Sunday, April 28, 2013

एप्पलका ह्याकर गुगलमा जागिरे बन्दै - onlinekhabar

सफ्टवेयरको दुनियाका कट्टर प्रतिद्धन्दी एप्पल र गुगलबीचको आपसी प्रतिस्पर्धामा अर्को अध्याय थपिएको छ । एप्पलको आइफोन र आइप्याडको अपरेटिङ सिस्टम आइओएस ह्याक गर्नका लागि निकै चर्चित सफ्टवेयर ‘जेलब्रेक’ निर्माण गरेर आइफोन ह्याक गर्ने ह्याकर निकोलस एलिग्राले गुगलमा छिर्ने भएका छन् । उनी प्रशिक्षार्थीको रुपमा गुगल कम्पनीमा प्रवेश गर्ने भएका हुन् ।
Apple-vs.-Google
जेलब्रेक एउटा यस्तो सफ्टवेयर हो जसका माध्यमबाट आइफोन र आइप्याडका प्रयोगकर्ताहरुले आइओएस डिभाइसमा अर्को एप्लिकेसन पनि इन्स्टल गर्न सक्छन् ।
यस्तो चर्चित सफ्टवेयर बनाउने निकोलसले आफ्नो टि्वटर अकाउण्ट मार्फत आफु गुगलमा प्रशिक्षार्थीको रुपमा छिर्न थालेको खुलास गरेका हुन् । आफुले आउँदा केही हप्तामा गुगलमा इन्टर्नशीप गर्न लागेको उनको भनाइ छ ।
तर आफुले एन्ड्रोइड सफ्टवेयरका लागि भने काम नगर्ने उनले बताएका छन् । स्मरण रहोस् निकोलसलाई एप्पलले सन् २०११ मा प्रशिक्षार्थीको रुपमा कम्पनीमा भित्राएको थियो । त्यसको एकवर्ष पछि एप्पलले निकोलसको करार अवधि बढाउने सोँच बनाएको थियो ।
तर निकोलसले एप्पलप्रति नै घात गर्दै आइफोन ह्याक गर्ने सफ्टवेयर बनाएपछि एप्पलले उनको करार अवधि टुंग्याएको थियो । हेरौँ यी ह्याकरले गुगलमा पनि केही बदमासी पो गर्ने हुन् की । आइओएस ह्याक गर्ने निकोलसलाई गुगलले भित्राउन लागेको खबरप्रति एप्पलले कस्तो प्रतिक्रिया दिने हो त्यो पनि हेर्न बाँकी छ ।

यसरी दिइयो मृतकलाई लाइसेन्स - ekantipur

बीरगञ्ज , वैशाख १५ - वीरगन्ज सहर प्रवेश गर्नेबित्तिकै आउने पावरहाउस चोक, पूर्वतिर करिब २ सय मिटरको दूरीमा नारायणी यातायात व्यवस्था कार्यालय छ । सवारी लाइसेन्स लिने प्रक्रिया, नवीकरण, सवारी दस्तुर, सवारी अञ्चलीकरणलगायतका सवारीसम्बद्ध काम हुने अड्डामा बिदाबाहेकका दिनमा सधैं भीडभाड हुन्छ । अझ लाइसेन्सको आवेदन खुलेपछि त ससानो मेलाकै झझल्को दिने भीड ओइरिन्छ ।

license यो अड्डाअगाडि सडकको दायाँबायाँ दुई दर्जनजति सटरमा पसल छन् । सबैजसो पसलमा फोटोकपी मेसिन, लोडसेडिङको समयमा पनि सेवा दिन जेनरेटरसहित तम्तयार अवस्थामा छन् । एक दर्जनजति त ड्राइभिङ इन्स्िटच्युटको नाममा खोलिएका बिचौलिया सेन्टर । सटरमा हुने काम हेर्दा तिनलाई उपअड्डा भन्न फरक नपर्ने । सेवाग्राहीको सामान्य काम पनि ती दलालबेगर असम्भव भन्ने कुरा पनि थाहा पाइएकै हो । कर्मचारी पनि बाठा, सेवाग्राहीकै हातबाट सोझै 'माल' नलिने । दलालमार्फत मात्र रकम बुझ्ने 'स्वच्छछवि' ।

गजब के छ भने यातायात व्यवस्था विभागले भ्रष्टाचार नियन्त्रण गर्न भनेर दिएको सीसीटीभी क्यामेरा कर्मचारीले थन्क्याएका छन् । अरू बेला चलिहाले नि ट्रायलको बेला बन्द हुने निश्चित ।

ड्राइभिङ सेन्टरको दोकान खोेलेर बसेका बिचौलियालाई रकम दिएपछि एकमुष्ट आवेदन दर्ता हुन्छ । अनि लाइसेन्सका लागि अड्डामा उपस्थिति नै नजनाए पनि होमडेलिभरीको सुविधा । उपस्थित हुनेको एउटा रेट र होमडेलिभरीका लागि तेब्बर दस्तुर । मैले यस विषयमा एकाधचोटि समाचार पनि लेखें । अरूले पनि लेखिरहेका हुन् । समाचार लेख्ने क्रममा भेट्दा कर्मचारीका आफ्नै गनगन हुन्थे, 'राजनीतिक दल, तीनका भ्रातृ संगठन, भूमिगत, सञ्चारकर्मी, प्रहरीलगायतबाट थुप्रै सिफारिस आउँछ । स्थानीय गुन्डा, ट्यापे मुन्द्रेको पनि सिफारिस नमान्दा पिटाइ खाइएला भन्ने डर । बरु तपाईंका पनि कोही छन् भने भन्नुस्' भन्थे । र सदायशयता देखाएझैं गर्थे ।

एकातिर सडक दुर्घटनामा बर्सेनि हजारभन्दा बढीले ज्यान गुमाइरहेको संवेदनशील अवस्था । अर्कोतिर सरकारीतन्त्रको लाइसेन्स वितरणमा यस्तो संवेदनहीनता । यातायात अड्डाको यस्तै बेथितिबारे चर्चा चल्यो । समाचार त लेखियो तर कसैको कानमा बतास लाग्ने होइन । बरु 'ए तेरो सिफारिसचाहिँ चलेन कि क्या हो' भनेर जिस्किने साथीभाइ । अबचाहिँ नयाँ ढंगले काम गरौं भन्ने भयो । तहल्काडटकमले स्टिङ अपरेसन गरेर भारतमा तहल्का मच्चाएको विद्यार्थीकालमै सुनिएको थियो । यहाँ पनि स्टिङ अपरेसन गरी मृत व्यक्तिको नाममा सवारी लाइसेन्स निकालेर अड्डाको मानवीय संवेदनाहीन भ्रष्टाचारको खुलासा गर्ने योजना बुनियो । काठमाडौंमा सरसल्लाह गर्दा योजना अघि बढाउने हौसला मिल्यो । तर, जो मृत व्यक्तिको नाममा लाइसेन्सको आवेदन दिने हो, त्यो परिवारको स्वीकृति चाहिने कुरा आयो ।

अब मृत व्यक्तिको नागरिकता र फोटो खोज्न थालियो । प्रयोजन बताउँदा योजना लिक भई तुहिने डर, नबताउँदा घरजग्गा आफ्नो बनाइदेला वा दुरुपयोग गर्ला कि भन्ने डरले कसैले नदिने । तीनजनासँग प्रस्ताव राखियो तर रित्तो हात र्फकनुपर्‍यो । अब स्वर्गवासी आफन्तको नाममा लाइसेन्स निकालेर हामीलाई के फाइदा भन्ने तिनको जवाफ हुन्थ्यो । तर योजनाबारे कसैलाई नभन्न गरेको अनुरोधलाई तिनले मानेकाले कुरो कर्मचारीलाई र दलालसम्म पुग्न पाएन ।


यो स्टिङ अपरेसनमा सम्मिलित एकजना साथीको अर्को घनिष्ट साथीको बुवा गएको माघमा शंकास्पद अवस्थामा मृत्ा अवस्थामा फेला परेका थिए, भक्तपुरमा । परिवारजनले मृत्युलाई स्वाभाविक मान्न नसकिरहेका थिएनन् । यही मेसोमा बुवाको मृत्युको कुरा उप्किएर फेरि अनुसन्धानले गति लिन सक्ने आसमा ती साथीले बुवाको नागरिकताको फोटोकपी र फोटो प्रयोग गर्ने अनुमति दिए र कुरियरमार्फत वीरगन्ज पठाइदिए । काजगपत्र हात लागेपछि चल्तापुर्जा दलालको खोजीमा जुटियो । दुईजना दलालले ठूलो रकम माग गरे । 'सवारी चालक नै नआउँदा धेरै ठाउँमा सेटिङ गर्नुपर्ने हुन्छ,' ती दलालको भनाइ थियो ।

यसैबीच यातायात व्यवस्था कार्यालयले चैत १८ गते नयाँ सवारीचालकको आवेदन आह्वान गर्‍यो । त्यो दिन कार्यालयमा पुग्दा भेटिएका दलालले तीन हजार मागे । यो रकम बेहोर्न सकिने नै थियो र अगाडिका दलालले मागेको भन्दा कम पनि थियो । उनीसँगै डिल फाइनल भयो । यसबाहेक सरकारी दस्तुर १५ हजार रुपैयाँ त अलगै बुझाउनुपर्ने भयो । व्यक्ति उपस्थित हुँदा ५ हजार लाग्ने भए पनि अनुपस्थित हुने भएकाले तेब्बर दस्तुर लाग्ने ती दलाले बताए ।

मसँग मात्र भएको पैसाले पुग्ने भएन । एकजना साथीसँग सापट लिएँ । दलाललाई दुई चरणमा रकम दिने कुरो तय भयो । घूस नदिँदा पास हुनेले पनि लाइसेन्स पाउन गाह्रै हुन्छ । यहाँ त, मान्छै नै उपस्थित नहुने अवस्था थियो । नदिएर सुख थिएन । लाइसेन्स लिनेको नागरिकताको फोटोकपी, चार प्रति फोटो र तय भएको रकम ती दलाललाई दिइयो ।

रामेश्वर राउतको नाम दर्ता भएपछि प्रवेशपत्र जारी भयो । चैत २२ गते लिखितमा पास हुनेको सूचीमा उनको नाम १२७ नम्बरमा देखिएपछि आपmनो योजना सफल हुनेमा पचास प्रतिशत विश्वस्त भइयो । चैत २४ गतेको ट्रायलमा समेत पास भएको दलालले जानकारी गराएपछि योजना ९० प्रतिशत सफल भयो । तर ट्रायलको नतिजा कार्यालयले प्रकाशमा ल्याउँदैन रहेछ । वैशाख ८ देखि लाइसेन्स वितरण गरिने दलालबाटै थाहा भयो । उक्त अवधिमा कार्यालय सुनसान देखिन्थ्यो । 'निवासमै कर्मचारीले लाइसेन्स बनाउँछन्,' दलाल भन्दै थिए, 'लेनदेनको हिसाब नमिलेपछि यसपालि अलिकति ढिलो भएको हो ।' वैशाखदेखि लाइसेन्स लिन नयाँ खाले ट्रायल लिने भएकाले यसपालि चाप बढी भएको तिनको भनाइ थियो  । दुईपाङ्ग्रे सवारी इजाजत लिन तीन हजार ३६ जनाले आवेदन दिएका थिए । लिखितमा दुई हजार सात सय ४७ पास भए  ।

झन्डै तीन महिनाअघि मृत्यु भएका व्यक्तिको नाममा वैशाख ८ गते नारायणी यातायातले लाइसेन्स दियो । शाखा अधिकृत ईश्वरी ढकालको हस्ताक्ष्ार रहेको राउतको लाइसेन्स नम्बर २३०५३३२ थियो । दिउँसो २ बजे लाइसेन्स हात पर्‍यो । अब मुख्य काम गर्ने पालो थियो, समाचार लेख्ने । तर, लाइसेन्सकै भरमा समाचार प्रकाशित गरे कर्मचारीले त्यो नक्कली भनिदिने र कार्यालयमा रहेका ढड्डालगायतका सबुत सजिलै नष्ट गरिदिने सम्भावना थियो । ढड्डाको तस्बिर लिन पुग्दा भीडभाड भएको भन्दै कर्मचारीले प्रवेश गर्नै दिएनन् । नारायणी अञ्चलका एसएसपी सर्वेन्द्र खनाललाई जानकारी गराई ढड्डा नियन्त्रणमा लिन लगाउने सल्लाह भयो । मृत व्यक्तिको लाइसेन्स जारी भएको प्रमाण देखाएपछि ढड्डा नियन्त्रणमा लिन उनी तयार भइहाले । आफैं लाइसेन्स फाँटमा पुगेर वितरित लाइसेन्सका ढड्डा, लिखित, ट्रायलको नतिजा, हाजिरी पुस्तिका सिलबन्दी गरेर नियन्त्रणमा लिए । अनियमितताको भरपर्दो सूचना आएको बताए पनि उनले गाँठी कुरा खोलेनन् । सोही समयमा सवारीचालकको स्वास्थ्य चेकजाँच गर्ने चिकित्सक मदिरा सेवन गरेर त्यहाँ आइपुगे । मेरो सिफारिसबिना नै लाइसेन्स किन वितरण गरेको भन्दै कर्मचारीलाई हप्काउन थाले । प्रहरीले उनलाई मापसे गरेको भन्दै सँगै लिएर गयो ।

लाइसेन्सको लागि दिइने लिखित परीक्षा होस् वा ट्रायल सवारीचालकको उपस्थिति अनिवार्य हुन्छ । ढड्डामा ल्याप्चेसमेत लगाउनुपर्छ । सबै प्रक्रिया पूरा भएपछि चालककै उपस्थितिमा अधिकृतले लाइसेन्समा हस्ताक्षर गर्छन् । तर, तोकिएको घूस दिएकै भरमा जो कोहीले पनि सजिलै लाइसेन्स पाउन सक्ने नारायणी यातायातले प्रमाणित गरिदिएको छ । मृतकलाई लाइसेन्स जारी भएको खुलासा भएपछि यातायात विभागले स्पष्टीकरण सोधेको छ । एसएसपी खनालले भोलिपल्टै कारबाहीका लागि नियन्त्रणमा लिइएका कागजात प्रमुखलाई जिल्ला अधिकारी वेणीमाधव ज्ञवालीलाई जिम्मा लगाएका छन् । त्यसयता यातायात अड्डा प्रमुख कृष्ण पाण्डेले फोन उठाउन छाडेका छन् ।

घूसकै लागि लाइसेन्स वितरणमै यस्तो अनियमितता गरी मान्छेको जीवनसँग खेलबाड गर्ने क्रोनिक रोग दशकौंदेखि जारी छ । पहिला प्रहरीले वितरण गर्दा पनि यस्तै ताल थियो अहिले निजामतीको हातमा पनि उस्तै छ । यो स्टिङ अपरेसनले त्यसको खुलासा मात्र गरेको हो । लाइसेन्सका लागि आउने यस्तो घूस रकममा यातायातका कर्मचारीका साथै वितरणमा सहभागी हुने प्रहरीको समेत भाग लाग्ने गर्छ । अनि यातायात र वीरगन्जजस्तो ठाउँमा जान कर्मचारीको तँछाडमछाड चल्दैन त ?
को हुन् रामेश्वर राउत ?

यो अपरेसनमा जसको नाममा लाइसेन्स निकालियो ती रामेश्वर राउत माघ २२ गते तय भएको जेठी छोरी लक्ष्मीको विवाहको निम्ता बाँड्न १९ गते घरबाट निस्केका थिए । भक्तपुर दधिकोटका ४५ वषर्ीय राउतको शव भोलिपल्ट घरबाट करिब एक किलोमिटर दूरीमा फेला परेको थियो । ढलका लागि प्रयोग गरिने ह्युमपाइपमा आगो लागेर जलेको अवस्थामा उनको शव २० गते बिहान स्थानीयले फेला पारेका थिए । घटनास्थालनजिकै उनले चढ्ने नीलो रगंको बा३८प ५२५९ नम्बरको मोटरसाइकल पनि भेटिएको थियो । घर जाने बाटोतर्फ फर्काएर बाटोमा साइड लगाएको मोटरसाइकलको साँचो फेला परेन । मृतकको कालो ज्याकेट मोटरसाइकल भएको स्थानबाट केही पर भेटिएको थियो । ज्याकेटमा रहेको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको एक लाख रुपैयाँको चेक, ६ हजार ८ सय ९० रुपैयाँ नगद, बिहेको निम्तो कार्ड, डायरी, नागरिकता, लाइसेन्स, ब्लुबुक भेटिएको थियो । ज्याकेट नजिकैको कान्लामा हँसिया हथौडा अंकित रातो झन्डासमेत भेटिएको थियो । परिवारले उनको हत्या भएको बताएका छन् । तर, अनुसन्धानले हत्या वा आत्महत्याको टुंगो लगाउन सकेको छैन ।

हामी प्रचण्डकै स्कुलिङमा छौं - nagariknews


नागरिकलाई अन्तरवार्ता दिँदै नेत्रविक्रम चन्द। नागरिकलाई अन्तरवार्ता दिँदै नेत्रविक्रम चन्द। तस्विरः विकास कार्की
'विप्लव'को छोटकरी नामले बढी चिनिनुहुने नेत्रविक्रम चन्द माओवादको आदर्शबाट प्रेरित युवा हुनुहुन्छ र माओवादी युवाबीच उहाँको लोकप्रियता पनि स्थापित छ। कुनैबेला उहाँ प्रचण्डका निकट हुनुहुन्थ्यो भने अहिले राजनीतिक हिसावले निमेसिस। एकीकृत कम्युनिष्ट पार्टी माओवादीदेखि नेपाल कम्युनिष्ट पार्टी–माओवादीसम्मको छोटो यात्रामा पनि विप्लवलाई विवादले पछ्याउन छाडेको छैन। संविधान सभाको आगामी निर्वाचनका सन्दर्भमा विप्लव एकपटक फेरि चर्चामा आउनुभएको छ। विप्लवसँग किशोर नेपालको अन्तर्वार्ता :
तपाईँले आफ्ना जवानीका दिन युद्धमा लगाउनुभयो। प्रचण्डसँग तपाईँको सम्बन्ध पनि निकै आन्तरिक थियो। अचानक पार्टी छोड्नुभयो, विभाजित गर्नुभयो। पार्टी विभाजन गर्नुमा 'ड्राइभिङ फोर्स' तपाईँको महत्वाकांक्षा पनि एक महत्वपूर्ण पक्ष थियो भन्ने चर्चा छ। वास्तविकता के हो?
प्रचारमा आएको कुरा त अलि बढी हो जस्तो लाग्छ मलाई। पहिलो कुरा के हो भने हामी युवा हुँदा हामीले मानेको योग्य र आदर्श नेताचाहिँ प्रचण्ड नै हो। त्यसैले पनि उहाँसँग विशेष प्रकारको लगाव र सहकार्य थियो। त्यो घनिष्ठ थियो। दोस्रो कुरा उहाँभित्र हामीले जे खोजेका थियौं र जे हेरेको थियौँ, जे कुरा उहाँले गर्नुहुन्छ भन्ने आशा थियो, त्यो पूरा भएन। यसले गर्दा हाम्रो व्यावहारिक जीवन र राजनीतिमा, हाम्रो आदर्शमा चोट पुग्यो। तपाईँले भनेजस्तो पार्टी विभाजनको योजना नै हामीले बनाएको चाहिँ होइन। विभाजन नभइदिएको भए हुन्थ्यो भन्ने नै थियो। अहिले हामी जहाँ छौँ, त्यहा" प्रचण्डले सुरुमा दिएको स्कुलिङअनुसार नै छौँ।

तपाईँ र अनन्त दुवैलाई प्रचण्डले नेतृत्व तहका लागि तयार गर्नुभएको थियो। पछि गएर उहाँले 'मगर' अनन्तलाई समात्नुभयो र 'ठकुरी' विप्लवलाई छोड्नुभयो भन्ने चर्चा पनि छ। त्यसले तपाईँलाई आक्रोशित बनाएको हुनुपर्छ। के भन्नुहुन्छ?
होइन। साँचो कुरा के भने नि राजनीतिक मान्यता र विचार मानवीय भावनाभन्दा पृथक कुरा हो जस्तो लाग्छ मलाई। प्रचण्डजीले जे कुरामा हामीलाई स्कुलिङ गर्नुभएको थियो, पुरानो जीवनबाट नयाँ जीवन, पुरानो व्यवस्थाबाट नयाँ व्यवस्था, पुरानो समाजबाट नयाँ समाज बनाउने भन्ने जुन स्कुलिङ थियो, म त्यसैमा छु। उहाँहरु अलिकति ब्याक हुनुभयो जस्तो लाग्छ। अन्तरविरोध त्यही हो। हामी छुट्टिँदा उहा"लाई पनि भावनात्मकरूपमा चोट पर्‍यो होला, त्यो कुराचाहिँ म मान्छु।

अनन्तजी र तपाईँबीच कुनै मनमुटाव छैन त?
छैन। मैले अनन्तजीलाई यही कोठामा सोधेको थिएँ– बाहिर यस्तो चर्चा छ। यो कुरा हो त? उहाँले हाँसेर जवाफ दिनुभएको थियो– हामी यो पार्टीमा नआउँदै प्रचण्डजीहरु लडिरहनुभएको थियो। बाहिर बाबुरामजीलाई एउटाले ब्याकिङ गर्छ र प्रचण्डजीलाई अर्कोले ब्याकिङ गर्छ भन्ने पनि त चर्चा थियो।

राजनीतिमा तपाईँहरू एकअर्काबाट टाढा हुनुभयो। व्यक्तिगत जीवनमा कस्तो छ सम्बन्ध?
सरल छ। ठीक छ।

बाहिर भनिएजस्तो कटुता छैन?
हैन। हैन। त्यसलाई उहाँले स्वाभाविकरूपमा लिनुभएको छ होला। राजनीतिमा आफ्नो कन्भिक्सनको कुरा हो। आफ्नो सोचाई, विचारको कुरा हो। त्यसमा व्यक्तिगत कटुता, तिक्तता र पूर्वाग्रहको खास अर्थ हुँदैन।

तपाईँको बहुमूल्य समय त्यो पार्टी बनाउन खर्च भएको छ। त्यसमा रगत–पसिना परेको छ। अन्तमा तपाईँहरु पार्टी नै छाडेर हिँडिदिनुभयो। त्यहीँभित्रै बसेर संघर्ष गर्न सक्ने अवस्था थिएन?
मेरो आफ्नो हेराइमा त पार्टी छाडेको होइन। हामी पुनर्गठन गरेको भन्छौँ।

त्यो त लिखितम्को कुरामात्र हो, हैन?
यथार्थ के हो म भन्छु। पार्टी छाडेको भए माओवादीको आधारभूत मान्यता छाडेको प्रचण्डजीले हो। यो मेरो आफ्नो मान्यता हो। त्यसैले हामीले पार्टी छाडेको त भन्न मिल्दैन।

पार्टीको नीतिगत तहमा बसेको मान्छे, तपाईँहरुले नै अध्यक्ष बनाउनुभएको, प्रचण्डपथ भनेर उहाँको मार्गमा हिँड्नुभएको। त्यो मान्छेले नीतिगत परिवर्तन त गर्न सक्छ नि, हैन?
त्यो सबै हुन हार्मोनी मिल्नुपर्छ । सृजना भनेको वैज्ञानिक मान्यताका आधारमा हुनुपर्छ। काल्पनिक कुरा गरेर त्यसलाई सृजना भन्न मिल्दैन। नयाँ राज्य निर्माण गर्ने भनेर हामी अगाडि बढ्यौँ। त्यसमा परिवर्तन गरेर फेरि पछाडि नै जाने कुरा त मान्य हुँदैन नि त। त्यसैले हामी जुन बाटोमा छौँ, त्यो ठिक छ।

तपाईँहरु ठीक हुनुहुन्छ भन्ने पुष्टि कसरी गर्नुहुन्छ?
जनयुद्धका केही मान्यता थिए। जनता र राज्यबीचको अन्तरविरोधलाई हल गर्ने एउटा। दोस्रो, जनताका अधिकारलाई उपभोग्य हुनेगरी संस्थागत गर्ने। तेस्रो, हाम्रो राष्ट्रलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउनुपर्छ भन्ने थियो। पछिल्लो शान्ति प्रक्रियासम्म आइपुग्दा यी विचारहरु नराम्रो ढंगमा विघटनतिर लागेको छ जस्तो हामीलाई लागेको छ। हामीले जे कुराको प्रतिबद्धता जनता र नागरिकलाई गरेका थियौँ, त्यो नै ठीक छ। त्यसकारण हामीले गरेको तर्क कुनै काल्पनिक आधारमा होइन।

त्यसो भए तपाईँहरु शान्ति प्रक्रियामा आउँदाखेरि नै तपाईँहरुबीच असहमति थियो।
होइन। त्यो थिएन। शान्ति प्रक्रियामा आउँदाखेरि हामी सहमत थियौँ। शान्ति प्रक्रियाको नतिजा हामीले के चाहेका थियौँ भने राज्य र जनताबीचको अन्तरविरोध हटोस्। जनयुद्धका उपलब्धि महसुस हुनेगरी र उपभोग गर्ने तहसम्म लैजानेमा हाम्रो सहमति थियो। यसैमा हामीलाई घात भयो भन्ने लागिरहेको छ।

शान्ति प्रक्रियामा आएपछि कम्युनिष्ट समाज निर्माण हुनुपर्छ भन्ने तपाईँहरुको धारणा थियो?
होइन। त्योमात्र पनि होइन। हामीले अर्को समझदारी गरेका थियौँ। त्यो के भने माओवादीले भनेजस्तो नौलो जनवादी व्यवस्था पनि अहिलेका लागि त्यति व्यावहारिक नहोला। किन नहोला भन्दा कांग्रेस, प्रजातन्त्रवादीहरुले हामीसँग सहकार्य गर्न उचित ठानेको बेलामा, त्यो व्यावहारिक नहोला भन्ने थियो। अनि उनीहरुले पनि पुरानो संसदीय व्यवस्थाबाट अब चल्दैन भन्ने महसुस गरेको बेला हो यो भन्ने हामीलाई पनि परेको थियो। यहाँ सात दल, आठ दल पनि थियो। तर यथार्थमा भन्नुपर्दा शान्ति प्रक्रियाको पार्टनर भनेको प्रजातन्त्रवादी र कम्युनिष्टमात्रै थिए। यो दुईवटा धारबीचको सम्झौता थियो त्यो। यो दुईवटा धारको सहकार्यमा जनतालाई अधिकार सम्पन्न बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास थियो। त्यो भएन।

कांग्रेस र माओवादीबीचको सम्भौता मात्र हो भन्नुहुन्छ?
काँग्रेस र माओवादीमात्र भन्दा उचित नहोला। प्रजातन्त्रवादीहरुको नेतृत्व काँग्रेसले गरेको र कम्युनिष्टहरुको नेतृत्वचाहिँ माओवादीले गरेको भन्ने लाग्छ।

त्यो सहकार्यबाटै त गणतन्त्र आयो नि आखिर। आएन र?
गणतन्त्र त आयो। गणतन्त्र भनेको राज्यको उपल्लो तहको संरचनामा हेरफेर हो। जसले जनताको दैनिक जीवनमा केही परिवर्तन ल्याउँदैन। जनता जे कारणले परिवर्तनको पछाडि लागेको थियो, त्यसलाई सम्बोधन गर्न सकिएन। समात्न सकिएन।

के समात्न सक्नुभएन?
हामीले किसानको कुरा गरेको थियौँ। उनीहरुको हक अधिकार सुनिश्चित गर्ने कुरा। नेपालमा उत्पीडित जातिहरुको विशिष्ट प्रकारका समस्या छन्। राज्यले त्यसलाई पनि वैधानिकरूपमै सम्बोधन गरोस् भन्ने थियो। त्यसपछि राष्ट्रवादको कुरा, जनजातिका कुरा, युवाहरुको कुरा। त्यो सबैलाई राज्यले सम्बोधन गर्न सक्नुपर्थ्यो। आन्दोलनको नारा सबै पार्टीले बनाए तर वैधानिकता दिन सकेनन्।

पार्टी त्यसै कारणले फुटेको हो त?
हो, चुरो कुरा यही हो। अझ मैले जनमुक्ति सेनाको कुरा छुटाएछु। दुईवटा सेना मिलाएर राष्ट्रिय सेना बनाउने भन्नेमा सहमति थियो। प्रचण्डजी यसैमा ब्याक हुनुभयो। यस्तो कुरामा ब्याक भएपछि पार्टीमा कसरी कुरा मिल्छ?

सेना त मिल्यो नि, मिलेन?
भन्न त मिल्छ। तर, रियालिटी के हो? त्यो त तपाईँलाइ पनि थाहा छ नि।

सेना समायोजन भयो। तपाईँका लडाकुहरु बुट बजारेर तालिम लिँदैछन्। अब मेजर, कर्नेल जस्ता पदको खोजी हुँदैछ। तपाईँ कसरी मिलेन भन्नुहुन्छ?
दबाएको मित्रता र साँच्चिकैको मित्रतामा त फरक हुन्छ नि। सम्पन्नशाली र एउटा निमुखाबीचको मित्रता जस्तो हुन्छ नि, त्यस्तै समायोजन भयो। उन्नाइस हजार जनमुक्ति सेनालाई रुवाउँदै घर फर्काएको समायोजनको अर्थ र औचित्य कहाँ छ?

अब तिनीहरुलाई पुनर्संगठित गर्न थाल्नुभएको छ, हैन?
तिनीहरुलाई पुनर्संगठित गर्नैपर्दैन नि। उनीहरु त्यसै संगठित छन्।

पोलिटिकल मुभमेन्टका लागि संगठित गर्दै हुनुहुन्छ?
पोलिटिकल मुभमेन्ट त कसरी जान्छ, त्यो हामीले पछि हेर्ने कुरा हो। तर, ती प्रायःजसो हाम्रा संगठित सदस्य नै हुन्। उनीहरु कार्य विभाजनअनुसार जनमुक्ति सेनामा थिए। तर, उनीहरु पार्टीकै संगठित कार्यकर्ता नै हुन् नि।

तपाईँहरु कम्युनिष्ट डक्ट्राइनबाट प्रेरित र संगठित सेनालाई नेपाली सेनामा लगेर मिसाउन चाहनुहुन्थ्यो, जसले गर्दा तपाईँहरुलाई भोलि नेपाली सेनाकै रुपान्तरणमा सहयोग होस्।
होइन। सेनाका सम्बन्धमा प्रजातन्त्रवादी र कम्युनिष्टको मान्यतामा जानुभयो भने केही भिन्नता होला। तर, त्यसको समृद्धीकरणमा हामी दुवैको मत मिल्छ। सेना भनेको हतियारधारी फोर्समात्र होइन। सेना भनेको जनताको सेवक पनि हो। समायोजनमा सबैलाई ठाउ" दिनुपर्थ्यो। त्यसो गर्दा के बिग्रन्थ्यो होला त? एउटा ब्यारेकमा थुनिएर खाएर बस्ने भन्दा त जनताको जीवनमा सहयोग गर्ने सेनाका रूपमा जनमुक्ति सेनाले लान्थ्यो भने के नराम्रो थियो त?

तर लडाकु बिदा गर्दा तपाईँ पनि यही राज्य व्यवस्थाको एउटा अंग हुनुहुन्थ्यो। सम्पूर्ण प्रक्रिया भइरहँदा सक्रिय हुनुहुन्थ्यो, त्यसमा सहमत हुनुहुन्थ्यो। हैन?
साँचो कुरा के हो भने शान्ति प्रक्रियाको दुई वर्षसम्म हाम्राबीच कुनै विवाद थिएन। हामी सबैलाई के विश्वास थियो भने हामी नेपाललाई केही दिन सक्छौँ। चाहे संस्थागत ढंगले होस्, चाहे व्यक्तिगत ढंगले होस्। त्यो हुँदासम्म हाम्रो केही विवाद थिएन। जब हामीले सबै कुरा हेर्न थाल्यौँ, बुझ्न थाल्यौँ, आफैँले अध्ययन गर्न थाल्यौँ, नेताहरु ठूलो घेराबन्दीमा परेको फिल हुन थाल्यो। उहाँहरुको इच्छाविपरित पो हो कि त यो भन्ने पनि लाग्यो। उहाँहरु त अगाडि नै लैजान चाहनुहुन्थ्यो, उहाँहरुलाई परिवेशले घेराबन्दीमा पार्‍यो कि क्या हो? त्यसपछि त्यो घेराबन्दीबाट मुक्त गर्न हामीले प्रयास गर्‍यौँ। मैत्रीपूर्णरूपमा हाम्रो कुरा पनि राख्यौँ र फेरि लिडर त तपाईँ नै हो नि है पनि भन्यौँ। त्यसपछि उहाँ मनोगतरूपमा पनि चल्न थालेको जस्तो लाग्यो। अनि यो विभाजन भएको हो।

एनेकपा माओवादी भने पनि, नेकपा–माओवादी भने पनि नेपालको सामाजिक संरचनामा आमूल परिर्वतन गर्न त सफल भएको छ। त्यसलाई मान्नुहुन्छ?
त्यो कुरा म मान्छु। जागरण भएको छ। यो जागरण निकै महŒवपूर्ण छ। तर, जागरण ठोस हुन्छ कि हुन्न भन्नेमा चाहिँ चिन्ता छ। जागरणमात्र ठूलो कुरा होइन।

त्यो जागरण लिएर आउन नेताका रूपमा त प्रचण्डलाई नै अघि सार्नुभएको होइन?
हो। एकदमै हो। र, त्यति बेला हामीले निर्णय गलत गर्‍यौँ भन्ने पनि हामीलाई परेको छैन। हामीले उचित पात्र नै छानेका थियौँ भन्ने हामीलाई थियो।

प्रचण्डका बारेमा बारम्बार यो कुरा तपाईँलाई किन सोधिरहेको छु भने नेकपा–माओवादीको फाउन्डेसनमा धेरै योगदान तपाईँको पनि छ। तपाईँले मोहन वैद्यजीहरुलाई पार्टी विभाजनतर्फ लान प्रेरित गर्नुभयो भन्छन्। वास्तवमा के हो बताउनूस् न?
यो कुरा सत्य हैन।

यो कुरा कति प्रतिशत सत्य होइन?
तपाईँलाई किरण कमरेडका बारेमा थाहै छ। उहाँ अहिलेको संघर्षमा मात्र हैन, धेरै पहिलेदेखि भित्री संघर्षमा जुद्धै आउनुभएको छ। बादलजी पनि र अरु पनि। त्यसैले जे कुरा बाहिर प्रचारमा आएको छ, त्यो सत्य होइन। जहाँसम्म पछिल्लो समयमा देशभरका युवाहरुसँगको सहकार्य, जनतासँग भेटघाटका हिसाबले उत्प्रेरित गरेको भन्ने छ, त्यो हो र त्यसलाई म मान्छु।

नेकपा–माओवादी भन्नेबित्तिकै मान्छेको मनमा विप्लवकै तस्बिर आउँछ। तपाईँ बिस्तारै यस्तो नेताका रूपमा चित्रित गरिँदै जानुभएको छ, जसले सकारात्मक र नकारात्मक दुवै प्रतिफल दिन सक्छ। के भन्नुहुन्छ?
अब हाम्रो कार्यकर्ता, नागरिक, बुद्धिजीवीको सवालमा त्यो अपेक्षा हो भने त्यो मेरो निम्ति च्यालेन्ज नै हो। तर यदि त्यो अतिरञ्जित हो भने त्यो सही कुरा होइन। हामी राष्ट्रका सचेत नागरिक हौँ। र, राज्यप्रतिको दायित्व पूरा गर्नुपर्छ भन्नेमा सचेत छौँ।

व्यक्तिगतरूपमा पनि तपाईँ ठकुरी क्लासको मान्छे, कम्युनिष्ट आन्दोलनमा होमिनुभएको छ। तपाईँलाई लाग्दैन कि तपाईँजस्तो साहस गर्न सक्ने ठकुरी निकै कम छन् ? आफैँलाई कसरी मूल्यांकन गर्नुहुन्छ?
मार्क्स पनि सम्पन्न र शिक्षित परिवारकै मान्छे हुनुहुन्थ्यो। एंगल्स त झन् कम्युनिष्ट विरोधी परिवारकै मान्छे। त्यसैले सभ्यताको अन्वेषण र आत्मशक्तीकरणमा कुनै जाति विशेष वा पुरानो विश्वासले फरक पार्छ भन्ने कुरा मलाईचाहिँ लाग्दैन। त्यसकारण मलाई त्यो कुरा ठूलो लाग्दैन। तर, नेपालको पुरातन सोचबाट हेर्ने हो भने ठकुरी परिवारबाट म आएँ।

तपाईँहरु त रुलिङ क्लास नै हो नि? हाहा...
हो। र, इतिहासमा हेर्नुभयो भने सबैभन्दा पहिला संघर्षमा होमिने पनि त हामी नै हौँ नि। हाहा...

तपाईँ यस्तो रमाइलो कुरा गर्नुहुन्छ, पढे/लेखेको हुनुहुन्छ, लुगा पनि राम्रो मिलाएर लगाउनु हुन्छ। तर, तपाईँको राजनीतिक सोचचाहिँ किन यति साह्रो ...क्रुड' छ?
हाहा... यो एउटा अन्तरविरोध हो। यो क्रान्ति भन्ने जातै एउटा अनौठो कुरा हो। सुन्दर परिकल्पनाको केही समय क्रुड पनि हुनुपर्छ। तपाईँको शब्दलाई एकैछिन सापटी लिएको मात्र है। तपाईँले भनेजस्तो क्रुड पनि हैन। विश्वको सुन्दरता वैज्ञानिक समाजवादमै छ। त्यसमा मलाई पूर्ण विश्वास छ। र, त्यही मात्र सोचर हिँडेकाले पनि होला कि शायद?

वैज्ञानिक समाजवादको पतन भयो पूर्वी यूरोपमा, रुसमा। चीनको वैज्ञानिक समाजवाद पुँजीवादी अर्थतन्त्रको हिस्सा बन्यो। कम्युनिष्ट विचारको धेरै नया" हाँगाबिँगा फैलिएको छ। तपाईँचाहिँ किन यो पुरानो थोत्रो हाँगामै?
प्रजातन्त्रवादी जस्तो त अझै कम्युनिष्टहरु भइसकेका छैनन्। उनीहरु त एकले अर्कोलाई बन्दूकले नै तह लगाउँछन् र आफूलाई प्रजातन्त्रवादी भन्छन्। उनीहरुबीचको संघर्ष अगाडि त कम्युनिष्ट कान्छो नै हो।

दाउपेचको मामलामा त प्रजातन्त्रवादीहरु मूर्खै छन् नि। त्यसमा त तपाईँहरु माहिर हुनुहुन्छ।
हाहा... जुनसुकै किसिमको कम्युनिज्म अपनाए पनि म कम्युनिष्ट हुने कुराको सम्मान नै गर्छु। समाजवादमा जाने हो भने वस्तुगतरूपमा सोच्नुपर्छ।

ग्लोबल इकोनमीको जमाना छ अहिले। धेरै कम्युनिष्ट देशहरुले मल्टिनेसनल कम्पनी भित्र्याएका छन्। अब तपाईँहरु नेपालमा ठूला योजनाको विरोध गर्नुहुन्छ। विदेशीले केही कुरा पनि प्रमोट गर्नुहुन्न भन्नुहुन्छ। यसैगरी चल्छ?
यसमा हामीलाई के लाग्छ भने विश्व त मार्क्सवादले परिकल्पना गरेकै क्षेत्रतर्फ प्रवेश गर्दैछ– अन्तर्राष्ट्रिय। मानव जातिको क्यारेक्टर त अन्तर्राष्ट्रिय नै हुन्छ। जहाँसम्म नेपालमा पुँजीको कुरा आयो, त्यो आउनै हुँदैन, त्यो गलत हो भन्ने पक्षमा म छैन। मात्रै कुरा के हो भने यहाँ उत्पादन भएका कुरा र नाफा कसका लागि प्रयोग हुनुपर्छ त भन्ने कुरामा मात्र हाम्रो विरोध हो। पुँजी आउने तर उपभोग र वितरण बाहिर हुने हो भने नेपालीलाई के फाइदा भयो त भन्ने हाम्रो प्रश्न हो। नेपालका अहिलेकै पुँजीपतिहरूको पुँजी ६० प्रतिशत बाहिर छ भन्ने कुरामा अहिले पनि त विवाद भइरहेको छ। हाम्रो राज्यसम्बन्धी नीति छोडर हिँडेकाले प्रचण्ड बाबुरामजीहरुको सपोर्ट पुरानो राज्यलाई नै जान्छ। पुरानो राज्यको नीति नै पुँजी पलायन गर्नेखालको छ। हामी त यसलाई बचत गरेर यहीँ राख्न सक्नुपर्छ भन्छौँ।

देश गणतन्त्र भएपछि सिस्टममा बाँध्नमात्र समस्या भएको हो नि, नत्र त देशमा परिवर्तन त भएको हो नि हैन? तर पद्धति निर्माण गर्न तपाईँहरु चुक्नुभयो। त्यसको दोषी त तपाईँ पनि हो नि, हैन?
यो सही कुरा हो। म यसबाट भाग्न खोजेको हैन। हामी त्यसको दोष बोक्न तयार छौँ। तर हामीले मात्र बोक्ने त हैन नि। सबैले बोक्नुपर्छ, हाम्रो भागमा जति प्रतिशत पर्छ, हामी त्यति दोष बोक्न तयार छौँ। हामी त पार्टीभित्र बाहिर जताततै लड्यौँ। नेपाली जनतालाई हामीले सूचना पनि दियौँ। हामीले धेरै निर्णयको विरोध यो कारणले गरेका थियौँ कि त्यसले पार्टीको सत्ता त टिकाउन मद्दत गर्थ्यो होला तर देश र जनतालाई फाइदा गर्दैन थियो। परिवर्तन ठूलो कुरा हो। गणतन्त्र आएको त कालजयी परिवर्तन नै हो। तर यसलाई नेताको जीवनमा आउने हेरफेरमा मात्र सीमित रहन दिनुभएन। यसलाई जनताले भोग गर्ने तहसम्म पुर्‍याउनुपर्छ। त्यो कुरा गर्न त जनताको एजेण्डामा बहस गर्नुपर्थ्यो। त्यो भएन, बरु भाग्ने काम भयो। त्यहाँनिर राजनीति संकीर्णता, मनोत्रास नेताहरुमा पैदा भयो। जग बलियो भएन भने त माथिको संरचना जतिखेर पनि भत्कन सक्छ।

तपाईँले हाम्रो भागमा जति प्रतिशत दोष पर्छ, भोग्न तयार छौँ भन्नुभयो। तपाईँहरु छुट्टिँदा पत्रपत्रिकामा तपाईँहरु तीस प्रतिशत, बा"की एनेकपा माओवादी भन्ने पढ्न पाइएको थियो। त्यति नै प्रतिशत हो त?
हाहा... त्यो पनि रमाइलो कुरा छ। त्यो तपाईँहरुकै साथीभाइले बनाइदिनुभयो। कसले बनाइदिएको भन्ने हामीलाई थाहा छैन। त्यो सत्य थिएन। त्यो केवल मनोवैज्ञानीक कुरा थियो।

वास्तविक्ता के थियो त?
माओवादी भनेको केवल एक, दुई, तीन, चारको अंक गणितमात्र होइन। माओवादी भनेको अवधारणा हो, चिन्तन धारा हो, जीवन पद्धति हो।

तपाईँहरुले चुनाव बहिष्कार गर्ने कुरा गर्नुभएको छ। शान्तिपूर्ण राजनीतिमा पनि हतियारको सर्वोपरितालाई इन्कार गर्नुभएको छैन। कुरा के हो?
कुरा सही हो यो। किन सही हो भने शान्ति प्रक्रियामा माओवादीलाई घात भएको अनुभूति हामीलाई छ। माओवादी भनेको कुनै एउटा व्यक्ति विशेष होइन, एजेण्डा हो भन्ने बुझ्नु जरुरी छ। त्यसैले हाम्रो एजेण्डामा वस्तुगतरूपमा सहमतिबिना निकासको परिकल्पना गर्नु तर्कसंगत छैन। हामी चुनावको विरोधी पनि होइनौँ। चुनाव त हामीले पनि लडेर जितेरै आएका हौँ। तर चुनावको औचित्य सावित गर्नुपर्‍यो। एकचोटी नेपालमा संविधान सभाको चुनाव आवश्यक थियो। त्यो भयो। तर त्यो किन निस्तेज भयो भन्ने कुराको गहन समीक्षा नै नगरी त्यस्तै प्रकृतिको अर्को चुनाव थोपर्ने कुरा त मान्य हुँदैन। त्यसले राष्ट्रलाई घाटा हुन्छ।

एउटा कुरा त हो नि। बीस तीस हजार मान्छेको ज्यान गयो, अझै कयौँ लापत्ता छन्। त्यत्रो दुःखद् स्थिति पार गरेर यहाँसम्म आउँदा पनि हतियारकै सर्वाेपरितालाई मान्नुहुन्छ। तपाईँहरुलाई जनताप्रति विश्वास छैन?
हैन, जनतामा विश्वास हुनेले मात्र यो कुरा गर्न सक्छ।

त्यो हतियारले अब कसलाई ताक्ने त? राजा छैनन्। कि प्रचण्ड, सुशील, झलनाथलाई ताक्नुपर्‍यो, कि आफैँविरुद्ध बन्दूक ताक्नुपर्‍यो...
हैन, प्रचण्डविरुद्ध नताक्ने। सुशील, झलनाथविरुद्ध पनि किन ताक्नु? तर जनतालाई हेप्नेविरुद्ध त ताक्नुपर्‍यो नि।

कसले हेप्यो जनतालाई?
जसले बीसौँ हजार मान्छेको रगतलाई संस्थागत गर्ने कुरामा अवमूल्यन गरे। जिम्मेवारी बोध गरेनन्। गणतन्त्रसम्म आयौँ, तर के अझै रगत नपुगेकै हो त?

संसारमा ठूलाठूला स्वतन्त्रता संग्राम भएका छन्, आन्दोलन र क्रान्ति भएका छन्। कसैले पनि त्यसको ब्याज मागेका छैनन्। तपाईँहरु गलत परम्पराको थालनी गर्दै हुनुहुन्छ, हैन?
हैन, हैन। हामीले हाम्रो कुरा गरेको हैन। हामीले जनताको हक अधिकार खोजेका हौँ। हामी त हिजो पनि दुःखै पाएको मान्छे, भोलि पनि दुःख पाउन तयारै छौँ। हाम्रो भनाई त के भन्दा बीस हजार मान्छे मरेको पीडाबोध त सुशीलजी, झलनाथजी, प्रचण्डजीलाई धेरै हुनुपर्छ। आमजनतालाई होइन। पीडाबोध हुनु भनेको मञ्चमा उभिएर दुई थोपा आँसु झार्नु होइन। त्यो त नेपाली जनतालाई शक्तिसम्पन्न गराउने कुरा हो। नेपालको राजनीतिमा जनताको स्थानलाई माथी उठाइदिने कुरामात्र हो। त्यो गर्न सक्नुभएन।

तपाईँ त्यत्रो वर्ष प्रचण्डजीसँगै हुनुहुन्थ्यो। किन गर्न सक्नुभएन त? गर्न नचाहेर कि नदिएर?
एक त उहाँ घेराबन्दीमा परेकै हो। अर्को उहाँले चुनौतीको सामना गर्न सक्नुभएन। त्यो मानेमा उहाँ झुकेकै हो।

तपाईँहरु पार्टीहरुलाई भोट माग्न जान नदिने सुरमै हुनुहुन्छ, हैन?
दिने। तर हामीसहित सबैजना जाने नि भोट माग्न। उहाँहरुलाई मात्र किन दुःख दिने? हामी पनि माग्छौँ नि। त्यो बनाउनुपर्‍यो नि त।

तपाईँहरुको चुनावमा भाग लिने सर्त के हुन त?
जनयुद्धकालमा गिरिजाप्रसाद कोइराला र प्रचण्डजीबीच भएको विस्तृत शान्ति सम्झौतालाई अक्षरशः पालना गर्नुपर्ने थियो। त्यो भत्कियो। अब त्यो भन्दा पनि उच्चस्तरीय सहमति आवश्यक छ।

उच्चस्तरीय सहमति भनेको के हो?
यो केही हैन। प्रमुख कुरा के भने नमिलेको डेमोक्र्याट र कम्युनिष्ट नै हो। यी दुई मिल्नुपर्‍यो भन्ने नै हो। कमसेकम माओवादीले राखेको एजेण्डामा डेमोक्र्याटहरु जे गर्न तयार भएका थिए, त्यो गर्नुपर्छ।

त्यो नमानेर तपाईँहरुलाई पन्छाएरै अगाडि गए भने के हुन्छ?
उहाँहरु कहाँसम्म पुग्न सक्नुहुन्छ, हामी भन्न सक्दैनौँ।

बन्दूक बोक्नुहुन्छ?
एकैचोटि तर्कलाई त्यहाँ पुर्‍याउनुहुँदैन। हतियार कसैले रहरले उठाउँदैन। कुरा मिल्छ नै भनेर सोचुँ न अहिले।

जग्गेबाटै लगनगाँठो गायव ! - nagariknews

दृश्य १, विवाहमण्डपमा हर्षोल्लास छ। छेउमा बाजाको तालमा नाच चलिरहेछ। जन्ती–लोकन्ती आ–आफ्ना झुन्डमा गफिँदै बिहे नियाल्दैछन्। दुलाहा–दुलहीलाई छेड हान्दै मण्डपको माहोल तताउनेको कमी छैन। सबै आ–आफ्नै सुरमा छन्। मण्डपमा एउटा अपरिचित (जसलाई लोकन्तीले जन्ती, जन्तीले लोकन्ती र कसैकसैले पुरोहितका सहयोगी ठानिरहेछन्) को सक्रियता हेर्नलायक छ। अग्लो, ख्याउटे अनुहार, क्याप लगाएको ऊ दुवै पक्षलाई सहयोग गरिरहेको छ। यसो गर्नुस्, उसो गर्नुस् भनेर खटनपटनसमेत गर्दैछ। यत्तिकैमा खाने समय भयो, सबै भोजभतेर खान–खुवाउन व्यस्त भए।
दृश्य २
खानपिनपछि बाँकी विवाह प्रक्रिया सुरु भयो। दुलाहा–दुलहीले लगनगाँठो समातेर जग्गे परिक्रमा गर्ने बेला भयो। पुरोहितले विवाह–सम्बन्ध दिगो बनाउन राम्ररी कसिएको लगनगाँठो समातेर जग्गे परिक्रमा गर्न दुलाहा–दुलहीलाई अह्राए।
लौ बर्वाद! अघिसम्म जग्गेमै रहेको लगनगाँठो त्यहाँ देखिएन। कसले, कहाँ लग्यो? हल्लीखल्ली भयो, तर भेटिएन। अचम्म त अघि लगनगाँठो कस्न सघाउने ती अनौठा व्यक्ति पनि त्यहाँ देखिएनन्।
लगनगाँठो त उनैले टप्काएर भागेछन्। प्रहरी बोलाइयो। केहीबेरमै प्रहरी आए र निरीक्षण गरे। लगनगाँठो चोरिएको र ती अनौठा व्यक्ति कसैको निम्तालु वा सहयोगी नभएर चोर नै भएको खुल्यो।
पण्डितले नयाँ लगनगाँठो कस्न लगाएर विवाह सम्पन्न गरे।
...
चलचित्रको दृश्यझैँ यो घटना सामाखुसीस्थित एबी पार्टी  प्यालेसमा शुक्रबार भएको विवाहको हो। प्रहरीलाई खबर गर्ने र आफन्तले समेत वरपर खोजी गरे पनि …चोर' भेटिएन। विवाहमण्डपमा फोटो र भिडियो खिच्नेहरुले समेत नजिकैका आफन्त ठानेर ती व्यक्तिलाई 'फोकस' गरेको बताए। हराएको लगनगाँठो चोर त्यही भिडियो हेरेर पहिचान भयो। प्रत्यक्षदर्शीका अनुसार ती व्यक्तिले कम्तीमा एक/डेढ घन्टा विवाहमण्डपमा सघाउँदा पनि दुवै पक्षका आफन्तले पत्तो पाएनन्।
आफन्तका अनुसार ती व्यक्तिले जग्गेका विभिन्न ठाउँमा कति पैसा राख्ने भन्नेसमेत बारम्बार सल्लाह दिएका थिए। उनले सुरुमै दुलहीकी आमालाई 'विदेश बस्ने ज्वाइँ, इज्जतको सवाल हो' भन्दै लगनगाँठोमा कम्तीमा १४–१५ हजार राख्न सुझाव दिएका थिए। दुलही पक्षका अनुसार लगनगाँठोमा १४ हजार राखिएको थियो।
लगनगाँठोमा दुलाहा पक्षले कम्तीमा दुलही पक्षले राखेको जति रकम राख्नैपर्छ। दुवै पक्षलाई पैसा राख्न लगाएपछि ती व्यक्तिले दुलाहा र दुलहीलाई लगनगाँठो कस्न सघाएका थिए। 
लगनगाँठो तयार भएपछि आफूनजिकै राखेर ती व्यक्ति खाना खाने समय पारेर सबैका आँखा छलेर भागेको प्रारम्भिक अनुसन्धानमा देखियो।
प्रत्यक्षदर्शीका अनुसार ती व्यक्ति ट्याक्सीमा भागेका थिए। 'पैसा लिएर हिँडेको भनेर कसरी थाहा पाउने? ट्याक्सी रोकेर हिँडेको हो,' दुलाहा पक्षका एक आफन्तले भने।
खबर पाउनासाथ आएको प्रहरीले घटनास्थल निरीक्षण गरे पनि पीडित पक्षले लिखित उजुरी नदिएको सामाखुसीस्थित तिलिङटार प्रहरी प्रभागका सइ आदित्य सिंहले बताए। 'लिखित उजुरी आएको छैन, फोटोसहित उजुरी आए खोज्न सकिन्छ,' उनले भने।
लगनगाँठो चोरिनु दुर्लभ घटना भएको उनले बताए।

Friday, April 26, 2013

१४ अर्बमा विक्री हुन लागेको लण्डनको नेपाली दूतावास कस्तो छ, विरोध किन ?(तस्वीर समाचार) - bizmandu

लण्डनको नेपाली दूतावास विक्री गर्न प्रक्रिया सुरु गरेपछि सर्वसाधरण नेपाली हैरान छन्, उनीहरुको प्रश्न हुने गरेको छ, आखिर किन विक्री गर्नु पर्यो नेपाली दूतावास ? बेलायतमा बस्ने नेपालीले दूतावास विक्री प्रस्तावको विरोध गरेका छन् । आखिर लण्डनको नेपाली दूतावास किन विक्री गर्न खोजिंदैछ ? किन भैरहेको छ विरोध र विक्री गरे कति पर्ला अनुमानित मूल्य ?


बेलायतको नेपाली दूतवास, यो भवनको ट्वाइलेटमा फ्ल्स हुँदैन्, छतमा मर्मतको आवश्यकता छ र भिसा आवेदन गर्न आउनेलाई प्रेसर कुकरको सिठ्ठीले स्वागत गर्दछ

बेलायती ट्यावलोइड डेलीमेललाई आधार मान्ने हो भने लण्डनको नेपाली दूतावास दश करोड पाउण्ड (झण्डै साढे १३ अर्ब नेपाली रुपैयाँ)मा विक्रीको प्रयास गरिंदैछ । लण्डनको सबैभन्दा महत्वपूर्ण सडकमा रहेको यो भवन विक्रीको भने लण्डनमा बस्ने गोर्खा समुदायले चर्को विरोध गरेको छ ।
पश्चिम लण्डनको केन्सिटन दरवार गार्डेनमा रहेको नेपाली दूतावास रियलस्टेट कम्पनीका लागि ‘एक्सक्लुसिभ’ सम्पत्ती हो । विश्वकै धनाढ्य, विभिन्न शक्तिशाली देशका दूतावास रहेको यो क्षेत्रमा विरलै सम्पत्ती विक्रि हुन्छ । नेपाली दूतावासको नाममा रहेको यो सम्पत्ती विक्री हुने भएपछि विश्वकै धनीहरुको चासो यो क्षेत्रमा रहेको डेली मेलले लेखेको छ ।


यो दूतावासको मूल्य दश करोड पाउण्ड साढे १३ अर्ब नेपाली रूपैयाँ पर्ने अनुमान गरिएको छ

नेपालले बेलायती राजदूत सुरेशकुमार चालिसेको नेतृत्वमा नेपाली दूतावास विक्रीसम्वन्धी निर्णय गर्न १२ सदस्यीय टोली गठन गरेको छ, यो टोली अहिले लण्डनमा छ । लण्डनमा सबैभन्दा सुरक्षित मानिने र अर्वपतीको सडक भनेर चिनिने यो क्षेत्रमा विभिन्न देशका दूतावास, राजदूतका निवास र विश्वका प्रतिष्ठित उद्योगी व्यापारीहरु बस्छन् ।
केन्सिटन दरवार गार्डेनमा रहेको ‘१२ए’ भवन सन् १८६५ मा निर्माण गरिएको हो, यो भवन बेलायतले नेपाललाई सन् १९३७ मा उपहार दिएको हो, युद्धमा गोर्खाले देखाएको अदम्य साहस र विरताको कदर गर्दै बेलायतले नेपाललाई ‘थ्यांक यु’ उपहार दिएको, डेली मेलले लेखेको छ । बेलायती सेनामा काम गरेका गोर्खाले यो भवनलाई ‘भक्टोरियन भिल्ला’का रुपमा लिने गरेको र यो बहुमूल्य भएको बताउँदै आएका छन् ।
बीबीसीसँगको सम्वादमा परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले भने, अहिलेसम्म सरकारले भवन विक्रीको निर्णय गरेको छैन्, समितिले दिएको सुझावका आधारमा सबै निर्णय तय हुनेछ । नेपालले यो सम्पत्ती लिजमा पाएको हो । त्यसवापत नेपालले हरेक वर्ष एक हजार पाउण्ड लिज रकम तिर्दै आएको छ ।


नेपाली दूतावासलार्इ जोड्ने सडक, यो क्षेत्रमा २९ वटा सम्पत्ती छन्, ती सम्पत्तीको कुल मूल्य तीन अर्ब ४० करोड पाउन्ड पर्छ

नेपालको यो पहिलो दूतावास हो, यसको लिज सन् १९८० थप ९९ वर्षका लागि नविकरण गरिएको थियो । नेपालले यो भवन अझै पनि ६६ वर्ष उपयोग गर्न पाउँछ, नेपालले त्यसका लागि हरेक वर्ष मात्र एक हजार पाउण्ड लिज रकम तिरे पुग्छ । भवन भव्य स्थानमा भए पनि त्यसको पूर्ण मर्मत भने पछिल्लो ५० वर्षदेखि गरिएको छैन् । भवनलाई पूर्ण मर्मत गर्न ५० लाख डलर (६६ करोड रुपैयाँ) लाग्ने अनुमान गरिएको छ ।
मर्मत नगरिएको अहिलेको अवस्थाको यो सम्पत्तीलाई ‘राष्ट्रिय बेइज्जत’ भनिएको छ, ट्वाइलेटमा फ्ल्स हुँदैन्, छतमा मर्मतको आवश्यकता छ र भिसा आवेदन गर्न आउनेलाई प्रेसर कुकरको सिठ्ठीले स्वागत गर्दछ ।
यी समस्याका बाबजुत पनि ३२ हजार स्क्वायर फिटमा फैलिएको यो सम्पत्ती औपचारिक रुपमा खुला प्रतिश्पर्धामा विक्रीमा राखे  महँगोमा किन्न युद्ध ‘बिडिङ वार’ हुने अनुमान रियलस्टेट कम्पनीले गरेका छन् । लक्ष्मी मित्तललाई सन् २००४ मा बर्नी एक्केलेस्टोनको घर विक्री गर्ने ग्लेनट्री स्टेटका तेरोभर आव्राहमसनले नेपाली दूतावास भएको भवनको पुरानो ‘ग्लोरी’ फर्काउन लाखौं पाउण्ड खर्च हुने बताए ।


नेपाली दूतावासका छिमेकी, बेलायतका धनीमध्येका एक लक्ष्मी मित्तलको यो घर नेपाली दूतावास नजिकै छ,१२ बेडरूमको यो भवन सन् २००४ मा पाँच करोड ७० लाख डलरमा खरिद गरेका थिए

ती एजेण्टले भने, भवन निक्कै भव्य छ, भवनको गार्डेन, इन्ट्रान्स हल र भर्याङ्ग अद्भूत छ । उनले भने यो सम्पत्ती यो क्षेत्रकै महत्वपूर्ण सम्पत्ती हो । भवनलाई जिर्णोद्वार र नयाँ स्वरुपमा ल्याउन कम्तिमा पनि चार करोड पाउण्ड खर्च लाग्ने पनि उनले बताए । सडकसँग जोडिएको नेपाली दूतावास ठूलै गार्डेनले घेरिएको छ र यो केन्द्रीय लण्डनमा नौलो पनि छ । अवश्य पनि जब दूतावास भएर जाने सडकबाट तपाई बाहिर निस्कनुहुन्छ, तपाई लण्डनको केन्द्रमा पुग्नुहुन्छ ।


नेपाली दूतावासका छिमेकीको ग्राफ, डेली मेलबाट साभार

दूतावासले भनिएको यो क्षेत्रमा सम्भवत अन्य निजी सडकमाभन्दा बढी सुरक्षा छ, धेरै लामो समयदेखि यो सडकमा कुनै पनि सम्पत्ती विक्री भएका छैनन्, पक्कै पनि यो भवन विक्रीमा राखिए ‘विडिङ वार’ हुन्छ, उनले भने । व्युच्याम्स स्टेटका निर्देशक ग्यारी हर्षमले भने, भवन निक्कै आर्कषक छ र दश करोड डलरभन्दा बढी मूल्इ पर्दछ, विक्रीमा राखिए किन्न चाहनेको कुनै कमि हुनेछैन् । उनले भने केन्सिटन दरवार गार्डेनमा प्रति स्क्वायर फिट छ हजार पाउण्ड पर्छ, भवन जिर्णोद्धार गरिए १८ करोड डलभन्दा बढी मूल्यमा विक्री हुन्छ ।



केन्सिटन दरवार गार्डेनको लिज होल्डर क्राउन स्टेट हो, उसको सहमतिमा मात्रै नेपालले यो सम्पत्ती विक्री गर्न सक्छ, यो क्षेत्रमा २९ वटा सम्पत्ती
छन्, ती सम्पत्तीको कुल मूल्य तीन अर्ब ४० करोड पाउन्ड बराबरको छ । यो रकमको छ भागको एक भाग मूल्यले बेलायतकै चिपिङ नोर्टनस्थित कोट्सवल्र्ड टाउनको दुई हजार छ सय सम्पत्ती खरिद गर्न सकिन्छ । नेपाली दूतावासको छिमेकीका रुपमा रसिया, लेवनान, रोमनिया, सोल्भाकिया, चेज र नर्वेको दूतावास र राजदूतको निवास छ । यही स्थानमा साउदी राजपरिवारका सदस्य, बु्रनईका सुल्तान, रसियन अर्वपती बाल्भाटनिक र फक्स्टनका पाउण्डर जोन हन्टको भवन छन् । भारतीय मुलका बेलायती नागरिक लक्ष्मी मित्तलका यो स्थानमा धेरै घरहरु पनि छन् । मित्तलले सन् २००४ मा पाँच करोड ७० लाख डलर, बाल्भाटनिकले चार करोड १० लाख डलर र हण्टले एक करोड ५७ लाख डलरमा भवन खरिद गरेका थिए ।

तस्वीर र समाचार साभार डेलीमेल

मुकेश अम्बानीलाई भारतमा ‘जेड’ सुरक्षा, साथमा हरपल १३ सुरक्षाफौज, महिनाको खर्च १५ लाख भारु - bizmandu

रिलायन्स इन्ण्डष्ट्रिजका मुखिया मुकेश अम्बानीलाई भारत सरकारले ‘जेड’ तहको सुरक्षा दिने निर्णय गरेको छ । सरकारले बिहिवारबाट मुकेशलाई केन्द्रिय सुरक्षा बलका ३३ जवानबाट सुरक्षा दिने निर्णय गरेको हो । मुकेशसँग रहने सुरक्षाकर्मीसँग एके ४७ राइफल, ग्लक सेमि अटोमेटिक पिस्तोल र बुलेट प्रुफ ज्याकेट हुनेछ ।
अम्बानी भारतमा ‘जेड’ तहको सरकारी सुरक्षा पाउने पहिलो आमनागरिक हुन्, उनी मुम्बईमा यात्रा गर्दा १३ जना प्रहरीले दुईवटा गाडीबाट एक्सकर्ट गर्नेछन्, त्यसमध्ये एक जवान अम्बानीको गाडीको पहिलो सिटमा हुनेछन् । मुकेशलाई सुरक्षा दिन दुई वटा मारुती जिप्सी र उनकोको कार अघि एस्कर्ट गर्न एउटा गाडी दिइएको, सरकारी स्रोतले इकोनोमिक टाइम्सलाई बताएका छन् । अम्बानीका लागि छुट्टयाइएका ३३ मध्ये एक पटकमा सात जनाभन्दा बढीले छुट्टी पाउने छैनन्, २६ जनाले दुई १२ घण्टाको दुई सिफ्टमा सुरक्षा दिनेछन् । अम्बानी जहाँ पनि पुग्नेछन्, त्यहाँ सुरक्षाबलका १३ सैनिक उपस्थित हुनेछन् । यी १३ मध्ये कुनै पनि बेला दुई सुरक्षाकर्मी अम्बानीको पिएसओज् बन्नेछन् । यही पिएसओस अम्बानीको गाडीको पहिलो सिटमा बस्नेछन् । अधिकारीहरुले यो सुरक्षा अम्बानीलाई प्रदान गरिएको र उनका परिवारका कुनै पनि सदस्यले यो सुरक्षा नपाउने पनि अधिकारीहरुले बताएका छन् ।
अम्बानीले यी सुरक्षा अधिकारीलाई मुम्बई बाहिर पनि पनि लैजान सक्नेछन् तर उनीहरुको यात्रा र खानको खर्च भने उनैले उठाउनुपर्ने छ । अम्बानीले सुरक्षाका लागि प्रत्येक महिना १५ लाख भारु सरकारलाई तिर्नुपर्ने बताइएको छ । यसबाहेक सुरक्षा अधिकारीलाई बस्न अम्बानीले नै भवन बनाइदिनुपर्ने छ । मुकेश अम्बानीलाई ‘जेड’ तहको सुरक्षा दिने सरकारी निर्णयको भने त्यहाँका राजनीतिक दल र सर्वसाधरणले भने विरोध गरेका छन् । सबैभन्दा ठूलो विरोध आम आदमी पार्टी खोलेका अरविन्द केजरिवालले गरेका छन् ।

Thursday, April 25, 2013

मिडियाले पेलेको देख्दा आत्महत्या गरौँजस्तो लाग्छ - nayapatrika


गणेश लामालाई धेरैले शक्तिशाली डनका रूपमा चिन्छन् । तर, आफूलाई डन भनेर मिडियाले लेखेको उनलाई मन पर्दैन । ँमिडियाले पेलेको देख्दा कहिले आत्महत्या गरौँ त कहिले विदेश जाऔँजस्तो लाग्छ,’ उनी भन्छन् । गुन्डागर्दीको पृष्ठभूमि भएका लामा पछिल्लो समय भने नेता कहलिएका छन्, लोकतान्त्रिक फोरमको केन्द्रीय सदस्यका रूपमा । विजय गच्छदारसित विशेष सम्बन्ध भएका उनै लामासँगको कुराकानी :

डन कसरी बनियो ?
मलाई कहिल्यै डन हुँ भन्ने कुनै 'फिल' नै छैन । म डन हँुदा पनि होइन । मलाई डन भनेको मन पनि पर्दैन । मलाई कुन व्याख्या लगाएर डन भनियो, थाहा भएन ।
गुन्डागर्दीमा त लागिएको हो नि ?
मैले बारम्बार भन्दै आएको छु । हिजोको दिनमा जानी-नजानी झगडा गरेँ होला । त्यसबापत सजाय पनि पाइसकेको छु । सजाय भोगेर पब्लिकमा आइसकेपछि मैले यो समाजमा बाँच्न पाउने
कि नपाउने ?
हिजो नेताहरूले नै युवालाई दुरुपयोग गरेका हुन् । विपक्षीलाई कुट्न/ठोक्न लगाउने नेता नै हुन् । नेताले गलत बाटोमा लाग्नुहँुदैन भनेर सिकाउनेभन्दा पनि कुट्न र ठोक्न सिकाए । म पनि त्यसैको सिकार भएँ । टिनएजमा राम्रोसँग सोच्न सकिन्न । १६ वर्षको उमेरमा कसैले डाइरेक्ट हेर्दा पनि घुरेकोजस्तो लाग्छ । अहिले ३२/३४ वर्षको उमेरमा चिनेर पो हेरेको हो कि भन्नेे लाग्छ । सोच नै परिवर्तन भइसक्यो ।
सुरुमा तपाईंंको दुस्मनी कोसित थियो ?
यो/ऊ भन्ने त्यस्तो स्थायी दुस्मनी कोहीसँग भएन । त्रिचन्द्र क्याम्पसको स्ववियु चुनावको विषयमा भीम गुरुङसित झगडा भएको थियो । चुनावमा उनीहरू एकातिर थिए, म अर्काेलाई सहयोग गर्न गएको थिएँ । मेरो सुरुको झगडा भएको त्यही थियो । त्यो २०५७/५८ सालतिरको कुरा हो । त्यो झगडापछि पार्टीज्म बढ्दै गयो र यसरी नै झगडा बढ्दै गएको हो । न मेरी श्रीमती उसले लगेको हो, न मेरा पैसा खाएको हो । कुनै इस्युभन्दा पनि हामीलाई गलत रूपमा प्रयोग गरिएको हो ।
पछि समूह नै बनाएर झगडा गरेको होइन र ?
त्यस्तो धैरै पनि होइन । कहिलेकाहीँ आफ्नो सुरक्षाका लागि पनि झगडा भयो । अरूलाई मारे पनि जेलमै जानुपर्छ, म पनि कानुनभन्दा बाहिर छैन । मलाई मारे पनि अरू उम्कनेवाला छैनन् । झगडाभन्दा काम गर्नुपर्छ । अब सुध्रनुपर्छ भन्ने भावना आएपछि त्यस्तो झगडा गर्न छाडेको हुँ ।
क्यासिनोबाट जागिर सुरु गर्नुभयो, होइन ?
हो, मैले पहिला ८/९ महिना क्यासिनोमा जागिर खाएको थिएँ । त्यसपछि सानै रेस्टुरेन्टबाट भए पनि मैले आफ्नै व्यवसाय सुरु गरेँ । राज्यको दायरामा छिरेर, कर तिरेर मैले व्यापार गरेको हुँ । त्यसरी व्यवसाय गर्नु भनेको अपराध गर्नु जस्तो त मलाई लाग्दैन । त्यसरी व्यापारमा नलागेकोमा भए सायद म हप्ताखोरी हुन्थँे । धम्काउन जान्थेँ होला । मेरो सद्बुद्धिले गर्दा सुरुदेखि नै दुःख गर्न सिके । दाबाका साथ भन्न सक्छु, मैले अहिलेसम्म धम्काएर, रुवाएर, बिगारेर पैसा खाएको रहेछु भने जे सजाय पनि भोग्न तयार छु । त्यो मैले गरिनँ । किनकि, मैले गुजाराका लागि आफ्नै काम थालिसकेको थिएँ । गलत गर्नेलाई मैले आफ्नो टिममा कहिल्यै प्रश्रय दिइनँ ।
एकताका दीपक मनाङेसँग कडा दोस्ती थियो नि ?
काम गर्ने सिलसिलामा उनलाई भेटेको हुँ । कतिले मलाई दीपक मनाङेका बाउन्सर, मनाङेको केटाजस्ता आक्षेप लगाउने गर्छन् । होे, उनी मभन्दा सिनियर हुन् । दरबारमार्गमा ट्वान्टीफो आवर रेस्टुरेन्ट खोल्ने वेला भेट भएको थियो । मैलै त्यसमा थोरै सेयर हालेको थिएँ । त्यसपछि निकटता बढ्यो । त्यसलाई नै मान्छेले विभिन्न किसिमले लिन थाले । म पनि पढेको मान्छे हँु, उनले गलत काम लगाउँदैमा गर्ने मान्छे त होइन नि । म कुकुर हो र, टोकभन्दा टोक्न जाने, छोड्भन्दा छोड्ने ?
पहिला ठमेल क्षेत्रमा दीपक मनाङेको राज थियो, मनाङे जेल परेपछि तपाईंंको राज भयो भनिन्छ नि ?
यो एदमक झुट कुरा हो । त्यस्तो हुनलाई यो हिन्दी फिल्म पनि होइन । हाम्रो देश भनेको लेकाली आलुजस्तो हो । जुनसुकै ठुलो क्राइम गरे पनि अपराध गर्ने मान्छे बच्न सक्दैन । त्यसमा पनि उपत्यकामा । व्यापार गर्ने सिलसिलामा म ठमेलमा थिएँ । तर, ठमेल मेरो बाउबाजेको बिर्ता त होइन, मेरो राज चल्नलाई । व्यापार गर्ने सिलसिलामा म झापामा पनि पुग्न सक्छु नि । भन्न सक्नेले त दीपक मनाङ जेल गए पछि गणेश लामाले राज गर्‍यो, यति उठायो भन्न सक्नुपर्‍यो नि ! मैले कोसँग पैसा खाएँ, त्यो कसैले भन्न सक्छ ? कामको सिलसिलामा एक समय म ठमेलमा बढी बस्थेँ । पछि रेस्टुरेन्ट व्यवसाय छाडेपछि त म कहिल्यै गइनँ नि । त्यसरी मैले राज चलाएको भए त उनीसँग लडेर पनि त्यहीँ बसिहाल्थँे नि !
दीपक मनाङेसँग चाहिँ सम्बन्ध किन बिगि्रयो ?
सम्बन्ध बिगि्रएको पनि होइन । उनलाई म दाइ भन्छु, उनी मलाई भाइ भन्छन् । पछाडि के भन्छन्, थाहा छैन । न मैले उनको केही बिगारेको छु, न उनले मेरो । अहिले पनि दाजुभाइको सम्बन्ध छ । आ-आफ्नो क्षेत्रमा छौँ । मेरो कोहीसँग त्यस्तो धेरै राम्रो र दुस्मनी भन्ने छैन ।
काभ्रेली समूहचाहिँ कसरी बन्यो ?
यो पनि गलत कुरा हो । विभिन्न सिलसिलामा मान्छे विभिन्न जिल्लाबाट काठमाडौं आउने गर्छन् । यहाँ आएर कोही पढ्छन्, कोही जागिर खान्छन् । त्यस क्रममा आफ्नो जिल्लाको मान्छेसँग चिनजान हुन्छ, निकटता हुन्छ । सहयोग आदानप्रदान हुन्छ । काभ्रे मात्र होइन, जुनसुकै जिल्लाबाट आएकाबीच पनि स्वाभाविक निकटता हुन्छ । काभ्रेली समूह भनेर आरोप मात्र लगाएका हुन् । त्यस्तो कुनै समूह छैन । त्यो कम्पनी पनि होइन । कुनै ग्याङ पनि होइन ।
तर धेरै काभ्रेली युवालाई ठमेलमा स्थापित गराउनुभएको
होइन ?
हाम्रो देशको प्रमुख समस्या बेरोजगारी र अशिक्षा हुन् । यो राज्यको कमीकमजोरी पनि हो । व्यावसायिक क्षेत्र तहसनहस भइरहेको छ । एसएलसी पास गरेर हजारौैँ युवा गाउँबाट काठमाडौं आउने गरेका छन् । तर, यहाँ अवसर पाउन धेरै गाह्रो छ । म दाबाका साथ भन्न सक्छु, प्रत्यक्ष/अप्रत्यक्ष रूपमा तीनदेखि चार हजार युवालाई रोजगारी दिने व्यक्ति मै हुँ । रेस्टुरेन्टमा पाँच जना भए पुग्ने ठाउँमा १० जनालाई राखेर भए पनि रोजगारी दिएँ । सायद कुनै नेताले यति धेरै रोजगारी दिएको छैन होला । त्यही कारण काभ्रेका धेरै साथी रेस्टुरेन्ट लाइनमा छन् । त्यसरी जागिर दिनु मेरो अपराध हो र ?
प्रहरीलाई चाहिँ कत्तिको सहयोग गर्नुभयो ?
त्यस्तो छैन । नयाँ एसपी आउनेबित्तिकै सोधपुछ भनेर लान्छन् । यो छ, ऊ छ भन्दै बाटोमा पिसाब फेरेको, हातपात गरेको भनेर झुटो विवरणका आधारमा सार्वजनिक मुद्दा चलाइदिन्छन् । तर, यति पैसा चाहियो भनेर चाहिँ प्रहरीले मसँग मागेको छैन । कसैले उचालेर हो कि दुःख दिएपछि स्वार्थ पूरा हुन्छ भनेर पो हो कि ? तर, विनागल्ती सोधपुछका लागि बोलाई मुद्दा चलाएर प्रहरीले दुःखचाहिँ दिएको छ ।
अपराधमा युवाको मनोबल बढाउनमा प्रहरीको पनि हात छ भन्ने लाग्छ । उदाहरणका लागि काठमाडौंमा नयाँ एसपी आउनेबित्तिकै काम देखाउने नाममा जथाभावी मान्छे पक्राउ गरी दुई सयको क्षमता भएका ठाउँमा पाँच सय मान्छे खाँद्छन् । तर, त्यहाँ अपराध नगरी पनि थुनिएका धेरै व्यक्ति हुन्छन् । कहिले कपाल काट्ने अप्रेसन भनेर प्रहरीले मान्छेको स्वतन्त्रता हनन गरिरहेको हुन्छ । अहिले अपराधको पाठशाला जेल बनेको छ ।
जेल हालिदिन्छुभन्दा मलाई डर लाग्दैन । पटक-पटक बसेर आएकाले त्यहाँको वस्तुस्थिति बुझेको छु । तर, कहिल्यै जेल नगएको मान्छेलाई जेल हालिदिन्छु भन्यो भने ऊ डराउँछ । जेल गएपछि यस्तै त रहेछ नि भनेर 'युज्ड टु' हुन्छ ।
अर्काे कुरा, डनको यति सम्पत्ति छ, यसरी कमायो भनेर मिडियामा चर्चा चल्छ । यसबाट पनि अरूले सिको गर्छन् । कतिपय ठग्ने मान्छेले म गणेश लामाको मान्छे भनेरसमेत संरक्षण खोज्ने गरेका छन् । यो सबै मिडियाले गर्दा भएको हो । मैले चिन्दै नचिन्ने मान्छेले पनि गणेश लामा बोलाएर ठीक बनाइदिऊँ भनेर पनि धम्काएको सुनिन्छ ।
आफूलाई डन भनेको साँच्चै मन पर्दैन त ?
कहिल्यै त्यस्तो रहर लागेन । हुन त राजनीति मलाई मन नपर्ने फिल्ड हो । म काभ्रेमा जन्मिएर नर्सरीदेखि नै काठमाडौंमै पढेको हुँ । सम्पन्न परिवारको व्यक्ति त होइन, तर बिहान-बेलुका खान पुर्‍याएर बच्चालाई काठमाडौंमा पढाउन पठाउनुपर्छ भन्ने परिवारको व्यक्ति हुँु । राम्रो परिवारको व्यक्तिले जानीजानी त अपराध गर्दैन नि । प्रहरीले यसलाई धम्काएर पैसा खाइस् भनेर अहिलेसम्म भन्न सकेको छैन । मैले भनिहालेँ पहिला अलि-अलि झगडा गरियो, जब बुभ\mने भइयो, त्यसयता म आफ्नो काम गरेर अघि बढेको छु । आफ्नो काम गर्दा म कसरी डन भएँ ? मलाई त्यत्तिकै डनगिरी झुन्ड्याइएको हो ।
कसले बनाइदियो त डन ?
मलाई अचम्म लाग्छ । मिडियामा समाचार आएपछि नै थाहा पाउँछुु, आफू डन भएको ।
अहिले राजनीतिमा लाग्नुको कारण ?
एकातिर मेरो बाध्यता पनि हो । अर्काे, समाजमा केही गर्ने उद्देश्य हो । मैले राम्रो काम गरेको भन्ने कुरा कुनै मिडियामा सुन्नुभएको छ ? मैले यो समाजमा जन्मिएर केही गर्नुपर्छ भन्ने उद्देश्ले हरेक वर्ष गरिब बालबालिकालाई छात्रवृत्ति दिइरहेको छु । स्ुकलमा लाइब्रेरी बनाइदिएको छु । शिक्षक नभएको स्कुलमा व्यक्तिगत रूपमा तलब दिएर शिक्षक राखिदिएको छु । गाउँमा हेल्थक्याम्प राख्ने गरेको छु । यसबारेमा त कहिल्यै मिडियामा आएको छैन । तर, प्रचार होस् भनेर मैले गरेको पनि होइन । मिडियाले पेलेको देख्दा कहिले आत्महत्या गरौँ त कहिले विदेश जाऔँजस्तो लाग्छ ।
विजय गच्छदारसँगको निकटताको रहस्यचाहिँ के हो नि ?
उहाँसँग नेपाली कांग्रेसमा हँुदादेखि नै साधारण चिनजान थियो । लोकतान्त्रिक फोरममै लाग्नुको कारणचाहिँ यो पार्टी नयाँ बन्ने क्रममा छ । सक्षम र योग्य युवालाई अन्य पार्टीले प्रयोग मात्र गर्छन्, ठाउँ दिँदैनन् । युवालाई चन्दा उठाउन र ढुंगा हान्न मात्र प्रयोग गर्दै आएका छन् । तर, लोकतान्त्रिक फोरममा मलाई जिम्मेवारी पनि दिइएकाले यसमा लागेको हुँ ।
देश चुनावी माहोलमा छ, चुनाव पनि लड्ने योजनामा
हुनुहुन्छ कि ?
अहिलेसम्म चुनाव हुने निश्चित छैन । भोलि जनताको माग र चाहना भयो भने उठ्न सक्छु । अहिले आश राखेको छैन । म सेवाको भावले राजनीतिमा लागेको हुँ । सेवा गर्दै जान्छु । जनता न्यायाधीश हुन्, जबसम्म जनताको भोटिङमा गइन्न, त्यसवेलासम्म नेता
हुन सकिन्न ।
विजय गच्छदार गृहमन्त्री हँुदा तपाईं उहाँको निकट हुनुभयो, निकै फाइदा लिनुभयो भन्ने चर्चा छ नि ?
यो पनि एउटा निराधार हल्ला मात्र हो । न विजय गच्छदारका कारण गणेश लामा बनेको हो, न गणेश लामाका कारण विजय गच्छदार बनेका हुन् । पटक-पटक सत्तामा बसेको मान्छे भएकाले उहाँ गणेश लामाको निर्देशनमा चल्ने कच्चा हुनहुन्छजस्तो लाग्दैन । उहाँको पार्टीको सिपाही हँु म । माया गर्नुहुन्छ । कोही प्रहरी 'ल भाइ, तिम्रो मन्त्रीज्यूसँग रिलेसन छ, भनिदिनुपर्‍यो' भनी आग्रह गर्छन् र मैले भनेर हुन्छ भने किन नगर्ने ? सम्बन्ध, नातागोता त सबैको भइहाल्छ नि । मैले कुनै पुलिसलाई आउनोस्, म तपाईंको प्रमोसन गरिदिन्छु, राम्रो ठाउँमा सरुवा गरिदिन्छु भनेको होइन नि । चिनेको नाताले कतिपयले सहयोग माग्दा मैले सहयोग गरेको हँु । मेरो जहिले पनि पोजेटिभ सोच हुन्छ । सक्ने वेला गुन लगायो भने भोलि कुनै वेला मलाई पनि काम लाग्ला भन्ने सोचले गरँे होला, गरिनँ भन्दिनँ । तर, कसम खान्छु, आर्थिक तथा अन्य स्वार्थले मैले त्यसरी काम गरेको छैन ।
तपाईंलाई सबैभन्दा चलाख डन पनि भन्छन् नि ?
समाजमा एउटा मान्छे देखाइदिनुस् बिचरा लाटो रहेछ, केही नजान्दो रहेछ भन्ने खालको । पेटका लागि सबै चलाख हुन्छन् । चलाख हुनु त राम्रो कुरा हो नि होइन र ? चोरेर खाने चलाख हुनु पो गलत त, राम्रो कामका लागि चलाख हुँदा के भयो र ?
आजभोलि बिजनेसचाहिँ के-के छ ?
बिजनेस पनि खासै छैन । सबै क्षेत्रमा डामाडोल छ । सम्पत्ति शुद्धीकरणका नाममा दुई वर्षदेखि सबै खातापाता बन्द गरिएका
छन् ।
धेरै कमाएर छानबिन भएको होला नि, होइन र ?
एउटा नेपालीको छोराले काम गरेर २/४ पैसा कमाउनु गलत होइन नि । रियल स्टेटमा कतै २० लाख रुपैयाँ लगाइएको छ भने एक वर्षभित्र त्यो जग्गा एक करोड जाने भएको थियो । त्यसको स्रोत कसरी देखाउने ? त्यति धेरै नाफा त ड्रग्स बेचेर पनि कमाइँदैन । त्यतिवेला मैले मात्र होइन, धेरैले पैसा कमाएका थिए । तर, अहिले राज्यले यस्तो अवस्था बनाइदियो कि रियल स्टेटका ठूला टाइकुनहरूसमेत ५/१० लाख रुपैयाँ निकाल्न नसक्ने अवस्थामा पुगेका छन् ।
तपाईंले चाहिँ कति कमाउनुभयो ?
मिडियामार्फत नै सम्पत्तिको विवरण खुलाउन म तयार छु । मेरो कोटेश्वरमा आफू बस्ने एउटा घर छ, एउटा कर्जा लिएर बालाजुमा होटल बनाएको छु । अरू अलिकति जग्गा छ । १०/१२ वर्षदेखि म व्यवसाय गर्दै आएको छु । एक/दुई करोड पनि कमाउनै नसक्ने त होइन नि म । त्यो पनि अनुसन्धानमा हेर्नुपर्‍यो ।
रक्तचन्दनको पनि कारोबार गरियो नि, होइन र ?
यो पनि मविरुद्धको षड्यन्त्र नै हो किजस्तो लाग्छ । रक्तचन्दनको कारोबारमा पनि कुनै रूपमा प्रयोग भएँ । तर, कारोबारीले आफू बच्नका लागि मलाई मोहरा बनाए किजस्तो लागेको छ । ६ सय किलोमिटर पार गरेर रक्तचन्दन काठमाडौं आइपुग्छ । त्यहाँ कतिवटा जिल्ला छन् ? त्यहाँ सिडिओ, डिएफओ, पुलिसका हाकिम होलान् । पत्रकार पनि होलान् । उनीहरूको नाम कतै आउँदैन । तर, सधैँ मेरो नाम आउँछ । पछि मैले सुनेँ, एक ट्रक जाँदाखेरि ५० करोडको सामान हुन्थ्यो रे । रातमा पाँचवटा गाडीसम्म जान्थ्यो रे । रातमा साढे दुई अर्बको सामान जान्थ्यो रे । साढे दुई अर्बको सामान खरिद गरेर लिने मेरो हैसियत थियो र ? न मेरो चाइनामा रिलेसन थियो न त इन्डियामा । मैले त्यतिको काम गरेको भए मेराबारे नराम्रो आउने पनि थिएन होला । त्यति पैसा भएको भए म पनि मिडिया हाउस खोल्थेँ होला । दुई/चार ठाउँमा बुझाएपछि मुख बन्द हुन्थ्यो होला । जसले तस्करी गर्थे उनीहरूको कतै नाम आउँदैन, छानबिन पनि हुँदैन अनि गणेश लामालाई चन्दनको ब्रान्ड बनाइदिए ।
रमेश बाहुन भन्ने मान्छेले तपाईंलाई पनि धम्काएर रकम
असुलेको हो ?
त्यो गलत कुरा हो । तपाईं आफैं एकातिर मलाई डन भन्नुहुन्छ । अर्काेतिर मलाई असुल्यो भन्नुहुन्छ । म इमानदारितामा बाँच्ने मान्छे, म मर्न तयार हुन्छु, तर रमेश बाहुनजस्तालाई पैसा बुझाउन तयार हुन्न । न उनलाई म चिन्छु न कुनै दुस्मनी नै छ । कुरा के हो भने ठेक्कापट्टा गर्ने सिलसिलामा रामेछापमा काम थियो मेरो । काजी शेर्पालगायत तीन/चारजनाको गु्रप मिलेर काम गरेका थियौँ । कामको क्रममा गाडीको सिसा फुटायो रे भन्ने हल्ला आयो । उनले हप्ता मागेे रे । म विदेशमा थिएँ । मैले कुनै हालतमा पैसा नदिने भनेँ । साथीहरूले प्रहरीमा रिपोर्ट दिए, तर प्रहरीले केही गरेन । त्यही क्रममा त्यो हल्ला भएको हो । यो देशको विडम्बना यही छ, त्यसरी हप्ता गरेर खाने मान्छेलाई कुनै कारबाही हुँदैन । हामीजस्तो दुःख गर्नेलाई सताउने काम हुन्छ ।
सबैले तपाईंले डन भनेर चिन्छन्, आफैँले चाहिँ कसरी
चिनाउनुहुन्छ त ?
म साधारण मान्छे हँु । सधैँ म नेपाल र नेपालीका लागि राम्रो काम गर्न सकूँ । म डन भएको भए सबै पावर मसँग हुनुपथ्र्यो नि । मान्छे मार्न सक्थेँ, पक्राउ परेको व्यक्तिलाई छुटाउन सक्थेँ । डनको परिभाषामा त त्यस्ता व्यक्ति पर्छन् । देशमा नेता र प्रहरीका हाकिमले त्यस्तो काम गर्छन्, उनीहरू पो डन हुन्छन् । हामी केही गर्न नसक्ने मान्छे कसरी डन हुन्छौँ र ?

प्रस्तुति : नवराज मैनाली
तस्बिर : ज्ञानेन्द्र कार्की