
बाबु-आमाले
गरेको गल्तीका कारण उनीहरूसँगै जेलमा रहन बाध्य एक बालिकाले पुष्पा
बस्नेतको सल तानेकै घटनाले उनलाई समाजसेवामा डो¥यायो । कलेजको इन्टर्नसिपका
लागि गएकी पुष्पालाई जेलमा स-साना बच्चा देख्दा अचम्मै लाग्यो । लगत्तै
उनले थाहा पाइन्- ती बच्चा त जेल परेका आफ्ना बाबु-आमासँग त्यहीँ बस्न
बाध्य रहेछन् । त्यसपछि जेलमा रहेका केही बच्चालाई बाहिर ल्याएर लालनपालन र
पढाउन थालेकी पुष्पाको समाजसेवा कर्म फैलँदै गयो । त्यही समाजसेवाको
कर्मलाई कदर गर्दै सीएनएनले उनलाई पछिल्लो समय सीएनएन हिरोको उपाधि प्रदान
गरेको छ । तिनै सीएनएन हिरो पुष्पा बस्नेतसँग नागरिकका बसन्त बस्नेत र
उपेन्द्र लामिछानेले गरेको वार्तालापः
सिएनएन हिरो भएर ‘पुतली घर' छिर्दा कस्तो अनुभूति भयो ?बच्चाहरुले
विभिन्न चित्र, माला, तोरण टाँगेर स्वागत गरेको देखिहाल्नुभयो। सबजना माला
लिएर चिच्याइरहेका थिए। उनीहरुमा त्यतिखेर व्याप्त उत्तेजना र उल्लास मेरो
जीवनको कहिल्यै नबिर्सने क्षण हो। त्यतिखेर मैले केही प्राप्त गरेकी रहेछु
भन्ने लाग्यो। हुन त अरु बेला पनि बच्चाहरु ‘मामु-मामु' भनेर चिच्याउने नै
गर्छन्। त्यो बेला चिच्याएकोचाहिँ विशेष लाग्यो। सानो-सानो कागजमा चिठी
लेखेका थिए, चित्र कोरेका थिए।
धेरै खुसी हुँदा पनि आँशु आउँदोरहेछ, होइन ? रोइहालिन्छ नि। मान्छेको मन न हो।
सिएनएन हिरो घोषणा गरिँदा संघर्षका दिनहरु सम्झिइरहनुभएको थियो ?सिएनएन
हिरो घोषणा भएपछि मलाई लाग्यो, मेरो घर अब बन्यो। मूल मान्छे भएपछि
छोराछोरीका लागि घर होस् भन्ने सोचिँदोरहेछ। अब टाउकोको भारी हट्यो भन्ने
लाग्यो। घाँटी हेरेर हाड निल्नुप¥यो नि।
सिएनएन हिरोको प्रसिद्धि ठूलो कि पैसा ?सबैले
पैसाको कुरा पनि गर्छन्। तर यो अनुदान हो। तीन लाख डलर हो। कर काट्छन्।
त्यो पैसाले संस्थाको लागि जग्गा किन्ने हो, घर बनाउने हो।
जग्गा हेर्नुभएको छ ?मान्छेहरु
कुरा ल्याइरहेका छन्। म अगाडि बढेको छैन। पहिले बुबालाई हेर्नुहोस् अनि
विचार गरुँला भनेकी छु। उहाँहरु अनुभवी हो। थाहा हुन्छ। नत्र यहाँ त दुई
लाखको जग्गालाई पनि आठ लाख भन्दिन्छन्। पहिले जग्गा हेर्न जाँदा त
पत्याउन्नथे पनि।
अहिले त दिनै आइरहेका होलान् ?ए, कत्ति कत्ति। ‘हजुर राम्रो छ, सस्तो पनि' भन्दै आउँछन्।
आफ्नो कामले यति ठूलो मूल्यांकन पाउँछ भन्ने सोच्नुभएको थियो ?थिएन,
थिएन। विजयकुमार (पाण्डे) दाइले टेलिभिजनमा कार्यक्रम प्रसार गरिदिनुभएपछि
चाहिँ जिन्दगी नै फेरियो। अन्तर्राष्ट्रियरुपमा चाहिँ पहिले पनि चर्चै
थियो। यहाँचाहिँ त्यही कार्यक्रम प्रसार भएपछि चर्चा हुन थालेको हो।
देशमा कसैलाई थाहा नहुने, बाहिर सबैलाई थाहा हुने पनि हुँदोरहेछ ? त्यही
त। फिनल्यान्ड, स्वीडेन सबैतिर प्रचारप्रसार भयो। धेरै इस्यु बाहिर आएका
छन्। यहाँ पनि आइसके नि। हरेक सञ्चार माध्यममा आइरहेको नै छ।
सेवाका लागि भन्दै विभिन्न गैरसरकारी संस्था खुलेका छन्। उनीहरुको सेवा भावनामाथि प्रश्न उठिरहेको सन्दर्भचाहिँ कसरी हेर्नुहुन्छ ?म
अरुको बारेमा टिप्पणी गर्न चाहन्न। मेरालागि चाहिँ यहाँका प्रत्येक कुरा
महŒवपूर्ण छन् किनकि यसको पछाडि दुःख छ। मैले आफ्नो पैसा पनि हालेको छु।
सकिएको बेला उपाय थिएन। कोही मान्छे मसँग काम गर्न चाहन्छ भने उसले मेरो
मिसन बुझेर काम गर्नुपर्छ। अर्काको मिसन बुझेको मान्छेले मसँग काम गर्न
सक्दैन। आफूले नै गरेपछि यसको मायामोह यसै पनि बढी हुन्छ। ‘ननलिभिङ थिङ्स'
को त कत्रो माया हुन्छ। यी त बच्चाहरु भए। त्यसैले पनि मलाई आफूले गरेको
कामप्रति बढी माया मोह छ।
तपाईंले गरेको गरेको काम सही हो भनेर अरुलाई ‘कन्भिन्स' गर्न सुरुमा अप्ठयारो भएन ?विजयकुमार
दाइले अन्तर्वार्ता गर्नुअघिसम्म पनि मलाई आफ्नो कामबारे अरूलाई कन्भिन्स
गर्न गाह्रो लागेको थियो। मान्छेले नराम्रो दृष्टिले हेर्थे। बाबुआमा ठिक
भए पो छोराछोरी ठिक हुन्छन् भनेर कुरा काट्थे। रगत ठिक भए पो सबथोक ठिक
हुन्छ भन्ने त चलन नै छ। ‘हैन के गर्छे यो केटीले' भन्थे। मलाई सब कुरा
बुझाउन मन थियो। तर मैले के गर्दैछु भन्ने कुरा अरुलाई बुझाउन जरुरत् छैन
भन्ने पछि थाहा पाएँ। मेरा बुबा आमालाई थाहा थियो। जो मेरो काममा विश्वास
गरेर यो ढोकाभित्र छिर्छ, त्योचाहिँ महŒवपूर्ण हो।
उमेर छँदै आफ्नो करिअर बनाऊँ भन्ने धेरैको सपना हुन्छ। तपाईंलाई चाहिँ यतातिर मोडिँदा गाह«ो भएन ?गाह्रो
भयो। साथीको सर्कल, परिवारको सर्कल आदिबाट छुट्टिन गाह्रो भयो। मैले मेरा
लागि संघर्ष गर्नुपरेन। अहिले पनि गर्नुपरेको छैन। पढथें, कलेज गएँ।
ग्र्याजुएसन गरें। टोपी लगाउन मलाई पनि पुग्यो। प्रमाणपत्रका लागि मात्रै
भयो। जसको पनि घरमा ग्र्याजुएसनको फोटो अगाडि हुन्छ। मेरालागि चाहिँ काम
अगाडि आयो। यी हेर्नूस् (उनलाई दिइएका सम्मान, पुरस्कार, मिडिया कभरेज
देखाइन्। त्यसको पछाडि काठमाडौं विश्वविद्यालयले दिएको प्रमाणपत्र र
दीक्षान्तको फोटो थियो।) यही हो मेरो व्यक्तिगत जीवन। काम पनि यही हो। मैले
जे गरेकी छु, यसैमा खुसी छु।
सिएनएन हिरो भएर फर्केपछि राष्ट्रपति, प्रधानमन्त्री वा सरकारका कसैले केही भन्नुभयो ?छैन,
छैन। कसैले भन्नुभएको छैन। उहाँहरु आफ्नै काममा बयस्त हुनुहुन्छ होला।
शीतल निवासबाट फोनचाहिँ आएको छ। उहाँहरुले कुरा गर्दा पनि राष्ट्रपतिज्युको
समय हेरेर भेट्नुपर्छ भन्नुभयो। मैले पनि हुन्छ भनें। जे भए पनि देशको
ठूलो मान्छेलाई मैले सम्मान दिनुपर्छ। तर उहाँहरुले समय दिँदा मेरो पनि समय
हुनुप¥यो। बरू दिल्लीमा किरण वेदीले बोलाउनुभएको छ। म उहाँलाई भेट्न
बिहीबार दिल्ली जाँदैछु। मेरा लागि त्यो महŒवपूर्ण हो किनकि उहाँहरुसँग
मैले काम गर्नुछ।
किरण वेदीले कहिले बोलाउनुभएको ?अस्ति
नै हो। सिएनएन हिरोका लागि मनोनीत हुनेबित्तिकै भारतमा ठूलो ‘कभरेज' भएको
थियो। उहाँले थाहा पाउनुभएछ। उहाँको ठूलो संस्था छ, जेलसम्बन्धी काम गर्ने।
त्यसैले जाँदैछु। यति छोटो अवधि र सानो उमेरमा यससम्बन्धी मैले काम गरेको
थाहा पाएर उहाँहरु खुब खुसी हुनुहुन्छ। ‘सँगै मिलेर काम गरौं' भन्नुभएको छ।
उहाँहरुको संस्था धेरै ठूलो छ। मेरो संस्था त अझै सानै छ। पार्टनरसिप नगरे
पनि उहाँहरुबाट सिक्ने ठाउँ हुन सक्छ।
भनेपछि अब पहिलेको जस्तो अभाव हुन्न होला, होइन ? अब बच्चाहरुका लागि धेरै राम्रो अवस्था आउनेछ। पहिलेजस्तो दुःख कम्तीमा हुँदैन कि जस्तो लाग्छ।
हिजोआज बच्चाहरुका लागि कति समय दिन पाउनुहुन्छ ?हिजैमात्र
हो बाहिर निस्केको। नत्र जो आए पनि यहीँ आउनुहुन्छ। कम्तीमा म यहीँ छु
भन्ने बच्चाहरुले अनुभव गर्नुप¥यो। म मात्रै माथि गएँ भने त उनीहरुले
अपनत्व महसुस गर्नै पाउँदैनन्। बच्चा त हुन्। मामुले हामीलाई बेवास्ता
गर्नु भो भनेजस्तो नहोस्। बच्चा नै मेरा लागि सबथोक हुन्।
तपाईं अविवाहित। आफैंले जन्म दिएको अनुभव छैन। पहिलोपटक अरु कसैका बच्चाले मामु भनेर बोलाउँदा कस्तो अनुभूति भयो ? धेरै
खुसी लाग्यो। तर जिम्मेवारी नै धेरै हो भन्ने लाग्छ। मामु भनेर बोलाए पनि
भोलि उनीहरुका आफ्नै बाबुआमा आए भने त फर्केर पनि हेर्दैनन्। योचाहिँ पुरै
यथार्थ हो। मलाई यथार्थमा बाँच्नुपर्छ भन्ने लाग्छ। उनीहरु निश्चित समयका
लागि मात्रै बसे पनि बाल्यकालको सर्वाधिक महŒवपूणै क्षण यहाँ बिताएका
हुन्छन्। त्योचाहिँ ठूलो कुरा हो।
आफूले हुर्काएका बच्चा आफ्ना बाबुआमासँग जाँदा कस्तो अनुभूति हुन्छ ?उनीहरु
गएका बेला म कहिल्यै पनि बाहिर निस्कन्न। भित्रै बसिहरहन्छु। उनीहरुको
सामू नपरुँजस्तो लाग्छ। एक÷दुई हप्तापछि आए भनेचाहिँ म सामान्य भइसकेको
हुन्छु।
गएपछि पनि भेट्न आइरहन्छन् ?आउँछन्। मै
पनि बोलाउँछु। चाडपर्वतिर। दसैंका बेला बोलाएर लुगाहरु दिन्छु। क्रिसमसका
बेला पनि रमाइलो गर्छाैं। कोही बाबुआमाले मसँग ‘कन्ट्याक्ट' गर्न चाहे भने म
तुरुन्तै तयार हुन्छु।
क्रिसमसमा पनि ?अरु चाडपर्वमा उनीहरु आफना
बुबाआमाकहाँ जान्छन्। क्रिसमस प्रायः कसैले नमनाउने भएकाले यहाँ बोलाउँछु।
रमाइलो त हो नि। त्यो बेला बच्चाहरुले आफ्ना साथीहरुलाई बोलाउँछन्। म
उनीहरुका लागि भोज आयोजना गर्छु। स्कुलका बच्चाहरु एकले अर्कालाई
हेपिरहेका, हेपाइ खाइरहेका हुन्छन्। यहाँ आएपछि हेपिनेहरुको मनोबल पनि
बढ्छ। यो दुनियाँ भौतिक र व्यावहारिक दुवै हो।
साख्खै आमाले
गाली गर्दा त चित्त दुखाउँछन् भने तपाईले त गाली गर्न पनि भएन। त्यस्तो
अवस्थामा चाहिँ अप्ठयारो महसुस हुन्छ होला, होइन ? सानाहरु त
बुझ्दैनन् के गर्नु। नगर भन्ने हो। ठूलोहरुलाई चाहिँ ‘तिमीले गरेको यो कुरा
गलत हो' भनेर भन्छु। ‘मेहनत ग¥यो भने भोलि यहाँ आएर बस्न पाउँछौं' भनेर
सम्झाउँछु। जीवनमा त्यसरी परिवर्तन हुनसक्छ, मेहनत गरेन भने त पुरानै
अवस्था दोहोरिन्छ भनी बुझाउँछु । उनीहरुले पनि अब ‘पढेन भने जीवन दुःखदायी
हुन्छ' भनेर बुझिसके।
तपाईंकहाँ आउनुअघि जेलमा रहेका बच्चा कस्ता थिए ? मेहनत
ग¥यो भने त जीवन बदलिइहाल्छ नि। पहिले जेलभित्र यी बच्चाहरुको सपना सैनिक र
पुलिस बन्ने थियो। किनकि जेलको माहोल नै त्यही थियो। अहिले उनीहरुलाई के
बन्ने भनेर सोध्यो भने ‘मामुजस्तो बन्ने' भन्ने जवाफ दिन्छन्। यहाँ आएपछि
बच्चाले ‘मेहनत गरेकाले मामुले अवार्ड पाइन्, देश÷विदेश पनि घुमिन्' भन्ने
कुरा बुझे÷देखे। उनीहरुका लागि हामीले विषयवस्तुलाई कसरी प्रतिविम्बित
गर्छौं, त्यसैअनुसार सिक्छन्।
महिला कारागारकी सानुकान्छी तामाङ भन्ने बालिकाले तपाईंको पछ्यौरी नतानेको भए तपाईं यो क्षेत्रमा लाग्नुहुन्थ्यो, हो ? लाग्दैनथें
होला। सेन्ट्रल जेलमा पुगेकी थिएँ। मान्छेहरुलाई म नै जेल परेंर भित्रै
संस्था खोलेंको भन्ने भ्रम रहेछ। त्यो हुँदै होइन। सानुकान्छीले त्यही बेला
कुर्ताको फेर तानिन्। म कति भाग्यमानी छु, जोसँग सबथोक छ। बाबुआमा, स्कुल।
भनेको बेला भनेजस्तै खानेकुरा खान पाएकै छु। घुम्न, लाउन पाएकै छु। तर
जेलभित्र यस्ता बालबालिका छन्। उनीहरुका अनेक ठाउँ घुम्ने, खाने इच्छा छन्
तर बुबाआमाका कारण जेल बस्नुपरेको छ। हो, त्यो जिम्मा मैले लिनुपर्छ भन्ने
मलाई त्यही बेला लागेको थियो। त्यसपछि मेरो बुबाआमाले खुलेर सघाउनुभयो।
तपाईंको ‘आइडियल पर्सन' को हो ?मेरै बुबाआमा, पूर्णबहादुर बस्नेत र सरिता बस्नेत। त्यसपछि अंगुरबाबा जोशी। उहाँले धेरै गर्नुभएको छ। चरिमाया तामाङ दिदी पनि हो।
सुरुका दिनमा कारागारभित्र जाँदा कस्तो समस्या आयो र बन्दी भएर बसेका बालबालिकालाई बाहिर ल्याउने काम कत्तिको सजिलो रह्यो ? सबैले
सकारात्मक पाटोमात्रै हेर्छन् भन्ने छैन। दुवै साइड हुन्छ। कतिपय
बुबाआमाले त बच्चै पठाउँदैनन्। आफूसँगै रहोस् भन्ने चाहन्छन्। मैलेभन्दा
पनि त्यहाँ रहेका जेलर क्रषिकेश ढुंगेलले यस्तो विश्वास दिलाउनुभयो कि जसका
कारण जेलमा रहेका अविभावकले तिनका सन्तान बाहिर पठाउन राजी भए। उहाँले
त्यतिबेला २०÷२१ वर्षकी केटीलाई विश्वास गर्नुभयो। त्यो मेरा लागी निकै
ठूलो र महŒवपूर्ण रह्यो। उहाँले हाम्रो घर हेर्न आउनुभयो र प्रभावित पनि
हुनुभयो। अनि जेलमा गएर बालबालिकाका अविभावकलाई विश्वास दिलाउनुभयो। ‘यो
नानीले बाहिर लगेर तिमीहरुका सन्तानलाई पढाउँछिन्' भनेर उहाँले विश्वास
दिलाउनुभयो। मलाई पहिलोपटक जेलभित्र लगेकोचाहिँ मिरा चौधरीले हो, जो त्यति
बेला इन्क्सपेक्टर हुनुहुन्थ्यो। अहिले डिएसपी हुनुहुन्छ। म महिला सेलमा
काम गर्थें नि। कलेजबाट जाँदा म उहाँलाई ‘दिदी हामीलाई जेलमा लग्नूस् न
भन्थें।' उहाँले जेलभित्र लगेकै कारण मैले त्यहाँको अवस्था देख्न पाएँ र यो
काम गर्ने अवसर मिल्यो।
‘पुतली घर' नामचाहिँ कसरी जुराउनुभयो नि ?संस्थाको
खास नामचाहिँ प्रारम्भिक बाल विकास केन्द्र हो। अहिलेचाहिँ हामीले
‘बटरफ्लाई होम' भनेका छौं। सपनाको घर। पुतली घर किनभने अहिलेका बच्चा भनेको
झुसिलकिरा जस्ता हुन्। उनीहरु हेर्दाखेरि सुरुमा घिनलाग्दा देखिन्छन्।
जेलबाट आउँदा मान्छेले यिनीहरूबारे विभिन्न नकारात्मक धारणासमेत राख्थे।
तर, यहाँ बसेपछि उनीहरु राम्रा भएर निस्कन्छन्, पुतली जस्तै। अनि
रंगिविरंगी।
कसले सुझायो यो नाम ? कसैले सुझाएको हैन। मेरो आफ्नै दिमागमा आएको हो। के नाम राख्दा उपयुक्त होला भन्ने सोचें। यो नाम मनमा आयो। राखें।
योबाहेक तपाईको अरु केही सपना ? मेरो
यहाँ भएका सन्तानले ग्रेजुएसन गरून् र तिनका अविभावक बनेर त्यो
कार्यक्रममा म सहभागी हुन पाउँ। त्यही मेरो सपना छ। मैले गे्रजुयसन गर्दा
मेरो बुबाको अनुहारको खुसी मलाई थाहा छ। त्यो खुसी म मेरो अनुहारमा महसुस
गर्न चाहन्छु। अनि मेरो संस्थालाई यिनै बालबालिकाले सञ्चालन गरुन् भन्ने
चाहन्छु। मेरो कथा बिक्री भइसक्यो। अब यो उनीहरुको सम्पत्ति हो । मैले
भन्दा यी नानीहरुले यो संस्थाको मर्म अझ राम्रो बुझ्नेछन् किनकि यिनीहरूलाई
अविभावक जेलमा बसेको पीडा र उनीसँगै थुनिनुपरेको बाध्यता राम्रोसँग थाहा
छ। त्यही भएर हरेक कारागारमा जाँदा यहाँ भएका ठूला बच्चालाई आफ्नो साथ लाने
गरेको छु। ताकि उनीहरुले मैले गरेको काम सिकून्। म उनीहरुलाई तयार
गर्दैछु, संस्थाको भावी प्रतिनिधिका रुपमा।
तपाईंसँग भएकामध्ये अहिले ठूलो बच्चा कतिमा पढ्दैछ ? नौ कक्षामा। अर्को वर्ष एसएलसी दिने छ। त्यसैले पनि मेरो सपना नजिक आउँदैछ ।
आम मान्छे हिँडेको भन्दा फरक बाटो हिँडदा कस्तो हुँदोरहेछ ? हो,
मैले सिएनएनको कार्यक्रममै भनेकी थिएँ- ‘नर्मल मान्छेले यस्तो काम
गर्दैनन्, क्रेजीले मात्रै गर्छ।' म अलिअलि ‘क्रेजी' नै थिएँ। सुरुमा
संस्था दर्ता गर्दा मानिसले खिल्ली उडाउँथे। मोटो थिएँ, लवाई पनि ‘रफटप' नै
थियो । मानिसहरूले विश्वास गर्दैनथे। ‘यस्तो व्यक्ति त अध्यक्ष ! के गर्ली
यो केटीले ?' भनेर हाँस्थे। संघ÷संस्था दर्ता गर्ने १४ नम्बर कोठाको
कर्मचारीले त मुखै फोरेर धेरै भनेको मलाई अहिले पनि सम्झना छ। अरु ‘टिपटप'
भएर आउँथे, म भने सामान्य हिसावले जान्थें। शायद, त्यही भएर पनि भनेका
होलान्। तिनै मान्छेहरु अहिले भेट्दा मुस्कुराउँछन् र भन्छन्- ‘हामीलाई
त्यतिबेलै लागेको थियो तिमीले केही गर्छौ भन्ने।' (हाँसो) मान्छेलाई
कहिल्यै पनि उसको ‘आउटलुक' का आधारमा ‘डोमिनेट' गर्नुहँुदैन, मान्छेको मन
चिन्न सक्नुपर्छ, जुन कुरा बाहिरी लुगाले बताउँदैन।
हिजो आज ती मान्छे भेट्दा कस्तो लाग्छ ? खुसी
लाग्छ। समाज पनि धेरै परिवर्तन हुँदोरहेछ। उहाँहरु सँगै फोटो खिचाउन
आउनुहुन्छ। विभिन्न कार्यालयमा जाँदा पनि समस्या पर्देैन। सबैले हाँसेर
व्यवहार गर्नुहुन्छ, सहयोग गर्नुहुन्छ।
हिजोआज कति बच्चा छन् पुतली घरमा ?४३ जना।
आफ्नो मेहनत र लगनले परिवर्तनको बाटो समात्नुभएको छ, अहिलेको समाज र राजनीति हेर्दा कस्तो लाग्छ ? राजनाीतिको
कुरा गर्न गाह«ो हुन्छ। जो मान्छेले जे गर्ने सोचेको हुन्छ, त्यसका लागि
प्रष्ट हुनुपर्छ। आफूले के गर्न चाहेको भन्ने कुरामा प्रष्ट हुनु जरुरी छ।
जस्तो म मैले गर्न चाहेको काममा प्रष्ट छु। त्यसो त म एक्लो छैन। संस्थामा
अरु पनि थुप्रै छन्। उहाँहरुले पनि जसले गर्न चाहेको हुन्छ, त्यसलाई साथ
दिनु आवश्यक छ। मिसनमा प्रष्ट भएपछि समर्थन पनि पाइँदोरहेछ।
विवाह गर्ने सोच छैन ? विवाह
गर्ने उमेर गइसक्यो। नेपाली समाजमा २२ देखि २४ मा बिहे गर्ने चलन छ। मेरो
उमेर पार भइसक्यो ,। मेरा लागि प्राथमिकता भनेको मेरो काम हो, विवाहभन्दा
पनि बढी। मेरो बुबाले हामीलाई विभेदरहित ढंगले हुर्काउनुभएको छ। त्यही भएर
छोरीले बिहे गरेर हिँडिहाल्नुपर्छ भन्ने मान्यता हामीमा छैन। ‘आमा घर' की
दिलशोभा दिदीलाई नै हेरौं न। उहाँले त्यत्रा आमा पाल्नुभएको छ। उनीहरुमध्ये
कतिका त छोरा-छोरी पनि होलान् नि।
सरकार मानव अधिकार, बाल अधिकारको कुरामा कत्तिको संवेदनशील पाउनुभएको छ ? अहिलेको
सन्दर्भमा उहाँहरुले कोअर्डिनेट गरेर काम गर्नुभएको छ तर पर्याप्त छैन।
पेपरमा मात्र हैन, व्यवहारमा पनि काम गर्नुप¥यो। मुख्य कुरा अधिकार भनेको
के भन्ने बुझ्नुप¥यो। खान पाउनुप¥यो। पढ्न पाउनुप¥यो। राम्रो वातावारणमा
बस्न पाउनुप¥यो। तर व्यावहारिक पनि हुनुप¥यो।
बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि उहासँग भेट भएको होला नि ? छैन। हामीले पो प्रधानमन्त्री चिन्छौं। उहाँले हामीलाई कहाँ चिन्नुहुन्छ ? उहाँले केही गर्नुहुन्छ भन्नेमा धेरै आशा थियो।
तपाईं सिएनएन हिरो भएर आएपछि कुनै नेताले बधाई दिए ?दिएका छैनन्। नेता भन्दा पनि आफूले काम गरेका व्यावहारिक मान्छेको बधाइ पाएकी छु। मैले नेताबाट बधाईको आशा पनि गरेको छैन।
हरेक कुरामा राज्य र सरकारको मुख ताक्नेलाई के भन्नुहुन्छ ? त्यस्तो भन्नु केही छैन।
अहिलेका मानिसका व्यवहार कस्ता पाउनुहुन्छ ?सर्वसाधारणमात्र
हैन, सरकारी निकायमा भएका केही व्यवहार परिवर्तन गर्न जरुरी छ। सरकारी
अस्पतालमा सर्वसाधरणप्रति देखाउने व्यवहार राम्रो छैन । बोलीवचन मिठो छैन,
जसलाई सुधार्न जरुरी छ। डाक्टरको बोली पनि नरम छैन। यो मेरो अनुभव हो।
मानिसलाई केही गर्नुपर्देन, राम्रो बोलिदिए हुन्छ। जुत्ता पालिस गर्नेलाई
पनि नमस्ते गर्न सक्नुप¥यो। बालबालिका मन्त्रालयको गेटपाले दाइलाई एक पटक
नमस्कार गरेर अंगालो मारेकी थिएँ, उनले खुसीले आँसु झारेका थिए। हामीले
अरुलाई माया दिन जान्नुप¥यो तर त्यो निस्वार्थ भावले। अहिलेको समाजमा त्यो
जरुरी छ।