सुनील खड्का

त्यो
दिन म कसरी भुल्न सक्छु ! गएको मंसिर २२ गते । मलाई एक नेपाली साथीको फोन
आयो, 'पूर्वयुवराजलाई कसैले लखेटिरहेको छ, तपाईंले रेस्क्यु गर्नुपर्यो ।'
पारस सरकारसित मेरो दोहोरो चिनजान थिएन । बैंककमा बस्दै आए पनि
कहिल्यै देखेको थिइनँ, उहाँलाई । तर, नेपालको पूर्वयुवराज र त्योभन्दा बढी
एक नेपाली नागरिक भएको नाताले उहाँलाई सहयोग गर्नु आफ्नो दायित्व सम्झेँ ।
पारस
पहिले बैंककमा एउटा अपार्टमेन्टमा बस्दै आउनुभएको थियो । त्यहाँ नयाँ
चिनजानमा आएका केही 'शंकास्पद' विदेशीले एक दिन लागुपदार्थ सेवन गरेर
उहाँको अपार्टमेन्टभित्रै तोडफोड गरेछन् । त्यसपछि उहाँले असुरक्षित महसुस
गरेर अपार्टमेन्ट नै छाड्नुभयो । त्यहाँबाट फुकेट आएर होटलमा बस्न
थाल्नुभएको रहेछ । तर, त्यहाँ पनि उहाँलाई असुरक्षा फिल भएछ । शंकास्पद
चरित्रका नयाँ विदेशी मान्छे भेट्न आउने र चिनजान गर्ने गर्दा रहेछन् ।
साथै, त्यस्ता व्यक्तिले लगातार आफूलाई फलो गरेको महसुस गर्नुभयो ।
यसैक्रममा
एकदिन होटलमा बसिरहेका वेला आफूलाई कसैले पछ्याइरहेको पाएपछि उहाँले
चिनजानका नेपालीहरूलाई फोन गर्नुभएछ । तीनजना नेपाली गएर उहाँलाई आफ्नो
गाडीमा हालेर भगाएछन् । तर, पछाडिबाट अर्को गाडीले फलो गर्न थालेछ ।
त्यसपछि ती साथीले अत्तालिँदै मलाई फोन गरेका थिए । मैले सहयोग गर्ने
निर्णय लिएँ र उनीहरूलाई मेरो घरनजिकैको सपिङ मलको पार्किङमा बोलाएँ ।
उहाँहरूले गाडी हुइक्याउँदै लिएर आउनुभयो । मैले पारसलाई त्यो गाडीबाट
झिकेर हतार-हतार आफ्नो गाडीमा हालेँ । अनि एक सय ४५ किलोमिटरको रफ्तारमा
गाडी कुदाएँ । कुदाएँ के भन्नु उडाएँ ! केही समयसम्म पछाडि फलो गर्ने गाडी
देखिएको थियो । तर, मैले छलेर अघि बढेँ । मैले खुला राजमार्गमा गाडी लगातार
कुदाइरहेँ । करिब दुई सय किलोमिटर चलाएपछि बल्ल ज्यान जोगिएको महसुस भयो र
विश्राम लिएँ ।
मेरो गाडीमा चढ्न लाग्दा पारस निकै हतास मनस्थितिमा
हुनुहुन्थ्यो । म पनि भित्र-भित्र साह्रै डराएको थिएँ । तर, आफ्नो डर
नदेखाईकन उहाँलाई ढाडस दिएँ, 'अब केही हुँदैन, म सुरक्षित ठाउँमा
पुर्याउँछु भनेर ।' त्यसपछि उहाँको अनुहारको रंग केही फेरियो र आश्वस्त
हुनुभयो ।
त्यति स्पिडमा गाडी चलाउँदा पनि म उहाँसित कुरा गरिरहेको
थिएँ, मनको डर मत्थर होस् भनेर । उहाँले मेरो परिचय सोध्नुभयो, अनि धन्यवाद
दिनुभयो थियो, सहयोग गरेकोमा । मैले उहाँको बसाइ र पारिवारिक कुरा सोधेको
थिएँ । फलो गर्नेहरूबाट फुत्काएर सुरक्षित ठाउँमा पुर्याए पनि पारसलाई
एक्लै छाड्न मेरो मन मानेन । त्यसैले मैले आफ्नो घरमा बस्न जाने प्रस्ताव
राखेँ । उहाँले खुसी भएर मेरो प्रस्ताव स्वीकार गर्नुभयो । घरमा लगेर
उहाँलाई राखेपछि हामी दुवैले शान्तिको सास फेर्यौँ । यो घटना अहिले
सम्भिmँदा फिल्मजस्तो लाग्छ ।
०००
मैले माथि पनि भनँे- पारस
सरकारसित मेरो न दोहोरो चिनजान थियो, न कहिल्यै देखभेट भएको थियो । उहाँको
बारेमा मेरो त्यस्तै नकारात्मक सोचाइ थियो, जस्तो आमनेपालीको छ । तर,
उहाँलाई भेटेकै दिनदेखि मेरो उहाँप्रतिको धारणा एक सय ८० डिग्रीमा बदलियो ।
उहाँलाई मैले जस्तो मान्छे सोचेको थिएँ, त्योभन्दा शतप्रतिशत भिन्न पाएँ ।
खुला दिलको, रसिक, सहयोगी । एउटा असल मान्छेमा हुनुपर्ने धेरै गुण भएको ।
सच्चा नेपाली मन र मुटु भएको ।
सुरुका दिनमा म उहाँलाई पारस सरकार
भनेरै सम्बोधन गर्थें । तर, बिस्तारै नजिक हुँदै गएपछि आफ्नै ठूल्दाइजस्तो
लाग्न थाल्यो । उहाँले नै आफूलाई सरकार नभन्न अनुरोध गर्नुभएपछि दाजु नै
भन्न थालेँ । म उहाँलाई तपाईं भन्थेँ । उहाँ मलाई तिमी भन्नुहुन्छ । अहिले
हामी दाजूभाई जस्तै छौं ।
नेपालमा पारसले दारु पिएर बबाल गरेको समाचार
मैले पनि बारम्बार पढ्दै-सुन्दै आएको हुँ । तर, मैले संगत गरेदेखि उहाँले
एकपटक पनि दारु छुनुभएको छैन । उहाँ दारु खानुहुन्नभन्दा धेरैले
नपत्याउलान्, तर यो धु्रवसत्य हो । यो म भगवान्को कसम खाएर भन्न सक्छु ।
सिंगापुर बस्दासम्म खानुहँुदो रहेछ । तर, बैंकक आएपछि खानुभएको छैन ।
कहिलेकाहीँ म उहाँसित बसेर दारु खाँदा उहाँ पानी खानुहुन्थ्यो ।
स्वास्थ्यका कारणले नै पिउन छाड्नुभएको हो ।
बैंककमा मसित बस्दाखेरि
उहाँको लाइफस्टाइल एकदमै सामान्य थियो । घरबाहिर प्रायः निस्कनुहुन्नथ्यो ।
कहिलेकाहीँ म घुमाउन लैजान्थेँ । उहाँकी एउटी थाई केटीसाथी थिइन् । बैंकक
आएपछि भाषाको समस्या भएकाले उहाँले सहयोगीका रूपमा राख्नुभएको रहेछ । उनी
वेलाबखत मेरो घरमा आउँथिन्, उहाँलाई भेट्न । उहाँहरूको सम्बन्धको
प्रगाढताबारे म जान चाहन्नँ । घरमा उहाँ प्रायः कम्प्युटर चलाएर
बस्नुहुन्थ्यो । कम्प्युटरमा नेपालको न्युज हेर्ने, फेसबुक चलाउने तथा गेम
खेल्ने पनि गर्नुहुन्थ्यो । अरू वेला
पुस्तक पढ्नुहुन्थ्यो ।
उहाँ
एकदमै दिल खोलेर कुरा गर्नुहुन्थ्यो मसित । हाँसोठट्टा पनि खुबै
गर्नुपर्ने । उहाँ र मेरो सम्बन्ध पूरै अनौपचारिक भइसकेको थियो । सायद मसित
लुकाएका कुरा केही छैनन् । परिवारका बारेमा, पत्नीका बारेमा पनि सबै कुरा
गर्नुहुन्थ्यो । तर, उहाँले मसित गर्नुभएको कुरा मिडियामा फैलाउनु उचित
छैन । दरबार हत्याकाण्डबारे पनि कुरा गर्नुभएको छ । त्यो पनि म बाहिर
ल्याउन चाहन्नँ । बाहिर ल्याए पनि कसैले पत्याउनेछैनन् । यति मात्रै भन्न
सक्छु, दरबार हत्याकाण्डको मामलामा पारस र उहाँको परिवारप्रति ठूलो अन्याय
भएको छ । यसले उहाँलाई भित्र-भित्रै धेरै कमजोर बनाएको मैले पाएको छु ।
हामीबीच
राजनीतिक कुरा पनि हुन्थे । नेपालबारे धेरै चिन्ता थियो उहाँमा । समाचारमा
अपडेट हुनुहुन्थ्यो । म पनि नयाँ कुरा थाहा पाउनेबित्तिकै उहाँलाई
सुनाउँथेँ । अन्ततः नेपालमै र्फकने सोच थियो उहाँको । राजनीतिमै
लाग्नेभन्दा पनि समाजसेवा गर्ने कुरा गर्नुहुन्थ्यो । राजनीतिमा उहाँको
धारणा भनेको देश जसले चलाए पनि स्थिर र विकासमुखी सरकार चाहिन्छ भन्ने
थियो ।
उहाँ घरेलु काममा पनि निकै रुचि राख्नुहुन्थ्यो । निकै
सफासुग्घर बस्नुपर्ने । आफ्नो मात्रै होइन, कोठाको सरसफाइ पनि
गर्नुहुन्थ्यो । वेलाबखत पकाउन पनि जाँगर गर्नुहुन्थ्यो । चिया-कफी तथा
मासुका आइटम पकाएर खुवाउनुहुन्थ्यो । खानामा मासुको झोल र भात उहाँको पि्रय
हो । हामी एउटै परिवारका सदस्यजस्ता भएर बसेका थियौँ । उहाँको कारणले मैले
आफूलाई नेपालमै बसिरहेको अनुभूति गरेँ ।
०००
त्यस दिन हामी
दिनभरि सँगै थियौँ, घरमै । उहाँकी थाई साथी पनि आएकी थिइन् । बेलुकी खाना
खाने वेला चिकेन सकिएछ । उहाँले मलाई चिकेन किन्न पठाउनुभयो । म बाहिर
निस्केको केही बेरमा उहाँकै नम्बरबाट मिसकल आयो । तर, मैले कलब्याक गर्दा
उठेन । पछि उहाँकी साथीलाई गर्दा उनले पारसलाई हार्ट अट्याक भएको बताइन् ।
अनि मैले तत्कालै गार्डलाई फोन गरेर हस्पिटल लैजान भनेँ । संयोगले समितिभेज
हस्पिटल मेरो अपार्टमेन्टबाट केवल पाँच मिनेटको दुरीमा छ । उनीहरूले
दौडाएर अस्पताल पुर्याए । म पनि हस्याङफस्याङ गर्दै सोझै अस्पताल गएँ ।
म
पुग्दा उहाँको धड्कन बन्द भइसकेको रहेछ । डाक्टरले 'हि इज नो मोर' भने ।
मेरो आँखाबाट बरबर्ती आँसु आयो । आफूलाई सम्हालेर मैले नेपालमा कल गर्ने
प्रयास गरेँ उहाँको परिवारलाई । मसित सबैको नम्बर थियो । तर, कसैको फोन
लागेन । त्यसपछि एसएमएस गरेँ । पछि उताबाट कलब्याक भयो ।
उता सम्पर्क
नहुन्जेलसम्म उहाँलाई भेन्टिलेटरमा राख्न अनुरोध गरेँ, मैले डाक्टरहरूलाई ।
सायद नेपालमा ढिला सम्पर्क हुनु पनि पारस बाँच्नुको एउटा कारण बन्यो ।
किनकि, पहिल्यै सम्पर्क भएको भए, मैले उहाँलाई मेसिन लगाइराख्न भन्ने
थिइनँ, डाक्टरले त डेथ नै डिक्लेयर गरेका थिए । नेपालबाट फोन आउनुभन्दा
केवल एक मिनेटअगाडि आश्चर्यजनक रूपमा उहाँको सास फर्कियो । यदि दुई
मिनेटअगाडि मात्र फोन आएको भए मैले उहाँ रहनुभएन भन्थेँ होला । यसलाई
भाग्यकै कुरा ठानौँ ।
नेपालबाट पूर्वराजपरिवार नपुग्दासम्म म पारसको
एक्लो अभिभावक थिएँ । निकै विचलित पनि भएको थिएँ । हरेक ठाउँमा मैले नै
हस्ताक्षर गर्नुपथ्र्यो, उपचार गर्दा तलमाथि भएमा मेरो जिम्मेवारी भनेर ।
ठूलो प्रेसर भएको थियो मलाई । उहाँकी थाई साथी पनि उहाँ मर्ने निश्चित
देखेर होला, आउन छाडेकी थिइन् । नेपालबाट पहिले हिमानी सरकार अनि
पूर्वराजारानी आएपछि मैले बल्ल आफ्नो बोझ हलुका भएको अनुभव गरेँ ।
उहाँहरूले मैले गरेको सहयोगका लागि हृदयदेखि धन्यवाद दिनुभयो । त्यसपछि सबै
उहाँहरूले सम्हाल्नुभयो ।
एउटा चमत्कार भएजस्तो गरी उहाँको होस
खुल्यो । यो साँच्चिकै चमत्कार थियो, चिकित्सकका निम्ति पनि । होस खुलेपछि
मैले पहिलोचोटि भेट्दा उहाँ भावविह्वल हुनुभयो । मलाई 'तिमी मेरो जीवनरक्षक
हौ' भन्दै आलिंगन गर्नुभयो । म पनि भावुक बनेँ । अस्पतालबाट डिस्चार्ज
भएपछि हस्पिटलकै एउटा उपचार केन्द्र -सुधारगृह जस्तै) मा राखियो । तीन
दिनअघि उहाँ त्यहाँ बस्न गाह्रो लागेर निस्किनुभएको छ । अहिले हस्पिटलनजिकै
एउटा अस्थायी अपार्टमेन्ट लिएर बस्न थाल्नुभएको छ । डाक्टरले नियमित
अनुगमन गरिरहेका छन् । खानपिनमा निकै बारबन्देज छ । म नियमित रूपमा
भेट्छु । यद्यपि, बिस्तारै मोटाउन थाल्नुभएको छ । अनुहार उज्यालो हँुदै
गएको छ । म उहाँ जतिसक्दो चाँडो पहिलेजस्तै भएको हेर्न चाहन्छु ।
प्रस्तुति ः चिरञ्जीवी पौडेल