुमारी हेलेनसँग आडैको सानो बैठकमा बसिरहिन् ।
बिलियार्ड हल बिस्तारै गुल्जार हुँदै गयो । मातिसकेका दीपेन्द्रले आफैं पाहुनाहरुलाई डि्ंक्स सर्भ गरे ।
सबैभन्दा ढिलो साढे आठ बजे राजा वीरेन्द्र आफ्नो कार्यालयबाट पैदलै जमघटस्थल आइपुगे । सबैभन्दा पहिला सानो बैठकमा छिरेर आमा रत्नको दर्शन गरे, एकछिन भलाकुसारी गरे र त्यसपछि बिलियार्ड हल प्रवेश गरे ।
...
वीरेन्द्र बिलियार्ड हल छिर्नुभन्दा केही मिनेटअघि दीपेन्द्रले पाश्ववर्ती गजेन्द्र बोहोरालाई भने, ‘चुरोट ल्याऊ ।’
गजेन्द्रले आदेश दिएअनुसार अर्दली रामकृष्ण केसीले गाँजा र नाम नखुलेको कालो पदार्थ मिसाएको शिखर चुरोट बिलियार्ड कोठाको पूर्व ढोकामा गएर पारसलाई जिम्मा लगाए, दीपेन्द्रलाई दिन आग्रह गर्दै ।
यसअघि ८:१२ मा दीपेन्द्रले देवयानीलाई फोन गरेका थिए, १ मिनेट १४ सेकेन्ड । छ मिनेटपछि देवयानीले दीपेन्द्रलाई फोन गरिन् । ४ मिनेट १४ सेकेन्ड कुरा भयो । कुरा भइरहँदा नै दीपेन्द्रको स्वर लर्बराइरहेको थियो । पूरा कुरा हुन पनि पाएन ।
नसालु चुरोटको मातले दीपेन्द्र झनै माते र बेहोसै भएजस्तो गरी ढले । बिलियार्ड हलमै दीपेन्द्र ढलेपछि पारस, गोरख, निराजन र राजीवले उठाए ।
यी चार जना मिलेर दीपेन्द्रलाई उनको खोपीमा पुर्‍याए तर मूल ओछ्यानमा सुताउन सकेनन् । भुइँको सानो ओछ्यानमै दीपेन्द्रलाई सुताइदिएर उनीहरु बिलियार्ड हलमै फर्केर र रमाइलो गर्न थाले।
देवयानीले दीपेन्द्रका पाश्ववर्ती बोहोरा र राजु कार्कीलाई फोन गरेर सोधिन्, ‘युवराजधिराजको स्वर लर्बराइरहेको छ, सञ्चो छैन कि ?’
बोहोराको आदेशअनुसार अर्दली रामकृष्ण र द्वारेआमा जमुना अधिकारी दीपेन्द्रको खोपीमा पुग्दा उनी भुइँमा पल्टेर शरीरको माथिल्लो भागका कपडा खोल्न खोज्दै थिए । रामकृष्ण र जमुनाले उनलाई कपडा खोल्न सघाए । दीपेन्द्र बाथरुम छिरे । जमुनाले उनले वाक्वाक गरेको आवाज सुनिन् ।
बाथरुमबाट निस्केपछि दीपेन्द्रले रामकृष्ण र जमुनालाई भने, ‘तिमीहरु जाओ ।’
बिलियार्ड हलमा पार्टी चल्दै थियो ।
दीपेन्द्रले खोपीबाटै देवयानीलाई फोन गरे । भने, ‘अब म सुत्न लागेँ ।’
देवयानीको जवाफपछि दीपेन्द्रले भने, ‘गुडनाइट, भोलि कुरा गरौंला ।’ ३२ सेकेन्डमात्र चलेको त्यो नै दीपेन्द्र र देवयानीको अन्तिम संवाद थियो ।
...
देवयानीलाई ‘सुत्छु’ त भने तर दीपेन्द्र सुतेनन् । सैनिक कम्ब्याट लगाए । हातहतियार बोके र खोपीबाहिर निस्किए ।
अर्दली रामकृष्णलाई लाग्यो, ‘कहिँ बाहिर सवारी हुने रहेछ कि क्या हो !’
उनले दीपेन्द्रलाई सोधे, ‘इमर्जेन्सी ब्याग टक्र्याउँ सरकार ?’
दीपेन्द्रले भने, ‘पर्दैन अहिले ।’
दीपेन्द्र सैनिक कम्ब्याटमा दुइटा राइफल, बाह्र बोरको बन्दुक र ह्यान्डगन भिरेर बिलियार्ड हल छिरे।
कालो रङको हतियारले हलको सिलिङ र पश्चिम भित्तामा फायरिङ गरे ।
राजा वीरेन्द्रले भने, ‘के गरेको ?’
बिलियार्ड टेबुलको पूर्व उभिएर नातेदारसँग कुरा गर्दै तत्कालै दीपेन्द्रले आफ्ना बुबा राजा वीरेन्द्रलाई फायर गरे ।
फायर गर्दै पछाडि सरे र कोठाबाहिर भित्री बगैँचा छेउको उत्तरतर्फ झ्याङमा बाह्र बोरको बन्दुक फ्ँयाके र फेरि बिलियार्ड हल छिरे। बत्ती र टेलिस्कोपसहितको अर्को राइफल सोझ्याएर राजा वीरेन्द्र, कुमार गोरखशमशेर, धिरेन्द्र र कुमार खड्गबिक्रमलाई फायर गरे । फेरि पछाडि सरे ।
तेस्रोपटक जथाभावी फायरिङ गरे । श्रुती, शारदा, शान्ति र जयन्तीलाई लाग्ने गरी ।
त्यसपछि दीपेन्द्र बिलियार्ड कोठाबाहिर रहेको भित्री बगैँचामा पछाडि सर्दै गए ।
रानी ऐश्वर्या र अधिराजकुमार निराजन बगैँचामा दीपेन्द्रको पछिपछि दौडिए । निलकाँडाको झ्याङ नाघी सानो चौरमा उभिएर दीपेन्द्रले फेरि गोली चलाए । निराजनलाई त्यहीँ गोली लाग्यो र उनी ढले ।
त्यतिञ्जेल राजा वीरेन्द्रलाई अस्पताल लगिसकिएको थियो ।
दीपेन्द्रको सनक उत्कर्षमा पुगिसकेको थियो । उनले आफ्नो खोपी जाने सानो पोखरीको पुलबाट उत्तर लागी मुख्यद्वार हुँदै भित्री भर्‍याङको सातौं खुड्किलामा रानी ऐश्वर्यालाई फायरिङ गरे । गिदी बाहिर निस्क्यो र छरपस्ट भयो । दात र बंगारा पनि झरे । रातो टीका, कानको टप, रातो चुरा जताततै छरिए ।
त्यसपछि त्रिभुवन सदनअगाडि बगैँचाको पोखरीको पुलको दक्षिण भागमा उत्तानो पल्टी घ्वारघ्वार आवाज निकालिरहेको अवस्थामा दीपेन्द्र भेटिएका थिए । उनले आफैंलाई गोली हानेका थिए ।
वीरेन्द्र, ऐश्वर्या, निराजन, श्रुती, शान्ति, शारदा, जयन्ती, कुमार खड्गबिक्रम घटनास्थलमै मारिए । गोली लागेर घाइते भएका दीपेन्द्र र धिरेन्द्रको तीन दिनपछि सैनिक अस्पतालमा निधन भयो।
घटनामा कोमल, शोभा, गोरखशमशेर, केतकी घाइते भए ।
घटनास्थलमा ५.५६ क्यालिबरको अटोमेटिक राइफलका ४७ वटा गोली भेटिए । मेसिनगन र अटोमेटिक पिस्तोल प्रयोग गरेको अनुसन्धानबाट खुल्यो ।
...
३० वर्षीय दीपेन्द्रको सनकले यसरी नेपाली इतिहासको एउटा कालो दिनको कथा लेखियो । १५ मिनेटमा शक्तिशाली हतियारले फाइरिङमाथि फाइरिङ गरेका दीपेन्द्रलाई कसैले रोक्न सकेन ।
वीरेन्द्रले भने दीपेन्द्रको पहिलो प्रहारपछि नै पेस्तोल निकालिसकेका थिए । तर, उनले पनि त्यो हतियार आफू र परिवारका सदस्यको सुरक्षाका लागि प्रयोग गर्न पाएनन् ।
बहिनी शोभाले उनको हातबाट पेस्तोल खोसेपछि त्यो रात पन्ध्र मिनेटमै दीपेन्द्रले आधुनिक नेपाली इतिहासको सर्वाधिक त्रासद रक्तपात गराइदिए ।
बुबाआमा, भाइबहिनी, काका, फुपुसहित नौ जनाको ज्यान लिए र आफूलाई पनि गोली हाने ।

(२०५८ जेठ १९ गतेको घटनासम्बन्धमा तथ्य जाहेर गर्न तत्कालीन प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय र तत्कालीन सभामुख तारानाथ रानाभाट सदस्य रहेको उच्चस्तरीय समितिले तत्कालीन राजा ज्ञानेन्द्रलाई बुझाएको प्रतिवेदनमा आधारित।)