हेलो नेपालमा सुमार्गीका तीन चरण
-विरोध कट्टेल-

अजय सुमार्गी
चरण-१
शुरुमा आशा देखायो!
जब माओवादी नयाँ शक्तिको रुपमा नेपाली राजनीतिमा आयो, शुरुवातको दिनदेखि
नै अजय सुमार्गी माओवादीको इमान्दार ब्यापारीको रुपमा देखा परे। पार्टीका
नेताहरुलाई आफ्नो अनुकूलमा प्रयोग गर्न यिनले हेलो नेपालको राम्रै प्रयोग
गरे। शुरुमा हेलो नेपालको उद्घाटन नै तीन तिर (काठ्माण्डौ, दाङ र रोल्पा)
बाट तीन पार्टीका नेता(गिरिजाप्रसाद कोइराला, ईश्वर पोख्रेल र प्रचण्ड)लाई
राखेर गर्न सफल भएका सुमार्गीले शुरुवातका दिनहरुमा कर्मचारीलाई निकै आशा
देखाएका थिए।राजनैतिक पार्टीका नेता, नेपाल दुरसंचार प्राधिकरण र
आफ्ना नातागोताले हेलो नेपाल भरिएको थियो। शुरुवातदेखि नै हेर्दा सुमार्गी
हेलो नेपालको नेटवर्क विस्तार भन्दा राजनैतिक सम्बन्ध बनाउनको लागि प्रयोग
गरेको देखिन्छ। बढ्दो बेरोजगारीबाट पीडित भएर आ-आफ्नो पावर हाउससमक्ष
पुग्न बाध्य भएका बेरोजगार युवाहरुलाई शुरुवात कै दिनदेखि सुमार्गीले
राम्रै प्रयोग गरेका थिए। तत्कालीन समयमा हेलो नेपालमा ठूलै चर्चा हुने
गर्थ्यो – को ब्यक्ति कस्को पावरबाट आएका हुन्? कुनै कर्मचारी पावर बिना
आएको भनेर कसैले भन्यो भने उक्त ब्यक्ति हाँसोको पात्र बन्ने गर्दथ्यो।
त्यतिबेला एउटा थेगो नै बनेको थियो “हेलो नेपालमा पावर बिना कुकुरले नि सु
गर्दैन”।
काममा लगाइएका कुनै पनि कर्मचारीहरुलाई कम्पनीले नियुक्ति पत्र भने
दिएको थिएन। दिएको थियो त केवल ज्यादै न्यून पारिश्रमिक र सुन्दर भविश्यको
आशा। सबै जना कुनै न कुनै स्रोतबाट आएको र काममा आफूहरु अनुभवी पनि नभएकोले
कम्पनीले भनेका सबै कुरा कर्मचारीहरुले खुरुखुरु मान्ने गर्थे।
एउटा
नेपालीको लगानीमा यत्रो कम्पनी चालु हुनु चानचुने कुरा होइन। तसर्थ
कम्पनीले कर्मचारीहरुलाई तत्कालका लागि न्युनतम सुविधा दिने र मध्य
पश्चिमको नेटवर्क विस्तार पछि विदेशी साझेदारी आउने र कम्पनी मल्टिनेस्नल
बन्छ, त्यसपछि तपाईहरुको सुविधा अन्तराष्ट्रिय स्तरको हुन्छ भनेर बारम्बार
आशा देखाउने काम गरिन्थ्यो।
तत्कालिन समयमा ६ महिनादेखि १ वर्षमा
मध्य पश्चिमको नेटवर्क विस्तार गर्ने काम सकिन्छ र त्यसपछि कम्पनीले
दिनुपर्ने सबै कुरा दिन्छ भनेर सबै कर्मचारीहरुलाई आशा देखाइएको थियो।
आफूले कुन कुन ब्यक्तिहरुबाट काम लिनु छ ती ब्यक्तिका मान्छेहरु टिपेर
तत्कालिन समयमा काममा लगाइएको थियो।
तत्कालीन प्रधानमन्त्री माधव
नेपालका छोरा सौरभ नेपाल, प्रचण्डका भान्जा मनोज पौडेल “ए” हरुलाई घरमै गएर
टिपेर हेलो नेपाल छिराउन सफल भएका थिए। तथापि ती दुबै जना कर्मचारीहरुलाई
सुमार्गीले हेलो नेपालभित्र कुनै पनि कामको जिम्मेवारी दिएन र आफ्नो भविस्य
र क्यारियर बिग्रने डरले दुबै जनाले हेलो नेपाल छोड्न बाध्य भएका थिए। आशै
आशामा हेल्लो नेपालका कर्मचारी प्रत्येक पल पीडित भइरहेका थिए। एउटा अनौठो
आशामा कर्मचारीलाई फसाइएको थियो। सुमार्गी प्रत्येक कुरामा कर्मचारीलाई
एनसेलको उदाहरण दिन्थे। शुरुवातका दिन हरुमा एनसेल पनि यस्तै थियो, पछि
इन्भेष्टर आए पछि हेर्नोस् आज कस्तो भयो ? सबै कर्मचारी मख्ख पर्थे।
चरण-२
बीचमा फकायो !
आशै आशमा १,२,३ बर्ष बित्यो तर कुनै प्रगति भएन। महङ्गीले राता रात फड्को
मार्यो, हिजो फ्रेसर भएर काममा छिरेका सबै कर्मचारी अनुभवी भए। आफु भन्दा
जुनियरहरुले अरु कम्पनीमा आफ्नो भन्दा दोब्बर तेब्बर पारिश्रमिक पाउन थाले।
तर हेलो नेपालका कर्मचारीहरुको पारिश्रमिक चौरमा मिल्काइएको काठका मुडो
जसरी जहिले हेरे पनि जहाँको त्यही भयो। कम्पनीले दिएको आश्वासनका सबै
सिमाहरु एक पछि अर्को पछाडि पर्दै गयो। ६ देखी १ बर्षको समय सीमा भन्दा
दोब्बर तेब्बर समय भइसक्यो तर कम्पनीमा सुबिधा थप्ने, नियुक्ति पत्र दिने
तथा विदेशी साझेदारी आउने कुरा कहि कतै बाट आउदैनथ्यो। तर पनि आशा भने
देखाइनै रहन्थ्यो कि मध्य पश्चिमको नेटवर्क विस्तार पछि विदेशी साझेदार
आउछ।
त्यसै आशा प्राप्तिको सुन्दर कल्पना गर्दै कर्णालीका अति विकट
गाउँहरुमा कर्मचारी जाने गर्दथे। अमानवीय ढंगले कर्मचारीहरुलाई कर्णालीका
दुर्गम गाउँमा पठाउने गरिन्थ्यो। कर्णालीको चिसोले कति पय कर्मचारीहरु
बिरामी परे चिसोले हाइड्रोसील भएर अप्रेसन गर्नु पर्ने स्थिति भयो। खुला
आकाश मुनि कयौ रात बिते, चाउचाज र च्युराको भरमा कयौ दिन बिते, हाई
अल्टिच्युडले गर्दा कति पय साथीहरु अझै छातीको रोगले ग्रसीत छन्, विहेगरेका
नव जोडी २ दिन पनि सँगै बस्न नपाई जीवनसाथी लाई छोडेर सँचार सुबिधा पनि
नभएको कर्णालीको अनकन्टार गाउँमा गए। सबैको एक मात्र लक्ष थियो मध्य
पश्चिमको नेटवर्क विस्तारको काम सक्ने। मध्य पश्चिमको काम सकियो। कौडीको
भाउमा फ्रिक्वेन्सी लिँदा नेपाल दुर सञ्चार प्राधिकरणले तोकेको मध्य
पश्चिमको २७३ गा वि स मा कर्मचारीहरुले दिन रात नभनी काम गरेर नेटवर्क
विस्तार गरे। त्यस पछि पनि कर्मचारीको तलब बृद्धि, नियुक्ति पत्र जस्ता
आधारभुत आवस्यकताहरुलाई कुनै वास्ता गरिएन।
कर्णालीको अति विकट गाउँ
जानु अगाडी दिइएका आश्वासनहरुलाई कर्मचारीहरुले मौखिक रुपमा सम्झाउन थाले।
कर्मचारीहरुबाट धेरै नै दवाव आउन थाले पछि २०६८ भदौ १६ गते कम्पनीका मुख्य
लगानीकर्ता भनेर चिनिएका अजय सुमार्गीले सम्बोधन गर्ने भनेर काठमाडौँको
बानेश्वरमा रहेको मुक्ति टावरमा कर्मचारी मिटिङ गरियो। उता दाङको घोराहीमा
हुने कर्मचारीहरुसँग स्काइपमार्फत् मिटिङमा जोडियो। उक्त मिटिङमा अजय
सुमार्गीले बारम्बार दोहोर्याएको वाक्य “वर्तमान कठिन छ भविश्य उज्वल छ”
कर्मचारीको बीचमा एउटा उर्जा बनेर फेरि छायो। तत्कालका लागि सुमार्गीले सबै
कर्मचारीहरुको तलब बृद्दी भएको घोषणा गरे तर पनि कर्मचारीको पारिश्रमीक
सरकारले तोकेको न्युनतम भन्दा थोरै नै थियो। तिहारको लगत्तै नियुक्ति पत्र
दिने वाचाका साथ कर्मचारीहरुको गुनाशा र मागहरुलाई तत्कालका लागी थामथुम
पार्न सुमार्गी सफल भएका थिए।
चरण-३
…र, अन्त्यमा फँसायो !!!
२०६८
सालको दशैँ गयो, तिहार गयो, ६८ सालनै खतम हुन लाग्यो तर नियुक्ति पत्र
दिने कुनै संकेत पाइएन। मिडियाहरुमा आउन थाले टेलियासोनेराले नेपाल
स्याटलाइट (हेलो नेपाल ब्रान्डको कम्पनी) को सेयर किन्यो। टेलियासोनेरा
स्वयमले आफ्नो वेबसाइटमा २०११ को आर्थिक प्रतिवेदन सार्वजनिक गर्यो।
प्रतिवेदनमा नेपाल स्याटलाइटको सेयर टेलियासोनेराले किनेको प्रष्टसँग
उल्लेख थियो। कर्मचारीहरुमा एक किसिमको उल्लास र खुसीको चमक देखिन थाल्यो। २
देखि ५ वर्षसम्म काम गरेका कर्मचारीहरु जुन दिनको ब्यग्र प्रतिक्षामा थिए,
त्यो दिन आयो भन्ने लाग्यो। विदेशी साझेदार आए पछि आकर्षक सुविधाको
आश्वासन बाँडिएको थियो, त्यही साझेदारीलाई कुरेर कर्मचारीहरु न्युन
पारिश्रमिकलाई पनि चित्त बुझाएर दिनरात नभनी काममा खटिएका थिए। सारा
मिडियामा टेलियासोनेराले कम्पनी किनेको खबर आयो, टेलियासोनेरा आफैले
स्वीकारी सक्यो तर पनि नेपाल स्याटलाइटका कर्मचारीहरुलाई कम्पनीको तर्फबाट
कुनै जानकारी दिइएन।
त्यो समयमा कर्मचारीहरुको कुनै काम थियो न कुनै
जिम्मेवारी नै, कतिपय कर्मचारीहरु दाङ घोराहीमा थिए भने कतिपय काठमाडौँमा।
कम्पनीले बिहान-बेलुकी हाजिर गर्नु बाहेक १-२ महिना कुनै काम दिएको थिएन।
विदेशी साझेदारीको आशामा कर्मचारीहरुलाई त्यती लामो समय विना नियुक्ति पत्र
काम लागाएको कम्पनीमा नेपालमै अर्को टेलिकम कम्पनीमा लगानी गरेको
टेलियासोनेराले लगानी गरेको भए पनि कम्पनी भित्रका कर्मचारी र नेपाली
मिडियाहरुलाई यस बारेमा कुनै जानकारी नदिई लुकाउन थाले पछी भने
कर्मचारीहरुमा शंका उत्पन्न हुन थाल्यो।
टेलियासोनेराले अर्को कम्पनी
चलाइरहेको र उक्त कम्पनीमा रहेका कर्मचारीहरुद्दारा नै स्याटलाइट टेलिकम
पनि सञ्चालन गर्न सक्ने हुनाले सम्पूर्ण कर्मचारीहरु अब भने नियुक्ति
पत्रको माग गर्न थाले। बारम्बार मौखिक रुपमा गरिएको मागलाई सुनेको नसुनै
गरेपछि २०६८ साल फागुन ३० गते ३० जना भन्दा बढी कर्मचारीहरुले
हस्ताक्षरसहित नियुक्ति पत्रको माग तत्कालीन कम्पनीका कार्यकारी प्रमुख मणि
चौलागाइँसमक्ष बुझाए। उक्त मागको न कुनै प्रतिक्रिया आयो, न कुनै सम्बोधन
नै भयो। तसर्थ फेरि चैत ६ गते अर्को पत्रमार्फत् ध्यानाकर्षण गराइयो। तर
उक्त पत्रको प्रतिक्रिया स्वरुप कम्पनीले कुनै पनि कर्मचारीहरुलाई नियुक्ति
पत्र नदिएको हुनाले यस कुरालाई बारम्बार नदोहोर्याउनको लागि प्रशासनले
मौखिक आदेश दियो। अब भने कर्मचारीहरुको शंका बास्तविक हो भन्ने सबैलाई
लाग्न थाल्यो। नेपाल इन्जिनियरीङ एसोसिएसनले त्यहाँ कार्यरत
इन्जिनियरहरुलाइ तत्काल नियुक्ति पत्र दिनको लागि चैत १३ गते पत्र काट्यो।
नेपाल स्याटलाइट टेलिकमले श्रम ऐन विपरीत कर्मचारीहरुलाई काममा लगाएको
बारेमा वैशाख २४ गते नागरिक दैनिकले समाचार छाप्यो। विगतमा फ्रिक्वेन्सी
लिने क्रममा भएका अनियमितताहरु मात्र बाहिर आएको नेपाल स्याटलाइट टेलिकमको
विगत ५-६ वर्षदेखि कर्मचारीहरु भित्रभित्र लुकेर बसेको बास्तविकता
राष्ट्रिय रुपमा बाहिर छताछुल्ल हुन पुग्यो।
बैशाख ३१ गते
सँधै झै कर्मचारीहरु कार्यालय समयमा कार्यालय छिरिसकेका थिए। केही होला,
कुनै औपचारिक सूचना आउला भनेर यताउता डुलिरहेका थिए। कार्यालयभित्र गर्ने
कुनै काम थिएन। त्यत्तिकैमा कुटनीतिक नम्बर भएको रातो गाडी मुक्ति टावर
अगाडि रोकियो। सहजै अनुमान गर्न सकिन्थ्यो कि बाहिरी रुपमा देखिएका कम्पनी
मालिक अजय सुमार्गीको आगमन। बाहिरबाट ब्यापारीको रुपमा चिनिए पनि उनी सँधै
निलो प्लेट भएको गाडीमा सवार हुन्छन्। नेपाल सरकारले बेलारुसको वाणिज्य दूत
बनाएका ब्यक्ति रहेछन्, त्यसैको सुविधा उपयोग गर्दै नीलो प्लेटको गाडी।
हत्तपत्त
मुक्ति टावर नछिर्ने अजय सुमार्गी जब मुक्ति टावर छिरे, पक्कै कुनै नयाँ
खबर आउन लाग्यो भनेर कर्मचारीहरु आ-आफ्नो अड्कलबाजी गर्न थाले। अजय
सुमार्गीको प्रवेशसँगै सेतो स्कोर्पियो गाडी मुक्ति टावर अगाडि रोकियो।
गाडीबाट ओर्लिए एनेकपा माओबादीका वरिष्ट नेता कृष्णबहादुर महरा। गाडीबाट
ओर्लिएर सरासर मुक्ति टावरभित्र प्रवेश गरेपछि कर्मचारीहरुमा झन बढी उत्साह
र कौतुहलता उत्पन्न भयो।
तल के भइरहेको छ, सुमार्गी र महरा कुन
कोठामा के गरिरहेका छन् भन्ने समाचार दिने एकमात्र माध्यम चिया पकाउने
दिदीमात्र थिइन्। किन आएका भन्ने त बिचरा ती दिदीलाई पनि कसरी थाहा होस्,
जे भए पनि मिटिङ हलमा मिटिङ हुँदैछ भन्नेसम्मको खबर दिदीले लेराउँथिन्।
त्यसपछि फेरि सुरु हुन्थ्यो आ-आफ्नै अड्कल बाजिहरु। अजय सुमार्गी जो त्यस
दिन सम्म कम्पनीको एक मात्र मालिक भनेर चिनिन्थ्यो उसको प्रवेश हुन सक्ने
सम्वाभनाले गर्दा कर्मचारीहरु आफ्नो सिटबाट उठ्न सकेका थिएनन् अझ पहिले
देखि नै माओबादीको सम्लग्नता र कृष्ण बहादुर महरा सँचार मन्त्री हुदा
लाइसेन्स लिन दिइएको अनावस्यक सहुलियतको बारेमा बारम्बार मिडियाहरुमा
आईरहेको र आज आफै महरा कमरेडको उपस्थितिले त झन् कर्मचारीहरुमा एक किसिमको
आशा र उत्साह देखिन्थ्यो।
टेलियासोनेराले स्वामित्व किनि सकेको
अवस्थामा अव एनसेल र हेलो नेपाललाई कसरी चलाउछ होला टेलियासोनेराले?
कर्मचारीहरुलाई कसरी काममा लगाउछ होला? एनसेलका कर्मचारीलाई हेलो नेपालमा
काम गराउछ कि गराउदैन होला? हेलो नेपालका कर्मचारीहरुलाई एनसेलको जस्तै
सेवा सुविधा तत्कालनै दिन्छ कि दिदैन होला? हेलो नेपालले अब कहाँ कहाँ सेवा
विस्तार गर्छ होला? दुरसँचार नियमावलिमा के छ? यस्ता प्रश्नहरु एक आपसमा
तेर्सीएका थिए।
कृष्णबहादुर महरा मुक्ति टावरबाट बाहिर निस्किए।
कौशीबाट हामी कर्मचारी रमिता हेरे जसरी हेरीरयौ। अजय सुमार्गी महरा
कमरेडलाई गाडी सम्म पुर्याएर फेरि मुक्ति टावर छिरे। त्यसको एक डेढ
घण्टापछि चिया दिने दिदी हतास र अत्तालिएको अनुहार सहित कोठाभित्र छिरिन् र
फटाफट भन्न थालिन् कि कम्पनीले सवै कर्मचारीहरु निकाल्ने रे, हामीलाई अजय
सरले वोलाउनु भयो अब हामीलाई कर्मचारी चाहिदैन त्यसैले यहाँ हस्ताक्षर
हर्नुस एक लाख रुपैयाँ तपाईलाई दिन्छौ भने। हामीले केही बोल्नै सकेनौ के के
लेखेको थियो पढ्न पनि दिइएन। आज ड्राइभर, एकाउन्ट अनि हामीलाई निकाल्ने रे
भोलि तपाँई ईन्जिनियरहरुलाई रे।
त्यस पछि भने मुक्ति टावरमा ८
रेक्टर स्केलको भुईचालो आएको जस्तो भयो। अघि सम्मका सबैको अड्कलबाजि हरु
१८० डिग्रीको कोणमा घुमेर गलत सावित भयो। त्यतिका धेरै कर्मचारीहरुले गरेको
अड्कलबाजी कसैकोले पनि टार्जेट मिट भएन हुने कुरा पनि भएन विगतमा न कुनै
लक्षण थियो न कुनै सुचना नै विगतमा त आश्वासन र सुन्दर भविस्यको कल्पना
गर्न सिकाएक थिए अजय सुमार्गीले तर आज त्यो झुटो साबित भयो। अब के गर्ने
कसो गर्ने? कसैलाई कुनै प्रष्ट बाटो थाहा थिएन।
चियावाला दिदिको
मात्र विश्वास नलागेर गाडी चालक कर्मचारीहरु सँग पनि सोधीयो आखिर सत्य एउटै
त थियो। सवैलाई बोलाएर अब कम्पनीलाई कर्मचारी चाहिदैन भन्दै भटाभट
स्वेच्छिक अवकासको आशयको पत्रमा हस्ताक्षर गराइरहेका रहेछन्। महरा कमरेड
सुमार्गीको त्यही निर्णयलाई सहमति दिएर सदर गर्न पो मुक्ति टावर छिरेका
रहेछन्।
श्रमजीवी मजदुरको हक र हितको लागी सामन्तबाद र विदेशी दलालको
विरुद्द लडेर जनवादी क्रान्ति सफल पार्ने उच्च सँकल्प लिएर अगाडी बढीरहेका
कमरेड महरा र उनका पार्टी माओबादीबाट नै अजय सुमार्गीको श्रमीक हित विपरीत
गरीएको निर्णयलाई त्यसरी सहयोग हुन्छ भन्ने कसैले अनुमान पनि गरेका
थिएनन्। हिजोका दिनहरुमा कर्मचारीहरुलाई दिइएको न्युन सुविधा र नियुक्ति
पत्रको बारेमा थुप्रै कम्पनीहरुमा आफ्नो उपस्थिति देखाएका माओबादी समर्थित
मजदुर सँगठनहरु सुमार्गीको अगाडि यसरी तै चुप मै चुप हुन्छन भन्ने कल्पना
कसले गर्ने? जतिनै श्रमिक अधिकारको हौवा पिटेपनि ब्याबहार तेस्तो देखिएन।
जे हुनु भई सक्यो सुमार्गी अगाडी सोझो आँखा पनि हेर्न नसक्ने सोझा चिया
पकाउने दिदि अनि चालक दाजुभाइहरुलाई धम्क्याएर स्वेक्षिक अवकाशको पत्रमा
हस्ताक्षर गराइसक्यो।
अब भोलि पल्ट सबै इन्जिनियरहरुको पालो छ भन्ने
पनि थाहा भइसक्यो अब कस्लाई गुहार्ने कहाँ जाने? यसै विषयमा छलफल गर्न
थालियो। इन्जिनियरहरुलाई परेको मर्कामा चासो देखाएर पहिले नै ध्यानाकर्षण
गराईसकेको ईन्जिनियरीङ एसोसियसनमा सम्पर्क गरियो। भोलि एसोसियसनको
प्रतिनिधि आउने आश्वासन पनि पाइयो। हल्ला सवै तिर फैलियो, पत्रकारहरुले यस
बारेमा जानकारी लिन थाले। भोलि पल्ट जेष्ठ १ गतेको पत्रिकामा नागरिक
दैनिकले हेलो नेपालको कर्मचारी निकालेको कुरालाई माओवादी नेता कृष्ण बहादुर
महराको उपस्थिति सँग जोडेर समाचार छाप्यो। भोलिपल्ट डर र त्रास बोकेर
कर्मचारीहरु मुक्ति टावर पुगियो। १० पनि बज्न नपाउँदै अजय सुमार्गीको
कुटनीतिक नम्बरको रातो गाडी मुक्ति टावर अगाडि रोकियो। अरु वेला खुशी र शुभ
समाचार को आशामा अल्झीएको त्यो रातो गाडी अहिले भने ज्यादै घृणीत लाग्न
थाल्यो। अझ त्यो गाडी बाट झरेका टुपीवाला प्रति त धेरै नै वितृष्णा जागेर
आयो। त्यो गाडी बाट न ओर्लि फर्के हुन्थ्यो भन्ने कामना सबैको मन मा थियो।
आफ्नो मृत्यु निष्चित भएको र त्यो मृत्यु दिने काल आँफु अगाडी बढिरहेको
महशुस सबैले गरीरहेका थिए।
सबै साथीहरुले त्यासबेला सम्म आशा गरेका
एउटा मात्र आशा इन्जिनियरीङ एसोसियसनका आँफु नजिक पदाधिकारीहरुलाई फोन
लगाउन थाले। अजय सुमार्गी मुक्ति टावर छिर्यो इन्जिनियरहरुलाई विना कारण
बर्खास्त गर्न बाट जोगाउनु पर्यो भन्दै सबै ले हारगुहार गर्न थाले। त्यही
हार गुहारको फल स्वरूप ईन्जिनियरिङ एसोसियसन महासचिव अनुराधा सहित सदस्य
हरु चुडा राज ढकाल, बिरोध रीजाल र डेमोक्र्यटिक इन्जिनियरका सदस्य विप्लव
खड्का हेलो नेपालको मुक्ति टावरमा प्रवेश गर्नु भयो। माथि सँपुर्ण
इन्जिनियर साथीहरुलाई नडराई अन्यायको विरुद्द लड्नकोलागी आवान गर्दा गर्दै
अजय सुमार्गी आफ्नो गाडी चडेर मुक्ति टावर छोडी भाग्न सफल भए।
सुमार्गी
लाजिम्पाट स्थित कथित गौरबशाली पार्टीका अध्यक्ष प्रचण्डको आफैले
किनिदिएको महलमा गए। त्यती वेला सम्म इन्जिनियरीङ एसोसिएसनका पधादिकारी
सहित सँपुर्ण कर्मचारीहरुले प्रसासन घेराउ गरी सकेका थिए। प्रशासनमा २-४
दिन पहिले देखि देखा परेका सुमार्गीका आफन्त राकेश शर्मा र उनकै साँडु भाई
तथा एबिसि टेलिभिजनका अध्यक्ष श्याम शर्मा आफुलाई केहि थाहा नभएको कुरा
एसोसियसनका पदाधिकारीहरुलाई दिइ रहेका थिए। सँपुर्ण कुरा अजय सुमार्गी तिर
लगाएर आँफु हरु पन्छिन थाले पछि एसोसिएसनका पदाधिकारी तथा कर्मचारीहरु
प्रशासन प्रमुखको हैसियत मा बसेका राकेश शर्मा प्रति आक्रोस पोख्न के
थालेका थिए राकेश शर्मा र श्याम शर्मा अफिस छोडेर भाग्न सफल भए। आज लाई
समस्या टर्यो भन्दै कर्मचारीहरु भोलिको योजना बनाउन थाले, १ बज्यो खाजा
खाने समय भयो सबै खाजा खान तिर लागे। खाजा खाएर फर्किएका कर्मचारी फेरी
त्रसीत भए कारण थियो अजय सुमार्गी फेरी कार्यलय छिरि सकेका रहेछन्। बल्ल
बल्ल एक दिनलाई टरेको समस्या फेरी एका एक आई पुग्यो। सुमार्गीको अगाडी कडा
रुपमा बोल्न सक्ने स्थिति कसैको थिएन। साथीहरु फेरी ईन्जिनियरीङ एसोसियसनका
पदाधिकारीहरुलाई खबर गर्न तिर लागे, कर्मचारीहरु सबै एउटा कोठामा जम्मा
भएर बस्न थाले। सुमार्गी द्दवारा १-१ को नाम सिफारीस गर्दै बोलाएको खबर
लिएर प्रशासनका एक कर्मचारी रामेश्वर शर्मा माथी आउथे।
सबै साथीहरुले
१-१ जना नजाने कुरा गर्ने हो भने सामुहिक कुरा गर्ने भनेर कोही पनि तल
नझरे पछि सुमार्गी टुप्पी हल्लाउदै माथिल्लो फ्लोवरमा आफ्ना दलबल सहीत
प्रवेश गरे।
यसरी थर्काए सुमार्गीले
शुरुमा विभाग
प्रमुखहरुको कोठामा छिरेर सुमार्गीले विगत ५ वर्ष देखि काम गरिरहेका सिनियर
कर्मचारीहरुलाई तल्लो स्तरको गाली गर्न थाले। त्यसै क्रममा नेपाल
इन्जिनियरीङ एसोसिएसनका सदस्या विरोध रिजालको प्रवेश हुनपुग्यो। सब्य र
शालिन भाषामा आफु नेपाल इन्जिनियरीङ एसोसियसनको प्रतिनिधिको रुपमा यहाँ
आएको जानकारी दिन पनि नभ्याउदै सुमार्गी उनी विरुद्द खन्निए। सुमार्गीले
रिजाललाई गलाहत्याएर बाहिर निकाल्न थाले। त जाबो नाथे आएर सुमार्गी सँग
निहु खोज्ने ? म को हो चिनेको छस् ? पुलिस बोलाएर चिसो खोरमा जाकिदिउँ ?
यस्ता प्रश्नहरु गर्दै कोठाबाट बाहिर गलहत्याएर बाहिर निकाले पछी आफ्ना भाई
प्रकाश पराजुलि र अन्य ५-७ जना बाहिरि केटाहरुलाई मुल गेटमा राखि कसैलाई
बाहिर जान र भित्र आउन नदिन सुमार्गीले कडा निर्देशन दिए।
रणभुमि
जस्तो हुन पुगेको उक्त कोठामा सबैको ओठ तालु सुक्न थाल्यो। सुमार्गीले
सबैलाई एउटै कोठामा थुपारेर तथानाम गाली गर्न थाले। त्यहि गाली र घम्किका
कारण एक जना इन्जिनियर साथि बेहोस भई भूईँमा ढल्न पुगे, कोठा भित्र झन्
आतङ्क स्रिजना भयो। कसैको प्रतिबाद गर्न सक्ने आँट थिएन। सुमार्गीका
शब्दहरु यति तीखा थिए कि सबैको अनुहारमा त्रासै त्रास मात्र भरिएको थियो।
अब त जागीर भन्दा पनि ज्यानको सवाल हुन थाल्यो। काठमाण्डौ सानो छ जहाँ पनि
जहिले पनि भेट हुन्छ तपाँई हाम्रो भन्ने जस्ता धम्कि पुर्ण भाषा प्रयोग
गर्न थाले पछि कर्मचारीहरुमा ज्यादै नै त्रासदी फैलिन पुग्यो। १-१ जना नभए
२-३ जना को समुहमा मेरो कोठामा आउ भन्दै धम्क्याएर सुमार्गी आफ्नो कोठामा
छिरे लगत्तै फेरि प्रसासनका कर्मचारी अजय सरलाई नभेटी कोहि पनि घर नजाने
भन्दै उर्दी जारी गर्न थाले। बाहिर निस्कनको लागी मुल गेटमा नै फौजी शैलिका
५-७ जना खडा खडा थिए भने भित्र बसीरहु भने सबैजना आतँकित भएका थिए। अब के
गर्ने कसो गर्ने ५ तला माथी बाट हामफालेर भाग्न सक्ने स्थिति थिएन। कसै सँग
पनि समस्याको समाधान पनि थिएन। इन्जिनियरहरुको पेशागत सुरक्षाको लागी पहल
स्वरुप आएका इन्जिनियरीङ एसोसियसनका अध्यक्ष हेमराज गुरुङ, महासचिव अनुराधा
शर्माहरुलाई मुल गेट बाट भित्र छिर्न दिइएको थिएन। सवै जना आफु भन्दा ३-४
वर्ष सिनियर दाईहरु को मुख ताकेर बसीरहेका थिए। सिनियरहरु बाट केहि जागिर र
ज्यान बचाउने कुनै उपाय निस्किन्छ कि भन्ने आशा मात्र थियो। तर सिनियर
दाईहरु पनि केहि गर्न सक्ने स्थितिमा थिएनन्। आपसी सल्लाह पछि पहिलो चरणमा
२-३ जना सिनियर दाईहरु कुरा गर्न जाने निर्णय भयो। यदी कुनै कागजमा
हस्ताक्षर गर्न लगायो भने अहिले नगर्ने १ हप्ताको समयको माग राख्ने निर्णय
स्वरुप भित्र छिरेर निस्किए।
उनिहरुलाई २-४ दिनको समय दिइएको जानकारी
आयो। अब सबैले त्यहि गर्ने निर्णय भयो कि २-४ दिन को समय माग्ने तर दोस्रो
टोलि जो छिर्यो उनिहरुलाई समय दिइएन कता कता फोन गर्नु पर्ने हो त्यहि
कोठामा बसेर गर्न लगायो। जो जो भित्र छिर्थ्यो उनिहरुलाई सुमार्गी धम्कि
दिन्थे तिमि हरु हस्ताक्षर नगर्ने भए जाउ तर भोलि बाट यो अफिसमा छिर्न मैले
दिन्न। जुन पार्टी र नेतालाई गुहारे पनि गुहार तीन जना नेता मेरा तीन वटा
औलामा छन् जे सक्छस् त्यही गर् भनेर सुमार्गीले थर्काउन थाले। सम्बिधान
सभामा प्रदेशको बहस चलिरहेको समय थियो, त्यो वीच वीचमा फोनमा कुरा गरेर
सुमार्गी ११ प्रदेश फाइनल गर्दीनु ल किन धेरै बिवाद गर्ने भन्दै कुरा
गर्थे। यसरी सारा कुराले मनोगत त्रास फैलाएर अफिस भित्रै बन्दी बनाए पछि
कर्मचारीहरु ज्यान जोगिने आशामा हस्ताक्षर गर्ने मनस्थितिमा पुगे।
हस्ताक्षर गर्ने पत्रमा कुनै मिति थिएन, सबैलाई पढ्न पनि दिइएन, जसले पढ्न
पायो उसको भनाई अनुशार स्वेक्षीक अबकाशको आशयको पत्र थियो। यसरी २-५ बर्ष
सम्म दिन रात नभनी कर्णालीको भिर र हिमालमा चुहिएका पसिना त्यहि एउटा
कागजमा हस्ताक्षर गरे सँगै विलाएर गयो।
सबैले आ-आफ्नो दुख सम्झे,
आखिर आज यही दिन को लागी रहेछ त्यत्रो पसीना चुहाएको ? हिजोका दिन सम्म
कर्णालीको सिरेठो सँग लड्दै लड्दै गर्दा चुहिहेका पसीनाहरुको प्रत्येक थोपा
थोपामा सुन्दर भविश्यको आशा थियो तर आज एक्कासी ती पसीनाहरू अर्थहिन
ठहरिए। सबैले देशको कानुन सम्झीए देशका राजनैतिक नेता र उनका वरीपरि घुमेका
ब्यापारीका खोल ओडेर राज्यको सम्पतीमा रजाई गरेका ब्यक्तिहरु लाई सम्झीए।
आखिर यो देशको कानुन अनि यो देश गरीखाने र दुख गर्नेको लागी होइन रहेछ। जति
नै क्रान्ति र अधिकारका कुरा गरेर आफ्नो जग बसाएका भए पनि अन्त्यमा उनीहरु
दलाल र माफियाहरुकै लागी रहेछन् क्रान्ति र गरीवी त उनिहरुलाई माथि चडाउने
भर्याङ मात्र रहेछ। यस्तै यस्तै कुराहरु मनमा खेलाउदै युद्द हारेको
सिपाहिको जस्तो अनुहार लिएर सबै जना आफ्नो बाटो लागे। सहर सधै झै आ-आफ्नै
रफ्तारमा थियो तर नयाँ वानेश्वरको मुक्ति टावर बाट निस्केका प्रत्येकका
लागी सहर मौन र स्थिर थियो, अस्थिर थियो त केवल मन, मस्तिस्क अनि भविश्य
!!!
[लेखक हेलो नेपालबाट गलहत्याइएका इञ्जिनियर हुन्]